नत्र हलो जोत्लास् ! कहिलेसम्म ?

- लीलामणि पौड्याल

गत आर्थिक वर्षमा रोजगार कम्पनीमार्फत ३ लाख ८१ हजार ९ सय ४१ जना र व्यक्तिगत श्रम स्वीकृति लिएर २ लाख ७४ हजार ८ सय ७० जना नेपाली वैदेशिक रोजगारीमा गए । श्रम स्वीकृति लिएर विश्व बजारमा श्रम बेच्न जाने नेपालको श्रमशील जनशक्तिको वर्षभरिको आँकडालाई आधार मान्दा दैनिक करिब १ हजार ८ सय श्रमशील जनशक्ति बाहिरिएका छन् । यति ठूलो जनशक्ति बाहिरिएपछि देशको उच्च आर्थिक वृद्धिका लागि चाहिने श्रमशक्तिको भने स्वदेशमै अभाव हुन्छ । यही श्रमशक्तिले विगत एक दशकमा मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबजस्ता मुलुकको उच्च आर्थिक वृद्धि सम्भव बनाएको छ ।

युवा शक्ति विदेशिनुमा हामीले सहजै भन्ने गरेको कारण हो, देशमा अवसर नहुनु/नपाउनु । यो सत्य हो । तर, योजत्तिकै अर्को सत्य के पनि हो भने सबै श्रमशक्ति यहाँ अवसर नै नपाएर विदेशिएका होइनन् । हाम्रा सामाजिक, सांस्कृतिक आर्थिक, राजनैतिक पाटाहरू राम्रोसित विश्लेषण गरेर भन्दा कतै सतही र हचुवाका आधारमा हामीले विचार बनाउने र त्यसैका आधारमा कतिपय नीति निर्माता बहकिने गरेका त छैनौँ ? कतै पर्याप्त विश्लेषणबिना हामी समस्याको गहिराइमा पुग्न नसक्दा समाधान दुरुह बनेको त होइन ? 

शिक्षा र श्रमप्रतिको दृष्टिकोण

समस्याको एउटा कारण एसएलसी परीक्षा र श्रमप्रतिको समाजको दृष्टिकोण हो । विसं ०७२ को एसएलसी परीक्षामा नियमित र पुराना गरी कूल पाँच लाख ४१ हजार ३ सय ८९ जना सहभागी भएकामध्ये २ लाख ११ हजार ४५ मात्र परीक्षामा उत्तीर्ण भए । यो संख्या कुल सहभागीको केवल ३९ प्रतिशत मात्रै हो । गत वर्षको एसएलसीमा अनुत्तीर्ण  भएपछि बाँके, मोरङ, दाङ, धादिङमा गरी पाँच जनाले आत्महत्या गरेको समाचार सार्वजनिक भएका थिए । आत्महत्याका कारणमा उच्च आकांक्षा, पारिवारिक दबाब, सहकर्मीका सामु हुने बेइज्जती, जीवनप्रतिको वितृष्णा र अन्य सामाजिक र आर्थिक दबाब भनिएको थियो ।

अधिक अभिभावकहरू आफ्ना सन्तानलाई ‘राम्रैसँग पढ्, नत्र हलो जोत्लास्’ भन्छन् । कतिपयले ‘राम्रोसँग नपढे कुल्ली, खलासी बन्लास्’ भन्छन् । एकदमै संवेदनशील उमेर समूहका बालबालिकालाई पटकपटक भनिएका यी र यस्तै वाक्यांशको गहिरो छाप आजीवन बस्छ । विद्यालय उमेरका बालबालिकाले समाजबाट सिक्ने शिक्षा हो । परीक्षामा राम्रो नतिजा ल्याउन नसके जीवन बर्बाद हुन्छ, अनुत्तीर्ण भएमा साथीभाइ, आफन्त र समाजमा मुखै देखाउन लाज हुन्छ, शारीरिक श्रम गर्नु हेय र तुच्छ काम हो, जो जाँचमा असफल हुनेले मात्र गर्नुपर्छ  अर्थात्, जाँचमा सफल हुनेले श्रम गर्नु हुँदैन भन्नेजस्ता कुरा निरन्तर पृष्ठपोषण भइरहन्छन्/भइरहेका छन् ।

विद्यालय जाने उमेरका केटाकेटीलाई दैनिकजसो अभिभावक, साथीभाइ, शिक्षक र आफन्तबाट अर्ति वा उदाहरण दिएर श्रमलाई हेला गर्ने, तुच्छ ठान्ने र जाँचमा असफल हुनु भनेको सर्वस्व गुमाउनु हो, जीवन अन्धकार बनाउनु हो भन्ने छाप बसाइएको छ । अनुत्तीर्ण हुनेलाई समाजबाट एकदमै अपहेलना, तिरस्कार र निरुत्साहित गरिन्छ । अपहेलित, तिरस्कृत र निरुत्साहित युवा मस्तिष्क जब समाजलाई सामना गर्ने आत्मबल गुमाउँछ, अनि एसएलसीसँगै जीवन समाप्त पार्छ । वा, भागेर टाढा जान हरदम प्रयत्न गरिरहन्छ, जहाँ उसलाई एसएलसीबारे नसोधियोस् ।

०७२ को एसएलसी नतिजाको तथ्यांकबाट आफूले चाहेबमोजिम, परिवारले अपेक्षा गरेबमोजिम वा साथीभाइका अगाडि भन्न संकोच मान्ने गरी उत्तीर्ण भए पनि बेचैन र एसएलसीपछि आत्मबल गुमाउने विद्यार्थीको संख्या कति छ, यकिन गर्न सकिन्न । तर अत्यन्त क्रियाशील, श्रमशील, भर्भराउँदा तर एसएलसी फेल भएका ३ लाख ३० हजार ३ सय ४४ युवाको आत्मविश्वास र आत्मबल हाम्रै सामाजिक मूल्य मान्यताका कारण फेरि उठ्नै नसक्ने गरी हामीले नै खस्काइदिएका छौँ । ती तीन लाख ३० हजार युवा एसएलसी फेल भएका कारण समाजको अगाडि मुख देखाउन डराउँछन् । साथीभाइका अगाडि फूर्तिसाथ कुरा गर्न हिच्किचाउँछन् । अभिभावकका अगाडि अब ‘म केही गर्छु’ भनेर आत्मबल देखाउन सक्दैनन् । आफूसँगै पढेको साथी एसएलसी पास गरेर सहरमा पढ्ने भएको र आफू भने फेल भएको कारण गाउँघरमा घाँसदाउरा, कुटोकोदालो र गोठमा काम गर्नु परेकोले हेय र तुच्छ भएको अनुभूति गर्नुपर्ने अवस्था तपाईं हामी नै सिर्जना गरिरहेका छौँ । त्यसमाथि किन खेतीपाती गरेको भनेर कसैले सोध्यो भने अभिभावकले नै ‘यसको फुटेको कर्म, पास भएको भए राम्रा लुगा लगाएर बस चढेर क्याम्पस पढ्न जान्थ्यो फेल भएपछि खेतीपाती नगरेर के गरोस् त’ भन्ने जवाफ दिन्छन् ।

जुन मुलुकमा तीन लाख बढी श्रम गर्ने उमेरका युवाहरूका आत्मबल र स्वाभिमान वर्षेनि खस्काइन्छ, उसलाई तिरस्कार र अपमान गरिन्छ, त्यो मुलुकको उन्नति कुनै पनि हालतमा हुँदैन । संसारको सबैभन्दा कठोर हावापानी भएको मध्यपूर्व मलेसिया वा इजरायलका मरुभूमिमा खेती गरेर श्रम गरेर हरियाली बनाउन सक्ने हाम्रै युवा । दुबईमा विश्वकै सबैभन्दा अग्लो बुर्ज अल अरब ठड्याउने क्षमता भएका हाम्रै नेपाली  श्रमिक । कतारमा विश्वकप फुटबलका लागि ठूला–ठूला स्टेडियम बनाउने पनि नेपाली श्रमशील युवा नै हुन् ।  नेपालमा भने ती युवा आफ्नो उर्वर जमिन, अत्यन्त न्यानो हावापानी, आफूजन्मे हुर्केको समाज र आफन्त छोडेर दलाललाई ऋण काढेर लाखौँ बुझाएर आफ्नो घरमा भन्दा कठोरतम श्रम गर्न विदेश जान मरिहत्ते गर्छन् । यसमा श्रमलाई हेलाँ गर्नु र शिक्षामा पहुँच भएकाले श्रम गर्नु हुँदैन भन्ने मान्यता राख्ने सामाजिक परिवेश तथा परीक्षामा फेल भएकालाई गरिने तिरस्कार, अपमान र दुरुत्साहन जिम्मेवार छ । ‘समाजबाट टाढा भागेर नदेख्ने ठाउँमा त जे गरे पनि हुन्छ’ भन्ने मनोविज्ञानले एसएलसी र अरू कक्षामा फेल भएको युवालाई जबर्जस्ती धकेलिरहेका छाँै । 

के अवसर नभएकै हो ? 

सिलिकन इन्डिया डट कमका  अनुसार सन् २०१६ मा भारतमा रेमिट्यान्स पठाउने १५ प्रमुख मुलुकमध्ये नेपाल सातौँ नम्वरमा छ । नेपालबाट भारत गएको त्यो धनको आँकडा झन्डै ३ अर्ब अमेरिकी डलर छ । खुला सिमाना र सीमा क्षेत्रमा दोहोरो मुद्रामा कारोबार हुने गरेकाले यो रकम कुल रेमिट्यान्सको सानो हिस्सा मात्र हो । यदि नेपालमा अवसर नभएको भए किन यति धेरै भारतीयले नेपालमा काम पाउँथे भन्ने प्रश्नको उत्तर हामीसित छैन । एक समय मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्यको एउटा हास्यव्यंग्य कार्यक्रममा नेपालबाट  कपाल काट्ने भारतीयहरूले मात्र अर्बांै रुपियाँ वर्षेनि भारत लैजाने गरेको प्रस्तुति यहाँनिर सम्झनायोग्य छ । 

अहिले देशमा निर्माण क्षेत्रमा श्रमको अत्यन्त खाँचो छ । निर्माण व्यवसायीका अनुसार यस क्षेत्रमा अधिक भारतीय कामदार छन् । उत्पादनमूलक उद्योगमा त झन् डरलाग्दो स्थिति छ । व्यवसायीहरू अर्धदक्ष कामदारको  अभावमा भारतीय कामदारलाई चर्को सुविधामा चाकडी गर्दै पालेर राख्नु आफ्नो बाध्यता रहेको बताउँछन् । अझ नेपाली कामदारहरूमा एकदमै अनुशासनहीनता बढेकाले हैरान भएको र त्यसको प्रमुख कारण राजनैतिक दलको मजदुर क्षेत्रमा हुने सोझो राजनीति हो भन्ने व्यवसायीहरूको भनाइ छ, जो धेरै पटक सार्वजनिक भइसकेको छ । यसको अर्थ के हो भने हामीलाई चाहिएको र हामीसँगै रहेको आफ्नै श्रमशक्ति राख्ने वातावरण बनाउन नसकेको अवस्था हो ।

केही वर्ष पहिले एकजना मित्रले एक विदेशी लगानीकर्तालाई रुपन्देहीमा व्यावसाहिक कृषिका लागि जमिन खोज्ने क्रममा नारायणघाटदेखि बुटवलसम्मको यात्रा गराएका थिए । तर ती विदेशीले राजमार्ग वरिपरिका बाँझा खेत देखेर नेपालका युवाहरू यस्तो राम्रो खेतीयोग्य जमिन बाँझो राखेर अरब मलेसिया जान्छन् भनेर पत्याउनै नसकिने बताएका रहेछन् । तर त्यो त यथार्थ हो,  धेरै विदेशीलाई पत्याउन गाह्रो हुने यथार्थ । 

अब यसो गरौं

कम्तीमा हामी पढेलेखेका मान्छे कामलाई हेला नगरौँ । शारीरिक श्रमलाई प्रोत्साहित गरौँ । गएका सबै चुनावमा वामपन्थी (श्रमको सम्मान गर्ने सिद्धान्त) हरूको वहुमत हुने गरेको सन्दर्भ हेर्दा श्रमलाई सम्मान गर्नेको बाहुल्य हुनुपर्ने हो । तर श्रम नगरी अर्काको श्रममा बाँच्ने राजनीतिकर्मीको संख्या नै वामपन्थीहरूमा धेरै छ । त्यसैले हरेक वामपन्थी दलले आफ्नो पार्टी कार्यकर्तालाई वर्षमा एक महिना अनिवार्य श्रम गर्नुपर्ने बनाउनुपर्छ  । श्रमलाई सम्मान गर्ने श्रम संस्कृतिको विकास गर्नैपर्छ । 

प्रत्येक विद्यालयमा पढाइसँगै श्रम पनि जोडियोस् । धेरै जनसंख्या कृषिमा आश्रित रहेको मुलुकमा विद्यार्थी कृषि श्रमबाट भाग्न गर्व महसुस गरिरहेका छन् र यसमा लाग्नुलाई हेपेको ठान्छन् भन्ने त्यस मुलुकको समृद्धि सम्भव छैन । कक्षाकोठाको पढाइसँगै गाउँमा कृषि र पशुपालनसँग सम्बन्धित श्रम र सहरका विकास निर्माणसम्बन्धी कामहरूमा सहभागिता अनिवार्य गरौँ । 

अनुशासित श्रमविना आर्थिक समृद्धि सम्भव छैन । अरब, मलेसियामा सबैभन्दा अनुशासित नेपाली श्रमिकले नेपालमा भने अराजक, उच्छृंखल, कामचोर र लापरवाह भन्ने मानक बनाएका छन् । त्यसको प्रमुख कारण नै  राजनैतिक संरक्षण हो । व्यवसायीहरू पनि कामदारको सामाजिक सुरक्षाको सन्दर्भमा सरोकारहीन देखिन्छन् । श्रम र उद्योग सम्बन्ध विस्तारका कार्यक्रमहरू  कार्यान्वयन गरौँ ।

कसैले नयाँ काम गर्न थाल्यो कि हामी उसलाई प्रोत्साहन दिनु र हौसला बढाउनुको सट्टा निरुत्साहित गर्ने वा अवरोध सिर्जना गर्छौं । चितवनमा एक कृषकले १० वर्षका लागि जग्गा भाडामा लिएर गाई पाल्न सुरु गरेको प्रसंग यहाँनिर सान्दर्भिक छ । जब गाईबाट उसले केही नाफा कमायो त्यसपछि जग्गा धनीले जग्गा बेच्ने भनेर छाड्न दबाब दियो । पाल्पाको बरंगीमा त्यस्तै प्रयोगहीन जमिनको थोरै भाडा तिरेर गाईवस्तुको घाँस लगाउन खोज्ने युवालाई जग्गा धनीले अस्वाभाविक ढंगले भाडा मागेपछि युवा गाईपालक अप्ठेरोमा परे । त्यसैले कोही कसैले राम्रो काम गरेकामा  सघाउनुको साटो दुरुत्साहन गर्ने बानी हामीले छोड्नैपर्छ । 

‘राम्रोसँग पढ्, नत्र हलो जोत्लास् वा खलासी होलास्’ भन्नेजस्ता अभिव्यक्तिविरुद्ध सामाजिक आन्दोलन चलाऔँ । 

विद्यालयको परीक्षामा असफल हुनु जीवनमा असफल हुनु होइन । यसमा हीनताबोध ग्लानि वा अपमानबोध गर्नुपर्दैन, आत्मबल र विश्वास गुमाउनु पर्दैन भन्ने सन्देश सानै उमेरदेखि विद्यार्थीलाई दिउँm । विद्यालयमा परामर्श कक्षा चलाऔँ । सिर्जनात्मकतालाई प्रोत्साहित गरौँ ।  त्यस्ता युवालाई जीवनमा केही गर्न सकिन्छ भनेर प्रशिक्षण, सीप र केही पुँजी व्यवस्थापन गरिदिएर वरिपरि सम्भावना भएका व्यावसायिक काम गर्न अथवा आधुनिक तरिकाले खेती गर्न उत्प्रेरित गरौँ । 

युवाशक्ति राष्ट्रको सम्पत्ति हो, समृद्धिको आधार हो । श्रमको सम्मान गरौँ, श्रम गर्न उत्प्ररित गरौँ  र आफू पनि श्रममा सहभागी बनौँ । समृद्धि हाम्रो पालामा सम्भव छ ।

प्रकाशित: आश्विन ३०, २०७३