उसबेलाको नेपाल

  • मलुकको पहिलो राजवंश गोपालवंशका सन्ततिहरू काठमाडौँ र मकवानपुरमा

- सीताराम बराल

चन्द्रागिरि वारिको च्व:छे (थानकोट) र चन्द्रागिरिपारिको बिसिङ्खेल  गाउँबीच धेरै अन्तर छ । भौगोलिक रूपमा च्व:छे र बिसिङ्खेल चन्द्रागिरि पहाडको वारिपारि छन् । भूगोलले सिर्जना गरेको यो भिन्नता त छँदै छ । त्यसबाहेक यी दुई ठाउँबीच राजनीतिक भिन्नता पनि छ । च्व:छे टोल वाग्मती अञ्चलको काठमाडौँ जिल्लामा पर्छ भने बिसिङ्खेल चाहिँ नारायणी अञ्चलको मकवानपुरमा । च्व:छे टोल गत साल घोषित चन्द्रागिरि नगरपालिका (थानकोट क्षेत्र) मा छ भने बिसिङ्खेलले नगरपालिकाको अंश हुन पाएको छैन, अहिले पनि मकवानपुरको चित्लाङ गाविसमै छ । 

च्व:छे र बिसिङ्खेलबीच केही कुरामा असमानता भए पनि चन्द्रागिरि वारि/पारिका यी दुई गाउँ/टोलबीच एउटा कुरामा समानता छ । त्यो हो, दुवै गाउँ/टोलमा गोपाली समुदाय बहुसंख्यामा छ । उनीहरूको भाषा मिल्छ, संस्कृति पनि मिल्छ । समान संस्कृति र मानसिकता भएकाले संसद् होस् वा गाविसको, चुनावहरूमा यही समुदायका मतदाता निर्णायक हुन्छन् । गोपाली मत जता खस्छ, त्यसैको पल्ला भारी हुने भएकाले राजनीतिक दलहरू गोपालीहरूको समर्थन हासिल गर्न विशेष प्रयत्न गर्छन् । 

नेपालको राजनीतिक इतिहास पल्टाउँदै जाँदा हामी त्यहाँ पुग्छौँ, जहाँ गोपालीहरू शासक थिए ।  गोपाल वंशको शासनकाल झन्डै ३ हजार ६ सयदेखि ३ हजार ३ सय वर्षअघिसम्म शासनमा रहेको अनुमान इतिहासकारहरूको छ । नवीन दृष्टिमा नेपालको प्राचीन इतिहासमा इतिहासकार केदारनाथ प्रधानले गोपालीहरूले इसापूर्व १ हजार ६ सय वर्षअघिदेखि १ हजार ३ सय वर्षअघिसम्म नेपालमा शासन गरेको अनुमान गरेका छन् । अर्का इतिहासकार ज्ञानमणि नेपालका भनाइमा पनि अहिलेसम्म प्राप्त अभिलेखबाट नेपालको पहिलो राजवंश गोपाल राजवंश थियो भन्ने पुष्टि भइसकेको छ । भन्छन्, “राजधानी काठमाडौँ वरिपरिका गोपालीहरू तिनै गोपालवंशी राजाका सन्तान हुन् ।” 

थानकोटदेखि शिखरकोटसम्म 
इतिहासकारहरूको दाबी के छ भने, लिच्छवीकालीन अभिलेखहरूमा ‘सलम्बु राजवासक’ भन्ने शब्द उल्लेख छ, जुन लिच्छवीकालीन राजा मानदेवको दरबार मानगृह र अंशुबर्माको कैलाशकुट भवनजस्तै गोपाल राजवंशका राजाहरूको दरबार हो । गोपालहरूको शासनको केन्द्र मातातीर्थ इलाकामा रहेको र बलम्बु त्यहीँ पर्ने भएकाले त्यसलाई ‘सलम्बु राजवासक’ भनिएको हुनसक्ने अनुमान इतिहासकार प्रधानले विभिन्न स्रोतहरू उल्लेख गर्दै आफ्नो पुस्तकमा लेखेका छन् ।  

हुन त, ‘सलम्बु राजवासक’ बलम्बुमा कहाँनिर थियो भन्ने न कुनै इतिहासकारले बताउन सकेका छन्, न त त्यसको भग्नावशेष नै कतै भेटिएको छ । यति हुँदाहुँदै पनि मातातीर्थ–थानकोट इलाकामा गोपाली समुदायको जुन उपस्थिति छ, त्यस आधारमा चाहिँ गोपाल वंशले यही इलाकाबाट काठमाडौँ लगायत वरिपरिका इलाकामा शासन गरेको हुनसक्ने इतिहासकारहरूको अनुमान सत्यको नजिक रहेको बताउँछिन्, इतिहास विषयकी सहायक प्राध्यापक राज्यलक्ष्मी गोपाली । भन्छिन्, “किनभने यस क्षेत्रमा परापूर्वकालदेखि नै गोपालीहरू बस्दै आएका छन् । त्यसैले शासनको केन्द्र पक्कै पनि यही ठाउँमा थियो भन्ने दाबीमा सत्यता छ ।” 

इतिहासकारहरूले गोपालवंशको शासनकाल तीन सयदेखि पाँचसय वर्षसम्म रहेको हुनसक्ने अनुमान गरेका छन् । तर यस अवधिका शासकहरूको संख्याबारे कतै यकिन मत छैन । कुनै वंशावलीमा आठ जना  गोपालवंशी राजाले शासन गरेको उल्लेख छ भने कुनैमा दश जनाले । यद्यपि, जनश्रुति र वंशावलीहरूका आधारमा भुक्तमान ग्वाला पहिलो गोपालवंशी राजा थिए भन्ने कुराको अनुमान इतिहासकारहरूले गर्दै आएका छन् । भुक्तमान तिनै व्यक्ति हुन्, जसका पिताको सम्बन्ध पशुपतिनाथको मन्दिरसँग जोडिएको छ । 

जनश्रुति अनुसार भुक्तमानका पिता काठमाडौँका गाई पाल्ने ग्वालाहरूका अगुवा थिए । उनको एउटा गाई प्रत्येक दिन पशुपति क्षेत्रमा पुगेर आफ्नो दूधको धारा चढाउँथ्यो । त्यसको रहस्य खोज्ने क्रममा ती ग्वाला अगुवाले गाईले दूध चढाउने ठाउँ खनी हेरे । तर त्यहाँबाट अकस्मात् चम्किलो ज्योति प्रकट भयो, जुन पुरिएका भगवान् पशुपतिनाथको थियो । ज्योतिका कारण ग्वाला अगुवा भष्म भए । गोपाली सेवा समाजका महासचिव कबिन्द्र गोपाली भन्छन्, “ने मुनिले तिनै ग्वाला अगुवाका छोरा भुक्तमान ग्वालालाई राजा घोषित गरेपछि काठमाडौँमा गोपाल राजवंश सुरु भएको भन्ने भनाइ छ ।” 

जनश्रुतिका आधारमा पहिलो राजा भुक्तमान ग्वाला भनिए पनि अन्तिम राजा को थिए भन्ने पनि यकिन छैन । उपत्यकामा आठ जना गोपालवंशी राजाले शासन गरेको उल्लेख गर्ने भाषा वंशावली र राइट वंशावलीले यक्षगुप्तलाई अन्तिम गोपालवंशी राजा मानेका छन् भने गोपाल राजवंशावलीले जिनगुप्तलाई । कर्कप्याट्रिकले तयार पारेको वंशावलीले चाहिँ १० जना गोपालवंशी राजाले शासन गरेको भन्दै अन्तिम गोपालवंशी राजाको रूपमा भूमिगुप्तको नाम उल्लेख गरेको छ । 

यसरी झन्डै तीनदेखि पाँच सय वर्षसम्म काठमाडौँमा शासन गरेका गोपालहरू कसरी विस्थापित भए र महिषपालहरू सत्तारूढ भए भन्नेबारे पनि केही खुलेको छैन । यद्यपि, गोपाल र महिषपालहरूलाई इतिहासले त्यति फरक रूपमा नहेरेकाले के भन्न सकिन्छ भने उनीहरू किराँती राजासँगको युद्धमा पराजित भए । र, किराँत वंशका पहिलो राजा यलम्बरले काठमाडौँमाथि शासन सुरु गरे, जुन किराँतहरूको शासन व्यवस्था इसापूर्व १ हजार २ सय वर्षदेखि ४ सय वर्षसम्म रह्यो । यस अवधिमा बढीमा ३२ जना किराँत राजाले शासन गरेका थिए । 

किराँतहरूको आक्रमणबाट गोपाल/महिषपालहरूले थातवास पनि गुमाए । गोपालीहरूको बसोवास थानकोटदेखि शिखरकोटसम्म फैलनुको कारण यसैलाई मानिएको छ । नेपाल तथा एसियाली केन्द्र (सिनास) का तर्फबाट २०५२ मा गोपाली समुदायबारे अध्ययन गरेकी चुन्दा बज्राचार्य भन्छिन्, “जब किराँतहरूले युद्धमा विजय हासिल गरी काठमाडौँमा शासन आरम्भ गरे, पराजित गोपालहरू थानकोट हुँदै काठमाडौँबाट बाहिरिए ।” उनको भनाइमा, प्राचीनकालदेखि नै काठमाडौँबाट बाहिरिने एउटामात्र बाटो यही रहेकाले पनि उनीहरू दक्षिणतर्फ लागेका होलान् ।

राजाबाट रंक  
गोपालीहरूले किराँत आक्रमणका कारण शासन र थातवास मात्र गुमाएनन्, समयक्रममा आफ्नो भाषा, संस्कृति पनि गुमाउँदै गए । जस्तो, आजकाल गोपाली समुदायलाई नेवार संस्कृतिकै एक शाखाका रूपमा चिनिन्छ । काठमाडौँमा नेवार समुदायसँग घुलमिल भएर बसेका छन् उनीहरू । नेवारी भाषा बोल्छन् । भाषाबाहेक अरू कैयन् संस्कृति नेवार समुदायसँगै मिल्छ । सहायक प्राध्यापक गोपाली भन्छिन्, “थानकोटमा हामी गोपालीहरू यहाँका अन्य नेवारहरूसँगै मिलेर बसेका छौँ । बाहिरबाट हेर्दा हामी र अरू नेवारहरूबीच त्यति धेरै भिन्नता देखिन्न ।”

यति हुँदाहुँदै पनि गोपाली अगुवाहरू आफ्ना शासक पुर्खाहरू नेवार थिए भन्ने मान्न तयार छैनन् । उनीहरूका भनाइमा, जतिबेला गोपालवंशको शासन थियो, यो वंशका मानिसहरू सम्भवत: ब्राह्मण वा क्षेत्री समुदायका थिए । अध्यक्ष गोपाली यसको पुस्ट्याइँका लागि केही उदाहरण प्रस्तुत गर्छन् । उनको भनाइमा, नेवार समुदायमा विवाह नभएकी युवतीलाई गुफा राख्ने चलन छ । तर गोपाली समुदायमा नेवार समुदायको जस्तो गुफा राख्ने चलन छैन । पछिल्लो समय कुखुरा, राँगाको मासुको प्रचलन आम बने पनि केही वर्षअघिसम्म गोपाली समुदायमा राँगा, कुखुरा आदिको प्रचलन बर्जित रहेको उनी बताउँछन् । 

भएको के हुनसक्छ भने, जव किराँतहरूले शासनसत्ता हत्याए, आफ्नो सुरक्षाका लागि गोपालहरूले आफूलाई नेवारको रूपमा चिनाउन थाले । यो नयाँ जातीय चिनारी उनीहरूका लागि राम्रो सुरक्षाकवच पनि बन्यो । किराँतपछि लिच्छवी हुँदै मल्ल वंशको शासन प्रारम्भ भयो, नेवारबहुल उपत्यकामा शासन थालेका मल्लहरूले पछि आफूलाई नेवार शासककै रूपमा चिनाए । शासकहरू नै खसबाट नेवारमा परिवर्तन भएको समयमा गोपालहरूको पहिचान चाहिँ बच्न सक्ने कुरै थिएन । त्यसैले उनीहरूले पनि नेवार संस्कृति (गुफा राख्ने चलनबाहेक) ग्रहण गरेका हुन सक्छन् । 

शासनबाट हटेपछि उनीहरूको राजनीतिक शक्ति समाप्त भइसकेको थियो । आर्थिक रूपमा पनि उनीहरू किन सम्पन्न भएनन् भने गाईभैँसी पाल्ने र खेतीपाती गर्ने किसान थिए उनीहरू । अहिले पनि अधिक गोपालीहरू खेतीकिसानी नै गर्छन् । सुरक्षाका लागि उनीहरूले आफ्नो संस्कृति पनि परित्याग गर्नुपर्‍यो । उनीहरूको थर पनि समयक्रममा परिवर्तन हुँदै गए । 

‘ग्वाला’ बाट ‘ग्वाल’ हुँदै ‘ग्वार’ लेख्ने गोपालहरूले पछिल्लो समय आफ्नो थर गोपाली लेख्न थाले । यिनै कारणहरू हुन्, गोपालवंशबारे जानकार इतिहासका विद्यार्थीहरूले समेत थानकोटदेखि शिखरकोटसम्ममा गाउँमा बसोबास गर्ने गोपालीहरू नै प्राचीन गोपाल राजवंशका वंशजहरू हुन भन्दा हत्पत्ति पत्याउँदैनन् ।  
पुर्खाहरूले नेपालमा पहिलो राजवंशको स्थापना गरेको तथ्य गर्वको विषय भए पनि राजनीतिक–आर्थिक–सांस्कृतिक–शैक्षिक अवस्थाका कारण   आफूहरू नेपालको पहिलो गोपाल वंशका सन्तान हौँ भनेर सन्तोष गर्ने स्थितिमा नरहेको बताउँछन् समाजका अध्यक्ष चन्द्रबहादुर गोपाली । उनको भनाइमा, गोपाली समुदायका अधिक मानिस आर्थिक रूपमा विपन्न छन् । शिक्षाको स्तर पनि राम्रो छैन । शासनसत्ताको उच्च पदमा पनि कोही छैनन् । भन्छन्, “सबै क्षेत्रमा अन्य समुदायसँग हामी कसरी प्रतिस्पर्धी बन्न सक्छौँ, त्यतातिर ध्यान दिनसके मात्र हामी गोपालवंशका सन्तान हौँ भनेर गर्व गर्नसक्ने स्थितिमा हुनेछौँ । नत्र हामी सधँै सहानुभूतिका पात्र भइरहनेछौँ ।” 

दश हजारभन्दा कम 

काठमाडौँ उपत्यकामा गोपाली समुदायको सबैभन्दा धेरै बसोवास भएको क्षेत्र थानकोट हो । गोपाली सेवा समाजका अध्यक्ष अधिवक्ता चन्द्रबहादुर गोपालीका अनुसार समाजले ०७१ मा देशभरिका गोपालीहरूको लगत संकलन गरेको थियो । जस अनुसार थानकोट क्षेत्रमा गोपालीहरूको झन्डै दुई सयभन्दा बढी घरधुरी रहेको देखियो । त्यसबाहेक मातातीर्थ–मच्छेगाउँ क्षेत्रमा करिव २२ घर छन् भने पुरानो नैकापमा पाँच घरधुरी । यसैगरी ललितपुरको ठेचोमा चार, कीर्तिपुरमा चार घर र चोभारमा एक घर रहेको तथ्यांक समाजसँग रहेको छ । 

मच्छेगाउँ लगायत उपत्यकाका स्थानमा पनि गोपालीहरूको बसोवास रहे पनि उनीहरू थानकोटबाटै बसाइँ सरेर गएका हुनसक्ने बताउँछन् गोपाली अगुवाहरू । मच्छेगाउँ गाविसका पूर्व गाविस अध्यक्ष ज्ञानबहादुर गोपालीका भनाइमा, उपत्यकामा गोपालीहरूको दोस्रो ठूलो जनसंख्या मच्छेगाउँमा छ । तर, उनी पनि के कुरामा विश्वस्त छैनन् भने मच्छेगाउँ उनीहरूको आदिथलो हो । भन्छन्, “आदिकालदेखि हाम्रा पुर्खा यहाँ बसेको भए यहाँ गोपालीहरूको बहुमत हुनुपर्ने । तर २०–२२ घर मात्र भएकाले पक्कै पनि हाम्रा पुर्खा थानकोटतिरबाटै आएका हुनुपर्छ ।” 

काठमाडौँका आदि जमानाका शासक भए पनि गोपालीहरूको धेरै बस्ती र संख्या चाहिँ मकवानपुरको थाहा नगरपालिका र जिल्लाका अन्य केही गाविसमा भेटिन्छ । जस्तो, थाहा नगरपालिका (मकवानपुर) को वडा नम्बर १२ मा पर्ने कुन्छाल गाउँमा २ सय ५५ घरधुरी छ । समाजका अध्यक्ष गोपालीका अनुसार, जति घरधुरी छन्, सबै गोपालीका हुन् । र, यो नै गोपालीहरूको सबैभन्दा धेरै जनसंख्या रहेको ठाउँ हो । यसबाहेक चित्लाङ गाविसको टौखेल र नुलगाउँ, जसलाई संयुक्त रूपमा बिसिङ्खेल भन्ने गरिएको छ, मा गोपालीका १ सय ७५ घरधुरी छन् ।  

त्रिभुवन राजपथको पालुङ बजार पार गरेर हेटौँडातर्फ लागेपछि बाटोमा पर्ने पर्यटकीय क्षेत्र शिखरकोट पनि गोपालीबहुल क्षेत्र हो । ०७१ को लगत संकलनले त्यहाँ गोपालीहरूको ७५ घरधुरी रहेको देखाएको छ । यसैगरी मकवानपुरकै मनहरी ज्यामिरेमा २५, हेटौँडामा पाँच, पदमपोखरीमा चार घर छन् । कुन्छाल, शिखरकोट, बिसिङ्खेल, थानकोटबाहेक स्थानका गोपालीहरू बसाइँ सरेर गएकाहरू हुन् । अध्यक्ष गोपालीका भनाइमा, सबै ठाउँमा गरेर गोपालीहरूको संख्या १० हजार नाघ्ने स्थिति अहिले पनि छैन ।

को हुन् गोपालवंशी ?

गोपालीहरूले मात्र होइन, तराई–मधेसको यादव जाति पनि आफूलाई गोपालवंशी ठान्छन् । द्वापरयुगमा उपत्यकामा वाणासुर नामक दैत्यले निकै दु:ख दिएकाले उसको बध गर्न आएका भगवान् श्रीकृष्णसँगै आफ्ना पुर्खा ग्वालाहरू काठमाडौँ आइपुगेको र पछि शासन थालेको दाबी गोपालहरूको छ भने यादवहरूले पनि भगवान कृष्णसँगै आएका र काठमाडौँमा शासन गरेका ग्वालाहरू आफ्ना पुर्खा भएको दाबी गर्दै आएका छन् । 

भगवान् श्रीकृष्णसँग आएका ग्वालालाई आफ्नो पुर्खा रहेको दुवै समुदायको दाबीपछि २०६०–०६५ ताका उनीहरूबीच एकताको प्रयास पनि भयो । मच्छेगाउँ (हाल चन्द्रागिरि नपा) गाविसका पूर्व अध्यक्ष ज्ञानबहादुर गोपालीका अनुसार, यादव समुदायबाट त्यस्तो एकताको प्रयास भए पनि त्यसले सार्थक रूप लिएन । उनी भन्छन्, “वंश मात्र मिल्यो, संस्कृति लगायतका केही कुरा मिलेनन् । त्यसैले त्यो प्रयास त्यसै तुहियो ।” 

अध्येता चुन्दा बज्राचार्य चाहिँ गोपाली र यादव दुवै समुदाय गोपालवंशी भए पनि यादवहरूले दाबी गरेजस्तो उनीहरूका पुर्खा काठमाडौँका गोपाल शासकहरू नभएको बताउँछिन् । भन्छिन्, “भगवान् श्रीकृष्ण द्वापर युगका हुन्, त्यो बेला नेपालमा किराँत वंशको शासन थियो । यस आधारमा यादवहरूले गोपालवंशी शासकहरू आफ्ना पुर्खा हुन् भन्ने दाबी तथ्यसँग मेल खाँदैन । किनभने, यदि उनीहरू श्रीकृष्णसँग आएका हुन् भने किराँतकालमा आएका हुन् ।” 


 

 

प्रकाशित: आश्विन ३०, २०७३