कालीगण्डकी वारि

  • तल्लो मुस्ताङको लोभलाग्दो प्राकृतिक सौन्दर्य

- शिव शर्मा

पोखराबाट हवाईजहाजमा २० मिनेटको यात्रापछि बिहानै जोमसोम विमानस्थल उत्रिँदा मोहनी लगाउने वातावरण र खुलेका हिमालहरूले मन प्रफुल्ल बनायो । जाडो याममा हिउँले ढाकिने यस क्षेत्रमा घुम्नका लागि असोज र कात्तिक महिना अनुकूल सिजन रहेछ । पदमार्ग मोटरबाटोले तहसनहस भएपछि वैकल्पिक मार्गको खोजी गरेका तल्लो भेगका मुस्ताङेका निम्तोमा आधा दर्जन सञ्चारकर्मीको टोली यहाँ आइपुग्यौँ । सफा वातावरण अनि छ्यांगै खुलेका हिमालमा बादलको कुनै रेसा मडारिएको थिएन । लोभलाग्दो मौसममा यता आउन पाउने हामी भाग्यमानी साबित भयौँ । स्थानीयले पनि हामीलाई सितिमिती यस्तो मौसम सधैँ नखुल्ने बताएपछि फुरुंग नहुने कुरै थिएन ।

झन्डै सात वर्षअघि म्याग्दीको बेनीदेखि जोमसोमसम्म सडक सञ्जाल जोडिएपछि विश्वकै उत्कृष्ट पदयात्रा मार्गभित्र पर्ने यहाँको ट्ेरकिङको आकर्षण ह्वात्तै घटाइदियो । धुलाम्मे सडक अनि ध्वनि प्रदूषणका कारण हिमालतिर ट्ेरकिङ गर्न आउने पर्यटकले आफ्नो बसाइ पनि छोट्याउन थाले । सातादिनसम्म बस्ने पर्यटक दुईदेखि तीन दिनमा बसाइ पूरा गरेर हिँड्न थाले । एकपटक आउनेहरू दोहोर्‍याएर आउन चाहेनन् ।

बेनीबाट सीधै जोमसोमसम्म मोटरबाटो खुलेपछि तल्लो मुस्ताङको कालीगण्डकी वारिका सबैजसो गाउँ चहलपहलबाट टाढियो । कालीगण्डकी वारिका गाउँहरू सुनसान भए । त्यसपछि स्थानीयले मोटरबाटोको विकल्प नयाँ ट्ेरकिङ रुटको खोजी गरे । मोटरबाटोको वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम यसै वर्ष पूरा भयो । मुक्तिनाथ–पैरोथाप्लो वैकल्पिक पदमार्ग नामकरण गरिएको यो मार्गमा पर्यटकसमेत हिँड्डुल गर्ने क्रम चलेको छ । यो पदमार्गले तल्लो मुस्ताङको सबैजसो गाउँलाई छोएको छ । 

मुक्तिनाथदेखि जोमसोम, मार्फा, टुकुचे, कोवाङ र कुञ्जो गाविस छिचोल्दै म्याग्दीको सीमामा अवस्थित पैरोथाप्लोसम्म झन्डै ५० किलोमिटरको ट्ेरकिङ रहेको पदमार्गका पहलकर्ता कुञ्जो संरक्षण व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र गौचन बताउँछन् । कुञ्जो गाउँका समाजसेवी गौचनकै जोडमा यो मार्ग पहिल्याउने काम भएको हो । उनका अनुसार सात दिनमा पूरा गर्न सकिने यो मार्गमा जैविक विविधता, दुर्लभ वन्यजन्तु, तालतलैया तथा नजिकै आँखामा टाँसिन आइपुग्ने हिमालहरूले अलौकिक आनन्द दिन्छन् । स्थानीय स्तरमा उत्पादित लोकल खानाको स्वाद यस पदमार्गको विशेषता हो ।
उपल्लो मुस्ताङ गुरुङ, भोटे र विष्टलगायतका जनजाति बसोवास गर्ने गरेकामा तल्लो भेगमा अधिकांश थकाली समुदाय बस्छन् । थकाली संस्कृति बुझ्न र अनुसन्धानका लागि पनि स्वदेश तथा विदेशका विश्वविद्यालयका विद्यार्थी आउने गरेका छन् । तल्लो भेग खेतीपाती र कृषि उत्पादनका लागि प्रख्यात मानिन्छ । त्यस्तै माथिल्लो भेग पशुपालन र पुरातात्त्विक सम्पदाको खानीका रूपमा चिनिन्छ । 

“हिमालतिर आउने पर्यटक सवारी चढ्न आउने हैनन्, यता हिँडडुल गर्न आउने हुन्,” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका संरक्षण अधिकृत विदुरविक्रम कुईंकेल अथ्र्याउँछन्, “मोटरबाटो खुलेपछि ट्ेरकिङका लागि आउने पर्यटकको संख्या घट्दो क्रममा छ ।”

जिल्ला भित्रिने र बाहिरिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको तथ्यांक एक्यापले राख्दै आएको छ । अघिल्लो वर्ष सेप्टेम्बरसम्म ३१ हजार २ सय ३२ भारतीय र तेस्रो मुलुकका पर्यटक भित्रिएकामा यस वर्षको सेप्टेम्बरसम्म जम्मा १५ हजार ४ सय ७८ जना मात्र भित्रिएको रेकर्ड छ ।

पदमार्गको ट्रयाक खोल्ने काममा जिल्ला विकास समिति र एक्याप मुस्ताङले सघाएको छ । मुस्ताङको पर्यटन गुरुयोजनामा समेत यो वैकल्पिक मार्गलाई समेटिएको छ । पर्यटकलाई आकर्षित गराउन पदयात्रा मार्गका बासिन्दा पनि होटल/रेस्टुराँ विस्तार गर्नेदेखि विभिन्न लोपोन्मुख संस्कृतिको जगेर्नातर्फ लागेका छन् । 

नेपाल र तिब्बतको पुरानो व्यापारिक नाका टुकुचे पनि यही मार्गमा पर्छ । जहाँ कवि भूपी शेरचनसमेत जन्मिएका थिए । यहाँको स्याउ पोखरा, काठमाडौँलगायत देशका विभिन्न भागमा अत्यधिक माग हुने गरेको छ । धौलागिरि हिमाल, धौलागिरि आइसफल, टुकुचे हिमाललगायतका हिमशृंखला नजिकैबाट नियाल्न पाइन्छ । 

अलि माथितिर उक्लिएपछि चौरीखर्कहरू भेटिन्छन् । कस्तूरी मृग, हिउँचितुवालगायतका संरक्षित वन्यजन्तुको प्रमुख बासस्थान मानिन्छ । यस्ता दुर्लभ वन्यजन्तुको अनुसन्धानका लागि समेत विदेशी विज्ञहरू आउने गरेका छन् । प्रमुख धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आउने पनि यतिबेला नै बढ्छन् । 
उपल्लो मुस्ताङको प्रचारप्रसार भए पनि तल्लो भेगका कालीण्डकी वारिका बासिन्दा सधैँ ओझेलमा परिरहेका छन् । “पदयात्राका लागि महत्त्वपूर्ण हँुदाहँुदै पनि प्रचार हुन सकेन, हिमाल र भू–धरातलले लोभ्याउने ठाउँलाई राज्यले पनि चासो दिनुपर्छ,” स्थानीय शारदा शेरचन भन्छिन्, “यस्ता सुन्दर र ऐतिहासिक गाउँलाई छायामा राखेर पर्यटन विकास हुन सक्दैन ।” दैनिक ५ देखि ६ घन्टा हिँडेर रमणीय गाउँमा बास बस्दै यो पदमार्ग छिचोलेर पोखरा आइपुग्दा मन आनन्दित र प्रफुल्लित भएको थियो । 

प्रकाशित: आश्विन २९, २०७३