चम्किला विद्यालय, उज्याला शिक्षक

  • निजी शिक्षण संस्थाको हल्लीखल्लीमाझ केही उदाहरणीय सरकारी विद्यालय

- बाबुराम विश्वकर्मा

सरकारी विद्यालयको राष्ट्रिय नतिजा ३२ प्रतिशत रहेका बेला केही विद्यालयले भने ७० प्रतिशतभन्दा बढी नतिजा ल्याएर पुरस्कारै जितेका छन् । जस्तो :

श्री पद्म उमावि, भक्तपुर 
निजी विद्यालयको शिक्षाले आकर्षित गरेका अभिभावकलाई सरकारी विद्यालयमा तान्नु भनेको निकै कठिन काम हो । तर, भक्तपुर दरबार क्षेत्रस्थित श्री पद्म उमाविले यस्तै कठिन काम गरेको छ । यो विद्यालयको पठनपाठन र शैक्षिक–भौतिक प्रगतिले निजी विद्यालयतिर आँखा लगाइरहेका अभिभावकलाई आफ्ना सन्तति यहीँ भर्ना गर्न प्रेरित गरिरहेको छ । 

०७१ को एसएलसी नतिजामा पनि श्री पद्म उमावि देशकै उत्कृष्ट सरकारी विद्यालय ठहरियो भने ०७२ को नतिजामा पनि उत्कृष्ट विद्यालय बन्यो । प्रधानाध्यापक राम हाडाका अनुसार विद्यालयको समग्र सिकाइ उपलब्धि ८० प्रतिशतभन्दा माथि छ । जब कि, देशको सरकारी विद्यालयको राष्ट्रिय नतिजा ३२ प्रतिशतभन्दा बढी छैन । 

०६० मा व्यवस्थापन संकायबाट सुरु गरिएको उच्च मावि तहमा अहिले मानविकी, शिक्षा र विज्ञान संकाय सञ्चालित छन् । यसै विद्यालयको भगिनी संस्था हो, पद्म कलेज । यहाँ स्नातकोत्तरसम्म पढाइ हुन्छ, बीबीएस र एमबीएस कार्यक्रम । स्नातक र स्नातकोत्तरको औसत उत्तीर्ण दर पनि ५० प्रतिशतभन्दा माथि छ । पूर्वप्राविदेखि स्नातकोत्तर तहसम्म करिब १ हजार ९ सय छात्रछात्रा र १ सय ५० शिक्षक कर्मचारीको नेतृत्व हाडाले गर्दै आएका छन् । एउटै व्यक्तिको नेतृत्वमा पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म पठनपाठन सञ्चालन गर्न सफल शैक्षिक संस्थामा पर्छ, श्री पद्म उच्च मावि । यो नै प्रधानाध्यापक/प्राचार्य हाडाको मुख्य सफलता हो ।

चक–डस्टर पनि नपाउनु विवशता हो । तर, श्री पद्म उच्च मावि सीसीटीभी, इन्टरएक्टिभ बोर्ड, कम्प्युटर ल्याब र इन्टरनेटको प्रयोगमार्फत ‘स्मार्ट’ सरकारी विद्यालय बन्न सफल भएको छ । त्यहाँ प्रविधिले कालोपाटी र चक डस्टरलाई विस्थापित गरिसकेको छ । पठनपाठनमा सूचना प्रविधिको प्रयोगका दृष्टिले नम्बर एक नै भएको छ यो विद्यालय । पठनपाठनलाई स्मार्ट बनाउन स्कुलले एक वर्षअघिदेखि इन्टरएक्टिभ बोर्ड, मल्टिमिडिया सेट तथा ल्यापटपबाट शिक्षण प्रारम्भ गरेको छ । हाडाका अनुसार यो विद्यालय २१ वर्षअघि कम्प्युटर ल्याउने सरकारी विद्यालय हो । विसं १९८१ मा स्थापना भएको श्री पद्म उमावि देशकै पुराना विद्यालयमध्येको हो । 

प्राचार्य सीसीटीभीमार्फत आफ्नै कार्यकक्षमा बसीबसी विद्यालयका सम्पूर्ण गतिविधि नियाल्छन् । भन्छन्, “सीसीटीभी जडानपछि स्कुलमा छात्रछात्रा र शिक्षकको नियमितता बढेको छ ।” यो विद्यालयको अर्को विशेषता हो, १५ वटा विषयगत प्रयोगशाला । इन्टरनेटसहितको कम्प्युटर ल्याब पनि छ, विद्यालयमा । 

प्रधानाध्यापक हाडाको ऊर्जा र योग्यताले यो विद्यालयलाई देशकै उम्दा सरकारी विद्यालय बनाएको छ । २९ वर्षदेखि शिक्षण पेसामा रहेका गणित विषयमा एमएड उनी ‘हाइटेक हेडसर’ हुन् । उनको कार्यकक्षमा ल्यापटप, कम्प्युटर, टेलिफोन छन् त हातमा स्मार्ट फोन । 

सत्यवती उच्च मावि, तनहुँ 
कतिपय सरकारी विद्यालय बालबालिका भर्ना नभएर बन्द हुने अवस्थामा पुगेका छन् । तर, तनहँुमा एउटा यस्तो विद्यालय छ, जहाँ भर्ना हुन सिट नपाएर आकांक्षी अभिभावक आफ्ना सन्ततिलाई अन्यत्रै लैजान बाध्य छन् । शैक्षिक र भौतिक प्रगतिमा ठूलो फड्को मारेको तनहुँको सदरमुकाम दमौलीको सत्यवती उच्च मावि यस्तै सरकारी विद्यालय हो । यो विद्यालयमा अहिले २ हजार ४ सय विद्यार्थी पढ्छन् भने तिनलाई ८५ जना शिक्षकले सम्हालेका छन् । हरेक शैक्षिक सत्रको सुरुमा वरिपरिबाट १ हजार ५ सय छात्रछात्रा यहाँ भर्ना हुन आउँछन् । तर, विद्यालयले तीन सयभन्दा बढी विद्यार्थी लिन नसक्ने भएकाले प्रवेश परीक्षाको व्यवस्था गरेको छ । 

सत्यवती उच्च माविलाई तनहुँकै उम्दा विद्यालय बनाउन नेतृत्वदायी भूमिका खेलेका छन् प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले । राम्रो पठनपाठनका कारण शिक्षा मन्त्रालयबाट पनि सत्यवती उच्च मावि चारपटक उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भइसकेको छ । यो विद्यालय जिल्लाको नम्बर एक सूचीमा त छँदै छ, पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट विद्यालय पनि हो । मिहिनेती र दक्ष शिक्षक अनि विद्यालयको प्रगतिप्रति चासो राख्ने अभिभावकका कारण विद्यालयको शैक्षिक उन्नति भएको विद्यालयका प्रधानाध्यापक पौडेलको ठम्याइ छ ।

यहाँको पढाइ अन्यत्रको भन्दा भिन्न छ । किनभने, अरू स्कुलमा उही थोत्रो लेक्चर विधिमा पढाइ हुन्छ भने त्यहाँ अभिभावक र छात्रछात्राको रुचि अनुसार नियमित अन्तक्र्रिया हुन्छ । शिक्षणमा स्मार्ट विधि अपनाइएको छ । पढाइको माध्यम अंग्रेजी हो । प्रधानाध्यापक पौडेल भन्छन्, “मेरो विषयको नतिजा ८१ प्रतिशत छ भने विद्यालयको समग्र औसत शैक्षिक नतिजा ७० प्रतिशतभन्दा माथि छ ।” 

धेरैजसो सरकारी उच्च माविमा शिक्षा र मानविकी संकायको बाहुल्य छ । तर, यो अपवाद बनेको छ । विज्ञान, शिक्षा र व्यवस्थापन विषयमा पढाइ हुन्छ यहाँ । अझ विज्ञानमा त उत्कृष्ट नतिजा नै हासिल गर्दै आएको छ, करिब ९० प्रतिशतको उत्तीर्ण दरका कारण । पौडेल भन्छन्, “सरकारी विद्यालयमा विज्ञान विषयमा यत्रो उत्तीर्ण दर आउनुले नै हाम्रो गुणस्तर कस्तो छ भन्ने देखाउँछ ।”

गणेश मावि, बाग्लुङ
सार्वजनिक विद्यालयमा सर्वाधिक ध्वस्त मानिन्छ, अंग्रेजी शिक्षा । बाग्लुङको गणेश माध्यमिक विद्यालय भने त्यसलाई ठाडै चुनौती दिइरहेछ । १० वर्षअघिदेखि अंग्रेजी माध्यममा पढाइ भइरहेको यस विद्यालयका विद्यार्थीले एसएलसी परीक्षासमेत अंग्रेजी माध्यममै दिन्छन् । 

यस वर्षको एसएलसीको नतिजाका आधारमा यो विद्यालय पश्चिमाञ्चल विकास क्षेत्रको उत्कृष्ट सरकारी विद्यालय घोषित भएको छ, यो । 

गणेश माविनजिकै दुईवटा निजी विद्यालय छन् । तर, आमअभिभावकको छनोटमा गणेश मावि नै छ । यो विद्यालयमा छोराछोरी भर्ना गर्न मरिहत्ते गर्छन्, स्थानीय अभिभावक । राम्रो कुरा के छ भने विद्यालयमा एकपटक भर्ना भएका बालबालिकाले सितिमिती विद्यालय छाड्दैनन् । त्यसैले विद्यालयको ‘ड्रप आउट’ दर शून्य छ । पहाडी भेगको विद्यालय भए पनि यहाँ ६ सय ९० विद्यार्थी छन् ।

सरकारी विद्यालयका शिक्षकमध्ये धेरैले आफ् ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेका छन् । त्यस्ता शिक्षकका लागि सरकारी विद्यालय जागिर खाने थलो मात्र भएको छ । तर, गणेश माविका प्रधानाध्यापक चूडामणि सुवेदीले आफ्ना छोरालाई यही विद्यालयमा पढाएका छन् । अरू शिक्षकले पनि आफ्ना विद्यालय उमेर समूहका छोराछोरीलाई यहीँ पढाएका छन् । “शिक्षकले आफ्ना छोराछोरी आफ्नै विद्यालयमा पढाउन थालेपछि अभिभावकले पनि हामीलाई विश्वास र सम्मान गर्दा रहेछन् ,” सुवेदीको अनुभव छ ।

प्राय: सबैतिरका शिक्षकले विद्यार्थीलाई तँ वा तिमी सम्बोधन गर्छन् । यहाँका शिक्षकहरू चाहिँ आफ्ना विद्यार्थीलाई ‘तपाईं’ सम्बोधन गर्छन् । विद्यार्थीलाई सम्मानको अर्थ सिकाउन र व्यवहारमा उतार्न यस्तो गरिएको हो । यहाँ सजाय निषेध गरिएको छ । रमाइलो र बालबालिकालाई माया गरेर पढाउने गरिएकाले गणेश माविको औसत सिकाइ उपलब्धि ८२ प्रतिशतभन्दा बढी रहेको प्रधानाध्यापक सुवेदी बताउँछन् । 
अहिलेसम्म एसएलसीलाई विद्यालय तहको अन्तिम खुड्किलो मानिएकाले यो सकेपछि विद्यालयहरूको छात्रछात्राप्रतिको दायित्व सकिएको ठान्ने धेरै विद्यालय छन् । तर, यो गणेश माविको हकमा लागू हुँदैन । विद्यालयले एसएलसीपछि पनि विद्यार्थीसँगको सम्बन्धलाई जीवन्त राख्ने गरेको छ, करिअर काउन्सिलिङ, फलोअपमार्फत । 

विद्योदय निमावि, झापा 
सरकारी विद्यालयका बालबालिकाका लागि विद्यालयमै खाजाको व्यवस्था गर्न अझै नेपालको राज्यव्यवस्था सक्षम भइसकेको छैन । बिहान खाना खाएर विद्यालय गएका बालबालिका खाजा खानका लागि विद्यालय छुट्टी भएपछि फेरि घर फर्किनुपर्छ । यता निजी विद्यालयमध्ये केहीले विद्यालयमा खाना–खाजाको व्यवस्था गरेका छन् भने धेरैमा बालबालिका आफैँ टिफिन लिएर जाने गर्छन् । 

तर, झापाको दमकस्थित विद्योदय निमाविका सबैभन्दा सानो उमेर समूहका बालबालिकाले विद्यालयमा भोकै पढ्नुपर्दैन । त्यहाँ नगरपालिका र जिल्ला शिक्षा कार्यालयको सहयोगमा कक्षा ३ सम्मका बालबालिकालाई खाजा खुवाउने गरिएको छ । यसको पहल गर्ने पात्र हुन् शिक्षण सेवामा ३२ वर्ष बिताइसकेका शिक्षक नरपति पाण्डे । उनका अनुसार सबैभन्दा साना उमेरका बालबालिकालाई विद्यालयमा खाजा ख्वाउन थालेपछि टिफिनपछि विद्यार्थी घर भाग्ने अनुभव थियो । खाजाले बालबालिका पढाइप्रति आकर्षित भएका छन् । निमित्त प्रधानाध्यापक पाण्डे भन्छन्, “भोको पेटले पढ्न सक्दैनन् भनेर हामीले चन्दादाताको सहयोगमा खाजा ख्वाउने गरेका छौँ ।”

यस विद्यालयमा बालबालिकाको पठनपाठन सुधार गर्न इन्टरनेटसहितको कम्युटर ल्याब पनि छ । कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुन्छ । बालबालिकाको नेतृत्व विकासका लागि बाल तथा युवा क्लब छन् । तिनले कुनै कारणले कक्षा खाली भएकामा स्वतन्त्र लेखन अनि हिज्जे प्रतियोगिताजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्छन् । यस्ता सिर्जनात्मक क्रियाकलापले यो विद्यालयलाई आमसरकारी विद्यालयभन्दा भिन्न बनाएको छ । २ सय ५६ छात्रछात्रा र ११ शिक्षक रहेको विद्योदय निमाविको शैक्षिक उपलब्धि ७० प्रतिशतभन्दा माथि छ । 

निमित्त प्रधानाध्यापक पाण्डेले पढाउँदै आएका विषयमा विद्यार्थीले ७२ प्रतिशतभन्दा बढी नतिजा हासिल गरेका छन् । “शिक्षण मेरो सोख हो, म अवकाश पाएपछि पनि स्वयंसेवी शिक्षकका रूपमा शिक्षण कर्ममा हुन्छु,” पाण्डे भन्छन् । 

प्रकाशित: आश्विन २०, २०७३