घर त बन्दीपुर...

  • घरको मोलमोलाइ भएको पनि थियो । थैलो राम्रो थियो । छिमे कीहरुले पलायनको मेरो बाध्यात्मक रोजाइको सुइँको पाए । तिनले मलाई घरप्प घेरे ।

- खगेन्द्र संग्रौला

जीवन भन्नु नै पाइला–पाइला गरी पलपल बनिने स्मृतिहरुको विराट शृंखला रहेछ । अविराम जीवन–यात्रामा मानिस भूगोलका र विचारका साना वा ठूला वृत्तमा नित्य घुमिरहन्छ । सुकर्म वा कुकर्म गर्दै मानिसले जहाँजहाँ पाइला टेक्छ, उसका पदचापको छाप स्मृति भएर उसको चुम्बकीय दिमागमा अंंिकत हुन्छ । जीवनका अगणित पाइलाहरु समयका सूक्ष्म सूत्रहरुद्वारा आपसमा उनिँदा स्मृतिको विराट शृंखला बन्छ । फिका वा धमिला स्मृतिहरु समयको कुचोद्वारा बढारिएर बीचैमा बिलाउँछन् ।

गाढा वा प्रखर स्मृतिहरु जीवनको अन्तिम साससम्म आफ्नो अतीतको नागबेली यात्राको स्मरण गराउँदै जीवन्त रहन्छन् । तनहुँको डुम्रेमाथिको बन्दीपुर मेरो स्मृति–शृंखलाको एउटा अमिट प्रकरण हो । यो स्मृति–प्रकरण अलिकता प्रेरणा, अलिकता उमंग र अलिकता आनन्द भएर जीवनको अन्तिम पलसम्म मसँगै रहने छ ।

दुई जना नेपालीको भेट हुँदा सोधिने दुईवटा थेगोतुल्य प्रश्न खुबै प्रचलित छन् । ‘भात खायौ ?’ र ‘घर कहाँ हो ?’ पहिलो अर्थै नभएको अथवा अतिशय प्रयोगबाट अर्थ खुइलिएको बेतुक प्रश्न हो । मानौँ, यो नेपालको नेपाली केवल भात खानकै लागि जन्मिएको हो । मानौँ भात खानुसिबाय जीवनमा गर्नलाई अन्वेषणशील, उत्पादनशील वा सिर्जनशील काम केही छैन । 

जुन देशमा खानलाई मनग्गे भातै छैन, त्यहाँ दिनको दुई–दुई पटक सोधिन्छ– ‘भात खायौ ?’ लाग्छ, अभावग्रस्त देशको यो खाइदेऊ प्रश्न प्रश्नकर्ता स्वयंप्रतिको उपहास हो । तैपनि, नाथेले प्रश्न गर्न छाडे पो ! यो भाते प्रश्नको उत्तर दिन मगज खियाउनु पर्दैन, केवल सुगा शैलीमा जिब्रो हल्लाए पुग्छ । तर, दोस्रो प्रश्न भने केही अर्थ बोकेर लक्षित निसानासामु प्रस्तुत हुन्छ । यो प्रश्नले मानिसको उद्भव र उसका जराप्रति जिज्ञासा राख्छ । त्यसैले यसको उत्तर किंचित् दुरुह छ । 

जब कसैले ‘घर कहाँ हो ?’ भनेर मलाई सोध्छ, म सधैँ अलमलिन्छु– साँच्ची, मेरो घर कहाँ हो ? मास्टरीको आवरणमा सामाजिक जागरणको खेती गर्न रुमानी आशावाद अघि लगाएर म धेरैतिर घुमेँ । लामो वा छोटो समय म धेरै ठाउँमा बसेँ । म जहाँजहाँ बसेँ, ती सबै ठाउँसँग मेरो मायामोह बसेको छ । साँच्ची, मेरो घर कहाँ हो त ?

अहिले मेरो बसोवास राजधानी काठमाडौँको बौद्धनाथ र पशुपतिनाथको छिमेकी भेग चाबेलमा छ । यहाँ मेरो घर छ । तर, ‘घर कहाँ हो ?’ को उत्तरमा ‘मेरो घर चाबेल हो’ भन्न कसोकसो मलाई मुख लाग्दैन । यस घरमा मेरा छोराछोरी हुर्किए, बढे । तिनले यही घरमा एक चरण पुस्तक र जीवन पढे । र, तिनले यही घरमा आकांक्षाका स्वप्निल पखेटा हालेर आफ्ना आमा–बालाई चकित र विस्मित तुल्याउँदै जीवन–यात्रामा दूर, अति दूर, अविदित भूमितर्फ वेग मारे । यो घरको सेरोफेरोमा मेरा एकाध दुष्ट र बाँकी असल छिमेकीहरु छन् । 

एकपटक एक थान असल छिमेकीका लत, रुचि र व्यवहार असह्य भएर म यो घरबाट कतै भाग्न खोजेको थिएँ । घर किन्न गाहाकी आएको पनि थियो । घरको मोलमोलाइ भएको पनि थियो । थैलो राम्रो थियो । छिमेकीहरुले पलायनको मेरो बाध्यात्मक रोजाइको सुइँको पाए । तिनले मलाई घरप्प घेरे । र, कडा तर प्रेमिल लबजमा भने– ‘लौ त, हाम्लाई चटक्कै माया मारेर याँटी कसरी जाँदो रैछस् ? ए रात्तै !’ नित्य सुख–दु:ख बाँडचुँड गर्ने भद्रमिजासी टोलिया मनुवाहरुको मप्रतिको माया यति गाढा छ । तैपनि, स्वत:स्फुर्त ढंगले मेरो मौलिक घर यही हो भन्न मेरो जिब्रो अनकनाउँछ । किन ? ठाउँठाउँका थरीथरीका स्मृतिहरुको जन्जाल भएको मेरो मनको अन्तर मसँग कानेखुसी गर्छ– ‘यो तेरो घर त हो मनुष्य तर अरु केही घर हेरी यो तेरो प्राविधिक घर हो ।’ हो र ? म आफैँलाई सोध्छु । मनको अन्तर मलाई फेरि सम्झाउँछ– ‘हो, मनुवा । हुनलाई यो पनि तेरो अनुरागयुक्त घर हो तर अरु केही हेरी निश्चय नै यो तेरो प्राविधिक घर हो ।’ 

गमेर ल्याउँदा मलाई घरको सही अर्थ खुल्छ । मेरा प्रगाढ अनुरागका जरा गाडिएका भावनात्मक घर दुई ठाउँमा छन् । एउटा घर छ म जन्मिएको पाँचथर, सुभाङमा, जहाँ मैले ममतामयी आमाको गर्भबाट खुत्रुक्क ओर्लिएर धरती स्पर्श गरेँ, जहाँ मैले आमाको सुस्वादु एवं जीवनदायी दुध चुसेँ, जहाँ मैले आमाको नक्कल गर्दै जगत्सँग बात मार्ने भाषा सिकेँ र जहाँ मेरा विचार र संस्कारको बालसुलभ संस्करणले अर्धमूर्त आकार ग्रहण गर्‍यो । मेरो अर्को घर तनहुँको बन्दीपुर हो, जहाँ मेरो प्रणयगाथा बुनियो, जहाँ मेरो घरजम भयो र जहाँ हाम्री छोरीले यो सुन्दर संसार देखी ।

म लमजुङको खुदी गएँ । त्यहाँ बसेँ र पढाएँ । म तनहुँकै चुँदी गएँ । त्यहाँ बसेँ र पढाएँ । म दमौली गएँ, नारानघाट गएँ, भरतपुर गएँ । त्यहाँ बसेँ र पढाएँ । मेरो मनको भित्तोमा यी सबै ठाउँका सुखका र दु:खका स्मृतिका छापहरु छन् । तर, यी सबैको शीर्ष स्थानमा बन्दीपुर छ । बन्दीपुरको स्मृति–विम्बमा मेरो प्रणयलीला र छोरीको जन्मको कथा मात्र छैनन् । तर, स्मृति शृङ्खलारुपी कथ्यको केन्द्रमा भने यिनै दुईवटा घटना छन् । यी मूल घटनाको वरिपरि कति कति उप–घटनाहरुको जालो छ । यो जालोमा बन्दीपुरको रमणीय प्रकृतिको छटा छ । माघ महिनामा रहरलाग्दो टुँडिखेलको छेउबाट आफूभन्दा तलको आकाशमा दूर क्षितिजसम्म झुन्डिएर लोकलाई अभिभूत तुल्याउने भुवामय, फटीक र चामत्कारिक कुहिरोको विस्मयकारी दृश्य छ । उस्तै फटीक हिमालको आँखै टिप्ने चमक भएको लामो शृंखलाको अविस्मरणीय याद छ । अनि ?

अनि, अतीतको समृद्धि, गौरव र चकचकीको सम्झना गर्दै उजाड वर्तमानमा झोक्राइरहेको बन्दीपुरको उदास चित्र छ । मगरहरुको सम्मोहक गायन र मगर्नीहरुको मनोरम नृत्यको ध्वनि र दृश्य छ । शनिबारैपिच्छे तीनधारामा सहकर्मी मास्टरहरुसँग हाँसखेल गर्दै देह र वस्त्र धोइपखाली गरेको एक छाँटको कथा छ । विद्यालयमा पटक–पटक नाटक खेलाएका उमंगमय क्षणहरुको प्रीतिकर याद र क्रूर प्रशासनले सताएको अप्रीतिकर कृत्यको ताजा सम्झना छ । उसो त वर्चस्वशालीहरुका आँखा छलेर रातको सन्नाटामा गरिब दलितहरुका पिँडीमा कहिलकाहीँ राजनीतिक सत्संग गरेको मीठो याद पनि छ । सम्झेर ल्याउँदा बन्दीपुरका छाँटछाँटका स्मृतिहरु कति छन् कति !

म मास्टरको भेषमा जाँदा बन्दीपुर अलि वर्षअघि उन्नतिबाट हठात् अवनतिमा पतीत भएको थियो । पतनको आघातले बन्दीपुर विक्षिप्त थियो, मूच्र्छित थियो । त्यसैत्यसै क्रूद्ध, उदास र हतास थियो त्यो । त्यो आफैँभित्रको कोलाहलबाट आतंकित थियो । नवनिर्मित सडक तल डुम्रे भएर चुँदी खोलाको किनारै–किनार सुरुसुरु दमौलीतिर गयो । सडक नाथेको स्वभावै सोहोर्ने । त्यसले माथि पाखाभित्ताका पसलहरुलाई सोहोरेर आफ्नो किनारमा ल्यायो । त्यसले माथिका चुनदाम पैसा सोहोरेर तल झार्‍यो । चाइना रोड दमौलीलाई हुनुसम्म वरदान भयो, बन्दीपुरलाई हुनुसम्म अभिशाप । सडक पायक पर्‍यो भन्ने बहानामा दमौलीले बनियाँ दृष्टिले सदरमुकाम ताक्यो । र, दमौलीले धूलो उडाउँदै होहल्लासाथ हुल उठेर बन्दीपुरस्थित सदरमुकाम खोस्यो । 

जब सदरमुकाम थियो, बन्दीपुरसँग सबथोक थियो । व्यापार–बिजनेस थियो । जिल्लाभरिको पैसो नित्य धाएर अड्डा–अदालत आउँथ्यो र त्यो बन्दीपुरका खल्तीमा खस्थ्यो । मानिसहरुको चलहपल, रैरकमको चल्तीफिर्ती, बजारवासीहरुको स्फुर्ति र उमंग, वर्तमानको प्रकाश र भविष्यको आश– हो त नि, बन्दीपुरसँग के मात्र थिएन ? हुनुहरुको यो लाममा सेरोफेरोका मगर, गुरूङ र दलितहरु सदैव व्यापारी साहूहरुका भारी बोक्न र तिनको ऋण बोक्न अभिशप्त हुँदाको दारुण कथा पनि थियो । जब सदरमुकाम खोसियो, सदरमुकामको पुच्छर समातेर बन्दीपुरको सबथोक गयो । गरिबहरुले बोकीखाने भारीधरी अपहरणमा पर्‍यो । दमौली हर्षातिरेकले उन्मत्त भयो, बन्दीपुर सघन निरासाका एँेठनकारी दहमा डुब्यो । 

जब म बन्दीपुर गएँ, वैभवको मुहान खोसिँदा आहत भएको यो नगरी इलमशून्य थियो । मानौँ, त्यो कर्महीन मुद्रामा समय बियाँल्न जुम्रा मारिरहेको थियो । व्यापार सुस्त थियो, सबैजसो अवसरको खोजीमा अन्यत्र गएर बाँकी रहेका एकाध व्यापारीहरुको मनोदशा शुष्क थियो । कलात्मक बान्की भएका विशाल हबेलीहरु रङडङ खाली थिए, जहाँ अहोरात्र मुसा र माउसुलीहरुको रजगज राज चलेको थियो । मान्छे जब इलमविहीन हुन्छ, उसको रिक्त मथिंगलमा तुच्छ कुराहरुले अड्डा जमाउँछन् । र, सुरु हुन्छ डाहायुक्त र दुच्छर नाटीकुटीहरुको क्रूर एवं कुरुप क्रीडा । कसले कोसँग आँखा लडायो, कसलाई लिएर को लुत्त झ्याँसझाडीतिर पस्यो, कसको कोसँग लसपस भयो आदि इत्यादि ।     

उराठलाग्दो बन्दीपुरमा यो सब मानसिक बेचैनी र उदासीमाझ एउटा कुरा बडो रंगीन र रोचक थियो । मेरा एक जना रैथाने बौद्धिक मित्र थिए, अमृतगोपाल प्रधान । तिनको दारु दोकान थियो । दोकानमा नित्य जर्किनका जर्किन दारु गोचर हुन्थे । सेतो दारु, रातो दारु, नीलो दारु, पहेँलो दारु । मित्रको दारु व्यापार राम्रो चलेको थियो । बेलुका जब निस्पट्ट अँध्यारो हुन्थ्यो, प्रतिबद्ध मापसेहरु गोजेरो टन्न हुने गरी ठाँडो घाँटी लगाएर उन्मादी मुद्रामा बाहिर निस्कन्थे । र, ती कसै न कसैका कुरा काट्दै सिंहगर्जन गर्थे– ‘आइजो मामपाका, परुँ । आज कि तँ छैनस्, कि म छैन । ह्याउ भए आइजो मामपाका, परुँ ।’ भोको सिंहको जस्तो त्यो मापसे गर्जन मलाई बडो अर्थपूर्ण लाग्थ्यो । त्यो सिंहनाद बन्दीपुरको भित्रभित्रै गुम्सिएको पीडाको विरेचन वा उन्मुक्ति त यसै पनि थियो नै, चित्तमा बाफिएको ताप पोखिने त्यो गर्जन विक्षिप्त र मूच्र्छित बन्दीपुरको किञ्चित् जिउँदोपनाको निसानी पनि थियो । र, त्यो बन्दीपुरलाई निरासाको अथाह गहिराइमा डुबेको डुब्यै हुन नदिने सचेतनकारी खबरदारी थियो ।

मेरो मनमा बन्दीपुरको अर्को एउटा रुमानी रङ पोतिएको स्मृति छ । बन्दीपुरमा मलाई नाटक मञ्चन गर्ने जोगमेसो मिल्यो । नाटक लेखेँ । गीति टाइपको नाटक थियो त्यो । नाटकको शीर्षक थियो– ‘जोबनको देउरालीमा’ । नाटकको कथ्य अन्तरजातीय प्रणय । अचेलको जस्तो बाहुन र दलितबीचको प्रणय होइन, क्षत्री र बाहुनका पठ्ठा–पठ्ठीबीचको प्रणय । जातपातको मामिलामा रुढिग्रस्त समाज त संकुचित थियो नै, निरंकुश शासनतन्त्र झनै संकुचित थियो । त्यसैले नाटकमा बाहुन–क्षत्रीबीच अन्तरजातीय प्रणयको रचना गर्नु ऊबेला ठट्टा थिएन । नाटक हेर्न जिल्लाका सीडीओ, एलडीओ पनि बन्दीपुरे उकाली उक्लेर आए । 

नाटकमा बाहुनी पठ्ठीका बा सनक्क सन्किए र तिनले छोरी ताक्ने क्षत्री पठ्ठाको ज्यानमाथि दागा धरे । जातजन्य अहंकारद्वारा प्रणयको बाटै छेकिँदा प्रणयको नशामा लठ्ठिएकी बाहुनी पठ्ठीले आत्महत्याको चेष्टा गरी । जेठ महिना, अन्तिम दृश्य नतुरिँदै हात्तीसूँढे पानी दर्कियो, र नाटकको नियति त्यसभित्रको प्रणयको जस्तै दु:खद हुन गयो ।

सीडीओ अल्पपठित, शठमति र सन्की टाइपका थिए । नाटकको अन्ततिर प्रणय प्रकरण जब धुजाधुजा भयो, ‘पुरानो बाटो पैरो गयो, नयाँ बाटो बन्न बाँकी छ’ भन्ने कथनमा मैले आशाको बीउ जोगाएर राखेको थिएँ । लठ्ठक सीडीओ र तिनका धुपौरेहरुले लालबुझक्कडी मुद्रामा यो कथनको निरंकुश कोणबाट राजनीतिक अर्थ लगाए । र, यसले पञ्चायतलाई पैरामा पुरेर जीवनको नयाँ बाटो खन्न खोज्यो भनी ममाथि फत्तुर लगाए । यसै पनि सीडीओ माने जिल्लाको राजा उर्फ जंगे । जंगेले बोल्यो कि सकियो । बन्दुक चलाउने पनि उही जंगे, कलाको अर्थ लगाउने पनि उही जंगे । फत्तुर के लाग्नु छ, शठ सीडीओको क्रूर अड्डामा घरिघरि लत्रिँदै तारेख धाउनु छ । आफ्नो बचाउ पक्षमा बोलीमाग्न मानव अधिकारवादी छैन । एनजीओको विकासे छैन । पत्रकार संघ छैन । एक्लो र निरीह म विवश भएर धाएँ । समयक्रममा बहुलठ्ठी फत्तुर आफैँ थाक्यो र म तारेखको झ्याउलोबाट मुक्त भएँ । 

यो भयो बन्दीपुरमा मेरो एउटा नाटकले निम्त्याएको अप्रिय परिणति । परिणतिको अर्को पाटो पनि छ । राम्ररी अर्थ नखुल्ने यो पाटो भने रंगीन, रुमानी र प्रीतिकर छ । यत्नपूर्वक लुकाउँदा–लुकाउँदै समाजका सिकारी नजरमा जब मेरो प्रणयको गुह्य खुल्यो, मित्रहरुले भरपूर आनन्द लिँदै मलाई प्रेमपूर्वक गिज्याए । ओठमा व्यंग्यमिश्रित मुस्कान नचाउँदै तिनले भने– ‘ए, बल्ल पो कुरा बुझियो ।

नाटकको अन्तरजातीय प्रेम त तमु रुपसीलाई फकाउने घुमाउरो जुक्ति पो रहेछ । हेर, पूर्वेली कुमाई कति बाठो !’ ए हो र ? मेरो चित्तको तलाउमा कौतूकमय भावतरंग उठ्यो । नाटकका माध्यमले मैले स्वप्निल जगत् की रुपसीछेउ प्रतीकात्मक रुपले प्रणय–निवेदन गरेको हुँदो हुँ र ? मलाई थाहा छैन । मेरो मनको सचेतन तहमा त्यस्तो गुप्त अभिप्राय वा चतुर रणनीति पटक्कै थिएन । थाहा छ, जीवनमा सचेतन मनले पत्तै नपाई मनको अवचेतन तहले नानाओली क्रीडा गर्छ । खै, मेरोले पनि गर्‍यो कि त !

बन्दीपुरमुनिको वेगवान् मस्र्याङ्दी नदीमा कति कति पानी बगेर गइसक्यो । हाम्रा छोराछोरीका पनि छोराछोरी भइसके । समयको यो लामो दूरीबाट आफ्नो अवचेतनको त्यो सम्भावित रुमानी क्रीडाबारे गम्दा मलाई ‘ए, कुरो त्यसो पो थिएछ कि’ भन्ने लाग्छ । र, म अलिकता लज्जा, अलिकता परिहास र अलिकता उमंगको भावले भित्रभित्रै मज्जाले हाँस्छु ।

म बन्दीपुर गइरहन्छु । जानुका कारण यिनै हुन् । कहिले सामाजिक अभियानमा निस्कँदा बाटो पर्छ र बन्दीपुर पस्छु । कहिले गुणग्राही विद्यार्थीहरुले निम्ता गर्छन् र म जान्छु । कहिले पर्व र मेलामा मनकारी मित्रहरुले डाकी पठाउँछन् र म जान्छु । र, कहिले मन रित्तो र उदास हुँदा मन बहलाउन र त्यत्तिकै बरालिन बन्दीपुर जान्छु । अलिकता व्यवस्थाले गर्दा र अलिकता अल्छेपनाले गर्दा अन्यत्रका स्मृतिहरुको मैले नित्य नवीकरण गर्न सकिनँ, बन्दीपुरका स्मृतिहरुको भने नित्य नवीकरण भइरह्यो । यो नित्यपछाडिको गुह्य अघि नै भनिसकियो ।

बस्, यही हो बन्दीपुर, मेरो दोस्रो प्रिय घर । सुन्दर, प्रेरक, रुमानी, उमंगमय र अविस्मरणीय मेरो घर । 

(लेखकलाई ट्विटरमा पछ्याउनुहोस् »»» @belakoboli)

प्रकाशित: आश्विन १८, २०७३