आयो, गयो

  • बिहान सबै ब्यूँझिए, अघिपछि गरेर । हिजोजस्तो थिएन आजको बिहान । आज कसैको केही गुमिसकेको थियो, कसैले केही पाइसकेको थियो ।

- विप्लव प्रतीक

‘सानो परिवार, सुखी परिवार’ भन्ने परिवार नियोजनको विज्ञापन काठमाडौँको भर्खर उघ्रिनउघ्रिन लागेको बन्द समाजमा अलिअलि गुन्जिन थालेको थियो । बहिनी भर्खरै जन्मेकी थिई र भाइ जन्मिन बाँकी नै थियो । यतिन्जेल हाम्रो परिवार सानै थियो, खुसी थियो । तर, विज्ञापनमा भनिएजसरी भौतिक रुपले सुखी भने पक्कै थिएन । 

त्यसैले त पुगीसरि आएजस्तो मैले कहिल्यै खेलौना खेल्न पाइनँ । यो बिलौना होइन, सम्झना मात्रै हो । यस्तै बेला मलाई साइकल किन्ने रहर जाग्यो । यसलाई लहड भने पनि हुन्छ । सपनाजस्तै यो लहड पूरा हुने सपनामा पनि गुन्जायस थिएन । आमा गृहिणी र बा पञ्चायती व्यवस्थाविरुद्ध लागेको नागरिक । पाइपाइ गरेर जीवन चलाइरहेका यी दम्पतीसँग साइकलको फर्मायस गर्नु कमसल ठट्टाभन्दा अर्थोक हुँदैन, यति कुरा त मलाई त्यतिखेर पनि थाहा थियो । 

तर, साइकलको सपना कसरी बिर्सने ? अनि, किन्न पैसा कहाँबाट ल्याउने ?

म बच्चामा चोर्दिनथेँ । बाको जेबी रित्तो हुन्थ्यो, के चोर्नू ? आमाको थैलीबाट उछिट्यायो, बिरालोले झैँ लुकायो, ‘थर्ड डिग्री’का लागि कति तयार हुनू ? थर्ड डिग्रीपछि पचाउन पाए पनि लौ भन्नू । अर्थात्, चोरेर फाइदा थिएन । 

हो, पैसा थिएन मुठ्ठीमा तर धेरै वर्षसम्म साइकलको सपना देख्न छाडेन मनले । दिमाग घुम्न थाल्यो । बरु, पैसाको सम्भावित स्रोत के–के हुन सक्छन् भनेर । ठेस लागेर लडिन्छ कि भनेर होइन, पैसाको पोको भेटिएर साइकल किन्ने रहर पूरा होला कि भनेर बाटो नियाली नियाली हिँड्नु पनि मेरो दैनिकी बन्यो त्यतिखेर । तर, मभन्दा पहिले कोही त्यो बाटो हिँडिसकेको हुन्थ्यो सायद । अनि, यो पनि ध्यान रहँदैनथ्यो कि साइकल किन्न पुग्ने पैसा बाटोमा भेटिनु दुर्लभ हुन्छ । जेहोस्, म सधैँ रित्तो हात घर फर्किन्थेँ ।

एक दिन बाका एक जना साथी हामीकहाँ एक रातका लागि बस्ने गरी आउनुभयो । तिनताक चाँडै रात पथ्र्यो सायद । साढे ९ बजे सबै जना सुतिसकेका थिए । म भने अँध्यारोमा ट्वाल्ल परेर हेरिरहेको थिएँ । म बेखर्ची भएर स्कुल जान थालेको धेरै दिन भइसकेको थियो । मनमा नानाथरीका तर्कना छिटछिटो ओहोरदोहोर गरिरहेका थिए । मेरा निम्ति सबैथोक थियो तर आम्दानीको स्रोत कहीँकतै थिएन । खेल्दाखेल्दैको तर्कना रोकियो । र, मेरो मनमा हठात् यसअघि नफुरेको एउटा योजना फुर्‍यो । 

म जुरुक्क उठ्दा अरुका कान ठाडा हुन्थे, यो पक्का थियो । बा सँगै सुत्नुभएको थियो । त्यसैले यसरी पन्छाएँ सरक्क सिरक कि मलाई नै थाहा नहुने रहेछ, घुँडामा हावाको हल्का स्पर्श नहुँदो हो त ! फुरेको योजना साकार पार्न खाटले थाहा नपाउने गरी उठेँ, भुइँले चाल नपाउने गरी हिँडे र भर्‍याङलाई महसुस नहुने गरी ओर्लिएँ । चारैतिर मानौँ चूक घोप्टिएको थियो । सुनसान थियो, मधुरो आवाज पनि टड्कारै सुनिन्थ्यो ।

छिँडी थियो मेरो गन्तव्य, जहाँ पाहुनाको झोलारुपी गुन्टा थियो, सँगै झुन्डिएको थियो कुर्ता–सुरूवाल पनि । यताउता छामछुम गरेपछि धन्न एउटा खल्तीमा नोटको बिटा भेटियो, योजना फेल खाएन । सोचेँ, ‘अब भोलिदेखि स्कुल जाँदा खाजा खर्चका लागि कसैसँग किचकिच गर्नुपर्दैन ।’ अँध्यारोमा बिटाबाट एउटा नोट छुट्याएर गुजुल्टो बनाएँ । नत्र, राती मेरो खल्तीबाट सरकसरक आवाज आउन सक्थ्यो । अनि, त्यसरी नै फर्किएँ, जसरी यहाँसम्म आएको थिएँ । कसैको ध्यानाकर्षण भएन, घुरेको आवाजको लय एक सुरमा चलिरहेको थियो ।

बिहान सबै ब्यूँझिए, अघिपछि गरेर । हिजोजस्तो थिएन आजको बिहान । आज कसैको केही गुमिसकेको थियो, कसैले केही पाइसकेको थियो । मैले केही हतार गरिनँ । आङ अलि बढ्तै तानेँ, हाइ अलि बढी नै काढेँ । सायद म आफूलाई स्थिर र शान्त देखाउन चाहिरहेथेँ ताकि पछि कसैले केरकार गरे अन्जान बनेर उल्टो प्रश्नहरु गर्न सकूँ, आत्मविश्वासको प्रतिशत बढाऊँ मनमा । तर, यतिखेर मन घरमा रहेर पनि घरमै थिएन । त्यो बाहिर दौडिरहेको थियो । वर्षौं लगाएर गुज्रिएजस्तो भयो, आधा घन्टा । त्यसपछि म कुनै हालतमा घरमा बसिरहन सकिनँ । एउटा किताब काखी च्यापेर साथीकहाँ पढ्न जान्छु भनी बासँग अनुमति मागेँ र आँखा जुधाएर बाका साथीलाई नमस्कार गर्दै बिदा भएँ । 

भर्‍याङ सामान्य गतिमा ओर्लिएँ, घर देखिउन्जेल सामान्य गतिमै हिँडेँ तर जब घर छेकियो मेरो गति सामान्य रहेन, बेतोडले कुद्न थालेँ । आफूले गरेको सिकारको दर्शन जो गर्नु थियो । एक ठाउँमा चुत्रोको झाडी आइपुग्यो, टक्क रोकिएँ, चारैतिर हेरेँ । ढुक्क भएपछि खल्तीमा हात घुसारेँ । हँ, यो के ? गोजी त रित्तो छ । म छाँगाबाट खसेजस्तै भएँ । मेरा नौनाडी गले । अनुहार रक्तहीन बन्यो । सबै उमंग हरायो । हतारहतार दुवै बगलीमा हात घुसारेँ । दाहिनेपट्टिको गोजीमा नभई बायाँपट्टि रहेछ गुजुल्टो ।

सेकेन्ड पनि नलगाई लक्ष्मीको दर्शन गरेँ । ओहो, यो त कहिले नदेखेको यामानको लामो नोट पो रहेछ । एक, पाँच, दस, पचास, सयको होइन, पूरै हजारको नोट रहेछ । हात थर्रर काम्यो, मुटु थरक्क थर्कियो, निधारमा पसिनाका मसिना दाना पलाए । सय–पचासको नोट या भनुँ दसै रूपियाँ भए पुग्ने मलाई हजारको नोट घाँडो भयो । एक मनले भन्यो, जाऊँ फर्काइदिऊँ । तर, के भनेर ? आफूले चोरेको आफैँ साबित गरिदिन ? साथीको अघि बाको अनुहार कस्तो देखिएला ? धत्, हुन्न । फर्काउने कुरा यसपछि मनमा दोहोर्‍याएर उठेन । 

ध्याउन्न अब केवल एउटै रह्यो । नोटको नामोनिसान नराखी खर्च गरिदिने । तर, खर्च होस् त कसरी हजार रूपियाँ ? स्कुलभरिका साथीभाइ जम्मा गरेर सबैलाई बरफ ख्वाएँ, सय रूपियाँ मुस्किलले खर्च हुने अवस्थामा हजारको नोट तुरुन्तै खर्च गर्न धौधौ हुने स्पष्ट देखेँ मैले । अचानक मगज विभागमा हजार वाटको बत्ती बल्यो– साइकल । पाइला आफसेआफ आरुबारीतिर डोरिए । संस्कृत पढाउने टीका सरको छोरा पुरुषोत्तम मेरो मिल्ने साथी थियो । पुरुलाई भेटेँ । ढाँटेँ, बाटोमा हजार रूपियाँ भेटेको भनेर ।

पौने घन्टाभित्र हामी कमलाक्षीको अष्टनारायण पञ्चनारायणको साइकल पसलभित्र उभिएका थियौँ । चिनियाँ फिनिक्स ब्रान्डको साइकल भर्खर आएको थियो, बिक्रीमा त्यसैलाई उछिन्न हिन्दुस्तानी कम्पनीले हिरो ब्रान्डको साइकल निकालेको थियो । रक्तिम रंगको यो तात्तातो उत्पादन थियो । हिन्दुस्तानी ब्रान्ड छान्न मलाई उति समय लागेन । ६ सय ३५ रूपियाँको बिल काटेर बिक्रेताले दिए, मैले उनलाई हजार दिएँ । ३ सय ६५ जेबीमा दाखिल गरेर साइकल मैले यसरी झम्टा मारेँ, जसरी बाजले चल्ला । 

साइकलबाट पहिले कहिले महसुस गर्न नपाएको अपरिचित बास्ना आइरहेको थियो, जुन बडो मादक लागिरहेथ्यो मलाई । लामो सास फेरीफेरी सुँघे मैले त्यो बास्ना । अनि, मैले कहिले साइकल मुसारेँ, कहिले काठी सुमसुम्याएँ र किन्द्रिङ्ग घन्टी बजाएँ । बडो पुलकित मनोदशामा थिएँ म । सुरुमा चढ्नै मन लागेन । म बडो हिफाजतका साथ साइकल डोर्‍याइरहेको थिएँ । 

“एकछिन न्युरोड जाउँ,” मैले पुरुलाई भनेँ । 

न्युरोडबाट गुच्चा टोलतिर जाने सडकको मोडमा एउटा फेन्सी स्टोर थियो । जहाँ झ्यालबाट देखिने गरी चिटिक्क परेको हल्का खैरो छालाको ज्याकेट झुन्ड्याइएको थियो । त्यो ज्याकेटलाई मैले कैयौँ दिनदेखि बाहिरैबाट पुलुक्क हेर्दै बाटो तर्दै गरेको थिएँ । लोभ लागे पनि मेरो तकदीरमा नभएको चीज ठानेर त्यसप्रति कुनै लालसा रहन दिएको थिइनँ मनमा । त्यसरी माया मारेर छाडेको ज्याकेट सुमसुम्याउन पाउँदा, लगाउन पाउँदा कस्तो महसुस भयो होला मलाई, अहिले सम्झना छैन । त्यो ज्याकेट मैले १ सय २५ रूपियाँमा किनेँ । अझै २ सय ४० बाँकी रह्यो ।

भोलिपल्ट शशि भन्ने अर्को साथी, पुरु र म साइकलमा तेब्बर लोड गरेर जय नेपाल चित्रघरमा हिन्दुस्तानी सिनेमा प्रेमनगर हेर्न गयौँ । दिनमा एकचोटि मन लागेजति पनि खान नपुग्ने हामीले कति दिनसम्म दिनदिनै पटकपटक बरफ खायौँ । सकेसम्म सिध्याउनु थियो रकम । ठ्याक्कै यति दिन भनेर सम्झना छैन तर निकै दिन लगाएर बल्लबल्ल त्यो सबै पैसा सिद्धियो । साइकल र ज्याकेट पुरुलाई घरमा राख्न दिएँ, आफ्नो घर भित्र्याउने योजना बुन्न थालेँ । जहाँसम्म चोरीबारे घरमा केरकारको कुरा थियो, सायद मुठ्ठै पैसा भएकाले बाको साथीले हिसाब राख्नुभएन या लोकलाजका कारण सज्जनको मन दुख्ला भनेर बाका साथीले बालाई केही भन्नुभएन, मलाई पनि कसैले केही भनेन ।

केही दिनपछि मैले बासँग साइकलको कुरा चुहाएँ । मैले बुनेको कहानी यस्तो थियो, “साथीले साइकल किनेको थियो । बेच्न खोज्दै छ, हाफ मोलमा ।”

“कति पर्छ ?” बाले सोध्नुभयो ।

“तीन सय ।” मैले भनेँ । 

बालाई मैले ज्यादा कर गर्नै परेन । उहाँले कताकताबाट जुगाड गरेर मलाई तीन सय रूपियाँ थमाउनुभयो । अहिले बा हुनुहुन्न । तर, बाको स्नेहले मेरो मन निथु्रक्क छ । मप्रति उहाँको स्नेह आज सम्झिँदा मेरा आँखाका चेप रसाउँछन् । 

मैले बाको तीन सय रूपियाँ दाबेँ र निकै दिन ऐसोआराममा बिताएँ । तीन सय खल्तीमा घुसारेपछि पुरुसँग साइकल माग्न गएँ । पुरुले आनाकानी गर्‍यो । तर, मैले पुरुलाई फकाएँ, धम्क्याएँ र अन्तत: मनाएँ । साइकल घर भित्रियो । 

साइकल भएपछि मेरो फुर्ति नै अर्कै भयो । पैदल पाँच–सात किलोमिटर दैनिक हिँडेर काम चलाइरहेको मान्छे अब त २८–३० किलोमिटर पनि तय गर्ने भएँ । साइकलको नशामा म यति लट्ठ थिएँ कि मलाई सम्झिने गरी पसिना आएकै याद छैन । भक्तपुरको नवदुर्गा सिनेमा हल पुग्नु कुनै खास कुरो रहेन तब । भक्तपुरमा एउटा, पाटनमा एउटा र काठमाडौँमा जय नेपाल, विश्वज्योति र रञ्जना गरी पाँचवटा सिनेमा हल थिए त्यस बखत । जति दूर भए पनि अब ती पाँचैवटा सिनेमा हल पुग्नु भनेको पहुँच पर वा टाढाको कुरा भएन । कोरा कागज भन्ने सिनेमा हेर्न पाटन पुगेको र मेरा काइँला मामा गोविन्दलाई डबल लोड गरेर घरसम्म ल्याएको अझै सम्झना छ मलाई । बहिनीलाई लिएर दुई–चार किलोमिटर वरपर घुमाउन लैजानु मेरो दैनिकी थियो । एक दिन उसको खुट्टा पछाडिको पांग्राभित्र छिरेपछि मात्रै त्यो क्रम भंग भयो । 

एक दिन अचानक मलाई ज्याकेटको याद आयो । मैले पुरुलाई अनेकौँपल्ट ताकेता गरेँ । तर, पुरुले ज्याकेट फर्काउन मानेन । उसको भाइ दुर्गाले कब्जा गर्‍यो जस्ता जवाफ दिन थाल्यो । उसले मेरो साइकल र ज्याकेटमा चोरचोरको गन्ध पाएर हो कि क्या हो, चोरमाथि चकार गर्न खोजेको थियो सायद । साइकल त सकिएन, ज्याकेटै सही भन्ने ठानेको हुँदो हो । बाहिर भेटेर भन्दा कुरा मिल्ने छाँटकाँट देखिनँ । त्यसैले केही सीप नलागेपछि म उसको घरमा पुगेँ । 

ऊ घरमा थिएन, दुर्गा पनि । गोठमाथि उसको कोठा थियो । कोठा छान मारेँ । एउटा बाकसमा लुकाएर राखेको अवस्थामा ज्याकेट फेला पर्‍यो । झ्याप्प पोको पारेर घरबाट बाहिर निस्केको मात्रै के थिएँ, पछाडिबाट टीका गुरुले च्याप्प समात्नुभयो । म चोर भनिएँ । मान्छे जम्मा भए । सौभाग्यवश थप्पड खानबाट जोगिएर घर फर्किए पनि मलाई बाटोभरि बडो नरमाइलो लागिरह् यो । आफ्नो चीज आफ्नो भन्न नपाउँदा बडो खिन्न हुँदो रहेछ मन । त्यसमाथि आफ्नो चीज लिँदा चोरेको आरोप लाग्दा खिन्नता बढ्दो रहेछ झन् । तर, मैले ती सब बिर्सिदिएँ । र, ज्याकेटको माया चटक्कै मारिदिएँ । तर, पुरुप्रति मेरो आक्रोश भने बिलाएन, रहिरह्यो । 

केही समयपछि हाम्रो परिवारले विखण्डन भोग्नुपर्‍यो । घरमा बा र म मात्र रह्यौँ । रहँदै बस्दै जाँदा बाले दोस्रो बिहे गर्नुभयो । म विचलित अवस्थामा थिएँ । साइकलसँगको लसपस कम हुँदै गएको थियो । एक दिनको कुरा हो, मेरो साथी गंगारामको बिहे हुने भयो । उसले आफ्नै घरमा पार्टी दियो । गिलास भरेर कहिल्यै खान नपाएको रक्सी त्यही दिन घटघट पारियो । एक गिलास खानेबित्तिकै म रन्थनिहालेँ । त्यसै बेला डोना समरको ‘लभ टू लभ यू बेबी...’ स्पिकरमा घन्किन थाल्यो । बत्ती झ्यापझुप बल्न/निभ्न थाले, लोकल डिस्को बन्यो भुइँतल्ला । रक्सीको नशामा थपिएको मादक संगीतले म अलि निस्सासिएजस्तो भएँ । त्यसैले घरबाहिर सडकमा निस्किएँ । सडकमा पनि बिहेमा निम्त्याइएकाहरुकै चहलपहल थियो । म पूर्व फर्केर हल्लिँदै उभिएको थिएँ । 

अचानक अघिल्तिरबाट एक जना परिचित मतिर लम्किरहेको देखेँ । त्यो पुरु थियो । रक्सीकै सुरमा म थर्रर कामेँ । मेरो रिस नाप्ने डिग्री भएको भए त्यसको पारो पग्लिएर झरिसक्ने थियो । नजिक आउन दिएँ उसलाई । आफ्नो पहुँचमा आएपछि भएभरको बल लगाएर मुखमा एक मुक्का जमाएँ । ज्याकेट पचाएको मात्रै होइन, मेरो बेइज्जत पनि गराएकामा पुरुलाई मारसँग ठोक्ने मन थियो मेरो । तर, यो के ? पुरुले मेरो मुक्का छल्यो । र, म लहराउँदै सीधा सडकमा अनुहार जोतिने गरी लडेँ ।

साथीहरुले उठाउँदा नाथ्री फुटेर मेरो अनुहार रगतपछ्ये भइसकेको थियो । मेरो बक फुटेन, मैले पुरुतिर इसारा गरेँ । कसैले केही बुझेनन् । मलाई झ् याल्टुङ पारेर माथि कोठामा लगे, नाक पुछिदिए, खरानी दलिदिए नाकमा । बिस्तारै आवाजहरु मधुरा हुँदै गए । कसैले मधुरो स्वरमा भन्यो, ‘हेर आमाले छाडेर गएको बच्चाको विचल्ली ।’ ज्याकेटको कथा कसैलाई थाहा थिएन । 

यो घटनाको केही महिनापछि मैले घर छाडेर निस्किनुपर्ने अवस्था आयो । साइकल लिइनँ मैले जाने बेलामा । बाले ‘किनिदिएको’ जो थियो । ज्याकेट त मसँग थिँदै थिएन, साइकल पनि रहेन । मैले बाँच्नुपर्ने आगामी उमेरको अँध्यारो सुरुङभित्र के छ मलाई थाहा थिएन । सुखको बडो आश थियो । सुख र खुसीको भेद थाहा थिएन । दु:ख, पीडा र चोटको महफ्व र गरिमा बुझ्न सक्ने अवस्था त झन् आइसकेकै थिएन । 

समय बितेको पत्तै हुँदैन । घरबाट निस्किएको ६ महिना बितिसकेछ । अचानक मलाई साइकलको साह्रै याद आयो । बालाई भेट्छु र साइकल माग्न मुख फोर्छु भन्ने मनमा लाग्यो । अनि, एक दिन म घर गएँ । तर, घर के गएँ छाँगोबाट खसेँ । साइकलै घरमा थिएन । साइकल बाको कामको थिएन, आफ्नै भान्जा रमेशलाई तीन सयको तीन सयमै बेचिदिनुभएछ । बाले नै साइकलको कुरा उठाउनुभयो र थाहा पाएँ । मन भारी भयो । ढोगेर, जसरी गएको थिएँ, उसैगरी फर्किएँ । 

मेरो जीवन कहानीमा चिताएको पुग्न या भनुँ रामकहानीमा ‘ट्वीस्ट’ आउन हजार रूपियाँ आयो, त्यसले साइकल र ज्याकेट पनि ल्यायो । तर, जसरी आएको थियो, त्यसरी नै मेरो जीवनबाट साइकल अल्पियो, ज्याकेट त उहिले नै अर्काको भइसकेको थियो । 

प्रकाशित: आश्विन १८, २०७३