चिनौँ, हाम्रा हिमाल

  • हाम्रो राजनीति र सामाजिक विकासमा इतिहासजत्तिकै भूगोल पनि जोडिएको छ । त्यसैले हिमाल चिन्नु भनेको हामी आफैँलाई चिन्नुसमेत हो ।

- विवेक पौडेल

हिमाल सजावटका वस्तु मात्रै होइनन् । तिनको आफ्नै व्यक्तित्व र जीवन छ । सभ्यताको विकासमा तिनको विशेष स्थान छ । हिमालले महत्त्वपूर्ण भू–भाग ओगटेको मुलुकका नागरिक हामीले हिमाललाई कति नजिकबाट चिनेका छौँ ? अहिले वर्षा सकिने, जाडो र गर्मी दुवै कम हुने हुँदा खुलेको आकाशमा टाढैबाट पनि हिमालहरू देखिने रमणीय याम छ । सुन्दर हिमालहरू हेरौँ एकपटक । 

यी हिमालका इतिहास, नामकरण, आसपासका जैविक विविधता, नदीनाला र सांस्कृतिक बनोट जान्ने हो भने हामीलाई आफ्ना हिमालप्रति अझ बढी स्नेह जाग्नेछ । नेपालीको सौभाग्य नै मान्नुपर्छ, तराई, पहाड, उपत्यका, डाँडाजस्ता धेरै ठाउँबाट विभिन्न कोणमा उत्तरका हिमशृंखला देखिन्छन् । अझ बुझ्नुपर्ने के छ भने हाम्रो राजनीति र सामाजिक विकासमा इतिहासजत्तिकै भूगोल पनि जोडिएको छ । त्यसैले हिमाल चिन्नु भनेको हामी आफैँलाई चिन्नुसमेत हो । 

सांस्कृतिक रूपमा पनि यस्ता प्राकृतिक सम्पदालाई सम्मान र पूजा गर्ने मौलिक परम्पराको घर हो, नेपाल । हाम्रा सबै समुदायका निम्ति खोला, वन, पहाड र हिमाल भनेका पवित्र सम्पदा मात्रै होइनन्, जीवन र मृत्युका वास्तविकता पनि हुन् । आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ नेपालमा पर्ने सानैदेखि सामान्य ज्ञानमा पढ्दै आएका तथ्य हुन् । तर, हिमालले दिने कौतूहल अन्त्यहीन छन् । जसका सहाराले मैले आफ्नै भ्रमणहरूबाट बटुलेका मध्य नेपालका हिमालबारे केही जानकारी प्रस्तुत गर्छु । 

नेपालमा विमानबाट कुनै पनि ठाउँ जाँदा सुन्दर हिमाल देख्न सकिन्छ । जिरी, नगरकोट, दामन, पोखराजस्ता ठाउँबाट तिनै हिमालका विभिन्न रूप देखिन्छन् । पोखरा, दिल्ली, दुबई वा पश्चिमका अन्य कुनै पनि ठाउँ जाने विमानमा मध्य नेपालका अग्ला हिमाल देखिन्छन् । पश्चिमबाट काठमाडौँ उड्दा यिनै हिमाल उल्टो क्रममा देखिने हुन् । 

काठमाडौँबाट उडेको केहीबेरमै उत्तरपश्चिमतिरको पहिलो दृश्यमा देब्रेतर्फ पश्चिम दिशा र दायाँतर्फ पूर्वदिशा पर्छन् । देब्रेतिरका अग्ला दुइटा चुचुरा अगाडि र पछाडि सँगसँगैजस्तो देखिए पनि वास्तवमा यी दुई फरक हिमाल हुन् (तस्बिर १) ।

अगाडिको हिमाल अलि दक्षिणतिर र पछाडिको उत्तरपट्टि छ । त्यसैले कुनै कोणबाट खप्टिएजस्तो देखिए पनि अर्कै कोणबाट भने यी दुई चुच्चा बीचको खाल्डोले छुट्टिन्छन् । विमान अझ केहीबेर उडेपछि यिनै हिमाल तस्बिर २ मा जस्ता देखिन्छन् । अब यी दुई चुचुरा छुट्टिन थाल्छन् । 

अझ केहीबेर उडेपछि तिनै हिमाल छुट्टिएर टाढा–टाढा देखिन थाल्छन् । यो दृश्य तस्बिर ३ मा छ । यसरी विभिन्न कोणबाट उही हिमाल अलग अलग देखिनु नै हिमाल चिनाउने सबैभन्दा मुस्किल र सजिला उपाय हुन् । सजिलो किनभने यति कुरा र हिमालको भूगोल जानेपछि तिनको सहयोगमा वरपरका हिमाल छुट्याउन गाह्रो हुँदैन । 

मनास्लु शृंखला

तीनै तस्बिरमा उही हिमाल देखिएका छन् । यिनै दुई चुच्चा हिमाल र ती कति पर देखिएका छन् भन्ने आधारमा अरू हिमाल चिन्न सजिलो हुन्छ । यी मनास्लु र ङादी हिमालका चुली हुन् । अलि दाहिनेको अर्को अग्लो हिमालको नाम हिमालचुली हो । त्यसको छेउमा हिमालचुली पश्चिम र हिमालचुली उत्तर पनि देखिन्छन् । मुख्य चुचुरो वरपरका सहायक चुचुराहरूलाई पश्चिम, उत्तर वा पहिलो, दोस्रोजस्ता नाम दिइन्छ । तस्बिरमा देखिएमध्ये मनास्लु सबैभन्दा अग्लो (८,१६३ मिटर) हिमाल हो तर अरू हिमाल नजिक (दक्षिणतर्फ) भएको हुँदा मनास्लुभन्दा अग्ला देखिन्छन् । विमानको साटो पूर्वमा कुनै होचो स्थानबाट हेर्दा यी हिमालले मनास्लुलाई छेकिदिन्छन् (तस्बिर ४) । 

गोरखाको उत्तरी भेगमा पर्ने मनास्लुको वरपर मनास्लु पदयात्रा रुट पर्छ । हिमालको दक्षिणबाट सुरु भएर यो पदयात्रा उत्तर हिमालपारिसम्म पुग्छ । बूढीगण्डकी नदीको छेउछेउ आरुघाट, सोतीखोला, सिर्दिबास पुग्दा हिमालचुलीको समानान्तर भइन्छ । त्यहाँबाट नामरुङ र समागाउँ पुग्दा यी हिमाल दक्षिण परिसकेका हुन्छन्, जहाँबाट हिमालहरू उल्टो दिशामा देखिन्छन् । फर्किंदा बाटो पार्न सकिने धारापानीनजिक सुन्दर ताल पनि छ । मनास्लुको हिमाल समूहको पश्चिममा अन्नपूर्ण समूह सुरु हुन्छ । एउटा पदयात्रा सकेर अर्को सुरु गर्ने स्थानसम्म पुग्न पनि सकिन्छ । 

उत्तरतर्फ हेर्दा लहरै हिमाल देखिए पनि हिमालका बीच–बीचमा खोँच, खोला, उपत्यका आदि बनेका छन् । तिनै होचा स्थानबाट हिँडेर हिमाल नचढीकनै दक्षिणबाट उत्तरतर्फ जान सकिने हो । मनास्लु र अन्नपूर्णलाई पनि यस्तै खोँच र मस्र्याङ्दीजस्ता नदीले छुट्याउँछन् । हिमालका बीचमा पर्ने अलिक होचा ठाउँ (नेपालीमा : भञ्ज्याङ, अंग्रेजीमा : पास, तिब्बतीमा : ला) परापूर्वकालदेखि नै यात्रा र व्यापारका मार्ग बनेका छन् । थोराङ्–ला यस्तै एउटा प्रख्यात पास हो । यो अन्नपूर्ण हिमाल वरपरको पदयात्रा मार्गमा पर्छ । अब हामी त्यतैतिर लागौँ । 

अन्नपूर्ण शृंखला 

अन्नपूर्ण पदयात्रा लमजुङ जिल्लाको बेसीसहर वा बाहुनडाँडाबाट सुरु हुन्छ । अचेल गाडी पुगेकाले उत्तरको मनाङबाट पनि सुरु गर्न सकिन्छ । तर, एकैपटक उच्च स्थानमा जाँदा लेक लाग्न सक्ने भएकाले बिस्तारै दक्षिणबाटै हिँड्नु राम्रो मानिन्छ । नेपालका पदमार्गहरू भनेका हिमाल हेर्ने मात्र नभएर सांस्कृतिक, जैविक, खानेकुरा र प्रकृतिका विविधता हेर्ने र जान्ने अवसर पनि हुन् । छोटो दूरीमा यति विविध अनुभव पाइने पदमार्ग नेपालमा मात्रै छन् । अझ यहाँका प्राय: पहाडी पदमार्गमा संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज पर्छन्, जहाँ विश्वकै दुर्लभ जनावर र वनस्पति पाइन्छन् ।

विमानबाट पश्चिमतर्फ लाग्दै गर्दा मनास्लु र ङादी चुली छुटिँदै जान्छ । अलि मिहिनेत गरेर परसम्म हेर्‍यो भने माछापुच्छ्रे हिमाल पनि देखिन्छ । पोखराबाट सबैभन्दा नजिक देखिए पनि आकाशबाट हेर्दा माछापुच्छ्रे बादलमा छोपिएको देखिन सक्छ । तर, यसको त्रिकोणात्मक आकार र अन्नपूर्ण समूहको पश्चिमी कुनाको अवस्थिति थाहा हुनेलाई चिन्न गाह्रो हुँदैन । तस्बिर ४ मा सबैभन्दा देब्रेतर्फ माछापुच्छ्रे देखिन्छ । दाहिनेतर्फ मनास्लु र छिमेकी हिमालहरू देखिन्छन् । बीचमा हिमलुङ, हिमजुङ र नामजुङ हिमालको आकार देखिए पनि बादलले छोपेको छ । यी हिमालहरू सँगसँगै माथि–तल वा देब्रे–दाहिने गरेर देखिन्छन् । अन्नपूर्ण समूहको सुरुमा दाहिनेतिर लमजुङ हिमाल प्राय: बादलमाथि नै हुन्छ । त्यसको लगत्तै अन्नपूर्ण–४ कालो चुचुरोका कारण सबैभन्दा प्रस्ट देखिन्छ । त्यसपछि अन्नपूर्ण–२, गंगपूर्ण र अन्नपूर्ण–३ देख्न सकिन्छ । 

अन्नपूर्ण पदयात्रा पनि हिमालको दक्षिणतर्फ सुरु भएर उत्तरसम्म पुग्छ । उत्तरमा गंगपूर्ण हिमाल, परपट्टि तिलिचो ताल र थोराङ्–ला छन् । यही पदमार्ग नजिकैबाट अन्नपूर्ण बेसक्याम्प (एबीसी) वा माछापुच्छ्रे बेस क्याम्प (एमबीसी)को पदयात्रा पनि गर्न सकिन्छ । चित्रमा देखिएको माछापुच्छ्रे र अन्नपूर्ण हिमालको बीचतिरको खोँचमा यी बेसक्याम्प पर्छन् । अन्नपूर्ण सर्किट भनिने फेरोचाहिँ यी हिमालको वरपर घुमेर फेरि दक्षिणमै आएर टुंगिन्छ । 

यसै भेगमा पोखराको पश्चिममा पर्ने घान्द्रुक, पुनहिल, घोडेपानीजस्ता नाम चलेका पर्यटकीय गाउँहरू हुँदै जाने पदमार्ग छ । यी स्थान अन्नपूर्ण फेरोको अर्को छेउमा पर्छन् । तस्बिर ४ खिचिएको ठाउँभन्दा विमान अझ पश्चिम लागेपछि देखिने दृश्य तस्बिर ५ हो । अब माछापुच्छ्रेको त्रिकोणात्मक आकारको साटो माछाको पुच्छर आकार देखिन थाल्छ । तस्बिरको बीचमा यो चुचुरो अरूभन्दा छुट्टै देख्न सकिन्छ । यो तस्बिरमा नअटेको भए पनि दाहिनेपट्टि पोखरा छ भने देब्रेपट्टि कालीगण्डकी र नजिकमा तातोपानी, बेनीलगायतका ठाउँ । यो समूहको सबैभन्दा अग्लो हिमाल अन्नपूर्ण–१ (८,०९१ मिटर) हो । तस्बिरमा बराहचुलीको ठ्याक्कै दाहिनेपट्टिको पहेँलो चिह्न भएको हिमाल यही हो । अन्नपूर्ण–१ देखि २ सम्म लहरै एउटा हिमाली पर्खालजस्तो देखिन्छ । पर्वतारोहीमाझ यो खण्डको आफ्नै महत्त्व र इतिहास छ । 

अन्नपूर्ण समूह र माछापुच्छ्रे सबैभन्दा धेरै नेपालीले देखेका हिमाल हुनुपर्छ । देशको मध्यभागतिर पर्ने हुँदा धेरै ठाउँबाट अन्नपूर्ण देख्न सकिन्छ । पोखराबाट घान्द्रुक हुँदै घोडेपानी पदयात्रामा लाग्दा माछापुच्छ्रेको फरक रूप देख्न सकिन्छ, जसबाट यो हिमालको नामकरण भएको हो । पोखराको फेवाताल नजिकबाट देखिने प्रमुख हिमालहरू अन्नपूर्ण–२, अन्नपूर्ण–३, अन्नपूर्ण–४, लमजुङ, माछापुच्छ्रे आदि हुन् । 

यहाँबाट अझै पश्चिम लागेपछि अन्नपूर्ण समूहको पश्चिमपट्टिका निलगिरि र तिलिचो हिमाल देखिन्छन् । बेनीबाट तातोपानी हुँदै जोमसोम जाँदा यिनै हिमालछेउ कालीगण्डकीको किनारैकिनार पैदलमार्ग छ, जसमा अहिले मोटरबाटो पनि बनेको छ । अन्नपूर्ण र यसको अझै पश्चिमको धौलागिरि हिमाल समूहको बीचको खोँचलाई विश्वकै सबैभन्दा गहिरो खोँच भनिन्छ । कालीगण्डकी तिब्बती पठारबाट यही खोँच हुँदै दक्षिण बग्छ । उत्तरी क्षेत्रमा उपल्लो मुस्ताङ, तिब्बती पठार, लोमान्थाङ र हिमाली गुफाहरू, मध्य भेगमा थकाली बस्ती, दक्षिणमा गुरुङ, मगर र खस समुदायको बसोवासले यो क्षेत्र हजारौँ वर्षदेखि एउटा अनुपम प्राकृतिक र सामाजिक क्षेत्रका रूपमा छ ।

नेपालका धेरै भाषा, लोकभाका र चलनहरूको सम्बन्ध यही कालीगण्डकी सभ्यता र यसका फाँटहरूसँग छ, जहाँ शालिग्राम भनिने निकै पुरानो जीवाश्म पनि भेटिन्छन् । मानव बसोवास हुनुअघिदेखि नै यस क्षेत्रमा विभिन्न जनावर रहने गरेका प्रमाण भेटिएका छन् । नेपालबाट बौद्ध परम्परा तिब्बत गएको एउटा बाटो यसलाई पनि मानिएको छ । यिनै हिमालका फेदी र खोँचबाट लामो समय उत्तर–दक्षिण व्यापार चलेका प्रमाण छन् । 

बेनीबाट तातोपानी हुँदै जोमसोम र मुक्तिनाथ जाने पैदल मार्गबाट हिँड्यो भने कालीगण्डकीको छेउमा ठूला पहाड देखिन्छन् भने परपट्टि नीलगिरि हिमाल । जोमसोम पुगेपछि यी हिमालको समानान्तर भइन्छ भने अझ उत्तर पुगेपछि यी दक्षिणतिर पर्छन् । 

गणेश, लाङटाङ र जुगल

काठमाडौँबाट मौसम खुल्दा देखिने र सबैभन्दा नजिकका हिमशृंखला लाङटाङ र गणेश हुन् । बूढीगण्डकीले बनाएको खोँचले मनास्लुभन्दा पूर्वपट्टि धादिङ र गोरखाको बीचमा चीनसँगको सिमानामा गणेश हिमाल अवस्थित छ । नामकरणको हिसाबले गणेश हिमाल समूह सबैभन्दा रोचक छ् । गणेश–१ लाई याङ्ग्रा (वा याग्रा काङ्ग्री), ३ लाई सालासुङ्गो र ४ लाई पाबिल पनि भनिन्छ । पाबिल हिमालको एउटा मोहडा हेर्दा गणेशको सूँडजस्तो लाग्छ । काठमाडौँबाट विमानमा पश्चिम उड्दा कहिलेकाहीँ आकाश खुलेका बेला मनास्लुभन्दा पहिले गणेश हिमशृंखला पनि देखिन्छ । 

गणेश हिमालभन्दा पूर्वपट्टि काठमाडौँको ठीक उत्तरमा चाहिँ लाङटाङ शृंखला पर्छ । चीनको सिमानानजिक रसुवा जिल्लामा पर्ने यी हिमाल र गणेश हिमालबीचको खोँचमा चिलिमे र त्रिशूली नदी बग्छन् । यही खोँचबाट नेपाल–चीन रेलमार्ग प्रस्तावित छ । हाल मोटरबाटो हुँदै धुन्चेबाट चीनको केरुङ पुग्न सकिन्छ । पश्चिममा मानसरोवर जस्तै केरुङको नजिक पाइको–त्सो भन्ने ठूलो ताल छ । 

लाङटाङ क्षेत्रमा दक्षिणपट्टि गोसाइँकुण्ड ताल र उत्तरपट्टि क्यान्जिङ गुम्बा छन् । क्यान्जिङसहित त्रिशूली र गोसाइँकुण्ड नेपाली परम्पराका पवित्र स्थान हुन् । लाङटाङ क्षेत्रका पदयात्रा रसुवाको धुन्चे वा स्याफ्रुबेसीबाट सुरु हुन्छन् । पूर्वपट्टि काठमाडौँ उपत्यकाको सुन्दरीजल र चिसापानीबाट हेलम्बु, लौरीविनायक, गोसाइँकुण्ड हुँदै धुन्चे पुग्न पनि सकिन्छ । त्यस्तै क्यान्जिङ भेगबाट दक्षिण झर्न गान्जा–ला पार गर्न सकिन्छ भने पूर्वमा लाङ्शीशा हिमनदी पर्छ । त्यसभन्दा पनि पूर्व दोर्जे लाक्पा, जुगल र फुर्बी ग्याचु हिमाल छन् । यी हिमाल पनि खुला मौसमको बेला काठमाडौँबाट राम्रोसँग देख्न सकिन्छ । यिनका तल दोर्जे लाक्पा र जुगल हिमनदी छन् । 

गोसाइँकुण्डबाट देखिने गणेश हिमशृंखला 

काठमाडौँको उत्तरमा रहेको चिसापानी डाँडाबाट देखिने गणेश हिमालको दृश्य पनि गोसाइँकुण्डको जस्तै हुन्छ । विमानको उचाइबाट देखिए पनि यी होचा स्थानबाट हेर्दा दक्षिणको पाबिलले उत्तरको गणेश–२ लाई छेकिदिन्छ (तस्बिर ६) ।  चिसापानीबाट लाङटाङ हिमशृंखला देखिन्छ । लाङटाङ लिरुङ उत्तरतर्फ चीनको सीमानजिक भएको हुँदा त्यसभन्दा दक्षिणका होचा हिमाल पनि चिसापानीबाट ठूला देखिन्छन् । 

चिसापानीबाट साँखु झर्दा बीचतिर मूलबाटोबाट लुकेको चिसापानी ताल भेटिन्छ । यो तालबाट दोर्जे लाक्पाको राम्रो दृश्य हेर्न पाइन्छ । दोर्जे लाक्पाको अर्थ चम्किलो वज्र हो । चुच्चो त्रिकोण आकारको मनमोहक दोर्जे लाक्पा काठमाडौँ वरपरबाट सबैभन्दा चिन्न सजिलो हिमाल हो (तस्बिर ८) । यसलाई आधार मानेर वरपरका अरू धेरै हिमाल पहिल्याउन सजिलो हुन्छ । दोर्जे लाक्पा हिमाललाई काठमाडौँबाट पूर्व जिरी जाने बाटोमा पर्ने खावा र दोलखा जिल्लाका शैलुङजस्ता अन्य ठाउँबाट पनि देखिन्छ । 

लाङटाङ र जुगल हिमाल समूहका पूर्वको खोँचमा कोदारी हुँदै चीन जाने अरनिको राजमार्ग बनेको छ । यहीँनेर भोटेकोसी नदी पनि दक्षिणतिर बगेको छ । पश्चिमको गण्डकी नदी प्रणालीबाट पूर्व लाग्दा अब कोसी नदी प्रणाली सुरु हुन्छ । यो खोँचको पूर्वमा रोल्वालिङ शृंखला र अझ पूर्वतर्फ सगरमाथा हिमाल पर्छन् । 

रोल्वालिङ शृंखला

दोलखाको चरिकोटबाट सबैभन्दा राम्ररी देखिने हिमाल गौरीशंकर हो । रोल्वालिङ शृंखलाको दोस्रो ठूलो यो हिमाल काठमाडौँबाट पनि कहिलेकाहीँ देखिन्छ (तस्बिर ९) । गौरीशंकरका उत्तर र दक्षिणमा गरी दुई चुचुरा छन् तर चरिकोटबाट हेर्दा यी दायाँ–बायाँझैँ देखिन्छन् । उत्तरी (देब्रे) चुचुरोलाई शंकर र दक्षिणीलाई गौरी मानिन्छ । गौरीशंकर र मेलुङ्त्सेको बीचमा नेपाल–चीन सीमा पर्छ । चीनमा पर्ने मेलुङ्त्से गौरीशंकरभन्दा अग्लो (७,१८१ मिटर) भए पनि चरिकोटबाट होचो देखिन्छ । 

गौरीशंकर हिमाल नेपाल र तिब्बतमा सबैभन्दा पवित्रमध्ये एक मानिन्छ । पश्चिमतिर बूढीगण्डकीको खोँचबाट सीधै अग्लिएको हुनाले यो हिमाल एक्लो र अग्लो लाग्छ । यही बनोटका कारण एक समय यसैलाई संसारकै सबैभन्दा अग्लो हिमाल ठानिन्थ्यो । गौरीशंकर हिमाल आरोहण गर्न पनि सबैभन्दा गाह्रोमध्ये एक मानिन्छ, त्यसैकारण नेपालका मुख्य हिमालमध्ये सबैभन्दा पछि आरोहण गरिएको यही हो, सन् १९७९ मा । 

जिरी जाने बाटोको मुढे बजारबाट पनि रोल्वालिङ हिमालका पूर्वी चुचुराहरू देखिन्छन् । यीमध्ये सबैभन्दा दायाँतिरको नुम्बुर हिमाललाई चुच्चो आकारको कारण चिन्न सजिलो छ भने सबैभन्दा देब्रेतिर गौरीशंकर नजिकको मेलुङ्त्से देख्न सकिन्छ (तस्बिर ७) । रामेछाप जिल्लाको नुम्बुर हिमाल नजिकको नुम्बुर चिज फ्याक्ट्रीको पदयात्रा मार्ग पनि लोकप्रिय छ । नुम्बुरको पछाडिपट्टि दूधकुण्डमा हिमनदी छ भने काङ्नाचुगोको अगाडिपट्टि त्सो रोल्पा ताल । काङ्नाचुगोकै पछाडिपट्टि नाम्चे बजार पर्छ । र, त्यसभन्दा पर सगरमाथा, ल्होत्से र नुप्त्से हिमालहरू भएको महालंगुर हिमशृंखला । नुम्बुर पदयात्रा भएर सगरमाथा बेस क्याम्पसम्म जान सकिन्छ । लुक्लामा विमानस्थल बन्नुअघि सगरमाथातिर जाने पदयात्रा जिरीबाट सुरु हुन्थ्यो । 

सगरमाथा र अरू हिमाल

मध्य नेपालका हिमालको मात्रै चर्चा गरेकाले यहाँ धेरै नेपाली हिमालको चर्चा छुटेको छ । सगरमाथा कहाँबाट देखिन्छ ? मौसम खुलेको बेला दामन, फूलचोकीजस्ता काठमाडौँ वरपरकै अग्ला भ्यु प्वाइन्टहरूबाट, काठमाडौँ–विराटनगर उड्ने विमानबाट वा महेन्द्र राजमार्गका पूर्वी खण्डका केही स्थानबाट पनि सगरमाथा देख्न सकिन्छ । सगरमाथाको चुचुरोको सानो भाग कालो त्रिकोणजस्तो देखिन्छ, बाँकी अघिपट्टिका हिमालले पूरै छोपिदिएका हुन्छन् । चीनसँगको सिमाना मध्य नेपालबाट अलि दूरीमा भएको हुँदा अन्नपूर्ण हिमशृंखला जत्तिको सजिलै सगरमाथा देखिँदैन । अन्नपूर्णका हिमालहरू पनि जिरी जाने बाटो वा काठमाडौँ वरपरका केही अग्ला स्थानबाट देखिन्छन् । चीनमा रहेको आठ हजार मिटरभन्दा अग्लो सिसापाङ्मा हिमालको सेतो त्रिकोण आकारको चुचुरा पनि यी स्थानबाट दोर्जे लाक्पा वा फुर्बी ग्याचुको पछाडिपट्टि देखिन्छ । सिसापाङ्माको अर्को नाम गोसाइँथान हो । धौलागिरि हिमाल र अझ परका गढवाली हिमाललगायत कैलाश पनि कहिलेकाहीँ पश्चिम जाने उडानबाट देखिन्छ । यसैले चिनौँ हाम्रा हिमाल । हिमाल चिने देश चिन्न सक्छौँ । 

हिमालका नाम र सम्मान

हिमाल नामकरणबारे केही रमाइला तथ्य छन् । अन्नपूर्ण–१ देखि २ सम्म लहरै धेरै हिमाल देखिन्छ । अन्नपूर्ण हिमाल सबैभन्दा पहिला सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले आरोहण गरेको हो । उनकै नामबाट तस्बिरमा ग्रान्ड ब्यारिएर लेखिएको पर्खाललाई ‘ हर्जोग ग्रान्ड ब्यारिएर’ भन्ने फ्रान्सेली नामबाट पनि चिनिन्छ । त्यस्तै बराहचुलीलाई ‘फाङ,’ खङ्सरलाई ‘रक नोइर’ (फ्रान्सेलीमा कालो चट्टान) र तार्केलाई ‘ग्लेसिएर डोम’ पनि भनिन्थ्यो । 

पश्चिमका कति हिमालहरूको नाम जर्मन वा इटालीयन शब्दमा पनि राखिएका छन् । सबैभन्दा अग्लो हिमाल नै बेलायती कर्मरीको नाममा एभरेस्ट भनेर चिनिन्छ । इतिहासकार बाबुराम आचार्यका अनुसार एभरेस्ट भनिनुअघिदेखि नै नेपालमा किराँत भाषामा सगरमाथा र शेर्पामा छोमोलोङ्मा भन्ने गरिएको थियो । 

संस्कृतमा गिरि भनेको हिमाल हो । तसर्थ, नीलगिरि भनेको नीलो हिमाल हो । अन्नपूर्णको अर्थ धान्यकी देवी हुन्छ । त्यसै गरी मानसको अर्थ आत्मा हो, जसबाट मनास्लु, मानसखण्ड र मानसरोवर नाम बने । तिब्बती मूलका भाषामा काङ भनेको हिउँ हो । तार्के र खङ्सरलाई तार्केकाङ वा खङ्सर काङ पनि भनिन्छ । यी भाषामा ‘री’ वा ‘त्से’ भनेको पनि चुचुरो हो, जसबाट लाङटाङ री, गोक्यो री, लोत्सेजस्ता नाम बनेका छन् । त्यस्तै ‘त्सो’ भन्नाले ताल बुझिन्छ, जस्तै–त्सो रोल्पा ।

पश्चिमा मुलुकमा जस्तो नेपालमा सबै हिमाल र पहाडको नाम राख्ने चलन छैन । पहाड–हिमालहरूलाई वरिपरि घुम्ने तर सम्मानपूर्वक चुचुरोमा नटेक्ने हाम्रो संस्कृति हो । यस्तो चलनका पछाडि प्रकृति वा पहाडलाई कहिले पनि जित्न सकिँदैन, बरू सम्मान गर्नुपर्छ भन्ने हाम्रो दर्शनको भूमिका छ । कुनै पनि स्थान जित्ने, झन्डा गाडेर आफ्नो दाबी गर्ने र त्यसो गरेबापत आफैँलाई श्रेष्ठ मान्ने चलन औपनिवेशिक विचारसँगै विस्तार भयो । यसैको प्रभावमा पर्वतारोहण र हिमाल ‘जित्ने’ होडमा कतिपय लागे । सुरुसुरुमा पर्वतारोहण अभियान सरकारी खर्चमा राष्ट्रवादी अभियानका रूपमा आयोजना हुन्थे । बेलायत, अमेरिका, इटली, फ्रान्स, जापानजस्ता देश पहिले कुन हिमालमा आफ्नो झन्डा गाड्ने भन्ने प्रतिस्पर्धा गर्थे । 

विदेशीहरू आएर एकपछि अर्का हिमाललाई आफ्नो हिसाबले नामकरण गर्न थालेपछि तिनको स्थानीय नाम खोज्ने वा बनाउने काम पनि हुन थाल्यो । हिमाल भनेका स्थानीय धर्म–परम्परा र सभ्यताका साक्षी हुन् र तिनका सम्पत्ति पनि । प्राय: सबै धार्मिक परम्पराको सुरुआत पहाड वा हिमाललाई आधार मानेर भएको छ । इस्लाम धर्ममा माउन्ट हीरा, यहुदी धर्ममा माउन्ट सिनाइ र दक्षिण अमेरिकाको इन्का सभ्यतामा माउन्ट कोरोपुनाको अलगै महत्त्व छ । 

नेपालमा लामो समयदेखि बौद्ध, प्राकृत, हिन्दुजस्ता धर्महरू मिलेर बसेको हुँदा एउटै हिमालका शेर्पा, नेपाली, संस्कृत वा अन्य नामहरू पनि भेटिन्छन् । एउटै हिमाललाई विभिन्न समुदायले आ–आफ्ना भगवान् का रूपमा सम्मान गर्छन् । यसरी हिमालका मौलिकता जोगाउँदा हाम्रो सामाजिक सहिष्णुता र एकताको लामो परम्पराको इतिहास पनि सँगै जोडिएर आउँछ । कालीगण्डकीपारिको मुक्तिनाथ पनि हिन्दु, बौद्ध र अन्य आस्था मिसिएको मौलिक नेपाली परम्पराको धार्मिक स्थल हो । 

हिमाल–पहाड र ती छेउमा समाजको मनोविज्ञान अन्य समाजभन्दा भिन्न हुने ठानिएको छ । त्यसैले केवल माटो, ढुंगा वा हिउँको थुप्रो भएका कारण होइन, लामो समयदेखि समाजकै विशिष्ट सदस्यका रूपमा हिमालको महत्त्वपूर्ण स्थान छ । कति हिमाल, हिमताल वा हिमनदीका नाम एकै छन् । जस्तो : गंगपूर्ण हिमालसँगै गंगपूर्ण हिमनदी छ भने तिलिचोको फेदमा तिलिचो ताल ।

हिमवत् खण्ड

अन्नपूर्ण समूहभन्दा पश्चिम जाने हो भने धौलागिरि समूह आउँछ । कालीगण्डकीपारिका यी हिमालहरूसँगै कर्णाली भेग सुरु हुन्छ । कर्णाली भेगको उत्तर चीनमा रहेको कैलाश पर्वतलाई तिब्बती बौद्धमार्गी काङ्रिम्पोचे भनेर श्रद्धा गर्छन् । मानसरोवर तालसँगै कैलाश क्षेत्र यस भेगमा सबैभन्दा ठूला नदीहरूको मुहान हो भने मुख्य धर्म परम्पराहरूको पनि पवित्र ठाउँ । हिन्दु, बौद्ध र जैन सबैले कैलाशलाई भगवान्का रूपमा पूजा गर्छन् । कैलाश जाने परम्परागत बाटा पनि नेपालकै लिपुलेक र अन्य ठाउँ हुन् । प्राचीन समयमा नेपालको पश्चिमी भेगको महत्त्वबारे पुराना ग्रन्थहरूमा व्याख्या गरिएको छ । बडीमालिका, खप्तड, काँक्रेविहारजस्ता धेरै पुराना केन्द्र यिनै क्षेत्रमा पर्छन् । 

कश्मीरदेखि असमको पहाडी भूभागमा नेपाल नै शैव, शाक्त र तान्त्रिक परम्पराको पुरानो केन्द्र हो । विभिन्न पहाडी समुदायका देवता शिवसम्बन्धी किंवदन्ती र धामहरू नेपालभरि छरिएका छन् । नेपालमा अहिलेको जस्तो हिन्दु परम्परा सुरु हुनुअघि यक्ष, खस, किराँत, तिब्बती, बोन, खाम आदि विभिन्न समूहका आफ्नै प्राकृत धर्म र परम्परा थिए । पछि यिनीहरू मिसिए । र, दक्षिणको परम्पराको आगमनले अहिलेको हिन्दुरूप धारण गर्‍यो । नेपालमै विकसित भएका बौद्ध वा हिन्दु धर्मका आफ्नै विशेषता र मौलिकता भए पनि अन्य देशका धर्मसँग तिनलाई विलीन गराउने वा सिको गर्ने कामले यिनको मौलिकता नष्ट हुने खतरा छ ।

उत्तर भारतका काशीजस्ता स्थानलाई पनि हिमवत् खण्डकै भाग मानिन्छ । किनभने, हिमाल, तिनका नदी, नदीले सिञ्चिने फाँट र त्यहाँका मानिस एउटै प्रणालीका अंग हुन् । यिनैको सेरोफेरोमा जैविक, सांस्कृतिक, सामाजिक र राजनीतिक परम्पराको विकास भएको छ । तर, हिमवत् खण्डको अधिकांश भूभाग नेपालमै परेको हुँदा नेपाली परम्पराको विकास छिमेकी भारतीय स्थानभन्दा अलग्गै रहेको देख्न सकिन्छ । यो मौलिकता र विविधता नेपाली सम्पत्ति हो । 

(लेखकलाई ट्विटरमा पछ्याउनुहोस् »»» @tistung)

प्रकाशित: आश्विन १७, २०७३