अब समुन्नत समाजवाद

  • कांग्रेसको खैरो र उदास समाजवाद । कम्युनिस्टहरूको रातो र उद्दण्ड समाजवाद । यी दुवै को विकल्पमा समाजवादको चौथो धार, नीलो र समुन्नत समाजवाद ।

- केशव दाहाल

नेपालमा समाजवादको स्वाद, रंग, रूप र सौन्दर्यमाथि अनेकौँ विमर्श भइरहेका छन् । यस्तो हुनु स्वाभाविक छ । किनभने, हामीसँग समाजवादको सपना छ । यस्तो सपना जसलाई दलहरूले निरन्तर गोडमेल गरे । गरिबीमा बाँच्नेहरूलाई सपना देखाउनु निकै लोकप्रिय काम हो । 

त्यही लोकप्रियताको मोहमा हामीकहाँ खालखालका समाजवादी पार्टी बने, बन्दै छन्– जसले समाजवादको मायावी संसार निर्माण गरेका छन् । हुन त हाम्रो संविधानमै ‘समाजवाद’ उल्लिखित छ । त्यसैले नेपालमा ‘समाजवाद’ केही रहस्य, केही भ्रम र केही बौद्धिक विमर्शको विषय हो । 

स्वाद : समाजवादको स्वाद कस्तो हुन्छ, गुलियो, तीतो कि टर्रो ? हामीले समाजवाद चाख्न पाएका छैनौँ । यद्यपि, विश्व राजनीतिमा यो बहस आजको होइन । यो निरन्तर छ । यो बहसलाई विभिन्न कालखण्डमा हेर्न सकिन्छ । पहिलो खण्डमा छ, कल्पनाको समाजवाद । रबर्ट ओवेनले युटोपियन समाजवादको कल्पना गरे । उनी प्रेम, समानता र भ्रातृत्वले भरिएको रामराज्य बनाउन चाहन्थे । यस्तो राज्य जसमा स्वर्गको स्वाद मिलोस् । तर, द्वन्द्वात्मक भौतिकवादीहरूले यस्तो आदर्शलाई महत्त्व दिएनन् । उनीहरूले समाज विकास एक निर्मम प्रक्रिया हो र यो द्वन्द्वपूर्ण हुन्छ, आदर्शले समाजवाद बन्दैन भने । उनीहरूका भनाइमा, समाजवाद बनाउने हो भने कठिन संघर्ष आवश्यक हुन्छ । यो चिन्तनधारामा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओहरूको योगदान रह्यो । 

यसै मेसोमा सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र लेखियो । यसरी समाजवादको दोस्रो बहस सुरु भयो । माक्र्सवादी समाजवाद । जसको मुख्य चरित्र थियो, सर्वहारा संघर्ष, सर्वहारा सत्ता, उत्पादनको सामूहिकीकरण र समाजवाद निर्माण । कम्युनिस्ट पार्टीको घोषणापत्रले वर्गसंघर्षको लहर ल्यायो । नेपालमा पुष्पलाल, मदन भण्डारी हुँदै प्रचण्डसम्मले यसै गरे । रबर्ट ओवेनदेखि आजसम्म नाइल नदीमा धेरै पानी बगिसक्यो । माक्र्ससँग उमेर मिलाउँदा यो बहसले झन्डै दुई सय वर्ष छिचोल्यो । वाग्मती किनारमा समाजवादको सपना हुर्काएको पनि ७० वर्ष नाघ्यो । तथापि, न त संसारमै भनेजस्तो समाजवाद बन्यो, न त नेपालमा । 

दोस्रो चरणको समाजवादमा जब अनेकौँ विरोधाभास देखिए, तब यसको विकल्प खोजियो । जसका लागि ‘लोकतान्त्रिक समाजवाद’को प्रस्ताव गरियो । यो तेस्रो चरणको समाजवाद हो । नेपालमा नेपाली कांग्रेस आफूलाई लोकतान्त्रिक समाजवादी पार्टी मान्छ । तर, विश्वभर नै लोकतान्त्रिक समाजवादले कुनै आकार लिएन । कतै यो पुँजीवादी समाजवाद बन्यो, कतै बुर्जुवा लोकतन्त्रमा सीमित भयो । यसरी विश्वराजनीतिमा समाजवादका अनेकौँ अर्थ, प्रवृत्ति र धारहरू देखापरे । 

चीनमा भन्ने गरिएको समाजवाद र नेपालका माओवादीहरूको समाजवाद एउटै रहेन । नेपालमै कांग्रेसको समाजवाद र कम्युनिस्टहरूको समाजवाद उस्तै होइन । युरोपेलीहरूको समाजवाद र क्यारेबियनहरूको समाजवाद अलग हो । जब समाजवादको अर्थ, प्रवृत्ति र प्रयोगमा एकरूपता हुँदैन, त्यसले ‘ डिबेट’ त ल्याउँछ तर ‘एक्सन’ ल्याउँदैन । 

रंग : समाजवादको रंग कस्तो हुन्छ ? नेपालमा यसका तिनखाले रंग र धार छन् । पहिलो, रातो रंगको माक्र्सवादी समाजवादी धार । दोस्रो, खैरो रंगको प्रजातान्त्रिक समाजवादी धार । तेस्रो, नीलो रंगको वामपन्थी समाजवादी धार । माक्र्सवादी समाजवाद मूलत: कम्युनिस्टहरूको धार हो । माओवादीदेखि एमालेसम्म यो धारमा छन् । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको उदयसँगै यो धारको जबर्जस्त प्रभाव बढ्यो । यसले झन्डै शताब्दी राज गर्‍यो । तर, सन् ’९० को दशकपछि यो धार ओरालो लाग्यो । त्यसका केही कारण छन् । माक्र्सवादी समाजवादीहरू सोभियत विश्वविद्यालका नकारात्मक शिक्षालाई छोड्न तयार भएनन् । उनीहरू माक्र्स र लेनिनको देवत्वकरण गर्न चाहन्छन् । यो धारले आर्थिक क्षेत्रमा नाफालाई सधैँ पूर्वाग्रहबाट हेर्छ । निजी सम्पत्तिको विरोध गर्छ । राजनीतिक क्षेत्रमा यो सर्वहारा अधिनायकवादी छ । सामाजिक क्षेत्रमा यसले व्यक्तिको सर्वोच्चता र स्वतन्त्रतालाई कुण्ठित गर्छ ।

संगठनात्मक क्षेत्रमा यो केन्द्रीयतामुखी छ । प्रश्न उठछ, के सर्वहारा अधिनायकत्व, निजी सम्पत्तिको अन्त्य र सम्पूर्ण रूपमा व्यक्तिमाथि सामाजिक नियन्त्रण सम्भव छ ? के यसरी समाजवाद आउँछ ? 

प्रजातान्त्रिक समाजवादी धारले पनि यी प्रश्नको समाधान दिएन । बीपी कोइराला भन्छन्, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ । समाजवादबाट प्रजातन्त्र हटाइदियो भने त्यो साम्यवाद हुन्छ ।’ यद्यपि, बीपीले भनेको ‘समाजवाद’ र ‘ प्रजातन्त्र’ दुवैलाई आज उनकै पार्टीले विरूप बनाएको छ । कांग्रेसका लागि प्रजातन्त्र भोट हाल्ने खेल मात्र हो र समाजवाद भोट माग्ने । त्यसैले नेपालमा समाजवादका दुवै धार असफल छन् । यिनमा कुनै ताजापन र आकर्षण छैन । यसै कारण नेपालमा समाजवादको चौथो मोडेलको खोजी भइरहेको छ ।

समाजवादको चौथो मोडेल हुन सक्छ, समुन्नत समाजवाद । वैकल्पिक राजनीतिको बहस गर्नेहरू यो धारमा देखिँदै छन् । यसले माक्र्सवादी सिद्धान्तको बोझबाट समाजवादलाई मुक्त गर्न चाहन्छ । यो धार माक्र्सवादी समाजवाद र बुर्जुवा प्रजातन्त्र दुवैको विपक्षमा छ । यो लोकतान्त्रिक समाजवादको पक्षमा पनि देखिँदैन । किनभने, यसले वामपन्थी रुझान राख्छ । यो धार लेनिन र स्टालिनका मोडेलको आलोचक हो । नेपालमा यो धारले माक्र्सवादी समाजवादका पुराना कमजोरीको स्वतन्त्र समीक्षा गरिरहेको छ । सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद यो धारको प्रस्ताव हो । निष्कर्ष बन्छ कि, कांग्रेसको खैरो र उदास समाजवाद । कम्युनिस्टहरूको रातो र उद्दण्ड समाजवाद । यी दुवैको विकल्पमा समाजवादको चौथो धार, नीलो र समुन्नत समाजवाद । 

रूप : माक्र्सवादी समाजवादीहरूले वर्गबीचको अन्तर्विरोधलाई संघर्षको प्रधान पक्ष बनाए । उनीहरूले समाजका अन्य अन्तर्विरोधहरू देखेनन् । जस्तै : जात, भाषा, रंग, भूगोलको अन्तर्विरोध । माक्र्सवादी समाजवादीहरूले समाजको कुरा त गरे तर मान्छेको निजत्व र मनोविज्ञानलाई देखेनन् । मान्छेको मन, सोच, आवेग, संवेगहरूलाई माक्र्सवादीहरूले बुझेनन् । माक्र्सवादले ‘ प्रकृति र समाजको परिवर्तन मात्रात्मकबाट गुणात्मक हुन्छ’ भन्छ । तर, माक्र्सवादले मनको कुरा गरेन । मन सूत्रमा बाँधिदैन । यो त फड्को मार्छ । मन त उडान भर्छ । मन तरल हुन्छ । यो कताकता बग्छ । यस्तो विचित्रको मनलाई समाजको सीमित दायरा र सूत्रबाट कसरी नियन्त्रण गर्न सकिन्छ ? मान्छेको मनलाई न त प्रहरीले नियन्त्रण गर्न सक्छ, न त राज्यले । त्यो सोच, यो नसोच, यो खाऊ, त्यो नखाऊ, यो काम गर, त्यो काम नगर, योसँग दोस्ती गर, त्योसँग नगर भन्न सक्दैन । यहीँनेर लेनिनको समाजवाद ढल्यो, चीनमा समाजवादै आएन र उत्तर कोरिया तमासा गर्दै छ । त्यसैले यस्तो समाजवादको नेपालमा काम छैन । 

परम्परागत समाजवादीहरू निजी सम्पत्तिको विरोध गर्छन् । उनीहरू उत्पादन प्रक्रियामा श्रमलाई महत्त्व दिन्छन् तर पुँजीलाई दुत्कार्छन् । मान्छे र निजी सम्पत्तिको सम्बन्धलाई समाज विकासको चालक नदेख्नु उनीहरूको कमजोरी हो । यदि निजी सम्पत्ति नहुँदो हो त मान्छेको जाँगर, लालसा र तृष्णाको के हाल हुन्थ्यो ? त्यो नहुँदो हो त समाज कहाँ हुन्थ्यो ? निश्चय नै निजी सम्पत्तिलाई निषेध गर्नु सपनाहरूको बन्ध्याकरण हो । आज न त राज्यले अर्थतन्त्रमाथि पूरा नियन्त्रण गर्न सम्भव छ, न त निजी सम्पत्तिको सामूहिकीकरण । सम्पत्ति श्रमसिद्ध हो कि शोषणबाट आर्जित हो ? विरोध गर्नुपर्ने कुरा सम्पत्ति होइन, स्रोत हो । 

हामीसँग समाजवादीहरू त छन् तर लेनिनवादीहरू छन्, अथवा माक्र्सवादीहरू छन् । उनीहरूलाई लाग्दो हो समाजवादी हुनु पक्का लेनिनवादी र माओवादी हुनु हो । यो गलत हो । समाजवादी हुनु लेनिनवादी हुनु होइन । बरू, समाजवादी नै हुनु हो । किनभने, हामीले समृद्धि, सामाजिक न्याय र मानव सर्वोच्चताको ग्यारेन्टी खोजेको हो । २१औँ शताब्दीले समुन्नत समाजवाद खोजेको हो, लेनिनवाद होइन ।

समुन्नत समाजवाद पुराना अभ्यासभन्दा फरक हुन आवश्यक छ । पहिलो फरक त आर्थिक न्याय नै हो । तर, श्रमबाट सिर्जित पुँजीको सम्मान पनि हो । धनी बन्न कसैलाई रोक्न हँुदैन । न त धनीलाई गाली गर्न नै आवश्यक छ । तर, धन आर्जनको तरिकालाई राज्यले अनुगमन गर्नुपर्छ । मान्छे सुखी बन्न चाहन्छ । ऊसँग महत्त्वाकांक्षा हुन्छन् । तिनलाई कुण्ठित गर्ने समाजवाद कसरी चल्छ ? 

तर, धन कमाउन जे पनि गर्न सकिने पँुजीवादी लोकतन्त्रलाई पनि मान्न सकिँदैन । यसर्थ, आधुनिक समाजवादमा राज्यले धनको जनमुखी नियमन र व्यवस्थापन गर्नुपर्छ । मानिसलाई कसै गरी समान बनाउन सकिँदैन । यस्तो सपनामा पनि हुँदैन । किनभने, चेतना, प्रवृत्ति, गुण, विवेकलाई बराबर गर्न सकिँदैन । त्यसकारण समाजवाद मान्छेलाई बराबर गर्ने सिद्धान्तबाट होइन, मान्छेहरूको फरकलाई सन्तुलित र व्यवस्थित गर्ने सिद्धान्तबाट निर्माण गर्नुपर्छ । राज्यले मान्छेलाई समान होइन, उत्कृष्ट बनाउनुपर्छ । यो नै समुन्नत समाजवादको मुख्य चरित्र हो । 

व्यक्तिको स्वतन्त्रता र सामाजिक दायित्वलाई सन्तुलित गर्ने व्यवस्था नै समुन्नत समाजवाद हो । यस्तो व्यवस्था राज्यको नियन्त्रणबाट नभई राज्यको उत्प्रेरणाबाट बन्छ । जसमा जनताको प्रत्यक्ष संलग्नता रहन्छ । आजको समाजवाद आजकै मान्छेहरूले बनाउनुपर्छ । तर, यस्ता मान्छेहरूले मात्र आजको समाजवाद बनाउन सक्नेछन्, जोसँग उड्नका लागि स्वतन्त्र आकाश, मान्छेलाई माया गर्ने विशाल छाती र समाजवादको मज्जा लिने पूरा जीवन होस् । निश्चित छ, जनताले बनाउने समाजवाद वर्गीय हँुदैन, मानवीय हुन्छ । आजको समाजवादमा सहभागितामूलक लोकतन्त्र अनिवार्य हुनुपर्छ । मुख्य कुरा समाजवादले जनतालाई सिद्धान्तको हतकडी लगाउनु हुँदैन । बरू, यसले जनतालाई स्वतन्त्रताको खुला आकाश दिनुपर्छ । यस्तो आकाश जहाँबाट हेर्दा संसारको सबैभन्दा सुन्दरतम सभ्यताको दर्शन पाइयोस् । 

प्रकाशित: आश्विन ११, २०७३