मनास्लु क्षेत्र: सावधानी नअपनाए मृत्युमार्ग

  • सामान्य पूर्वाधार निर्माणबिनै यात्राको अनुमति

- प्रदीप बस्याल

मनास्लु क्षेत्रमा चार जनाको ज्यान जानेगरी भएको पहिरोसँगै पदयात्राका लागि सबैभन्दा उपयुक्त समय शरद ऋतुको दु:खद सुरुआत भएको छ । ६ असोजमा मार्गको तातोपानी नजिकै पर्ने दोभानमा पहिरो जाँदा एक स्पेनिस नागरिक र तीन नेपालीको ज्यान गएको थियो । मनास्लु ट्रेल उसै पनि साँघुरो मार्ग हो । त्यसमाथि गत वर्षको भूकम्पले त्यसलाई जीर्ण बनाएको थियो । ६ महिनासम्म पूर्ण रूपबाट पर्यटकका लागि बन्द गरिएको यो मार्ग सामान्य मर्मतपछि सुरु त भयो तर सुक्खा पहिरो झर्ने क्रम रोकिएको थिएन । मनास्लुमा वर्षा लम्बिरहँदा त्यसले पहिरोलाई झन् चलायमान गरायो । र, पुन: यो दु:खद घटना भएरै छाड्यो । 

नेपालमा भदौको अन्त्यतिरबाटै पदयात्रा सुरु हुन्छ र असोज–कात्तिकमा त्यसले गति लिन्छ । जब चर्चित पदयात्रा मार्गबाट यस्ता खबर आउँछन्, पदयात्रा निश्चित गरिसकेकाहरूले समेत भ्रमण रद्द गर्छन् । “पर्यटकहरू अन्य देशका विकल्पतर्फ लाग्ने सम्भावना उच्च हुन्छ,” पर्यटन व्यवसायी विशाल श्रेष्ठ भन्छन्, “त्यसै पनि भूकम्पसँगै थिलथिलो भएको नेपालको पर्यटनलाई नेपाल यात्रा गर्न सुरक्षित छ भन्ने अभियानबाट जसरी पर्यटन क्षेत्रलाई उकास्न खोजिएको छ, त्यसमा धक्का पुग्न सक्छ ।” 

दिगो पर्यटन विकासको उद्देश्य बोके तापनि ०५५ सालमा स्थापित मनास्लु संरक्षण क्षेत्रले सुरुदेखि नै चुनौती झेल्नुपर्‍यो । खाद्यान्न अभावको समस्या रहेको यस भेगमा पर्यटनका बलिया पूर्वाधार निर्माण गर्नमा अझै स्थानीय सक्षम बनिसकेका छैनन् । स्वास्थ्य सेवा, खानेपानी र बिजुलीको संकट छ, जसले गर्दा पदयात्रीसमेत अन्य पदमार्गको तुलनामा यस भेगमा निकै कम आउँछन् । 

“मनास्लुको बाटोलाई एभरेस्ट वा अन्नपूर्ण पदमार्गसँग तुलना गर्ने हो भने त ती फराकिला बाटोसरह नै हुन्,” थुप्रैपटक त्यस रुटमा यात्रा गरेका गाइड दविन्द्र लामा भन्छन्, “त्यसमाथि सावधानीका सामान्य सूचकसमेत नराखिनु दु:खलाग्दो पाटो हो ।” बूढीगण्डकी किनारमा थुप्रैतिर एकतर्फी मात्र पैदल हिँड्न मिल्ने साँघुरा भिरालो बाटो छन् । जहाँ अगाडिबाट खच्चडहरू आउँदैछन् भन्ने जानकारी नजिकै पुगेपछि मात्रै थाहा हुन्छ । कतिपटक त भरियाहरू खच्चडलाई बाटो दिन पुन: फर्कनुपर्छ ।

 

यही अप्ठ्यारो बाटोका कारण पदयात्रीहरू अन्यतिर भन्दा बढ्तै थाक्छन्, मनास्लु मार्गमा । र, थोरैथोरै हिँड्दै थकान मेट्न बस्छन् पदयात्रीहरू । दविन्द्र भन्छन्, “कम्तीमा बढी रकफल भइरहने ठाउँमा नरोकिने संकेत वा सूचना मात्रै राख्न सक्ने हो भने पनि धेरै कम हुन सक्थ्यो ।” स–साना बाटोहरू थुप्रैतिर भएकाले कसलाई पछ्याएर कता पुगिने हो भन्नेमा समेत झुक्किने घटना बारम्बार भइरहन्छन् । पदयात्रीका अनुसार जसलाई विभिन्न रंगका चिह्न राखेर सघाउनुपर्ने हुन्छ, त्यसमा समेत हेलचेक्र्याइँ गरिएको छ । 

मार्गको पहिलो गतिलो स्टप लापुबेसीलगत्तै कोल्टे परेको र थुप्रैतिर भ्वाङ परेको झोलुंगे पुल आउँछ । आसपासमा वैकल्पिक बाटो नदेखेपछि जोकोही बिस्तारै अगाडि बढ्छन् । तर, अगाडिपट्टिको सानो गोरेटोसमेत खिइएको बाटोमा हाम नफाली अगाडि बढ्न सकिँदैन । जसको झन्डै दुई सय मिटर तलपट्टि बूढीगण्डकी सुसाइरहेको छ । 

हुन त पदमार्गको सुरुआती विन्दु सोतीबजारबाटै यस्ता थुप्रै सास्ती सुरु हुन थाल्छ । मार्गका दुई उपत्यकाहरू चुमभ्याली र नुब्री घुम्दै लार्केपास गर्न दुई सातादेखि २० दिनसम्म लाग्छ । मनास्लु परिक्रमा गर्नेहरू मनाङको धारापानी हुँदै बेँसीसहर झर्छन् । पास नकाट्नेहरू दुई उपत्यकामा रमाएर सोही मार्ग फर्कन्छन् । छाप, ल्होजस्ता सात गाविस गोरखा जिल्लाभित्रै रहेर पनि हिमालपारि छन् । स्थानीयहरू आफ्नै जिल्ला सदरमुकाम पुग्नसमेत साता दिन हिँड्नुपर्छ । यही विकटता पदयात्राका सोखिनहरूका लागि आकर्षण त बन्छ तर बीचमा अप्ठ्यारो पर्दा उद्धारकै लागि समस्या छ । 

यो पदमार्गको संवेदनशीलताका कारण जसरी बढी सावधानी र उद्धार गर्न सकिने पूर्वाधार निर्माण गर्नुपथ्र्यो, त्यो हुन सकेको छैन । मनास्लु संरक्षण क्षेत्र परियोजनाका प्रमुख राजकुमार गुरुङ पनि यसमा सहमत छन् । भन्छन्, “त्यसै पनि सुक्खा पहिरो आइरहने बाटोमा पानी परेका बेला जोखिम मोल्नु हुँदैन । सुधारको योजनामा छौँ तर सामान्य प्रयासले मात्र हुँदैन ।” सन् २०१४ मा मात्रै झन्डै ६ हजारले यात्रा गरेको यो मार्गमा १२ वैशाखको भूकम्पपछि त लामो समय स्थानीयहरूले नै जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गरेका थिए । थुप्रैतिरबाट हेलिकप्टरले उद्धार गरेको थियो । यो पदमार्गमा खुलेका दर्जनौँ होटल बन्द भएपछि अहिले त्यसै पनि रौनक घटेको छ । र, सामान्य रूपमा पदयात्रीलाई सघाउने प्रयास नगर्दा वा मार्गको सुधारबिनै पदयात्राको अनुमति दिँदा ‘किलर माउन्टेन’ भनेर चिनिने मनास्लु हिमालझैँ यो मार्गलाई समेत ‘मृत्यु मार्ग’ नभन्लान् भन्न के बेर ? 

(साथमा, सुदीप कैनी/गोरखा)

प्रकाशित: आश्विन ९, २०७३