टिस्टुङ देउराली» नयाँ सेता बाघहरू

  • के अब कश्मीर र बलुचिस्तान विवादमा पनि नेपाल चीनको विरुद्ध हो ? चीनले नेपालमा समेत लगानी गर्न भनेर करोडौँ डलर छुट्याएको बहुउद्देश्यीय ‘वान बेल्ट वान रोड’ अभियानमा भारत जस्तै के नेपालको पनि असहमति हो ?

- विवेक पौडेल

चर्चित ऐतिहासिक उपन्यास सेतो बाघमा सोमनाथ नामका एक पात्र छन्, जो त्यसबेलाको प्रशासनका मुख्य पण्डित र विद्वान् थिए । जंगबहादुर राणासँगै बेलायत भ्रमण गरेपछि सोमनाथ नेपालमा पनि संसदीय व्यवस्था सुरु गर्ने सुझाव दिन थाल्छन् । यस्तै गतिविधिका कारण क्रुद्ध जंगबहादुर उनलाई सर्वस्व हरणसहित चार भञ्ज्याङ कटाउँछन् । उनको परिवारको बिचल्ली हुन्छ । रगतको आहालमा खेलेर सत्ता हत्याएका जंगबहादुरले यसै गरी एकपछि अर्को सचेत आवाज र विरोधीलाई सिध्याउँदै तीन दशक शासन गर्छन् ।

तर, बाँचुन्जेल नेपालको सर्वशक्तिशाली मान्छे भए पनि उनका अन्तिम दिन भने पूर्वाद्र्धको तुलनामा निकै फिक्का थिए । उनको मृत्यु कसरी भयो भन्ने यकिन तथ्य अझै पनि रहस्यकै गर्भमा छ । अस्वस्थ हुन थालेपछि आफूले सुरु गरेको व्यवस्थासँग आफैँ तर्सेर ठूलो दलबलसहित महिनौँसम्म उनी काठमाडौँबाट बाहिर निस्केका थिए । उनको अवसानपछि सत्ताको बागडोर सम्हाल्नेबारे छोरा र भाइहरूबीच आशंका र तनाव थियो । आफू कमजोर भएपछि शक्तिको निम्ति आफूले गरेको जस्तै काटमार दोहोरिने डरले जंगबहादुरलाई पिरोलेको थियो । उपन्यासमा यसैको साहित्यिक वर्णन छ ।

अन्तिम समयको दिग्भ्रमित र अस्थिर अवस्थामा जंगबहादुरले सेतो बाघ देख्छन् । उनी सोमनाथको अनुहारसँग झस्किन्छन् । सिकारमा निसाना बिराउँछन् । आफ्नो शासनकालमा सतीप्रथा उन्मूलन गर्न चाहे पनि पत्नीहरूलाई नेपालमा उनी सुरक्षित देख्दैनन् र सँगै लैजान्छन् । आफ्नै मृत्युको खबरसँग पनि तर्सिएर भाइहरूसम्म सुटुक्क सूचना पुर्‍याउने जिम्मा सोमनाथलाई नै दिन्छन् । नभन्दै केही वर्षमै सत्ताका लागि काठमाडौँमा राणा परिवारबीच नै काटमार सुरु हुन्छ । सधैँ अरूको बिचल्ली गराउने जंगबहादुरको आफ्नै परिवारका दुर्दिन सुरु हुन्छन् ।

नेपालमा अहिले जंगबहादुर, सोमनाथ र सेतो बाघको कथा दोहोरिँदै छ । राणाकालीन सेतो बाघको कथा करिब डेढ शताब्दीपछि खुलेको समाजमा डायमनशमशेर राणाले लेख्नुअघि वर्जित थियो । तर, लोकतन्त्रकालीन सेतो बाघको कथामा कसको के भूमिका छ भन्ने खुल्न थालिसकेको छ । कहलिएका बुद्धिजीवी, सञ्चारकर्मी वा नागरिक अगुवाले अनेक बहानामा विषयान्तर गर्दै अलमल्याउन खोजे पनि कुनै प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेरेझैँ जनताले यो खेलका विभिन्न विवरण पाइरहेका छन् ।

ढाडमा टेकेर टाउकोमा प्रहार
शक्ति आर्जनका निम्ति हजारौँ नेपालीको रगतमा होली खेलेकाहरू आज आफैँले कोरेको आकृतिसँग नराम्ररी तर्सिएका छन् । वन र मन दुवैतिरको सेतो बाघले उनीहरूको पखेरू आत्तिएको छ भने अनुहारको चमक र कार्यको संगति उडाइदिएको छ । अहिले सत्तासीन दुवै प्रमुख दलका नेता आफूले पहिले गरेका कर्तुतबाट उन्मुक्ति पाउन जे पनि गर्न तयार भएका छन् । जस्तोसुकै सम्झौता गरेर लम्पसार पर्न राजी छन् । यही कमजोरीमा मोलमोलाइ गरेर आफ् ना स्वार्थ पूरा गर्न अन्य शक्तिलाई सजिलो भएको छ । स्खलित र इमान नभएका पात्रहरूलाई विभिन्न खेल बुनेर भए पनि बलियो आसनमा राख्न यी शक्ति यसैकारण प्रयासरत हुन्छन् ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षअघि आफूलाई मार्न लागिएको भन्दै सशंकित भएको खबर भारतीय पत्रिकाको हेडलाइन नै भइसकेको छ । सुरक्षा र सहयोगको आश्वासन पाएपछि उनले भारतको ऋण ब्याजसहित चुक्ता गर्ने कसम खाएको पनि छताछुल्ल नै छ । लडाकू शिविर घोटालाको प्रकरण ताजै छ । त्यसमाथि नेपाली राष्ट्र र जनताविरुद्ध लडिएको ‘युद्ध’मा बाल सैनिक प्रयोग र व्यक्ति हत्यालगायतका कैयन् अपराधको कारण मन र वन दुवैतिरको बाघले त्यसका कर्ताहरूलाई तर्साइरहेकै छ । उनीहरूको बोली र व्यवहारमा बेलाबेलामा देखिने अचम्मको बर्बराहट यसैको संकेत हो । फेरि रगत बगाउने वा बलिदान दिनेजस्ता उत्तेजक अभिव्यक्ति हुँदै हिजोआज संस्कृतका श्लोक, योगसाधना र धर्म–संस्कृतिमा उनीहरूको लगाव बढेको छ ।

जंगबहादुरले बेलायतको सहारामा जसरी दण्डहीनताको हुकुमी शासन चलाएका थिए, ठीक त्यसै गरी अहिले विदेशीको आडमा मन र वनको सेतो बाघ शान्त गर्न सत्ताधारीहरू तल्लीन छन् । आफ्नो अस्थायी सुरक्षाका निम्ति सारा देशलाई सती लैजानुपरे पनि उनीहरू रत्तिभर हिचकिचाउने छैनन् भन्ने संकेत दिएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्य पनि नेपालको अस्तित्व र स्वतन्त्रतालाई नै सिध्याउने दिशामै उद्धत देखियो । हुँदाहुँदा बाबुराम भट्टराईसमेतले संयुक्त विज्ञप्तिका बुँदाबुँदामा विरोध गरेका छन् । भट्टराई तिनै मान्छे हुन्, जसले विदेशी दूतावासलाई पाँच करोड रुपियाँसम्मका परियोजनामा सीधै संलग्न हुने छूट दिएका थिए । त्यसअघि सूर्यबहादुर थापा सरकारले तीन करोड रुपियाँसम्मका लगानीमा विदेशीलाई उन्मुक्ति दिएका थिए । ब्याजसहित ऋण चुक्ता गर्न होला, दिल्ली यात्रामा लाजका वस्त्रसमेत नरहने किसिमका हर्कत गरेर फर्किएका छन् प्रचण्ड ।

वैदेशिक मामिला नेपालको धारणालाई भारतसँग जोड्ने थप बुँदा भएको भ्रमणको समग्र परिणाम भन्नु प्रचण्डले अरूकै ढाडमा चढेर नेपाल राष्ट्रको टाउकोमै प्रहार गर्नु नै हो ।

प्रधानमन्त्रीलाई आफूले निकै चलाखी गरेको लागेको होला तर उनले के बुझे हुन्छ भने यी सबै काम कुन स्वार्थ र कसको चाहनामा भएका हुन् भन्नेमा कसैलाई द्विविधा छैन । भ्रमण सकिन नपाउँदै चीनका धारणाबाट थाहा हुन्छ, प्रचण्डले सारा नेपालीलाई अविश्वासिलो र भर पर्न नसकिने जनताका रूपमा बेइज्जतीसमेत गरेका छन् । मित्रराष्ट्र पाकिस्तानलाई जोडेर उनको मुखबाट गराइएको टिप्पणीले नेपाललाई तटस्थ र अलग्गै देश नभएर केवल दक्षिणी छिमेकीको एउटा विस्तारजस्तो बनाइदिएको छ ।

के अब कश्मीर र बलुचिस्तान विवादमा पनि नेपाल चीनको विरुद्ध हो ? चीनले नेपालमा समेत लगानी गर्न भनेर करोडौँ डलर छुट्याएको बहुउद्देश्यीय ‘वान बेल्ट वान रोड’ अभियानमा भारत जस्तै के नेपालको पनि असहमति हो ? भारतीय संयन्त्रहरूको सहयोग र चासो रहेको हिन्दु राष्ट्र र पृथकतावादी अभियानमा पनि नेपालको सहमति हो ? कुनै न कुनै दिन यस विषयमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, विमलेन्द्र निधि, कृष्ण सिटौला आदिले जवाफ दिनैपर्छ ।

सोमनाथको अनुहार
आफ्ना विगतका कारण आज सोमनाथको अनुहारसँग झस्किएको माओवादी केन्द्र मात्रै होइन, कुनै समय नेपाली कांग्रेस आफूलाई राष्ट्रवादी शक्तिका रूपमा चिनाउने गथ्र्यो । उसको मूल मन्त्र नै प्रजातन्त्र, राष्ट्रियता, समाजवाद थियो । हुन पनि लोकतन्त्र, विकास र आफ् ना मौलिक क्षमताको चिन्ता गर्ने कोही पनि राष्ट्रवादी नै हो । दशकौँदेखि स्वतन्त्र निर्णय क्षमता विकास गर्न संघर्षरत नेपाली मूलनीतिको पखेटा नै काटिदिन आज कांग्रेसका शीर्षस्थहरू लागिपरेका छन् । धेरै एसियाली देशभन्दा पहिलै इजरायललाई मान्यता दिने काम होस् वा अन्तर्राष्ट्रिय मोर्चाहरूमा बलियो हुन प्रयास, सही अडानको लागि जवाहरलाल नेहरुसँग आँखा जुधाउन सक्ने बीपी कोइराला भइरहेका भए आजको कांग्रेसमा सायद ‘अन्धो राष्ट्रवादी’ वा ‘असन्तुलित विदेश नीति’ बोक्ने भनेर आलोचित हुन्थे होलान् ।

आफ्नो प्रधानमन्त्रित्वमा राज्यका तर्फबाट सबैभन्दा धेरै गैरन्यायिक हत्या भएका कारण शेरबहादुर देउवाको स्वार्थ पुष्पकमल दाहालसँग मिल्न पुगेको छ । त्यसमाथि हरेक पटक सत्ता प्राप्त हुँदा नेपाललाई थप कमजोर र पछाडि धकेल्न उनले भित्रभित्र अरू के के गरेका होलान् ? विमलेन्द्र निधिको आँखा काठमाडौँ–तराई फास्ट ट्रयाकको कुतमा छ । अहिले ठूलै ‘डाउन पेमेन्ट’ गर्न सके भोलि किस्तामा पाइने शक्तिको राम्रो उपहारले उनलाई उत्साहित बनाइदिएको छ । सुडान घोटालासँग कृष्णप्रसाद सिटौलाको सम्बन्ध जगजाहेर नै छ ।

वैदेशिक सन्तुलन र संविधान संशोधनका नाममा जे–जस्ता कुरा अघि बढाइँदै छ, के त्यसमा चुप बसेर बाँकी कांग्रेसजनले दोषबाट मुक्ति पाउँछन् ? सबै किसिमका बल प्रयोग र हिंसाका घटनाको छानबिन गर्नुको साटो राज्यविरुद्ध आतंक छेड्नेहरूलाई माफी दिने र आन्दोलनका नाममा मनपरी क्षतिपूर्ति बाँडेर दण्डहीनतालाई प्रश्रय दिने काममा कांग्रेस नै अगाडि छ । केही महिनामा उसको आफ्नै नेतृत्वमा सरकार बन्दै छ । त्यसपछि निर्वाचन हुन नसकेर संविधान निष्प्रभावी भयो भने सुशील कोइरालाको निष्ठा र संविधान जारी गरेको इतिहास मात्रै बोकेर कांग्रेस कुन मुखले जनताका अघि जाला ? यस दलका युवा नेताले पञ्चायतकालीन इतिहास र गुनासाका गफकै भरमा सधैँ जनताले आफूलाई पत्याउँछन् भन्ने कल्पना गरेका छन् भने त्यो त्याग्दा हुन्छ ।

विभिन्न क्षेत्रका सिन्डीकेटमा एमालेको वर्चस्व र अनियमितता मनमोहन मेमोरियल मेडिकल कलेज प्रकरणले उदांगो बनाइसकेको छ । लोकमान नामको समानान्तर र हुकुमी सत्ताबारे सत्ताधारी वा प्रतिपक्षी कोही बोल्न नसक्ने स्थिति यस्तै गैरजिम्मेवारीको कारण बनेको हो । त्यसमाथि सन्तानलाई छात्रवृत्ति बाँड्नेजस्ता व्यक्तिगत कामका लागि समेत राष्ट्रको साख गिराउन पछि नपर्ने माधव नेपाल गुट अझै त्यस पार्टीमा शक्तिशाली छ । आफ् ना वरपरका मानिसको विगत तथा बदनामीलाई अघिल्लो सरकारका केही राम्रा कदमबाट छायामा पार्न केपी ओली सफल भए पनि अबका दिनमा उनले गल्ती सच्याउँदै जिम्मेवार भएर अघि बढ्न सके मात्र त्यसको दिगोपन हुनेछ । उनको कार्यकालको समग्रताको प्रशंसा विरोधीले समेत गरिसकेका छन् । तर, त्यसलाई मूर्त रूप दिन जनतासँग सभ्य संवाद गर्ने, असल राजनीति र नेताहरू विकास गर्ने, आफ् नो र अरू दललाई पनि सँगै हिँडाउने क्षमता उनले बनाउनुपर्छ ।

बेकार बुद्धिजीवी
निरन्तर निगरानीमार्फत राजनीति निष्प्रभावी र अनुत्तरदायी हुँदा त्यसलाई सच्याउने काम बुद्धिजीवी र नागरिक वर्गको हुन्छ । लोकतन्त्रको प्राण भनेकै जागरुक नागरिक जमात हो । यसको अघिल्लो पंक्तिमा सञ्चारकर्मी, प्राध्यापक, लेखक, पत्रकार, आदि पर्छन् । यीमध्ये एकथरीलाई राज्यको वैधानिकता नस्वीकार्नु र नेपालको अस्तित्वमा प्रश्न गर्नु नै आफ्नो निगरानी हो भन्ने भ्रम छ । जब कि, बुद्धिजीवी भनेको राज्यकै एक हिस्सा हो र लोकतान्त्रिक राज्य कमजोर हुँदा वा खुट्टा काटिँदा सबैभन्दा पहिलो सिकार हुने पनि यही वर्ग हो । हाम्रा बुद्धिजीवीले राज्य र सरकारबीच फरक छुट्याउन नजानेर सरकारको विरोध गर्नुपर्ने कुरामा राज्यको प्राण लिन खोजेका होलान् भनेर कसरी सोच्ने ?

अहिले एसिया र विशेष गरी दक्षिण एसियामा सबैजसो मुद्दाका सुरक्षा आयामहरू छन् । शीतयुद्धपछि भूराजनीति फेरि एकपटक नकार्नै नसकिने वास्तविकताका रूपमा अगाडि आएको छ । गत महिना चीनमा भएको जी–२० शिखर सम्मेलनका घटना यसका पछिल्ला ज्वलन्त प्रमाण हुन् । यीबाहेक कश्मीर र बलुचिस्तान द्वन्द्व, दक्षिणी चीन सागरको विवाद, चीनको नयाँ सिल्क रुट योजना, सिरियाको द्वन्द्व गरी विश्वभरकै चासो यही क्षेत्रका भूराजनीतिक मुद्दामा छन् । त्यसैले हेलचेक्र् याइँ गरे देश लामो जातीय र धार्मिक द्वन्द्वको थलो बन्दै विदेशी क्रीडास्थलमा परिणत हुने खतरा छ । त्यसपछि हाम्रा विकास र सुखका कुरा सपना मात्रै हुन सक्छन् । तर, यस्तो अवस्थामा पनि देखे नदेखेझैँ गरेर मूल कुराबाट ध्यान मोड्न हाम्रो बुद्धिजीवी वर्ग तल्लीन छ । 

नेपालले एक्लै चाहेर गर्न सक्ने के कति कुरा छन् र हालका समस्या केवल हाम्रा आन्तरिक हुन् भनेर भन्न सक्ने आधार के हुन् ? नेपालमाथि भू–राजनीतिको दबाब थोपरिएको छ भने त्यसलाई सम्हाल्ने र सन्तुलन गर्ने हो वा विषयान्तर गरेर उल्टै नेपालको थाप्लोमा दोष हाल्ने हो ?

हाम्रो बुद्धिजीवी वर्ग नै समस्याको जड हो भनेर बुझाउन मुस्किल पर्ने अवस्थाको अन्त्य एक वर्षअघिको भारतीय नाकाबन्दीले गरिदियो । हिजोआज पनि नेपाली क्षमता प्रवद्र्धन, अन्तररार्ष्ट्रिय सन्तुलन र आन्तरिक विकासका कुरा गर्‍यो भने त्यसलाई विषयान्तर गरेर दण्डहीनता र परनिर्भरता बढाउने तर्क अघि सारिन्छन् । मूल कुराको सम्बोधन कहिल्यै नगर्ने तर राष्ट्रकै पखेटा काट्ने कामलाई नदेखेझैँ गरेर ‘तर, अनि, त्यसो भए’ भन्ने किसिमका मतहरूमा ध्यान मोड्ने काम भइरहेको अब लुकेको छैन ।

देश बाहिर मात्रै होइन, त्यसैसँग जोडिएको देशभित्रकै भ्रष्टाचार, दण्डहीनता, समानान्तर सत्ताजस्ता विषयमा पनि यी बुद्धिजीवीका आ–आफ्नै सेता बाघहरू छन् । सबैलाई तिनकै प्रेतले बेलाबेलामा तर्साउने गरेको छ । नेपालको अस्थिरता, संकट र राजनीतिक संक्रमण बढ्दै जाँदा बेथितिबाटै फाइदा उठाइरहेका बुद्धिजीवीको वर्चस्व स्थापित हुन पुगेको छ । वस्तुको व्यापारमा झैँ उनीहरूलाई पनि विदेशी मुद्दाको डिलरसिपमै नाफा छ ।

तसर्थ, यस्ता सबै सेता बाघहरूबाट दिग्भ्रमित भएको हाम्रो समग्र राष्ट्रिय जीवनले त्यसबाट छुटकारा पाउन नसके आगामी दिनहरू सहज देखिँदैनन् । 

प्रकाशित: आश्विन ९, २०७३