जोडी होस् त यस्तो

  • सफलता र सम्बन्ध सँगसँगै

- गोकर्ण गौतम

भित्र हलमा फिल्म सुरु भइसकेको थियो, बाहिर दीपकराज गिरी र दीपाश्री निरौला गाडीबाट ओर्लिए । काउन्टरअगाडि २० जनाको भीड थियो, उनीहरू छक्का–पञ्जाको टिकट नपाएर हैरान देखिन्थे । तर, दीपक र दीपालाई देख्नासाथ उनीहरू त्यतैतिर झुम्मिए । सेल्फी खिच्न हानाथाप भयो । अघिसम्म निराशाले भरिएको उनीहरूको मुहारमा एकाएक खुसीको रंग पोतियो । 

२८ भदौको मध्याह्नमा कमलपोखरीको कुमारी हलमा देखिएको दृश्य हो यो । भीड छिचोलेर हलभित्रको कफी स्टेसन पुगेपछि बल्ल दीपाले मुख खोल्न पाइन्, “यहाँ मात्र होइन, सबै हलमा भीड छ । टिकट नपाएर दुखेसो पोख्दै फेसबुकमा सयौँले म्यासेज गरेका छन् ।” हुन पनि फिल्मले प्रदर्शनको पहिलो दुई दिनमै १ करोड २२ लाख रुपियाँको व्यापार गर्‍यो । दिनभर झरी पर्दा पनि हाउसफुल भयो । आफ्नो डेब्यु निर्देशन रहेको फिल्म छक्का–पञ्जाको सफलताको फेहरिस्त सुनाइरहेकी दीपालाई दीपकले बीचैमा रोके र जिस्क्याए, “हेर न फुर्केकी, मैले मिलाएर बलिङ नगरेको भए तिम्ले पहिलो बलमै छक्का हान्थ्यौ त ?” दीपा केही भावुक भइन् र भनिन्, “तिमी नभएको भए, छक्का त के म पीचमै आउन सक्दिनथेँ ।” यो जवाफपछि दीपक भावुक भए । र, सफलताको श्रेय दीपालाई नै दिए । 

४ भदौ ०६० । दीपक र दीपा कहिल्यै बिर्संदैनन् त्यो दिन । बिर्सनु पनि कसरी ! त्यो दिन नेपाल टेलिभिजनले तीतो–सत्य प्रसारणयोग्य भन्दै पास गरेको थियो । यो खुसीको खबर कानमा पर्नासाथ उनीहरूले एकअर्कालाई बेस्सरी अँगालो हाले र धीत मर्ने गरी रोए । आखिर वर्षौंदेखिको सपना जो पूरा भएको थियो । दीपकले सुनाए, “त्यसबेला यति रोइयो कि त्यसपछि हामी आफू पनि हाँसिरहेका छौँ, दर्शकलाई पनि हँसाइरहेका छौँ ।” हुन पनि यो टेलिफिल्मले उनीहरूलाई दिन बाँकी केही छैन– घर, गाडी, बैंक ब्यालेन्स अनि लाखौँ प्रशंसकको माया । लगातार ६ सय भाग प्रसारण भएर यसले नेपालको सर्वाधिक लामो सिरियलको रेकर्ड मात्र बनाएन, करिब एक दशक टीआरपी (टेलिभिजन रेटिङ पोइन्ट)मा एकछत्र राज पनि गर्‍यो । छक्का–पञ्जासम्मको यात्राको ‘टर्निङ प्वाइन्ट’ पनि तीतो–सत्य नै हो । तर, यही नै उनीहरूको सहयात्राको प्रस्थान विन्दुचाहिँ होइन । 

त्यसो भए कहाँबाट सुरु भयो त सदाबहार सफल जोडीको कथा ? उनीहरू दुवै ‘ नोस्टाल्जिक’ भए, मौन पनि । नजिकैको एलईडी मनिटरमा छक्का–पञ्जाको ट्रेलर डिस्प्ले भइरहेको छ । हलका कर्मचारी थाहा नदिएझैँ उनीहरूलाई हेर्दै छन् । दीपा मुस्कुराउन खोज्दै छिन् । यही मौकामा दीपातिर फर्कंदै दीपकले रसिलो शैलीमा मौनता तोडे, “साँच्ची मैले तिमीलाई झेल्न थालेको २३ वर्ष भइसकेछ है ? दुई वर्षपछि सिल्भर जुब्ली मनाउनुपर्छ ।” दीपा पनि के कम, पड्किहालिन्, “अँ, तिम्ले मलाई झेलेको कि मैले तिम्लाई ? तिमीचाहिँ कम्ताको थियौँ, मलाई चिन्दै नचिनी जिस्क्याउन खोज्थ्यौ ।” उनीहरूको रस्साकसीको कारण बिस्तारै खुल्दै छ । यतिबेला सबैको आकर्षणको केन्द्रमा रहेको यो जोडीको ‘ फस्ट इम्प्रेसन’ मात्र होइन, सम्बन्धको कास्टिङ पनि झुर भएको रहेछ । 

दुवै आफ्नो जीवनको ०५० सालको खाता पल्टाउँछन् । तिनताका रेडियो नेपालको नाटक खेल्न पाउनु भनेको सानोतिनो स्टार हुनुजत्तिकै थियो । दीपक त्यही नाटकको सहारामा गुजारा चलाउँदै थिए, थप अवसरको भोक पनि थियो । त्यही बेला रेडियो नेपालमा दीपाको प्रवेश भयो, जो अग्निपथ नामक सिरियल खेलेर चर्चित भइसकेकी थिइन् । त्यही सिरियलले दिलाएको ‘बेस्ट एक्ट्रेस अवार्ड’ लिन विराटनगरबाट काठमाडौँ पसेकी दीपा थप चम्कने आशामा यतै क्षमताको परीक्षा दिन थालिन् । त्यही क्रममा मदनदास श्रेष्ठले डोर्‍याएर रेडियो नेपाल छिराएका थिए । अग्निपथमा उनले निर्वाह गरेको मधेसी चरित्रको फ्यान थिए दीपक, त्यसैले सुरुमा उनी रेडियोमा आउँदा दंग परे । तर, त्यो उत्साह रिसमा परिणत हुन बेर लागेन । किन त ? दीपकले सम्झिए, “मदनदासको भिटो पावरमा दीपालाई सीधै क श्रेणीको बनाइयो । मचाहिँ दुई वर्ष काम गर्दा पनि खमा सीमित थिएँ ।” त्यतिबेला क श्रेणीका कलाकारले प्रतिनाटक तीन सय रुपियाँ पाउँथे भने खकाले दुई सय । त्यसमाथि दीपाले भाउ नदिएपछि आगोमा घ्यू थपेजस्तो भयो । दीपक जंगिए, “त्यही दिनबाट आफूलाई दीपाको फ्यानबाट बर्खास्त गरेँ । देख्नासाथ कि जिस्क्याउँथे कि आँखा तर्थें ।” 

तर, बिस्तारै दीपाको सुन्दरता र मिहिनेतले दीपकलाई फेरि फ्यान बनायो । उनी त्यतिबेला रामविलास नामक रेडियो कार्यक्रम चलाउँथे । फतरफतर बोलेर श्रोतालाई हँसाउन खोज्थे । ‘ गाउँमा मेरी प्रेमिका धनियाँ छे...’ भनेर रमाइलो कुरा गर्थे । अर्थात् कल्पनामा मात्र सीमित थिइन्, धनियाँ । तर, श्रोताले ‘धनियाँ पनि ल्याउनुपर्‍यो’ भनेर चिट्ठीमा लेख्न थाले । त्यही बेला दीपा ‘क्लिक’ भइन् । किनभने, अग्निपथमा मधेसी समुदायको लबजको चर्चा बटुलिसकेकी थिइन् दीपाले । हाँस्दै भनिन्, “दीपकले चलाउँदा कार्यक्रम हिट मात्र थियो, जब धनियाँका रूपमा मैले इन्ट्री मारेँ, सुपरहिट भयो ।” यहीँबाट यो जोडीले आधिकारिकता पायो । जब जोडिए, एकअर्काले टायरमा हावा भरिएको झैँ महसुस गरे । आत्मविश्वास बढ्यो, क्षमता तिखारियो । त्यो आत्मीयता कहिल्यै ओरालो लागेन, 

उकालो लाग्यालाग्यै छ । पछिल्लो नमुना छक्का–पञ्जा भइहाल्यो । 

कार्यक्रम हिट भइरहेकै थियो, गाईजात्रादेखि अन्य स्टेज सोमा भ्याइनभ्याइ थियो तर ०५५ मा एउटा बज्रपात आइलाग्यो । रामविलास नामका नेता उपसभामुख भएपछि रेडियो नेपालले कार्यक्रम बन्द गर्‍यो । दुई वर्षपछि पुन: सुुचारु त भयो तर ‘२०५ कीरा’ भनेर सांसद्लाई व्यंग्य गरेपछि दीपकको जागिर पनि गयो, कार्यक्रम पनि बन्द भयो । भर्खरै भरभराउँदै गरेको यो जोडीको प्रगतिमा खडेरी लाग्यो । तर, सहयात्रा टुटेन । जब कि त्यतिबेला तुलनात्मक रूपमा दीपा हिट थिइन् । घर संसार, गाउँलेलगायतका एक दर्जन फिल्मकी हिरोइन भइसकेकी थिइन् । दीपककै शब्दमा कमेडी कलाकारलाई फिल्ममा भुसुनाको जति भाउ दिइँदैन्थ्यो । उनीसँग न काम थियो, न दाम । त्यतिबेला ‘दीपकलाई छोड्दे, धेरै हिट हुन्छेस्’ भनेर दीपालाई उक्साउने धेरै थिए । तर, उनी कहिल्यै बहकिनन् । भन्छिन्, “किनभने, मेरो जरा दीपक थियो । उसलाई छाडेको भए न म सफल हुन्थेँ, न खुसी नै ।” दीपाको बोली नटुंगिँदै दीपकले जिस्काइहाले, “उनी हिरोइन थिइन् । पावर लगाएर मलाई झिनामसिना भूमिका दिलाउँथिन् । त्यही पनि म मक्ख परेर खेल्थेँ । विकल्पै थिएन ।”

फिल्मबाट पैसा आउँदैनथ्यो, स्टेज सो पाउनै मुस्किल । दीपक लेख्न, निर्देशन गर्न र खेल्न माहिर थिए, दीपा खेल्न र टिम व्यवस्थापन गर्न । त्यसैले उनीहरूलाई आफैँले टेलिसिरियल बनाउने हुटहुटी पलायो । डमी खिच्दै नेपाल टेलिभिजनलाई बुझाउन थाले । एकपटक होइन, दुईपटक होइन । सधैँ ‘रिजेक्ट’ हुन्थ्यो । अनिकालको पैसा र समय मात्र होइन, सपना पनि उडाउँथ्यो । कतिसम्म भने उनीहरूलाई ‘डमी डाइरेक्टर’ भनेर उडाउन पनि थालियो । हैरान भएर करिब–करिब अभिनयकर्मबाटै भाग्न थालेका बेला तीतो–सत्यले धन्न जोगाएको रहेछ । 

सामाजिक र पारिवारिक घटनामाथि व्यंग्य कसिने तीतो–सत्यले प्रसारणको केही समयमै ख्याति कमायो । ठूलठूला कम्पनीले प्रायोजनको तँछाडमछाड गरे । जिरे–खुर्सानी, मेरी बास्सै, भद्रगोलजस्ता हास्य सिरियल जन्मिनुको श्रेय निर्विवाद दीपक र दीपालाई नै जान्छ । देशविदेशका स्टेज सोमा उच्च पारिश्रमिक लिने जोडीमै पर्छन् । 

खासमा सफलता उर्लिएर आयो । भनिन्छ, संघर्षले सम्बन्ध जोड्छ, सफलताले तोड्छ । लोकप्रियता कमाएपछि मह जोडीबाहेक कुनै हास्य जोडी टिकेका छैनन् हामीकहाँ । जितु नेपाल–दमन रुपाखेती, शिवहरि पौड्याल–किरण केसी, सीताराम कट्टेल–केदार घिमिरे उदाहरण हुन् । तर, आमसञ्चार र मनोरञ्जनका तीन माध्यम रेडियो, टेलिभिजन र फिल्ममा सफलताको ह्याट्रिक गरे पनि दीपक–दीपाको सम्बन्धमा बादल लागेन । न संघर्ष नै बाधक बन्यो, न सफलता नै । 

उनीहरूको सफलताको सूत्र हो– ‘गिभ एन्ड टेक ।’ जस्तो : लेखनमा दीपा कहिल्यै हस्तक्षेप गर्दिनन्, दीपक व्यवस्थापनमा । तीतो–सत्यको निर्देशनको कमान्ड दीपकले सम्हाले, दीपा सहायक थिइन् । फिल्म बनाउन थालेपछि दीपक सहायक भए, छक्का–पञ्जाबाट दीपाले एकल निर्देशन सुरु गरिन् । न त उनलाई हिरोका रूपमा बनेको दीपकको चिनारीसँग डाह चलेको छ । छक्का–पञ्जाको सफलताको जस दीपाको पोल्टामा मात्र पर्दा न दीपकले चित्त दुखाएका छन् । उनी भन्छन्, “समझदारी हाम्रो सम्बन्धको अर्को मन्त्र हो ।” अब उनीहरूको सम्बन्ध पैसा, मान–प्रतिष्ठाभन्दा माथि उठिसकेको छ । दीपक थप्छन्, “हामीलाई सँगै हुन पाए पुग्छ, कसले कति लोकप्रियता र पैसा कमायो, मतलब हुँदैन । अब त वरपरका कुरौटेले मात्र होइन, भगवान्ले पनि हाम्रो जोडी फुटाउन सक्दैन ।” 

दीपक–दीपाको व्यावसायिक सफलतालाई व्यक्तिगत जीवनसँग जोडिन्छ बरोबर । तीतो–सत्यबाट त आमदर्शकमा उनीहरूको छवि असली पति–पत्नीकै रूपमा बन्यो । तर, वास्तविकता के हो भने दीपालाई भेट्नु पहिल्यै दीपक कसैको पति भइसकेका थिए भने दीपा अहिलेसम्म अविवाहित । त्यसैले बाहिरबाट हेर्दा लाग्छ, दीपक व्यावसायिक र व्यक्तिगत दुवै जीवनमा सफल छन् तर दीपाको व्यक्तिगत जीवन अधुरो । यही आशयको प्रश्न उनलाई सोधेपछि केही भावुक बनिन् । दीपक पनि चुप रहे । तर, दीपाले यो मौनतालाई चिरिहालिन्, “दीपकले मलाई कहिल्यै एक्लो महसुस हुन दिएको छैन । पतिबाट भन्दा बढी माया, आत्मीयता र प्रेरणा पाएकी छु । त्यसैले विवाहतिर ध्यानै गएको छैन ।” फेरि उनलाई सोधियो, दीपकसँगै विवाह गर्न मन लाग्दैन ? सुरुमा उनी ‘बहुविवाहको कानुन नहुँदो हो त गरिसक्थेँ’ भनेर जिस्किन् । दीपकले सहमति जनाए । तर, त्यत्तिमै उनको मन किन मान्थ्यो र ? भाका हालिन्, “कति नाता नगाँसेरै मीठा–मीठा–मीठा हुन्छन्...।” यी शब्द गुनगुनाइरहँदा दीपाका आँखा टिलपिलाएका थिए, दीपकको जस्तै । 

प्रकाशित: आश्विन ५, २०७३