कसरी गरायो 'नौ फुटे भूत'ले नाकाबन्दी ?

  • "म यस गीतलाई कुनै राजनीतिक रङ दिन चाहन्नँ ।"

- नेपाल संवाददाता

गायक तथा संगीतकार अंकित अधिकारी, २५, ले भारतीय नाकाबन्दीलाई केन्द्रमा राखेर सिर्जना गरेको गीत ‘नौ फुटे भूत’ सावर्जनिक भएको छ । नेपाली तारा–३ का शीर्ष आठ प्रतियोगी अधिकारीले यसअघि ‘नारायण गोपालका गीतको एकल साँझ’ र आस्तिकताप्रतिको व्यंग्य बोल्ने धार्मिक पप ‘राम नाम’ गाएर आफ्नो मौलिक शैलीको परिचय दिएका थिए । उनीसँगको कुराकानी : 

नाकाबन्दीबारे किन गाउनुपर्‍यो ?

हाम्रो पुस्ताले झेलेको गैरप्राकृतिक विपद् थियो भारतीय नाकाबन्दी । विपद् कहिल्यै सम्झनयोग्य हुँदैनन् तर बिर्सनु पनि हुँदैन । इतिहासमा कुनै पनि पुस्ताले नाकाबन्दी नभुलून् भन्ने उद्देश्य हो ।

नौ फुटे भूतले नाकाबन्दी गरायो भन्नुभएको छ, कसरी ?

नाकाबन्दीको कारण एउटा यही भन्ने थिएन । जेलिएका हाम्रा थुप्रै समस्या र असमझदारीका आडमा बाह्य शक्ति हाबी भएको थियो । ती सबै नकारात्मक वस्तुको सम्मीश्रणलाई विम्बका रूपमा नौ फुटे भूत राखेको हुँ । 

किन यति धेरै विम्ब ? 

गीत कलाको विशिष्ट विधा हो, जहाँ घटनाको व्याख्या सतहमा भन्दा गहिराइमा गर्न मज्जा आउँछ । विम्बको प्रयोगले घटनाको अर्थ व्यापक बनाउँछ । मैले खोजेकै त्यही थियो । 

यो राजनीतिक गीत हो ?

म यसलाई कुनै रङ दिन चाहन्नँ । यो गीतमा राजनीतिबाट पृथक् रहन नै विम्ब बढी प्रयोग गरेको हुँ । धेरैले यसलाई राजनीतिक गीतका रूपमा पनि बुझिरहेका छन् ।  

 

तपाईंलाई प्रयोगवादी धार छोप्न खोज्ने गायक भन्न मिल्छ ? 

मेरो पहिलो गीत ‘राम नाम’को आध्यात्मिक पपशैली नेपालमा यसअघि प्रयोग भएजस्तो लाग्दैन । नाकाबन्दीबारे मैले सिर्जना गरेको यो गीत पनि  राजनीतिक गन्ध नदिई राजनीतिक विषय समातेको हुँ । संगीततर्फ मैले पूर्वीय शास्त्रीयदेखि पश्चिमा र सुफीसम्मको फ्युजन गरेको छु ।  

सधैँ आफ्नै शब्द र संगीतमा मात्र गाउन किन रूचि ?

सवाल आफ्नो वा अरूको भन्दा पनि आफूलाई कुन चित्त बुझ्छ भन्ने हो । थुप्रैपटक मलाई आफ्नै सिर्जना पनि धेरै उत्कृष्ट लागेका छैनन् । 

यसपछि आउने गीतको योजना बुनिसक्नुभएको छ ?

डा गोविन्द केसीको अनशनताका उहाँको अभियानलाई सघाउने गीत रेकर्ड गर्दै थिएँ, त्यसैबेला आफैँ बिरामी भएर रोकियो । डा केसीको आन्दोलन अझै जारी छ । त्यो गीत पनि अब छिट्टै आउँछ । 

सधैँ प्रयोगवादी भएर व्यावसायिक बजारमा टिक्न गाह्रो नहोला ?

संगीतमा प्रयोगवादी हुनुलाई व्यावसायिक बजारबाट टाढिएको भन्न मिल्दैन । ती झनै कर्णप्रिय हुन्छन् । संगीत राम्रो हुने भनेकै नयाँ–नयाँ प्रयोगले नै हो । 

युट्युबमा मात्र गीत सार्वजनिक गर्नुभयो, एल्बम कहिले आउँछ ?

एल्बम एउटा युग थियो । अहिले त्यो सोच्दा नै संगीतकर्मीहरू आशावादी हुने होइन कि आत्तिन्छन् । युट्युब, साउन्ड क्लाउड वा फेसबुक, ट्वीटरकै युग बाँचिरहेका हामीमाझ नयाँ र सहज अनि धेरैभन्दा धेरै श्रोतासमक्ष पुग्ने प्लेटफर्म छ । अबको बजार वा प्रतिस्पर्धा यसमै हुन्छ । 

खर्च/कमाइ कसरी गर्नुहुन्छ ?

एल्बम बिक्रीको जमाना सेलाएपछि यो सबैका लागि चुनौती बनेको छ । हाम्रोमा इन्टरनेटमा पैसा तिर्ने संयन्त्र सहज छैन । प्रायोजकहरूसँग जोडिन सक्नुपर्छ । नत्र सधैँ आफ्नै खर्चमा गुणस्तरीय काम गर्न अप्ठ्यारै हुन्छ । 

प्रकाशित: भाद्र २१, २०७३