‘निन्दाको भाषा सरल हुँदैन, नरम पनि हुँदैन’

  • जो जो अधोगतितिर लागे, ती सबै मेरो छिमलछिमलको प्रहारमा परेका छन् । आज माओवादी परेजस्तै हिजो एमाले पर्‍यो, अस्ति कांग्रेस ।

- सीताराम बराल

साहित्यकार खगेन्द्र संग्रौला तीखो राजनीतिक लेखकका रुपमा पनि चिनिन्छन् । जस्तो लेख्छन्, त्यस्तै बोल्छन् । उनै संग्रौलासँग नेपालले गरे को कुराकानीको सम्पादित अंश :

तपाईं किन सधैँ विद्रोहीजस्तो ? 

सिर्जनशील लेखक समाजको आलोचक हो, इतिहासको आलोचक हो । विभिन्न गुठी र शक्तिपीठहरूको आलोचक हो । लेखक यदि सत्ताबाट निश्चित दूरीमा बसेन, जनताको नजिकमा उभिएर जनताको बोली बोलेन भने त्यो लेखक रहन्न, लेखनदास बन्छ । लेखनदास नबन्नका लागि म जिन्दगीभर प्रतिपक्षमा उभिएँ । म बागी हुँ । असन्तुष्ट मनुवा हुँ । मैले रोजेको बाटो नै यही हो । 

आलोचनालाई रचनात्मक बनाउन सकिन्न र ? 

आफ्नो कुरा व्यक्त गर्ने आ–आफ्ना तरिका हुन्छन् । ती मानिसलाई म ध्वंशात्मक, गालीगलौजपूर्ण र निन्दकजस्तो लाग्छ, जसको मैले आलोचना गरेको छु । तर, शासकहरूबाट जो पीडित भए, घातमा परे, तिनको नजरमा कडा लागेको छैन । तिनीहरूले बोल्न सक्दैनथे, मैले बोलिदिएँ । आफ्नो तरिकाले बोलेँ । मैले के गल्ती गरेँ ? 

कहिलेकाहीँ आवश्यकताभन्दा बढी आलोचना गरेजस्तो लाग्दैन ? 

आफूले प्रेम गरेको, आदर गरेको, आफूले सघाएको मान्छे आफ्नैअगाडि आदर्शको व्यापार गर्दै आर्जनमा लाग्यो, सञ्चयमा लाग्यो, सुखभोगमा लाग्यो, उसले लोक र सिद्धान्तलाई बिस्र्याे भने स्वभावत: तपाईंको मनमा आक्रोश जन्मिन्छ । जो निन्दनीय छ, त्यसको निन्दा नै गरिनुपर्छ । निन्दाको भाषा सरल हुँदैन, नरम पनि हुँदैन । निन्दा धुलाईमार्फत नै हुन्छ । 

आज ‘क’लाई गाली गर्‍यो, ‘ख’को पक्षमा लेख्यो । भोलि फेरि ‘ख’ पनि खत्तम रहेछ भनेर धुलाई थाल्यो । यसो गर्दा लेखकको ओजनचाहिँ कति रहन्छ ?

तपाईं पार्टीमा प्रतिबद्ध हुनुहुन्छ भने पार्टीको आदेश पालन गर्न बाध्य हुनुहुुन्छ । सही भए पनि, गलत भए पनि पार्टीको आदेश मान्नैपर्ने हुन्छ । तर, त्यस्तो आदेश मान्नका लागि म प्रतिबद्ध र अभिशप्त छैन । मेरो आदेश म आफैँ बनाउँछु । 

हो, पछिल्लो चुनावमा मैले सडकमा उत्रेरै माओवादीलाई सघाएको हुँ । त्यसपछिको माओवादी मैले देखेँ । संविधान बनाउनुअघि २५ जेठ ०७२ मा भएको कांग्रेस–माओवादी र मधेसी मोर्चाबीचको १६ बुँदे सहमतिपछिको माओवादी पनि मैले देखेँ । जसलाई मैले जुन सन्दर्भमा बोकेँ, त्यसरी बोकेर गलत गरेजस्तो लाग्दैन । 

माओवादीसँग चित्त नबुझेको के कुरामा हो ? 

उनीहरू परिवर्तनको प्रक्रियामा थिए । ठूलो कष्ट झेलेर बलिदानको प्रक्रियाबाट आएका थिए । तिनको अनुहारमा आभा थियो, वचनमा विश्वसनीयता थियो । जसले आमजनताको अनुहारमा आशाको सञ्चार गरेको पनि थियो । मैले त्यसलाई समर्थन गरेँ । मेरो चित्त दुखाइ सत्तामा पुगेपछि तिनमा आएको विचलन र अधोगतिप्रति हो । जो जो अधोगतितिर लागे, ती सबै मेरो छिमलछिमलको प्रहारमा परेका छन् । आज माओवादी परेजस्तै हिजो एमाले पर्‍यो, अस्ति कांग्रेस । 

कहिलेकाहीँ संघीयतावादी भन्दा बढी पहिचानवादी भएछु जस्तो लाग्दैन ? 

नेपाली समाजमा वर्ग मात्र छैन, क्षेत्र पनि छ । त्यसैले क्षेत्रभेद पनि छ । जातिसँगै जातिभेद छ । संघीयताको प्रश्नमा क्षेत्रीय पहिचान, प्रतिष्ठा र समान अधिकारको प्रश्न उठ्नु, पहिचान हरण गरिएकाहरूले पहिचानको दाबी गर्नु आफ्नो पहिचानको दाबीलाई बलियो बनाउन इतिहासमा भएका आफ्ना गुणहरूको उत्खनन गर्नु स्वाभाविक हो ।  दुर्भाग्य के भइदियो भने परिवर्तनको मुद्दा जसले उठायो, त्यो मुद्दाको सही व्याख्या त्यसले गरेन । मधेसीलाई समान अधिकार दिँदा पहाडीको समान अधिकारमा कमी हुँदैन, जनजातिलाई पहिचान दिँदा खस–आर्यहरूको अधिकारमा कुनै कमी हुँदैन भन्ने कुराको सही ढंगले व्याख्या गरिएन ।  

प्रसंग बदलौँ, आगामी चुनावमा भोट माग्ने त नयाँ शक्तिका लागि नै होला, होइन ?

कतिपयलाई लागेको होला, खगेन्द्र संग्रौला प्रचण्डसँग नभएपछि बाबुरामसँग होला । तर, मेरो व्यक्तित्व न प्रचण्डले बनाइदिएका हुन्, न बाबुरामले । न तिनले बिगार्दा नै मेरो व्यक्तित्व बिग्रने हो । तथापि, सुरुमा मेरो सहानुभूति बाबुरामप्रति अवश्य थियो । किनभने, कसैले कुनै नयाँ प्रयोग गर्छु भन्छ भने, प्रयोग स्वयंलाई तत्काल निषेध गरिहाल्नु हुँदैन, पर्खेर हेर्नुपर्छ भन्ने मान्यता राख्ने मनुवा हुँ म । तर, बाबुरामजीका पछिल्ला गतिविधि हेर्दा उहाँले गरिखानुहुन्छ भन्ने लाग्दैन ।

किन नि ?

कुनै पनि पार्टीको सिद्धान्त हुन्छ, विचारधारा हुन्छ । बाबुरामजीको पार्टीको सिद्धान्त प्रस्ट छैन । उहाँको पार्टी बजारको पार्टी हो कि जनताको पार्टी हो ? सुकिलामुकिला धनाढ्यहरूको ? कुन वर्गको हो, ठेगान छैन ।

व्यक्तिगत कुराकानीमा पनि प्रस्ट पार्नुभएको छैन ? 

वामपन्थी टाइपका मान्छेहरूसँग भेट्दा ‘नयाँ शक्तिको मूलतत्त्व भनेको त माक्र्सवाद नै हो’ भन्नुहुन्छ । उद्योगीहरूको बीचमा गएर चाहिँ ‘नयाँ शक्तिले माक्र्सवाद छोडिसक्यो, माक्र्सवादको धङधङी हामीमा छैन’ भनिदिनुहुन्छ । जहाँ जसलाई जे भनिदिँदा प्रसन्न हुन्छ, मीठा वचन बाँड्दै जान थाल्नुभएको छ उहाँ ।

त्यसो भए नयाँ शक्तिको भविष्य कस्तो देखिन्छ त ?

उहाँको पार्टीले अब आउने तीनवटै चुनावमा नम्बर एक पार्टी हुने भनेर धक्कु त लगाइसकेको छ । तर, मेरो अनुमानमा चुनावमा बाबुरामजीको पार्टी चौथोचाहिँ बन्न सक्छ । किनभने, कमल थापाले गाई र राजा हल्लाएर त्यत्रो भोट जम्मा गरे भने बाबुरामजीको त छवि छ, पृष्ठभूमि छ । सामन्ती समाजमा डिग्रीको ठूलो महत्त्व हुन्छ । डिग्रीको आकर्षण पनि छ बाबुरामजीसँग । 

प्रचण्डसँग चाहिँ कत्तिको भेटघाट हुन्छ अचेल ? 

१६ बुँदेमा प्रचण्ड प्रभृत्तिहरू सहभागी भइसकेपछि मैले खुला रूपमा लेखेँ, ‘माओवादीले सबै कुरा छोड्यो । त्यसले आफ्नो इतिहास र गरिमा छोड्यो, सिद्धान्त छोड्यो, परिवर्तनको मुद्दा पनि छोड्यो । परिवर्तनका सहयोगी पनि छोड्यो । मधेसी छुट्यो, जनजाति छुट्यो, दलित पनि छुट् यो ।’ त्यसपछि प्रचण्डसँग मेरो भेट भएको छैन । 

अनि, तपाईंको धुलाई खाएका एमालेका नेताहरू भेट हुँदा के भन्छन् ? 

स्वार्थ विभाजित भएको समाजमा अन्तर्विरोध हुन्छन् । त्यहाँ ध्रुवीकरण हुन्छ । सैद्धान्तिक विभाजन हुन सक्छ । कटाक्षको आदानप्रदान पनि हुन सक्छ । शत्रु नै भन्ने त हुँदैन नि † त्यसैले धेरै एमाले कणहरू नमस्कार गर्छन्, मेरो अनुपस्थितिमा जतिसुकै उग्र विरोध गरे पनि । अझ कतिले त सँगै बसेर सेल्फी लिने रहर पनि गर्छन् । 

कस्तो लाग्छ त्यस बेला ? 

यो जगत् हो । जगत्का लीला हुन्छन् । जगत्मा सबै कुरा पारदर्शी हुँदैनन् । देखाउने केही हुन्छ, लुकाउने पनि केही अवश्य हुन्छ । मसँग मुस्कान आदानप्रदान गरेको, मलाई नमस्कार गरेको, मसँग फोटो खिचेको मेरो मायाले त होइन । त्यो त लीला हो, क्या लीला !

तपाईंको गफ जम्ने शीर्ष नेताहरूचाहिँ को को हुन् ? 

कम्युनिस्ट आन्दोलनमा मलाई मनपर्ने मान्छे निर्मल लामा हुन् । तिनको राख्ने कुरा र फाल्ने कुरा थिएन । अरू कम्युनिस्टमा हुने ढोंग निर्मल लामाले कहिल्यै पालेनन् । अर्काे मन पर्ने साथीचाहिँ स्वनाम साथी (शशी शेरचन) हुनुहुन्छ । उहाँ र मैले सँगै पढेको पनि हो । उहाँले विज्ञान पढ्नुभयो, मैले साहित्य पढेँ । समग्रमा भन्दा उहाँ पनि ढोंगमुक्त र असाध्यै असल मान्छे हो । व्यक्तिगत बसाइँ र कुराकानीमा म प्रभावित हुने प्रचण्डबाट पनि हो । टेबुलटकमा, सार्वजनिक भाषणहरूमा समकालीन नेपालका सबैभन्दा प्रभावकारी मान्छे प्रचण्ड नै हो । 

प्रचण्डसँग त बसेर पनि पिउनुहुन्थ्यो रे नि !

एउटा प्रसंग भनौँ है, लोकतन्त्र पुन:बहालीपछि प्रचण्ड–बाबुरामजी काठमाडौँ भित्रिनुभयो । बौद्धमा गुम्बा टाइपको होटलमा बस्नुुहुन्थ्यो । हरि रोका र म उहाँलाई भेट्न गयौँ । जनयुद्धका ज्यादतीबाहेक उहाँहरूको निधारमा कुनै कलंक थिएन । सत्तामा जानुभएको थिएन, खानुभएको थिएन । आदरको पात्र हुनुहुन्थ्यो । लोडसेडिङ थियो । बसियो कुराकानी गर्न । हरि र म त यसै पनि मदिरा रुचाउने मान्छे । प्रचण्डजी पिउनुहुन्छ/हुन्न, थाहा थिएन । बाबुरामजी रक्सी खानुहुन्न भन्ने थाहा थियो । 

रोयल स्ट्याग त्यस बेला नयाँ ब्रान्ड मानिन्थ्यो । बाबुरामजी कोक खाइरहनु भा’छ । अनुहारमा कुनै सरसता छैन । प्रचण्डजी रक्सी खाइरहनुु भा’छ । अनुहारमा रसिकता छाइरा’छ । खुसीको कुरा के भने प्रचण्डजी राम्रै मदिराप्रेमी हुनुहुँदो रहेछ भन्ने कुरा पहिलो बसाइँबाट थाहा पाइयो । 

कसरी ?

म त एकदम थोरै खाने, जिब्रो भिजाउने । हरि अलिक छिटो खाने । हरिले अलिक छिटो खायो, थप्यो । प्रचण्डजीको ग्लास मेरोभन्दा पहिले सकियो । किनभने, उहाँको उमेर छ, स्वास्थ्य पनि छ । ग्लास सकिइहाल्यो । फेरि बाबुरामजी त्यहीँ हुनुहुन्छ । आफैँले रक्सी हाल्न गाह्रो पर्‍यो उहाँलाई । किनभने, जनयुद्धको नायक, आदर्श, निष्ठा, सादगी भन्ने कुरा हुन्छ । यसो पुलुक्क बाबुरामजीतिर हेर्नुहुन्छ । त्यसबेला मेरो काम बाधा अड्काउ फुकाउ गर्ने भयो, ‘ए हरि, अध्यक्षको ग्लास सिद्धियो, रक्सी हाल्त...।’ 

प्रकाशित: भाद्र २०, २०७३