आवरण कथा» भाषामा भिडन्त

  • वर्णविन्यास विवाद सडकदेखि सदनसम्म

- राजकुमार बानियाँ

टोपीवाला अगाडि अगाडि, अलि पछाडि टुपीवाला । कोही कुर्सी झुन्ड्याएका, कोही टेबल बोकेका, कोही पम्प्लेट, फ्लेक्स च्यापेका, कोही फ्लेक्समा पर्चा, पम्प्लेट पोको पारेर हिँडेका । 

१३ भदौ साँझतिर भक्तपुर, बसपार्कछेउको मुस्लिम बहुल धर्मचक्र गल्लीमा टोपी र टुपीवालाको झुन्डलाई केही बेर पछ्याइयो । होटल अर्सानको सामुन्ने घरको पहिलो तल्लाको अत्यन्त साँघुरो, झ्यालबिनाको गुफाजस्तो टाट मात्र ओछ्याइएको कोठामा उनीहरूले ती मालसामान थन्क्याए ।

“नेपाली भाषा बचाऔँ अभियान–२०७२ को सम्पर्क कार्यालय यही हो,” आफूलाई संयोजकका रूपमा चिनाउँदै बलदेव अधिकारी (गाउँले बलदेव), ५६, ले सुनाए, “अहिले सत्याग्रह आन्दोलन अन्तर्गत रत्नपार्कको शान्तिवाटिकामा हस्ताक्षर संकलन चलिरहेको छ ।”

रत्नपार्कको हस्ताक्षर संकलनका क्रममा केही धक्कामुक्का पनि चलिसकेका छन् । नचाहिँदो भाषा लेख्ने भनेर एकथरीले टेबल फुटाइदिइसकेका छन् भने अर्काथरीले भाषा बिगार्नेलाई ‘चिरायु रहून्’ लेखेको भन्दै फ्लेक्स च्यातिदिएका छन् । असुरक्षा बढ्दै गएपछि बलदेवले फ्लेक्सका केही शब्द केरमेट गरेका मात्र छैनन्, महानगरीय प्रहरी प्रभाग टेकुमा निवेदनसमेत दिएका छन् ।

एक महिनायता नेपाली भाषाको हिज्जे विवाद सडकदेखि सदनसम्म गुल्जार छ । भाषामाथि बुल्डोजर चलाएको भन्दै बाबुराम भट्टराईदेखि प्रदीप ज्ञवालीसम्मका नेता सामाजिक सञ्जालमा उग्राइसकेका छन् । व्यवस्थापिका संसद्मा १३ भदौदेखि नै महिला सांसदहरू गीता राना क्षत्री, कान्ता भट्टराई र अनुराधा थापा मगरले नेपाली वर्णविन्यासमा आएको भाँडभैलोसम्बन्धी प्रश्न उठाएका छन् । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधाले समय इन्स्टिच्युट लिङ्गुइस्टिक (सिल) नामक विवादास्पद अमेरिकी क्रिस्चियन संस्थाको प्रभावमा परेर तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले वर्णविन्यास परिवर्तनसम्बन्धी फाइल सदर गरेको दोषारोपण पनि गरिन् ।

संसद् प्रकरणपछि संयोजक बलदेवको व्यस्तता कति छ भने उनको हातेफोनले एकछिन पनि आराम पाउँदैन । घरकी ८७ वर्षीया बूढीआमा र नातिनातिनासँग बोल्न पनि भ्याउँदैनन् । सखारै नैकापस्थित घरबाट निस्कन्छन् । राती अबेर मात्र घर फर्कन्छन् । एड्मार्क कलेज र ग्यालेक्सी कलेजको जागिर छाडेर आन्दोलनको धपेडीमा लागेका बलदेव सबै नेपाली आफ्नो पक्षमा रहेको दाबी गर्छन् ।

(मौसमी भाषा आन्दोलन)

“चार जना प्राध्यापकका केही आसेपासेबाहेक सबै मसँग छन् । ती पनि पदमुक्त हुनेबित्तिकै मैसित आउँछन्,” बडो फुर्तिलो पारामा बलदेव भन्छन्, “कथित अन्तर्राष्ट्रिय नेपाली भाषा संगोष्ठीमा ६० जनाको हस्ताक्षर छ । हामी त्यसविरुद्ध ६० लाख हस्ताक्षर जुटाउन सक्छौँ ।” २८–३० फागुन ०७२ मा काँकडभिट्टामा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली भाषा संगोष्ठीले ‘नेपाली भाषाका डल्ला फुटाएको र होचोअग्लो भागलाई सम्याएको निष्कर्षसहित सातबुँदे घोषणापत्र जारी गरेको थियो ।

बलदेवले इंगित गरेका चार प्राध्यापक हुन्, चूडामणि बन्धु, हेमांगराज अधिकारी, बद्रीविशाल भट्टराई र माधवप्रसाद पोखरेल । तीमध्ये पनि असन्तुष्ट समूहको निशानामा परेका छन्, नेपाल प्रज्ञा–प्रतिष्ठानका भाषा विभाग प्रमुख रहेका प्राध्यापक हेमांगराज अधिकारी । उनीमाथि शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय समिति, उच्च माध्यमिक शिक्षा परिषद् र प्रज्ञा–प्रतिष्ठानको नेतृत्व तहमा बसेर ‘भाषिक–अपराध’ गरेको बात छ ।

प्राध्यापक हेमांग कति तारो बनेका छन् भने लैनचौर, अलकाबस्तीस्थित घरबाट सितिमिति निस्कँदैनन् । निस्के पनि प्रज्ञा–प्रतिष्ठानसम्म । जानै पर्दा कार्यक्रमका आयोजक र वक्ता यकिन गरेर मात्र जान्छन् । 

यसबीचमा उनी चारपटक असन्तुष्ट समूहको घानमा परिसकेका छन् । शिक्षा पत्रकार समूह, सूचना विभाग, कान्तिपुर टेलिभिजन र एभिन्युज टेलिभिजनमा । “म अरूका कुरा धैर्यपूर्वक सुन्छु । तर, उनीहरू मेरा कुरा सुन्दैनन् । मैले बोल्यो कि झम्टिहाल्छन्,” ७० वर्षीय यी प्राज्ञ आफ्नो बाध्यता सुनाउँछन्, “भाषासम्बन्धी निर्णय मेरो व्यक्तिगत निर्णय होइन, एकदमै संस्थागत हो ।”

विवादका बुँदा

पदयोग र पदवियोग (गंगा प्रसाद खान्छ : गंगाप्रसाद खान्छ । ऊ साँझ नपर्दै सुतिहाल्छ : ऊ साँझ नपर्दै सुति हाल्छ ।) श्रुतिसमभिन्नार्थक शब्द (फूल : फुल, पुरा : पूरा, नशा : नसा, जुन : जून, तिन : तीन आदि), संयुक्त वर्णको वियोग, वर्णमालाबाट ञ, ण, श र ष हटाउने, तद्भव र आगन्तुक पदादि (शब्दको सुरुआत) र बीचमा सबै ह्रस्व र अन्तिममा उकार भए ह्रस्व, ईकार भए दीर्घ लेख्ने नियम विवादमा छ । 

नयाँ नियममा द्ध, द्य, क्त, द्दजस्ता खप्टेका/जोडेमोडेका अक्षर हटाइएको छ । पाठ् यपुस्तकमै विद्या ‘विद्या’, बुद्ध ‘बुद्ध’, भक्त ‘भक्त’ लेख्न थालिएको छ । यसरी लेख्ने र नलेख्ने जुँगाको लडाइँमा पिल्सिएका छन् नेपाली भाषाका प्रयोगकर्ता । 

यसको पहिलो प्रवेश कक्षा ११ र १२ मा भयो भने अहिले त्यस तलका कक्षामा घुसेको छ । “म त छोराको होमवर्क गराइदिन पनि सक्दिनँ,” लेखक कुमार नगरकोटी भन्छन्, “यस्तो पढ्नै नसकिने भाषामा त कसरी लेख्ने ?”

पाँचथरी वर्णविन्यास

बर्सेनि नियम बदलिँदा कक्षा १ देखि ५ सम्म, कक्षा ६ देखि ९ सम्म, कक्षा १०, कक्षा ११–१२ र उच्च शिक्षाको वर्णविन्यासमा एकरूपता छैन । अझ विडम्बना त एउटै कक्षामा पनि सरकारी प्रकाशन र निजी प्रकाशनका पुस्तकमा एकै शब्द दुई किसिमले लेखिएका छन् । 

“बिहान ११ र १२ मा पढाउँदा एउटा नियम छ, दिउँसो स्नातक तहमा पढाउँदा अर्कै नियम,” नयाँ बजारका शिक्षक गोविन्द लुइँटेल दुखेसो पोख्छन्, “विभिन्न कक्षा वा तहका पाठ्यपुस्तक भिडाएर हेर्दा रिँगटा चल्छ ।” 

(प्रा हेमांगराज अधिकारीलाई ११ प्रश्न)

हुन पनि एकै व्यक्तिले एउटा संस्था वा निकायमा एउटा, अर्को संस्था वा निकायमा अर्को, एउटै संस्था वा निकायमा एक वर्ष एउटा, अर्को वर्ष अर्को बाध्यात्मक नियम बनाउने गरेका छन् । एक वर्ष एउटा नियम बनाउने, अर्को वर्ष  हटाउने अनि अझै अर्को वर्ष त्यसलाई जगाउने गरेका छन् । पाठ्यक्रम विकास केन्द्रका ०६३ देखि ०६९ सम्मका नियम हेर्दा यो छर्लंग हुन्छ ।

अवस्था कस्तो छ भने केही सातादेखि राजधानीको इचंगु निम्न माध्यमिक विद्यालयको साइनबोर्ड लेख्न सकिएको छैन । ‘विद्यालय’ कि ‘विद्यालय’ लेख्ने भनेर शिक्षकहरूबीचमै मतैक्य नभएर साइनबोर्डको अर्डर अड्किएको शिक्षिका रेखा घिमिरेले बताइन् ।

वर्णविन्यासको झगडाका कारण १६ भदौमा त्रिविका प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेल र बद्रीविशाल भट्टराईबीच भक्तपुरको एक कार्यक्रममा घम्साघम्सीको स्थिति आएको नेपाली भाषा बचाऔँका अभियन्ता रामेश्वर राउत ‘मातृदास’ सुनाउँछन् । उनीहरूबीच फुल (पुष्प) खाने कि फुल (अन्डा) भन्ने नाममा विवाद चर्किएको थियो ।

भाँडभैलोको अखडा 

यसरी भाषिक भाँडभैलो निम्त्याउने त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्राध्यापक नै हुन् । उनीहरूका विभिन्न गुट–उपगुट छन् । एकै संस्था र त्यसमाथि एकै व्यक्तिले समेत बर्सेनि नियम बदल्छन् ।

त्रिविकै शिक्षाशास्त्र संकाय र मानविकी संकायमै वर्णविन्यास भिन्नाभिन्नै छन् । कतिसम्म भने मानविकी अनिवार्य नेपाली र ऐच्छिक नेपाली विषयका वर्णविन्यास फरकफरक छन् । ०३४ यता त्रिविका निर्धारण भएका वर्णविन्याससम्बन्धी नियम ०४६, ०६६ र ०६९ मा संशोधन भइसकेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनका एकै वर्ष प्रकाशित पुस्तकको वर्णविन्यासमा एकरूपता छैन । प्रज्ञा–प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (०६७) लाई उसैले  निकालेको लेखक–कलाकार कोशले अनुसरण गरेको छैन । 

अचम्म त के भने त्रिवि नेपाली विभागका प्रमुख प्राध्यापक देवीप्रसाद गौतमकै सहलेखन भएको पुस्तक भाषाविज्ञानमै दुईथरी हिज्जे छ । पहिले देवी प्रसाद गौतम छ, पछि देवीप्रसाद गौतम । अहिले उनी परिमार्जित वर्णविन्यासलाई नेपाली विभागमा प्रवेश दिने पक्षमा देखिँदैनन् । 

“सबै भत्काएका कुरा नयाँ हुँदैनन् । म त त्यसलाई विकृत वर्णविन्यास भन्छु । त्यस्तो प्रस्ताव विद्यालय, उच्च माध्यमिक तह हुँदै विश्वविद्यालयमा पनि आएकै हो, विश्वविद्यालय कुतर्कको पछि लाग्दैन,” गौतम भन्छन्, “कुनै विद्वान्को नियतमाथि त प्रश्न उठाउन नमिल्ला । तर, त्यसको परिणाम घातक हुन सक्छ ।”

उनी वर्णविन्यासका कारण नेपाली भाषाका प्रयोक्ता आतंकित भएकाले यसमा लोक अभिमत अनुसार पुन:विचार गरिनुपर्ने ठान्छन् । “नेपाली भाषा नेपालभित्र नभएर संसारका ५० मुलुकमा बोलिन्छ,” उनी भन्छन्, “यस्तो ग्लोबलाइज भएको भाषामा भाँडभैलो अन्त्य हुनु जरुरी छ ।” 

(विचारबाह्र बाहुन, तेह्र चुला)

प्राध्यापक गौतमले गरिमा पत्रिकामा पदवियोगको चित्त दुखाइबारे लेखै छपाए भने गौतम नेतृत्वको अनिवार्य नेपाली विषय समितिबाट हेमांगले राजीनामा दिए ।

यी हुन् हेमांगराज 

एक दशकयता पाठ्यपुस्तकदेखि शब्दकोशसम्मको संशोधन कार्यमा प्राध्यापक हेमांगराज अधिकारीको अगुवाइ छ । भोजपुर, दिङ्लाका उनले ‘नेपाली कारक व्यवस्थाको अध्ययन’ (०४६) मा विद्यावारिधि गरेका हुन् । नातामा राष्ट्रकवि माधवप्रसाद घिमिरेका छोरीज्वाइँ हेमांगलाई त्यही कारण पटकपटक नेपाली भाषाका सबै सरकारी निकाय सम्हाल्ने अवसर मिलेको भन्नेहरू धेरै छन् । 

हेमांग त्रिविको शिक्षाशास्त्र संकायको नेपाली विभाग प्रमुख, दुईपटक अनिवार्य नेपाली विषय समितिको अध्यक्ष, पाठ्यक्रम विकास केन्द्रको पनि नेपाली विषय समितिको अध्यक्ष रहिसकेका छन् । “उच्च माध्यमिक शिक्षा परिषद् मा म थिइनँ, मेरा साथीहरू थिए,” उनको स्पष्टीकरण छ ।

भाषा विवाद कतिसम्म कचटिल्एको छ भने नेपाली भाषा बचाऔँ अभियान, ०७२ का तर्फबाट राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलाई सात सूत्रीय मागपत्र बुझाइएको छ । यसैका लागि हस्ताक्षर, भद्र अवज्ञा, मौनव्रत, रुन्चे जुलुस, धर्ना र रिले अनशन भइसकेका छन् भने पाठ्यक्रम विकास केन्द्र सानोठिमीलाई सिटी फुकेर ब्यूँझाउने अनि प्रज्ञा–प्रतिष्ठानबाट आर्यघाटसम्म एकोहोरो शंख फुक्दै भाषाको भाँडभैलो विधिवत् अन्त्य गर्ने कार्यक्रम तालिका छन् । 

बलदेव किन पनि हौसिएका छन् भने पाठ्यक्रम विकास केन्द्रको सम्पादन प्रकाशन शैली, ०६३ परिमार्जनका लागि गठित हेमांगराज अधिकारीको कार्यदलको प्रतिवेदन  कार्यान्वयनमा लैजाने फाइल २२ साउन ०६९ मा सदर गर्ने तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा नै आन्दोलनको पक्षमा लागेका छन् । अर्कातिर, बलदेवकै शब्दमा फेसबुकमा ‘महिला मित्रहरूको फ्रेन्ड रिक्वेस्ट आएको आयै’ छ । टेलिभिजन अन्तर्वार्ताको प्रशंसा पनि महिला मित्रबाटै हुन थालेको छ । अभियानमा ९९ वर्षीय कोशकार वसन्तकुमार शम्र्मा नेपालसमेत रत्नपार्कमै हस्ताक्षर गरेको र तीन घन्टा आएर बसेको बलदेव सुनाउँछन् ।  

 

किन मुछिए मन्त्री ?

पूर्वमन्त्री शर्माले आफूले सदर गरेको फाइलका बारेमा दुई वर्षपछि अक्षरको खेती निबन्धसंग्रह निकाल्दा मात्रै थाहा पाए । पाण्डुलिपि सम्पादकले विद्यालयलाई विद् यालय, बुद्धलाई बुद्ध, राष्ट्रियलाई रास्ट्रिय बनाइदिएछन् । त्यो अनौठो नियम आफैँले सदर गरेको थाहा पाएपछि उनी तनावमा परे ।

“नेपाली वर्णविन्यासको फाइल दुई वर्षदेखि मन्त्रालयमा घुमिरहेको रहेछ,” शर्मा लाचारी व्यक्त गर्छन्, “सचिव, नजिकका कर्मचारीले कतैबाट विमति नआएको बताएकाले सदर गरेको थिएँ ।”

पाठ्यक्रम विकास केन्द्रले १६ जेठ ०६७ मा सम्पादन प्रकाशन शैली, ०६३ परिमार्जन गर्न हेमांगको संयोजकत्वमा बनाएको कार्यदलले २२ पुस ०६८ मा वर्णविन्यास परिमार्जन गर्न सिफारिससहित प्रतिवेदन दिएको हो । त्यो प्रतिवदेन अनुसारको वर्णविन्यास विद्यालय तहका ६ देखि ९ कक्षाका पाठ्यपुस्तकमा लागू भइसकेको छ । 

अन्तहीन विवाद

नेपाली भाषाको पहिलो लेख्य मानक शब्दकोश बगली कोष (१९९८) हो । त्यसलाई चक्रपाणि चालिसेको सम्पादकत्वमा नेपाली भाषा प्रकाशिनी समितिले ल्याएको थियो । यसविरुद्ध ०१३ सालमै झर्रोवादी आन्दोलन सुरु भयो । झर्रोवाद र रोयल नेपाल एकेडेमी (०१४) को उदय एकसाथ भयो । झर्रोवादको कति प्रभाव पर्‍यो भने एकेडेमीको बालचन्द्र शर्माको सम्पादकत्वमा ०१९ सालमा छापिएको नेपाली शब्दकोशमा ‘झर्रो’ र ‘झर्रोवाद’ समेटिए । बालचन्द्रको शब्दकोशमा नेवारी र मैथिली भाषाका केही शब्द भित्रिए । झर्रोवादकै नेतृत्वकर्ता त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा पनि हाबी भए । 

नेपाली भाषालाई संस्कृतको प्रभावबाट मुक्त गर्नुपर्छ भन्ने झर्रोवादीको सोच थियो । झर्रोवादी आफूलाई कम्युनिस्ट ठान्थे र दरबारसँग निकट पनि थिए । उनीहरूले आगन्तुक र तद् भव शब्दजति ‘ष’ र ‘श’लाई पातलो ‘स’ त बनाए । तर, ‘शाह’लाई ‘साह’ बनाउनुपर्ने भएकाले विकल्प छाडिदिए । 

०४० सालमा नेपाली बृहत् शब्दकोशका हर्ताकर्ता पनि बालकृष्ण पोखरेल नै भए । त्यतिबेला उनी नेपाल प्रज्ञा—प्रतिष्ठानमा भाषा विभाग प्रमुख थिए । त्यसैले झर्रोवादको प्रभाव त्यसमा पर्‍यो । 

त्यसयता नेपाली वर्णविन्यासलाई विवादले छाडेको छैन । नेपाली भाषाका विद्वान्हरू ह्रस्व र दीर्घ, तर्कुले र बर्धन्ने, डिको जोड्ने र छुट् याउने किचलोमै अल्झिएका छन् । “विद्वता र ज्ञान भन्ने कुरा शासनसत्तासँग जोडिएर त्यसको अहंकारबाट अगाडि बढ्न थालेपछि नचाहिने ठाउँमा हात हाल्नुपर्ने हुन्छ,” भाषाविद् शरच्चन्द्र वस्ती भन्छन्, “कुनै गोष्ठी वा निर्णयका नाममा नियम लाद्नु भाषामाथिको अत्याचार हो ।”

त्यसको १७ वर्षपछि ‘नेपाली वर्णविन्यास विषयक अधिगोष्ठी’ भयो, ०५७ मा । त्यस गोष्ठीमा अधिकांश त्रिवि नेपाली विभागकै प्राध्यापक थिए । ‘गरीब’लाई गरिब र ‘शहीद’लाई सहिद बनाएको भनी त्रिविकै प्राध्यापकहरूबाट प्रतिरोध भयो ।

झर्रोवादी अभियन्ता बालकृष्ण पोखरेलले झर्रो शब्दकोश सब्द्यौलीलाई नेपाली शब्द्यौली (कोश) बनाए भने ताना सर्मा लेख्ने तारानाथ पनि शर्मामै फर्किए । अझ बालकृष्णले प्रायश्चित्त नै गरेका छन् सार्वजनिक रूपमा ।

हिज्जे विवाद समाधानकै लागि ०६७ मा आएर अर्को भेला भयो, ‘नेपाली भाषा संगोष्ठी ।’ त्यसले पनि कुनै निष्कर्ष दिन सकेन । यी दुवै गोष्ठीमा प्राध्यापक हेमांगराज अधिकारीको उल्लेख्य भूमिका रह्यो ।  

०६७ मै हेमांगको नेतृत्वमा त्रिवि नेपाली विभागको अनिवार्य नेपाली विषय समितिको शिक्षण निर्देशिका बन्यो । तर, त्यो अधिकारीको व्यक्तिगत निर्णय भएको विभागकै प्राध्यापक खगेन्द्र लुइँटेल बताउँछन् । “त्यसको कुनै निर्णय छैन,” उनी भन्छन्, “यो प्रमाणित भएन भने म मेरो पीएचडी फिर्ता गर्छु ।” त्यसपछि आएको पुस्तक सबैको नेपाली पनि विवादमुक्त भएन ।

माघ ०६७ को भाषा संगोष्ठीलगत्तै नेपाली भाषा प्रयोगकर्ता समूहको नामबाट ‘नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) ०६९’ आयो । ललितपुर घोषणापत्रका नामले चिनिने नेकशुलेले ‘भाषिक भुमरी अन्त्य गर्ने’ उद्देश्य राखेको थियो ।

०२९ मा साझा प्रकाशनमा झर्रोवादीले लेखक–प्राध्यापक–पत्रकारलाई आफ्नो प्रभावमा पार्न भेला बोलाए । तर, अगाडि र बीचको शब्दमा ह्रस्व, एउटै दन्त्य स, ञ, णको साटो न लेखाउन सफल भएनन् । त्रिविमा शैली पुस्तिकामार्फत आफ्नो नियम छिराए । अनिवार्य नेपाली शिक्षण निर्देशन (०३६) त्यसकै परिणति हो । 

इतिहास हेर्दा झर्रोवादीहरू चर्को राष्ट्रवादी राजनीतिक उद्देश्यप्रेरित देखिन्छन् । त्यसैले उनीहरू नेपाली भाषालाई हिन्दीभन्दा अलग देखाउन चाहन्थे । स्थापित परम्पराविरुद्ध मुकुन्दशरण उपाध्याय, शिवराज आचार्य, महानन्द सापकोटा आदि उभिए । यी आन्दोलन नेपाली भाषाकै निम्ति थिए वा अरू कुनै उद्देश्यबाट भन्ने प्रश्न भने अनुत्तरित नै छ । 

शब्दकोशको व्यापार

असन्तुष्ट भाषाविद्हरू वर्णविन्यासको भाँडभैलोलाई शब्दकोशको व्यापारसित पनि जोड्छन् । उनीहरू यसलाई सरकारी कोश नेपाली बृहत् शब्दकोश भर्सेज निजी कोश प्रयोगात्मक नेपाली शब्दकोशका रूपमा हेर्छन् । 

प्रयोगात्मक नेपाली शब्दकोशमा पुराना र परिमार्जित दुवै वर्णविन्यास छन् भने नेपाली बृहत् शब्दकोशमा परिमार्जित वर्णविन्यास मात्र । निजीमा ‘फूल’ यथावत् छ भने सरकारीमा गलहत्याइसकिएको छ । 

पहिलोपटक ०६१ मा मुद्रित विद्यार्थी पुस्तक भण्डारको प्रकाशन प्रयोगात्मक नेपाली शब्दकोश मा १ हजार ५ सय ८८ पृष्ठ छन् भने ७० हजार शब्द । यसको मूल्य १ हजार २ सय ५० रुपियाँ छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (०७२) मा १ हजार ३ सय ५५ पृष्ठ र ६० हजार शब्द छन् । यसको बजार मूल्य एक हजार रुपियाँ छ ।

दुवैका प्रधान सम्पादक भने प्राध्यापक हेमांगराज अधिकारी नै छन् । हेमांगले निजी शब्दकोशका लागि सरकारी शब्दकोश बिगारेको भन्दै बलदेव अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ साउनमा उजुरीसमेत दिएका छन् ।

“बाजेको पालामा किनिएको अंग्रेजी शब्दकोश नातिका पालासम्म चलेको छ, नेपाली भाषामा पोहोर किनेको शब्दकोश अहिले नै काम लाग्दैन,” बलदेव भन्छन्, “के हेमांगराज संविधानभन्दा माथिका महाराज हुन् ?” सामान्यतया शब्दकोश पटकपटक किनिँदैन । तर, नेपाली भाषामा बर्सेनि नियम परिवर्तन हुँदा नकिनी सुखै छैन । सरकारी कार्यालय, विद्यालय, कलेज, शिक्षक, भाषा सम्पादक, विद्यार्थी सबैलाई चाहिने शब्दकोश बेचिरहने रणनीति लुकेको असन्तुष्टहरू दाबी गर्छन् । 

“शब्दकोश नै भाषा मानकीकरणको आधार हो, यसको बजार पनि निकै ठूलो छ,” त्रिविको नेपाली विभाग प्रमुख प्राध्यापक देवीप्रसाद गौतम भन्छन्, “सरकारी शब्दकोश अस्तव्यस्त भएकाले निजीलाई फाइदा पुग्ने भइहाल्यो ।”

प्रकाशित: भाद्र १९, २०७३