यात्रा» बाजुराको 'हाम्रो' बयान

  • बाजुराबारे हाम्रो सोचको एकोहोरो वर्षा सुनेपढेकै हो । तर, उनीहरू आफ्नो जिल्लाबारे के सोच्दा हुन् ?

- विमल आचार्य

बाजुरा । हाम्रा ७५ जिल्लामध्ये मानव विकास सूचकांकमा ७५औँ स्थान । समग्र नेपालीको औसत आयु करिब ६९ वर्ष तर बाजुरालीको जम्मा ४१ वर्ष । महिलाको साक्षरता ५७ प्रतिशत तर बाजुराली महिलाको ४९ प्रतिशत । समग्र जनसंख्या वृद्धिदर १.३५ तर बाजुराको २.१५ प्रतिशत । बाजुराको जम्मा जमिनमध्ये ११ प्रतिशत मात्र खेतीयोग्य । 

यस्ता सूचकबाट एउटा भयावह तस्बिर निर्माण गरिन्छ टाढैबाट । बाजुरा पुग्नुपूर्व मैले जानेको यही थियो । अर्थात्, बाजुरा चिन्ने मेरो तरिका यही थियो । अझ यसमा सधैँ थपिइहाल्थ्यो, छाउगोठ । भनौँ न, सुदूरपश्चिम भन्यो कि छाउगोठ सँगसँगै आइहाल्ने । 

०७२ को अन्त्यतिर दुइटा यात्रामा सुदूरपश्चिमका नौओटै जिल्ला डुल्ने, घुम्ने र बस्ने अवसर पाइयो । (यहाँ सुदूरपश्चिम नभनी प्रदेश नं ७ भन्नुपर्ने हो मैले । तर, आकारप्रकार, रूपरंग केही फरक छैन, सिवाय नाम फरक ।) 

बाजुरा जिल्लाको बाह्रबिस गाविसमा तीन जना स्कुले नानीहरूसँग मेरो भेट भयो । बाजुराबारे हाम्रो सोचको एकोहोरो वर्षा सुनेपढेकै हो । तर, उनीहरू आफ्नो जिल्लाबारे के सोच्दा हुन् ? पिछडिएको, अन्धविश्वासी बनाइएको जिल्लाका विद्यार्थी नानीहरूको धारणा के छ ? 

***

भावना थापा । उनको घर बाह्रबिस–६, डुंग्रीतोलामा छ । उनी त्रिशक्ति उमाविमा १० कक्षामा पढ्छिन् । बुबा दिलबहादुर र आमा कल्पनाले पढ्न पाएनन् । एक दिदी र तीन जना दाइ छन् । कान्छो दाइ ‘कमाउन’ इन्डिया गएका छन् । 

भावनाको घरमा पहिले छाउगोठ थियो । छाउ (महिनावारी) हुँदा आमा गोठमा बस्नुहुन्थ्यो । आमालाई फोहोर र अँध्यारो गोठमा देख्दा उनलाई अचम्म लाग्थ्यो । के भएको हो ? किन यसो गरिएको हो ? उनी केही भन्न र गर्न सक्दिनथिन् । अँध्यारो र फोहोर गोठमा आमालाई देख्दा उनी रुन्थिन् । घरभित्र सुत्ने भनेर कर गर्थिन् । उनी आमाकै काखमा निदाउन चाहन्थिन् तर आमा उनलाई छोडेर गोठमा गई बस्थिन् । 

भावना विद्यालयमा गठन भएको किशोरी सञ्जालको सचिव भइन् । आफूहरूले भोगेका साझा समस्याबारे आपसमा कुरा गरे उनीहरूले । महिला तथा बालबालिका कार्यालयले दिएको प्रशिक्षण पनि लिइन् उनले । अनि, के गरिन् त ? भन्छिन्, “छाउगोठ उदार्‍याको डेढ वर्ष भयो सर ।” 

भावना आफूलाई तीन कुराले भाग्यमानी ठान्छिन् । एक, उनी छोरीमान्छे भएर पनि स्कुल जान पाइन् । दुई, छाउ हुँदा कहिल्यै गोठमा बस्नुपरेन । र तीन, १७ वर्ष हुँदासम्म उनको बिहे गरिदिने कुरा कसैले गरेको छैन । भावना धेरै पढ्न चाहन्छिन् । आफ्नै गोडामा उभिन मात्र होइन, आफ्नै गोडाले पाइला पनि चाल्न चाहन्छिन् । 

गाउँमा विद्युत् छैन । मोटरबाइकसम्म चढ्न सक्ने सामान्य बाटो छ । गाउँमा बहुपत्नीको चलन धेरै छ । तर, एक जना मिश्रा थापाले मात्रै प्रहरीसमक्ष उजुरी दिएको भन्छिन् उनी । नियम–कानुन भए पनि व्यवहार नभएजस्तो लाग्छ उनलाई । सबैले छाउगोठबारे सोध्दा उनलाई अचम्म लाग्छ । भन्छिन्, “हाम्रो गाउँमा एउटा पनि छाउगोठ छैन अब ।” उनको कुरा सुनेर म छक्क परेँ, “अस्तिन केही पत्रकारीहरू आउनुभएको थियो । छाउगोठको फोटो खिच्न नपाएर दु:खी बन्नुभयो । हाम्रो गाउँ छाउगोठमुक्त हुँदा खुसी हुनुपर्ने हैन र ?”

***

संगीता थापा त्रिशक्ति उमाविमा ९ कक्षामा पढ्छिन् । पिता हर्कबहादुरले एसएलसी पास गरेका छन् । उनी पार्टी राजनीति गर्छन् । आमा रूपादेवीले पढ्न पाइनन् । संगीताका एक दाइ र एक भाइ छन् । भावनाको दाइझैँ संगीताका दाइ अरुण पनि ‘कमाउन’ इन्डिया गएका छन् । भाइ गोपीन्द्रले ३ कक्षासम्म अंग्रेजी माध्यमको स्कुलमा पढे । 

संगीता आफ्नो महिनावारी सुरु भएको चार महिनासम्म छाउगोठमा बसिन् । त्यहाँ उनी एक्लै भने कहिल्यै सुतिनन् । सधैँ आमाले साथ दिइन् । गोठमा बस्दा मनमा कस्ता कुरा खेल्थे ? भन्छिन्, “रातभरि सुत्दिनथेँ । सर्पको डर, रक्सी खाएका मान्छेको डर । मरिजाऊँ जस्तो लाग्थ्यो कहिले त ।” 

संगीता पनि किशोरी समूहकी सदस्य हुन् । शुक्रबार–शुक्रबार हुने बैठकले आफूहरूमा आत्मविश्वास बढाएको बताउँछिन् । भन्छिन्, “स्कुलका किताबमा पनि रजस्वला के हो ? किन हुन्छ भन्ने त छ तर लाजले धेरै पढाइ हुन्न । क्लासमा यस्ता विषयमा प्रश्न सोध्न पनि डर लाग्थ्यो ।”  किन त ? “प्रश्न सोधे बिग्रेकी केटी भन्लान् भन्ने डर लाग्थ्यो ।” 

संगीता आज आफ्नो घर–गाउँमा धेरै परिवर्तन देख्छिन् । ‘तर’ बाट सुरु गरेर उनी भन्छिन्, “छोरी जन्मिँदा खुसीयाली मनाएर नाचगान गरेको मैले अहिलेसम्म कहिल्यै देखेकी छैन । छोरा १० जना जन्मे पनि सधैँ खुसीयाली मनाउने तर छोरी एउटी भए पनि दु:खी हुने किन होला सर ?” 

संगीताका अनुसार छोराको आशामा धेरै सन्तान जन्माउने चलन पहिलेभन्दा कम भए पनि रोकिएको छैन । श्रीमतीले छोरा पाइदिइनन् भनेर श्रीमान्ले अर्को बिहे गर्ने अनि मेलापात भएर सानैमा ‘पोइल’ जाने चलन पनि पूरै रोकिन सकेको छैन । तर, सबभन्दा ठूलो परिवर्तन छाउगोठ भने छैन गाउँमा । आहा !

***

रमिता विष्टकी आमा बृन्दादेवीले कत्ति पढेकी छैनन् तर रमिता भने मैले भेट्दा एसएलसी तयारीमा थिइन् । बुबा करबहादुर विष्टले १२ कक्षासम्म पढेका थिए तर ६ वर्षअघि उनको निधन भयो । रमिताका दाइ र भाइ छोरा भएको लाभ लिँदै काठमाडौँमा पढिरहेका छन् ।  

०७० मा माथिबाट मान्छे आए स्कुलमा । माथि भनेको सदरमुकामतिरबाट । उनीहरूले सबै विद्यार्थीलाई जम्मा गरेर भाषण दिए । स्कुलमा सर–मिस तथा साथीहरूले पढ्न–पढाउन लाज मान्ने प्रजनन स्वास्थ्य तथा रजस्वलाबारे उनीहरूले प्रस्ट बोलेको देखेर रमितालाई सुरुमा लाज लाग्यो । 

उनको स्कुल शारदा मावि, सिमलकोटमा किशोरी समूह गठन भयो । त्यसमा सुरुमा १८ जना किशोरी आबद्ध भए । उनी सदस्य मात्र भइनन्, छाउगोठ भत्काउने अभियानमा वडाभरि सँगै हिँडिन् । कति जनाले भत्काउन नमानेको तथा कुरा बुझाउन गाह्रो भएको सम्झना ताजै छ उनमा । 

रमिता ४ बजे उठ्छिन् । घाँस–दाउरा जान्छिन् । घरमा चारवटा भैँसी छन्, तिनले दूध दिन्छन् । पहिले त छाउ हुँदा दूध खान दिइँदैनथ्यो, अचेल भने दिइन्छ । 

रमितालाई सबैभन्दा छोएको कुरा के छ भने किशोरी समूहकी अध्यक्षले नै १० कक्षा पढ्दापढ्दै आफैँ बिहे गरिन् । उनलाई अबको ध्यान बालविवाह रोक्नुपर्नेतिर केन्द्रित गर्नुपर्ने भन्ने लागेको छ । किनभने, उनको कक्षामा विवाहित तीन जोडी अध्ययनरत छन् । पहिले अझ धेरै हुन्थे । 

रमिता पहिले आफ्नी आमाझैँ अनपढ महिला धेरै देख्थिन् गाउँमा । कम उमेर भएर पनि रमिताले निरक्षर देखेकी एक जना महिला मात्र छिन् गाउँमा । “टम्मरा खड्काको उमेर ३० वर्ष भयो होला तर उनले पढ्न पाइनन्,” उनले भनिन्, “शिक्षित र अशिक्षित महिलालाई हेर्ने नजर नै फरक हुने रहेछ, महिलाले पनि पढ्न पाउनुपर्छ ।” 

मैले कुरा गरेका यी तीनै जना किशोरीले इन्द्रा कुँवर र केशरी रोकायाबाट प्रभावित भएको बताए । स्थानीय इन्द्रा गाउँमा छाउपडी, बालविवाह, बहुविवाहजस्ता कुप्रथाविरुद्ध निरन्तर लडिरहेकी सक्रिय महिला हुन् । केशरी रोकाया महिला तथा बालबालिका कार्यालय, बाजुरामा काम गर्छिन् र किशोरीहरूलाई चेतना र ‘हिक्मत’ बढाइरहन्छिन् । बाह्रबिस गाविस कार्यालयमा छाउगोठमुक्त घोषणाको तयारी हुँदै थियो, म त्यहाँ पुग्दा । ६ दिनपछि उनीहरूको गाविस छाउगोठमुक्त हुँदै थियो । यी नानीहरूले केही दिन बसेर कार्यक्रम हेरेर आफ्नो गाउँको सकारात्मक परिवर्तन सबैलाई देखाइदिन अनुरोध गरे । 

जसरी चोर–डाँकाको गाउँ भन्दा सबै गाउँलेको इज्जत जान्छ र सबैलाई पीडा हुन्छ, उसरी नै अशिक्षित, अचेतनशील, पिछडिएका मान्छेको गाउँ भनेर मान्छेहरूले लेखिरहेको/बोलिरहेको देख्दा उनीहरूलाई पनि पीडा हुन्छ रे ! ‘सुदूरपश्चिममा छाउपडीजस्तो कुप्रथा ज्यूँका त्यूँ छ,’ भनेर सहरिया मान्छेहरू उफ्रिरहेको देख्दा–सुन्दा कस्तो लाग्दो हो ?

औधि झोँक चल्छ रे ! कहाँ छ ज्यूँका त्यूँ ? जिल्लाभरि पूरै नहटे पनि अलिकति कम त भएको छ नि ! म फर्किंदै गर्दा उनीहरूले भने– अब हाम्रो गाउँ फेरिइसक्यो, सबैलाई सुनाइदिनुहोला है !

***

सर्वाेच्च अदालतले ०६२ मा छाउपडीलाई अन्धविश्वास र कुरीतिका रूपमा व्याख्या गर्दै ‘कुप्रथा’ घोषणा गर्‍यो । यसपश्चात् नेपाल सरकारबाट छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ जारी गरियो । बाजुरामा पनि छाउपडी कुप्रथा उन्मूलनसम्बन्धी पाँच वर्षे रणनीतिक योजना, २०७२—०७६ बनेको छ । जिल्लाका २४ गाविसमध्ये बूढीगंगा, ब्रह्मतोला तथा कुलदेवमाडौँ छाउगोठमुक्त घोषित भइसकेका छन् । यसै गरी अन्य गाविसका १५ वटा वडा पनि छाउगोठमुक्त भइसकेका छन् । अभियन्ता केशरी रोकाया भन्छिन्, “शतप्रतिशत भएपछि मात्र घोषणा गर्ने भन्दा पनि यसको दबाब र प्रभावले छाउगोठ राखेका केही परिवारमा पनि सकारात्मक प्रभाव पर्ने भएकाले घोषणा गर्नु आवश्यक छ ।”  

उनको अनुभवमा नयाँ पुस्ता जो शिक्षित र चेतनशील पनि छ, उनीहरू छाउगोठ मान्दैनन्, मुक्त गाविसको बासिन्दा हुँ भन्दा उनीहरू बाहिरतिर इज्जत बढेको पनि ठान्छन् । 

छाउगोठमुक्त स्थानको सूचक के हो ? बाजुराका तत्कालीन प्रजिअ धनप्रसाद शर्मा पौडेल भन्छन्, “महिनावारी हुँदा र नहुँदाको सुत्ने ठाउँमा परिवर्तन हुनुभएन । घरभित्रै बस्ने व्यवस्था हुनुपर्‍यो । दही–दूध एवं पोषिला खानेकुरा खान पाएको हुनुपर्‍यो । सरसफाइ र शौचालयको उचित व्यवस्था र प्रयोग भएको हुनुपर्‍यो । विद्यालय तथा कलेजमा छात्राका लागि छुट्टै शौचालय हुनुपर्‍यो ।”

बाजुरामा आर्थिक कठिनाइ र गरिबीको दुष्चक्र उस्तै छ । कमाउन भारत जाने बाध्यताले गाउँ पुरुषविहीनजस्तै छ । आमाहरूको जीवन कष्टकर छ तर छोरीहरूको भने अलिकति सजिलो हुँदै छ । नयाँ पुस्तामा आएको चेतनाको स्तरले सामाजिक सूचकमा भने बारम्बार भनिने जस्तो ज्यूँका त्यूँ स्थिति छैन । बाह्रबिसका नानीहरूले आफ्नो गाउँ जे जस्तो देखे र जे जस्तो भोगे । अनि, भने– अब हाम्रो गाउँ फेरिइसक्यो, सबैलाई सुनाइदिनुहोला है !

प्रकाशित: भाद्र ९, २०७३