बंगलादेशसँगको नेपालको व्यापार पनि क्रमश: ओरालो

  • “गत वर्ष दोब्बरभन्दा बढी घाटा बेहोरेको नेपालले यस वर्ष तेब्बर बढी घाटा बेहोर्नुपरेको छ”

- पर्वत पोर्तेल

नेपालको अन्तर्राष्ट्रिय व्यापार लामो समयदेखि ऋणात्मक रहँदै आएको छ । सबैजसो मुलुकसँग नेपालको व्यापारको सन्तुलन निराशाजनक छ । तर, बंगलादेशसँगको व्यापारलाई भने अपवादका रूपमा लिने गरिएको थियो । तर, विगत एक दशकदेखि बचतमा रहँदै आएको बंगलादेशसँगको व्यापारमा पनि निराशाका संकेत देखिन थालेका छन् । आर्थिक वर्ष ०७०/७१ मा बंगलादेशसँगको व्यापार घाटा ६६ करोड ३० लाख रुपियाँ रहेकामा ०७१/७२ र ०७२/७३ मा क्रमश: १ अर्ब ३८ करोड रुपियाँ र २ अर्ब २४ करोडले ऋणात्मक रहन पुग्यो । 

पछिल्लो दुई वर्षको संकेत 
निर्यात व्यापारमा गिरावट देखिए पनि बंगलादेशसँगको समग्र व्यापार भने नेपालको पक्षमै छ । १९ वर्षमा पौने २८ अर्ब रुपियाँ मूल्यको वस्तु निर्यात भएको देखिन्छ । जबकि, पौने १५ अर्ब रुपियाँ मूल्यको वस्तु बंगलादेशबाट आयात भएको छ । नेपाल–बंगलादेशबीच १४ भदौ ०५४ देखि औपचारिक व्यापार सुरु भएको हो । काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्ग सञ्चालन भएको १९ वर्षमा २७ अर्ब ८४ करोड रुपियाँ मूल्य बराबरको वस्तु निर्यात गरियो । १४ अर्ब ८४ करोड रुपियाँ मूल्य बराबरको वस्तु बंगलादेशबाट आयात भएको देखिन्छ । “सुरुआती केही वर्षबाहेक हरेक वर्ष व्यापार नेपालको पक्षमा थियो,” नेपाल पारवहन गोदाम व्यवस्था कम्पनी लिमिटेड, काँकडभिट्टाका प्रमुख यादवराज सिवाकोटी भन्छन्, “अहिले पुन: सुरुआती समयमा झँै व्यापार घट्दो छ ।”

नेपालबाट मुसुरोका अतिरिक्त डाबर नेपालका उत्पादनहरू मह, हजमोला, च्यावनप्रास, कपालमा लगाउने तेल प्रमुख रूपमा निर्यात हुन्छ । त्यस्तै चिराइतो, मोजितो, रिठ्ठालगायतका जडीबुटीहरू पनि बंगलादेश निर्यात सूचीमा छन् । बंगलादेशबाट कटन वेस्ट, औषधि, फेब्रिक, जुट, चिनी, दूध पाउडर, आलुलगायत वस्तु आयात हुन्छन् । धेरै वस्तुचाहिँ बंगलादेशले पठाउँछ । उल्लेख्य रूपमा नेपाली वस्तु पठाउन अझै सकिएको छैन । बंगलादेशमा नेपाली तरकारीजन्य वस्तु र फलफूलको माग अत्यधिक छ । तर, भारततर्फको क्वारेन्टाइनको झन्झटिलो प्रक्रिया र कृषिजन्य उत्पादन आयातमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार शुल्कबाट नेपाली उत्पादन प्रत्यक्ष मारमा परेको छ ।

त्यहाँको सरकारले तरकारी आयातमा ५५ प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाएको छ । अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटीहरूको निर्यात सम्भावना उच्च देखिन्छ । यद्यपि, नेपाली व्यवसायीले निर्यात गर्न सकेका छैनन् । व्यवसायी ललित तामाङका अनुसार विगतमा फलफूलजन्य वस्तु बंगलादेश निर्यात प्रयास भएको थियो । तर, भारतीय भन्सारले गर्ने लफडाले गर्दा त्यसले निरन्तरता पाएन । बंगलादेशमा गहुँ, दाल, अदुवा, जडीबुटी, चोकर, भैँसीको छालालगायतको माग अत्यधिक छ । चर्को भन्सारदरका कारण केही वर्षयता अदुवा भने निर्यात हुन सकेको छैन ।

भारतलगायतका मुलुकसँगको व्यापार घाटा अकासिँदै गएका बेला समेत बंगलादेशको व्यापार भने बचतमा रहँदै आएको थियो । बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसँगको व्यापार बर्सेनि नेपालको पक्षमा हुन्थ्यो । पछिल्लो दुई वर्षको तथ्यांकले बंगलादेशसँगको व्यापार पनि क्रमश: ओरालो लाग्न थालेको संकेत गर्छ ।

“गत वर्ष दोब्बरभन्दा बढी घाटा बेहोरेको नेपालले यस वर्ष तेब्बर बढी घाटा बेहोर्नुपरेको छ”, सिवाकोटी भन्छन्, “यो वर्ष कुल १ अर्ब २६ करोड २७ लाख ६ हजार ५८ रुपियाँको वस्तु बंगलादेश निर्यात भयो । जबकि, ३ अर्ब ७९ करोड ९१ लाख २३ हजार २ सय ४० रुपियाँ बराबरको वस्तु बंगलादेशबाट आयात भएको छ ।” 

गत आर्थिक वर्षमा १ अर्ब १५ करोड बढी मूल्यका नेपाली वस्तु निर्यात भएको थियो । २ अर्ब ५३ करोड बढीको सामान उताबाट आएको थियो । “गत वर्षको कुल निर्यात व्यापारभन्दा झिनो प्रतिशतमा व्यापार बढे पनि आयातचाहिँ अकासिँदो छ”, सिवाकोटी भन्छन्, “यो चिन्ताजनक स्थिति हो । निर्यात गर्ने वस्तुहरू नथपिँदा बर्सेनि घाटा बेहोर्नुपर्ने बाध्यता आएको हो । निर्यात प्रवद्र्धनमा जोड नगरे आगामी दिनमा बंगलादेशसँगको व्यापार अझ खस्कने निश्चित छ ।”

दालले धानेको निर्यात 
बंगलादेश निर्यात हुने नेपाली वस्तुहरूको डालो सानो भएका कारण निर्यात व्यापार दिगो नभएको जानकारहरू बताउँछन् । हुन पनि पुग नपुग आधा दर्जन वस्तु मात्र नियमित रूपमा निर्यात हुनेमा पर्छन् । त्यसमा आधाभन्दा बढी हिस्सा मसुरो दालले नै ओगट्छ । निर्यातमा मसुरोको हिस्सा केलाउने हो भने नेपाल–बंगलादेश व्यापारमा उल्लेख्य योगदान त्यसैको छ । 

तर, विगत केही वर्षयता मसुरोको निर्यात क्रमश: घट्दो छ । जसको प्रत्यक्ष असर बंगलादेशसँगको समग्र व्यापारमा पर्न थालेको छ । कार्यालयका अनुसार आव ०६९/७० मा २ अर्ब ७१ करोड १४ लाखको मसुरो निर्यात भएको थियो । ०७०/७१ मा निर्यातक्रम घटेर १ अर्ब ९६ करोडमा झर्‍यो । ०७१/७२ मा आइपुग्दा १ अर्ब ११ करोडको दाल निर्यात भएको छ । यस वर्षचाहिँ थोरै बढेर १ अर्ब २० करोड १९ लाख बढी मूल्यको दाल निर्यात भएको देखिन्छ । त्यसो त सरकारी अधिकारीदेखि व्यापारीहरूले समेत बंगलादेशसँगको द्विपक्षीय व्यापार दालमा अत्यधिक निर्भर भएका कारण दिगो नहुने बताउँदै आएका थिए । बंगलादेशमा निर्यात हुने दालको ठूलो हिस्सा भारतबाट भित्रिने भएकाले कुनै पनि बेला ओरालो लाग्ने उनीहरूको दाबी थियो ।

दालको निर्यातमा आएको कमी र द्विपक्षीय व्यापारमा देखिएको असरले उनीहरूको आशंकालाई सही साबित गरेको छ । “नेपालमा यत्रो दाल फल्दैन,” एक व्यापारी भन्छन्, “विगतमा जस्तो दाल निर्यात नहुनुको कारण भारतले नाकामा कडाइ गर्‍यो, जसका कारण पर्याप्त दाल नेपाल भित्रिन पाएन र बंगलादेशमा निर्यातसमेत घट्यो ।” तर, दाल निर्यातकर्ताहरू भने नेपालमा उत्पादन नै घटेका कारण निर्यात पनि घट्न थालेको दाबी गर्छन् । गहुँले पनि दालकै नियति बेहोरिरहेको छ । स्थानीय व्यापारीहरूले भारतबाट भित्र्याएको गहुँलाई नेपालमा उत्पादित भन्दै बंगलादेश निर्यात गर्दै आएका थिए ।

कार्यान्वयनमै समस्या
गत २८ र २९ वैशाखमा बंगलादेशको राजधानी ढाकामा भएको नेपाल–बंगलादेश वाणिज्य सचिव स्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ वटा वस्तुलाई भन्साररहित (ड्युटी फ्रि) सुविधा दिने निर्णय गरेको थियो । तर, उक्त निर्णय अझैसम्म पनि कार्यान्वयन चरणमा पुगेको छैन । द्विपक्षीय व्यापार प्रवद्र्धन र अभिवृद्धि गर्नकै लागि नेपाल र बंगलादेशका सरकारी अधिकारीहरूबीच नियमित बैठक पनि नभएका होइनन् । हालै मात्र नेपाल–बंगलादेश वाणिज्य बैठक चार वर्षपछि भएको थियो । सन् २०१२ यता सचिवस्तरमा बैठक हुन सकेको थिएन । तर, सहसचिव स्तरको बैठकचाहिँ काठमाडाँै र ढाकामा एक/एक पटक भइसकेको छ । 

बैठकका सहभागी वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय अघिल्लो वर्षको सम्झौतालाई जतिसक्दो चाँडो कार्यान्वयनको दिशातिर लैजाने निर्णय भएको बताउँछन् । बंगलादेशले नेपालका १ सय ८ वस्तुलाई भन्साररहित सुविधा दिने र नेपालले पनि माछा, आलु चिप्स, रेफ्रिजेरेटर, ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, टोबाको, टमाटरको सस र बिस्कुटलगायत ५० वस्तुमा भन्साररहित सुविधा दिने जनाइएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला तथा बंगलादेशका वाणिज्य मन्त्रालयका अतिरिक्त सचिव मनोजकुमार रायले गत वर्ष यो सुविधाका लागि सम्झौतामा हस्ताक्षर गरे पनि कार्यान्वयन भएको छैन । गैर भन्सार अवरोधहरूको सूची नै लामो छ । नेपाल–बंगलादेश व्यापार सहजीकरण, व्यापारजन्य पूर्वाधार विकास तथा गैरभन्सारजन्य 
अवरोध हटाउने विषयमा समेत पटकपटक वार्ता र सहमति हुँदै आए पनि व्यवहारमा 
लागू भएको छैन । 

प्रकाशित: भाद्र ७, २०७३