पाँच दशक शून्य पदक

  • नेपालका लागि ओलम्पिक यात्रा उपलब्धिविहीन

- ज्ञानेन्द्र आचार्य

ब्राजिलमा चलिरहेको ३१ओैँ गृष्मकालीन ओलम्पिकमा नेपालका तर्फबाट पाँच खेलमा सात खेलाडी सहभागी छन् । सन् १९६४ को टोकियो ओलम्पिकबाट सहभागिता सुरु गरेको नेपालको यो १४औँ सहभागिता हो । ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको ५२ वर्ष पुगिसक्दा पनि नेपाल अहिलेसम्म पदकविहीन छ । त्यसो त सन् १९८८ को सियोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोमा काँस्य पदक जितेका थिए । तर, त्यतिबेला तक्वान्दोलाई ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा मात्रै राखिएको थियो । यसै कारण आजसम्म आधिकारिक रूपमा ओलम्पिकमा नेपालको नाममा कुनै पदक छैन । 

अहिले समग्र नेपाली खेलकुद नै खस्किँदो अवस्थामा छ । प्रतिभावान् खेलाडी उत्पादन र व्यवस्थापनदेखि घरेलु प्रतियोगिताका सेट अप, सबै क्षेत्रमा समस्या छन् । खेलकुद संघभित्रका आन्तरिक विवादले पनि खेल क्षेत्र माथि उठ्न सकेको छैन । यस्तोमा ओलम्पिकमा नेपालले चुनौती दिनसक्ने खेल अवश्य पनि कुनै छैन । नेपालका लागि ओलम्पिकमा सहभागिता जनाउन पाउनु नै ठूलो कुरा भइसक्यो । छनोट चरण पार गरेर ओलम्पिकसम्म पुग्न नेपालका लागि झन्पछि झन् गाह्रो हुँदै गइरहेको छ । १४औँ पटकको सहभागितासम्म आइपुग्दा सन् २००४ मा संगीना वैद्य र २००८ मा दीपक विष्टबाहेक अरू कसैले छनोट चरण पार गर्न सकेका छैनन् । यी दुवैले तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकका लागि छानिएका थिए । तेक्वान्दोमै पनि नेपाल कमजोर भइरहेको छ । ओलम्पिक त परै जाओस्, दक्षिण एसियाली खेलकुदमै पनि नेपालको साख खस्किँदो छ । 

वाइल्ड कार्डको भर

संगीना वैद्य र दीपक विष्टबाहेक नेपालबाट सबैले वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिताका लागि मौका पाएका हुन् । रियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी सातै जनाले वाइल्ड कार्ड इन्ट्री पाएका हुन् । वाइल्ड कार्डमार्फत छानिएकाबाट पदकको आश गर्नु मूर्खता नै हो । ओलम्पिककै इतिहास हेर्ने हो वाइल्ड कार्डबाट सहभागी भएका खेलाडीले पदक जितेको घटना कमै छ । सन् १९९६ मा दक्षिण कोरियाका के सुन ह्वीले जुडोमा स्वर्ण जितेका थिए । वाइल्ड कार्डबाट छानिएर ओलम्पिकमा पदक जितेको घटना सम्भवत: यही मात्रै हो । 

ओलम्पिकमा नेपाली खेलाडीको लक्ष्य भनेकै राष्ट्रिय कीर्तिमान तोड्नु हो । जबकि, छिमेकी राष्ट्र भारत र चीनले ओलम्पिकमा पदककै लागि प्रतिस्पर्धा गर्छन् । चीनलाई त ओलम्पिकको दाबेदारकै रूपमा हेरिन्छ । 

चीनलाई चिनौँ

पदकका दाबेदार रहेका अन्य देशका खेलाडीले ओलम्पिककै लागि भनेर लामो तयारी गरिरहेका हुन्छन्, जुन नेपाली खेलाडीले पाउँदैनन् । विश्व खेलकुदमा चीनको उदय यसैको एउटा राम्रो उदाहरण हो । चीनले सन् २००८ को बेइजिङ ओलम्पिकको तयारी सन् २००१ देखि नै सुरु गरेको थियो । सन् २००१ मै २९औँ ओलम्पिक आयोजनाको अधिकार पाएपछि चीनले विशेष तयारी सुरु गर्‍यो ।

ओलम्पिकमा चीन कमजोर मानिएको ११९ इभेन्टमा पदक जित्नका लागि चीनले प्रोजेक्ट ११९ ल्यायो । नभन्दै प्रतिफल २००८ मै आयो । र, चीन ५१ स्वर्ण, २१ रजत र २८ काँस्यसहित पदक तालिकाको शीर्ष स्थानमा रह्यो । त्यसबेला चीन एथलेटिक्स र पौडीमा कमजोर मानिन्थ्यो । प्रोजेक्ट ११९ पछि चीन यी विधामा पनि निकै माथि आइसकेको छ । नेपाललाई प्रोजेक्ट ११९ जस्तै दीर्घकालीन योजनाको जरुरी छ । र, यो काम व्यवस्थापन पक्षबाट हुनुपर्ने हो । तर, लामो समय विवादमा अल्झेको नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् को यसतर्फ ध्यान गएको कुनै छनक देखिँदैन । १० वर्षअघि राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२० सम्म नेपालको खेल क्षेत्रलाई उकास्न भिजन २०/२० योजना ल्यायो । तर, त्यो सब योजनामै सीमित छ । 

व्यवस्थापन त परै जाओस्, नेपालमा खेलाडी उत्पादनमै समस्या छ । सानो उमेरमै प्रतिभावान् खेलाडीको पहिचान गरी भविष्यमा ठूला प्रतियोगिताका लागि तयार पार्ने एउटै कार्यक्रम छैन । जबकि, चीनमा पाँच–सात वर्षमै सम्भावना भएका खेलाडीको पहिचान गरिन्छ । त्यस्ता प्रतिभावान् खेलाडीलाई स्पोटर््स स्कुलमा राखेर दैनिक प्रशिक्षण गराई भविष्यमा ओलम्पिकका लागि तयार पारिन्छ । अमेरिकी एक प्राध्यापक सुसन ब्राउनवेल चीनको यस्तो नीतिबाट निकै प्रभावित भएकी थिइन् । बेइजिङ ओलम्पिकका बेला यिनी चीनमा अनुसन्धान गर्दै थिइन् । एक जिम्न्यास्टिक ट्ेरनिङ सेन्टरमा देखेको दृश्य उनले कहिल्यै भुल्न नसक्ने बताएकी थिइन् । त्यहाँ निकै साना बालबालिकाले प्रशिक्षण लिइरहेका थिए । उनका अनुसार डाइपर लगाउने उमेरमा उनीहरूले आफ्नो शरीर सहजै बटार्न सक्थे । चीन यस्तै सशक्त योजनासाथ खेलकुद क्षेत्रमा निकै तीव्र गतिमा अघि बढिरहेको छ । 

सफलताको आधार लगानी

नेपालमा नियमित प्रतियोगिता पनि समयमा हुँदैन । यस्तोमा खेलाडीमा भएको सीप र सम्भावना पनि हराएर जान्छ । अचेल नेपालमा खेलकुद प्रतियोगिता त्यतिबेला मात्रै हुन्छ, जब कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नुपर्छ । अन्तिम समयमा खेलाडी छनोट गरेर मात्रै एक–दुई महिनाको प्रशिक्षणबाटै पदकको आश गर्नु पनि मूर्खता हो । यही परिपाटीका कारण नेपाल दक्षिण एसियामा पनि कमजोर बन्दै गएको छ । नेपाली खेलाडीले अरूले जस्तै प्रतियोगिताअगाडि चाहिने पर्याप्त एक्स्पोजर पनि पाउँदैनन् । जबकि, अन्य देशका खेलाडी वर्षभरि नै अन्य प्रतियोगितामै व्यस्त रहन्छन् । 

नेपाली खेलकुदमा लगानीको पनि कमी छ । नियमित हुनुपर्ने प्रतियोगिता हुन नसक्नुमा पर्याप्त बजेट नहुनु पनि एक कारण हो । निजी क्षेत्रलाई नेपाली खेलकुदले अझै लोभ्याउन सकेको छैन । खेलकुदमा लगानीबिना सफलताको आश गर्न पनि सकिँदैन ।

नेपालमा सरकारले खेलाडीमा लगानी गर्ला भनेर आश गर्ने ठाउँ पनि छैन । र, खेलाडीलाई नेपालमै खेलेर बाँच्न सक्ने अवस्था पनि छैन । त्यसैले सुरक्षित भविष्यको खोजीमा खेलाडी पलायन हुनु पनि ठूलै समस्याका रूपमा देखापरेको छ । ओलम्पिक र एसियाडमा सहभागितामै सीमित हुने नेपाली खेल क्षेत्रलाई पदककै दाबेदार बनाउन चीन र अमेरिकाबाट पाठ सिक्नुपर्छ । दीर्घकालीन योजनासहित लगानी, नियमित घरेलु प्रतियोगिता अनि खेलाडी उत्पादन र व्यवस्थापनलाई चुस्त बनाउनुपर्छ । 

प्रकाशित: भाद्र ७, २०७३