सार्वजनिक हुन नसकेको श्रीपेच

  • सरकारी निकायबीच नै समन्वयको अभाव

- सीताराम बराल

नारायणहिटी दरबार संग्रहालयबाट निस्केर जब १९ जेठ ०५८ को दरबार हत्याकाण्डस्थल त्रिभुवन सदनतर्फ लागिन्छ, नेपाली सेनाका तीन जवान दरबारको पछिल्लो प्रवेशद्वारमा चौबीसै घन्टा पहरा दिइरहेका देखिन्छन् । 

दरबारको यो पछिल्लो प्रवेशद्वारमा सैनिक पहराको आवश्यकता गद्दीमा छँदा पूर्वराजा ज्ञानेन्द्रले समेत ठानेका थिएनन् । तर, जब १५ जेठ ०६५ मा संविधानसभाबाट गणतन्त्र घोषणा भयो, २९ जेठमा ज्ञानेन्द्रले दरबार छाडे, त्यसै दिनदेखि नारायणहिटी दरबारको त्यो पछिल्लो द्वारमा सेनाको चौबीस घन्टे पहरा निरन्तर छ । नारायणहिटीको यो पछिल्लो द्वारमा अहिले सेनाको पहरा हुनुको कारण हो, सैलुन कक्षमा राखिएको श्रीपेचको सुरक्षा । 

राजगद्दी त्याग्न तयार भए पनि पूर्वराजा ज्ञानेन्द्र श्रीपेच छाड्न अन्तिमसम्म पनि तयार थिएनन् । श्रीपेच नबुझाए अप्ठ्यारो पर्ने सरकारको चेतावनीपछि मात्र श्रीपेच सरकारलाई बुझाउन तयार भएका थिए उनी । त्यसपछि पूर्वमुमाबडामहारानी रत्नको महेन्द्र मञ्जिलमा राखिँदै आएको श्रीपेच सरकारलाई बुझाइएको थियो । त्यसयता श्रीपेच नारायणहिटीको सैलुन कक्षमा छ । 

हाल श्रीपेच सुरक्षाका लागि दरबारको उत्तर–दक्षिणतर्फ दुई–दुई गरी चारवटा र बीचमा एउटा गरी पाँचवटा पोस्ट खडा गरिएका छन् । सुरक्षाको बलियो प्रबन्ध गरिए पनि सुरक्षा चुनौती नै कारण देखाउँदै अहिलेसम्म श्रीपेच प्रदर्शन गरिएको छैन ।

१५ फागुन ०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरबार संग्रहालयको उद्घाटन गरेका थिए । तर, श्रीपेच राख्ने प्रदर्शनी कक्ष र सोकेस नभएको बताउँदै श्रीपेच प्रदर्शनीमा राखिएन । संग्रहालयका रूपमा नारायणहिटी दरबार खुला भएलगत्तै अवलोकनकर्ताले श्रीपेच पनि हेर्न खोजेपछि प्रदर्शनको तयारी थालियो । 

त्यसै क्रममा ०६६–०६७ मा संस्कृति मन्त्रालयले श्रीपेच प्रदर्शनीमा राख्ने व्यवस्था मिलाउन नारायण रेग्मीको संयोजकत्वमा कार्यदल गठन गर्‍यो । कार्यदलको सुझाव अनुसार श्रीपेच प्रदर्शनीका लागि दरबारको सुर्खेत र रूपन्देही कक्षका झ्यालका पुराना सिसा विस्थापित गरिए, बुलेटप्रुफ सिसा जडान गरिए । श्रीपेच राख्न अत्याधुनिक प्रविधिको बुलेट प्रुफ सोकेस खरिद तथा जडानसमेत ०६९ भदौसम्म भइसकेको थियो । तर, हालसम्म श्रीपेच प्रदर्शनीमा नराखिनुलाई आश्चर्यजनक मान्छन् संयोजक रेग्मी । भन्छन्, “सुरक्षालगायत सबै कुराको बन्दोबस्त उतिबेलै गरिएको थियो । तर पनि किन प्रदर्शनीमा नराखिएको हो, मैले पनि बुझ्न सकेको छैन ।”

हाल श्रीपेच एक हजार डिग्रीको तापक्रमले समेत बिगार्न नसक्ने डिजिटल पासवर्ड प्रणाली भएको दराजमा राखिएको छ । संग्रहालय प्रमुख रोहित ढुंगानाका अनुसार श्रीपेचबाहेक राजदण्ड, संसदीय व्यवस्थाकालमा राजाको प्रतिनिधिका रूपमा गणतन्त्र स्थापनाअघि संसद्मा लगिने मेसलगायतका सामग्री पनि त्यहीँ छन् । 

यसै गरी रानीले लगाउने टायरा, झिँगा धपाउन प्रयोग गरिने चमरलगायत राजारानीसँग सम्बन्धित सामग्री पनि श्रीपेचसँगै सैलुन कक्षमा नै राखिएका छन् । 

श्रीपेचमा ७ सय ५० वटा हीराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा । श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्कीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो । श्रीपेचको अभिन्न भागका रूपमा रहेको बर्ड अफ प्याराडाइज दुर्लभ र मार्न प्रतिबन्धित भएकाले पनि श्रीपेचको महत्त्व अरू बढ्न गएको जानकारहरू बताउँछन् ।

यसै गरी श्रीपेचको कल्कीबाहेकका भागमा हीरामोती, माणिक, नवरत्न, सुन जडिएका छन् । राजदण्ड र चमरमा पनि सुनैसुन छ । पूर्वराजाले श्रीपेच नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत राख्ने क्रममा नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीहरूले श्रीपेचमा हीरामोती, माणिक, नवरत्न, सुन अधिक मात्रामा प्रयोग गरिएको र सबैभन्दा धेरै भागचाहिँ चाँदीको रहेको लगत तयार पारेको थियो । 

श्रीपेच प्रदर्शनीका लागि राख्ने भनिएका कक्षमा बुलेटप्रुफ सिसा, बुलेट प्रुफ सोकेस,  विद्युतीय निगरानीका लागि सीसीटीभीको व्यवस्था र श्रीपेच राखिने कक्ष वरिपरि नेपाली सेनाका पाँचवटा सुरक्षा पोस्ट । यति धेरै सुरक्षा व्यवस्था गरिएको चार वर्ष बितिसक्दा पनि श्रीपेच प्रदर्शनीमा ल्याउने तयारी देखिन्न । 
प्रदर्शनीमा राखिएपछि श्रीपेचको सुरक्षाको जिम्मा कसको हुने र श्रीपेचको मूल्यांकन कति गर्ने भन्ने विषयमा सरकारी निकायबीच समझदारी छैन । श्रीपेचलाई अहिलेसम्म प्रदर्शनीमा नराख्नुको मुख्य कारण यसैलाई मान्छन् जानकारहरू । 

रेग्मी कार्यदलको सुझाव अनुसार ०६९ को भदौ–असोजमा नै श्रीपेच प्रदर्शनीको तयारी गरिएको थियो । तर, श्रीपेच चोरी भएमा वा आगलागी भएमा क्षतिपूर्ति कसरी गर्ने भन्ने बहस सुरु भयो । यसका लागि श्रीपेचको बिमा गर्ने निष्कर्षमा संग्रहालय र संस्कृति मन्त्रालयका अधिकारीहरू पुगे । संग्रहालयले बिमाका लागि बिमा संस्थानलाई पत्राचार गर्‍यो । संस्थानले श्रीपेचको मूल्यांकन गर्नुपर्ने बतायो । यही सुझाव अनुसार सुनचाँदी व्यवसायी संघले श्रीपेच हेरे पनि मूल्यांकन गर्न हच्क्यो । बरू, श्रीपेच बहुमूल्य भएकाले मूल्यांकन गर्दा महत्त्व घट्ने बताइयो । त्यसपछि बिमाको प्रसंग सेलायो । 

श्रीपेचको सुरक्षा कसले गर्ने भन्ने विषयमा पनि अन्योल भयो । स्रोतका भनाइमा संग्रहालयका तर्फबाट नेपाली सेनालाई पटकपटक पत्राचार गरिएको थियो । तर, सेनाले यस सम्बन्धमा कहिल्यै औपचारिक जवाफ दिएन । 

बरू, अनौपचारिक कुराकानीमा जंगी अड्डाका अधिकारीहरूले संग्रहालय प्रशासनसमक्ष अनौठो सर्त राखे । स्रोतका भनाइमा श्रीपेच प्रदर्शनीमा राख्ने हो भने नेपाली सेना एक्लैले त्यसको सुरक्षा गर्न सक्दैन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) सहितको संयुक्त कमान्डलाई जिम्मा दिइनुपर्छ ।

सेनाले नै यसको सुरक्षा गरिदेला भन्ने आशा सरकारको थियो । किनभने, नारायणहिटीको भित्री सुरक्षा घेरामा रहेर श्रीपेचको सुरक्षा सेनाले नै गर्दै आएको थियो । संग्रहालयका पूर्वप्रमुख लेखबहादुर कार्की भन्छन्, “सेनाको सर्तपछि प्रदर्शन गर्ने योजनामा अन्योल सिर्जना भयो । 

सेना, प्रहरीलाई त बस्ने ठाउँ थियो । तर, राअविलाई कहाँ राख्ने ? यही कुराले हामी अप्ठ्यारोमा पर्‍यौँ ।” 
श्रीपेच प्रदर्शन गर्ने योजना तुहिए पनि ०७२ को गणतन्त्र दिवसका दिन श्रीपेच प्रदर्शनीमा राख्ने तयारी भएको थियो । यसै क्रममा संस्कृति मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठलगायत सुरक्षा निकायका अधिकारीहरू नारायणहिटी पुगेर श्रीपेचको स्थिति अवलोकन पनि गरेका थिए ।
 
तर, १२ वैशाख ०७२ को भूकम्पका कारण श्रीपेच प्रदर्शनीमा राख्ने दोस्रो योजना पनि तुहिएको बताउँछन् संग्रहालय प्रमुख ढुंगाना । उनका भनाइमा प्रदर्शनीका लागि रक्षा, गृहलगायत सम्बद्व मन्त्रालयमा पत्राचार पनि गरिएको थियो । भन्छन्, “तर, पत्र घुम्दाघुम्दै १२ वैशाखमा भूकम्प आयो । त्यसपछि त सरकारको प्राथमिकता श्रीपेच प्रदर्शनीमा नहुनु स्वाभाविक थियो ।”

संस्कृति मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयका अधिकारीहरू तेस्रो पटक फेरि श्रीपेच प्रदर्शनको प्रयास गर्दैछन् । तर, श्रीपेचको सुरक्षा कसले गर्ने, चोरी वा क्षति भएमा क्षतिपूर्तिको व्यवस्था कसरी गर्ने भन्ने समस्या ज्यूँका त्यूँ छ । 

प्रकाशित: भाद्र ६, २०७३