हावाको घातक हमला

  • काठमाडौँ उपत्यकामा मापदण्डभन्दा निकै बढी हानिकारक कार्बन

- बाबुराम विश्वकर्मा

अमेरिकाको एल विश्वविद्यालयले डेढ वर्षअघि गरेको अध्ययनले काठमाडौँ उपत्यकालाई वायु प्रदूषणका दृष्टिले संसारको दोस्रो खराब सहर किटान गर्‍यो । उक्त अध्ययन अनुसार दक्षिण एसियामा काठमाडौँ बंगलादेशभन्दा पनि खराब अवस्थामा दरियो । त्यस्तै विश्व प्रदूषण इन्डेक्स, २०१६ ले काठमाडौँ उपत्यकालाई वायु प्रदूषणका आधारमा संसारको तेस्रो सहरका रूपमा चित्रित गरेपछि विषाक्त हावाका अभ्यस्त उपत्यकावासीका लागि त्यसले मुटुमा ढ्यांग्रो ठोक्ने काम गर्‍यो । 

पाँच वर्षयता काठमाडौँ उपत्यकामा मास्क लगाएर सडक वा सार्वजनिक स्थानमा निस्किने सर्वसाधारणको संख्या बढ्दै गएको छ । सहरमा बढेको वायु प्रदूषणबाट श्वास नै फेर्न कठिन हुन थालेपछि त्यसबाट जोगिनका लागि स्वास्थ्यप्रति सजग जनसाधारणले मास्कको प्रयोग गर्ने गरेका छन् । हुन पनि कुनै बेला अस्पताल र स्वास्थ्य संस्थाका चिकित्सक एवं कर्मचारीले मात्र प्रयोग गर्ने नीलो तथा हरियो रंगको सर्जिकल मास्कसमेत अचेल अरूले बाक्लै प्रयोग गरेको भेटिन्छ । तर, हावामा मिसिएको विषादीको अनुपातले गर्दा मास्कको भरमा काठमाडौँको दूषित तथा घातक वायुबाट जोगिने समय सकिएको छ । विज्ञहरूका अनुसार अहिलेको घातक वायुबाट बजारमा पाइने सामान्य मास्कहरूले जोगाउन सक्दैन । त्यस निम्ति एन–९५ मास्क प्रयोग गर्नुपर्ने हुन्छ । यो मास्क बजार उपलब्ध भए पनि यसको मूल्य पाँच सयदेखि पाँच हजार रुपियाँसम्म पर्ने भएकाले सर्वसाधारणको पहुँँचबाहिर छ । 

वातावरण विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलका अनुसार हावामा मिसिएको असाध्यै सानो प्राणघातक कणलाई प्राविधिक भाषामा पीएम–२.५ भनिन्छ । आँखाले देख्न नसकिने यो कण हामीले खाने हावाबाट सीधै फोक्सो हुँदै रगतमा पुगेर घातक रोगको स्रोत बन्छ ।

यो कणलाई अहिले चल्तीमा रहेका मास्कले छेक्न सक्दैनन् । त्यसैले पीएम २.५ लाई चिकित्सकहरू चाहिँ प्राणघातक कार्बन मान्छन् । यो कार्बन हावामा जति कम छ, त्यति नै मानव स्वास्थ्यमा कम असर पर्छ, कार्बन हावामा जति बढी छ, त्यति नै मानव स्वास्थ्य खतरामा पर्छ । विश्व स्वास्थ्य संगठनले हावासम्बन्धी विश्व मापदण्ड किटान गरेको छ । उसको मापदण्ड अनुसार हावामा पीएम–२.५ को मात्रा १० माइक्रोग्राम पर मिटर क्युबभन्दा बढी हुनुहुँदैन । तर, हाम्रो हावामा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा आठ गुणा बढी अर्थात् ८० माइक्रोग्राम पर मिटर क्युब भन्दा बढी हानिकारक कार्बन फेला परिसकेको छ ।

हावाको स्वच्छता कायम गर्ने मामिलामा नेपाल विश्व स्वास्थ्य संगठनको मापदण्डमा कहिल्यै पुग्न सक्दैन भन्ने ठानेर होला नेपालका नीति निर्माताले पीएम–२.५ को राष्ट्रिय मापदण्ड विश्व स्वास्थ्य संगठनको भन्दा चार गुणा बढी अर्थात् ४० माइक्रोग्राम पर मिटर क्युब कायम गरेका छन् । तर, यही राष्ट्रिय मापदण्ड अनुसारको हावा पनि नेपालीले पाएका छैनन् । विभागका सिनियर डिभिजनल केमिस्ट पौडेल भन्छन्, “विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको हावा हाम्रो हुम्लाको रारा तालको छेउमा पनि नहोला । तर, राष्ट्रिय मापदण्डसमेत नाघेर हामी घातक हावा खान बाध्य भएका छौँ । हाम्रो हावामा कार्बन धेरै छ र यो घट्दो होइन, बढ्दो छ । यो साह्रै चिन्ताको विषय हो ।”

अत्यासलाग्दो स्थिति

स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ०७० फागुनदेखि ०७१ माघको एक वर्षे अवधिमा काठमाडौँको पुतलीसडक, ललितपुरको महालक्ष्मीस्थान र भक्तपुरको जगातीमा वायु मापक मेसिन (डस्ट मोनिटर) राखेर गरेको अध्ययनले काठमाडौँ उपत्यकाको हावामा प्राणघातक कण रहेको निचोड प्रस्तुत गरेको छ । परिषद्ले उपत्यकाको हावामा कायम पीएम–२.५ र त्यसले श्वासप्रश्वासमा पारेको असर विषयमा गरेको उक्त अध्ययन नेपालको अहिलेसम्मकै विस्तृत हो । उक्त अध्ययनले मंसिर, पुस, माघ, फागुन, चैत, वैशाख र जेठ महिनाको पीएम–२.५ बढेर ४२.३ देखि ८५. ५ सम्म पुगेको देखाउँछ ।

यो राष्ट्रिय मापदण्डभन्दा धेरै बढी हो । त्यस्तै असार, साउन, भदौ, असोज र कात्तिक महिनाको पीएम २.५ बाट बढेर १९ देखि ३९ सम्म कायम रहेको देखाउँछ । लोडसेडिङमा थोत्रा जेनेरेटर चलाइने भएकाले सामान्य अवस्थामा भन्दा लोडसेडिङको अवधिमा कार्बनको मात्रा ५७.५४ माइक्रोग्राम पर मिटर क्युब पुग्ने गरेको देखिएको छ । सामान्य बेला यो दर ४३.१५ मा रहेको छ । दैनिक रूपमा चाहिँ बिहान ५ बजेदेखि ९ बजेसम्म ४६ बाट बढेर ८६.६ सम्म पुग्ने गरेको छ । यो स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ ।

जोखिममा स्वास्थ्य

वातावरण र वायु प्रदूषणका कारण मर्नेको संख्या हरेक वर्ष बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०१२ मा वायु प्रदूषणबाट ७० लाख मानिसले ज्यान गुमाएको जनाएको छ । दूषित वायुबाट सबैभन्दा बढी ज्यान गुमाउने देशमा भारत परेको छ । सन् २०१३ मा चीनमा दूषित वायुका कारण पाँच लाख मानिसको मृत्यु भएको थियो । प्रदूषित वायुका कारण नेपालमा वार्षिक कति मानिसको ज्यान गएको छ भन्ने अध्ययन नभए पनि भारत र चीनको तस्बिरले हाम्रो अवस्था ती देशको भन्दा गतिलो नभएको अनुमान गर्न गाह्रो छैन । किनभने, भारतको प्रदूषित हावाले हाम्रो मधेसलाई दुई–तीन महिना तुँवालोको सिकार बनाउँदै आएको छ भने हाम्रो प्रदूषण चीन र भारतका कतिपय सहरभन्दा पनि अझ खराब भइसकेको छ । अमेरिकामा भएको एक अध्ययन अनुसार दूषित वायुले सरदर १४ वर्ष आयु घट्ने तथ्य सार्वजनिक गरेको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा खेम कार्की दूषित हावाका कारण फोक्सो तथा मुटुको रोग, हृदयघात, श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात र क्यान्सर, छालाको एलर्जीजस्ता रोग लाग्ने बताउँछन् । भन्छन्, “हावा होइन, हामीले विष खाएका छौँ । हाम्रो आयु घटिरहेको छ र अनेक दीर्घ रोगको स्रोत शरीरभित्र पसिसकेको छ ।” परिषद्ले दूषित हावाले स्वास्थ्यमा के कस्तो असर पारेको छ भनेर वायुको अध्ययन गरेका बेला त्यो अध्ययनसँग जोडेर उपत्यकाका १२ वटा अस्पतालका श्वासप्रश्वासका बिरामीहरूको समेत अध्ययन गरेको थियो ।

हावामा पीएम–२.५ को मात्रा चार गुणा बढेका बेला दमका रोगीको संख्या ६ प्रतिशत, निमोनिया भएर अस्पताल भर्ना हुने बिरामीको संख्या १६ प्रतिशत र मृत्युदर १८ प्रतिशतले बढेको देखिएको थियो । दूषित हावाले मानव स्वास्थ्यमा पारेको असरको विस्तृत अध्ययन खर्चिलो हुने भएकाले मुटुरोग र क्यान्सरको प्रवृत्ति भने अध्ययन गर्न सम्भव नभएको परिषद्ले जनाएको छ । बिहानको हावामा कार्बनको मात्रा अरू बेलाको भन्दा बढी देखिएका कारण परिषद्ले उपत्यकावासीलाई ‘मर्निङवाक’ नगर्न सुझाएको छ । डा कार्की भन्छन्, “हामी स्वस्थ बन्न बिहान हिँड्छौँ तर दूषित हावाले हामीलाई बिहान अझ बढी हमला गर्छ ।”

उपत्यकाका ठूला अस्पतालमा अचेल दैनिक करिब १० प्रतिशत श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी आउने गरेको केही अस्पतालको अध्ययनले देखाउँछ । यसबाट काठमाडाँैमा घातक हावाले मानव स्वास्थ्यलाई ठूलो झट्का दिएको स्पष्ट हुन्छ । सन् १९९० मै विश्व बैंकले गरेको अध्ययनले काठमाडौँ उपत्यकाको दूषित वायुका कारण पाँच हजार बालबालिका लहरेखोकीको सिकार भएको र २० हजार व्यक्तिलाई दमको रोग लागेको तथ्य उजागर गरेको थियो ।

बिचरा वातावरण मन्त्रालय 

ठूला सहर र साना बजारहरूमा समेत दूषित वायु मन्द विष बनेर मानव शरीरमा प्रवेश गरेको छ । तर, स्वच्छ हावा पाउने जनसाधारणको सपना पूरा गर्ने सरकारी तयारी भने शून्य अवस्थामा नै छ । लोडसेडिङका कारण जेनेरेटरबाट निस्कने धूवाँ, सडक विस्तार, एक दशकयता सवारी साधनमा भएको तीन गुणा बढोत्तरी आदि कारणले घातक वायुको प्रकोप बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको जनसंख्या वृद्धि, अव्यवस्थित बसोवास अनि भूकम्पले भौतिक पूर्वाधार ध्वस्त भएका कारणले वायु प्रदूषणलाई अरू बढाएको छ । तैपनि, दूषित वायुको घातक प्रकोपलाई बेवास्ता गरिएको छ ।

यतिसम्म कि नेपाल सरकारले पहिलो पटक वायु प्रदूषण मापन गर्न जम्मा २ करोड ५ लाख बजेट विनियोजन गरेको छ । यो रकमबाट वायु प्रदूषण मापन गर्ने एउटा मेसिन पनि खरिद गर्न सकिँदैन । वातावरण मन्त्रालयका अधिकारीहरू सरकारकै जिम्मेवार पदाधिकारीलाई विषयको गहिराइ बुझाउनै नसकिएको धारणा राख्छन् । दूषित वायुको प्रकोप रोक्न र मानव स्वास्थ्य जोगाउन सरकारी स्तरबाट भएको तयारी हेर्दा राम भरोसामा घातक हावा खाएर बाँच्नुको विकल्प देखिँदैन । अहिले काम थाल्ने हो भने पनि काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्न करिब २० वर्ष लाग्छ । उपत्यकाबाहिर त कुनै कामै भएको छैन । कुनै बेला काठमाडौँ जत्तिकै प्रदूषित मेक्सिको सहर अहिले स्वच्छ हावामा बाँच्न थालेको छ । अनेक विधिले त्यहाँको दूषित हावा हटाइएको छ तर यहाँ दूषित वायु घटाउने होइन, बढाउने काम भएको छ ।

सबैको उपेक्षामा परेको जनसंख्या तथा वातावरण मन्त्रालयको वातावरण विभागको जिम्मामा छाडिएको छ वायु तथा वातावरण प्रदूषणसम्बन्धी काम । विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठ भन्छन्, “यो काम सबैको प्राथमिकतामा पर्न सकेको छैन । यो मन्त्रालय नै उपेक्षामा छ । एउटा निकायको बुतामा मात्र यति ठूलो महत्त्वको काम सम्पन्न गर्न सकिँदैन । दूषित वायु नियन्त्रण गर्न अब राष्ट्रिय 

संकल्प चाहिन्छ ।” 

एउटा वायु मापक यन्त्रको लागत मात्रै करिब चार करोड रुपियाँ पर्छ, त्यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको छैन् । त्यसैले दाताको सहयोगको आशमा बस्न बाध्य छन् विभागका अधिकारीहरू । वायुको अवस्था पत्ता लगाउने, त्यसले स्वास्थ्यमा पारेको असरको विस्तृत अध्ययन गर्ने र वायुको स्वच्छता कायम गर्न अपनाउनुपर्ने दीर्घकालीन तयारीको सन्दर्भमा देश शून्य अवस्थामै छ । तर, प्रदूषित हावा नियन्त्रण गर्न माखो नमारे पनि सरकारले वायु नियन्त्रणका निम्ति कागजी काम भने रोचक तरिकाले गरेको भेटिएको छ । वायु प्रदूषण नियन्त्रणसम्बन्धी सरकारी मापदण्डका सूची दुई दर्जनभन्दा बढी भइसकेको छ । सरकारी मापदण्ड र सहरको दूषित वायुको बढोत्तरी करिब उस्तै देखिन्छ । सरकारले २० वर्ष पुराना सवारी हटाउने भनेको धेरै वर्ष भइसकेको छ । तर, यातायात व्यवसायीको दबाबका कारण उपत्यकाबाट थोत्रा गाडी हटाउन सकिएको छैन, बरू विभिन्न तरिकाले सवारी साधन थप्ने र सहरलाई अरू उकुसमुकुस पार्ने काम भएको छ ।

डेनमार्क सरकारको सहयोगमा सन् २००३ देखि २००७ मा जनसंख्या तथा वातावरण मन्त्रालयले काठमाडौँ उपत्यकाका ६ ठाउँमा सातवटा वायु गुणस्तर मापक यन्त्र सञ्चालन गरेको थियो । त्यतिबेलाको उपत्यकाको वायु अहिलेको भन्दा केही स्तरीय थियो । त्यसपछि ०७० मा उपत्यकाका तीन ठाउँका करिब १० महिना वायु मापन गरिएको थियो । त्यसयता सरकारले देशको वायु स्तर मापन गर्नसमेत सकेको छैन । सरकारी निकायसँग अहिलेसम्म हाम्रो वायुको स्तर मापन गर्न सक्ने यन्त्र समेत छैन । दाताले दिएका मेसिन बिग्रिएपछि अहिले जनसंख्या तथा वातावरण मन्त्रालयले ती मेसिन लिलामीको तयारी गरेको बुझिएको छ ।

 

बल्ल बामे सर्ने तयारी 

दुई वर्षअघि एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)को सर्वेक्षणले देशका ५६ स्थानमा वायु मापन गरिनुपर्ने आवश्यकता औँल्याएको थियो । उक्त सर्वेक्षणले उपत्यकामा चाहिँ १५ ठाउँमा वायु मापन गरिनुपर्ने सुझाव पेस गरेको थियो । सोही सुझावका आधारमा यस वर्ष दाताकै अनुदानमा वातावरण विभागले काठमाडौँ उपत्यकाका नौ स्थानमा वायु मापन गर्ने तयारी गरेको छ । त्यस अन्तर्गत पहिलो चरणमा रत्नपार्कको शान्तिवाटिका, पुल्चोक इन्जिनियरिङ क्याम्पस र धुलिखेलको काठमाडौँ विश्वविद्यालयमा वायु मापक मेसिन राख्ने भनेको छ ।

यसका लागि विभागलाई इसिमोड र काठमाडौँ दिगो सहरी यातायात आयोजनाको आर्थिक सहायता रहेको छ । यस वर्षभित्र एउटा मोबाइल भ्यानमा र मच्छेगाउँ, चन्द्रागिरि, भक्तपुर, खुमलटार र टेकुमा वायु मापक यन्त्र राखिने जनाइएको छ । यी स्थानमा मेधसिन राखेर एक वर्ष अनुगमन गरेपछि उपत्यकाको वायुको स्थिति थाहा पाउन सकिने वातावरण विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठको कथन छ । उनका अनुसार अहिले सबै निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्कै अध्ययनमा भर पर्नुपर्ने अवस्थामा छन् ।

वायु प्रदूषण नियन्त्रणका लागि विभागले दक्षिण एसियाली विकास बैंकसँग मिलेर २० वर्षे राष्ट्रिय प्रदूषण नियन्त्रण रणनीति तथा कार्ययोजना बनाउने गृहकार्य थालेको जनाएको छ । तथापि, सरकारले हाल गरेका तयारीले सर्वसाधारणले खाइरहेको घातक वायुको गुणस्तर भने सुधार गर्न सक्दैन ।

भक्तबहादुर बलायर जनसंख्या तथा वातावरण मन्त्री भएका बेला उनले उपत्यकाबाट अत्यधिक कालो धूवाँ फाल्ने बिक्रम ट्याम्पु हटाएका थिए । महानिर्देशक श्रेष्ठ थप्छन्, “काम सुरु नै भएन, सुरु भए सुधार हुने थियो । बनेका मापदण्ड लागू नहुँदा, उद्योगी र यातायात व्यवसायीको लापरबाही र जनचेतनाको कमीले हामी हावाको साटो विष खान बाध्य बनेका छौँ, स्रोतको कमीले गर्दा हामीले चाहेर पनि काम गर्न सकेका छैनौँ ।”

घातक हावाको प्रकोपबाट बच्न सबैभन्दा पहिला सहरको वायु तथा वातावरण प्रदूषण नियन्त्रणको प्रभावकारी नीति तथा कार्यक्रम तय गर्न जरुरी छ । उपत्यकाबाट पुराना सवारी हटाउने, सवारी संख्या घटाउने, ठूला र स्तरीय बसहरूको व्यवस्था गर्ने, हरियाली बढाउने, वाकिङ र साइक्लिङ बढाउने एवं दीर्घकालीन रूपमा उपत्यका मेट्रो रेलको सञ्चालन गर्न विज्ञहरूले सरकारलाई सुझाव दिँदै आएका छन् । तर, ती सुझाव कार्यान्वयनको प्रतीक्षामा छन् । दूषित पानी, विषादी हालेका तरकारी र घातक हावा खाएर त्यसै पनि प्रतिव्यक्ति आयु कम भएका नेपालीको आयु अरू घट्ने खतरा बढेको छ ।

प्रकाशित: भाद्र ६, २०७३