सामाजिक विचलनको मिथक

  • अन्त्यसम्म पढिसकेपछि पनि पात्रहरूको जीवनमा देखिएका समस्याको समाधान भने कतै भेटिँदैन ।

- निशान्त खनाल

केही खास व्यक्ति वा कारणले मात्र जबर्जस्ती बाँच्नु पर्‍यो भने कस्तो होला ? अरूले आफ्ना लागि तोकिदिएको बाटोमै आफ्नो जीवन बिताएर आफ्नो परिचय पनि उसैसँग गाँसिएर चिनिनुपर्दा कस्तो अनुभव होला ? र, कुनै बेला अरूले रोजिदिएको बाटो छाडेर आफ्नो छुट्टै परिचय बनाउन हामीले विद्रोह गर्‍यौँ भने के होला ?

दक्षिण कोरियाली लेखक हान काङद्वारा लिखित र देबोरह स्मिथले अंग्रेजीमा अनुवाद गरेको उपन्यास द भेजिटेरियन यी र यस्तै परिवेशमा घुमेको छ । सन् २०१६ को म्यान बुकर पुरस्कार प्राप्त यस पुस्तकलाई विद्रोही कथामा आधारित पुस्तक भन्दा हुन्छ । प्रकृति, यौन र कलालाई सामाजिक मूल्य–मान्यतासँग मिसाएर तीन भागमा लेखिएको पुस्तकको कथा भने प्रमुख पात्र योङ हाइको वरिपरि  घुमेको छ । कुनै पनि भाग योङ आफैँले भनेकी छैनन् । उनको कथा उनका श्रीमान्, बहिनी र बहिनीज्वाइँद्वारा भनिएको छ । उपन्यासको पहिलो भागको कथा योङका श्रीमान्ले भनेका छन्, जसका लागि श्रीमती केवल एक घरेलु काम गर्ने महिला हुन् । योङ असल श्रीमती मात्रै भएर आफ्नो परिचय बनाएकी हुन् र आफ्नो परिचयका लागि उनी श्रीमान्मै भर परेकी छन् । यस अर्थमा योङ पूर्णता खोज्दाखोज्दै अपूर्ण छिन् ।

श्रीमान्को भन्दा आफ्नै परिचयमा बाँच्न खोज्ने योङको चाहना एक शक्तिशाली सपना बनेर आउँछ र सपना देख्ने उपक्रम चलिरहन्छ । यी सपनाले योङलाई एउटा विद्रोही कदम उठाउन मद्दत गर्छ । असल श्रीमतीबाट माथि उठेर आफ्नै परिचय बनाउने क्रममा योङ शाकाहारी बन्ने कदम उठाउँछिन्, जुन दक्षिण कोरियाली समाजमा त्यति प्रचलित छैन । मासुको परिकारबिनाको भान्सा अधुरो हुने दक्षिण कोरियाली समाजमा योङ आफू शाकाहारी मात्रै बन्दिनन् बरू उनले आफ्ना घरमा रहेका सम्पूर्ण मासु मिल्काइदिन्छिन् । फरक पहिचान देखाउन अपनाइएको योङको यो कदमले पारिवारिक सम्बन्धमा तनाव देखापर्छ । योङका श्रीमान् पारिवारिक भेटहरूमा आफ्नी श्रीमतीद्वारा लज्जित हुनुपर्छ । आफ्नै  पितासँग पनि योङको सम्बन्ध बिगँ्रदै जान्छ तैपनि उनी मासु खाँदिनन् ।

दोस्रो भाग योङकी बहिनीज्वाइँ र एक असफल कलाकारको वरिपरि घुमेको छ । एउटा पनि उत्कृष्ट रचना नगरेका उनमा पनि आफ्नो परिचय बनाउने चाहना जागृत हुन्छ र उनको अवचेतन मनले त्यसको प्रेरणा योङ हाइको शरीरमा रहेको जन्मचिह्नमा भेट्छन् । त्यसैलाई आफ् नो कलाका रूपमा विकास गर्ने उनको चाहनाका कारण उनी त्यसै जन्मचिह्न र योङप्रति आकर्षित हुन्छन् । उनको चाहना योङको नग्न शरीरमा उनको जन्मचिह् नजस्तै फूलहरू सिर्जना गर्ने हुन्छ । उनको अवचेतन मस्तिष्कले आफ् नो चाहना पूरा गर्ने क्रममा योङले जस्तै असमान्य लाग्ने काम गर्न पुग्छन् ।

उपन्यासका पहिलो र दोस्रो भागका यी कथा आफ्नो छुट्टै परिचय बनाउन दक्षिण कोरियाली समाजमा वर्जित वा असामान्य लाग्ने क्रियाकलाप गरेका दुई पात्रको मनोविज्ञानमा आधारित छ । यी दुई पात्रले सामाजिक मूल्य–मान्यतालाई चुनौती दिन्छन् र आफ्नै किसिमको जिन्दगी जिउन संघर्ष गर्छन् । सम्पूर्ण उपन्यास यिनै पात्रका मनोविज्ञान, समाज र सामाजिक मूल्य मान्यताको वरिपरि घुमेको छ । यसले गर्दा कथा डार्क हुन पुग्छ र पढ्दै गर्दा पाठकलाई विचलित बनाउन सक्षम हुन्छ ।

उपन्यासको तेस्रो भागको कथा योङकी बहिनी यिन हाइद्वारा भनिएको छ । यिनी कथाकी यस्ती पात्र हुन्, जो बिगँ्रदै गएको आफ्नो परिवार मिलाउन हरसम्भव प्रयास गर्छिन् । उपन्यास पात्रहरूको क्रूर सांसारिक जीवनमा जेलिएको छ । यो उपन्यास आवेग र उत्तेजनाहरूलाई सुन्दर ढंगले प्रस्तुत गरिएको सिर्जना हो । यसमा हाङले दक्षिण कोरियाली समाज र त्यहाँका सामाजिक मूल्य–मान्यताहरूको समेत परिचय दिन भ्याउँछिन् । तीन भाग पढ्दै गर्दा एकपछि अर्को मूल्य–मान्यतालाई दिएको चुनौती र ती मूल्य–मान्यताको अवसान हेर्दै गर्दा यसलाई एउटा सामाजिक विद्रोही उपन्यास भन्दा फरक पर्दैन ।

काङले सामाजिक विचलनको सिकार जोसुकै हुन सक्छ भनेर योङका श्रीमान् र उनका ज्वाइँमार्फत सामाजिक विचलन देखाउन खोजेकी छन् ।

के योङ हाइ उनका परिवार र डाक्टरहरूले सोचेजस्तै साँच्चिकै मानसिक रोगी हुन् ? उपन्यास पढिसक्दा पनि यी प्रश्न भने अनुत्तरित नै रहन्छन् । अन्त्यसम्म पढिसकेपछि पनि पात्रहरूको जीवनमा देखिएका समस्याको समाधान भने कतै भेटिँदैन, जसले गर्दा हाङ उपन्यासलाई काव्यात्मक न्याय दिन चुकेकी हुन् कि जस्तो लाग्छ । उपन्यासका तीनै भागका कथा अत्यन्त मिहिन शैलीमा वर्णन गरिएको छ, केही अति कल्पनाशील वर्णनबाहेक ।  देबोरह स्मिथको अनुवाद सरल र सहज छ । 

द भेजिटेरियन

लेखक    : हान काङ

अनुवाद    : देबोरह स्मिथ

प्रकाशक    : पोर्टेबेलो बुक्स

पृष्ठ    : १८३

मूल्य    : ७९८ रूपियाँ

प्रकाशित: भाद्र १, २०७३