स्लिपर क्लासमा ३१ घन्टा

- गोकर्ण गौतम

सिमेन्टको तातो भुइँ । यति मैलो कि, गोडा टेक्न पनि दिगमिग लाग्छ । दर्जनौँ मान्छे त्यहीँ सुतिरहेका छन्, चप्पलको सिरान हालेर । न ओछ्याउनी छ, न ओढ्ने नै । मान्छेभन्दा झिँगा धेरै, लामखुट्टे उस्तै । ती कर्कश आवाजसहित जीउमा लडीबुडी गरिरहेका छन् तर कसैको निद्रा बिथोलिएको छैन । यति मस्तसँग सुतिरहेका छन्, मानौँ महिनौँपछि उनीहरू यति ढुक्कले सुत्न पाएका हुन् । जबकि, त्यहाँको गन्ध र बाफिलो हावाले टाउको फुट्लाजस्तो हुन्छ । मास्कले गन्ध थेग्दैन, हातैले नाक च्याप्नुपर्छ । 

दृश्य हो, रक्सौल रेल्वे स्टेसनको । खुला ठाउँमा त्यति बिजोगसँग सुतिरहेका मान्छे अघिल्लो वर्ष भूकम्प आउँदा काठमाडौँमा पनि देखिएको थिएन । तर, रेलवे स्टेसनका लागि यो दृश्य नियति र दैनिकी पो रहेछ । मेरो पीडादायी भावभंगिमा देखेर हुनुपर्छ, सहयात्री विमल सुवेदीले जिस्काइहाले, “अघि मैले रेल गुड्ने बेला मात्र स्टेसन छिर्नुपर्छ भनेर यहाँ आउन किन ढिला गरेको थिएँ, थाहा पाउनु भयो नि !” फिस्स हाँस्नुको विकल्प थिएन । 

३ साउनको साँझ वीरगन्ज ओर्लंदा ज्यान हपहपी गर्मीको सिकार भयो, मनचाहिँ कौतूहलको भोको । फेरि यात्रा त्यहीँ सीमित थिएन, राती साढे १२ बजेको रेल समात्न रक्सौल पुग्नुपथ्र्यो । त्यहाँबाट दिल्ली । तर, रक्सौल स्टेसनको त्यही दृश्य नौलो मात्र होइन, भयावह नै थियो । फिल्म र फोटोमा धेरै रेल र स्टेसन हेरियो तर त्यो हदसम्मको फोहोर र कन्तबिजोग होला, कहिल्यै सोचेको थिइनँ । भुइँमा बेपर्वाह पल्टिरहेका मान्छेका मायालाग्दा मुहार अनि च्यातिएका र मैला लुगा । 

निर्धारित समय अर्थात् राती साढे १२ बजे सद्भावना एक्सप्रेस गुड्यो । पहिलो रेल यात्रा, त्यसमाथि स्लिपर क्लासमा । विमल भन्दै थिए, समय र स्रोत छैन भने रेलको स्लिपर क्लासमा यात्रा गर्नुपर्छ रे ! किनभने, त्यहीँ देखिन्छ, वास्तविक भारत–भारतीय । लेखकहरू कथा र पात्र खोज्न स्लिपरको सहारा लिन्छन् । विमलका यस्ता कुराले शीतल हुन्थ्यो, धेरै कुरा देख्न र सिक्न पाइने भयो भनेर । सँगै चिन्ता पनि, कति दु:ख र सास्ती झेल्नुपर्ने हो भनेर । तैपनि, जे होला ! आखिर रेल गुडी त हाल्यो ।

पहिलो स्टेसन भएकाले त्यति भीड थिएन । पल्टिन मिल्ने सिट पनि पाइयो, झोलाको सिरानी हालेर सुतियो, दुई–चार माखालाई रुमाल हल्लाएर तर्साउँदै र भगाउँदै । बिउँझदा बिहान ६ बजिसकेको थियो, यसो बाहिर हेरेको साइदपुर आइपुगेको रहेछ, जक्सनमा रोकियो रेल । मान्छेहरू तँछाड–मछाड गर्दै भित्र छिर्न थालिहाले, झ्याम्मै अर्काको सिटमा बसिदिने सोध्दै नसोधी । आफ्नो सिट जोगाउनै हम्मेहम्मे पर्न थाल्यो । न महिलालाई कुनै आरक्षण, न बच्चा र ज्येष्ठ नागरिकलाई नै । कपाल फुलेका वृद्धवृद्धा यति ठेलमठेल गर्दै चढ्थे कि आफू बसिरहेको सिट नछोडी मनै नमान्ने । शौचालय जान पनि हिचकिचाउनुपर्ने, आउँदा सिटमा अर्कैले कब्जा जमाउने डर । फेरि शौचालय नेपालका सरकारी अस्पतालको भन्दा बढी दुर्गन्धित र फोहोर । पानीको आशा गर्नु नै बेकार । 

लौ, भित्र त उकुसमुकुस भयो भयो, कम्तीमा बाहिर त आँखा शीतल हुने दृश्य देख्न पाइयोस् न ! तर, कहाँ पाउनु, बाहिरको दृश्य अझ घिनलाग्दो । कि फोहोरको रास देखिन्थ्यो, कि खुला चौरमा दिसा गरिरहेका मान्छेको लहर । भर्खरै रोपाइ गरिएको हरियाली खेत पनि नदेखिएको होइन तर फोहोर र खुला शौचको दृश्य भुलाउन काफी थिएन । गाजीपुर नपुगुन्जेल अघिल्तिर ट्वाक राखेर खुला स्थानमा दिसा गरिरहेका सयौँलाई देखियो, यस्तो लाग्थ्यो, रेल खुला दिसा आरक्षित क्षेत्रमा गुडिरहेको छ, हाम्रा टिमका सुजन वलीलाई रमाइलो लागेछ क्यारे ! दिसा बसेको देख्नासाथ झ्यालबाट हात बाहिर निकालेर ‘लाइक साइन’ ठोकिहाल्थे, रेलका यात्रु कोही हाँस्थे, त कोही लजाउँथे । म भने प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको स्वच्छ भारत अभियानको वास्तविकता देख्न पाउँदा दंग !

बनारसबाट चढेका चन्द्रमोहन मेरै सिटमा आएर बसे, ती आमयात्रुभन्दा सुकिला–मुकिला देखिन्थे । मैले सोधिहालेँ, “यहाँ घरमा शौचालय हुँदैन कि भए पनि मान्छेहरू दिसा गर्न खुला ठाउँ पुग्छन् ?” मेरो परिचय लिएपछि उनी मुस्कुराए र भने, “सुरुमा सरकारले शौचालय बनाउन अनुदान दियो, कतिले रक्सी पिएर त कतिले घरखर्चमा सके । पछि सरकारले आफैँ शौचालय बनाइदियो । त्यसलाई दिसापिसाब गर्न होइन, अन्न र सामान राख्न प्रयोग गरियो ।” 

दिउँसो ४ बजे रेल लखनउ पुग्यो, यात्रु थपिएका थपियै । बिहानदेखि पानी, केरा र भिजाएको चनाबाहेक पेटमा केही परेको छैन । भित्रको माहौल यति कष्टकर र दुर्गन्धित छ कि जस्तै मिष्ठान्न दिए पनि घाँटीबाट छिर्न मुस्किल पथ्र्यो । त्यस्तो बेला त भोक पनि नलाग्ने रहेछ । अवस्था कस्तो बन्दै गयो भने हातमा टिकट थियो तर सिट थिएन । रेलको छानामा पंखा झुन्डिएको थियो तर कान खाने आवाज आउँथ्यो, हावा होइन । झ्यालबाट आउने हावाको गन्ध, झन् खपिनसक्नु । जहाँ–जहाँ रेल रोकिन्थ्यो, भित्रको भीड बढ्दै जान्थ्यो, बाहिर घाम चर्कंदै । गर्मीले ज्यान तात्न र पोल्न सुरु भयो । एउटाको अनुहारबाट निस्केको पसिना अर्काको शरीरमा झथ्र्यो । गन्हाउने उस्तै । ज्यान चिलाउन थाल्यो तर यात्रा अझ आधा भएको छैन । क्या फसाद !
 
भारतमा रेल सेवा सुरु भएको डेढ शताब्दी नाघेको छ । त्यतिबेला अंग्रेजहरूले नागरिकको यातायात सुविधाभन्दा प्रशासनिक हस्तक्षेपका लागि रेल सञ्चालन गरेका थिए । तर, अन्तत: भारतको विकासको मूल आधार यही रेल बन्न पुग्यो । भारतीय जीवनको धमनी हो रेल । १६ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसैले हरेक पार्टी र सरकारले रेललाई आफ्नो मूल एजेन्डाभन्दा बाहिर राख्दैनन् । तर, दुर्भाग्य ! मेट्रोबाहेक लामो दूरीको रेल सेवाको हबिगत दयनीय छ । मोदीले पनि रेलवे स्टेसनलाई विमानस्थलझैँ सुरक्षित, सफा र सम्पन्न बनाउने उद्घोष गरेका थिए । १५ दिने भारत भ्रमणका क्रममा दर्जनौँ स्टेसन देखेपछि भन्न करै लाग्छ, अधिक स्टेसन अहिले पनि खुला शौचालयझैँ दुर्गन्धित छन् । 

यस्तै दुर्गन्धित स्टेसन र रोड झेल्दै रेल अघि बढिरहेको छ । ढल्कन त पाइँदैन, धन्न बस्ने मेसो मिलेको छ । हाम्रो थकित ज्यान र मनलाई विमल बेला–बेला ढाडस दिइरहन्छन्, सुल्तानपुर नाघेपछि उनले भने, “दिल्ली पुग्न १२ घन्टा मात्र बाँकी छ । बाँकी यात्रामा स्लिपर चढ्न पाइन्न । त्यसैले रेलभित्रको समाजलाई सक्दो नजिकबाट नियाल्नूस् ।” उनले यस्तो बेला भनेका थिए, जतिबेला पसिना र श्वासको गन्धले पेट हुँडल्न थालिसकेको थियो । कहिले बिहान होला र दिल्ली झरौँला भन्ने व्यग्र प्रतीक्षामा थियौँ हामी ।

रात त पर्‍यो तर आँखा जोडिए पो, आफ्नै शरीर पसिनाले निथु्रक्क छ, त्यसमाथि अर्को त्यस्तै शरीरसँग जोडिएको छ अनि कहाँबाट निद्रा लागोस् ! फेरि कोही बसेको बस्यै निदाउने र घुर्ने, बच्चा रुने उस्तै, कोही सिटमा बस्न नपाएकाले झगडा गरिरहेका हुन्थे । कोही लुकेर रक्सी र चुरोट तानिदिने, गन्धमाथि गन्ध । यसबीचमा पनि निद्रा लाग्यो भने सामान चोरी होला भन्ने डरले मनमा डेरा जमाउँथ्यो । अनि, रातभर जागा हुनुपरेन त ! तैपनि, पालैपालो एक–दुई घन्टा भए पनि सुत्न पाइयो टिममा भएकाले, एक्लै हुँदो हो त यही पनि नपाइने । 

५ साउन बिहान ४ बजे गाजियावाद पुगियो । साँच्चै भन्दा अब बोल्न सक्ने अवस्था थिएन, कति बेला दिल्ली पुगिएला भन्ने चिन्ता मात्र । जब आफूलाई हतार हुन्छ, घडी ठ्याक्कै अडिन्छ, अगाडि बढ्दैन भन्थे । गाजियावाददेखि दिल्ली नपुगुन्जेलसम्म म आफैँले भोगेको पीडा हो यो । यो तीन घन्टाको समय तीन दिनजस्तो लामो र पट्यारलाग्दो लाग्यो । रक्सौलबाट हिँडेको ३१ घन्टामा विमलले बल्ल सुनाए, ‘ल है पुरानो दिल्ली आइपुगियो ।’

कतिबेला ढोकाबाट हाम्फालौँ जस्तो भयो किनभने यो यात्रामा सबैभन्दा बढी स्वच्छ हावा नै मिस गरेको थिएँ । जोसले ढोकाबाट झरेँ, यस्तो लाग्यो, तावाबाट उम्किएको माछा भुंग्रोमा पर्‍यो । दिसा–पिसाबले भरिएको रेलको पटरी, रक्सौल स्टेसनमा झैँ भुइँमा बेवारिसे सुतिरहेका मान्छे र बिहानै चर्किएको घामको पीडा रेलभित्रको भन्दा कम आततायी थिएन । नाक च्यापेरै श्वास फेर्नुपर्ने बाध्यता 
यहाँ पनि हटेन । यही हालतका बीच पनि मित्र दिलीप रानाभाटले मजाक गरिहाले, “यसलाई भन्छन्, आधुनिक भारतको अग्र्यानिक स्वागत !” 

प्रकाशित: भाद्र १, २०७३