व्यक्तिचित्र» जोगी जिन्दगी

  • घर, अफिस, गाडी, पत्नी, छोराछोरीको जन्जालमा फस्दै फसेनन् पीएल सिंह । लाग्छ, लुकेका कुरा केही छैन, सबै ओपन–सिक्रेट ।

- राजकुमार बानियाँ

मेयरदेखि मन्त्रीसम्म, पार्टी प्रवक्तादेखि पार्लियामेन्टरियनसम्मका तमाम पद भूतपूर्व भइसकेका छन्, पीएल सिंह, ७८, का । उनको भूतपूर्व नभएको भन्नु मोबाइल नम्बर मात्र हो । ९८५१०२०८१९ नम्बरको सेलफोनमा सबैलाई सधैँभरि स्वागत छ ।

घर, अफिस, गाडी, पत्नी, छोराछोरीको जन्जालमा फस्दै फसेनन् पीएल । लाग्छ, लुकेका कुरा केही छैन, सबै ओपन–सिक्रेट । “ती सबथोक चाहिन्छ भन्ने मलाई थाहा नभएको होइन,” उनी जोगी–जिन्दगी फर्माउँछन्, ‘तर, त्यसकै लागि बदमासी किन गर्ने ?”

उनी आफूलाई ‘पीएलएस’का रूपमा चिनाउँछन् । अर्थ पनि लगाउँछन्, पिपल लभ सर्भिस । त्यसका निम्ति पीएल कहिले महालक्ष्मीस्थान, कहिले ताम्सीपाखा, कहिले बाँडेगाउँ, कहिले विशालनगर, कहिले चाक्सीबारीमा भेटिन्छन् । आफ्ना मालसामान कहाँ कहाँ छन्, उनैलाई थाहा छैन । 

उनमा हस्याङफस्याङ कति छ भने तीनपाने व्यक्तिचित्र तयार पार्न तीन दिन पाँच ठाउँमा कुदाए । सोल्टी होटल, ताम्सीपाखा, ठहिँटी र जैसीदेवलका भट्टी अनि चाक्सीबारी । गणेशमान सिंहबारे लेखिएका एक दर्जन पुस्तक पढेर आउने होमवर्क पनि दिए । “मैले आफ्नो बारेमा के भन्नु ? एक महिना चुपचाप मसँगै हिँड्नु अनि आफूलाई लागेका कुरा लेखिदिनू,” उनलाई म्यागेजिनको डेडलाइन छु मतलब ? 

कहिल्यै एकै ठाउँमा नबस्ने पीएल श्रीधर राणा रिम्पोचेको डेढ महिने समर क्याम्पमा अडे भन्दा पनि विस्मात् लाग्छ । हालसालै गणेशमान सिंहका ड्राइभर हरिनारायण रञ्जितकारको कुरुवा भएर गणेशमान हस्पिटल महालक्ष्मीस्थानमा डेढ महिना बसेछन् । हल्ला चल्यो, ‘पीएल त हस्पिटलकै क्याबिनमा बस्न थालेको छ ।’ 

कुराकानीकै बखत सीतापाइलाका कृष्ण लामाको फोन आयो । उनले चाक्सीबारीकै हलाल रेस्टुराँमा बोलाए । १६ वर्ष खाली खुट्टा हिँडेका लामालाई जुत्ता किन्न खाममा दुई हजार रुपियाँ हालेर दिए । यी चमत्कारी पीएल बनावटी कुरा जान्दैनन् । कसैले ‘दाइलाई त बिल क्लिन्टनजस्तो पो देखिएको छ’ भन्यो भने नेवारी गाली मिसाएर ठाडै खान्छन्, “... बिल क्लिन्टन पो पीएलजस्तो होला त ।”

उनका दुई इष्टमित्र छन्, सुवास तामाङ र वल्लभ महर्जन । कहिलेकाहीँ मीन बज्राचार्य पनि हुन्छन् । उनीहरूका मोटरसाइकलको पछाडि बसेर विवश मानिसहरूलाई एम्बुलेन्स सेवा दिइरहेका हुन्छन् । उनी तिनीहरूलाई आफूकहाँ बोलाउँदैनन्, बरू आफैँ बोलाएको ठाउँमा पुग्छन् ।

पदभन्दा ‘कज’का निम्ति ६ दशक लडेका पीएल पार्टीमा छैनन्, पदमा छैनन् । तर, मान्छेहरू उनकै वरिपरि झुम्मिन्छन् । “पार्टीमा जाँदा उपप्रधानमन्त्री, पार्टी उपसभापति भइसकेका प्रकाशमान सिंह दाइसँग लिन्ठिङ्ग एक पुलिस हुन्छ,” सुवासको अनुभव छ, “पीएल दाइको वरिपरि भीडभाड लाग्छ ।” 

खासमा उनी काठमाडौँको नरदेवीमा जन्मिए प्रेमलाल सिंहका रूपमा । उनी परे एक्ली छोरीका एक्ला छोरा । उनको लालनपालन मामाघरमा भयो । इन्द्रचोक, चोखाछेँ गल्लीमा मावली बाजे साहू मोहनमानको जिरा–मरिच पसल प्रख्यात थियो त्यतिबेला । 

पीएलका पिता चन्द्रलाल सिंह कम्पाउन्डर थिए । डाक्टरभन्दा लोकप्रिय । एक्लो भान्जाका रूपमा पुलपुलिए पीएल । मावली कति उदार भने पीएल पसलमा पैसा चोर्न आउँदा पनि देख्या नदेख्यै गरिदिने । सन्दुक फुटाउँदा, भाले चोर्दा पनि वास्तै नगरिदिने ।

शान्ति निकुञ्ज स्कुल हुँदै पीएल फर्पिङस्थित त्रिभुवन आदर्श स्कुलमा पुगे । ००७ सालको जनक्रान्तिका योद्धा सत्यनारायणबहादुर श्रेष्ठले खोलेको त्यो नेपालकै पहिलो बोर्डिङ स्कुल थियो । प्राय: ठूलाठालुका बदमास छोराछोरीलाई त्यहीँ भर्ना गरिन्थ्यो । पढाइमा होस् कि बदमासीमा, पीएलको मान्यता थियो, कि फस्ट कि लास्ट ।

फर्पिङको दरबार राजा त्रिभुवनको ‘समर प्यालेस’ मानिन्थ्यो । त्रिभुवन, बीपी कोइराला, गणेशमान सिंंह, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत सबै गन्यमान्य पिकनिक मनाउने जसरी हूल बाँधेर त्यहाँ पुग्थे । ०१२ सालमा पीएलले त्यहीँबाट द्वितीय श्रेणीमा एसएलसी गरे । “पढेर त सबै पास हुन्छन् । त्यसको के मतलब ?” उनी निर्धक्क भन्छन्, “म त नपढी पास भएँ ।”

त्यसपछि धर्मपालवरसिंह थापाको जोडबलमा झन्डै पुलिस भएका थिए पीएल । तर, किन किन उनी थामिए । उनलाई ‘पुलिस’ र ‘फुलिस’ उस्तै लाग्थ्यो । अनि भर्ना भए, त्रिचन्द्र कलेजमा । कम्पाउन्डरका छोरा डाक्टर त बन्नै पर्‍यो ।

आईएस्सी पढ्दापढ्दै पोखरा गए पीएल । तीन महिना त्यतै अलमलिए । “काठमाडौँमा केटीको अनुहार देख्न भोज पर्खनुपथ्र्यो, लभ गर्नलाई पनि गोत्र मिलाउनुपथ्र्यो,” उनी ठट्टा गरिहाल्छन्, “पोखरामा त युवतीहरूलाई जति हेरे पनि पाउने । सुन्तला किन्दा पनि हेर्न पाउने, मिठाई किन्दा पनि हेर्न पाउने ।”

साइन्सका विद्यार्थीको यस्तो चालामाला देखेपछि प्रिन्सिपल ईश्वरीलाल श्रेष्ठले सुझाए, ‘कमर्स ज्वाइन गर ।’ नभन्दै उनी आईकम पढ्न थाले । ०१५ सालको आमचुनावभन्दा पहिले कलेजमा नमुना चुनाव भयो । उनीविरुद्ध उठिन् पुष्पलालकी बहिनी पुष्पलता । “मैले एक भोटले हारेँ । वामपन्थीले नक्कली चुनावमा त झेल गरे भने सक्कलीमा कति गरे होला ?” उनी इतिहासतिर फर्किन्छन्, “पछि विद्यार्थी युनियनको चुनावमा मैले कमलकृष्ण जोशीलाई हराएँ ।” 

त्यही बेला इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथको निम्तोमा १५ दिनका लागि संयुक्त राज्य अमेरिकाको हनलुलु (हवाई) गए पीएल । तर, ११ महिना १५ दिन बसे । त्यसको एउटी कारण थिइन्, गाइड मिस हनलुलु । 

“घोडाको अनुहार परेकी गोरी मैयाँसँग घरजम भएको भए सायद म यता आउँदैनथँे,” उनी रोमान्टिक बन्छन्, “त्यस बेला दर्जनौँ मुलुक घुमेँ, समाजवादी नेताहरू विली ब्रान्ट, मिलोभान जिलास आदिलाई भेटेँ ।” यसरी घुम्दाघुम्दै छोयला, कचिला र बजी सम्झेर फर्किए ।

उताबाट फर्केको चार दिनमै प्रजातन्त्र अपहरण भइहाल्यो । “त्यसको विरोधमा शैलजा आचार्यहरू कालो झन्डा लिएर निस्केको खुबै चर्चा गर्छन्,” उनको अलिकति गुनासो छ, “म, गौरी राणा, सरोज प्रधान, केशवराज पिँडाली पत्नी, जोगमेहर श्रेष्ठहरू चोखाछेँ गल्लीमा कालो झन्डा लिएर निस्केको कतै सुनिँदैन ।”

पञ्चायती सरकारले बीपी, गणेशमानलगायत नेताहरूलाई सुन्दरीजल जेल पठायो । गणेशमान परिवारको हेरचाहको जिम्मा पीएलकै काँधमा आयो । जनाना जेलबाट निस्केकी मंगलादेवीका निम्ति उनले एमकमको जाँचै हापे । सहयोग अहिले चाहिएको छ, जाँच त अर्को वर्ष पनि दिन सकिन्छ भनेर ।

 

सुखद मौसमका यारहरू त पाइलैपिच्छे भटिन्छन् । तर, गणेशमान परिवारको घोर विपत्का सहारा भए पीएल । नारी संघर्षका पाइलाहरूमा मंगलादेवीले लेखेकी छन्, ‘...पीएलले केसम्म गरेनन् ? प्रदीपमान, प्रकाशमान, रीता, कान्ता र मीतालाई स्कुल भर्ना गराउन, पढाउन, खुवाउन झिँझो मानेनन् । १२ वर्षे दीर्घमुद्दामा सघाए । पीएल नहुँदो हो त हामी बूढाबूढीको पहिल्यै मृत्यु भइसकेको हुँदो हो ।’ 

उसो त ००८ सालमै फर्पिङ स्कुलमा सम्पर्क भएको हो गणेशमान र मंगलादेवीसित उनको । गणेशमानकी भतिजी (डाक्टर) निर्मला (मल्ल) त्यहीँ पढ्थिन् । गणेशमानलाई पीएल ‘जेठा बा’ भनी बोलाउँथे । कालान्तरमा उनी गणेशमानका ‘राजनीतिक पुत्र’ नै कहलिए । “म अंश हकदाबी गर्ने धर्मपुत्र होइन,” उनी भन्छन्,  “मलाई अंश दिएको पनि छैन, लिएको पनि छैन ।” 

प्रजातन्त्रका निम्ति जवानी मात्र होइन, जीवन नै दिए पीएलले । उनी आफूलाई ३० वर्षे पञ्चायतको ‘मसान कुरुवा’ मान्छन् । लास ल्याओस् वा आफैँलाई लास बनाओस् । त्यतिका वर्ष आफू कसरी बाँचेँ ? त्यो कथा अहिले आएर उनैलाई विश्वास लाग्दैन ।

यसबीचमा चार–पाँच महिना उनले ‘होलिडे’ मनाए जेलमा । ०४२ सालमा बमकाण्डलगत्तै उनको एक बोल्तीमै सत्याग्रह स्थगित भयो । पत्रपत्रिकामाथि प्रतिबन्ध लाग्दा उनले आरएनएसीका पाइलटदेखि पियनसम्म दोस्ती गरे । ०४६ सालको जनआन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन बटुल्ने अगुवा उनै थिए । 

कांग्रेस प्रवक्ताका रूपमा उनको मिडिया रणनीति गजबकै रह्यो । त्यतिबेला मार्क टली काठमाडौँ आए । बीबीसी, सीएनएन, रोयटर्स, एपी, एएफपीलगायत मिडियाका पत्रकारलाई उनी अझै सम्झिन्छन् । उनी जनआन्दोलनमा ५१ प्रतिशत योगदान मिडियाकै रहेको ठान्छन् ।

जनआन्दोलनले सारा अन्तर्राष्ट्रिय मिडियाको ध्यान खिच्न सफल भएकाले गणेशमान सिंहको राजनीतिक कद पनि उज्यालियो । उनले रोन पिस अवार्ड, उ थान्त पिस अवार्ड, संयुक्त राष्ट्रसंघीय मानव अधिकार पुरस्कार पाए ।

०४९ मा दिल्लीमा थिए पीएल । कांग्रेसले उनलाई ‘लालकिल्ला’ काठमाडौँ महानगरपालिकाको मेयरमा उठायो । जित्छ भनेर होइन, हार्छ भनेर । उनले कसैसँग भोट मागेनन् । तर, जिते । “भोट मागेर त सबैले जित्छन् नि † भोट नमागी जित्नु पो जित्नु ?” उनी उही परिचित शैलीमा भन्छन्, “अर्कोचोटि पनि जित्छ र चर्चित हुन्छ भनेर उम्मेदवार नै बनाएनन् ।” 

पक्कै पनि पाँच वर्षमा काठमाडौँ बन्नेवाला थिएन । उनका उत्तराधिकारी बनेर आए, केशव स्थापित । पीएलले हारगुहार गरेर बटुलेको पैसा खर्चिए । “मैले के के गरेँ होइन, के के गरिनँ, त्यसको फेहरिस्त बनाए हुन्छ,” उनी भन्छन्, “मैले स्वच्छ, सफा, हराभरा काठमाडौँको नारा ल्याएँ । अरूले खल्ती हराभरा बनाए ।” 

मेयरमा उनीविरुद्ध लडेका थिए, राजेन्द्र श्रेष्ठ । ०५६ मा पीएल काठमाडौँ क्षेत्र नं ४ मा पद्मरत्न तुलाधरलाई हराएर सांसद भए । उनको रेस्क्युका लागि मरीचमानसिंह श्रेष्ठ क्षेत्र नं १ छाडेर आएका थिए । पद्मरत्न तेस्रा भए । शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा १४ महिना जनसंख्या तथा वातावरणमन्त्री भए पीएल । “जसको बिहे गरेको छैन, उसैलाई जनसंख्या मन्त्रालय दिए,” उनी हँसाउँछन्, “मन्त्रीहरू नै मेरो ईष्र्या गरेर भन्थे– पीएल दाइ फेरि बाहिर (विदेश) जाने ?”

मेयरका रूपमा त उनले आफूलाई ‘ किङ अफ स्विपर्स’ भन्दा बढी पाएनन् । “मैले त काठमाडौँ नगर पञ्चायतमा काठमाडौँ महानगरपालिकाको साइनबोर्ड मात्र हाल्न पाएँ,” उनी भन्छन्, “अरू काम त बाँकी नै छन् ।”

पीएलले कांग्रेसको केन्द्रीय सदस्यबाट १५ वर्ष पहिले दिएको राजीनामा अहिले पनि मुल्तबीमै छ । उनी त्यसलाई अयोध्याका श्रीरामचन्द्रको वनवाससित तुलना गर्छन् । “काठमाडौँ र सोलुखुम्बुका क्रियाशील सदस्य हटाएको विरोधमा केन्द्रीय समिति बैठकको माग गरी गिरिजाप्रसाद कोइरालालाई लभलेटर लेखेको थिएँ,” उनी सुनाउँछन्, “मेरो माग सम्बोधन नभएपछि राजीनामा दिएँ ।”

०६३ मा पुन:स्थापित संसद्–सदस्यको उनले शपथै लिएनन् । जनआन्दोलनलाई पनि एक र दुई भनेर किस्ताबन्दी गर्ने ‘लिडर’हरू ‘ डिलर’ भइसकेको उनको निष्कर्ष छ । ०४७ सालको परिवर्तन मात्र मुलुककै जनता, नेता र राजा मिलेर भएको उनको विश्वास छ । “गणेशमान भन्नोस् कि किसुनजीले, कांग्रेसको मायाले नै पार्टी छाडेका हुन्,” उनी भन्छन्, “मैले पनि कांग्रेसलाई बँचाउनकै निम्ति राजीनामा दिएको हुँ । म अरू कुनै पार्टीमा गएको छैन ।”

काठमाडौँको मेयर हुँदा जापानको मानार्थ नागरिकतासमेत पाएका पीएल राष्ट्रसंघमा बोल्न पाउने पहिलो मेयर रहेछन् । यी पीएल जहिल्यै विधिको कुरा गर्छन् । त्यसका निम्ति घरी बालकृष्ण न्यौपानेको पुरानो शक्तिको मञ्चमा उभिएका छन्, घरी चित्रबहादुर केसीसँग कुम मिलाएका छन् । अब पीएलले भोटचाहिँ कहाँ हाल्छन् ? सबभन्दा रोचक कुरा यही हो । 

कांग्रेस नीतिविपरीत गएको पीएलको आरोप छ । तर, पार्टीले नीति परिवर्तन गरेको मान्दैनन् । “देशमा प्रधानमन्त्री या मन्त्री हुने मानिसको अभाव नहोला तर तीन करोड नेपालीका निम्ति सोचिदिने, पद र कुर्सीको मोह नराख्ने नेता को छ ?” उनी भन्छन्, “अब त ६ जना प्रधानमन्त्री बनाएर चिफ प्रधानमन्त्री बनाउन मात्र बाँकी छ ।”

उनको राष्ट्रवादी रुझानले के भन्छ भने सबै दल र नेता ‘मेड इन इन्डिया’ हुन् । उनका लागि ‘मेड इन नेपाल’ पार्टी प्रजापरिषद् मात्र हो । उनी प्रजातन्त्रको बीउ जोगाउन मूल्य–मान्यताको रक्षा हुनुपर्ने ठान्छन् । “१०४ वर्ष राणाको चाकडी, ३० वर्ष पञ्चायतको चाकडी, २५ वर्ष कोइरालाको चाकडी ?” उनी मिसन क्लियर गर्छन्, “हामी त दास भयौँ भयौँ, अबको पुस्ता स्वाभिमानी भएर बाँचोस् ।” 

बीपी कोइरालालाई सबै जना ‘डेमोक्र्याट’ मान्छन् । तर, पीएल ‘ हिप्पोक्र्याट’ भनिदिन्छन् । आफू र मातृकाभन्दा पहिले प्रजापरिषद्मा लागेका नेता गणेशमान सिंहलाई नेतृत्व नदिएर कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेतको ‘ट्रोइका’ बनाएकामा उनको असहमति छ ।

स्वयं गणेशमान पनि उनको आलोचनाकै घेरामा छन् । “कम्युनिस्ट कन्ट्रीमा पो सर्वोच्च नेता हुन्छ, प्रजातन्त्रमा त नेता मात्र हुन्छ,” उनी भन्छन्, “दे (नेताहरू) आर ग्रेट म्यान बट नट गुड म्यान ।” गणेशमानलाई उनी ‘गफमान’ भन्छन् । एक जना भए पनि तीन घन्टा कुरा गर्ने, १० जना भए पनि तीनै घन्टा कुरा गर्ने ।

साँच्चै भन्ने हो भने घरसँग पीएलको कुनै भावनात्मक सम्बन्ध नै रहेन । गणेशमानको निधनपछि उनी एक्लिँदै गए । आमा लक्ष्मीदेवीको मृत्युपछि ताम्सीपाखास्थित बाबुको घर गएका पीएल त्यसयता काम पर्‍यो भने मात्र चाक्सीबारी पुग्छन् । उनकी विमातृतिर एक भाइ र दुई बहिनी छन् । 

‘बाई कन्भिक्सन’ राजनीतिमा लागेका पीएल कवि हृदयका छन् । साथीभाइलाई साँझ, बिहान, दिउँसो भट्टीबाट भनिरहेका हुन्छन्, ‘ हे लो † खाजा खानुभयो ? खाजा पठाइदिउँm ?’ झोलाभरि किलोका किलो फलफूल, मिठाई अनि नेवारी व्यञ्जन पठाइरहेका हुन्छन् । हस्पिटलमा समेत भोजै लगाइरहेका हुन्छन् ।

बाथरुम सिंगर पीएलको प्रिय गीत हो, ‘हरहर गंगे’ । रेस्टुराँमा जाँदा उनी पहिले सेफ भेट्छन्, स्टाफ फुड खान्छन् । टाढा जाँदा होटलको होइन, लोकल खान्छन् । उनी आफैँ मीठो पकाउँछन् र खुवाउँछन् पनि । उनको कुकगिरीको तारिफ गर्ने पनि थुप्रै भेटिन्छन् । एउटै परिकार तीन घन्टासम्म पकाउँछन् । 

साथीहरू मीठोमसिनु खान मन लागे उनैलाई सम्झन्छन् । उनी जुस, बियर र ह्विस्कीले मेजमानी गराइहाल्छन् । “आउनेलाई खुवाउने हो, बोलाएर खुवाउन्नँ,” उनी भन्छन्, “खुवाउनुमा जति मजा छ, खानुमा त्यति छैन । पकाएपछि खाने मान्छे भएन भने के गर्ने ?”

नेवार समुदायलाई उनी ‘वर्कोहोलिक’ र ‘अल्कोहोलिक’ देख्छन् । त्यसैले नेवारी संस्कृति समृद्ध भएको उनको ठम्याइ छ । पिउने मामिलामा पनि पीएल बिन्दास छन् । “कि बोतल डाउन, कि आफैँ डाउन । म आर्ट अफ ड्रिङकिङमा विश्वास गर्छु,” उनी फुर्किन्छन्, “एक–दुई पेग त डाक्टरले नै प्रेसक्राइब गरेका छन् ।”

बिहे किन भएन ? सबभन्दा महत्त्वपूर्ण प्रश्नलाई पनि पीएल हाँसेरै टारिदिन्छन्, “धेरै ह्यान्डसम भएकाले ।” नागरिकता हेर्दा ७६ वर्ष मात्र लागेका उनले धाक लगाउने विषय यिनै ह्यान्डसम र ब्याचलर हुन् । तर, किसुनजी, सुशील कोइरालाभन्दा उनी कति फरक ? त्यसको जवाफ सायद पीएलसँगै छैन । 

प्रकाशित: श्रावण ३१, २०७३