आवरण कथा» बदनाम विमानस्थल

  • कमजोर सुरक्षा, लथालिंग व्यवस्थापन र अवैध ओसारपसारको अखडा

- मनबहादुर बस्नेत

पाकिस्तानी नागरिक मरियम वाही जमालिया पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए)को विमानबाट २ चैत ०६६ को बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा ओर्लिन् । तर, उनी नियमित ‘रुट’मा छिरिनन् । बरू, विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी जवान दीपेन्द्र गिरीले उनको सामान ट्रलीमा राखेर भन्सार जाँच नै नगरी लगेज एरियासम्म ल्याइदिए । विमानस्थलमा खटिएको प्रहरीको विशेष ब्युरोको टोलीले यी सबै दृश्य नियालिरहेको थियो । जमालिया टर्मिनल भवनबाट पार्किङ क्षेत्रमा निस्केकी मात्रै थिइन्, ब्युरोले समात्यो र उनको साथबाट ३० लाख नक्कली भारतीय रुपियाँ भेट्टायो ।  

पाकिस्तानबाट भित्रिएको नक्कली भारु लिन भारतीय नागरिक इमरान तेली विमानस्थलभित्रै पुगेका थिए । जमालिया पक्राउ परेको सूचना पाएपछि तेली फरार भए । त्यसको दुई दिनपछि तेलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र विशेष ब्युरोको टोलीले काठमाडौँबाटै पक्राउ गर्‍यो । वीरगन्जमा बसेर नक्कली भारुको कारोबार गर्ने इल्ताफ अन्सारीका लागि आफूले काम गरेको तेलीले खुलाए । तेलीलाई सिंहदरबारस्थित महानगरीय प्रहरी प्रभाग (अहिले वृत्त)मा लगेर अनुसन्धान टोलीले बयान लिँदा घटनाको डरलाग्दो पाटो पटाक्षेप भयो, विमानस्थलबाट नक्कली भारु भित्रिनुमा प्रहरीका उच्च अधिकारीहरूकै सञ्जालले काम गरेको रहेछ । 

त्यसपछि विशेष ब्युरोका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुशीलवरसिंह थापा र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबोध घिमिरे सम्मिलित टोलीले गोप्य तवरमा छानबिन गर्‍यो । छानबिनबाट तत्कालीन विमानस्थल सुरक्षा गार्ड प्रमुख डीआईजी रमेशशेखर बज्राचार्य (हाल एआईजी) र एसएसपी हेमन्त पाल (हाल डीआईजी)को संरक्षणमा विमानस्थलबाट जाली भारु नोट नेपाल भित्रिएको देखियो । विमानस्थलबाट हुने गरेको नक्कली भारु ओसारपसारसम्बन्धी विशेष ब्युरोको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ, “बज्राचार्य र पालको निर्देशनमा उनका विश्वासप्राप्त प्रहरीले नै नक्कली भारु विमानस्थलमा भित्र्याएर त्यहाँबाट सुरक्षित बाहिर निकाल्न यो घटनामा तेलीलाई संरक्षण गरेको देखियो ।” 

इल्ताफ नक्कली भारु कारोबारमा नेपाल, भारत र पाकिस्तानबीचको त्रिदेशीय एजेन्ट रहेको देखिएको थियो । नेपालमा उनको सम्पर्क व्यक्ति थिए, बज्राचार्य । अनुसन्धानबाट नक्कली भारु ओसारपसारमा सहयोग पुर्‍याएको भेटिएपछि ब्युरोले बज्राचार्य, पालसहित जुनियर प्रहरी अधिकारीहरूलाई ‘आवश्यक कारबाही’ गर्न तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरीलाई सिफारिस गरेको थियो । तर, चन्दले प्रतिवेदन नै गायब बनाएको प्रहरी स्रोतको दाबी छ ।  

६ वर्षअघिको यो ‘हाइप्रोफाइल घटना’ गुपचुप राखिए पनि विमानस्थलमा हुने अवैध गतिविधि उसरी नै चलिरहेको छ । गोप्य राखिएको यो घटनाको तीन वर्षपछि त अवैध विदेशी मुद्रासम्बन्धी चर्चित घटना सार्वजनिक भयो, जसलाई ‘रविराज काण्ड’ भनेर चिनिन्छ । १९ असोज ०६९ मा दुबई पठाउन लागिएको १ करोड २४ लाख रुपियाँबराबर मूल्यको अवैध विदेशी मुद्रा जफत भएको थियो, जसमा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठको मुख्य संलग्नता भेटिएको थियो । श्रेष्ठकै योजनामा भारी मात्रामा सुन र विदेशी मुद्राको अवैध कारोबार भएको अनुसन्धानबाट फेला परेको थियो । घटनाको छानबिन गर्न गठित तत्कालीन एआईजी भीष्म प्रसार्इं नेतृत्वको समितिले श्रेष्ठले त्यसअघि समेत पटकपटक अवैध वस्तु ओसारपसार गर्नमा सघाउ पुर्‍याएको औँल्याएको थियो । 

बाह्य मुलुकहरूसँग जोड्ने नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई मार्ग कसरी संगठित तवरमा अवैध गतिविधिको मार्ग बन्दै छ भन्ने यस्ता फेहरिस्त प्रशस्त छन् । नक्कली भारु, अवैध विदेशी मुद्रा र सुन तस्करीदेखि लागूऔषध कारोबार, हतियार तथा मानव ओसारपसार र भन्सार छलीसम्मका गिरोहको सञ्जालले बाँधेको छ विमानस्थललाई । 

विमानस्थलको अवस्था कुन हदसम्म गएगुज्रेको छ भने स्लिपिङ एअरपोर्ट डट नेटको सन् २०१५ को सर्वेक्षणले सेवा सुविधाका आधारमा संसारकै तेस्रो र दक्षिण एसियाकै पहिलो खराब विमानस्थलमा सूचीकृत गरेको छ । कमजोर सुरक्षा व्यवस्था, अपर्याप्त पूर्वाधार र अवैध क्रियाकलापहरूको अखडा रहेका कारण संसारकै खराब विमानस्थलमा सूचीकृत भएको हो । विश्वभरका विमानस्थलबाट आवतजावत गर्ने यात्रुहरूको अनुभव र मतका आधारमा बर्सेनि गरिने उक्त सर्वेक्षणले एउटा मात्र धावनमार्ग हुनु र निर्धारित समयमै उडान नहुने, शौचालयको समस्यादेखि विमानस्थलको ‘लुक्स’सम्म दयनीय रहेको औँल्याएको छ । 

अवैध सुन भित्रिने बाटो
नेपाल प्रहरीको आँकडा अनुसार गएको दुई वर्षमा विमानस्थलबाट भित्रिएको अवैध सुन मात्रै ३३ किलो बरामद भयो भने नेपाली र विदेशी गरी ७५ जना पक्राउ परे । सुन तस्करीको वास्तविक आँकडा यही नभए पनि कसरी र कुन मात्रामा अवैध सुनको ओसारपसार भइरहेको छ भन्ने यसबाट अनुमानसम्म लगाउन मिल्छ । विमानस्थलमा खटिएका सुरक्षा, भन्सार, अध्यागमन तथा वायु सेवाका कर्मचारीहरूसमेतको मिलेमतोमा तस्करहरूले अवैध सुन आयात गर्ने भएकाले ठूल्ठूलो मात्राको सुन तस्करीको कारोबार हत्पति बाहिर आउँदैन । बरू, सुन तस्करी कुन हदसम्म चुलिएको छ भन्ने तथ्य वैधानिक रूपबाट आयात हुने सुन कारोबार ठप्प हुनुले प्रस्ट पार्छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरूमा ३ सय ७१ किलो सुन थन्किएको छ तर पछिल्लो दुई महिना सुन आयात शून्यमा झरेको छ । व्यवसायीहरू सुन किन्न बैंकसम्म जान छाडेका छन् । जबकि, बजारमा दैनिक १४ किलो सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । यसको अर्थ हो, अवैध माध्यमबाट भित्रिएको सुनले बजार धानिरहेको छ । भन्सार विभागका प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद सेढाईं भन्छन्, “बैंकहरूमै सुन थुप्रिएपछि यसको आपूर्ति कसरी भइरहेको छ, अनुसन्धान जरुरी छ ।”

प्रहरीका अनुसार अहिले खाडी मुलुकबाट स्वदेश फर्कने श्रमिकहरूलाई भरियाका रूपमा प्रयोग गरी सुन भित्र्याउने द्वार पनि यही विमानस्थल बनेको छ, जसको मात्रा आकलन गर्न सजिलो छैन । प्रहरीका अनुसार विमानस्थलबाट बाहिरिएपछि मात्र तस्करहरूले भरियाबाट सुन संकलन गर्छन् । त्यसबापत भरियाले पाँचदेखि १० हजार रुपियाँसम्म पाउँछन् । यो विधिबाट सुन तस्करी अचाक्ली भएपछि सरकारले बाहिरी मुलुकबाट काँचो सुन ल्याउनै नपाउने र गहना चार तोलासम्म मात्रै ल्याउन पाउने व्यवस्था त गर्‍यो तैपनि अवैध सुनको आयात थामिएको छैन ।

भारतीय रुपियाँ, अमेरिकी डलर, युरो र चिनियाँ मुद्राको अवैध ओसारपसार पनि यही बाटोबाट हुन्छ, जसको सम्बन्ध सुनको अवैध कारोबारसँग पनि जोडिन्छ । आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ मा विमानस्थलबाट करिब साढे तीन लाख भारतीय रुपियाँ, १ लाख ८ हजार युरो, साढे ६ लाख अमेरिकी डलर र ४८ हजार ६ सय ४४ चिनियाँ युआन बरामद भएको थियो । यसबाहेक दुबईको दिराम, साउदी अरेबियन रियालसमेत बरामद भएको छ । विमानस्थलका सुरक्षा गार्ड प्रमुख एवं डीआईजी गोविन्द निरौला भन्छन्, “विदेशी मुद्राको सम्बन्ध मुख्यत: सुन तस्करीसँग गाँसिएको हुन्छ । यताबाट विदेशी मुद्रा पठाउने र उताबाट सुन ल्याउने गरेको देखिन्छ ।”

लागू औषधको ट्रान्जिट
१९ साउनमा नयाँदिल्लीबाट काठमाडौँ उत्रिएकी रोशी गुड्डीले अन्तर्राष्ट्रिय बजारमा ६ करोड ११ लाख रुपियाँ मूल्य पर्ने साढे तीन किलो कोकिन भन्सार जाँच गराएर सहजै पार गराइन् । बोलिभिया, ब्राजिल, इथियोपिया, नयाँदिल्ली हुँदै काठमाडौँबाट दुबई भएर युरोप पुर्‍याउने भनिएको कोकिन काठमाडौँमा केही दिन राखेपछि अर्को भरियामार्फत पुन: लैजान खोज्दा २५ साउनमा विमानस्थल क्षेत्रबाटै जफत भयो । कोकिनका अन्तर्राष्ट्रिय कारोबारीहरूले पछिल्लो समय नेपालको हवाई मार्गलाई प्रयोग गरेको र त्यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिटका रूपमा उपयोग भएको यस्ता दृष्टान्तले पुष्टि गर्छन् । २० चैत ०७१ मा पनि दक्षिण अमेरिकी राष्ट्र बोलिभियाबाट ल्याइएको ११ किलो कोकिन कतार हुँदै इटाली पठाउन ठीक्क पारेका बेला मेलेसियाली नागरिक मरिना जमालुद्दीनलाई प्रहरीले पक्राउ गर्‍यो ।

गाँजा, चरेस, हिरोइनजस्ता महँगा लागू औषध गन्तव्य मुलुकसम्म पुर्‍याउनका लागि यो विमानस्थल प्रमुख ट्रान्जिटका रूपमा प्रयोग हुनुचाहिँ नौलो विषय होइन । प्रहरी आँकडा अनुसार ०७१ मा मात्र हङकङ, मलेसिया, थाइल्यान्ड, युरोपेली र अफ्रिकी मुलुकमा पठाउन लाग्दा २ हजार २ सय ६० किलो चरेस विमानस्थलमा बरामद भएको थियो ।

पछिल्लोपल्ट साउनको दोस्रो साता लागू औषध नियन्त्रण ब्युरो (एनसीबी)ले व्यावसायिक घराना संघाई समूहका रतनलाल संघाईसहित तीन जनालाई ४ सय ९१ किलो एम्फेड्राइनसहित पक्राउ गर्‍यो, जुन लागू औषध बनाउन प्रयोग गरिने रसायन हो । साथै, संघाई समूहको अवैध कारोबारको तार तीन वर्षअघि कात्तिक ०७० मा पक्राउ परेका तीन जना चिनियाँ नागरिकसम्म गाँसिएको पनि त्यसपछि मात्रै खुल्यो । एनसीबीले उनीहरूलाई तीन वर्षअघि टीआईएको गोल्डेनगेट नजिकैबाट १५ किलो औषधिजन्य वस्तुसहित पक्रेको थियो । यसबाट के तथ्य स्थापित भयो भने अवैध लागू औषध ओसारपसारमा मुलुकका ठूला व्यापारिक घरानासमेत संलग्न रहेका र उनीहरूले यही विमानस्थललाई ट्रान्जिटका रूपमा उपयोग गर्दै आएका रहेछन् । “अन्तर्राष्ट्रिय कारोबारीदेखि देशभित्रकै शक्तिशाली व्यक्तिहरूको संलग्नतामा लागू औषधको कारोबार हुन्छ । थोरै मुद्दाको मात्रै प्रहरीले तथ्य प्रमाण जुटाउन सक्छ,” एनसीबीका एसएसपी गणेश केसी भन्छन् । 

मानव तस्करीको जालो
गत पुसमा काठमाडौँबाट भारतको नयाँदिल्ली उड्नै लागेका पाँच युवतीलाई विमानस्थल अध्यागमन कार्यालयले रोक्यो । उनीहरू दिल्ली हुँदै श्रीलंका जाने तरखरमा थिए । अध्यागमन अधिकारीले सोधपुछ गर्दा सुरुमा उनीहरूले घुम्न जान लागेको प्रतिक्रिया दिए । एकछिनपछि क्यासिनोमा काम गर्ने बताए । तर, उनीहरूसँग न त कुनै मुलुकको श्रम स्वीकृति थियो, न आफू जानुपर्ने ठाउँ र कामबारे पर्याप्त जानकारी नै । केहीबेरको सोधपुछपछि पत्ता लाग्यो, नेपाली युवतीहरूलाई श्रीलंका हुँदै खाडी तथा अफ्रिकी मुलुकसम्म पुर्‍याउने गिरोह नै सक्रिय रहेछ । उक्त गिरोहले युवतीहरूलाई तान्जानिया, दुबई, कम्बोडियासम्म पठाउने गरेको तथ्य पनि त्यही घटनाले उद्घाटन गर्‍यो ।

यस विमानस्थलबाट अवैध रूपमा मानव ओसारपसार र बेचविखनका निम्ति ट्राभल एजेन्सीदेखि वायु सेवा, अध्यागमन तथा सुरक्षा निकायहरूबीच गोप्य साँठगाँठ हुन्छ । पछिल्ला वर्षमा यसमा वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार कम्पनीहरूको समेत उपस्थिति र संलग्नता रहन थालेको छ । खाडी मुलुकदेखि अफ्रिकासम्म युवकयुवतीहरू यहीँबाट पठाइन्छन् ।

०६९ मा विमानस्थल प्रहरीले मानव तस्करीविरुद्ध कडाइ गर्दा दैनिक डेढ सय जना अवैध रूपमा विदेश उड्ने गरेको तथ्य बाहिर आएको थियो । म्यानपावर व्यवसायी, विमानस्थलका सरकारी निकाय, ट्राभल्स एजेन्सी, मनी एक्स्चेन्ज र स्वास्थ्य क्लिनिकहरूले संगठित रूपमै चार वर्षदेखि यस्तो धन्दा चलाउँदै आएको त्यसबेला प्रहरीले गरेको अनुसन्धानबाट खुलेको थियो । सीआइबीले ०६९ मा नयाँ बानेश्वरको केल्भिन ट्राभल्स र बालाजुको कन्काई मनी एक्स्चेन्जरमा छापा मार्दा क्रमश: १ सय ४१ र १ सय ७५ थान राहदानीसँगै म्यानपावर कम्पनीका छाप, पुलिस रिपोर्ट, हवाई टिकट फेला परेका थिए । विमानस्थलमा सेटिङ मिलाएर राज्यको कुनै पनि संयन्त्रमा अभिलेख नजनाउने गरी कामदारहरूको ओसारपसार गर्न यी कागजात संकलन गरिएका थिए ।

वैदेशिक रोजगार व्यवसायीहरूले नेपाली महिलालाई अनियन्त्रित र अवैध बाटोबाट खाडी मुलुकमा पठाउने बाटो पनि यही विमानस्थल प्रयोग हुँदै आएको छ । न सुरक्षा, न पारिश्रमिक, न त उनीहरूलाई विदेश पठाउने पक्षको जवाफदेहिता; सरकारले घरेलु मजदुरका रूपमा महिलालाई पठाउनै रोक लगायो । तर, पनि त्यो क्रम रोकिएन । अध्यागमन, वैदेशिक रोजगार विभाग र प्रहरी कर्मचारीको मिलेमतोमै खाडी मुलुकतर्फ नेपाली चेलीहरू ओसार्न नयाँ उपाय निकालियो, ‘भिजिट भिसा’ । 

अझ एकपटक पनि विदेशी भूमि नटेकेका महिलालाई समेत उनीहरूको नियमित जागिर नै विदेशमा छ भनेजस्तो गरी पुन: प्रवेशाज्ञा (रि–इन्ट्री)मार्फत विदेश पठाउने संगठित जालो पनि सक्रिय रहेको खुलेको छ । गत २७ वैशाखमा महानगरीय प्रहरी अपराध महाशाखाले विमानस्थलमा छापा मार्दा मुना विश्वकर्मा र उर्मिला श्रेष्ठको पासपोर्टमा रि–इन्ट्रीको भिसा लागेको भेट्यो । जबकि, उनीहरू पहिलोपटक विदेश उड्न लागेका थिए । खाडी मुलुक हिँडेका युवतीलाई वैदेशिक रोजगार व्यवसायी, ट्राभल्स एजेन्सी, वैदेशिक रोजगार विभाग र अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा अवैध रूपमा घरेलु कामदारका रूपमा साउदी अरब पठाउन खोजिएको प्रहरीको निष्कर्ष छ । यस्तो धन्दामा संलग्नताको आशंका गरेर प्रहरीले गौशालास्थित हिमालयन रेडपान्डा, किङ अकबर टुर एन्ड ट्राभल्स, सिटी टुर एन्ड ट्राभल्स र इन्टरनेसनल ट्रेड लिंकमा छापा मार्दा डेढ सय श्रम स्टिकर र होलोग्राम भेटेको थियो । महाशाखाका एसएसपी सर्वेन्द्र खनाल भन्छन्, “व्यवसायी, वैदेशिक रोजगार विभाग र अध्यागमनका कर्मचारीले नै संगठित तवरले अवैध रूपमा मानिस पठाएको पाइयो ।” 

मानव तस्करी गर्ने गिरोह र सरकारी कर्मचारीबीचको मिलेमतोकै कुरा गर्दा दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरन्तर छापा मार्दाको प्रसंग उल्लेख गर्नुपर्ने हुन्छ । त्यतिखेर अख्तियारको निरन्तरको उपस्थितिपछि कर्मचारीहरू कार्यालयमै हाजिर हुन छोडेका थिए, ‘काम गर्ने वातावरण नभएको’ भन्दै ।

खाडी मुलुकमा महँगोमा बिक्री हुने गुट् खासमेत पाँच वर्षअघि यही मार्गबाट राजस्व छलेर भारी मात्रामा बाहिरिएको थियो । वैदेशिक रोजगारमा हिँडेकाहरूलाई प्रयोग गरेर गुट्खा खाडी पुर्‍याइन्थ्यो । नारायण बस्ताकोटी प्रमुख बनेर गएपछि गुट्खा व्यापक मात्रामा बरामद भएको थियो । त्यसपछि सरकारले विमानस्थलबाट गुट्खा लैजानै प्रतिबन्ध लगाइदियो । अर्को डरलाग्दो पाटो के छ भने यी जति पनि अवैध गतिविधि भइरहेका छन्, त्यसमा राज्य संयन्त्रको आपसी मिलेमतो हुन्छ । मिलेमतोको संयन्त्र संख्या कहिलेकाहीँ थपघट भने हुन्छ । प्रहरी, भन्सार र अध्यागमनजस्ता निकायबीचको सेटिङमा यस्ता गतिविधि हुने गरेको स्रोतको दाबी छ । 

कमजोर सुरक्षा 
करिब चार दशकअघि फ्रान्सेली कुख्यात अपराधी चाल्र्स शोभराजले नेपालको विमानस्थलको सुरक्षा प्रबन्धलाई व्यंग्य गर्दै ‘यहाँबाट हात्ती पनि सजिलै छिराउन सकिन्छ’ भनेका थिए । गत जेठमा मात्रै अमेरिकी विदेश मन्त्रालयले आतंकवादबारेको आफ् नो प्रतिवेदनमा नेपालको विमानस्थललाई आतंकवादी गतिविधिका लागि सहज स्थानका रूपमा उल्लेख गरेको छ । जसले नेपालको विमानस्थल बेथितिको अखडा मात्रै बनिरहेको छैन, कमजोर सुरक्षा व्यवस्थाका कारण कुनै पनि बेला अप्रिय घटना हुन सक्ने सम्भावित थलो बन्ने संकेत गरेको छ । 

विमानस्थलको भित्री सुरक्षा नेपाल प्रहरीले गर्छ, जहाँ डीआईजीको कमान्डमा ३ सय ७३ प्रहरी खटिन्छन् । त्यसबाहेक प्रहरीकै अन्य निकायहरू विशेष ब्युरो, एनसीबी र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीसमेत हुन्छ, सादा पोसाकमा । यस्तै, राष्ट्रिय अनुसन्धान विभागले समेत आफ्नो जनशक्ति खटाउँछ । एक दर्जनको हाराहारीमा सशस्त्र प्रहरीको टोलीले समेत पहरा दिन्छ । विमानस्थलको बाह्य सुरक्षा नेपाली सेनाको जिम्मामा छ । 

सुरक्षाका यति धेरै एकाइ भए पनि तस्कर र अपराधीहरूले चाहेमा कति सजिलै सुरक्षा प्रणालीलाई छल्न र झुक्याउन सक्छन् भन्ने उदाहरण थुप्रै छन् । जस्तो : गत ८ जेठमा पाकिस्तानी नागरिक समा नाजी ३५ लाख नक्कली भारु र १९ हजार नक्कली अमेरिकी डलर बोकेर विमानस्थल सहजै पार गरिन् । त्यति ठूलो परिमाणको सामान विमानस्थलबाट बाहिर्‍याउँदा पनि उनलाई न भन्सार अधिकारीहरूले छेके, न त कुनै सुरक्षा निकायले । प्रहरीको विशेष ब्युरोले उनलाई भोलिपल्ट स्वयम्भूबाट पक्राउ गरेपछि मात्रै उनले विमानस्थलबाट नक्कली भारु भित्र्याएको खुल्यो । त्यसअघि पनि उनले २३ फागुन र १ चैतमा यसै गरी क्रमश: ३० लाख र ४० लाख नक्कली भारु भित्र्याएको प्रहरीसँगको बयानमा छ । 

विमानस्थलमा सुरक्षा र चेकजाँचका आधुनिक प्रविधिसमेत यथेष्ट छैनन् । मेटल डिटेक्टर, एक्सरे मेसिनजस्ता प्रविधि त छन् तर ती बेलाबेला बेकामे बन्ने गरेको विमानस्थलका अपरेसन विभाग प्रमुख प्रेम ठाकुर बताउँछन् । विमानस्थलको टर्मिनल भवन, कार्गो र भन्सारमा मात्रै क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) जडान गरिएको छ । पूरा विमानस्थल क्षेत्र सीसीटीभीको निगरानीमा छैन । लागू औषध, मुद्रा, विस्फोटक पदार्थ जाँच्ने छुट्टाछुट्टै एक्स–रे मेसिन छैनन् । एउटै मेसिनले सबै वस्तुको जाँच गर्नुपर्ने बाध्यता छ । ‘डाटा बेस’ प्रविधि छैन । महानगरीय प्रहरी आयुक्त कार्यालयका एआईजी प्रतापसिंह थापा भन्छन्, “प्रविधिका कारणले पक्राउ पर्नेहरू एकदमै कम हुन्छन् । जति पनि पक्राउ पर्छन्, ती सबै सुराकीका आधारमा हो ।”

विमानस्थलबाहिरको मूल सडकस्थित गोल्डेन गेट र त्यसभन्दा केही अघि बढेपछि अर्को सामान्य चेकिङपछि विमानस्थल क्षेत्रको पार्किङ क्षेत्रमा सजिलै पुग्न सकिन्छ । अनि, टर्मिनल भवनभित्र छिरेपछि फेरि प्रहरीको चेकिङ हुन्छ । अन्तर्राष्ट्रिय विमानस्थलहरूमा बाहिरैदेखि सुरक्षा ‘सिल’ गरिएको हुन्छ । तर, यहाँ पार्किङ परिसरसम्म जो पनि सहजै पुग्न सक्ने स्थिति छ । “समग्र सुरक्षा प्रणाली हाम्रोमा कमजोर छ,” नेपाल प्रहरीका अवकाशप्राप्त एआईजी नवराज ढकाल भन्छन्, “त्यही भएर चेकिङबिनै यात्रुहरू विमानमा पुगेका घटना बारम्बार सार्वजनिक हुने गर्छन् ।” 

बोर्डिङ पास लिएपछि फेरि प्रहरीले शरीर जाँच गर्छ । त्यसपछि माथिल्लो तल्लामा अध्यागमन, श्रम डेस्कले कागजात जाँचेपछि फेरि प्रहरीको जाँचकी पार गरेर प्रतीक्षालयमा पुगिन्छ । यहाँबाट विमानमा जानुपूर्व फेरि प्रहरीले जाँच्छ । यो त भयो साधारण यात्रुका लागि हुने नियमित जाँच तालिका । अवैध काम गर्नेका लागि यी कुनै झन्झट बेहोर्नुपर्दैन,” विमानस्थलका एक जना उच्च प्रहरी अधिकारी भन्छन् । 

आगमनका क्रममा भने सुरक्षा जाँच खासै हुँदैन । विदेशबाट आउने यात्रु र कार्गो जाँच्ने अधिकार आफूलाई छैन भन्दै प्रहरी पन्छिन्छ । भन्सार र अध्यागमनले सुरक्षा जाँच गर्नेभन्दा कागजी प्रक्रिया र वैधता मात्र हेर्छ । विमानबाट ओर्लनासाथै यात्रुहरू अध्यागमनमा छाप लगाउन जानुपर्छ । त्यसपछि लगेज जाँचका लागि भन्सारमा उपस्थित हुनुपर्छ । त्यसपछि यात्रु सोझै ‘ग्रिन च्यानल’ हुँदै बाहिरिन्छन् । टर्कीको इस्तानबुल विमानस्थल र बंगलादेशमा आतंकवादी हमला भएपछि यहाँको विमानस्थलमा समेत सुरक्षा तैनाथी बढाइए पनि सिंगो प्रणालीमै सुधार हुने गरी कुनै कदम चालेको छैन । 

सरकारी निकायबीचमै द्वन्द्व 
संवेदनशील क्षेत्र भनिए पनि यहाँ अन्तरसरकारी निकायबीच नै समन्वयको अभाव छ । १९ साउन दिउँसो विमानस्थलमा पुग्दा प्रहरीले लेखेको पत्र हेर्दै विमानस्थल कार्यालयका अपरेसन विभाग प्रमुख ठाकुर मुर्मुरिँदै थिए । कारण थियो, विमानस्थलभित्र निर्माणको काम गरिरहेको कम्पनीका कामदारलाई म्याद गुज्रेको पुरानै पासका आधारमा १० दिनका लागि छिर्न दिनू भन्ने विमानस्थल कार्यालयको पत्रको जवाफमा प्रहरीले त्यसो गर्न नसकिने भन्दै पठाएको इन्कारी पत्र । “प्रहरीले निहुँ खोजेको होइन त ?” ठाकुरको प्रश्न थियो ।

एउटा निकायले अर्कोलाई नटेर्नु, असहयोग गर्नु र क्षेत्राधिकार मिचेको भन्दै अर्काका काममा प्रश्न उठाउनु सामान्य बनेको छ । विमानस्थलमा १९ वटा सरकारी निकायको उपस्थिति छ । निजीसमेत जोड्दा यो संख्या दोब्बरभन्दा बढी हुन्छ । गत फागुनमा सीआईबीले विमानस्थल भन्सारको गोदाममा छापा मार्दा भन्सार कार्यालय रुष्ट बनेको थियो । सीआईबीले अत्याधुनिक हतियार भित्रिएको सूचना पाएपछि छापा मारेको थियो । भलै, उक्त हतियार खेल प्रयोजनका लागि एक जापानीले ल्याएको ‘डमी’ मात्रै भएको बताइयो । प्रहरी र भन्सारबीच यस्ता विवाद दिनदिनै भइरहन्छन् । भन्सार अधिकारीहरू प्रहरीले आफ्नो क्षेत्राधिकारमाथि जबर्जस्ती उपस्थिति जनाएको ठान्छन् भने प्रहरीचाहिँ भन्सारले दुरुस्त जाँच नगर्दा अवैध सामान सहज भित्रिएको ठान्छ । “हामीले शंका लाग्यो भने मात्रै चेकिङ गर्छौं । नभए सबै भन्सारले हेर्छ,” डीआईजी निरौला भन्छन्, “आगमन कक्षमा प्रहरी पनि जबर्जस्ती खटाएका हौँ ।”

सबै निकायबीच समन्वयका लागि विमानस्थल सुरक्षा समिति र सुविधा प्रदायक समिति रहे पनि तिनको बैठक नियमित बस्दैन । गत भदौमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलका विभिन्न समस्याबारे अध्ययन गर्न उपसचिव हरिबहादुर खड्काको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले औँल्याएको छ, ‘समन्वयको अभावमा विमानस्थलको सेवा सुविधा तथा विश्वसनीयतामा सुधार हुन सकेको छैन ।” 

मिलेमतोचाहिँ यस्तोमा
अवैध वस्तुको ओसारपसारमा प्राय: यी निकायमध्ये कुनै न कुनैसँगको समन्वयमै हुन्छ । विमानस्थल, भन्सार, अध्यागमन र एअरलाइन्सका कर्मचारीदेखि सुरक्षा निकाय, सरसफाइ कामदार, भन्सार एजेन्टहरूसम्म कोही पनि अछुतो छैनन् । गत १९ असारमा नेपाल एअरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पाया र सोही एयरलाइन्सकै इन्जिनियर रञ्जितलाल विष्ट ४ हजार ४ सय अमेरिकी डलरसहित पक्राउ परे । पायाले विष्टलाई पछि फिर्ता गर्ने सर्तमा शौचालयमा लगेर उक्त रकम दिँदादिँदै प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअिघ ७ असारमा विमानस्थलमा सरसफाइ गर्ने कर्मचारी भरत सञ्जेल आठ हजार अमेरिकी डलरसहित पक्राउ परेका थिए । पाया र सञ्जेल दुवैले विभिन्न म्यानपावर व्यवसायीहरूसँग मिलेर अवैध डलरको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । दुवैले विमानस्थलका अन्य कर्मचारीले समेत यस्तो क्रियाकलाप गर्ने गरेको खुलाएका थिए । बरामद रकम विभिन्न देशमा कामदारका रूपमा जाने व्यक्तिमार्फत बोकाइएको अमेरिकी डलर हो, जुन विदेश जाँदा लैजान मिल्ने सुविधाको दुरुपयोग गरी वैध निकायबाट साटिएको हुन्छ । र, विमानस्थलको प्रयोजन सकिएपछि संकलन गरी डलरको अवैध कारोबारमा प्रयोग गरिन्छ । हवाई मार्गबाट वैदेशिक रोजगारमा जाँदा श्रमिकले एक हजार डलरसम्म लैजान पाउँछन् । 

स्रोतको दाबी अनुसार महिनाभरि अवैध तवरबाट कमाएको स्रोतको दामासाहीले बाँडफाँट नै हुन्छ, विमानस्थल भन्सार कार्यालयमा । मानौँ यो उनीहरूको आन्तरिक नियम नै हो । हरेक महिनाको अन्तिममा झैँ ०७० साउनको अन्तिम बेलुकी विमानस्थल भन्सार कार्यालयमा महिनाभर अवैध रूपमा जम्मा गरिएको रकम हाकिमदेखि पियनसम्मले दामासाहीले बाँडे । महिनाभर उठेको झन्डै ५४ लाख रुपियाँ भागबन्डा गरिएको थियो । आ–आफ्नो भागमा परेको रुपियाँ बोकेर कार्यालयबाट निस्किँदै गर्दा अधिकृतद्वय मिनर्भा अधिकारी र शान्तराज रेग्मी अख्तियारको फन्दामा परे । पक्राउ परेका दुवै अधिकृतले प्रमुख भन्सार अधिकृतसहित सबैले दामासाहीले रकम लिए पनि आफूहरूलाई मात्र कारबाही गरेको भन्दै गुनासो गरेका थिए । “क्लिनरदेखि जीएमसम्म र विमानस्थलमा जति पनि सरकारी निकाय छन्, तिनीहरू सबैको पहिलो उद्देश्य नै कमाउनु हो,” पूर्वमुख्यसचिव लीलामणि पौड्याल भन्छन्, “सबैले पैसा कसरी आउँछ त्यो बाटो मात्रै हेर्छन्, त्यहाँ ।” 

तस्करीका बेग्लै बाटा
विमानस्थलभित्र यस्ता संरचनाहरू छन्, जहाँबाट अवैध मालसामान ओसारपसार गर्नेहरूले जुनसुकै बखत सहजै वारपार गराउन सक्छन् । पर्यटन मन्त्रालयको अध्ययन प्रतिवेदनले प्रस्थान कक्षको धूमपानका लागि छुट्याएको कोठाबाट सामान वारपार गर्न सकिने ठूल्ठूला प्वालहरू रहेको औँलाएको छ । कोठाको बाहिरपट्टि खुला चौर रहेको र त्यहाँ कामदारहरूसमेत आवतजावत गर्ने गरेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘यस्ता खालका प्वालहरू अनियमित कार्यका लागि सहयोगी र हवाई सुरक्षाका लागि समस्या हुन सक्ने देखिन्छ ।’ 

प्रस्थान कक्षकै एक नम्बर गेटको प्रतीक्षालयलाई समेत अवैध वस्तु ओसारपसारको बाटो बनाउन सक्ने देखिन्छ । प्रतीक्षालयको पश्चिमतर्फको ढोका सदाका लागि बन्द नगरिएकाले यसबाट मिलेमतोमा प्रतिबन्धित सामान वारपार हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । ढोकाका दुईवटा खापाको बीचमा प्रशस्त ‘ ग्याप’ रहेकाले ढोकाभन्दा बाहिरको बाटो तथा चौर क्षेत्रबाट प्रतिबन्धित सामानहरू भित्र–बाहिर गराउन सक्ने अवस्था रहेको हुँदा हवाई सुरक्षामा समस्या सिर्जना हुन सक्नेसमेत प्रतिवेदनमा औँल्याइएको छ । 

शौचालयमा सामान र पैसाको लेनदेन भएका उदाहरण थुप्रै पाइन्छन् । आन्तरिक उडानतर्फको टर्मिनल भवन छेउमा रहेको आइरन गेटबाट ओहोरदोहोर हुने सवारी साधन र मानिसहरूको अभिलेखसमेत दुरुस्त राखिँदैन । कहिलेकाहीँ त जाँचसमेत हुँदैन । “यहाँबाट प्रहरीले चाहेको खण्डमा सहजै सामान पास गराउन सक्दा रहेछन्,” अध्ययन समितिका एक सदस्य भन्छन् । 

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलका अनुसार विमानस्थलको कार्गो ठूलो मात्रामा अवैध सामानको ओसारपसार हुने मार्ग हो । व्यापारी, कर्मचारीतन्त्र, सुरक्षा निकाय र राजनीतिक तहसम्मै यसको जालो हुन्छ । “यसरी हुने अवैध कारोबारको घटना हत्पत्ति सार्वजनिक हुँदैन,” उनी भन्छन् । 

विमानस्थलभित्र रहेका ड्यटी फ्रि पसलहरूसमेत अवैध गतिविधिका माध्यम हुन् । ती क्षेत्रमा पुग्ने सामान प्राय: सुरक्षा जाँच नगरीकन पास गराइन्छ । विमानस्थलभित्र पहुँचवालाका नजिकका व्यक्तिहरूका पसल छन् । अवैध विदेशी मुद्राको कारोबारमा संलग्न भएको भन्दै अच्युत हाडाको हिमालयन मनी एक्स्चेन्जलाई बन्द गराउन ०५५ सालमै राजस्व चुहावट छानबिनसम्बन्धी संयुक्त संसदीय समितिको प्रतिवेनदले सिफारिस गरेको थियो, जुन अहिलेसम्म पालना भएको छैन ।

सुधारको बाधक “सेटिङ”
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय उडान मार्गमा यतिविघ्न समस्याका बिस्कुन छन्, त्यसलाई विमानस्थलबारे अध्ययन, अनुसन्धान र सर्वेक्षण प्रतिवेदनहरूले औँल्याउँदै आएका छन् । तर, विमानस्थलका बेथिति सुधारमा खासै ध्यान गएको छैन । खास गरी विमानस्थलमा हुने अवैध कारोबारबाट अर्जित सम्पति राज्य सञ्चालनको उपल्लो तहदेखि राजनीतिक क्षेत्रसम्म पुग्छ भन्ने पनि विभिन्न अनुसन्धानले देखाइसकेका छन् । त्रिभुवन विमानस्थलमा हुने गरेका अनियमित कार्यहरूबारे छानबिन गर्न गृह मन्त्रालयका विशेष सचिवको संयोजकत्वमा साउन ०५५ मा गठित छानबिन समितिले विमानस्थलका सुरक्षाकर्मी, कर्मचारीहरूले कमिसन लिएरै अवैध विदेशी मुद्रा र सुन वारपार गराउने गरेको उल्लेख गरेको थियो ।

०५५ को संसदीय समितिका सभापति परि थापालाई तत्कालीन अर्थमन्त्री रामशरण महतले सुन सुराकीबापतको छानबिनमा चालू मुद्दाहरूलाई नहेरिदिन टेलिफोन गरेको प्रतिवेदनमा उल्लेख छ, जसमा महतको स्वार्थ जोडिएको हुन सक्नेतर्फ संकेत गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘छानबिन समितिमा अर्थमन्त्रीले यस प्रकारको प्रभाव र दबाब दिन तथा आग्रह गर्न नमिल्ने समेत उपसमितिले महसुस गरी समितिसमक्ष प्रतिवदेन पेस गरेको छ ।’ 

कर्मचारीतन्त्र, सुरक्षा निकाय, व्यापारिक घरानादेखि राजनीतिसम्म गाँसिएको विमानस्थलको बेथिति राज्यका उपल्ला निकायहरूको इच्छाशक्तिबिना समाप्त हुन कठिन छ । “ठूलो परिमाणमा संगठित रूपमा कुनै अवैध वस्तु बाहिरिने र भित्रिने भइरहेको छ भने त्यसको सम्बन्ध राजनीति र राज्यको उपल्लो तहसम्म हुन्छ नै,” पूर्वआईजीपी खरेल भन्छन्, “नभए विमानस्थलजस्तो क्षेत्रबाट फाट्टफुट्टबाहेक अवैध पैठारी र निकासी हुनै सक्दैन ।” ठूलो मात्रामा आर्जन हुने यस्ता कारोबारमा राज्य संयन्त्रको सेटिङ हुने उनको भनाइ छ । 

अमेरिकाको चेतावनी

नेपालको विमानस्थलको सुरक्षा जाँचको दयनीय अवस्था दर्साउँदै अमेरिकी विदेश मन्त्रालयले पटकपटक चेतावनी दिएको छ । आतंकवादसम्बन्धी नेपाल प्रतिवेदनमा लेखिएको छ, ‘ विमानस्थलसँग आर्ट ब्यागेज स्क्रिनिङ प्रविधि छैन । हातैले गरिने खानतलासीमा भर पर्नुपर्ने अवस्था छ । निषेध गरिएका क्षेत्रमा काम गर्ने विमानस्थलका कर्मचारीलाई कमजोर जाँच गरिन्छ । उनीहरूको पृष्ठभूमिको जाँच पनि सन्तोषजनक ढंगबाट गरिँदैन ।’ 

अमेरिकाले नेपालको विमानस्थलमा सुरक्षा जाँचको अवस्था कमजोर छ भनेर सचेत गराएको यो नै पहिलो भने होइन । बर्सेनि उसले आफ्नो वार्षिक प्रतिवेदनमा यी कमजोरी औँल्याउँदै आएको छ । सन् २००२ देखि नै अमेरिकाले नेपालको विमानस्थलको सुरक्षामाथि निरन्तर प्रश्न तेस्र्याउँदै आएको छ । १४ वर्षअघिको प्रतिवेदनले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै सार्वजनिक स्थानहरूको सुरक्षा एकदमै कमजोर रहेको औँल्याएको थियो । 

प्रकाशित: श्रावण ३०, २०७३