सम्झाइरहने बेचुवान

  • भूकम्पपछि चीन सरकारले बेचुवानको बस्ती अन्यत्र सार्‍यो र गाउँलाई भूकम्प स्मारकका रूपमा छाड्यो ।

- प्रदीप बस्याल

गत जेठको अन्तिम साता चीनको बेचुवानले पनि सिचुवान महाभूकम्पको आठौँ वार्षिकी मनाइरहेको थियो । सन् २००८ मा आएको आठ म्याग्निच्युडको भूकम्प सबैभन्दा नमीठोसँग भोगेको गाउँ हो, बेचुवान । त्यहाँका झन्डै २० हजारमध्ये ८ हजार ६ सयले ज्यान गुमाए, दुई तिहाइभन्दा बढी घर ध्वस्त भए । 

आठ वर्षपछि पनि बेचुवान उस्तै छ । चराहरूसमेत खुलेर गुनगुनाउन सकिरहेका थिएनन् । लाग्छ, केहीअघि मात्र त्यहाँ भूकम्प गएको हो । भूकम्पपछि चीन सरकारले त्यहाँको बस्ती अन्यत्र सार्‍यो र गाउँलाई भूकम्प स्मारकका रूपमा छाड्यो । 

लगातार स्मारकको चक्कर लगाइरहँदा देखिन्छ, भत्किएका हुन् वा भग्नावशेषमा परिणत भएका; हरेक भवनका कहालीलाग्दा कथा छन् । हामीले प्राय: सुन्दर देख्ने प्रकृति कतिसम्म क्रुर हुन सक्छ भन्ने बेचुवानले देखेको छ । सायद बेचुवानले स्मारकमार्फत त्यही सम्झाउन चाहन्छ । 

त्यहाँको एउटा स्कुलमा मात्र झन्डै एक हजारको ज्यान गएको थियो । ४ कक्षामा पढ्ने एक छात्रा ली क्यु भने बच्न सफल भइन्, जो भविष्यमा नृत्यांगना बन्न चाहन्थिन् । भूकम्प आउँदासमेत उनी नाचिरहेकी थिइन् । पछि ७० घन्टासम्म उद्धारमा जुध्दा पनि केही उपाय नलागेपछि उनको गोडा नै काट्नुपर्‍यो । त्यसै वर्षको ग्रीष्मकालीन ओलम्पिकमा उनले ह्वीलचेयरबाटै आफ्नो सपना पूरा गरिन् । 

रुग्ण एक स्थानीय बैंकको भवनअघि राखिएको होर्डिङ बोर्डमा लेखिएको छ, ‘यस भग्नावशेषमा विश्व हल्लाउने एउटा प्रेमकथा थियो ।’ भएको के रहेछ भने हि चेन्सी नाम गरेकी एक युवती भग्नावशेषमा हराइछन् । १८ घन्टा खोजेपछि सबैभन्दा पहिले उनकै प्रेमीले भेटेछन् । आफ्नी प्रेमिकालाई एक्लो अनुभव हुन नदिन उनी त्यहीँ लम्पसार परेर कुरेछन्, १०४ घन्टापछि उद्धार सफल भयो । 

विपत्तिमा विज्ञ त्यही हुन्छ, जसले आपत् मा परेकाको उद्धार गर्छ । बेचुवानमा मिडिल स्कुल पढ्ने विद्यार्थीसमेत त्यतिखेर कतिका लागि डाक्टर मात्र होइन, भगवान् नै भएछन् । कसैले नअह्राईकनै भग्नावशेषमा पुरिएकालाई पाइपबाट पानी दिइरहेका थिए, जो त्यहाँ तस्बिरमार्फत देखिन्छ । एउटा ठूलो व्यापारिक भवनबाट समयमै लास झिक्न नसक्दा त्यो चिहानमै परिणत भयो । पछि मृतकप्रति शोक व्यक्त गर्न त्यहीँ आसपासमा दूबो रोपियो, धुपी र सरुका वृक्ष रोपिए ।

स्मारक नै भए तापनि त्यस गाउँमा कतै रंगरोगन वा सजावट गरिएको छैन । सिर्फ अवलोकनकर्ताको सुरक्षाका लागि ढल्किएका र चर्किएका घरलाई फलामे आड दिइएको छ । बाटोघाटोचाहिँ सरसफाइ गरिन्छ । अर्थात् भूकम्पको उद्धार सकिसक्दा त्यहाँ जे बचेको थियो, अवलोकनकर्ताले देख्ने त्यही हो । ह्वांग छाडिएको घरको झ्यालबाट देखिन्छ, नवदम्पतीको प्रेमिल तस्बिर, जो भित्तामा टाँगिएको टाँगियै छ । बेचुवान गाउँकै छेउमा ५.१२ म्याग्निच्यूड भूकम्पको अर्काे संग्रहालय छ । त्यहाँ बेचुवान मात्र होइन, झन्डै ८० हजारको ज्यान लिएको सिचुवान भूकम्प सम्झाउने हरेक ससाना कुरा छन् । 

भूकम्पको भोलिपल्ट विश्वका सञ्चारमाध्यम कसरी प्रस्तुत भए, त्यस दु:खद घडीमा चिनियाँ नेतृत्वले कसरी काम गर्‍यो, विश्वभर छरिएर रहेका चिनियाँहरू कसरी क्षणभरमै त्यस दु:खमा सघाउन एकजुट भए भन्नेजस्ता यावत् कुरा संग्रह गरिएका छन् । त्यस विशाल संग्रहालयमा उद्धारका क्रममा ज्यान गुमाएका र आफ्ना विशेष कौशल देखाएका थुप्रै व्यक्तिका उस्तै लाग्ने प्रतिमूर्ति राखिएका छन् । त्यति मात्र होइन, क्रेन–ट्रकजस्ता निर्जीव वस्तुले कुन हदसम्म काम गरेर कतिका ज्यान बचाए भन्नेसमेत उल्लेख छ । त्यो विवरण हेर्दा थुप्रैमा निर्जीव वस्तुहरूप्रति श्रद्धा पलाएको हुनुपर्छ । सिर्फ त्यत्तिमै रोकिँदैन, मन कुँडाउने दृश्य । भूकम्पको समय अर्थात् दिउँसो साढे २ बजे आसपासमा रोकिएका घडीहरू, भागदौडमा छुटेका जुत्ता–चप्पलहरू देख्दैमा जोकोही आफ् ना आँसु थाम्न सक्दैनन् । 

सिचुवान भूकम्पले सबैखाले विपत्तिलाई एकैसाथ ल्याएको थियो । बेचुवानमै पनि पहिरोले बस्तीलाई पुर्‍यो, खोला थुनेर ताल बनायो र त्यो फुट्दा बस्तीलाई पुन: बगायो । धन्न, त्यतिबेलासम्म बचेका मानिसलाई सुरक्षित ठाउँमा सारिसकिएको थियो । बाटाघाटा बिग्रँदा, पुलहरू भाँचिदा उद्धार सामग्री ल्याउनसमेत सकिएन । डोजर, क्रेनहरू हेलिकप्टरले उठाएर ल्याएका थिए, उद्धारकर्मीहरूले प्यारासुटबाट हाम फालेका थिए । भिडियो र तस्बिरमा संगृहीत छन्, भावी पुस्ताका लागि । 

भूकम्पपछिको दैनिकी पक्कै सहज हुँदैन, सिचुवानमा पनि भएन । मिडिल अटम फेस्टिबल, ड्रयागन बोटजस्ता मे महिनापछि आउने प्रमुख चिनियाँ चाड धेरैले अस्थायी घरमा मनाए । विद्यार्थीहरू केही महिना चौरमा बसेर पढे, जुन उस्तै झल्किने गरी कृत्रिम परिवेशमा संग्रहालयमा सुरक्षित छन् । 

बेचुवानलाई भने अर्को सुरक्षित बस्ती बनाएर सारियो । तत्कालीन राष्ट्रपति हु जिन्ताओले नयाँ बस्तीलाई योङचाङ नाम दिए, जसको अर्थ हो ‘सदाका लागि समृद्धि’ । सिचुवान भूकम्पलाई ‘चिनियाँ एकता’, ‘चीनको कठिन परीक्षाको घडी’जस्ता थुप्रै विम्बका कारण सम्झना गरिन्छ । तर, त्यहाँ भ्रमण गरिसक्दा लाग्छ, यो ‘भूकम्पको विश्वविद्यालय’ नै हो, जसले मानवजातिकै लागि थुप्रै पाठ छोडेर गएको छ । बेचुवान स्मारक र संग्रहालय डुलिरहँदा कहीँकतै सुरक्षाकर्मीको पहरा देखिँदैन । त्यहाँ आठ वर्ष पुरानो शोकको सम्झनाले नै सबैलाई अनुशासित ढंगबाट डोहोर्‍याइरहेको थियो । सायद, बेचुवानले भन्न खोजेको पनि त्यही नै हो । 

नेपाल स्वयंले वर्ष दिनअघि मात्र भूकम्प झेलेपछि धरहरालाई भत्केकै स्वरूपमा स्मारक बनाउने वा पुन:निर्माण गर्नेमा बहस चलेपछि अन्तत: त्यो पुन:निर्माण गरिने टुंगोमा पुग्यो । लाग्छ, नेपालको भूकम्प झेल्ने पुस्ताले नै बिर्सिसक्यौँ, भावी पुस्ताले कसरी सम्झेला ? 

प्रकाशित: श्रावण २८, २०७३