एक हात नै काफी

  • शारीरिक अपांगता भए पनि निरन्तर कर्ममा

- पर्वत पोर्तेल

कथा यस्ता मान्छेहरूको हो, जो शारीरिक रूपमा अपांग छन् । तर पनि निरन्तर कर्म गरेर जीवन चलाइरहेका छन् । कसैको जन्मजात त कसैको विभिन्न दुर्घटनाका कारण एउटा हात गुमेको छ ।  एक हातको सहाराले कर्ममा तल्लीन छन् । शिक्षक, कर्मचारी, खेलाडी र मजदुर भएर जीविका चलाइरहेका कर्मशीलका लागि एक हात नै काफी छ ।  

***

१ माघ ०४४, खोटाङ दिक्तेलको दोर्पा चिउरीडाँडा । 

घर नजिकैको साप्सु खोलामा मकर संक्रान्ति मेलाको रौनक थियो । सात वर्षे बालक कृष्ण आचार्यलाई पनि त्यो रौनक एकपटक नियाल्ने हुटहुटी भयो । आमाबुबाको औँला समातेर मेला भर्न हिँडे उनी ।  घरदेखि केही तल पुगेपछि कृष्ण भीरबाट चिप्लिए । कसोकसो ज्यानचाहिँ बच्यो । तर, दायाँ हात गुम्यो । “हात नसाले मात्रै अडिएको थियो,” कृष्णले कहालीलाग्दो क्षण सम्झिए, “घरेलु उपचार गरियो तर नसाले थामेन, चुँडियो ।” 

३ कक्षा पढ्दै गरेका कृष्णलाई अब स्कुल जान मन भएन । साथीभाइले डुँडे भनेर  खिसीट्युरी गरेपछि विरक्तिएर झापाको धुलाबारी हान्निए । धुलाबारी माविमा ४ कक्षामा नाम लेखाए । फेरि पनि स्कुल जान मनै मानेन । साथीसंगीले गिज्याउँछन् भन्ने पक्का थियो । यिनको मन फेरियो । सोचेछन्, “बरू, गाउँमै गएर पढ्छु, जेसुकै भनून् ।”  १० कक्षासम्म गाउँमै पढे । एसएलसी दिन पुन: झापा आए । आईएड भद्रपुरबाट र बीएड धुलाबारी क्याम्पसबाट सिध्याए । 

पढेर मात्रै हँुदैन जस्तो लागेछ कृष्णलाई । अनि, जागिर खाने मेलोमेसो मिलाए । २० जेठ ०६४ बाट सहायक स्तर प्रथम तहबाट स्थानीय धुलाबारी खानेपानी कार्यालयमा जागिर सुरु गरे । यिनलाई खोज्दै कार्यालय पुग्दा आफ्नो चेम्बरमा काममा व्यस्त थिए । अहिले जिन्सी शाखाका इन्चार्ज छन् कृष्ण ।  

***

करिब पाँच वर्षको बालक घर अघिल्तिरको चापाकलमा खेल्दै थियो । कल अड्याउने बाँस गाड्न खाल्डो खनिएको रहेछ । कलमा हात धुन खोज्दै थिए, अचानक खाल्डोमा परे । कोल्टिएर खाल्डामा पर्दाको हाल कस्तो दर्दनाक थियो होला । संयोगले ज्यानचाहिँ बच्यो । तर, बायाँ हात भाँचियो । भाँचिएको हातको घाउ दिनदिनै बढ्दै गयो । डाक्टरको गलत उपचारले घाउ बिसेक हुनुको साटो बल्भिँmदै गयो । अन्तत: हात काटेर फ्याँक्नुको विकल्प रहेन । 

यो पीडादायी घटना विराटनगरका विशाल घिमिरे, २८, को हो । एउटा हात मात्रै भए पनि विशाल आफ्नो दैनिक कर्ममा तल्लीन छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, झापामा जागिर छ । एउटा हातकै भरमा मज्जाले कम्प्युटर चलाउँछन् । 

***

झापा, शिवसताक्षी–५, झिलझिलेकी धनमाया राई, ४६, को व्यथा भने अलि रोचक छ ।  १३ वर्षमा यिनको बिहे भयो । विवाहको १६आैँ दिनमा पति गुमाइन् धनमायाले । कस्तो दुर्भाग्य ! पाँच वर्षअघि धान कुट्ने मिलको फित्ताले दाहिने हात चुँडाइदियो । अहिले एक हातको सहारामा यिनले जीवन चलाइरहेकी छन् ।  

स्थानीय वनबाट हावाले लडेका सानातिना रूख चिरेर दाउरा बिक्री गरेर जीविका चलाउँछिन् धनमाया । “अरू भए मागेर खान्थे होलान्,” स्थानीय पत्रकार विनोद सापकोटा भन्छन्, “धनमाया दिदीले पसिना बगाएर खाएकी छन् ।” एउटा हातको भरमा दाउरा चिरेको देख्दा यिनको हिम्मतलाई सलाम गर्न मन लाग्छ । त्यसैले यिनको हृदयले अर्कासँग हात पसारेर खान नपरोस् भन्ने सोच्छ । “पसिना बगाएर खान्छु, मागेर खान्नँ,” धनमाया भन्छिन् ।

***

झापा, बुधबारेका लोकराज ढुंगाना, ३८, खेलकुदमा सक्रिय छन् । ढुंगाना जन्मँदै अपांग जन्मिए । दायाँ हातको नाडी मुन्तिरको भाग अर्थात् पन्जा छैन । पेसाले ढुंगाना फुटबलका राष्ट्रिय रेफ्री हुन् । फुटबलप्रति सानैदेखिको रुचिले उनलाई रेफ्री बनायो । इच्छा त खेलाडी बनेर नाम कमाउने थियो । तर, शारीरिक कारणले खेलाडी बन्न रोक्यो । खेल्न नसके पनि राम्रा दर्शक थिए । ०५८ मा जब यिनले प्रवीणता प्रमाणपत्र तहको अध्ययन सके, थप अध्ययन छाडेर फुटबलको रेफ्री बन्ने भूत सवार भएछ । “जसरी भए पनि रेफ्री बनिछाड्छु भन्ने भो,” उनले सुनाए, “काठमाडाँैमा एन्फाको तालिम लिएर 

रेफ्री बनिछाडेँ ।”

आज उनले रेफ्री गर्न थालेकै १५ वर्ष बितिसक्यो । जिल्ला तथा क्षेत्रमा हुने राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा लोकराज प्राय: देखिन्छन् । “फुटबलले नै पालेको छ अहिलेसम्म,” लोकराज भन्छन्, “यो मेरा लागि सबै थोक हो ।” 

एउटा मात्रै हात भएकाले काममा कहिलेकाहीँ असहज हुन्छ । खास गरी फुटबलको लाइन्सम्यानचाहिँ प्राय: बस्दैनन् । किनभने, लाइन्सम्यानमा बस्दा झन्डा देखाउन (फ्ल्याग रेज) अप्ठ्यारो हुन्छ । त्यसबाहेक अन्य कुरामा खासै अप्ठ्यारो परेको छैन । कार्ड देखाउन र डायरी नोट गर्न गाह्रो छैन । “बानी परिसक्यो,” लोकराज भन्छन्, “दुवै हात छ जस्तो लाग्छ ।” 

***

झापा, धाइजनका नवराज सुवेदी, २४, शिक्षण पेसामा आबद्ध छन् । सुवेदीको जन्मजात बायाँ हात आधा मात्रै छ । त्यो हातले चाहेर पनि केही गर्न सक्दैनन् । तर, अर्को हातको सहायताले धेरै गर्न सक्छन् । दुवागढीको सीताराम सामुदायिक अंग्रेजी स्कुलका मावि शिक्षक हुन्, नवराज । 

०६७ देखि यो स्कुलमा निरन्तर शिक्षण गरिरहेका छन् । स्नातकोत्तर दोस्रो वर्षको विद्यार्थीसमेत रहेका नवराजलाई अहिलेसम्म आफू अपांग हुँ भन्ने आभास भएकै छैन रे ! “अरू अपांग साथीहरूसँगै बस्दाचाहिँ म पनि अपांग रहेछु जस्तो लाग्छ,” नवराजले अनुभव साटे, “एक्लै हुँदा त्यो फिल नै हुँदैन ।” 

प्रकाशित: श्रावण २८, २०७३