आरक्ष नै अतिक्रमणमा

  • मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सरकारी निकायबाट आवश्यक निगरानी नहुँदा अतिक्रमण भइरहेको छ ।

- लालप्रसाद शर्मा

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन । वन्यजन्तु र महत्त्वपूर्ण जडीबुटी पनि पाइने ठाउँ । गतिलो पर्यटकीय गन्तव्य पनि । तर, सरकारी निकायबाट आवश्यक निगरानी नहुँदा आरक्ष क्षेत्र अतिक्रमण भइरहेको छ । 

अवैध चोरीनिकासी मात्र होइन, जंगल फँडानी पनि तीव्र छ । ठूलो क्षेत्रफल र विकट भौगोलिक अवस्थाले अतिक्रमण र चोरीनिकासी रोक्न नसकिएको कर्मचारी स्वीकार्छन् । स्थानीयवासीले आरक्षमा घरगोठ बनाउने, खेती गर्ने, पर्खाल लगाउने जस्तो काम गरेर अतिक्रमण गर्दै आएका छन् । 

सशस्त्र द्वन्द्वका बेला आरक्ष कार्यालय विस्थापित भएर कर्मचारी पनि नबसेपछि अतिक्रमण तीव्र भएको हो । शान्ति प्रक्रियासँगै कार्यालय पुन:स्थापना भए पनि अतिक्रमण तथा चोरीनिकासी नियन्त्रणमा खासै पहल भएको छैन । “०६९ को अध्ययनमा ४० दशमलव ४ हेक्टर क्षेत्रफल प्रत्यक्ष अतिक्रमणमा परेको भेटिएको थियो,” आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्, “त्यसयताको अवस्था थाहा छैन । यसपटक फेरि अध्ययन गर्ने योजनामा छौँ ।” 

सबै क्षेत्रमा अतिक्रमण भए पनि निसेलढोर, टकसेरा, ढोरपाटन, गुर्जाघाटमा अतिक्रमण अत्यधिक भएको आरक्ष कार्यालयले जनाएको छ । गुर्जाघाटमा बाग्लुङ र म्याग्दीवासीको झगडाले जग्गा नापी हुन नसक्दा समस्या भएको आरक्षका सिनियर गेम स्काउट तुलसीराम सुवेदी बताउँछन् । “हामी दुई–चार जनाले रोक्न सक्ने कुरा भएन,” सुवेदी भन्छन्, “कर्मचारीको सुरक्षा पनि नहुने भएकाले अतिक्रमण रोक्न नसकिएको हो ।” 

नाउर (जंगली भेडा) र झारलको सिकारका लागि आरक्षमा लाखौँ रुपियाँ खर्च गरी विदेशी सिकारी यहाँ आउँछन् । यसले मात्र यहाँको विकास नहुने भएकाले घुमफिर र ट्रेकिङका लागि पनि पर्यटक ल्याउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराई बताउँछन् । 
आरक्षमा हिउँचितुवा, नाउर, घोरल, थार, ब्वाँसो, मुसेखरायो, रेडपान्डा, कस्तूरी, मृग, जंगली कुकुर, रतुवा, हिमाली भालु, चितुवा, डाँफे, मुनाल, चिरजस्ता वन्यजन्तु र यार्सागुम्बा, पाँचऔंले, पदमचाल, धुपीलगायतका जडीबुटी पाइन्छन् । 

मैकोट, पेल्मा, टकसेरा, निसेलढोर, देउराली, गुर्जाखानी र गुर्जाघाटमा चेकपोस्ट छन् । तर, कर्मचारी अभावमा सुरक्षा प्रभावकारी हुन नसकेको आरक्षको कथन छ । “चोरीनिकासी भए पनि बिनाहतियार फिल्डमा गएर पक्रिन सक्ने अवस्था छैन,” बराल भन्छन् । 

अतिक्रमणको चपेटामा परेपछि आरक्षको सुरक्षार्थ सरकारले नेपाली सेना खटाएको छ । मन्त्रिपरिषद्को २३ असोज ०७२ को निर्णय अनुसार ३० वैशाखदेखि हनुमानध्वज गुल्म यहाँ आएको हो । अब आरक्षमा संरक्षण र सुरक्षाको काम सेनाले गर्ने भएपछि अतिक्रमणमा कमी आउने आशा लिएका छन् प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले । 

एक कर्मचारीका अनुसार स्थानीयसँग परम्परागतदेखि आधुनिकसम्मका हतियार रहेका र ती चोरीसिकारीमा प्रयोग हँुदै आएका छन् । २ हजार मिटरदेखि ७ हजार २ सय ४६ मिटरसम्मको उचाइमा फैलिएको आरक्ष क्षेत्रमा खुला चरीचरनले पनि महत्त्वपूर्ण जडीबुटी हराउने चिन्ता स्थानीयको छ । आरक्षमा ३२ कर्मचारीको दरबन्दी भए पनि आधा मात्रै कार्यरत छन् । 

बाग्लुङ सदरमुकामबाट ३६ कोस पश्चिममा पर्छ, ढोरपाटन । ०३९ मा जैविक विविधता, प्राकृतिक भूसम्पदा, दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण र व्यवस्थापन गरी पर्यापर्यटनको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आरक्ष स्थापना भएको हो । रुकुम, बाग्लुङ र म्याग्दी जिल्लामा पर्ने यस आरक्षले १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्र ओगटेको छ । 

प्रकाशित: श्रावण २०, २०७३