बर्कले गुरिल्ला

  • म बाहुनविरोधी होइन, बाहुनवाद–विरोधी हुँ ।

- राजकुमार बानियाँ

काठमाडौँ पत्ता लगाउने को हो ? यस्तो गुरिल्ला–प्रश्न सोध्न सिपालु छन् समाजशास्त्री कृष्ण भट्टचन, ६३ । “क्रिस्टोफर कोलम्बसले अमेरिका अनि क्याप्टेन कुकले अस्ट्रेलिया पत्ता लगाएको हो भने,” जवाफ पनि उनैसँग छ, “काठमाडौँ कृष्ण भट्टचनले पत्ता लगाएको हो, सन् १९७१ मा ।”

नेपाली समाजको एउटा तप्कामा आतंककै अर्को नाम भएका छन्, यी बागी विद्वान् । त्यसैले उनको खातामा अनेक टाइटल छन्, एक नम्बर बाहुनविरोधी, नश्लवादी, जातिवादी, अराजक, अतिवादी, उग्रवादी आदि इत्यादि ।

“म बाहुनविरोधी होइन, बाहुनवाद–विरोधी हुँ । बाहुनवादी त जनजातिभित्र पनि छन्,” उनी प्यालेस्टाइनी प्रोफेसर एडबर्ड सइदकै शैलीमा स्पष्टीकरण दिन्छन्, “सत्य जहिल्यै अराजक र 

अतिवादी लाग्छ । मेरा सहयोगी, शुभचिन्तक, प्रशंसक हेर्नुस् त– कति बाहुन छन् ?”

दाबी या विरोध आफ्नो ठाउँमा छ । सुन त कसीमा घोटेरै थाहा पाइने हो । यद्यपि बाहुन (प्रवृत्ति)वादसँग सिँगौरी खेल्न भने उनी पहिलो नम्बरमै छन्, करङ नै किन नभााचियोस् । उनी बाहुनवादविरुद्ध बाथरुमदेखि क्लासरुमसम्म एसएलआरजस्तो बोली छुटाउँछन् । उनी आदिवासी/जनजातिका पक्षमा लेख्छन्, बोल्छन्, पढ्छन्, पढाउँछन् । 

भट्टचनको पुख्र्यौली थलो मुस्ताङ हो । उनका बाजे भीमबहादुर हिमालपारिको गाउँ थसाङबाट तालनगरी पोखरा झरेका हुन् । बडाहाकिम धनशमशेरसँग काम गरेका बाजे वेदान्त र सितार मर्मज्ञका साथै कुक रहेछन् । 

उनका पिता झपटबहादुरचाहिँ अंग्रेजीबाज र पोखराका कम्युनिस्ट संस्थापक हुन् । उनको घर कम्युनिस्टहरूको भूमिगत सेल्टर थियो कुनै बेला । त्यहाँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल पनि लुके लामो समय । 

भट्टचनका बाजे र मावली बाजे ओमप्रसाद गौचन भने कांग्रेस रहेछन् । बाजेले ‘कांग्रेसबाट देशको भलाइ हुन्न’ भनेर पार्टी छाडे । बुबाले कम्युनिस्टतिर नाता जोडे । उनी त कतै पनि लागेनन् ।

“वामपन्थी पार्टीहरू मुद्दा हाइज्याक गर्न सिपालु छन् तर अधिकार र मुक्ति दिने सन्दर्भमा कन्जुस,” उनी भन्छन्, “गरिब, राज्यसत्ताले पछाडि पारेका व्यक्तिका पक्षमा बोल्दैमा वामपन्थी हुने भए सबैभन्दा ठूला वामपन्थी विश्व बैंक र एसियाली विकास बैंक हुन् । सरकार त झन् ठूलो वामपन्थी हो ।”

०१५ सालको आमचुनाव ताका हार्मोनियम लिएर ‘कम्युनिस्ट हामी देश डुली आयौँ भोट मागन’ भनी गीत गाउँदै हिँडेका उनका बुबाले पोखरामा नवीन प्रावि खोले । भट्टचन त्यहीँ एकैचोटि पाँच कक्षामा भर्ना भए । रमाइलो के भने कक्षा ४ र ५ मा विद्यार्थी भएनन् । हेडसरको अनुरोधमा उनले तीन कक्षामा पढेर चित्त बुझाए ।

“मलाई बाजेले कति माया गर्थे भने होमवर्क पनि आफैँ गरिदिन्थे,” उनी सुनाउँछन्, “स्कुलमा गुरुले सोध्दा जवाफ दिन नसकेर झापड खाएँ ।” अनि उनलाई थाहा भयो, आफ्नो काम आफैँ गर्नुपर्ने रहेछ । नेसनल मल्टिपर्पस हाइस्कुलबाट २०२४ मा एसएलसी गरे उनले । पृथ्वीनारायण क्याम्पसमा आईएस्सी पढ्दा उनको सपना थियो, लेखक बन्ने । गण्डकी अञ्चलस्तरीय साहित्यिक प्रतियोगितामा ‘चिसो छिँडीमा रातभर’ नामक कथा लेखेर राजा महेन्द्रको हातबाट पुरस्कार पनि थापे ।

 

त्यसपछि कवि भूपी शेरचनले उनलाई चिठी लेखेछन्, ‘प्रतिभाले एक हदसम्म टाढा पु‍र्‍याउँछ । त्यसै गरी मिहिनेतले एक हदसम्म टाढा पु‍र्‍याउँछ । प्रतिभा भएकाले मिहिनेत गरे झनै टाढा पु‍र्‍याउँछ ।’ तर, लेखकहरूको जिन्दगी धेरै गाह्रो देखे उनले । त्यसैले त्यो यात्रा त्यतै कतै छुट्यो ।

त्यही आसपास राजा महेन्द्रका भाइ हिमालयकी पत्नी प्रिन्सेप शाहको दरबार ‘हिमागृह’का इन्चार्ज थिए, उनका ‘कामरेड’ बाबु । त्यही कारण भट्टचन र उनकी बहिनी उषा (शेरचन) लाई पढाउने जिम्मा प्रिन्सेपले लिइन् । 

पोखराबाट काठमाडौँ आउँदा उनीहरूका ड्राइभर थिए, डाक्टर जयनारायण गिरी । बाटोमा जोल्टिङ आउनासाथ भनिहाल्थे, होसियार ! उषा आरआर कलेज पढ्न थालिन् भने आईएस्सी पढ् दापढ्दैका भट्टचनलाई एकसाथ दुइटा अफर आयो, जुनियर रेडक्रसको डाइरेक्टर र सोल्टी क्यासिनोमा जागिर ।

त्यो अफर हो, बलिउड फिल्म हरे राम हरे कृष्ण सुटिङपछिको । सामान्यत: क्यासिनोमा २१ वर्ष नपुगी छिर्न पाइँदैन । भट्टचन थिए, जम्मा १८ वर्षका । त्यतिबेला सोल्टी क्यासिनोका इन्स्पेक्टर थिए, बलबहादुर कुँवर (पूर्वराजदूत), पिटर जे कार्थक (लेखक) । रिङ मास्टर ब्रिटिस थिए, मेटक्स ।

क्यासिनोको घुम्ने खेल (रुलेट)का निम्ति उनको उचाइ नै पुगेन । गुनासो गर्दा भनिएछ, ‘काठको खुट्टा हालेर सिकाऊ ।’ 

उनी तासको तीनमहिने कोर्समा लागे । तर, २८ दिनमै उस्ताद भइहाले । “पोखरामा हाम्रो खिच्रीमिच्री पसल थियो, ग्राहक त्यति नआउने,” उनी भन्छन्, “त्यही बेला छिटोछिटो तास बाँडेर खेल्थ्यौँ ।”

क्यासिनोमा उनले थुप्रै शासक, सम्भ्रान्त र सेलिब्रिटीलाई देखे । उनीहरूले कसरी पैसा खर्च गर्छन् भन्ने थाहा पाए । क्यासिनोमा उनले विश्व बैंकका प्रमुख रोबर्ट म्याकनमारादेखि बलिउड अभिनेता रणधीर कपुरसम्म भेटे । हनिमुनमा आएका आशा भोसले र पञ्चम दालाई देखे । 

तास खेलेर उनले थुप्रैको पैसा मारेका छन् । एक दिन खेल्दा–खेल्दा प्रिन्सेप शाहको सबै पैसा सकियो । चाबी राख्दा उनले त्यो पनि खाइदिए । उनी कति छिटो तास बाँड्थे भने खेल्नेले सोच्नै भ्याउन्नथ्यो ।

नेपाली पनि सुटबुट लगाएर आउँथे क्यासिनोमा । नारायण गोपालदेखि बैरागी काइँलासम्म । “नारायण गोपाल आक्कलझुक्कल आउँथे,” उनी सम्झिन्छन्, “म उनले जितून् भन्ने नै चाहन्थेँ । तर, उनले कहिल्यै जित्न सकेनन् ।”

बिस्तारै क्यासिनोमा ‘बेस्ट कुप्रियर’ कहलिए भट्टचन । तर, घरानियाँले खेल्ने ठाउँमा पिट बोसले कहिल्यै जान दिएनन् । त्यसपछि उनले ठम्याए– राम्रो पनि भन्ने, दु:ख पनि पाउने ठाउँमा किन बस्ने ? यो ठाउँमा मेरो कल्याण छैन । 

त्यो भन्दा पनि निराशा छाउनुको कारण थिइन्, प्रिन्सेप । उनको इच्छा भट्टचनलाई होटल म्यानेजमेन्टतिर तान्ने थियो । तालिमका लागि दिल्ली र पेरिस पठाउने अनि नेपालमै पहिलो मोटल खोल्ने । तर, बीए पास नगरेको भनी उनलाई त्यो अवसरै दिइएन ।

त्यही बेला राष्ट्रिय खेलकुद परिषद्ले टेबल टेनिस प्रशिक्षणका लागि भारतको पटियाला पठाउन लागेको रहेछ । त्यसमा सोल्टीकै साथी खड्ग रानाभाटले उनलाई उकासे । त्यतिबेलासम्म उनले कहीँ टुर्नामेन्ट खेलेका थिएनन् । ऐनमौकामा टाकनटुकुन खेलेको मात्र । तर, पटियालामा हल्ला चलिसकेछ, ‘नेपालबाट पेन होल्ड ग्रिपमा खेल्ने नामी खेलाडी आएको छ ।’

त्यहाँ उनीबाहेक सबै एकसे एक खेलाडी थिए । विश्वकपको अनुभव लिइसकेका । डेमोन्स्ट्रेसन म्याचमा उनलाई आपत् पर्‍यो । उनले रणनीति लिए, किलर सट् हान्ने । सोल्टीका जुवाडे न परे । १७ राउन्ड हानेर सम्मानजनक स्थान बनाए । त्यहाँ तालिम लिएर फर्केपछि उनी टेबल टेनिसमा मुलुककै चौथो प्रशिक्षक भए ।

सुदूर, मध्य र पश्चिमाञ्चलको जिम्मा पाए उनले । पोखरा बसेर राजनीतिशास्त्र र इतिहास पढे । एकपटक धरानमा टेबल टेनिस प्रतियोगिता भएको थियो । हारेको झोकमा उनको टिम बसेको कोठाको ढोकामा चुकुल लगाइयो । त्यसपछि तोडफोड भयो । पी खरेलले द राइजिङ नेपालमा समाचारै लेखे, ‘पान्डेमुनियम एट धरान ।’ 

टेबल टेनिस एसोसिएसनले नयाँ प्रशिक्षकलाई विदेश जान नदिने नीति बनाएपछि उनले सोचे, विदेश गएन, खेल हेर्न पाएन भने के सिक्ने ? के सिकाउने ? अनि बाटो अन्तै मोडियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपछि भट्टचनले समाजशास्त्र/मानवशास्त्रमा पाँचवटा छात्रवृत्ति आएको सूचना पाए । त्यसमा रामबहादुर क्षत्री, ओम गुरुङ र पद्मलाल देवकोटा मानवशास्त्रका लागि पुना अनि फणिन्द्रेश्वर पौडेल र उनी मैसुर हानिए । तर, स्नातक तहमा सम्बन्धित विषय नपढेकाले फिर्ता भए । तै बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)का प्राध्यापक गोपालसिंह नेपालीले मिलाउने वचन दिएकाले उनी केही दिन रोकिए । 

“त्यतिबेला बनारसमा तीन पूर्वप्रधानमन्त्रीका छोरा पढ्थे । बीपी कोइरालापुत्र शशांक, मातृकाप्रसाद कोइरालापुत्र सञ्जय, तुलसी गिरीपुत्र अनुराग,” उनी सम्झिन्छन्, “म शशांककहाँ सुटकेस राखेर घर फर्किएँ ।”

त्यत्रो धामा गरेर बीएचयूमा समाजशास्त्र पढ्दा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा जागिरको सुरसारै भएन । अझ पाँच वर्षसम्म अन्यत्र जान नपाउने सर्तमा छात्रवृत्ति दिइएको थियो । उनले गोरखापत्रमा आक्रोशमिश्रित लेख छापे । त्यसले त्रिविमा पस्न सजिलो बनाइदियो । 

त्रिविमा समाजशास्त्र/मानवशास्त्र विभाग (सन् १९८१) खुल्यो । पाठ्यक्रम बनाउने टिममा उनी पनि थिए । चैतन्य मिश्र, डोरबहादुर विष्ट, कैलाश प्याकुरेलपछि उनी विभागीय प्रमुख भए । तर, कसैको कार्यकाल एक वर्षभन्दा बढी भएन । भट्टचनपछि विष्ट नै दोहोरिए । 

सन् १९८७ मा ‘फुलब्राइट स्कलरसिप’ पाए उनले । उनले इमेल चलाएको त्यही बेला हो । पाँच वर्षपछि बर्कलेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरे । उनको थेसिस थियो, ‘विकासमा सार्वजनिक बहस ।’

बर्कले कस्तो विश्वविद्यालय हो भने, फ्री स्पीच, हिप्पी मुभमेन्टदेखि विभिन्न जातजाति विभाग पहिलोपटक त्यहीँ खुलेका हुन् । नोबल पुरस्कार विजेता १३ जनालाई उनले त्यहीँ भेटे । विश्वका अराजक विद्यार्थी–प्राध्यापक त्यहीँ हुन्थे । एक जना त नांगै पढ्न आउँथे । बर्कलेकै प्राध्यापकले वैवाहिक बलात्कारसम्बन्धी धारणा ल्याएपछि अमेरिकामा भन्न थालिएको थियो, ‘वी डन्ट टक विद् बर्कले गाइज् ।’ कोलम्बस डेमा सारा अमेरिका बिदा हुन्छ, बर्कले खुलै रहन्छ ।

नेपाल फर्केलगत्तै भट्टचनले आदिवासी जनजातिका अधिकारको पैरवी थालिहाले । उनी र्‍याडिकल सोसल साइन्टिस्टका रूपमा चिनिए । अझै पनि सामाजिक न्याय र मुक्तिका साथै विचारको निर्बाध स्वतन्त्रताका पक्षमा अविचलित छन् ।

दसैँ बहिष्कारका अभियन्ता पनि उनै हुन् । उनले लेखे पनि– दसैँ धनी हिन्दुलाई खासा, गरिब हिन्दुलाई दशा र दलित, जनजातिलाई दुर्दशाको चाड हो । “अमेरिकामा थ्याङ्क्स् गिभिङ (धन्यवाद ज्ञापन) चाड मनाइन्छ । त्यो धन्यवादचाहिँ आदिवासीलाई गोराले दिएका हुन्,” उनी भन्छन्, “दसैँ नेपालका जनजातिका लागि अमेरिकाको थ्याङ्क्स् गिभिङजस्तै हो ।”

एक कार्यपत्रमा उनले राजनीतिक ज्वालामुखी क्षेत्रका रूपमा रुकुम, रोल्पालाई राखेका थिए । त्यसपछि उनलाई भन्न थालियो, एकेडेमिक गुरिल्ला । गुरिल्लाहरू थोरै हुन्छन्, तर धेरै गतिविधि गर्छन् । बाहुनवादविरुद्ध लेख्दा सामाजिक सञ्जालमा यस्तो प्रतिक्रियासमेत आयो, ‘भट्टचनकी श्रीमतीलाई बाहुनले उडायो होला, अनि यस्तो लेखेछ ।’

त्रिविमा ३४ वर्षसम्म उप–प्राध्यापकमात्रै भए भट्टचन । उनको विभागमा बीसौँ वर्ष विज्ञापन नै खुलाएन त्रिविले । विज्ञापन खुल्दा उनीसँग ‘ओभर क्वालिफिकेसन’ भइसकेको थियो । 

“मेरा बाजे अरूले रोजेर छाडेको मासुको पनि मीठो पकवान पकाउँथे,” उनी आफ्नो विशेषता खोल्छन्, “मैले पनि विश्वविद्यालयमा अरूले छाडेको विषय मात्रै पढाएँ ।” 

त्यसो त उनले त्रिविको प्राध्यापक भनेर गर्व गर्ने ठाउँ पनि भेटेनन् । “विद्यार्थीसँग नबस्ने, पाठ्यक्रम नबनाउने, कक्षा नलिनेहरू प्रोफेसर हुने भए म किन प्रोफेसर हुने ?” उनलाई लाग्यो, “पिपुलको प्रोफेसरभन्दा ठूलो पद केही छैन ।” 

त्रिविका संस्थापक फ्याकल्टी, बर्कलेका पीएचडी, गुगल स्कलरमा माथिल्लो र्‍याङ्कमा रहेका यी समाजशास्त्रीले प्राध्यापकको लाइनै बहिष्कार गरिदिए । बिदाइ कार्यक्रममा उनको भव्य प्रशंसा भयो । उनलाई लाग्यो, बधाई हो कि बिदाइ ? 

त्रिविमा ६ महिना बढी पढाएछन् उनले । त्रिविले ६ महिनापछि थाहा दियो– त्यो अवधिको पैसा दिन सकिँदैन । अझ त्रिविले त दसौँ वर्ष पहिले लिएको २१ सय रुपियाँ ऋणको चक्रवर्ती ब्याज असुलेर २१ हजार हर्जाना पनि तिरायो । 

“क्यासिनो, राष्ट्रिय खेलकुद परिषद् र त्रिवि एउटै फम्र्याटमा छन्,” उनको अनुभव छ, “तीनवटैको हालत उस्तै छ । मैले केही भिन्नता पाइनँ ।”

रुचिसम्पन्न विद्वान् हुन् भट्टचन । पुस्तकमा उनको रुचि हुने भइहाल्यो । कुनै बेला रामानन्दप्रसाद जोशीसँग पेन्टिङ पनि सिकेका हुन् । श्रीमतीसित एक महिना नाच पनि सिके हालसालै । फुटसलमा खेल्नु त उनको रुटिनै हो । 

बगैँचामा शोखिन छन् भट्टचन । घरमा समावेशी बगैँचा बनाएका छन् । नेपालका जातजातिजस्तै उनको बगैँचाका बिरुवाको संख्या पनि यकिन छैन । सुनगाभा उनको रोज्जा हो । 

कुनै बेला त्रिविमा बिहेसम्बन्धी एउटा जोक सुनिन्थ्यो । दुईभन्दा बढी घरजम छ भने मानवशास्त्रमा, विवाह भएको छैन भने समाजशास्त्रमा । भट्टचनले पनि समाजशास्त्र विभागमै गएपछि घरजम गरेका हुन् ।

थकाली समुदायमा नाता जोड्ने बेग्लै चलन छ । मामा ओमकारप्रसाद गौचन (३२ वर्ष राष्ट्रिय पञ्चायत सदस्य एवं सांसद) उनकी पत्नी यशोकान्तिका पिता हुन् । ससुराली जाँदा बोलाउने साइनो मामा–भान्जाकै हुन्छ । अमेरिका गएपछि उनका दुई सन्तान जन्मिए, अभिलेख र आकृति । छोरा अमेरिकामै छन् भने छोरी सिंहदरबार टेलिफिल्म र दोख फिल्ममा सहायक निर्देशक रहिसकेकी छन् । 

पर्फेक्सन उनको पैत्रिक गुण हो । उनको संकलनमा अहिले पनि बाजे र बाबुका अप्रकाशित पाण्डुलिपि छन् । बाजेका ‘संगीतकलाको ताल मन्जरी’ र ‘वेदान्त प्रक्रिया’ अनि बाबुको ‘ थकाली शब्दकोश ।’ अरू प्राध्यापक त्रिविबाट निस्केपछि पिँजडाको सुगाजस्ता हुन्छन्, भट्टचनचाहिँ कोइली नै हुन खोजिरहेछन् । निरन्तर खोजिरहेका छन्, को हो ? के हो ? किन हो ? 

प्रकाशित: श्रावण १६, २०७३