यशस्वी राजनेता बीपी कोइराला

  • असाधारण व्यक्तित्वका बहुआयाम

- नवीन अर्याल

भारतीय समाजवादी नेता जयप्रकाश (जेपी) नारायणले विसं ०३१ मा प्रधानमन्त्री इन्दिरा गान्धीविरुद्ध ‘सम्पूर्ण क्रान्ति’को बिगुल फुके । त्यस बेला नेपालका अपदस्थ प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारतमा निर्वासित जीवन बिताइरहेका थिए । इन्दिरालाई थाहा थियो, बीपी त्यत्तिकै चुप लागेर बस् दैनन् । त्यसमा पनि उनी जेपीसँग पारिवारिक मात्र होइन, सैद्धान्तिक रूपले पनि नजिक छन् भन्ने बुझेकी थिइन् इन्दिराले । त्यसैले उनले आफ्ना दूतमार्फत सन्देश पठाइन् । त्यस बेला बीपी आठ वर्ष सुन्दरीजल जेलमा बिताएर प्रजातन्त्र पुन:स्थापनाको अभियानमा थिए । त्यसैको तयारी स्वरूप ०३० सालमा उनले दोस्रोपटक सशस्त्र क्रान्तिको आह्वान गरिसकेका थिए । 

यसका लागि उनी सुरुमा इन्दिरासँग आर्थिक र नैतिक दुवै समर्थन जुटाउन गएका थिए । आश्वासन त पाए तर काम भने अगाडि बढेन । किनभने, इन्दिरा चाहन्थिन्, बीपी भारतमा चलिरहेको आफूविरुद्धको समाजवादी आन्दोलनमा नलागून् । तर, बीपी चुप लागेर बस्न कहाँ सक्थे र ! भारतको स्वतन्त्रता संग्राममा दुईपटक जेलमा परिसकेका व्यक्ति । त्यसमा पनि एक कट्टर समाजवादी । उनी अदृश्य रूपमा आन्दोलनमा होमिए । अझ भनौँ, इन्दिराले आपत्काल लागू गरेपछि जेपी, चन्द्रशेखर, अटलविहारी बाजपेयी, मोरारजी देसाईलगायत थुप्रै नेता पक्राउ परे । त्यसपछि आन्दोलनले कुन रूप लिने हो ? सबै अन्योलमा थिए । त्यस बेला कर्पुरी ठाकुरलगायत अन्य नेतालाई आन्दोलनका लागि ऊर्जा दिनेदेखि योजनाका विषयमा गोप्य जानकारी गराउने काममा सक्रिय भए, बीपी । आफैँविरुद्ध लक्षित आन्दोलनमा बीपीको संलग्नता पक्कै पनि इन्दिरालाई मन पर्ने कुरा थिएन । बीपीलाई नजिकबाट चिनेका बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)का प्रोफेसर सुरेन्द्रप्रताप सिंह भन्छन्, “एक त कांग्रेसबाटै फुटेर समाजवादी पार्टी बनेको थियो, त्यसै पनि कांग्रेसीहरू समाजवादीहरूलाई प्रतिस्पर्धी ठान्थे । त्यसमा पनि इन्दिरा हटाउने अभियानमै बीपी सक्रिय भएको कुरा उनीहरूलाई मन पर्ने प्रश्नै भएन । इन्दिराबाट बीपीले सहयोग नपाएको एउटा कारण यो पनि हो ।” 

यसैबीच ओखलढुंगा आक्रमणको गुप्त योजना चुहिएका कारण बीचैमा तुहियो । आक्रमणमा गएका प्राय: जवान सोलुखुम्बुको टिम्बुरबोटेमा मारिए । यो अपरेसनको असफलता बीपीका लागि स्तब्ध पार्ने खालको थियो । यही कारण नेपाली राजनीतिले नै कोल्टे फेर्‍यो । 

बीपीकै निकटस्थ बीएचयूकै राजनीतिशास्त्रका प्रोफेसर दीपक मल्लिकका भनाइमा बीपी ००७ सालमा राजा, राणा र कांग्रेसबीचको सम्झौतामा भारत बसेका कारण नेपालमा प्रजातान्त्रिक व्यवस्था मजबुत हुन नसकेको निर्णयमा पुगिसकेका थिए । त्यसैले उनी चाहन्थे, ओखलढुंगा आक्रमणपछि आफ्नै वैध सरकारको स्थापना गर्न र अन्तर्राष्ट्रिय समर्थन जुटाउन । उनले यसका लागि संसारभरि छरिएर रहेका समाजवादी देशसँग कुरा पनि गरिसकेका थिए । तर, ओखलढुंगा काण्डसँगै इन्दिराले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई दिनुसम्म दु:ख दिइन् । त्यसमा पनि विशेष ०३० सालमा हवाईजहाज अपहरणमा मुछिएका व्यक्तिहरूलाई खोजी खोजी जेल हाल्न थालियो । 

यसैबीच तत्कालीन सोभियत संघको अफगानिस्तानमाथि हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’ अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झाँगिँदो उपस्थितिको विश्लेषण गर्दै बीपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे । र, ०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले । बीपीको त्यो निर्णय इन्दिराका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजाय बोकेको मान्छे, यति सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाईकन कसरी जान सक्छ ? पूर्वकांग्रेस नेता बद्रीनारायण बस्नेत भन्छन्, “इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस् तै थियो, फुटाऊ र राज गर । बीपीलाई देखाएर दरबारलाई तर्साउने । दरबार देखाएर बीपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।” 

बीपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बीपीकहाँ पठाइन् । आसामका बरुवा बीएचयूमा पढ्दैताका बीपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशीर्वाद पाएका बरुवाले बीपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, “तर, बीपीले महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।”

यस्तै, सन् १९७१ को भारत–पाकिस्तान युद्धताका रक्षामन्त्री रहेका जगजीवन रामले पनि बीपीलाई फकाउन फोन गरेका थिए । सन् १९४२ मा स्वतन्त्रता संग्रामका क्रममा विहारको हजारीबाग जेल पर्दा बीपी र जगजीवन सँगै थिए । त्यसैले उनीहरूबीच राम्रो सम्बन्ध थियो । बस्नेतका अनुसार जगजीवनले फोन गरेर बीपीसँग भेट्ने समय मागेका थिए । तर, बीपीले फोनबाटै भनेछन्, ‘महारानीले पठाएको भए भेट्ने कष्ट नगर्नूस् । साथीको नाताले आउनुहुन्छ भने आउनुहोला । ’ जगजीवनले कुरा बुझिहाले । बीपीलाई भेट्न गएनन् । 

लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई बीपी ‘प्रजातन्त्रमार्फत फासिस् टवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगन्जको निरालानगर कोलोनीमा बस्दा बीपीले भनेका कुरा बीएचयूका प्राफेसर सिंह अझै सम्झन्छन् । भन्छन्, “इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु ।”

आफैँलाई ‘इन्दु’ नाम दिएका जेपीजस्ता ठूलो कदका नेतालाई जेल कोच्ने काममा संलग्न इन्दिराको बन्दै गरेको छविबाट बीपी खुसी थिएनन् । उनलाई थाहा थियो, इन्दिराको यो छवि नेपालका लागि पनि खतरा थियो । त्यसैले भारतीय समाजवादी नेता चन्द्रशेखर, जो पछि प्रधानमन्त्री पनि भए, कांग्रेसी कार्यकर्तालाई भन्ने गर्थे, ‘तिमीहरूजस्तो सानो देशको प्रधानमन्त्रीले हाम्रो देशको प्रधानमन्त्रीसँग टक्कर लिएको परिणाम तिमीहरूले दु:ख भोग्नुपर्‍यो ।’ 

०४२ सालमा विराटनगर आउने क्रममा चन्द्रशेखरले इन्दिराको विषयमा एउटा रोचक प्रसंग सुनाएका थिए । त्यस बेला चन्द्रशेखरसँगको संवादमा संलग्न पूर्वकांग्रेस नेता बस्नेत उनका भनाइ सम्झन्छन्, “त्यस बेला इन्दिराको छवि ध्वस्त भइसकेको थियो । बंगलादेश टुक्र्याएपछि रणचण्डी भएकी थिइन् उनी । बंगलादेश टुक्र्याउन नसकेको भए, आफ्नो छवि सुधार्न नेपाललाई हान्थिन् । तिमीहरूले द्विविधा पालिरहनु पर्दैन ।”

बीपी–नेहरु : समानता, असमानता

बीपीको चुलिँदो अन्तर्राष्ट्रिय ख्यातिबाट राजा महेन्द्र मात्र होइन, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु पनि सशंकित थिए । तर, नेहरु भारतजस्तो ठूलो देशमा भएको आन्दोलनका ‘प्रोडक्ट’ थिए । त्यसैले प्रजातन्त्रप्रति उनको रवैया छोरी इन्दिराभन्दा स्पष्ट थियो । तर, नेपालमा प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउने सम्बन्धमा उनी पनि थुप्रै ठाउँमा चुकेका छन् । धेरै विश्लेषक यसलाई बीपी र नेहरुबीचको ‘इगो’ मान्छन् । तर, केहीको विश्लेषण छ, नेहरुभन्दा पनि अंग्रेजको जमानाकै सोच भएका नोकरशाह (ब्युरोक्र्याट) भारतीय राजनीतिमा हावी भए, जसले नेपालको राजनीति बिगार्न मद्दत पुर्‍यायो । 

भारत स्वतन्त्र भएपछि नेहरुले प्रशासनलाई जनताको चाहना अनुकूल बनाउन नसकेको भन्दै बीपी आलोचना गरिरहन्थे । ००७ सालको क्रान्तिमा भारतीयको भूमिका, त्यसमा पनि विशेषत: नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंहको भूमिकालाई लिएर बीपी निकै असन्तुष्ट थिए । बीपीले सार्वजनिक रूपमै भारतीय राजदूतको आलोचना गरेका छन् । भनेका छन्, ‘राजदूत भनेको राजदूतजस्तै भएर बस्नुपर्छ । उसले आफूलाई मुजफ्फरपुरको डिस्ट्रिक बोर्डको चेयरम्यानजस्तो ठान्नु हुँदैन । उसले आफ्नो ठाउँ कहाँ हो, त्यो बुझ्नुपर्छ । ’ बीएचयूमा राजनीतिशास्त्रका प्राध्यापक मल्लिक भन्छन्, “बीपीको भनाइ साँचो पनि हो । चन्द्रेश्वरलाई अंग्रेजहरूले नै ‘सर’को उपाधि दिएका थिए । नेपालमा प्रजातन्त्र स्थापना गर्ने सम्बन्धमा आन्दोलन गर्ने शक्तिभन्दा उनी बढी सक्रिय देखिन्थे ।”

नेहरु र बीपीबीच अर्को पनि असमानता थियो । त्यतिबेला संसारभरि ‘सौन्दर्यवाद’को लहर थियो । नेहरु पनि ‘सौन्दर्यवाद’ पछ्याउँथे । तर, बीपी धेरै अर्थमा यथार्थवादी थिए । चीनले तिब्बत कब्जा गर्नुअघि बीपीले धेरैपटक नेहरुलाई भनेका थिए । तर, नेहरु चीनको आन्तरिक समस् या देखाउँथे, असम्भव भन्थे । नभन्दै चीनले तिब्बतलाई आफ्नो अधीनमा लियो । इन्दिराले सन् १९७३ मा सिक्किमलाई भारतमा विलय गराइन् । यसपछि अन्तर्राष्ट्रिय जगत्का लागि राजनीतिक रूपमा नेपाली भूमि रणनीतिक बन्न पुग्यो । बीपीको दृढ विश्वास थियो, समाजवादी सिद्धान्तले मात्र पूर्ण रूपमा देश विकास गर्न सकिन्छ । नेहरु समाजवादका कुरा त गर्थे तर लागू गर्न डराउँथे । 

००८ सालमा नेहरुकै आशीर्वादले दाजु मातृकाप्रसाद प्रधानमन्त्री भए भन्ने हेक्का बीपीलाई राम्रैसँग थियो । किनभने, ०२९ सालतिर सशस्त्र आन्दोलनका लागि भारतबाट आर्थिक र नैतिक समर्थन माग्न बीपीका भाइ गिरिजाप्रसाद कोइराला इन्दिरा गान्धीलाई भेट्न गएका थिए । त्यतिबेला इन्दिराले बीपी बूढा भएको र अस्वस्थ रहेको बताउँदै उनलाई क्रान्तिको नेतृत्व गर्न भनेकी थिइन् । र, यसका लागि आफूले सहयोग गर्ने पनि उनले बताएकी थिइन् । त्यो कुरा गिरिजाप्रसादले बीपीलाई सुनाए । त्यतिबेला बीपीको प्रतिक्रियाबारे पुराना कांग्रेस कार्यकर्ता विनोद अर्याल, जो विमान अपहरण योजनाकारमध्ये एक थिए र आठ वर्ष बीपीसँग प्रवासमा बसेका थिए, भन्छन्, “दाजु र मलाई जसरी फोडे, त्यसै गरी तिमी र मलाई फोड्न लागेका हुन् ।”

०१७ सालमा आफ्नो सरकार ‘कू’ गर्न नेहरुसँग राजा महेन्द्रले स्वीकृति लिइसकेको कुरा पनि उनलाई थाहा थियो । कुमारमणि दीक्षित, जो त्यतिबेला बीपीका सहायक थिए, ले आफ्नो आत्मकथामा लेखेका छन्, ‘बीपीले नेहरुसँग सहयोग मागेका थिए । तर, उनले दिन चाहेनन् । ’ नेपालमा प्रजातान्त्रिक सरकार अपदस् थ हुँदा नेहरु कश्मीरमा थिए । उनले त्यतिबेला नेपालमा सत्ता परिवर्तन हुन्छ भन्ने आफूलाई थाहा भएको बताएका थिए । तर, व्यवस्था नै परिवर्तन हुन्छ भन्ने थाहा नभएको प्रतिक्रिया दिएका थिए । जुन बेला महेन्द्रले ‘कू’ गरे, कांग्रेसको मुक्ति सेनाबाट बनेको नेपाल पुलिसले गर्न सक्ने सम्भावित विद्रोहलाई रोक्न भारतका प्रधानसेनापति धिमैया तीन दिनअगावै नेपाल आएका थिए । तत्कालीन नेपाली सेनाका प्रमुख फिल्डमार्सल नीरशमशेर राणाले आफ्नो आत्मकथामा उल्लेख गरेका छन्, ‘०१७ सालमा कू हुँदा धिमैया चितवनमा थिए ।’ त्यतिबेला कांग्रेसको विषयमा दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण पछि भारत सरकारले उनलाई बर्खास्त गरेको थियो ।

महेन्द्रले बीपीको जननिर्वाचित सरकार अपदस्थ गर्ने सर्तमा भारतलाई कालापानी बुझाए । यस्तै, सगरमाथा आधा–आधा भन्दै चीनसँग नयाँ सम्झौता गरे । यसअघि बीपी प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा सगरमाथा आधा गर्ने विषयमा चिनियाँ नेताहरूले दबाब नदिएका होइनन् । तर, उनले सगरमाथा पूर्ण रूपमा आफ्नो भूभागमा पर्ने भन्दै सम्झौता गर्न मानेका थिएनन् । बीपीको चीन भ्रमण रद्द गर्न नेहरुले हस्तक्षेप गर्न खोजेका थिए । चार वर्षअघि बीपीका सहायक दीक्षितले एक प्रसंगमा भनेका छन्, ‘नेहरुको यो कुरा सुनेपछि बीपी रिसाएका थिए ।’ 

बीपी प्रधानमन्त्री हुँदै सीमानजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला नेहरुले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ ।’ 

तर, बीपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरुको त्यो प्रतिक्रिया मन परेन । उनले भोलिपल्टै नेपाली संसद्बाट नेहरुलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दुस् तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छाै‌, हाम्रो भूभागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँदिल्लीमा पत्रकारहरूले बीपीको प्रत्युत्तरका विषयमा नेहरुलाई सोधेका थिए । नेहरुले जवाफ दिए, ‘बीपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपियाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बीपी चीनतर्फ ढल्किँदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो । 

“भारतमै बस् दा बीपीको निष्ठा र राजनीतिक सुझबुझका कारण नेहरुलाई लागेको हुनुपर्छ, भारतको हितमा बीपीभन्दा महेन्द्रलाई बढी उपयोग गर्न सकिन्छ । त्यसैले उनले बीपीको सरकार अपदस्थ गर्न मौन स्वीकृति दिए । तर, सत्ता हातमा आएपछि महेन्द्रले उल्टै चिनियाँ कार्ड खेले,” विमान अपहरण काण्डमा संलग्न अर्याल भन्छन् । यसैको प्रतिक्रिया स्वरूप नेहरुले कोलकाता बसेका नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष सुवर्णशमशेर राणामार्फत सशस्त्र विद्रोह गराउने प्रयास गरेका थिए । त्यतिबेला आफ्नो अभियानमा बीपीको समर्थन रहेको देखाउन नेहरुले कोइराला परिवारका कुनै एक सदस्यलाई ल्याउन सुवर्णलाई आग्रह गरेका थिए । “सुवर्णले शेखर कोइरालाका बुबा केशवप्रसाद कोइराला, जो ००७ सालमा कांग्रेसले विराटनगर कब्जा गरेपछि स्थापना गरेको सरकारका गभर्नर थिए, लाई लिएर गए,” अर्याल भन्छन् । त्यतिबेलाको कांग्रेसको सशस्त्र विद्रोह गुरिल्ला शैलीमा भएको थियो । सरकार हायलकायल भइसकेको थियो । तर, त्यही बेला ०१९ सालमा चीन र भारतबीच सीमा विवादलाई लिएर युद्ध भयो । चीनले धम्की दियो– नेपालमाथि हुने कुनै पनि आक्रमणलाई चीनले आफूमाथि भएको ठान्नेछ । 

“नेहरुले त्यतिबेला विद्रोहका लागि पैसादेखि सबै कुरा उपलब्ध गराएका थिए । तर, चीन–भारत युद्धपछि सबै रोकियो । सुवर्णले युद्धविराम गर्नुभयो । यो युद्धमा भारतको पराजय भयो,” नेपाली कांग्रेसका पाका नेता भरतशमशेर राणा भन्छन् । सुवर्णले आह्वान गरेको यो युद्धमा भरतशमशेर पनि संलग्न थिए । त्यस क्रममा उनले दुईपटक नेहरुलाई भेटेका थिए । 

राजनीतिक सोचका हिसाबले बीपी र नेहरु दुई विपरीत ध्रुवका नेता मानिन्छन् । तर, यति हुँदा हुँदै पनि दुवैमा एकअर्काप्रति आगाध स्नेह थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा ००५ सालमा बीपी दोस्रोपटक काठमाडौँमा पक्राउ परे । त्यतिबेला उनको रिहाइका लागि समाजवादी नेता राममनोहर लोहिया नयाँदिल्लीस्थित नेपाली दूतावासअगाडि अनशन बसे । उनलाई तीन महिना जेल राखियो । पछि नेहरुकै दबाबमा बीपी थुनामुक्त भए । त्यतिखेर नेहरुले बीपी पत्नी सुशीलालाई भनेका थिए कि उनका लागि घर जुन बेला पनि खुला छ । बीएचयूका प्रोफेसर सुरेन्द्रप्रतापका अनुसार नेहरुको प्रधानमन्त्री क्वार्टरमा दुई जना व्यक्तिलाई सुरक्षा जाँचबिना प्रवेश गर्ने अनुमति थियो– एक, हालका भारतीय सिनेस्टार अमिताभ बच्चनका पिता कवि हरिवंश राय ‘बच्चन’ र अर्को बीपी तथा सुशीलालाई । नेहरुको स्वभावका विषयमा भारतीय समाजवादी नेता तथा पत्रकार भोला चटर्जीलाई बीपीले दिएको अन्तर्वार्तामा पनि भनेका छन्, ‘म दुईवटा कारणले जवाहरलालजीप्रति कृतज्ञ छु । एउटा कारण निश्चय पनि व्यक्तिगत । मैले भोक हडताल (राणाहरूको जेल) गरेका बेला उहाँले दुईपटक मेरो ज्यान बचाउनुभयो । उहाँसँग मेरो नीतिगत असहमति भएपनि ।’

बीपी प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाँदा नेहरुले भव्य स् वागत गरेका थिए । यस विषयमा बीपीले लेखेका छन्, ‘श्रीमती पनि साथै थिइन् । मेरी कान्छी छोरी त्यस बेला सानै थिई । त्यसैले ऊ पनि हामीसँग गएकी थिई । विमानस्थलमा स्वागत कार्यक्रम हुँदा हाम्री छोरीलाई इन्दिराजीले लानुभयो । उहाँहरूले मलाई विदेशी पाहुना वा सरकारी पाहुनाको व्यवहार होइन, परिवारिक पाहुनाको व्यवहार गर्नुभयो ।’ 

बीपी र नेहरुको बढ्दो हिमचिमलाई लिएर समाजवादी नेता लोहियाले धेरैपटक असन्तोष व्यक्त गरेका थिए । लोहिया भारतीय राजनीतिका बौद्धिक नेता त थिए नै, भारतीय संसद्भित्र उनले गरेको एउटा सशक्त भाषण ‘तीन आनाविरुद्ध १५ आना’को सधै‌ चर्चा हुने गरेको छ । सन् १९६३ मा लोहिया फररुखावाद उपचुनाव जितेर लोकसभा पुगे । त्यस बेला प्रधानमन्त्री नेहरुले आफ्ना देशका जनताले प्रतिदिन १५ आना कमाउने दाबी गरे । तर, लोहियाले प्रधानमन्त्रीको दाबीलाई झूटको संज्ञा दिँदै भारतीय जनता तीन आनामा बाँचिरहेको बताएका थिए । यसका लागि उनले सर्वेक्षण गराउन माग गर्दै नेहरुलाई लोकसभाभित्रै चुनौती दिए, ‘तपाईंले भनेको कुरा साबित भयो भने म संसद् सदस्यबाट राजीनामा दिनेछु । मेरो दाबी साबित भयो भने के तपाईं राजीनामा गर्नुहुन्छ ?’ अहिले पनि भारतमा भन्ने गरिन्छ कि हृदयघातका कारण नेहरुको निधन हुनुमा लोहियाको आगो ओकल्ने भाषण जिम्मेवार छ । 

भारतमै बेजोड छवि
बीपी स्कुले जीवनदेखि नै भारतको स्वतन्त्रता संग्राममा होमिएका थिए । कांग्रेसका अर्का नेता, बीपीको परिवारसँग निकटस्थ, प्रधानमन्त्री सुशील कोइरालाका भाइ अशोक कोइराला आमा दिव्याले सुनाएको कहानी बताउँछन्, “बीपी नौ वर्षको हुँदा आतंककारी समूहमा लाग्नुभएछ । जसको नाम थियो, बाँदर सेना । यसै समूहले बै‌क लुट्यो । त्यतिबेला उहाँ पनि पक्राउ पर्नुभयो । तर, फुच्चे भएका कारण जिल्ला म्याजिस्ट्रेटले उहाँ पनि यस्तो कार्यमा संलग्न हुनुहुन्छ भनेर पत्याउँदै पत्याएन । तुरुन्तै रिहा गरिदिएछ ।” अशोकका भनाइमा बीपी यसपछि कम्युनिस्ट विचारधारातर्फ आकर्षित भए । बीएचयूमा अध्ययनरत रहँदा उनले देवकान्त बरुवा, महावीरप्रसाद सिन्हा, देवेन्द्रप्रसाद सिंह र राजेश्वर रावजस्ता साथीसँग मिलेर विद्यार्थी संगठन नै खोलिसकेका थिए । त्यतिबेला उनी संगठन सचिव थिए, पछि अध्यक्ष भए । 

यसै क्रममा सन् १९२८ मा कम्युनिस् ट इन्टरनेसनलको छैटौँ अधिवेशनले सबै राष्ट्रवादी र लोकतान्त्रिक समाजवादीलाई ‘सोसल फासिस्ट’ भन्यो । जयप्रकाश नारायण पनि पहिले कम्युनिस्ट दर्शनबाट प्रभावित थिए । तर, उनलाई छैटौँ अधिवेशनले पारित गरेको प्रस् ताव मन परेन । यसमा पनि सोभियत संघमा स् टालिनले आफ्ना विरोधीविरुद्ध चलाएको नरसंहारपछि लगभग कम्युनिस्ट पार्टीबाटै जेपीको मोहभंग भयो । यद्यपि, माक्र्सवादी चिन्तनको आकर्षण छँदै थियो उनमा । त्यसैले देशभरि घुम्दै हिँडे । यसै क्रममा उनको बीएचयूमा भेट भयो, बीपीसँग । बीपी पनि स्टालिनको नरसंहारबाट स्तब्ध थिए । उनी ट्राटस्कीतर्फ ढल्किसकेका थिए । पछि बिस्तारै महात्मा गान्धीतर्फ आकर्षित भए । सन् १९३३ मा आचार्य नरेन्द्र देवको अध्यक्षतामा कांग्रेस समाजवादी पार्टी गठन भएपछि उनी त्यसका सक्रिय सदस्य बन्न पुगे । यसै क्रममा उनी भारतका चर्चित समाजवादी नेताहरू नरेन्द्र देव, जेपी, लोहिया, मीनु मसानी, अच्युत पटवद्र्धन, एनजी गोरे, अशोक मेहतासँग वैचारिक मन्थनमा भाग लिन्थे । उनी विहारदेखि महाराष्ट्रसम्म स्वतन्त्रता आन्दोलनमा खटिएका थिए ।

सन् १९४२ मा दुई वर्ष जेल परेपछि त उनको ख्याति भारतमै चुलिएको थियो । त्यतिबेला महात्मा गान्धीलाई आन्दोलनका हरेक रिपोर्ट थाहा हुन्थ्यो । त्यसैले उनी बीपीबाट पनि निकै प्रभावित थिए । “भारत स्वतन्त्र हुनुअघि नै बीपीको ख्याति यहाँ चुलिसकेको थियो । समाजवादीहरू उहाँको बौद्धिकताबाट प्रभावित त थिए नै, गान्धी र नेहरु पनि आकर्षित थिए,” बनारसका वरिष्ठ वकिल विनोद सिंह भन्छन् । विनोद भारतका अर्का समाजवादी नेता सागरप्रसाद सिंहका भतिजा हुन् । ०३३ सालमा बीपी मेलमिलापको नीति लिएर फर्किंदा नेपालमा उनीविरुद्ध राजद्रोहसम्बन्धी सातवटा मुद्दा थिए । बीपीको पक्षमा त्यो मुद्दा लड्न मुम्बईका पूर्वन्यायाधीश बीएन तारकुण्डेसँगै नेपाल आएको तीन सदस्यीय वकिलहरूको टोलीमा सागर पनि थिए । 

नेपालका गान्धी
भारतमै राजनीति गर्ने ठूलो अवसर थियो, बीपीलाई । तर, भारतको पक्षमा स्वतन्त्रता संग्रामको लडाइँ लड्दा पनि उनको दिमागमा थियो, नेपाल नै । पहिलोपटक गान्धीलाई भेट्दा बीपी १५ वर्षका मात्रै थिए । लोहियाले सन् १९२९ मा बीपीलाई गान्धीसँग भेटाइदिएका थिए । त्यतिबेला गान्धीको प्रश्न थियो, ‘कसको प्रेरणाले राजनीतिमा लाग्यौ ?’ त्यतिबेला बीपीले गान्धीलाई भनेको कुरा आमाको मुखबाट सुनेको भन्दै अशोक भन्छन्, “पिताजी (कृष्णप्रसाद)को प्रेरणाले । म तीन वर्षको हुँदा पिताजी नेपाल छाडेर आउनुभयो । उहाँका कारण हाम्रो परिवारका सबै सदस्यलाई पक्राउ आदेश छ । हाम्रो सबै सम्पत्ति रोक्का छ । हामी १२ वर्षदेखि भारतमा निर्वासनको जीवन बिताइरहेका छौँ ।” 

विनोद सिंह बीपीलाई नेपालका गान्धी भन्न रुचाउँछन् । उनका अनुसार भारतलाई स्वतन्त्रता दिलाउन गान्धीको भूमिकाजस्तो रह्यो । नेपालमा प्रजातन्त्रको बीजारोपण गर्ने योगदान बीपीको थियो । तर, गान्धीले हतियार उठाएनन् । बीपीले भने दुईपटक सशस् त्र आन्दोलनको आह्वान गर्नु पर्‍यो । यसलाई बीएचयूका प्राध्यापक मल्लिक यसरी अथ्र्याउँछन्, “जुन देशको जग नै सामन्ती सोचमा उभिएको छ, जहाँ एउटा व्यक्ति (राजा)लाई भगवान्को अवतार मानेर ८० प्रतिशत जनताले पूजा गर्छन्, त्यसमा पनि पढेलेखेका व्यक्तिहरू राजाकै झोलीमा छन् । यस्तो ठाउँमा जनताको बाँच्न र बोल्न पाउने मौलिक अधिकारसहितको प्रजातन्त्र स्थापित गर्छु भन्नु आफै‌मा आत्मघाती निर्णय थियो । त्यो जोखिम बीपीले उठाएकै हुन् । यो पृष्ठभूमिमा गान्धीले नेपालमा अहिंसात्मक आन्दोलन गरेका भए, सायद धेरै पहिले मारिन्थे होला ।” 

मूलत: बीपी गान्धीवादी थिए । तर, उनले हतियार पनि उठाए । त्यसलाई रणनीतिक मान्छन्, मल्लिक । भन्छन्, “बीपीले देशलाई राम्रोसँग बुझेका थिए । यस कुरामा लोहिया र जेपीभन्दा नितान्त भिन्न देखिन्छन्, बीपी । 

बीपीको एउटै लक्ष्य थियो, नेपाली जनतालाई उसको वैयक्तिक अधिकार दिलाउने । राणाकालमा उनी दुईपटक जेल परे । ००३ सालमा जेल पर्दा उनलाई छुटाउन महात्मा गान्धीले नै हस्तक्षेप गर्नुपर्‍यो भने ००५ सालमा नेहरुले । ६८ वर्षे जीवनकालमा बीपीले नेपालमा १० वर्ष मात्र स्वतन्त्र रूपमा राजनीति गर्न पाए । ००७ सालअघि उनको पूरै परिवार भारतमा निर्वासित थियो । ००७ देखि ०१७ सालसम्म मात्र उनले स्वतन्त्र रूपमा नेपालमा राजनीतिक गतिविधि गर्न पाए । 

जनताले दिएको मतको अपमान गर्दै राजा महेन्द्रले बीपीको सरकारलाई १८ महिनामै अपदस् थ गरे । जसका कारण उनले आठ वर्ष सुन्दरीजल जेलमा बन्दी जीवन बिताउनुपर्‍यो । ०२५ सालपछि उनी फेरि भारत निर्वासित भए । ०३३ सालमा मेलमिलापको नीति लिएर फर्किंदा पनि दुई वर्ष महाराजगन्जस्थित प्रहरी तालिम केन्द्रमा थुनामा परे । ०३६ सालमा जनमतसंग्रहको घोषणपछिका तीन वर्ष प्रजातान्त्रिक मूल्य–मान्यता स्थापित गराउने अभियानमा सक्रिय थिए । तर, घाँटीको क्यान्सरका कारण ६ साउन ०३९ मा काठमाडौँमा उनको निधन भयो । बीपीको व्यक्तित्व र विचारधाराबाट डराएको दरबारले ००७ देखि ०४६ सालसम्म नेपालमा १० जना प्रधानमन्त्रीको प्रयोग गर्‍यो, जसमा १९ पटक त प्रधानमन्त्री फेरबदल नै गर्नुपर्‍यो । त्यतिले नपुगेर त्रिभुवन र महेन्द्रले तीनपटक शासनसत्ता आफ्नो हातमा लिए । 

कोलकाताको चर्चित मार्बल हाउसका मालिक विद्यासागर गुप्त, जसका दाजु बीपीसँग निकट थिए, बीपीलाई विचारमा अडिग, स् पष्ट नेता भन्न रुचाउँछन् । भन्छन्, “उहाँले पदलाई कहिल्यै प्रधानता दिनुभएन । उहाँको दिमागमै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद थियो । उहाँले आफ्ना यी विचारसँग सम्झौता गर्नुभएको भए, नेपालको इतिहासमा त्यति धेरै प्रधानमन्त्री हुँदैनथे ।” यस्तै प्राध्यापक मल्लिकको विश्लेषणमा ०१७ सालमा राजा महेन्द्रले बीपीलाई अपदस् थ गर्नुमा समाजवादी कार्यक्रम लागू गर्न बीपी क्रियाशील हुनु हो । यसमा पनि मुख्य त क्रान्तिकारी भूमि सुधार राजा महेन्द्रको छटपटी थियो । “जुन दिन बीपीले आफूहरूले प्रतिपादन गरेको वैज्ञानिक भूमिसुधार लागू गर्दै हुनुहुन्थ्यो । त्यही दिन कू भयो । यो लागू भएको भए नेपालको दुई सय वर्ष लामो सामन्ती संरचना भत्किन्थ्यो । त्यसैले बीपीविरुद्ध राजा र सामन्तवादी शक्ति पहिल्यै एकजुट भइसकेका थिए,” उनी भन्छन् । 

पछि महेन्द्रले आफूलाई पनि क्रान्तिकारी देखाउन नक्कल त गरे । तर, अक्कल पुर्‍याएनन् । त्यसैले महेन्द्रको क्रान्तिकारी भूमिसुधार प्रभावकारी हुन सकेन । बीपीका पीए कुमारमणिले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्, ‘जंगल राष्ट्रियकरण गर्दा सरकारले मुआब्जाको पनि व्यवस्था गरेको थियो । तर, महेन्द्रका भाइ हिमालयलाई मुआब्जा पुगेनछ । उनले हाकाहाकी भने– मुआब्जा पुगेन । बीपीले त्यतिबेला स्पष्ट जवाफ दिनुभयो– यसभन्दा बढी पाइँदैन ।’

समयको वेगलाई नाप्न सक्ने बीपीको क्षमताबाट वकिल विनोद सिंह अहिले पनि कायल छन् । उनी बीपी मेलमिलापको नीति लिएर नेपाल फर्किने बेला आफ्ना काकासँग भएको एउटा संवाद अहिले पनि सम्झन्छन् । “काकाले उहाँको सुरक्षालाई लिएर चिन्ता जाहेर गर्नुभयो,” विनोद भन्छन्, “तर, बीपीको उत्तर थियो– राजालाई थाहा छ । मलाई केही गर्‍यो भने उनको हालत के हुन्छ । त्यसैले हदै गरे जेलमा थुन्छन् ।” उनी बीपीलाई उपचार गराउन विदेश पठाउनु पनि दरबारको बाध्यता भएको बताउँछन् । “बीपी साधारण नेता थिएनन् । त्यसैले जेलमा केही भयो भने त्यही दिन राजशाही खत्तम हुन्छ भन्ने राजालाई राम्रैसँग थाहा थियो,” उनको भनाइ छ । 

बीपीको यही उचो व्यक्तित्व देखेर एकपटक भारतीय संसद्मा समाजवादी नेता मधु लिमयेले भनेका थिए, ‘इन्दिरा ठूलो देशकी नेता भएर ठूलो भइन् होला । तर, बीपी कोइरालाको कुरा गर्ने हो भने भारतमा अहिले पनि इन्दिरापछि कुनै ठूला नेता छन् भने बीपी नै हुन् । उनी अन्तर्राष्ट्रिय छवि भएका नेता हुन् ।’
बीपीको राजनीतिक उचाइ यस् तो थियो कि भारतका मात्र होइन, चिनियाँ नेताहरूसँग पनि उनको निकटस्थ सम्बन्ध थियो । बौद्धिकता, सुझबुझ, संघर्षपूर्ण राजनीतिक जीवन, राष्ट्रियता र प्रजातन्त्रप्रतिको अविचलित अडानका कारण उनले आफ्नो अन्तर्राष्ट्रिय हैसियत बनाएका थिए । अझ भारतका सत्तापक्ष र प्रतिपक्षका शीर्षस्थ नेताहरूसँग त उनको पारिवारिकजस्तै सम्बन्ध थियो । यो तहको सम्बन्ध सायदै अरू कुनै नेपाली राजनीतिज्ञको थियो, न निकट भविष्यमा हुने सम्भावना छ । राजनीतिक तहको सम्बन्ध नभएकै कारण छिमेक र अन्तर्राष्ट्रिय तहमा धेरै वर्षदेखि हेपिएको वा प्रतिष्ठा नपाएको महसुस गरिरहेको छ, नेपालले । तसर्थ, बीपीलाई अनुसरण गर्दै राजनीतिक तहमा सम्बन्ध कायम गर्न सके राष्ट्रिय स्वाभिमानको मानमर्दन हुन्न भन्नेमा आशावादी हुन सकिन्छ । तर, यसतर्फको पहल र सक्रियता राजनीतिक नेतृत्वबाटै हुनुपर्छ । 
---
‘राजा महेन्द्रलाई पछुतो थियो’ 
कीर्तिनिधि विष्ट, पूर्वप्रधानमन्त्री

विसं ०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स् वदेश फर्किएपछि बीपी कोइराला मकहाँ आइरहन्थे । एक दिन जिज्ञासा पोखे, ‘किन राजा महेन्द्रले कू गरे होलान् ?’ महेन्द्रकै कार्यकालमा म ०२६ सालमा प्रधानमन्त्री भएँ । त्यसैले उनलाई लागेको रहेछ, राजाले सबै कुरा मलाई भने होलान् । तर, ०१७ सालमा म संघर्ष गर्दै थिएँ । जवाफ दिएँ, ‘मलाई किन सोध्नुहुन्छ ? आफ्नै प्रिय मान्छे विश्वबन्धु (थापा) र तुलसी (गिरी)लाई सोध्नू न !’ त्यसपछि उनले कहिल्यै कुरा उप्काएनन् ।

जनमत संग्रहताका बीपीले प्रस्ताव राखे, ‘तपाईं पनि राष्ट्रवादी सोचको मान्छे । किन एकै ठाउँमा मिलेर काम नगर्ने ?’ मैले बीपीलाई लामो समयदेखि आफू पञ्चायतमा सक्रिय रहेको सम्झाएँ । र, अहिले छाड्दा दरबारलाई घात हुने बताएँ । बीपीले फेरि दोहोर्‍याएर कुरा गरेनन् । त्यतिबेला बहुदल र निर्दलबीच ठूलो कटुता थियो । स्याङ्जामा बीपीलाई झन्डै मारे । मलाई पनि गोरखामा कांग्रेस समर्थकले झन्डै मारेका । रातभरि प्रहरीको सुरक्षामा बस् नुपर्‍यो । बीपीले खबर पाएछन् । आफ् नै कार्यकर्तालाई बोलाएर हकारे, ‘के गरेको यस्तो ? कीर्तिनिधिजीको विरोध किन गरेको ? उनी पञ्चायतमा छन् भन्दैमा आफ्नो विचार राख्न नपाउने ?’ 

सच्चा प्रजातन्त्रवादी हुन् बीपी, जो सबैको विचारलाई उत्तिकै कदर गर्थे । जनतामा जान भनेपछि भित्रैदेखि रमाउने स्वभाव थियो । प्रजातन्त्रमा चट्टानझैँ अडिग थिए । प्रजातान्त्रिक आस्थामा विश्वास गर्ने र राष्ट्रवादीलाई एकजुट बनाएर लानुपर्छ भन्ने सोच थियो, उनको । जीवनभर दरबारबाट दु:ख पाए । तर, आवेगमा कहिल्यै राजसंस्थाको कुभलो चिताएनन् । मान्छे खराब हुन सक्ला तर संस् था खराब हुँदैन भन्ने मान्यता थियो उनको । जस् तो : महेन्द्रले उनीमाथि त्यत्रो अन्याय गरे, तैपनि महेन्द्रप्रति कहिल्यै तुष राखेनन् । एउटा महान् नेतामा हुनुपर्ने गुण यही हो– व्यक्तिभन्दा राज्यलाई प्राथमिकता दिने । 

अहिले सम्झन्छु, आखिर किन महेन्द्रले आफूले त्यतिविधि मानेका नेतालाई पद्च्यूत गरे ? किनभने, मैले देख्दा, महेन्द्र पनि बीपीप्रति कुनै पूर्वाग्रह राख्दैनथे । बीपीको कुरा हुँदा उनको भावै अर्को हुन्थ्यो । भन्थे, ‘पीएम (प्रधानमन्त्री) हुनलायक मान्छे त बीपी नै हो ।’

महेन्द्रमा पछिल्लो समय बीपीलाई राष्ट्रिय राजनीतिमा जोड्न नसकेकामा पछुतो थियो । म प्रधानमन्त्री भएकै बेला एक दिन उनले हामीलाई बोलाए । र, संविधानका केही धारा फेरबदल गरेर बीपीलाई राष्ट्रिय राजनीतिमा फर्काउने मनसाय व्यक्त गरे । त्यसको सात दिनमा महेन्द्रको निधन भयो । आफैँले सत्ताच्यूत गरेका प्रधानमन्त्रीलाई राष्ट्रिय राजनीतिमा समावेश गराउने उनको ध्येय थियो । तर, उनको निधनसँगै त्यो काम गर्भमै तुहियो । 
---
सरल प्रजातन्त्रवादी
भरतशमशेर राणा

विसं ००८ मा बीपी कोइराला गृहमन्त्री थिए । कसले चुक्ली लगाइदिएछ, बाहिर उपद्रव मच्चाउने भरतशमशेर हो भनेर । मलाई त एक्कासि लगेर थुने । मेरा समर्थकको पनि त्यति बेला कमी थिएन । आफैँ पनि ८–१० जनालाई त गन्दिनथेँ । जेल फोडेर बाहिर निकाले । उनीहरूलाई लागेछ, यसमा बीपीको ठूलो हात छ । उनको ज्यानै लिने भनेर गएछन् । एक जनालाई बीपी भनेर बाहिरै ल्याए । धन्न त्यो घटनामा बीपी बाँचे । पछि उनलाई थाहा भयो, यसमा मेरो कुनै हात छैन । 

यसै वर्ष राजनीतिले कोल्टे फेर्‍यो । विद्यार्थी आन्दोलनमा गोली चल्दा चिनियाँकाजीको निधन भयो । बीपीले नैतिकताका आधारमा राजीनामा गरेपछि मोहनशमशेर राणाको सरकार ढल्यो । यसबीच यति धेरै चलखेल बढ्यो । दरबारले मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनायो । यो घटनाले बीपी खुसी थिएनन् । म पनि राजाविरोधी थिएँ । हामी दुवैको कुरा मिल्यो । 

०११ सालमा त्रिभुवनको निधनपछि राजा भए, महेन्द्र । उनले पनि आफ्नो बाबुजस्तै राजनीतिक प्रयोगलाई हत्कण्डा बनाए । चुनाव गराउने त परको कुरा, एकपछि अर्को गर्दै धमाधम प्रधानमन्त्री पो बनाउन थाले । यसैबीच ०१५ सालमा चुनाव हुने निश्चित भयो । म त्यतिबेला आफ्नै पार्टी गोर्खा परिषद्मा सक्रिय थिएँ । सुवर्णशमशेर राणा सबैभन्दा धेरै तीन ठाउँबाट उठेका थिए । उनी कुनै पनि चुनावी क्षेत्रमा नखटीकनै तीन ठाउँबाटै निर्वाचित भए । मैले नुवाकोटबाट मज्जाले जितेँ । मेरो पार्टीले १९ सिट जित्यो । कांग्रेसपछि दोस्रो ठूलो दल भयो । 

कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । महेन्द्रले नचाहँदा नचाहँदै पनि बीपी प्रधानमन्त्री भए, म विपक्षी दलको नेता । त्यतिबेला राजाको विरोधमा कसको बोल्ने आँट ! म फेरि सानैदेखि बोल्न नडराउने ! राजाका विरुद्धमा केही बोल्नुपर्‍यो भने एउटा जुक्ति लगाउँथेँ । र, भन्थे‌, ‘हेर्नूस् यस्तो नियम छ । राजाका विरुद्ध बोल्नु हुँदैन ।’ त्यति भनेपछि राजालाई गाली गर्थें । 

त्यति बेला ऋषिकेश शाह र तुलसी गिरीसँग मेरो खुब दोस् ती थियो । उनीहरू त्यतिबेलादेखि नै लुसुक्क राजालाई भेट्थे र कुरा लाउँथे । म उनीहरूलाई गाली गर्थें । तर, मैले जति नै गाली गरे पनि मेरो चुक्ली भने लगाएनन् । ०१७ सालमा राजा महेन्द्रले ‘कू’ गर्ने दिनको अघिल्लो रात म र बेनीबहादुर कार्की दिल्ली जाँदै थियौँ । तर, दरबारबाट चिट्ठी आयो, राजाले भोलि दर्शन दिने, कतै नजानू । दुई–तीन दिनदेखि नै ‘सिम्टम’ राम्रो सुनिएको थिएन । मलाई लाग्यो, दालमा केही कालो छ । बिहान ५ बजे बीपीकहाँ पुगेँ र खेलो भइरहेको बताएँ । सदनमा बीपीसँग अनेकौँ कुरामा विवाद हुन्थ्यो । तर, उनीसँग दुइटा कुरामा मेरो सहमति थियो, पहिलो– देशमा प्रजातन्त्र हुनुपर्छ र दोस्रो– सक्रिय राजतन्त्रविरुद्ध एकजुट हुनैपर्छ । 
दिउँसो बबरमहलस्थित आफ्नै निवासमा बसिरहेको थिएँ । मलाई पक्राउ गर्न भरतकेशर सिंह, जो पछि राजा वीरेन्द्रका शाही पाश्र्ववर्ती पनि भए, आए । मैले उनलाई दरबारबाट आएको चिट्ठी देखाएँ– यी राजाले भेट्न बोलाएका छन् भनेर । तर, जतिभन्दा पनि छोड्नन् । पछि, राजाले नै बोलाए । ३ बजे दौडिएर राजाकहाँ पुगे । राजाले भने, ‘तिमीहरू राजनीतिक मान्छे, मेरो कदमको समर्थन गर्छौ कि गर्दैनौ ?’ अब राजाका अगाडि मैले के बोल्ने ! केही बोल्यो भने जेल हालिदेलान् ! भनेँ, ‘राजनीति गरेको नै झन्डा हल्लाउन हो, सरकारबाट निगाह हुन्छ भने ।’ 

बीपीलगायत त्यतिबेला मन्त्रिपरिषद्मा भएका (सुवर्णशमशेरलाई छोडेर) सबै पक्राउ परे । म भने एक्लो प्रतिपक्षी नेताका रूपमा ६ महिना जेल बसेँ । त्यसपछि राजालाई सघाउने सर्तमा मलाई पनि छोडियो । म किन नेपाल बस्थेँ ! पहिलेदेखि नै राजसंस्था मन नपर्ने, कोलकाता भागेँ । 

कोलकातामा सुवर्णशमशेर सक्रिय राजतन्त्रविरुद्ध आन्दोलनको तयारीमा थिए । म त्यहाँ पुगेपछि उनलाई हलुको महसुस भएछ । त्यसैले पिथौरागढदेखि पूर्वसम्म भारत–नेपाल सीमा क्षेत्र पूरै हेर्ने जिम्मेवारी दिए । त्यो आन्दोलनमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको समर्थन थियो । म कांग्रेसको क्रान्तिमा पहिलोपल्ट होमिएको थिएँ । तर, नेहरुको निधनपछि सुवर्ण राजासँग गएर मिले । त्यसपछि मलाई सुवर्णसँग बसिरहन मन लागेन । र, मेरो झुकाव बीपीतिर बढ्यो । जसको नतिजा यस् तो भयो, मलाई भारत सरकारले कोलकातामै नजरबन्दमा राख्यो । अब म कतै जान नपाउने भएँ । 
०२५ सालमा बीपी निर्वासित जीवन बिताउन फेरि भारत आए । त्यसपछि हाम्रो सम्बन्धको गाँठो यस्तो बन्यो, उनलाई मैले आफ्नो नेता स्वीकारे‌, जो अहिलेसम्म रत्तिभर कम भएको छैन । बीपी कोलकाता आउँदा मेरो घरमा आउँथे । उनीसँग भारतीय समाजवादी नेता जयप्रकाश नारायण र चन्द्रशेखर धेरैपल्ट भेट्न आए । 

बीपी भारत आएपछि नेपाली कांग्रेसले फेरि सशस् त्र युद्ध गर्ने घोषणा गर्‍यो । तर, त्यसका लागि हतियार किन्न हामीसँग पैसा थिएन । बीपी अन्तर्राष्ट्रिय समाजवादीहरूको सम्मेलनमा भाग लिन स्वीट्जरल्यान्ड जाँदै थिए । मैले उनलाई ‘ब्ल्याङ्क चेक’ दिएको थिएँ । बिचरा बीपीलाई चेकबाट पैसा कसरी निकाल्ने, त्यो पनि थाहा थिएन । 

जहाज अपहरणपछि जब नेपालले भारतीय सरकारलाई दबाब दियो, गुप्तचर संस्था ‘र’का प्रमुख काओ बीपीकहाँ पैसा फिर्ता गरिदिन भन्न आएका थिए । त्यसको बदलामा त्यति नै रकम उपलब्ध गराइदिने पनि उनको प्रस्ताव थियो । तर, बीपीले यो प्रस्ताव ठाडै अस्वीकार गरे । बीपी आफ्नो विवेकमा मात्र हिँड्थे, कसैले भनेर कहाँ मान्ने हो र ?

बीपीको राष्ट्रिय मेलमिलापको विषयमा नेपालमा जसलाई जे मन लाग्यो, त्यही व्याख्या गरेर हिँड्छन् । मलाई अचम्म लाग्छ । पटनामा बीपी र म बसेर बनाएको ‘ड्राफ्ट’ हो त्यो । त्यसमा कहाँ राजासँग मिल्ने कुरा छ ? 

बीपी नेपाल फर्किएपछि यति चाँडो राजनीतिक उथलपुथल भयो कि राजालाई जनमतसंग्रहको घोषणा गर्न कर लाग्यो । जनमतसंग्रहको प्रचारका लागि म पनि काठमाडौँ लागेँ । त्यतिबेला गणेशमान सिंह र म फर्पिङदेखि टोखासम्म खटिएका थियौँ । पाटनको सहरी क्षेत्रमा हाम्रो जित भयो, बाहिर निर्दलवालाको । मलाई थाहा थियो, दरबारले कुनै पनि हालतमा हामीलाई जित्न दिँदैन । त्यसैले फेरि दु:ख दिने हो कि भनेर चुनाव भएको भोलिपल्टै कोलकाता फर्किएँ । 

क्यान्सरको उपचार गरेर अमेरिकाबाट फर्किएपछि बीपीलाई भेट्न काठमाडौँ गएको थिएँ । कपाल पूरै झरेको थियो । भनेका थिए, ‘किमोथेरापी गर्दा बडो दु:ख हुन्छ ।’ अहिले आफू पनि रोगले थलिएको छु । वास् तवमै बीपी प्रजातन्त्रवादी थिए, एकदमै सरल । कोहीसँग उनको रिसराग थिएन । यो दुनियाँमा जो ठूलो हुन्छु भन्छ, त्यही सानो हुन्छ । अहिले नेपालमा राजा बन्नेको हालत हेरौँँ त ! बीपी बितेको यति समय भइसक्यो । तर पनि नेपाली जनतामा उनीप्रतिको श्रद्धा घटेको छैन । 

(८६ वर्षीय कांग्रेस नेता राणा हाल कोलकातामा बस्छन् ।)
---
विश्वले मानेको नेता
गणेश शर्मा

नेपाली राजनीतिमा पशुपतिनाथलाई छाडेर अरू कसैको कुरा हुन्छ भने त्यो हो, बीपी कोइरालाको । अहिले पनि उहाँकै नाम बेचेर काम चलिरहेछ धेरैको, चाहे त्यो उहाँले स् थापना गर्नुभएको नेपाली कांग्रेस होस् वा विपक्षी पार्टी नै किन नहुन् । अन्तर्राष्ट्रियस्तरमा नेपालले देखाउन लायक कुनै राजनेता छ भने त्यो बीपी नै हो । 

महात्मा गान्धीको कुरा छोडौँ । भारतमा पनि उहाँजस्तो ‘भिजन’ भएको नेता भेटेको छैन । यो त नेपालको दुर्भाग्य π ५० वर्षअगाडिको भिजन राखेर हिँड्ने मान्छेलाई त्यहाँको राजशाही र सामन्तवादी सोच भएकाहरूले शासन गर्न दिएनन् । क्या गजबको ‘कन्भिन्सिङ पावर’ थियो उहाँको । उहाँजस्तो बोल्ने शैली न नेपालका नेतामा थियो, न भारतकै । अहिले भारतमा नरेन्द्र मोदीले बीपीजस् तै केही छाँट देखाउँदै छन् । 

भारतीय कांग्रेस मूलत: राजा–महाराजाबाट बनेको पार्टी हो । त्यसैले नेपालमा प्रजातन्त्र बहाली गर्ने कुरामा बीपीलाई कहिल्यै साथ दिएन । भारतमा राष्ट्रियस्तरमा आन्दोलन गर्न सक्ने हैसियत न जवाहरलाल नेहरुसँग थियो, न इन्दिरा गान्धीसँग । त्यो सामथ्र्य जयप्रकाश नारायणले राख्थे, गरे पनि । अहिले पनि भारतीय राजनीतिमा न नेहरुले बनाएका मान्छे सत्ताको केन्द्रमा छन्, न इन्दिराले । तर, जयप्रकाशले तयार पारेका मान्छे जताततै छन् । 

समाजवादी चिन्तक राममनोहर लोहियाजस्ता विद्वान्सँग बीपीको उठबस थियो । बीपी अन्तर्राष्ट्रिय जगत्ले मानेको नेता हुनुहुन्थ्यो । त्यसैले भारतबाट राजनीति गरेको भए पनि प्रधानमन्त्री बन्न सक्ने हैसियत राख्नुहुन्थ्यो । तर, देश सानो होस् वा ठूलो, मातृभूमि भनेको मातृभूमि नै हो । त्यसैले भारतमा राजनीतिको अवसर हुँदा हुँदै उहाँ नेपाल जानुभयो । त्यहाँ पहिले राणा, त्यसपछि दरबार र अन्त्यमा भारतबाट पनि पेलानमा पर्नुभयो । तर पनि उहाँले रत्तिभर कसैसँग रिस–राग राख्नुभएन । अनवरत प्रजातन्त्रका लागि लडिरहनुभयो । 

बीपीसँग मेरो पहिलो भेट ०२७ सालमा सारनाथमा भएको थियो । त्यतिबेला उहाँ नेपालबाट निर्वासित भएर भारत आइसक्नुभएको थियो । पहिलो भेटमै उहाँले आफूसँग एउटै डाइनिङ टेबलमा खाना खान प्रस्ताव गर्नुभयो । नेपाली दौरा–सुरुवालमा चिट्टिक्क पर्नुभएको बीपीको आकर्षण गजब थियो । खाइरहेको बेला उहाँले कूटनीतिक कुरा गर्नुभयो, ‘तिम्रो अनुहार हेरेर थाहा भइसक्यो, असल मान्छे छौ भनेर । गिरिजाले भनेको काम गर्नू । तर, गरेको काम नभन्नू ।’ 

मैले ०११ सालदेखि गिरिजाबाबुसँग काम गरेँ । जहाज अपहरणमा मात्र होइन, नेपाली कांग्रेसले गरेका थुप्रै अपरेसनमा गिरिजाबाबुको गाडी नै हाँकेँ । बीपी र गिरिजाबाबुमा आकाश जमिनको फरक थियो । गिरिजाबाबु पूरै ‘डिस् ट्रक्टिभ माइन्ड’को मान्छे, उपयोग गरेर मान्छे छाडिदिने । तर, बीपी त्यसको ठ्याक्कै उल्टो । एकपल्ट भेटेको मान्छे, चाहे त्यो आन्दोलनमा कामै नलाग्ने किन नहोस्, बिर्संदै नबिर्सने । 

बीपी नेपालमा जेल परेका बेला भारतमा दुई दिग्गज समाजवादी नेता जेपी र लोहिया फुटे । सम्भवत: उहाँ बाहिर हुनुभएको भए समन्वयकारी भूमिका खेल्न सक्नुहुन्थ्यो । किनभने, त्यो गुण बीपीमा प्रचुर थियो । ०१५ सालको निर्वाचन लड्दा उहाँलाई युवराज सिंह ‘मालाकार’, लखनलाल कपुरलगायतका थुप्रै भारतीयले सहयोग गरेका थिए । बीपीको विषयमा दरबारले सधैँ एउटै हत्कण्डा अपनायो, फुटाउ र राज गर । यसै कारण मातृकाप्रसाद कोइराला तीनपल्ट प्रधानमन्त्री हुनुभयो । 

जयप्रकाश नारायणको ‘सम्पूर्ण क्रान्ति’ताका बीपीसँग पुन: पटनामा भेट्ने अवसर जुर्‍यो । त्यतिबेला उहाँ निकै खटिनुभएको थियो । विमान अपहरण काण्डमा म, सुशील कोइराला, चक्र बास्तोला, रामबहादुर श्रेष्ठ, हरि सिंह (ड्राइभर), मनोहरि बराल र गोविन्द पोखरेल पूर्णिया जेलमा थियौँ । त्यति बेला हामीलाई हेर्न बीपी, गणेशमान सिंह, गिरिजाबाबु र नोना कोइराला आउनुभयो । 

जनमतसंग्रहभन्दा अगाडि म काठमाडौँ पनि गएँ । त्यतिबेला विमान अपहरणका कारण टिकट हुँदा हुँदै पनि मलगायत विनोद अर्याल र वसन्त भट्टराईलाई स्थानीय प्रहरीले पटनाबाट काठमाडौँ उड्न रोक लगायो । पछि सर्जु मिश्रा, जो त्यतिबेला सासंद हुनुहुन्थ्यो, लाई भनेर उड्यौँ । म सुन्धारास्थित विपिन लजमा बस्थेँ । त्यति बेला बीपीले भन्नुभएको थियो, ‘धेरै नघुम्नु अहिले पनि संकट छ ।’ उहाँले कुनै विदेशी पत्रकारले अन्तर्वार्ता लिन खोज्यो भने नदिन पनि भन्नुभएको थियो । मैले भारतमा जति इज्जत कमाएको छु, त्यो सबै बीपीको देन हो । उहाँको क्षमता नै अद्भुत थियो, कम बोल्ने तर चोटिलो बोल्ने । अनि, सहयोगी बानी पनि । 

(विमान अपहरण काण्डका सहयोगी)
---
बीपी र दाजु​
विद्यासागर गुप्त

बीपी कोइरालाका पिताजी कृष्णप्रसाद कोइराला राणाकालमा देश निकाला नहुँदै व्यापारको सिलसिलामा मेरो पिताजी शम्भुदयालसँग उहाँको सम्बन्ध राम्रो भइसकेको थियो । देश निकालापछि छोटो समय उहाँ हाम्रो फारबीसगन्जस्थित मिलमा पनि बस् नुभयो । कोलकातास्थित बडाबजारमा रहेको हाम्रो मार्बल हाउस नेपाली कांग्रेसको जन्मका लागि अहिले पनि चर्चित छ । 

बीपीले लेख्नुभएको पनि छ, हाम्रो फारबिसगन्ज तथा कोलकाताको घर नेपाली स्वतन्त्रता सेनानीहरूको आश्रय स्थल थियो । भारतमा बस्दा सुरुका दिन कृष्णप्रसादले निकै दु:ख खेप्नुपर्‍यो । त्यति ठूलो परिवार, त्यसमा पनि राणाहरूले उहाँको सर्वस्वहरण गरेका थिए । त्यसैले घर चलाउन ठूलो छोराका नाताले मातृकाप्रसादले कलिलो उमेरमै काम गर्नुपर्‍यो । त्यतिबेला अहिलेजस्तो मल्टिप्लेक्स हलको जमाना थिएन । हाम्रो बैलगाडामा गाउँ–गाउँ घुमाउने ‘टुरिङ सिनेमा’ हल थियो । त्यसमा केही समय उहाँले काम गर्नुभयो, म्यानेजर पदमा । जे होस्, राणाकालमा उहाँहरूको अवस्था दयनीय थियो । 

बीपीसँग मेरो ठूल्दाइ बालकृष्ण गुप्तको गहिरो दोस्ती थियो । दाजु सन् १९३९ मा बेलायतको अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक गरेर भारत फर्किनुभएको थियो । त्यहीँ अध्ययनरत रहँदा दाइको भेट भयो, रुसी क्रान्तिका अर्का नायक ट्रोटस्कीसँग । उहाँ ट्रोटस्कीको समूहमा पनि आबद्ध हुनुभयो । सन् १९२८ ताका कोलकातामा अध्ययन गर्ने क्रममा दाजुको भेट समाजवादी आन्दोलनका अगुवा राममनोहर लोहियासँग भएको थियो । 

बीपी र मातृका त्यसअघि नै १९४२ मा जेल परिसक्नुभएको थियो । मातृकाबाबु पछि पटनास्थित भारतीय कांग्रेसको कार्यालय सदाकद आश्रममा बस्नुहुन्थ्यो, जहाँ भारतका पूर्वराष्ट्रपति राजेन्द्रप्रसाद पनि बस्थे । कोलकाता आउँदा बीपी र गणेशमान सिंह मात्र होइन, त्यतिबेला आन्दोलनमा लागेका प्राय: सबै नेता हाम्रै घरमा आउँथे । बीपीको नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाका लागि दाइ निकै खटिनुभएको थियो । मार्बल हाउस कोलकातामा समाजवादीहरूको अखडाका रूपमा चिनिन्छ । 

यहीँ हो, सुवर्णशमशेर राणा र बीपीबीच पार्टी एकीकरण भएको पनि । नेपाली कांग्रेस गठन हुनुअघि सुवर्णले नेपाल प्रजातान्त्रिक कांग्रेसको स् थापना गरेका थिए । दाइको सुवर्ण र महावीरशमशेरसँग पनि राम्रो मित्रता थियो । नेपाली कांग्रेस स्थापनाका लागि महत्त्वपूर्ण बैठकचाहिँ खाल्सा स् कुलमा भएको थियो । 

नेपाली कांग्रेसले क्रान्तिको आह्वान गरेपछि हतियारको बन्दोबस् तीका लागि लोहियाजीले भोला चटर्जीलाई म्यानमार (बर्मा) पठाउनुभएको थियो । त्यतिबेला बर्मामा नेविनको सरकार थियो, जो समाजवादी थिए । त्यसैले हतियारका लागि सुरुमा कुरा गर्न बीपी नै लोहियाको चिट्ठी बोकेर बर्मा जानुभयो । नेपालको क्रान्तिका लागि बर्माबाट दुईवटा जहाजमा हतियार भारत भित्रियो, जसलाई फारबीसगन्जस्थित हाम्रै जगदीश जुटमिलको घरमा ‘फोर्स ल्यान्डिङ’ गराइएको थियो । जुटमिल त्यति बेला नेपाली कांग्रेसको सैनिक मुख्यालय नै थियो ।

नेपाली कांग्रेसले विराटनगरमा सशस्त्र क्रान्ति गर्दा दाइ पनि हुनुहुन्थ्यो । ००७ सालपछि बनेको राणा–कांग्रेस सरकारमा बजेट बनाउन बीपीले दाइलाई पनि काठमाडौँ नै बोलाउनुभयो । त्यतिबेला बीपी गृह र सुवर्णशमशेर अर्थमन्त्री हुनुहुन्थ्यो । नेपालमा दाइ बीपीसँगै उहाँलाई सरकारले दिएको गेस्टहाउसमा बस्नुहुन्थ्यो । एक दिन भयो के भने दाइ गेस्टहाउसको बाहिरी बरन्डामा चुरोट पिउँदै अखबार पढिरहनुभएको थियो । बीपीलाई मार्ने उद्देश्यले गोर्खा परिषद् का दुई जना कार्यकर्ता खुँडा लिएर आए । उनीहरूले बीपीलाई चिनेका रहेनछन् । दाइलाई नै बीपी भन्ठानेर झन्डै मारेका ! बाहिर चर्को आवाज सुनेपछि बीपी र गणेशमान दौडिँदै कोठाबाट निस्किनुभयो । त्यतिबेला बीपीले गोली नचलाएको भए दाइ त्यहीँ ठहरै हुनुहुन्थ्यो । 

केआई सिंहले सिंहदरबार कब्जा नगर्दासम्म दाइ बीपीसँगै काठमाडौँमा बस् नुभयो । त्यसपछि नेपालको राजनीति बिगिँ्रदै गयो, दाइ पनि फर्किनुभयो । दाइको निधन सन् १९७२ मा भयो । तर, उहाँ अन्तिमसम्म बीपीसँग जोडिनुभयो । 

पछि कांग्रेसले विमान अपहरण गर्दा बीपी फारबीसगन्जमा हाम्रै घरमा बस्नुभएको थियो । त्यतिबेला अपहरणबाट प्राप्त गरेको पैसा हाम्रो घरमा ल्याउने र त्यहाँबाट हतियारको ‘डेलिभरी’का लागि अन्यत्र पुर्‍याउने योजना बनेको थियो । तर, अपहरणको दिन २८ जेठ ०३० मा बीपीसँगै दाइ पनि फारबिसगन्ज आउनुभएको थियो । त्यतिबेला दाइ भारतको राज्यसभा सदस्य हुनुहुन्थ्यो । त्यसैले स् थानीय म्याजिस् ट्रेट उहाँलाई भेट्न केही पुलिससहित जगदीश मिल आएका थिए । बीपीका भाइ गिरिजाप्रसाद अपहरणको पैसा गाडीमा राखेर मिलतर्फ आउँदै गर्दा उनले देखेछन्, घरवरिपरि त पुलिसको गस्ती छ । उनलाई लागेछ, सबै कुरा ‘लिक’ भयो । अनि, बाटैबाट गाडी फनक्क मोडाउँदै दार्जीलिङतर्फ लागेछन् । भोलिपल्ट अपहरणको खबर छयापछयाप्ती भयो । पुलिसहरू हाम्रो घरमा छापा मार्न आए तर केही भेटेनन् । धन्न त्यो दिन, पैसा अन्यत्रै लगियो । नभए, दाइ अवश्य जेल पर्नुहुन्थ्यो । 

(गुप्त मार्बल हाउस कोलकाताका प्रोप्राइटर हुन् ।) 

---
बीपीबिनाको कांग्रेस

- दीपकप्रसाद लोहनी

बीपी कोइराला एक शताब्दीअघि एउटा असामान्य प्रसव प्रक्रिया अर्थात् शल्यक्रियाबाट जन्मिए । सम्राट जुलियस सिजर पनि शल्यक्रियाबाटै जन्मेका थिए । त्यसैले उनैको नामबाट यस्तो शल्यक्रियाको नामकरण सिजरियन शल्यक्रिया रहन गयो । एउटा संजोग नै मान्नुपर्ला, सिजर रोमका सम्राट बने भने बीपी नेपालका प्रधानमन्त्री तथा सर्वाधिक लोकप्रिय नेता । 

बीपीले बडो सिर्जनशील, उथलपुथलले भरिपूर्ण सार्थक तथा आदर्शमय जीवन बिताए । कैशोर्यमा गान्धीवादी, अहिंसात्मक आन्दोलनका हिमायती उनी श्रीपाद अमृत डाँगेसँग भेट भएपछि माक्र्सवादी कम्युनिस्ट बने । जयप्रकाश नारायणको सान्निध्यमा सोसल डेमोक्र्याट । ००७ सालको सशस्त्र जनक्रान्तिको नायक मात्र होइन, जीवनको उत्तराद्र्धमा गान्धीवादी र यथार्थवादी पनि । एक प्रकारले रूपान्तरणको बाटोबाट गुज्रेको देखिन्छ, बीपीको सैद्धान्तिक र वैचारिक धरातल । प्रजातन्त्र, समाजवाद, मानवतावाद र राष्ट्रियता उनका जीवन मूल्य थिए, त्यसमा कहिल्यै सम्झौता गर्न तयार भएनन् । 
प्रजा परिषद्बाट सुरु भएको प्रजातान्त्रिक आन्दोलनलाई नेपाली कांग्रेसले ००७ सालको जनक्रान्तिका माध्यमबाट नयाँ युगमा प्रवेश गरायो । देशको राजनीतिको केन्द्रीय धुरीमा रहँदै आएको कांग्रेसलाई नबुझी राष्ट्रिय राजनीति र यसको गतिशीलता, यसमा प्रभाव पार्ने कारक तत्त्व बुझ्न सकिँदैन । कांग्रेस आफ्नो लामो राजनीतिक जीवनमा धेरै जसो निर्णायक, कहिले माध्यम र कहिले साक्षी किनाराको फट्केमा मात्र सीमित भएको इतिहास छ । स्थापनाकालदेखि ००७ सालको जनक्रान्तिसम्म निर्णायक रह्यो भने दिल्ली सम्झौतामा साक्षी किनारामा बस्न बाध्य । 

००७ सालपछि स्वतन्त्र निर्णय गर्न खोज्ने र निमित्त–नायक बन्न खोज्नेहरूबीचको द्वन्द्वले कांग्रेस फुट्यो । कांग्रेसले स्वतन्त्र निर्णय गर्न खोज्दा समस्या भोग्ने गरेको छ, देशभित्र र बाहिरबाट पनि । ०२५ सालपछि निर्वासनमा रहँदा बीपी स्वयंले सशस्त्र आन्दोलन सञ्चालन गर्दा त्यो असफल भयो । ०१७ सालको दुर्घटनापछि बीपी किसुनजी, गणेशमानजी आदि शीर्षस्थ नेतृत्व जेलमा रहँदा उनीहरूको स्वीकृतिबिना सुवर्णजीले सशस्त्र आन्दोलन सुरु गरे । जनकपुरको बम काण्डसमेत भयो । के यस्तो गम्भीर एवं पार्टी विधानविपरीतको रणनीतिक निर्णयको अख्तियारी निर्वासित नेतृत्वलाई थियो ? यसले के अभीष्ट पूरा गर्‍यो ? 

सम्भवत: यसले भारतलाई राजा महेन्द्रसँग नेपाली सेनाको आधुनिकीकरणसम्बन्धी सम्झौता (मिलिटरी मोर्डनाइजेसन प्याक्ट, १९६५) गर्ने दबाबयुक्त वातावरण सिर्जना गरेको हुन सक्छ । ०१६ सालमा बीपीले प्रधानमन्त्रीको हैसियतमा गरेको चीनसँगको सगरमाथाको विवादसम्बन्धी सम्झौता, इजरायललाई मान्यता दिने र पाकिस् तानमा दूतावास खोल्ने निर्णय नेपालको वैदेशिक सम्बन्ध सञ्चालनमा भारतको छायाँबाट मुक्त भई स्वतन्त्र तवरमा गरिएको निर्णय थियो । संयुक्त राष्ट्र संघको साधारणसभामा नेपालका तर्फबाट बोल्दा अल्जेरिया, कंगो, इजिप्टको समस्या, जर्मनी, कोरिया, भियतनामको एकीकरणका सन्दर्भमा नेपालको स्वतन्त्र धारणा राखे । शक्ति राष्ट्र समूहहरूको विभाजनको राजनीतिका कारणले विश्व शान्ति स्थापनामा र गरिब राष्ट्रहरूलाई आर्थिक सहायता उपलब्ध गराउने कार्यमा राष्ट्र संघको भूमिका विस्तारित हुनुपर्ने र साना वा ठूला कुनै पनि सार्वभौम राष्ट्रहरूको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नमिल्नेजस्ता विचार राखेरे विश्व रंगमञ्चमा आफ्नो छुट्टै छवि बनाए । 

यस्तो स्वतन्त्र निर्णय गर्ने प्रयास सम्भवत: बाह्य शक्तिलाई रुचिकर भएन । त्यसैले ०१७ सालको घटना उत्प्रेरकको कारण भएको हुन सक्छ । ०४६ सालको जनआन्दोलन, ०४७ सालको संविधान निर्माण र ०४८–०५१ सालसम्मको सरकार सञ्चालनका क्रममा कांग्रेस धेरै हदसम्म स्वतन्त्र र निर्णायक रहेको थियो । तर, त्यो नै उसका लागि अभिशाप बन्न पुग्यो र त्यसपश्चात बाह्य शक्तिहरूको खेलका कारण मध्यावधि निर्वाचन, बारम्बार सरकार परिवर्तन र माओवादी विप्लवको दुश्चक्रमा मुलुक फस्न पुग्यो । राजाको प्रतिगमनविरुद्ध ०५९ मा आन्दोलन, ०६२ को जनआन्दोलन, मधेस आन्दोलन र १२ बुँदे समझदारी, त्यसले स्थापित गरेका संविधानसभा, संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता एजेन्डाको स्वमित्व लिन आफ्ना मान्यताविपरीत बाध्य भएर औपचारिक नेतृत्वकर्ता त कांग्रेस बन्यो तर निर्णायक हैसियतमा भने पार्टी रहेन ।

बीपी नेपाली कांग्रेसको सैद्धान्तिक अवधारणाको सूत्रधार तथा राजनीतिक र आर्थिक प्रस् तावनाको रचनाकार हो । बीपीलाई बुझ्न कांग्रेसको लामो इतिहासको सिंहावलोकन गर्न आवश्यक छ । तर, बीपीलाई बुझ्न कांग्रेसलाई बुझेर मात्र पुग्दैन । बीपीलाई समग्रतामा बुझ्न गहन अध्ययन, अनुसन्धानको खाँचो छ । आफ् ना कृतिमा बीपीले आफ्नो कमजोरी, मनोवैज्ञानिक अवस् थाको खुलस् त चित्रण गरेका छन् । तर, सबभन्दा महत्त्वपूर्ण विषय भने भारतको संस्थापन पक्ष, नेपाली कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरू, दरबार र आफ्नै पार्टीभित्रका विदेशी तत्त्वहरूलाई नामै किटेर निर्वस्त्र पारिदिएका छन् । राष्ट्रिय संकटका सम्बन्धमा र त्यसबाट जोगिने राजनीतिक उपायहरूका बारे सटीक विश्लेषण र मेलमिलापको नीतिको महत्त्व आदिका बारेमा व्याख्यासहित मार्गदर्शन दिएका छन् । क्षेत्रीयतावादी शक्ति र कम्युनिस्टहरूसँगको सहकार्य उनलाई स्वीकार्य थिएन । 

दिल्ली सम्झौताको अनुभवले होला, उनी कुनै पनि राजनीतिक आन्दोलन विदेशी भूमिबाट खास गरी भारतको मध्यस् थतामा गर्ने कुराको बर्खिलाप थिए । नेपाली राष्ट्रियता र राष्ट्रिय पहिचान समाप्त पार्न जातीय पहिचानका मुद्दा उठाउने, जातीय विद्वेष फैलाउने र त्यस सिलसिलामा हत्या हिंसाको लहर ल्याउँछन् भनी गरेको भविष्यवाणी कालान्तरमा सत्य साबित भयो । आज दुर्भाग्यवश त्यही विषय राष्ट्रिय बहसको एजेन्डा बनेको छ । विकेन्द्रीकरणका माध्यमबाट जनसहभागिताका आधारमा गाउँको विकास उनको मोडेल हो । संघीयता, प्रादेशिक सरकार, आत्मनिर्णयको अधिकारजस् ता प्रश्न बीपी चिन्तनभित्र थिएनन् । समावेशी राजनीतिको भने उनी प्रवक्ता मात्र नभई प्रयोक्ता पनि थिए । मधेसी, आदिवासी र जनजातिले उठाएका आईएलओ १६९ को प्रश्न, पहिचान र राज्य संरचनामा न्यायोचित प्रतिनिधित्वको विषय समता र समानतामा आधारित समाजवादी प्रजातन्त्रमा मात्रै हल हुन सक्छ भन्ने विश्वास थियो, बीपीमा । 

बीपीले राष्ट्रिय एकताका लागि जातिवाद, क्षेत्रीयतावाद र उग्र कम्युनिस्टहरूको सहकार्य घातक हुनेछ भने तर पार्टीले तिनै शक्तिहरूसँग मिलेर आन्दोलन गर्‍यो । भारतप्रति हल्का झुकाव राखे पनि उसको दोस्रो रोजाइमा बस्नुपर्छ, उनीहरूको औजार बन्नु हुँदैन भन्ने सल्लाह विपरीत १२ बुँदे समझदारी दिल्लीमा गरियो र पछिका समयमा भारत हाम्रो मामिलामा ‘माइक्रो म्यानेजमेन्ट’को तहमा पुग्दा समेत प्रतिरोध गरेन बरू सहायक बन्यो । पश्चिमा देशहरूको नग्न हस्तक्षेपको कुनै प्रतिवादी गरेन । अहिले बीपीको जन्म शताब्दीको अवसरमा बीपी चिन्तनको कसीमा पार्टी नेतृत्वबाट भएका निर्णयहरूको यथोचित मूल्यांकन गर्ने र पार्टीभित्र हावी रहेका बाह्य शक्तिको मतियारहरूको पहिचान गर्ने दायित्व पार्टी कार्यकर्ताहरूको पनि हो । 

(लोहनी नेपाली कांग्रेस महासमिति सदस्य हुन् ।)
---

‘झस्किए मोहनशमशेर’
केशवमणि दीक्षित

मेरी माताजी नलिनीदेवी बीपीका माइला बुबा नारायणप्रसादकी कान्छी छोरी हुनुहुन्थ्यो । त्यसैले हाम्रो सम्बन्ध पारिवारिक थियो । तर, हाम्रो परिवार राणाजीको महलमा काम गर्ने । त्यही भएर ००७ सालअघि दूरी केही बढ्न पुग्यो । यसै क्रममा हाम्रो घरमा विराटनगरकी ठूलीआमा जनककुमारीका छोरा तीर्थप्रसाद अधिकारी बस्न आउनुभयो । एक दिन बेलुकीपख तीर्थकुमारले बीपीले लेखेको सानो कागज, पिताजी राममणिलाई देखाउनुभयो । त्यसमा लेखिएको थियो, ‘एकपटक भेट्न आऊ ।’ पत्र देखाउँदै तीर्थ दाइले पिताजीलाई सोध्नुभयो, ‘के गरुँ ? जाऊँ कि नजाऊँ ?’

त्यो समय बीपीको नाममा एक प्रकारको गोप्य वारेन्ट थियो, काठमाडौँमा । त्यस् तो अवस्थामा पनि पिताजीले तीर्थलाई भेट्ने स्वीकृति दिनुभयो । केही दिनपछि बीपी पक्राउ पर्नुभयो । जेलमै अक्षय तृतीयाको दिन पारेर बीपीले भोक हडताल थाल्नुभएछ । दुई–चार दिन त्यसै बित्यो । तर, त्यो खबर भारतका प्रशासककहाँ पुर्‍याइएपछि माथिबाट दबाब पर्न थालेछ । एक दिन पिताजीलाई मोहनशमशेरको दरबारबाट बोलावट आयो । त्यतिबेला पिताजीलाई मोहनले ‘सर्दारी’ दर्जा त दिएका थिए तर दीक्षित परिवारबाट अधिक महत्त्व नरेन्द्रमणिले पाउनुभएको थियो । उहाँलाई त बीपीको विषयमा कुरा गर्न बोलाइएको रहेछ । त्यतिबेला मोहनशमशेर आफ्ना दुई छोरा शारदा र विजयसँगै बसेका थिए । पिताजीलाई देख्ने बित्तिकै भनेछन्, ‘ए राममणि । तिम्री बाहुनी कोइरालाकी छोरी होइनन् ? हेर, बीपीले नचाहिँदो हठ गरेर केही दिनदेखि केही पनि खाएका छैनन् । बाहुनको छोरा, मर्लान् भन्ने पिर परेको छ । एकपटक तिमीले तिनलाई सम्झाउनू, दुलहीलाई पठाइदेऊ ।’ 

पिताजीले तुरुन्तै बिन्ती चढाउनुभएछ– ‘सरकार ! हामी सरकारको सेवामा लागेका, बीपीहरू सरकारविरुद्धमा संघर्ष गर्ने । हाम्रो नाता–सम्बन्ध भए तापनि मेरी पत्नीले गरेर केही हुँदैन जस्तो लाग्छ ।’ त्यसपछि उहाँ उम्किनुभयो । ००७ सालअगाडि बीपीलाई भारतको ठूलो दबाबले जेलमुक्त गर्नुपर्‍यो । आफ्नो देश स्वतन्त्र भएपछि भारतले मोहनशमशेरलाई आमन्त्रण गर्‍यो । उसको उद्देश्य थियो, विश्वको बदलिँदो राजनीतिक वातावरण र स्वतन्त्र भारतको कार्यपद्धतिबारे राणा सरकारलाई विस्तृत 
जानकारी गराउने । 

आफूले दिएको सल्लाह मोहनशमशेरले नमान्ने लक्षण देखेपछि, एकातिरबाट जनतालाई राणा शासनविरुद्ध उभिन मद्दत गर्ने, अर्कोतिरबाट राजदरबारभित्र हात बढाएर राणालाई आफ्नो अनुकूलको बनाउने रणनीति भारतबाट चालिन लाग्यो । यो तथ्य बीपी बाबुहरूलाई धेरै पछि थाहा भएजस्तो लाग्छ । राजा त्रिभुवनको भारतीय दूतावास प्रवासपछि भारतीय पदाधिकारीको केही गहुँ्रगो व्यवहारबाट नेपाली कांग्रेसलाई नेपालको सार्वभौमसत्ता दिल्ली दरबारमा नबुभिँmदो रूपले झुकेको महसुस भएको बीपीको आत्मवृत्तान्तमा उल्लेख छ ।

त्यसो त त्रिभुवन पनि राणा शासनसँग भित्रभित्रै चिढिएको अवस्था थियो । राजदरबारलाई ‘प्रजातन्त्र’ भन्दा पनि आफू राणाशाहीको बन्धनबाट मुक्त हुने चाहना तीव्र थियो । भारतले यो कुरा पत्ता लगाएपछि शाह परिवारलाई आफ्नो संरक्षणमा ल्याउने र त्यसको निमित्त जनतालाई विद्रोह गर्ने अवसरलाई प्रश्रय दिने रणनीति अवलम्बन गर्‍यो । ००७ सालअगाडिको क्रान्ति, विशेष क्रान्ति नभई भारत सरकारको एक योजना थियो । त्यसैमा नेपाली जनता, नेपाली कांग्रेस रुमलिन पुगे ।

आफ्नो मध्यस्थतामा राणा सरकारका प्रतिनिधि तथा राजा त्रिभुवनबीच सम्झौता पत्रमा हस्ताक्षर भएलगत्तै भारतले आन्दोलन स्थगित भएको घोषणा गर्‍यो । अनि मात्र नेपाली कांग्रेसका नेताहरूको आँखा खुल्यो । वास्तवमा ००७ सालमा प्रजातन्त्र स्थापना हुनुको साटो राणाशाहीको हातबाट नेपालको भविष्य भारत सरकारको हातमा सरेको थियो । राजाको सल्लाहकारका रूपमा भारतले आफ्नो व्यक्ति राखेपछि त मन्त्रिपरिषद् गठनलगायत सानातिना काममा पनि दिल्लीको मुख हेर्नुपर्ने परिस्थिति कायम भएकै थियो । त्यसैले गृहमन्त्री भएका बेला पनि बीपीको हृदय खुलेको अनुभव गर्न पाइएन । 
---
सूर्यबहादुर थापालगायतका पञ्चहरु नै षड्यन्त्रमा
- बद्रीनारायण बस्नेत

बीपीसँग मेरो पहिलो परिचय, उहाँ भारतबाट उपचार गरेर विराटनगर फर्किएपछि कोइराला निवासमा भएको हो । त्यतिबेला म पार्टीको मोरङ जिल्ला सचिव थिएँ । ०१७ सालको ‘कू’पछि कांग्रेसका प्राय: सबै नेता पक्राउ परिसकेका थिए । प्रजातान्त्रिक आन्दोलनलाई पुन: उठाउन कोलकातामा हुनुभएको सुवर्णशमशेर राणाले ठाउँ–ठाउँमा ‘एक्सन कमिटी’ गठन गर्नुभएको थियो । त्यही अन्तर्गत तराई कमिटीको सचिव थिएँ, म । त्यतिबेला मोरङ र सुनसरी एउटै जिल्लामा गाभिएको थियो । 

बीपी करिब चार दिन बस्नुभयो । माघ महिनाको त्यो जाडोमा बीपीले सहिद मैदानमा दिएको भाषणमा भन्नुभयो, ‘राजासँग कुरा हुन्छ । अनि, कसरी अगाडि बढ्ने बाटो तय हुन्छ । ’ बम्बईमा उपचारका क्रममा बीपीको राजा महेन्द्रसँग भेट भएको रहेछ । राजा बम्बईको बाटो हुँदै स् वदेश फर्किंदै थिए । बीपी राजालाई भेट्न हवाई अड्डै पुग्नुभएछ । त्यति बेला महेन्द्रले भनेछन्, ‘अर्काको भू–भागमा के कुरा गर्ने ? नेपाल आउनू, त्यहीँ कुरा हुन्छ । ’ त्यसैले बीपी आशावादी हुनुहुन्थ्यो । फेरि, कुनै न कुनै रूपमा दरबारसँग कुरा भइरहेको थियो । 

बीपीले विराटनगरमै हुँदा एउटा रोचक कुरा सुनाउनुभयो । उहाँ जेलमा छँदा बेलायती राजदूत आफ्नो कार्यकाल सकेर देश फर्किन लागेका रहेछन् । उनले राजासँग बिदाइ लिने क्रममा एकपल्ट बीपीलाई भेट्न मन लागेको भनेछन् । महेन्द्रले उनलाई भेट्ने स्वीकृति त दिए । तर, आफ्नो पनि एउटा सन्देश सुनाउन भने, ‘संविधानको ड्राफ्ट बीपीले लेखून् । तर, नामचाहिँ म दिन्छु ।’ त्यति बेला बीपीले बेलायती राजदूतलाई कूटनीतिक उत्तर दिनुभएछ, ‘म अहिले जेलमा छु, नेता सुवर्णशमशेर हुनुहुन्छ । त्यसैले म कसरी स्वीकृति दिन सक्छु ?’

उहाँ जेलमै हुँदा संवादका लागि भाइ गिरिजाप्रसादलाई महेन्द्रले रिहाइको आदेश दिए । गिरिजाबाबुमार्फत भित्रभित्रै वार्ता चलिरहेको थियो । त्यतिबेला प्रधानमन्त्री थिए, सूर्यबहादुर थापा । उनी गिरिजाबाबुलाई सधैँ हैरान पार्ने रहेछन्, यो सोधेर कि राजासँग के कुरा भयो ? एक दिन गिरिजाबाबुले महेन्द्रलाई भन्नुभएछ, ‘तपाईंको पीएमले हामीबीच के कुरा भयो, सुनाऊ भनेर हैरान पार्छन् । ’ राजाले परिस्थितिको गम्भीरतालाई बुझ्न सकेनन् । भनिदिएछन्, ‘पीएमलाई भन्दा केही फरक पर्दैन ।’ 
त्यसपछि गिरिजाबाबुले राजासँग भएको संवाद सूर्यबहादुरलाई भन्नुभयो । तर, दुर्भाग्य † कूटनीतिक मर्यादाको ख्याल नराखी सूर्यबहादुर सबै कुरा भारतीय राजदूतलाई सुनाउँदा रहेछन् । पछि, वार्ता भंग भयो । एक दिन गिरिजाबाबु स्विमिङ गरिरहनुभएको रहेछ । महेन्द्रका एडीसी शेरबहादुर मल्लले कट्टु मात्र लगाएका गिरिजाबाबुलाई त्यहीँबाट उठाएर लाने क्रममा भनेछन्, ‘अबदेखि कुराकानी हुँदैन ।’ 
बीपी छुटेपछि गिरिजाबाबुमार्फत महेन्द्रले पुन: संवादको थालनी गर्न खोजेका रहेछन् । यसै क्रममा राजाको विराटनगर भ्रमण तय गरिएको थियो । तर, महेन्द्र आउनुअघि नै गिरिजाबाबुलाई कोलकाताबाट एउटा सन्देश आयो, ‘छोरी बिरामी छिन्, झट्ट आउनू । ’ गिरिजाबाबु दौडिँदै कोलकाता पुग्नुभयो । तर, त्यहाँ पुगेपछि उहाँलाई थाहा भयो, यो त राजासँग वार्ता नहोस् भन्ने षड्यन्त्र मात्र रहेछ । किनभने, उहाँकी छोरीलाई केही भएको थिएन । 
***
धरानमा भाषण गरेर फर्किएपछि बीपीलाई उकास् ने काम भयो । युवाको एउटा दस् ताले युवामा नैराश् य छाएको सुनायो र तातो भाषण गर्न सुझायो । नभन्दै हिमालय टाकिजको हलमा युवाको एउटा भेलामा बीपीले भन्नुभयो, ‘डेलिभरी सजिलै भएन भने आमालाई जोगाउन सिजरिङ गर्नुपर्छ ।’ बीपीको यो अभिव्यक्ति दरबारप्रति व्यंग्य थियो, जो वार्ता र सहमतिमा ढिलाइ गरिरहेको थियो । दरबारलाई त्यति ठूलो गाली उहाँले केही गर्नुभएको थिएन तर जसले उहाँलाई कडा भाषण गर्न उक्साएका थिए, साँझ उनीहरू नै भन्न लागे, ‘साह्रै चर्को भो !’ यो सुनेपछि बीपीले गिरिजाबाबुलाई भन्नुभयो, ‘सूर्यबहादुरलाई सोध, के छ दरबारको प्रतिक्रिया ?’ सूर्यबहादुरले लगाइदिए– ‘आगो छ, पक्रिने तयारी छ ।’ त्यसपछि उहाँ फेरि निर्वासनमा भारत लाग्नुभयो । 
***
म विराटनगरमै कार्यरत थिएँ । एक दिन तत्कालीन गुप्तचर विभागका एक अधिकारी हीरालाल नेपाली मेरो घर आइपुगे । उनको प्रस्ताव थियो, बीपीलाई ‘ब्याक डोर’बाट नेपाल ल्याउने । यसको मतलब बीपी जुन बाटो हुँदै भारत प्रवासमा जानुभएको थियो, त्यही बाटो हुँदै नेपाल फर्काउने । यति ठूलो कुरामा मैले कहाँ सहमति गर्न सक्थेँ । फेरि उनको विश्वसनीयताको कुरा पनि थियो । तर, उनले दरबारको हवाला दिँदै भने, ‘कुरा दरबारबाटै आएको हो । तपाईं कोइराला परिवारसँग नजिक हुनुहुन्छ भनेर प्रस्ताव ल्याएको ।’ यो कुरा मैले फारबिसगन्जमा बस्नुभएको गिरिजाबाबुलाई सुनाएँ । उहाँले तुरुन्त बोलाउनुभयो । र, गिरिजाबाबुसँगै म सारनाथ लागे‌, जहाँ बीपी बस्नुहुन्थ्यो । बीपीले स्पष्ट भन्नुभयो, ‘म पछाडिको ढोकाबाट जान्नँ, मूल ढोकाबाटै जान्छु ।’ त्यति बेला उहाँले एउटा विचित्रको कुरा सोध्नुभयो, ‘तिमीले कहिले जुवा खेलेका छौँ, फ्लाँस । तिमीसँग जति नै राम्रो तास परे पनि विपक्षीले देखाऊ भनेपछि देखाउनु परेन ? त्यसैले नयाँ परिस्थिति बन्दै छ ।’

मलाई उहाँको त्यो कुरा बुझ्न समय लागेन । किनभने, त्यसको केही समयपछि नै नेपाली कांग्रेसले सशस् त्र आन्दोलन गर्ने निर्णय गर्‍यो । त्यो उहाँको दरबारसँग वार्ता भंग भएको संकेत थियो । 
***
बीपी ०३३ सालमा सशस् त्र आन्दोलन स् थगित गर्दै मेलमिलापको नीति लिएर नेपाल फर्किने हुनुभयो । म उहाँलाई भेट्न बनारस पुगेँ । त्यति बेला मैले नयाँ राजा साहै्र युवा भएको तर्क गरेँ । तर, उहाँलाई मेरा तर्क मन परेन । उत्तेजित हुँदै भन्नुभयो, ‘पुराना र नयाँ राजाका सल्लाहकार एउटै हो । मलाई सकेर उनीहरूलाई फाइदा छैन । ’ उहाँको त्यो उत्तरले ममा खासै प्रभाव पारेन । फेरि प्रश्न गर्ने धृष्टता राखेँ, ‘यता भारतमा पनि टार्गेट, उता दरबारमा पनि । दुवै मिलेर सकाए भने ?’ उहाँ पहिले भन्दा झन् रिसाउनुभयो । र, भन्नुभयो, ‘खालि यस् तै कुरा गर्छौ । मलाई ६ महिनाभन्दा बढी थुन्न सक्दैनन् । ’ यत्तिकैमा गणेशमान सिंह आइपुग्नुभयो । लगत्तै ठूलो जीउडाल भएका दुई जना भित्र पसे र बीपीसँगै कोठातर्फ लागे । गणेशमानले मलाई सोध्नुभयो, ‘चिन्छौ को हुन् यिनीहरू ?’ मलाई कसरी थाहा हुनू । ‘अहँ,’ भने । उहाँले नै बताउनुभयो, ‘भारतीय गुप्तचरहरू । हिजो मसँग भेट्न आएका थिए । कति पैसा चाहिन्छ, लाख–१० लाख ? उता ( नेपाल) नजाऊ । यतैबाट हामी सहयोग गर्छौं । ’ उहाँले नै आफ्नो उत्तर पनि सुनाउनुभयो ‘१० करोड दियौ भने पनि बस्दैनौ’ भनेर । उता (नेपाल)मा आँप पाकिसक्यो । अरूलाई 
खान दिँदैनौँ ।’ 

वास् तवमा बीपी सबै कुराको समीक्षा गरेपछि नेपाल आउन लाग्नुभएको रहेछ । कोठाबाट निस्किएपछि बीपीले सोध्नुभयो, ‘बाहिर के नाम लेखाएका छौ ? यिनीहरू सबै सीआईडी हुन् ।’ 
**
०३६ सालमा जनमतसंग्रह गराउने सम्बन्धमा बीपी र राजाबीच सहमति बनेछ । त्यसपछि एक दिन बीपी–पुत्र श्रीहर्ष कोइराला चिट्ठी बोकेर विराटनगर आइपुगे । म र श्रीहर्ष जोगवनीमा बसिरहनुभएको गिरिजाबाबुलाई भेट्न गयौँ । उहाँले चिट्ठी पढ्नेबित्तिकै प्रतिक्रिया दिनुभयो, ‘राजाले सान्दाइलाई धोती लगाइदिने भए । कहाँ गराउँछन् ? ९० प्रतिशतले बहुदलतिर हालिहाल्छन् नि !’ जनमतसंग्रह नगराउन मण्डलेहरू त्यतिबेला निकै सक्रिय थिए । उनीहरूले पाकिस्तानका प्रधानमन्त्री भुट्टोलाई फाँसी दिएको घटनामा ठूलै बितन्डा मच्चाए । फेरि, बीपी उपचारका क्रममा अमेरिका गएका बेला सरकारले नेपाली कांग्रेसका दुई होनहार कार्यकर्ता यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ (दुवै ओखलढुंगा काण्डमा संलग्न)लाई नेपालमा हत्या गर्‍यो । यतिबेला कांग्रेसका सबै कार्यकर्ताको रगत उम्लिएको थियो । बीपी अमेरिकाबाट फर्किएपछि उहाँलाई भेट्न चाबहिलस्थित घर गएको थिएँ । उहाँले छतमा लगेर सोध्नुभयो, ‘के भन्छन् युवाहरू ?’ मैले उत्तर दिएँ, ‘मेलमिलाप मान्दैनौँ भनिरहेका छन् ।’ उहाँले भन्नुभयो, ‘ठीक छ । साँझ ४ बजे सबैलाई भेट्नु भन्नू ।’ त्यो दिन हामी थुप्रै उहाँलाई भेट्न गएका थियौँ । त्यति बेला अचम्मको कुरा गर्नुभयो । भन्नुभयो, ‘जुनबेला मैले हाम्रा दुई कार्यकर्ता मारिएको सुनेँ, राजाले पनि त्यतिबेला मात्र सुने । आज म तारेखका लागि गएको थिएँ । न्यायाधीशलाई सोधँे, के छ मृत्युदण्डको प्रक्रिया †’ उनीहरूले भने, ‘एक महिनाअघि नै आममाफी माग्नुपर्छ ।’ त्यो पुगेन भने मारिन्छ रे !
उहाँले यसपछि यज्ञबहादुर र भीमनारायण मारिनुको खास कारण बताउनुभयो, उनीहरूलाई मारिदियो भने मुद्दामा पोलिएको म उपचार गरेर नेपाल फर्किन भन्ने थियो ।
***
जनमतसंग्रहको घोषणा १० जेठ ०३६ मा तय भयो । यसका लागि सिजुवामा मिटिङ थियो । सुरजपुरामा गिरिजाबाबुलाई दीपक बोहराहरूले आगो लगाएर मार्ने प्रयास नै गरे । हामीलाई मारसँग कुटे । हामीले बीपीलाई फोन गर्‍यौँ । र, भन्यौँ, ‘अञ्चलाधीश परिवर्तन गर्नुपर्छ र चुनावका लागि स् वतन्त्र सरकार गठन गर्नुपर्छ भन्ने गणेशमानजीको प्रस्ताव ठीक हो ।’ बीपीले यो कुरालाई पनि सहजताका साथ लिनुभयो । र, भन्नुभयो, ‘०१७ सालमा जन्मिएको व्यक्तिले जिन्दावाद र मुर्दावाद सुनेको थियो ? अहिले सुन्दै छ । पञ्चायत आधा मरिसक्यो । तिमीहरूले कुटाइ खायौ, नआत्तिऊ । हामीप्रति जनताको झुकाव बढेको छ ।’ 
***
यस्तै, मनमोहन अधिकारी एकपल्ट मेरो घर आउनुभयो । र, भन्नुभयो, ‘बीपीलाई भन्नू नि राजाविरुद्ध संयुक्त रूपले आन्दोलनमा जाऊँ, बलियो हुन्छ भनेर ।’ मलाई उहाँको कुरा ठीक लाग्यो । बीपी विराटनगर आउँदा यो प्रस्ताव राखिदिएँ । उहाँ मज्जाले हाँस्नुभयो र भन्नुभयो, ‘बाठा छन् कम्युनिस् टहरू । मलाई फसाउन खोजिरहेका छन् । हामी ठूलो पार्टी हौँ । उनीहरू पाँच टुक्रा छन् । समूह बनाउँदा भाग माग्छन् । आफ्नो संख्या बढी देखाउँछन् । सबै निर्णय आफ्नै हिसाबले गर्न खोज्छन् । हामीले मानेनौँ भने कांग्रेसले बिगार्‍यो भनेर गाली गर्छन् । प्रोपोगान्डा गर्न माहिर छन् । भनिदेऊ– उनीहरूलाई आन्दोलन गर्न कसले रोकेको छ !’

(कांग्रेसका पूर्वनेता)
---
तस्विरहरु: रवि मानन्धर तथा नेपाल फाइल​

२९ भदौ, ०७१ अंकमा पहिलोपटक प्रकाशित

प्रकाशित: श्रावण ६, २०७३