रोमाञ्चविहीन युरोकप

  • प्रतिस्पर्धात्मक नहुनुमा साना टिम दोषी

- ज्ञानेन्द्र आचार्य

युरोकप यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता हो, जहाँ विश्वकप जित्न सक्षम देशहरू महादेशीय च्याम्पियन बन्न मैदानमा उत्रिन्छन् । युरोकपलाई फुटबलको सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिता मान्ने गरिन्छ । तर, यसपटक युरोकपमा जुन प्रकारका नतिजा आए, त्यस अनुसार यसलाई प्रतिस्पर्धात्मक प्रतियोगिता भनेर विश्लेषण गर्न मिल्ने कुनै तर्क छैन । 

कतिसम्म भने युरोकपभन्दा केही दिनअघि सुरु भएको कोपा अमेरिका बरू बढी रोमाञ्चक दखियो । प्रतिस्पर्धात्मक खेलहरू यसपटक युरोकपमा कमै मात्र देख्न पाइयो । नयाँ च्याम्पियनका रूपमा पोर्चुगल आयो । तर, पोर्चुगलकै खेलबाट सन्तुष्ट हुने कमै छन् । फाइनलमा पोर्चुगलको रणनीति सायद उनीहरूकै समर्थकलाई पनि मन नपरेको होला । 

पोर्चुगल अन्तर्राष्ट्रिय फुटबलमा राम्रै टिम हो । यो फिफा वरीयतामा सधैँ शीर्ष १० भित्र रहने टिम हो । तर, यसअघि उसले कुनै अन्तर्राष्टि×्रय प्रतियोगिता जितेको थिएन । २००४ को युरोकपको फाइनल अनि १९६६ र २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुग्नु नै यसअघि पोर्चुगलका उत्कृष्ट नतिजा थिए । 

फुटबलले पोर्चुगलबाट थुप्रै राम्रा खेलाडी पनि पाएको छ । उदाहरणका लागि अहिले क्रिस्टियानो रोनाल्डो छन् । ’६० को दशकका उत्कृष्ट खेलाडी युसेयिबो र सन् २००० तिरका लुइस फिगो पनि पोर्चुगलकै थिए । कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न नसक्नु फुटबलमा उसमाथि लागेको एक मात्र धब्बा थियो । यसै युरोकपबाट पोर्चुगलले उपाधिको खडेरी त मेट्यो । तर, फुटबल विश्लेषकहरूको मन जित्न भने सकेन । कारण, उसको डिफेन्सिभ रणनीति । 

पूरा प्रतियोगिताभर पोर्चुगलले एउटा मात्रै खेल निर्धारित ९० मिनेटभित्र जितेको छ, सेमिफाइनलमा वेल्सलाई । समूह चरणमा त उसले कुनै खेल जित्न सकेन । अहिले पोर्चुगलले युरोकप जितेर भन्दा पनि उसको खेल्ने शैलीको आलोचना भएको हो । 

वास्तवमा पोर्चुगल युरोकप जित्न लायक टिम हो । अहिले उसको टिम पनि निकै राम्रो थियो । क्रिस्टियानो रोनाल्डो निकै प्रेरणादायक कप्तान हुन् । जसले आफ्ना साथीहरूलाई अझ बढी मन लगाएर खेल्न हौस्याउँछन् । फाइनलमा घाइते भएर मैदान छाडेपछि पनि उनले अरूलाई उत्ति नै हौस्याउँदै थिए, जति उनी मैदानमै हुँदा गर्थे । 

मिडफिल्डर रोनेटो सान्चेज युरोकपका उत्कृष्ट युवा खेलाडी पनि बने । पेपे र नानी पनि उत्तिकै स्तरीय खेलाडी हुन् । यति राम्रो टिम हुँदाहुँदै पोर्चुगलले किन डिफेन्सिभ रणनीति लियो भनेर सबै चकित भए । समूह चरणमा आइसल्यान्डको खेललाई रोनाल्डोले निकै आलोचना गरेका थिए । साना टिममा जित्ने मानसिकता नै नहुने हुँदा उनीहरू बढी डिफेन्सिभ खेल्ने गर्छन् । र, यसको असर ठूला टिमलाई हुने गरेको उनको तर्क थियो । तर, पछि पोर्चुगलले नै किन त्यस्तो खेल्यो भन्ने कुराको जवाफ उनीसँग पनि छैन । 

रोनाल्डोले भनेजस्तै साना टिमले डिफेन्सिभ रणनीति लिएकै हुन् । त्यसैले यसपटक युरोकपमा धेरै गोलहरू भएनन् । पोर्चुगल आफैँ पनि समूह चरणमा तेस्रो स्थानमा रह्यो । सबै खेल बराबरीमा सके पनि तेस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट चारमा पर्दै ऊ नकआउट चरणमा पुगेको हो । 

युरोकप प्रतिस्पर्धात्मक नहुनुमा साना टिमहरू बढी दोषी छन् । समूह चरणमा उनीहरूको डिफेन्सिभ रणनीतिका कारण प्रतियोगिताकै समीकरण यसरी बदलियो कि फाइनल प्रवेशका लागि एकातिर ठूला टिमहरू भिड्नुपर्ने तर अर्कोतिर भने त्यो स्तरको प्रतिस्पर्धा भएन । जर्मनी, इटाली, स्पेन र इंग्ल्यान्डजस्ता बलिया टिम नकआउट चरणमा एकातिर थिए र अर्कोतर्फ बेल्जियम, वेल्स र पोर्चुगल ।

त्यसो त साना टिमलाई अझ बढी मौका दिन यसपटकबाट युरोकपमा सहभागी हुने दे शको संख्या १६ बाट बढाएर २४ पुर्‍याइएको थियो । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ठूला प्रतियोगितामा ठूला टिमसँग प्रतिस्पर्धा गर्दै युरोपमा फुटबललाई अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्य लिएको थियो । तर, उनीहरूको यो निर्णय सफल भएको देखिएन । साना टिमलाई मौका दिएपछि प्रतियोगिताको रोमाञ्चकता नै खस्कियो । 

कुल ५१ खेलमा मात्रै १ सय ८ गोल भए । गोल औसतका हिसाबमा यो सन् १९९६ यताकै सबैभन्दा कम हो । र, ५१ मध्ये १६ खेल निर्धारित ९० मिनेटसम्म बराबरीमा सकिए । समूह चरणमा मात्रै ११ खेल बराबरी भएका थिए । 

खासमा २४ टिमको युरोकपको अवधारणालाई त्यतिखेर नै रुचाइएको थिएन, जब रोनाल्डोले आइसल्यान्डको आलोचना गरेका थिए । पछि जर्मनीका प्रशिक्षक योचिम लो र डिफेन्डर म्याट ह्युमेल्स खुलेरै यसको विपक्षमा उभिए । उनीहरूका अनुसार १६ टिमकै प्रतिस्पर्धा बढी रोमाञ्चक थियो । विश्वकपमा पनि ३२ टिमबाट बढाएर ४० टिमलाई खेलाउने हल्ला चलेको छ । लो र ह्युमेल्सले यो कुराको पनि विरोध गरेका छन् । 

कम रोमाञ्चक भए पनि युरो २०१६ ले केही राम्रा कुरा पनि दिएको छ । नयाँ च्याम्पियनका रूपमा पोर्चुगल आउनु आफैँमा राम्रो कुरा हो । पोर्चुगल युरो जित्न लायक रहे पनि उसैले युरो जित्ला भनेर अनुमान कमैले गरेका थिए । पोर्चुगल च्याम्पियन बन्नु रोनाल्डोको करियरकै सबैभन्दा सुखद क्षण पनि हो । क्लब स्तरमा उनी कुन कोटिका खेलाडी हुन्, त्यो सबैलाई थाहा छ । उनको करियरमा केही कुराको कमी थियो भने त्यो अन्तर्राष्ट्रिय उपाधि नै हो । र, अहिले त्यो उनले पाएका छन् । 

यसपटक केही साना टिमको प्रदर्शन पनि खुबै आशलाग्दो रह्यो । खास गरी वेल्स र आइसल्यान्डको । वेल्सले सेमिफाइनलमा पुगेर सनसनी मच्चायो र आइसल्यान्डले अन्तिम १६ मा इंग्ल्यान्डलाई हराएर । अन्य साना टिमका तुलनामा वेल्सको कुनै पनि खेल डिफेन्सिभ थिएन । आक्रामक रणनीतिले नै उसले बेल्जियमलाई हराएर सेमिफाइनल पुगेको हो । गत सिजनको प्रिमियर लिगमा लेस्टर सिटीले जितेपछि साना टिम उच्च मनोवलका साथ खेल्न प्रेरित थिए । 

अप्रत्याशित नतिजा

टिम जतिसुकै राम्रो भए पनि पोर्चुगललाई इतिहास हेरेर अप्रत्याशित नतिजा निकाल्ने टिमका रूपमा लिइएको थियो । त्यसमाथि फाइनलमा रोनाल्डो घाइते भएपछि पोर्चुगलले नै जित्ला भन्ने कमैले सोचेका थिए । २००४ को युरोकपको नतिजा त यसभन्दा पनि आश्चर्यजनक थियो । त्यसबेला पोर्चुगललाई हराएर ग्रीसले उपाधि जितेको थियो । र, ग्रीसको डिफेन्सिभ रणनीतिका साथ खेल्ने शैली पनि उत्तिकै आलोचित थियो । पोर्चुगलले पनि अहिले त्यस्तै आलोचना खेप्दैछ । 

यसपटक फाइनलमा पोर्चुगलले मात्रै नौ प्रहार गर्न सक्यो । जबकि, फ्रान्सले १८ प्रहार गरेको थियो । र, बल पोसेसन पनि ५३–४७ फ्रान्सको पक्षमा थियो । २००४ मा ग्रीसको तथ्यांक यसभन्दा खराब थियो । पोर्चुगलको १५ प्रहारको तुलनामा ग्रीसले मात्रै चार प्रहारमै फाइनल जितेको थियो । 

डेनमार्कले १९९२ मा युरोकप अन्डरडगका रूपमा जितेको थियो । डेनमार्कको यो सफलता फुटबल इतिहासकै अप्रत्याशित नतिजामा पर्छ । किनभने, त्यो प्रतियोगितामा डेनमार्क छनोट भएकै थिएन । पछि युगोस्लाभिया सहभागी नभएपछि मौका पाएको डेनमार्कले फाइनलमा जर्मनीलाई हराएर उपाधि जितेको थियो ।

 

प्रकाशित: श्रावण ३, २०७३