भानुको शिखर कटेरी

  • नेपाली रहेका ठाउँमा हरेक चाडपर्व र मेलापातमा गोठाला–खेतालाले रामायणको श्लोक हाल्ने परम्परा नेपाली संस्कृतिको अभिन्न अंग भइसकेको छ ।

- पदमसिंह कार्की

भानुभक्त आचार्य न बीपी कोइरालाले आँकेजस्तै रुढीवादी हुन्, न त सिक्किमका मुख्यमन्त्री काजीले पुजेझैँ पहाडे देवता हुन् । बरू, रामकृष्ण शर्माले खुट्याएझैँ मानवीय कमजोरीसहितका मनुष्य कवि हुन् । नेपाली बहादुरीले ओतप्रोत वीर रसयुक्त नेपाली काव्य परम्परालाई सुगौली सन्धिको सन्निपात गराइदियो र भानुले भक्तिरसमा डुबुल्की मारेर शुद्ध नेपाली भाषामा रामायण लेखाएको हुनुपर्छ ।

नेपालीमा पहिलो महाकाव्य लेखेकाले भानुको निधनको २३ वर्षपछि अर्थात् १९४८ सालमा मोतीराम भट्टले कवि भानुभक्ताचार्यको जीवन चरित्र छपाए । ‘कविताको मर्म जानेर भाषा पद्य लेख्ने प्रथम कवि हुन्’ भनेर मोतीरामले आदिकवि किटे पनि त्यसको पुष्टि इतिहास शिरोमणि बाबुरामले यसरी गरेका छन्, ‘यिनको रामायण काव्यमा लालित्य, सरलता र विचारको मौलिकताले भरिएकाले हाम्रा भाषाका आदिकवि भनेर यिनलाई नै कान्छी औँलामा गन्न सकिन्छ ।’

भानुभक्तलाई महाकवि देवकोटाले ‘शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि’ भनेर पुकारेका छन् भने महानन्द सापकोटाले ‘भानुभक्तलाई आदिकवि भन्नु अरू कविको अनादर होइन’ भनेर आदिकविको विवादलाई किनारा लगाइदिएका छन् ।

मोतीरामलिखित जीवनीमा भानुभक्तको जन्ममिति १८६९ साल थियो । तर, १९९८ सालमा भक्त मणिमाला प्रकाशित गरेर उनकै नातिनी विष्णुमायाले मिति र नामसमेत सच्याइन् । उनले भानुको जन्ममिति २९ असार १८७१ र उनको चिनाको नाम देवीभक्त भएको जिकिर गरेकी छन् । यसैलाई टेकेर दुई वर्षअघि नेपाल सरकारले औपचारिक रूपमा भानुको द्विशताब्दी मनायो ।

पिता धनञ्जय र माता धर्मवतीका कोखबाट भानुभक्त प्रथम पुत्रका रूपमा जन्मिए । बाल्यकालमै बाजे श्रीकृष्णको फेर समातेर बनारस पुगे, संस्कृतको गुणस्तरीय शिक्षाको मौका पाए । १९९० सालतिर रम्घा फर्केर स्थानीय पण्डितकी छोरी चन्द्रकला खनालसँग विवाह गरे । ढिलो जन्मेका छोरा रामनाथ थिए, जसले अन्तिम दिनमा भानुभक्तलाई रामायण सारेर सघाएका थिए । ६ असोज १९२५ मा मस्र्याङ्दीको तटको गाईथुने घाटमा भानुले प्राणत्याग गरे ।

भानुभक्त जन्मसिद्ध आशुकवि थिए । घाँसीको प्रेरणाले रामायण लेख्न प्रतिबद्ध भए । मोतीरामको घाँसी र कुवाको सत्यतामाथि इतिहास शिरोमणि बाबुराम आचार्यले प्रश्न नउठाएका होइनन् । तर, व्रतराज आचार्यले रम्घाबाट तीन कोस पश्चिममा पर्ने कुर्लुंगबेसीको कुवा गरिब किसान चुमनारायण पन्थले खनाएको र भानुभक्त ससुराली जाँदा सोही कुवामा भलाकुसारी भएको समेत ठोकुवा गरेका छन् ।

व्यास नगरका पूर्वमेयर ताराप्रसाद श्रेष्ठको अग्रसरतामा बनेको घाँसीकुवा पार्कलाई नै आधिकारिक मानेर भानुभक्त चलचित्रमा छायांकन भएको छ । सोही बेलामा कथेको ‘भरजन्म घाँसतिर’, ‘गजाधर सोतीका घर बूढी’, कुमारीचोकमा थुनिँदा लेखेको ‘रोज रोज दर्शन पाउँछु’ र पहिलोपटक राजधानी छिर्दा गौरवान्वित भएर लेखेको कविता ‘अमरावती कान्तिपुरी नगरी’ कालजयी बनेका छन् ।

रामायणको बालकाण्ड १९९८ तिर रचेलगत्तै उनले अयोध्याकाण्ड र अरण्यकाण्ड  लेखे । १९११ सालमा झ्यालखाना बसेर किष्किन्धाकाण्ड र सुन्दरकाण्ड लेखे ।  छुटेपछि युद्धकाण्ड र उतरकाण्ड लेखेर रामायण पूरा गरे । यिनले प्रश्नोत्तरमाला, भक्तमाला र वधूशिक्षा पनि रचे । प्रश्नोत्तरमाला शंकराचार्यद्वारा रचित ग्रन्थको अनुवाद हो भने वधुशिक्षा सासूबुहारीको झगडाले रातभर सुत्न नपाएपछि नीतिशिक्षा लेखेका हुन् । अनि, भक्तमाला बुढ्यौलीको भक्तिभाव हो ।

भानुदय रम्घाबाट भए पनि दार्जीलिङको आकाशमा आलोकित हुन पुग्यो । सन् १९८२ मा भाग्यमणि प्रधानले कालेबुङमा रामायण मात्र भित्र्याएको होइन, बरू चौबाटोमा श्लोक पाठ गरे । सर्वप्रथम मोतीरामले सन् १८९१ मा काशीमा छपाएको जीवनचरित्रको दोस्रो संस्करण नेपाली साहित्य सम्मेलनले सन् १९२७ मा प्रकाशित गर्‍यो ।

सन् १९५४ मा दार्जीलिङमा भानुका हनुमान सूर्यविक्रम ज्ञवालीले रामायण छपाए । त्यसै गरी १९९७ सालमा भानुस्मारक ग्रन्थ पनि प्रकाशित भयो । २००६ सालमा चौरस्तामा पहिलो सालिक ठ्डयाइयो भने २००३ सालमा मोतीचन्द्र प्रधानको अध्यक्षतामा भानु जयन्ती मनाइयो । सूर्यविक्रमले भट् याएको जातीय कविको नारालाई पारसमणि र धरणिधरले द्यौसी भन्दै विद्यालयमा घोकाएका थिए ।

दार्जीलिङको यो होस्टेलाई गोपाल पाँडेले ०१० सालमा जयन्ती र ०१६ सालमा सालिक नेपाली शिक्षा परिषद्को नाममा हैँसे भनेका थिए । यिनको रामायण अंग्रेजी, बंगाली, आसामी, मैथिलमा अनूदित छन् । सिक्किम र बंगालमा राज्यस्तरमा बिदा दिएर अगस्ट महिनाभर जयन्ती मनाएर रामायणमय बनाइन्छ ।

हर टोल र गाउँमा सके सालिक, नसके उनका नाममा संस्था खुलेकै छन् । सन् २०११ मा सिक्किमको गेजिंगमा निर्मित १ सय ८ फुटे सालिक र उत्तर वंग विश्वविद्यालयमा स्थापित भानु–रवीन्द्र स्मृति भवनले मूर्त रूपमा विश्वकीर्ति कायम राखे भने वधूशिक्षाजस्तो नारी दमनकारीका सर्जकमाथि कमला सांस्कृत्यायन, लख्खीदेवी सुन्दास र कविता लामाजस्ता विदूषीले विद्यावारिधि गरेर अमूर्त मानक नै बनाए । तर, त्यस्तो भानुमय दार्जीलिङ, सिक्किममा भानुभक्त चलचित्र छायांकन हुन सकेन । कारण, सुवास घिसिङले गोर्खा भाषाको अत्तो थापेर दार्जीलिङ चित्रण गर्न मनाही गरेकामा निर्देशक यादव खरेलले दु:ख मनाउ गर्दै आएका छन् ।

नेपाली रहेका ठाउँमा हरेक चाडपर्व र मेलापातमा गोठाला–खेतालाले रामायणको श्लोक हाल्ने परम्परा नेपाली संस्कृतिको अभिन्न अंग भइसकेको छ । बाल, वृद्ध र अवलाले श्रद्धासाथ पढ्ने नेपाली साहित्यको गुरुग्रन्थका आदि सर्जकको रम्घाको घर–घडेरीतिर लागौँ । ०५५ सालमा चलचित्र निर्माण गर्दा निर्देशक यादव खरेलले तयार गरेको जन्मघर पनि डढेलोमा परेको छ । १० रोपनीको भग्नावशेषमा पश्चिमाञ्चल विकास मञ्चले साहित्य पर्यटनको महत्त्वाकांक्षी योजना ल्याएको छ । 

प्रकाशित: असार २९, २०७३