धौलागिरि आधार शिविरमा फोहोरको रास

  • धौलागिरि आधार शिविरमा फोहोरको डंगुर

- घनश्याम खड्का

खानाका बट्टा, अक्सिजनका सिलिन्डर, बियरका बोतल, चियाका थर्मस, भरियाका डोका, खादा जथाभावी फालिएका छन् । दुर्घटनाग्रस्त हेलिकप्टरका भग्नावशेषदेखि उद्दारका लागि जाँदा पुर्‍याइएका गाडीका टायरसम्म यत्रतत्र छरिएका छन् ।

यी कुनै पनि वस्तु उठाउने वा पन्छाउने फुर्सद कसैलाई छैन । बरू, जो पुग्छ, उसले कुनै न कुनै फोहोररूपी चिनो छाडेरै फर्किन्छ । मानौँ, यहाँ फोहोर–कसिंगर जहाँसुकै फाल्न छुट छ ।

यो दृश्य हो, धौलागिरि पदमार्ग अन्तर्गत पर्ने धौलागिरि आधार शिविरको । पर्यटक र तिनका सहयोगीले फालेका फोहोरका कारण धौलागिरिको आधार शिविर ‘डम्पिङ साइट’मा परिणत भएको छ ।

रमणीय पदमार्ग भएकाले देश–विदेशबाट आएका पर्यटक आधार शिविरमा रमाइलो गर्न पुग्छन् । तर, तिनले गरेका फोहोरको व्यवस्थापनमा कसैले ध्यान दिएको छैन ।

सरकार र स्थानीयको ध्यान पुग्न नसकेको फाइदा उठाउँदै ट्रेकिङ व्यवसायीहरूले आधार शिविरमै फोहोर फाल्ने गरेका हुन् । आफूले लगेको फोहोर उहीँ छाडे पनि गाविसमा आफ्नो फोहोर आफैँ फिर्ता ल्याएको सिफारिस गराउन भने उनीहरू बिर्संदैनन् ।

“धौलागिरि पदमार्गमा सरकारको चासो नपुग्दा ट्रेकिङ व्यवसायीले बेस क्याम्पमा फोहोर फाल्छन् र गाविस सचिवलाई प्रभावमा पारेर आफ्नो फोहोर आफैँ फिर्ता ल्याएको सिफारिस गराउँछन्,” मुदीस्थित धौलागिरि युवा क्लबका अध्यक्ष गलेश पुन भन्छन् ।

मुदी–९, म्याग्दीमा पर्ने धौलागिरि हिमाल आठ हजार मिटर अग्ला हिमालमध्ये आरोहणको हिसाबले सबभन्दा कान्छो हो । सन् १८०८ मा भारतस्थित बेलायती सर्भे टिमले ८ हजार १ सय ४७ मिटर उचाइ रहेको पत्ता लगाएको धौलागिरि पर्वत शृंखलामा १० वटा हिमाल छन्, जहाँ पहिलोपल्ट सन् १९६० मा दुई नेपालीसमेत स्वीस तथा अस्ट्रेलियाली दलले पूर्वी मोहडाबाट आरोहण गरेको थियो । मानव पाइला टेकेको ५६ वर्ष पुग्दा चार सय जनाले धौलागिरि आरोहण गरेका छन् ।

क्याम्प ट्रेक गरिने यस रुटमा अब टी हाउस तथा ब्याकप्याक ट्रेक सुरु भएको छ । क्याम्प ट्ेरक महँगो हुने भएकाले व्यक्तिगत तर एड्भेन्चर रुचाउने पर्यटकले धौलागिरिको इटाली क्याम्पसम्म होटलवास, त्यसमाथि स्वीस क्याम्प, जापानिज क्याम्प, ग्यासियर क्याम्प र तल्लो आधार शिविरसम्म ब्याकप्याक ट्रेक सजिलै गर्न सम्भव रहेको धौलागिरि पर्यटन विकास परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँ औँल्याउँछन् ।

“फोहोरमैलाले पर्यटन क्षेत्रकै बदनामी भएको छ,” हालै आधार शिविर पुगेका बानियाँ भन्छन्, “वातावरणीय पक्षमा सरोकारवालाले ध्यान नपुर्‍याउने हो भने पर्यटन तथा पर्यावरण दुवै समस्यामा पर्छन् ।”

पहिलो आधार शिविर ४ हजार ४७ मिटर उचाइमा छ । पाँच हजार मिटरमाथि सीता चुचुरो र धौलागिरि प्रथमको फेदीमा दोस्रो शिविर छ । यहीँबाट चक्रिय पदयात्रा र धौलागिरि प्रथम आरोहण मार्ग छुट्टिन्छ ।

घडीको सुई घुमेझैँ धौलागिरि पाँचौँ, मानापाथी, फेन्चपास, मुकुट हिमाल, सीता चुचुरो, धौलागिरि प्रथम र टुक्चेपिक गोलाकार उभिएका छन् । एउटा हातलाई अञ्जुली बनाउँदाजस्तै खोपिल्टो छ, धौलागिरि बेस क्याम्प । यही क्याम्पदेखि करिब पाँच किलोमिटर तलसम्म लत्रेको छ, धौलागिरि ग्लेसियर ।

धौलागिरि पदमार्ग पर्यटकीय पूर्वाधार र व्यवस्थापनका हिसाबले अत्यन्तै नाजुक छ । इटाली बेस क्याम्पमा रहेको मौसमी होटलका सञ्चालक हरिबहादुर तिलिजा फोहोर फिर्ता लैजाऊ भन्दा ट्ेरकिङ व्यवसायीले अटेर गर्ने गुनासो सुनाउँछन् । भन्छन्, “सरकारका प्रतिनिधिले अनुगमन गर्ने र कारबाही गर्ने नहुँदा धौलागिरि डम्पिङ साइट भइसक्यो ।” 

प्रकाशित: असार २९, २०७३