पुस्तक - नामी अर्थशास्त्रीको प्रेस्क्रिप्सन

- निशान्त खनाल

सन् १९९० पछि विश्वबजार र अर्थतन्त्रमा देखिएको भारतीय पकडका पछाडि उसले लिएको आर्थिक सुधारका कार्यक्रम र उसका प्रभावकारी आर्थिक नीति प्रमुख कारण हुन् । यसरी एकपछि अर्को नीति सफल हुँदै जानुलाई १९९० पछि विदेशबाट भारत फर्केर आएकाहरूको दिमागको करामतका रूपमा लिइएको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र प्रतिष्ठित विश्वविद्यालयमा उच्च ओहदामा काम गरिरहेका आफ्ना नागरिकलाई देशमा बोलाएर जिम्मेवारी सुम्पिने भारतीय नीति पछिल्लोपटक सफल देखिएको हो । खास गरी भारतका पूर्वप्रधानमन्त्री पीभी नरसिंह रावको निम्तो मानेर भारत आएका अर्थशास्त्री मनमोहन सिंह, जो अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म भए, पछि सुरु भएको यो क्रम भारतका लागि नयाँ गभर्नर खोजी गर्दा पनि कोही नन रेसिडेन्स इन्डियन (एनआरआई) नै आउला त भन्ने बहसमा पुगेको छ ।

सन् २००९ मा प्रधानमन्त्री मनमोहन सिंहको निम्तो मानेर भारत सरकारको प्रमुख आर्थिक सल्लाहकारका रूपमा दुई वर्ष काम गरेका कौशिक बसुले आर्थिक नीति निर्माणका व्यावहारिक पक्ष समेटेर एन इकोनोमिस्ट इन द रियल वल्र्ड नामक पुस्तक लेखेका छन् ।

धेरैको अनुमान के थियो भने २००८ को आर्थिक संकटलगत्तै भारत सरकारको प्रमुख आर्थिक सल्लाहकार भएर आएका बसुले किताबमा आफ्नो दुईवर्षे कार्यकालका रमाइला किस्सा समेट्ने छन् । आर्थिक नीति तर्जुमा गर्दा भारतमा हुने राजनीतिक दबाब र नर्थ ब्लकमा हुने हंगामा पढ्न पाइने छ । तर, यी सब अनुमानविपरीत प्रखर गणितज्ञसमेत रहेका यी विश्व बैंकका प्रमुख अर्थशास्त्रीले मुद्रास्फीति, गरिबी निवारण खाद्य सुरक्षा, विश्वव्यापीकरण र विकासका चुनौतीजस्ता विषयमा आर्थिक नीति बनाउँदा हुने सूक्ष्म गल्ती, तिनको आर्थिक–सामाजिक प्रभाव र आउँदा दिनमा त्यसलाई कसरी सुधार गर्ने भनेर अर्थशास्त्रीय सिद्घान्तको माध्ययमबाट सामान्य व्यक्तिले समेत बुझ्ने गरी प्रकाश पारिदिए ।

बसुका अनुसार गरिब र निमुखाहरूको कुनै जात, धर्म, राष्ट्रियता हँुदैन । त्यसैले सार्वजनिक नीति बनाउनेहरूको प्रमुख उद्देश्य त्यस्ता मानिसहरूसम्म पुग्नु र उनीहरूको जीवनस्तर सुधार गर्नु हो । विकास अर्थतन्त्रको यो मुख्य दायित्व भारत होस् वा अन्य कुनै मुलुक सबैतिर उही नै हुन्छ । त्यसैले पुस्तकमा उनले सुझाएका उपाय र गरेका व्याख्या तेस्रो विश्वका सार्वजनिक नीति तर्जुमा गर्दा झन् बढी उपयोगी हुन्छन् ।

बृहत् रूपमा आर्थिक नीति बनाउँदा सूक्ष्म विषयलाई कर्मचारीतन्त्रले खासै महत्त्व नदिँदा कसरी राम्रा मानिएका नीति पनि असफल हुन्छन् भनेर उनले पुस्तकमा उदाहरणसहित व्याख्या गरेका छन् । विश्वविद्यालयमा लामो समय अर्थशास्त्रको सैद्घान्तिक पक्षबारे पढाएर नर्थ ब्लकमा आर्थिक सल्लाहकारका रूपमा व्यावहारिक ज्ञान पढाउन पुगेका यी अर्थशास्त्रीले किताब पनि विश्वविद्यालयको लेक्चरजस्तै गरी लेखेका छन् । तर, ती गहन खालका रमाइला किस्सा छन् । जस्तै : उनकी घरेलु सहयोगीका अनुसार प्रमुख आर्थिक सल्लाहकारको मुख्य काम महँगी बढाउनु हो ।

१० विभिन्न अध्याय रहेको यस पुस्तकमा बसुले भारतका सरकारी विद्यालयमा व्याप्त शिक्षक अनुपस्थित हुने समस्यालाई समेत समेटेका छन् । १० वर्ष कांग्रेस (आई) सरकारमा हुँदा मुद्रास्फीति बढेको भए तापनि दुई अंकमा नपुगेकाले त्यो खासै ठूलो समस्या नरहेको बसु लेख्छन् । आर्थिक विकासका सामाजिक जग, कानुन र अर्थशास्त्र, गरिबी, खाद्य सुरक्षा, भारतको आर्थिक उन्नति, मुद्रास्फीतिजस्ता १० विषयमा निकै गहन रूपमा प्रस्तुत भएका बसुको प्रयास यी विषयमा कांग्रेस सरकारको नीति ठीक थियो भनेर पाठकलाई प्रस्ट पार्नु रहेको देखिन्छ । किनभने, १० वर्ष सरकारमा रहँदा भारतीय कांग्रेस यी विषयमा अलि बढी आलोचित थियो । त्यसैले होला, अर्थतन्त्रका सिद्धान्त र गेम थ्योरीको प्रयोग गर्दै यी पूर्वप्रमुख आर्थिक सल्लाहकारले उक्त विषयमा अलि विस्तृत र गहन व्याख्या गरेका छन् ।

पुस्तकमा बजार अर्थतन्त्रका पक्षमा बोल्दै गर्दा बसु भारतजस्तो धेरै जनसंख्या गरिब रहेको देशमा भने राज्यले उनीहरूको पक्षबाट बजारमा हस्तक्षेप गर्नुपर्ने औँल्याउँछन् । भारतमा व्याप्त भ्रष्टाचार निवारणका लागि बसुले गेम थ्योरीको माध्यमबाट उपाए सुझाएका छन्, घूस दिनुलाई कानुनी रूपमा मान्यता दिएर घूस लिनुलाई गैरकानुनी कार्य मान्दा समस्या समाधान हुन्छ । घूस लिने र दिने दुवैलाई गैरकानुनी मान्दा कुनै पनि पक्षले भ्रष्टाचार निवारण गर्ने संस्थासँग समन्वय गर्दैनन् तर यीमध्ये एक कानुनी र अर्को गैरकानुनी कार्य मानियो भने घूस दिनेले उजुरी गर्दा उसलाई हीनताबोध हँुदैन र घूस लिनेले आफू कारबाहीमा पर्ने डरले घूस कम लिन्छ । उनको यो उपायले कति काम गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।

अर्थशास्त्रमा सैद्घान्तिक विषयमा कम ज्ञान भएकाहरूलाई बसुले गरेका केही व्याख्या बुझ्न गाह्रो भए पनि समग्रमा आर्थिक नीति र अर्थशास्त्रमा चासो हुनेका लागि यो पढ्नैपर्ने पुस्तक हो । उनको दिल्ली बसाइ र नर्थ ब्लकका रमाइला किस्सा पढ्नका लागि भने केही समय अझै कुर्नुपर्ने छ । किनभने, उनको निजी दिल्ली डायरी प्रकाशनका लागि समय अझै बाँकी छ ।

 

एन इकोनोमिस्ट इन दी रियल वर्ल्ड

लेखक    :    कौशिक बसु

प्रकाशक    :    वाइकिङ

मूल्य    :    ९६० रुपियाँ

पृष्ठ    :    २५६

प्रकाशित: असार २२, २०७३