तीन पुस्ताका गायक

- राजकुमार बानियाँ

आफ्ना असली श्रोतालाई सडकमै देख्छन्, गायक/संगीतकार दीप श्रेष्ठ, ६६ । आफ्ना प्रिय गायकलाई मन–मुटुमै राख्ने ज्यामी, भरिया, रिक्सावाला, ठेलावाला, ड्राइभर, खलाँसीका लागि भने दीप श्रेष्ठले अहिलेसम्म कन्सर्ट दिएका छैनन् । तिनले उनलाई पत्रपत्रिका या टेलिभिजनमा मात्रै देखेका छन् । साँच्चै दीप श्रेष्ठ कस्ता छन् ? कसरी गाउँछन् ? उनीहरूलाई थाहै छैन ।

पक्का श्रोताका लागि कहिले गाउने ? के पैसा नहुनेले दीप श्रेष्ठलाई सुन्नै नपाउने ? त्यो शुभसाइत कहिले जुर्ला भनेर एकछिन घोत्लिन्छन् पनि । उनलाई लाग्छ, देश–विदेशका सयभन्दा बढी एकल कन्सर्ट पैसावालकै लागि भयो । अब त खास श्रोतालाई सुनाउन पाए पनि हुन्थ्यो । तर, तिनका लागि विश्व संगीत दिवस या यस्तै मौका पारेर कार्यक्रम गरिदिने इभेन्ट म्यानेजमेन्ट कम्पनी छैनन्, स्पोन्सर पनि छैनन् ।

दीपले ५०/सय रुपियाँको सस्तो टिकटमा टुँडिखेल या रंगशालामा मेगाकन्सर्ट गराउने उत्कट चाहना राखेको दशकौँ भइसक्यो । उनी चाहन्छन्, पैसा मात्रै कमाउनु कुनै जीवन होइन, सँगसँगै समाजसेवा पनि होस् । गायकको सहयोग भनेको गाएरै हुन्छ । त्यसैले कहिले धरानको खानेपानी, कहिले धनकुटाको आश्रम, कहिले बारपाकको भूकम्पपीडितका निम्ति गाइरहेका छन् । बाजे, बाबु र छोरा अनि बज्यै, आमा र छोरीका तीन–तीन पुस्ताका प्रशंसक एकसाथ पाएका यी ‘लिजेन्ड’ गायक अहिले पनि जोसिलो कन्सर्ट दिएरै हिँडिरहेका छन् । 

००७ सालको जनक्रान्ति चर्किएका बेला केही तलमाथि होला भनेर धरानमा जन्मेको चार–पाँच दिनमै धनकुटा लगिएका रहेछन् दीप । राणा शासनमा धरानतिर हर्ताकर्ता थिए उनका पिता जयनारायण । आफैँ संगीतका उस्ताद उनका घरमा थुप्रै भारतीय कलाकार आएर नाचगान गर्थे । त्यसको सुप्रभाव पर्‍यो दीपनारायण श्रेष्ठमा । धरानमा देउसी/भैलो खेल्दै उनले आफ्नो गायन कला निखारे ।

४ कक्षासम्मको पठनपाठन मावली कालिम्पोङमा भयो । त्यसपछि धरान पब्लिक हाई स्कुल आए । त्यहाँको माहोल सांगीतिक थियो । उनका दौँतरी रातदिन सँगै हुन्थे, वसन्त थापा, विजय श्रेष्ठ, शिवशंकर थापा, गोविन्द कटुवाल आदि । सबै एकसे एक गीतकार । किशोरकालसम्म पनि दीप श्रेष्ठको आवाज केटीको जस्तो थियो । उनले धेरै वर्षसम्म केटीकै रूपमा गाएर हिँडे । पछि सुपारी चपाउँदा चपाउँदै पुरुष स्वर पाए आफूमा । लगाव कस्तो भने उनी जाँचै हापेर गीत गाउन हिँड्थे । 
०२० ताका विराटनगरमा डक्टर्स सम्मेलन थियो । रेडियो नेपालबाट नातिकाजी, शिवशंकर, प्रेमध्वज, पुष्प नेपाली, तारादेवीहरू गएका थिए । बाबुको बरखी बारेकाले सेतो वस्त्रमै उनले कंगो बजाए । १३ वर्षमा उनको विलक्षण प्रतिभा देखेर त्यहाँ सोधनी भयो, ‘कहाँ सिक्यौ ?’ उनको त घर नै पाठशाला थियो ।

पिताजीको देहान्तका कारण डाक्टर बन्ने सपनामा ठेस लाग्यो, संगीतमै एकोहोरिए । औपचारिक सांगीतिक यात्रा राष्ट्रिय नाचघरमा भयो १ पुस ०२५ मा । भीमनिधि तिवारीको नाटक शिलान्यास मञ्चनका क्रममा एउटा टोली काठमाडौँ आयो । दीपले स्क्रिन चेन्ज गर्ने बेला दुइटा गीत गाए, ‘म पत्थरको देवता होइन’ र ‘मायालु रूप छ तिम्रो ।’

राजा महेन्द्रले गीत कति मन पराए भने रेडियो नेपालका कार्यकारी निर्देशकलाई हुकुम दिए, ‘यिनीहरूका के कति गीत छन्, सबै रेकर्ड गराइदिनू ।’ ३ पुसमा त दुवै गीत रेकर्ड भइहाल्यो । एउटा गीतको आठ रुपियाँ पारिश्रमिक पाए उनले । 

काठमाडौँमै १०/१५ दिन बरालिए दीप । धरान फर्किंदा साथीहरूले भने, ‘तँ हिरो भइस् ।’ साथीहरूले गीत सुनिसकेछन् । तर, उनले अझै सुन्न पाएका थिएनन् । एक दिन साथी रामानन्द अग्रवाल ट्रान्जिस्टर नै बोकेर कुद्दै आए । तैपनि, स्थायी र पहिलो अन्तरा छुटिहाल्यो । उनी सुनाउँछन्, “जीवनमा पहिलोपटक के के न पाएजस्तो भयो ।” 

त्यो जमाना कस्तो भने रेडियो पनि कसै कसैको घरमा मात्र हुन्थ्यो । उनको घरमा रेडियो त थियो तर आमा भने खालि ‘विविध भारती’ सुन्ने । आफ्नो गीत सुन्ने मेसो परेको थिएन । बिस्तारै त्यो गीत हिट भइहाल्यो । अहिले आएर उनलाई लाग्छ, “विजय श्रेष्ठले ‘पत्थरको देवता’ लेखेर नदिएको भए म गायक या संगीतकार नहुन पनि सक्थेँ । उसले लेखेको गीत हिट भयो, मैले लेखेको गीत छायामा पर्‍यो ।”

त्यतिबेला बीए पढ्दै लेबोरोटरी स्कुल धरानमा गणित पढाउँथे दीप । मनबहादुर मुखिया, मणिकमल क्षत्री, प्रकाश गुरुङ आदि दार्जीलिङे समूहसँग उनको दोस्ती भइसकेको थियो । कुनै गीत कम्पोज भयो कि हान्निएर त्यतै पुग्थे । 

नातिकाजीले बर्सेनि रेडियो नेपालको आधुनिक गीत सम्मेलनमा उनलाई बोलाउँथे । ०२८ र ०२९ सालमा दुईपटक तेस्रा भए भने ०३० सालमा प्रथम । एकपटक काठमाडौँ आउँदा उनी तीन–चारवटा गीत रेकर्ड 
गर्थे । ‘कति कमजोर रहेछ भाग्य’ र ‘तिमी आकाशकी जून भयौ’ त्यतिबेलाकै हुन् ।

०३० सालमा धनकुटा जाँदा राजा वीरेन्द्रले सोधेछन्, ‘धरानको गायक खोइ ?’ त्यतिबेला क्षयरोग लागेको थियो उनलाई । बिरामी छु भन्दा पनि उनले धर पाएनन् । उनका लागि घोडा पठाए । गीत जाँच्ने र स्वर परीक्षा लिने दरबारिया चलन थियो । तर, उनले सीधै गाए, ‘भन्थिन् मेरी उनी, मेरो पाइला नटेकिदिनू... ।’ त्यसका गीतकार थिए, शिवशंकर थापा । 

लगत्तै घोपा क्याम्पमा उनको क्षयरोगको उपचार भयो । तर, राजाले उपचार गराइदिएको हल्ला चल्यो । पूर्वब्रिटिस सैनिकइतरको उपचार भएको त्यो पहिलो घटना थियो । त्यसपछि उनी धरान छाडेर काठमाडौँ आए । नयाँ सडकको सानु रेस्टुराँमा गाउन थाले । दिउँसो इन्स्ट्रुमेन्टल हुन्थ्यो, राती लाइभ म्युजिक । 

काठमाडौँमा त्यस्तो रेस्टुराँ अरू खुलेकै थिएनन् । त्यहाँ मीरा राणा, प्रकाश गुरुङ, किशोर गुरुङ पनि गाउँथे । दीप बिहान ९/१० बजेदेखि राती १२ बजेसम्म त्यहीँ हुन्थे । उनी बार टेन्डरको पनि काम गर्थे, कक्टेल बनाउन सिपालु थिए ।

सानु काठमाडौँको पहिलो मोबाइल रेस्टुराँ पनि हो । भ्यानलाई सहरभरि घुमाएर परिकार र पेय पस्किन्थ्यो त्यसले । तर, पटेल नामका भारतीय मालिक कस्ता थिए भने आफैँ पिएर फिटान हुने । त्यो रेस्टुराँ ६ महिना मात्र चल्यो । 

उनी कति लोकप्रिय थिए भने सबैले गाउन निम्त्याउँथे तर पैसा दिन हिचकिचाउने । धाउँदा धाउँदा हैरान भएपछि उनले बहाना निकाले, ‘डाक्टरले नगाउनू भनेको छ ।’ त्यस अवधिमा उनले ६० गीत कम्पोज गरे, ‘झीरमा उनिनु...,’ ‘हर रात सपनीमा ऐँठन हुन्छ,’ ‘क्षितिजलाई... ।’ रत्न रेकर्डिङ संस्थानले एक साइडमा नारायण गोपाल र अर्को साइडमा दीप श्रेष्ठको गीत राखेर एल्बम पनि निकाल्यो ।

पछि उनलाई प्रकाश गुरुङले प्रज्ञा प्रतिष्ठानमा बोलाए, सहायक संगीत निर्देशकका रूपमा । तर, त्यहाँ गएर आफैँ जन्जालमा फसे । उनी त्यहाँ जाँदा पनि थर्ड क्लास थिए, २५ वर्षपछि निस्कँदा पनि थर्ड क्लास नै । खासमा उनी अम्बर गुरुङसँग सांगीतिक सहचार्य हुन्छ भनेर गएका थिए । तर, त्यहाँ त्यस्तो कुनै माहोल थिएन ।

रमाइलो प्रसंग के भने दीपभन्दा पछाडि शम्भुजित बाँस्कोटा आफैँ दरबन्दी थपेर प्रज्ञा प्रतिष्ठान छिरे । वरीयतामा पनि उनै अगाडि बसे । बढुवा पनि खाए । तर, दीपको एक ग्रेड पनि थपिएन ।

नारायण गोपाल र गोपाल योञ्जनसँग जोडिएर गाउने रहर अधुरै छ दीपको । त्यसका निम्ति प्रयत्न नगरेका पनि होइनन् । शब्द, संगीत र गायनका त्रिवेणी गोपाल योञ्जनले समय नै निकाल्न सकेनन् । नारायण गोपाललाई रोगले च्यापिहाल्यो । “नारायण गोपाल मेरो गायन मन पराउँथे,” उनी भन्छन्, “नयाँ गीत कम्पोज गरेपछि सुनाउन राती ११ बजे पनि मलाई घरमा बोलाउँथे ।” 

खोइ कुन इखले हो, त्यसपछि दीपले कसैसित संगीत पनि मागेनन्, गीत पनि मागेनन् । त्यसो त उनलाई नामै जोडिनका लागि थुप्रै संगीतकारले अफर गर्छन् । तर, कतिपयको कम्पोजिसनमा उनी करेक्सन गरिदिन्छन् । मान्नेका लागि गाउँछन्, नमान्नेसँग द्वन्द्व गरेर गाउँदैनन् ।

अहिलेसम्म उनले चार सय गीत गाएका छन् । सयौँ संगीत गरेका छन् । तर, उनलाई सबभन्दा प्यारो छ, ‘सुनिदेऊ सानो छँदाको कथा.. ।’ उनका ६० वटा गीत कम्पोज भएर बसेका छन् । रेकर्ड गराउन बाँकी एउटा गीत हो, ‘कहिले कहिले आकाश पनि मेरो सामु झुकिदिन्छ ।’ 

वसन्त थापाले लेखेको त्यो गीत उनले कम्पोज गरेको ४० वर्ष नाघिसक्यो । अधिराजकुमार हुँदा पूर्वराजा ज्ञानेन्द्रले त्यो गीत सातपटकसम्म गाउन लगाए । उनलाई थाहा छैन, त्यो गीतमा त्यस्तो के छ ?

प्रज्ञा प्रतिष्ठानमा जागिरे छँदा त्यहीँका प्राज्ञ भूपी शेरचनले उनलाई एउटा गीत दिए, ‘कालको हातमा राखेर आफूलाई बन्धकी ।’ त्यो गीत उनले थुप्रै अग्रज संगीतकारलाई दिएका रहेछन् । एउटा पार्टीमा सबैलाई उछिनेर गाइदिए दीपले । 

भूपीले बाँकी संगीतकारलाई भनेछन्, ‘मेरा सबै गीत च्यातिदेऊ ।”

‘म त दूरदेखि आएँ...’ बोलको गीतसँग जोडिन्छिन्, सोफिया गुरुङ । दार्जीलिङको लोरेटो कलेजको गेटमा

‘ड्रिम गर्ल’ सोफियालाई देखेर फुरेको गीत थियो त्यो । सोफियासँग पहिलो भेट भने अरुणा लामाको सांगीतिक टोलीकी सदस्यका रूपमा भएको थियो । त्यसमा मिसिएका दीपले उनलाई कति मन पराए भने दुई–चार दिन फुर्सद भो कि काठमाडौँ–दार्जीलिङ गरिहाल्थे ।

सोफियासँग १०/१२ वर्ष लामो अफेयर चल्यो उनको । सोफियाको सौन्दर्य, गायकीको प्रशंसा गरेर थुप्रै प्रेमपत्र लेखे । लिपिस्टिकको दाग, रातो गुलाफ अनि रगतले लेखेका प्रेमपत्रलाई बेवास्ता गरेर ।
यति हुँदाहुँदै पनि सोफियासित विवाह सजिलै भएन । पहिले कलेजको पढाइ सक्ने सर्त आयो अनि जागिर खाएपछि घरसंसार बसाउने अर्को सर्त । तर, अधिराजकुमारी प्रेक्षाको तोकमा मिलेको जागिरमा महासर्त थपियो, यति वर्षसम्म विवाह गर्न नपाइने । (शाही) नेपाल वायु सेवा निगमको एयर होस्टेसको जागिर जो थियो ।

यी सर्तबन्दीमा परेका दीपले ०४६ सालमा आएर ३९ वर्षको उमेरमा प्रेमविवाह गरे । त्यो पनि दिनको एक लिटर पेट्रोल मात्र पाइने भारतीय नाकाबन्दीका बेला । १२ वर्ष कान्छी सोफियासँगको दाम्पत्यमा दुई छोरी दृष्टि र शृंखला फलेफुलेका छन् ।

हिमालयन एयरमा कार्यरत सोफियासँग उनका अत्यन्तै हिट नम्बर छन् । दुवै छोरीका नाममा एल्बम पनि निकालेका छन् । यसलाई उनी जीवनकै राम्रो काम ठान्छन् । यी गायकलाई हालसालै पोखराको कन्सर्टमा छोरीले नै साथ दिइन् । 

धोबीखोला किनारमा रहेको बंगलामा साँझपख सोमरसका साथ दीप हार्मोनियम र गितार लिएर छोरीहरूसँगै १०/१२ वटा गीत गाउँछन् दिनहुँ । “म धेरै पिउँदिनँ तर दिनको एक–दुई पेग नभई हुँदैन,” नामूद अल्टो स्वरका धनी भन्छन्, “सोमरस पिएर गला बिग्रँदैन भन्ने उदाहरण मै हुँ ।”
उनको रियाज पनि आफ्नै पाराको हुन्छ । पत्नीसँग रिस उठेका बेला कोठा थुनेर गाउँछन्, ‘कहाँबाट ल्याऊँ म सपनाको देश ? जब लाग्छ तिमीलाई मेरो आँगन परदेश ।’ झट्टै केही पर्‍यो भने सुनाउँछन्, ‘सुनिदेऊ सानो छँदाको कथा, मैले वामे सर्दाको कथा ।’ घरमा धोबीखोला पसेका बेला, ‘हर रात सपनीमा ऐँठन हुन्छ ।’ 

त्यसो त दीपले एक समय फूलको विरुवा विदेश पठाउने काम पनि गरे । नेपाल गार्डेन सेन्टर थियो कम्पनीको नाम । उनी खेलकुदका पनि सोखिन हुन् । युवावयमा फुटबल खेले । अहिले ब्याडमिन्टन खेलेर तन्दुरुस्ती पाइरहेका छन् ।

उमेर सकिँदै गएको उनलाई फिक्री छैन । बरू, अर्काइभ सकिएको चिन्ता छ । उनको जीवनी तयार गर्ने बेला भयो । तर, घरमा धोबीखोला पसेर फोटो, भीएचएस, सीडी सबै बिग्रिए । उनलाई थकथक लाग्छ, नेपाल संगीत नाट्य प्रतिष्ठान खुल्यो तर अडिटोरियम नै नभएको ठाउँमा । न नृत्य देखाउने ठाउँ छ, न गायन प्रस्तुति दिने । कतिसम्म भने अम्बर गुरुङ आफैँले क्यान्टाटा सिम्फोनी गर्छु भन्दा पनि हल पाएनन् ।

आफ्ना रोमान्टिक गीत कति छन् भनेर खोज्न दीपलाई ‘फुर्सद’ चाहिन्छ । सबका सब गीत दुखिया लाग्छन् । पाँच दशकभन्दा लामो गायन यात्रामा प्याथटिक र सेन्टिमेन्टल गीतकै उरुंगो छ । यी गायकलाई लाग्छ, संसार नै वियोग मन पराउँछ । नेपाली, हिन्दी होस् या अंग्रेजी गीतमा त्यही पल्ला भारी छ । दीपले त अझ जवानीमा समेत विरही गीत गाउन छाडेनन् ।
 

तस्बिरहरू : रवि मानन्धर

प्रकाशित: असार २०, २०७३