‘नारी पात्र कहिल्यै छुटाउँदिनँ’

- केशव थापा

राजधानीको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीका भित्ता अहिले कलाकार उमेश साह, ४१, का चित्रकलाले सजिएका छन् । भारतको इन्द्रकला विश्वविद्यालयबाट कलामा स्नातकोत्तर साह १३ वर्षयता कला क्षेत्रमा सक्रिय छन् ।

तपाईंको चित्रकला कहिले आधुनिक कलाजस्तो, कहिले मिथिला कलाजस्तो लाग्छ, किन ?

हो, मैले मिथिला कला र आधुनिक कलाको फ्युजन गरेको छु । त्यसैले दर्शकलाई त्यस्तो लाग्न सक्छ ।

कलामा तेल रंगको भरपूर प्रयोग गर्नुको कारण ?

मलाई तेल रंगमा काम गर्न निकै मन पर्छ अनि अरू रंगमा भन्दा सजिलो पनि लाग्छ ।

चित्रकलामा अरू रंगभन्दा तेल रंग प्रयोग गर्दा के फरक हुन्छ ?

अरू रंगभन्दा तेल रंगले चित्रकलालाई चहकिलो बनाउँछ ।

तपाईंको सबै चित्रकलामा कतै न कतै नारी पात्र देखिन्छन् नि ?

मेरो जीवनमा नारीको स् थान सधैँ प्रेरणादायी रह्यो । त्यसैले सम्मान स् वरूप क्यानभासमा नारी पात्र कहिल्यै छुटाउँदिनँ ।

प्रदर्शनीमा राखिएका ३३ थान चित्रकला सिर्जना गर्न कति समय खर्चिनुभयो ?

करिब दुई वर्ष ।

प्रदर्शनीमा रहेका चित्रकलाहरूको विशेषता के हो ?

समसामयिक कलामा मिथिला संस् कृतिको समायोजन नै प्रदर्शनीमा रहेका चित्रकलाको प्रमुख विशेषता हो ।

ग्यालरीमा प्रदर्शन भइरहने अरू चित्रकलाभन्दा तपाईंको चित्रकलामा के फरक छ ?

सबै कलाको आफ्नै पहिचान हुन्छ । हाफ प्रोफाइल फेस, माछाको जस्तो आँखा र गाढा रेखा मेरो कलाको पहिचान हो ।

अब छैटौँ प्रदर्शनी कहिले गर्नुहुन्छ ?

म अहिले पनि दैनिकजसो कला सिर्जना गरिरहेको हुन्छु । छिटो वा ढिलो जुनसुकै बेला म अर्काे प्रदर्शनी लिएर आउन सक्छु ।

 

प्रकाशित: असार १९, २०७३