संस्मरण : पुरानो पोखरा

- गनेस पौडेल

सोच्दिनँ भन्छु तर नसोची धर पाउन्नँ, मान्छेले सहर बनाउँछ कि सहरले मान्छे ? मान्छेले समय फेर्छ कि समयले मान्छे ? मेरै मस्तिष्कको एउटा छेउबाट गुज्रेर सोचाइ जान्छ तर म सोचाइलाई मेरै सोचाइ भन्ठान्छु । प्रश्नलाई मेरै मौलिक प्रश्न भन्ठान्छु । मौलिक सोचाइको स्वामित्वभावले कहिले दु:खी हुन्छु, कहिले खुसीले उत्तेजित हुन्छु । मात्रै सोच्नु पनि कस्तो सुखद र दु:खद कारण हुँदो रहेछ !

तिनताका विशाल कुँडहर फाँटमा मात्रै तीन–चारवटा घर थिए । कुँडहर फाँटमा भएका तीन–चार थान घरलाई थिए भने पनि ठीक, थिएनन् भने पनि ठीक । कात्तिक महिना फाँटमा मंसिर लाग्थ्यो । महिनाको मंसिर होइन कि धान थन्क्याउने मंसिर । महिनाको मंसिरमा स्कुलको कक्षा उक्लिइन्थ्यो । कात्तिक महिनामा हुने अन्तिम परीक्षा सकेपछि दाइ पशुपति पौडेल र मेरो कामै धानका कुन्यू रुँघ्ने हुन्थ्यो । स्थानीय छाडा बस्तुभाउ मात्रै होइनन्, हिमालपारि मुस्ताङबाट ओर्लेका घोडा, खच्चड र गधाको उधिन्याइबाट जोगाउन दिनभर खलेगह्रामा बस्थ्यौँ । दुई भाइ कुन्यूमा खेल्थ्यौँ । तिर्खा लागे, नहरमा बगेको सेतीको पानी सोझै खाइदिन्थ्यौँ । तिनताका हामीलाई दिउँसो भोक लाग्दैनथ्यो । खान नपाइने ग्यारेन्टी भएपछि भोक नलाग्दो रहेछ । तर, लाग्ने कुरा एउटै काफी थियो, झ्याउ । झ्याउ यति लाग्थ्यो कि त्यसले झ्याँगेर टाउको रिगाउँथ्यो ।

खेल्ने कुरा सकिएपछि हामी परालको कन्यूमा चढ्थ्यौँ । कन्यूबाट करिब दुई किलोमिटर टाढाको पृथ्वी राजमार्गमा मोटर गुडेको प्रस्ट देखिन्थ्यो । कन्यूमा जेनतेन अडिएर हामी ‘पिट्टा लगाइ’ खेल्थ्यौँ । माथिबाट तल कुनै मोटर आयो भने मैले दाइलाई एक पिट्टा हान्थेँ । तलबाट माथि गयो भने दाइले एक पिट्टा हान्नुहुन्थ्यो । खेलभरमा दुवैले लगभग २० पिट्टा खाइन्थ्यो । अचेल त्यही सडकमा ट्राफिक जाम हुन्छ । ‘पिट्टा हानी’ खेलेर साध्य नै छैन । कुँडहर फाँटमा खेत कम, घर ज्यादा भइसकेका छन् । बाटोमा मान्छे कम, मोटर ज्यादा गुड्न थालेका छन् ।

हाराहारी डेढ महिना बिन्दास हुन पाइने बर्खेबिदा विजयपुर खोलामा बित्थ्यो । अलिक ठूलो भएको देखाउन कहिलेकाहीँ फेवातालबाट झरेको फुस्रे खोलामा पनि पौडन गइन्थ्यो । छहराको रह, कानीबूढीको रह, स्यान डहरेको रह, सोलेको रह आदि नामुद रहहरू थिए । खोलाको पानी कुनै गहिरो र फराकिलो खाडलमा अडिएर जमेको ठाउँलाई रह भनिन्थ्यो । सोलेको रह त पूरै सोलीजस्तो थियो । सेतीजस्तै गहिरिएर बगेको ढन्डुरोभित्र गहिरो रह थियो । पौडेर गन्तव्य पुग्न सकिएन भने डेभिज फलजस्तै डरलाग्दो ढन्डुरोभित्र हुल्दिन्थ्यो । बाँच्ने चान्सै थिएन । तैपनि, कत्रो साहसले हामी त्यहाँ पौडन्थ्यौँ ।

अत्यन्त नीला र गहिरा रह थिए ती । तिनमा मान्छेलाई गुटमुट्याएर डुबाइदिने भुँवरी हुन्थ्यो । त्यसैले भुँवरी छलेर तिनमा पौडनेको सान भिन्दै हुन्थ्यो । दोबिल्लाको रह पूरै गाउँभरिका केटाहरूमाझ विख्यात थियो । सेतीको पानी नमिसिएको हुनाले फुस्रे खोलो सङ्लो हुन्थ्यो । गाउँका युवाहरूले कहिलेकाहीँ खोलामा बम हानेर माछा मार्थे । चार–पाँच किलोका माछा सामान्य हुन्थे ।

दिनभरि पौडँदा अति भोक लाग्थ्यो । खाउँm त के खाउँm ? खोलामा केको खाजा पाइन्थ्यो र ? माछा, गँगटा, झिँगेमाछा पोलेर खाइन्थ्यो । हाम्रो त एउटा सिकारी दस्ता नै थियो । खोलामा पुगुन्जेल गुलेलीले चरा मारेर खाजाको जोहो नै गरिन्थ्यो । चरा भुत्ल्यायो । आन्द्राभुँडी र टाउको फाल्यो । आगोमा बेस्सरी पोल्यो, खायो । मैले जति चराको मासु कसैले खाएन होला !

मेरो गाउँ मझेरी पाटन तिनताका आधी जंगलजस्तो थियो । रूखैपिच्छे गुँड हुन्थे । डाङ्ग्रे, चाँचरी, जुरेलो, ढिकुर आदि जातका चरा धेरै सिकार हुन्थे । गुँड देख्नासाथ रूखमा चढिन्थ्यो । चराका अन्डा मात्रै छन् भने भुइँमा खसालेर फुटाइदिन्थ्यौँ । आँखा र प्वाँखसमेत नपलाएका बचेराहरू रहेछन् भने पनि बाँकी छोडिँदैनथ्यो । घाँटी चुँडालेर मारिन्थ्यो र त्यसै फ्याँकिन्थ्यो ।

प्वाँख नपलाएका चरा खान हुन्न भन्ने विश्वास थियो । ‘बचेरा निमोठेर मार्‍यो भने मुटु बलियो हुन्छ’ भन्थे केटाहरू । मैले जति चराका बचेरा कसैले निमोठेर मारेन होला । अहिले सम्झँदा मात्रै पनि मेरो आङ सिरिङ्ग हुन्छ । त्यत्रो निर्दयी स्वभाव कहाँबाट आयो होला ममा ? मभित्रको दया, माया, करुणा कता गएथ्यो होला ? के मान्छेको बच्चाले मैले जस्तो हिंस्रक बाल्यकाल बिताउन सम्भव छ ? अहिले यसरी अत्यन्त कमलो हृदयको र पिन्चे स्वभावको कसरी बनेको हुँला म ? हुन पनि अचेल चराको त कति माया लाग्छ कति !

विजयपुर, सेती र फुस्रे खोलामा पौडी खेल्नेहरू सबै खैनीबाज थिए । प्रख्यात बिजली खैनीको बट्टा बोकेर आउने केटो राजा बराबर हुन्थ्यो । ‘खैनी खानेलाई भोक लाग्दैन’ भन्ने विश्वास हुनाले यसको लत बसाल्न अनेकन् कोसिस गरिन्थ्यो । खैनीलाई घाममा सुकाएर हुन्छ कि, पानीले पखालेर हुन्छ कि, चिनी मिसाएर हुन्छ कि ‘मोलुवा’ बनाइन्थ्यो । अलिक कम कडा खैनीलाई ‘मोलुवा’ भनिन्थ्यो । मोलुवा बनाइएकै भए पनि पहिलोपटक खैनी च्याप्दा टाउको रननन्न घुमाएर मैले वान्तै गरेको थिएँ । पछि कसरी सिकियो सिकियो ? खैनी सिकेजस्तै सजिलै गरी मैले त्यसलाई छोड्न पनि सकेँ । तर, मेरा सबै दामलीहरू अझै त्यसको अम्मली छन् ।

आफूले खैनी–चुरोट खान पूरै छोडेको भए पनि मलाई खैनी र सुपारी खाने मान्छे बडो आकर्षक लाग्छन् अझै पनि । चोरी र बूढीऔँलाले हल्का गरी खैनी च्याप्यो, ओठको कापोमा घुसार्‍यो, मन्द नुनिलो मसालेदार रस मुखमा आएपछि बन्ने थुकलाई प्याच्च थुक्यो । सुन्दा वा पढ्दा घिनलाग्दो लागे पनि खाएर त्यो प्रक्रिया पूरा गर्दा बडो आनन्दको काम हुन्थ्यो ।

पौडी खेल्दा नाङ्गै खेलिन्थ्यो । उमेर चढेपछि यौनाङ्गमा पलाएका रौँ लाजको कारण हुन्थ्यो । कसैको रौँ देखियो भने गिज्याएर हैरान पार्थे साथीहरू । नाङ्गै पौडनु लाज हुँदैनथ्यो । लाजको अंगमा रौँ देखियो भने मात्रै लाज हुन्थ्यो । अन्डरवयर कसैले लगाउँदैनथे । केही साथीहरू हामीलाई झुक्याउन रौँ खौरेर पनि जान्थे । रहर भए पनि म रौँ खौरेर जान सक्दिनथेँ । मेरा बाले आफैँले दाह्री फाल्नु हुन्थेन । हजामकहाँ जानुहुन्थ्यो । त्यसैले मैले अरूले जसरी थप एक बर्खा नाङ्गै पौडन पाइनँ । लाजको भाव आएपछि पौडी खेल्ने साथी फेरिन्थे ।

हिउँदको छुट्टी घोडा चढेर बिताइन्थ्यो । हुन त सानैमा घोडा चढिएन । अलि उमेर बढेपछि चढियो । भोटेले चरनमा छाडा छोडेका घोडालाई समातेर दिनभर चढिन्थ्यो । आफ्नो घोडा चढेको देखे भने भोटेले लखेट्थे । बा–आमाले देखे भने झन् सातो लिन्थे । भेटे भने बेस्मारी पिट्थे । भोटेसँग डराइडराइ घोडा चढ्नु, दिनहुँ उसको खेदाइ खानु र राती घोडाको पिठ्यूँले डामेको नितम्ब मुसारेर सुत्नु दैनिकी नै हुन्थ्यो । नून बोकेको घोडा परेछ भने नितम्बमा अनेकथरी खटिरा आउँथे ।

तिनताका धेरैजसो भोटेले लखेटेको सपना देख्थेँ म । भोटे पछिपछि, म उसकै घोडा चढेर अघिअघि । नभेटेपछि भोटेले घुँयत्रोले हान्थ्यो । म मट्याङ्ग्रो छल्दै घोडा कुदाउँथँे । एकछिनपछि भोटे थुचुक्क बस्थ्यो । लामो सास तान्थ्यो र सुइय्य सिटी बजाउँथ्यो । सिटी सुन्ने बित्तिकै हिनहिनाउँदै घोडा फर्किन्थ्यो र भोटे भएतिर हाम 

फाल्थ्यो । जति लगाम खिचे पनि अहँ, रोकिँदैनथ्यो । म घोडाबाट हामफाल्थेँ र ब्यूँझन्थेँ ।

म उति साह्रो सिपालु थिइनँ घोडा चढ्न । तैपनि, मलाई पैया, त्रिखुट्टी र कदम गरी तीनवटै चालमा घोडा कुदाउन आउँथ्यो । मेरा साथीहरू त खग्गु थिए । घोडा चढ्ने लत यतिसम्म भएको थियो कि साँझ खाना खाएपछि पनि सुटुक्क घरबाहिर निस्कन्थ्यौँ । राती अबेरसम्म घोडा चढ्थ्यौँ र फर्किन्थ्याँै । भोटेका घोडा फागुनसम्म गाउँमा बस्थे । केही केही त चैतसम्मै बस्थे ।

हाई स्कुल पुग्दा कृषि काम पूरै धानिन्थ्यो । तिनताका खेतमा काम गर्ने बाउसेको दैनिक ज्याला ५० रुपियाँ थियो । मेरो उमेर सानो भएको हुनाले ३५ रुपियाँ मात्रै पाउँथेँ । मैले कुँडहर फाँटमा जग्गा हुने मझेरी पाटनका प्राय: बासिन्दाको खेतमा काम गरेको छु । मलाई कसको खेत कति हलको छ ? कहाँ छ ? कुन खेतको मुहान कुन हो ? कुन मुहानमा कस्तो ठेल छ ? भन्ने पूरै जानकारी थियो । पहिले जसरी जाँगरसाथ किसानी गर्ने कुनै गाउँले छैनन् अचेल मेरो गाउँमा । हुन त अब खेती गर्नकै लागि खाली जग्गा पनि धेरै बाँकी छैन ।

मेरा पितापुर्खा धनाढ्य थिएनन् । निम्नमध्यम वर्गीय हुन् । पुगिसरी आएका भए औलोको बिगबिगी भएको पोखराको सबैभन्दा उराठ ठाउँ मझेरीपाटनमा आउने थिएनन् मेरा पुर्खा । अहिले पो पोखरा पोखरा भयो । एक रोपनी जग्गाकै करोडौँ पर्ने भयो । आफ्नो पसिना र सीपले होइन, जग्गाको भाउ बढेकै कारण मेरा रैथाने गाउँले सबका सब करोडपति भएका छन् । आर्थिक परिवर्तनको यो आकस्मिक रूप डरलाग्दो उपभोक्तावादमा फेरिँदैछ । म्यासेज पठाउन नजान्नेले पनि महँगा मोबाइल भिर्न थालेका छन् । म व्यापक विलखबन्दमा छु । समयलाई परिवर्तन गर्न नसके पनि समयसँगै परिवर्तन हुन सकेको भए अलिकति सन्तोष हुन्थ्यो होला । म अझै आफूलाई पुरानै पोखरामा कतै हराएको पाउँछु ।

हामीले पौडी खेल्ने खोलामा अचेल कुनै रह छैनन् । सबै रह पाँगोले पुरिए । मैले खनेका खेतमा घर उभिए । मैले गाईभँैसी चराउने गौखर्क भनिने ठाउँमा अहिले आर्मीको ट्ेरनिङ क्याम्प चल्छ । म पढेको स्कुलमा मलाई पढाएका मास्टर त नहुने भइहाले तर त्यहाँ म बसेको बेन्च छैन, कोठा छैन, भवन छैन । मैले खेलेको चौरमा चौर छैन । मैले आफ्नो यौवनको पहिलो प्रेमपत्र जुन ठाउँमा बसेर पढेको थिएँ, त्यो ठाउँमा पाइखाना बनेको छ ।

जुन खोलाको किनारमा हामीले बयर र स्यालखोस्रा टिपेर खान्थ्यौँ, त्यो ठाउँ अचेल पूरै आवाद भइसक्यो । बजारबाट हिँडेर घर फर्किंदा थकाइ मेट्ने अमरसिंह चोकको चौतारो छैन । कुँडहर फाँटमा खाजा खाँदा थकाइ मार्ने पीपलडालीको चौतारो छैन । त्यस्ता चौताराहरू कति मुर्कट्टा पारिए, कति मुठुर्‍याइए, कति आफ्नो चारकिल्लाभित्र पारेर गुप्त्याइए ।  पानी खान बनाएको हिटी पुरिएको छ ।

तीव्र सहरीकरणको साक्षी पुस्ता हुँ म । मेरो बाल्यकाल र किशोरवयका सम्झना पस्किने चौताराहरू, चौरहरू, पोखरीहरू, खोलाहरू, स्कुलहरू, रूखहरू, घरहरू कुनै बाँकी छैनन् । सहर यस्तरी बदलिएको छ, म उमेरभन्दा पहिल्यै बूढो भएको अनुभव गरिरहेको छु ।

मेरै छेकलबाट बारम्बार त्यही पुरानो प्रश्न बगिरहन्छ : मान्छेले सहर बनाउँछ कि सहरले मान्छे ? मान्छेले समय फेर्छ कि समयले मान्छे फेर्छ ?

प्रकाशित: असार १३, २०७३