के पढ्ने ? कहाँ पढ्ने ?

- जीवन लिम्बू

एसएलसीको नतिजा सार्वजनिक भएसँगै अब आमविद्यार्थी र अभिभावकका सामु साझा प्रश्न तेर्सिएको छ, कहाँ पढ्ने र के पढ्ने ? उत्तर खोज्नु सजिलो छैन । आजका एसएलसी उत्तीर्ण विद्यार्थी र तिनका अभिभावक धेरै अन्योल, द्विविधा र भ्रमबाट गुज्रिरहेका छन् । विद्यार्थी तथा अभिभावकका सामु उपलब्ध धेरै विकल्प र हाम्रो शिक्षा प्रणालीको अस्पष्टताका कारण पनि यस्तो अन्योल र द्विविधा बढाएको हो । त्यसमाथि यही वर्षदेखि लागू गरिएको ग्रेडिङ प्रणाली, संसद्बाट पारित भएको नयाँ शिक्षा ऐनले गरेको दिग्दर्शनलगायत कारणले पनि अभिभावक र विद्यार्थी मात्र होइन, कतिपय शैक्षिक संस्थाहरूसमेत रनभुल्ल अवस्थामा छन् । त्यसकारण यो आलेख यस्ता अन्योल चिर्दै अभिभावक एवं विद्यार्थीले उपलब्धमध्ये सबैभन्दा उत्तम र सुलभ विकल्प कसरी छनोट गर्ने भन्नेमा केन्द्रित छ ।

एसएलसीपछिको शिक्षाको मूलधार उच्च माध्यमिक शिक्षा बनेको छ । एसएलसी उत्तीर्णमध्ये ८० प्रतिशत हाराहारी विद्यार्थीको गन्तव्य मुलुकभर ३ हजार ६ सयभन्दा बढी संख्यामा खुलेका उच्च मावि (प्लस टू) हुन् । सामुदायिक उच्च मावि र प्लस टूको कार्यक्रम चलाउने क्याम्पसहरूको संख्या जोड्दा तीन चौथाइ हुन्छ । बाँकी एक चौथाइ मात्र उच्च माविहरू निजी तवरबाट सञ्चालित छन् ।

विद्यार्थी संख्याका हिसाबले भने एक चौथाइ निजी प्लस टू र तीन चौथाइ सामुदायिक शैक्षिक संस्थाहरूको हिस्सा भने करिब आधा–आधा छ । यसको अर्थ विद्यार्थीको आकर्षण पछिल्लो वर्षमा निजी प्लस टूहरूमा रहेको देखिन्छ । निजी प्लस टूमा यस्तो आकर्षण देखिनुमा मुख्यत: तीन कारण छन् । पहिलो, सार्वजनिक शिक्षाको गुणस्तरप्रति उपभोक्ता सन्तुष्ट नहुनु नै हो । दोस्रो, निजी शैक्षिक संस्था फेसन वा हैसियत मापनको विम्ब बन्नु । तेस्रो, विद्यालयबीचकै प्रतिस्पर्धा । 

विद्यालयको संख्या र विस्तारले विद्यार्थीको पहुँचमा उच्च माध्यमिक शिक्षालाई पुर्‍याएको छ । छनोटका विकल्प उपलब्ध गराएको छ । सँगसँगै कुन संस्था छान्ने र कुन विषय पढ्ने भन्ने विषयमा द्विविधा उत्पन्न गर्ने कारण पनि यिनै बनेका छन्, विद्यार्थी तथा अभिभावकलाई ।

विद्यार्थीको उमेरका कारण विकसित हुने विशिष्ट मनोवैज्ञानिक अवस्थाले पनि प्लस टू तहको शिक्षा निकै प्रभावित भएको पाइएको छ । प्राय: विद्यार्थीले आफ्नो साथी एवं दौँतरी समूहको लहैलहैमा निर्णय लिन खोज्छन् । सबै अभिभावक त्यो मान्न तयार हुँदैनन् । विद्यार्थीलाई भने अभिभावकको सल्लाहभन्दा साथीभाइको कुरा ठीक लाग्छ । यही कारण अभिभावक–विद्यार्थीबीच गहिरो असमझदारी पनि पैदा हुन्छ ।

कतिपय अभिभावकले विद्यार्थीको इच्छा/चाहना ख्याल नगरी अरू विद्यार्थी एवं परिवारसँग तुलना गर्ने, आफ्नो अहं र महत्त्वाकांक्षा विद्यार्थीमाथि लाद्ने गर्छन् । खास गरी मध्यम तथा उच्चमध्यम वर्गका अभिभावकमा आफ्नो सामाजिक, आर्थिक र पदीय हैसियतसँग छोराछोरीले पढ्ने स्कुल र विषयलाई जोड्न पुग्छन् । अनि, यही स्कुलमा र यही विषय पढ्नुपर्छ भन्ने खालका दबाब दिन्छन् । अर्कोतर्फ, आयस्तर कमजोर भएका परिवारको तनाव अर्कै हुन्छ । राम्रा स्कुलको खोजीमा गाउँबाट सदरमुकाम, सदरमुकामबाट सहर, सहरबाट राजधानीमा धाउने बाध्यता र प्रवृत्ति व्याप्त छ ।

टाढाको र महँगो स्कुलमा सबथोक ठीक हुन्छ भन्ने बुझाइले भित्रभित्रै अस्वाभाविक प्रतिस्पर्धा अभिभावक–विद्यार्थीबीच पनि हुर्किएको छ । परिवारले खाइ–नखाइ छोराछोरीलाई सहर–बजार पठाउनु तर तिनले कस्तो स्कुल र विषय छाने भन्नेतर्फ विचार पुर्‍याउन नसक्नु आजका धेरै बाबुआमाको कमजोरी हो । परिणामत: आफ्ना छोराछोरीको पढाइको निरन्तर निगरानी हुन पाउँदैन । अनि, साथी/संगाती केकस्ता छन् भन्ने हेरविचार गर्न सक्दैनन् । यी कुरा थाहै नपाई धेरैलाई नकारात्मक नतिजा हात लाग्छ । दु:खपूर्वक पढाएका छोराछोरीबाट उच्च शिक्षाको ढोकामै धोका हुन्छ, जसबाट परिवारले मात्रै होइन, सिंगो समाज र राष्ट्रले नै मूल्य चुकाउनु परिरहेको छ । आज खाडी मुलुकका छाप लागेका पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लाग्नेमध्ये धेरै यही कोटिको जनशक्ति छ, यो तीतो यथार्थ हो ।

त्यसैले सोचौँ, बुझौँ । हतारमा निर्णय नगरौँ । धैर्यपूर्वक निर्णय लिऔँ । आफ्नो बेफुर्सदीको बहानामा छोराछोरीको जिम्मामा मात्र सबथोक नछाडौँ । छोराछोरीको भविष्यका लागि थोरै भए पनि समय निकालौँ । यो समयको मूल्य बुझ्न सक्ने अभिभावकले भविष्यमा पछुताउनुपर्ने छैन । साथै, छोराछोरीको इच्छा/चाहना पनि बुझौँ । उनीहरूको सोचको सम्मान गरौँ । त्यसका लागि विद्यार्थीकै रुचि, लगाव र भविष्यको लक्ष्य अनुसार विषयको छनोटमा स्वतन्त्रता दिऊँ । अर्थात्, सकेसम्म विषय छोराछोरीलाई छान्न दिऊँ, विद्यालय अभिभावकले नै रोजौँ ।

कसरी छान्ने ?

रुचिको विषय : एसएलसीमा राम्रो नम्बर आउनेबित्तिकै विज्ञान विषय रोज्ने परिपाटी छ । राम्रो विद्यार्थीले विज्ञान नै पढ्नुपर्छ भन्ने छैन । विद्यार्थी स्वयंको रुचि कुन क्षेत्रमा छ र भविष्यमा विशिष्टता हासिल गर्ने लक्ष्य छ/छैन, त्यो महत्त्वपूर्ण हुन्छ । सानैदेखि विज्ञान, प्रविधि, आविष्कार, अन्वेषणका कुरामा रुचि र लगाव भएको विद्यार्थीले भने विज्ञानमा राम्रो गर्न सक्छ । विज्ञान आफँैमा एउटा ‘ग्लोबलाइज्ड’ विषय पनि भएकाले यसले धेरैतिरका ढोका खोल्छ । उच्च शिक्षामा विशुद्ध विज्ञान पढ्नका लागि मात्र नभई डाक्टर, इन्जिनियरिङ, सूचना प्रविधिदेखि नर्सिङ, फार्मेसी, वन विज्ञान, कृषि विज्ञानतिर जानेका लागि पनि यो अनिवार्य र उपयोगी छ । त्यसो त प्लस टूमा विज्ञान पढेर उच्च शिक्षामा व्यवस्थापन र मानविकीका विषयहरू पढ्न नपाइने होइन । 

प्लस टूको विज्ञान पाठ्यक्रम अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पहिचान प्राप्त भएकाले विदेशका विश्वविद्यालयहरूमा छात्रवृत्तिको आवेदन दिनेहरूको पनि आकर्षण बनेको छ यो । दक्ष जनशक्ति त सबैमा आवश्यक पर्छ नै, विज्ञानमा भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीको पनि पर्याप्त आवश्यकता हुने भएकाले तिनको अवस्था र ठीकसँग प्रयोग भए–नभएको चाहिँ विचार गर्नुपर्छ । तर, परिवारको हैसियत प्रदर्शन गर्न वा अभिभावकको मान राख्नका लागि मात्र यो विषय छान्नु विद्यार्थीको रुचि र क्षमताप्रति न्याय हुँदैन ।

कुनै विद्यार्थी सानैदेखि व्यापार, व्यवसाय र व्यवस्थापकीय कला तथा प्रतिभा बोकेर आएको हुन सक्छ । भविष्यमा बैंक, वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनीहरूमा आफ्नो स्थानबारे कल्पना गरिरहेको हुन सक्छ । अथवा, आफ्नै कुनै व्यवसाय गर्ने सोच हुन सक्छ । यस्तो विद्यार्थी व्यवस्थापन अध्यापनका लागि उत्तम हुन्छ । जबरजस्ती अरू कुनै विषयमा लगाउँदा उम्दा प्रदर्शन नगर्न सक्छ । फेरि व्यवस्थापनभित्र पनि नयाँ नयाँ विषय र उपविधाहरू आएका छन् । भविष्यमा त्यस्ता विषयहरूमा विशेषज्ञता हासिल गर्ने हो भने प्लस टूबाटै व्यवस्थापनतिर लाग्नु बुद्धिमानी हुन्छ । मुलुकको प्रमुख एजेन्डा नै आर्थिक विकास भएको छ । बैंक तथा कर्पोरेट संस्थाहरूको वृद्धिका कारण पनि व्यवस्थापन अध्ययनपछि काम पाउन खासै गाह्रो हुँदैन । आफैँ केही गरूँ भन्ने उद्यमशील सोचको विकास गर्न पनि व्यवस्थापन अध्ययनले मद्दत गर्छ । भोलि गएर डाक्टर, इन्जिनियरहरू रहेका संस्थाहरूको व्यवस्थापन पनि यो समूहका विद्यार्थीले नै गर्न सक्छन् । विद्यार्थीलाई सक्रिय सहभागिता हुने गतिविधिमा कति सहभागी गराइन्छ, समूह कार्य कति दिइन्छ र व्यावसायिक संघसंस्थाहरूसँगको सम्बन्ध छ/छैन भन्ने आधारमा विद्यालय छान्नुपर्छ । 

शिक्षा र मानविकीका विषयहरू प्राय: सामुदायिक उच्च मावि र क्याम्पसहरूले सञ्चालन गरिरहेका छन् । न्यून आयस्तर भएका, विज्ञान, गणितजस्ता विषयमा राम्रो अंक ल्याउन नसकेका विद्यार्थीको रोजाइ शिक्षा र मानविकी हुने गरेका छन् । यथार्थमा राम्रो अंक ल्याउने विद्यार्थीले समेत भाषा, साहित्य, कला, संगीत, अर्थ–वाणिज्य तथा सामाजिक क्षेत्रका अन्य विषयहरूको अध्ययन गर्नुपर्छ, रुचि छ भने । वास्तवमा हाम्रो सार्वजनिक प्रशासन र शैक्षिक क्षेत्र यिनै दुई संकायबाट चलेको छ भन्दा फरक नपर्ला । प्लस टूमा राम्रो अध्ययन हुन सके विश्वविद्यालय तहमा यी विषयहरूको विशेषज्ञता हासिल गर्न सकिन्छ । यी विषयका लागि अनुसन्धानमूलक अध्ययन, अभ्यास कार्य, सिर्जनशील गतिविधिलाई प्रोत्साहन र अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै सहभागिता गराउने विद्यालयलाई छनोटको प्राथमिकतामा राख्नु उचित हुन्छ ।

युवा बेरोजगारीको अन्त्य र चाँडै नै राम्रो आम्दानी गर्ने सोचाइ भएकाहरूका लागि प्राविधिक विषयहरू एकदमै उपयोगी छन् । विदेश नै जाने हो भने पनि सीप र दक्षता लिएर जाँदा राम्रो आम्दानी, परिभाषित काम र सम्मान प्राप्त गर्न सकिन्छ । नेपालमा पनि विभिन्न प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले यी विषयतर्फ विद्यार्थीहरूको आकर्षण बढ्नु/बढाउनु जरुरी छ । एसएलसी उत्तीर्णमध्ये करिब १५ प्रतिशतको रोजाइ प्राविधिक क्षेत्र हुने गरेको छ । एसएलसीमा न्यूनतम सी प्लस ल्याएको विद्यार्थी यस क्षेत्रमा योग्य मानिन्छ । यद्यपि, यसभन्दा राम्रो अंक ल्याउनेले पनि जान नहुने होइन । विद्यार्थीको रुचि नै यसमा प्रमुख कुरा हो । प्लस टू र अन्य शैक्षिक संस्थाहरूले समेत यस्ता अतिरिक्त प्राविधिक पाठ्यक्रमहरू चलाउँदै आएका छन् । हेल्थ असिस्टेन्ट (एचए), फार्मेसी नर्सिङ, ल्याब टेक्निसियन, सब इन्जिनियर आदि विषय गाउँगाउँसम्म पनि पढाइ हुन्छ । 

यसबाहेक एसएलसीपछि ए लेभललगायत अन्य अन्तर्राष्ट्रिय क्षेत्रका विषय र कार्यक्रम पनि उपलब्ध नभएका होइनन् । तर, ती एकदमै सीमित समूहको पहुँचमा छन् । यस्ता प्राय: कार्यक्रम विदेश जान लक्षित छन् । त्यसकारण हाम्रो शिक्षा प्रणालीमा प्लस टू मूलधारको कार्यक्रम हो, जहाँ ८० प्रतिशतभन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि तयारी गर्छन् ।

घरपायक रोजौँ : हो, हामीलाई राम्रो विद्यालय चाहिएको छ । स्तर र छवि दुवै चाहिन्छ नै । तर, नाम र प्रचारका पछाडि मात्र लाग्दा गुणस्तरको विषय छुट्न सक्छ । पारिवारिक र दैनिक जीवनमै असन्तुलन पनि ल्याउन सक्छ । त्यसकारण सकेसम्म आफ्नो घरपायक संस्था रोजौँ । घरबाट टाढा हुँदा एकातिर विद्यार्थीले समाज र परिवारबाट पाउनुपर्ने शिक्षा एवं व्यावहारिक ज्ञानबाट वञ्चित हुनुपर्छ । यसले विद्यार्थीको व्यक्तित्व विकासमा पनि असर पार्छ । अर्कोतर्फ, विद्यार्थीमा पनि ‘होम सिकनेस’जस्ता समस्या देखिन सक्छन् । घरबाटै भ्याइने विद्यालय छन् भने पनि सकेसम्म आफ्नो टोलको छान्नु उत्तम हुन्छ । टाढा हुँदा एकातिर समयको अपव्यय भइरहेको हुन्छ भने अर्कोतर्फ थकानका कारण पनि विद्यार्थीको पढाइ प्रभावित हुन्छ । घरपरिवार र समाजबाट टाढा हुँदा विद्यार्थीको उचित निगरानी नपुग्न सक्छ र स्वतन्त्रताको दुरुपयोग गरी बाटो बिराउन सक्ने जोखिम पनि उत्तिकै हुन्छ । 

यति याद राखौँ, भुइँको टिप्न खोज्दा पोल्टाको पनि नखसोस् । राम्रो शिक्षाको अपेक्षामा गरिएको त्याग र लगानी खेर नजाओस् । महँगो हुँदैमा राम्रो भइहाल्छ भन्ने पनि छैन । कतिपय सामुदायिक प्रयासबाट पनि राम्रा राम्रा थालनी भएका छन् । धेरै तडकभडक नगर्ने विद्यालयले पनि थोरै शुल्कमा गुणस्तर कायम गरेका छन् । त्यसैले आफ्नो आर्थिक अवस्थालाई पनि ख्याल गरी उपयुक्त निर्णय लिनु जरुरी हुन्छ । 

अवसर खोजौँ : रुचिको विषय, अब्बल विद्यालय त छान्नैपर्छ । यसका अलावा के कस्ता अवसर वा सहुलियत प्राप्त छन् भन्नेबारेमा पर्याप्त जानकारी लिई दाबी गर्न बिर्सनु हुँदैन । सरकार, विभिन्न संघसंस्था र जागिरे हुनुहुन्छ भने आफैँ कार्यरत कार्यालयले समेत एलएलसीपछिको शिक्षाका लागि छात्रवृत्तिलगायतका अवसरको व्यवस्था गरेका हुन्छन् । ती अवसरको पनि भरपूर प्रयोग गर्न नबिर्सौं । निजी प्लस टूहरूले पनि कमजोर आर्थिक अवस्था भएका, सामाजिक रूपले पछि परेका विद्यार्थीलाई छात्रवृत्ति दिन्छन्, दिनुपर्छ । कतिपय संघसंस्थाले आवेदन र प्रतिस्पर्धाका माध्यमबाट पनि छान्छन् । यी अवसरको सकेसम्म लक्षित वर्गलाई प्रयोग गर्न दिऊँ । त्यसका लागि तपाईं–हाम्रो स्थानबाट सकेको सहयोग गरौँ ताकि त्यस्ता सुविधा र अवसरमा टाठाबाठा र पहुँचवालाको मात्र रजाइँ नहोस् ।

(लिम्बू करिअर परामर्शदाता हुुन् ।

 

एसएलसीपछिका विकल्प र बाटाहरू

प्रकाशित: असार ६, २०७३