नयाँ माल, पुरानै चाल

- अरुण सुवेदी

राजनीतिको बजारमा नयाँ माल अर्थात् नयाँ दल आएको छ, पूर्वप्रधानमन्त्री एवं पूर्वछापामार नेता बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल । नयाँ शक्ति नयाँ किसिमले अस्तित्वमा आउनासाथ राजनीतिको बजारमा तीव्र प्रतिक्रियाहरू सुरु भएका छन् । यसै पनि नेपालको राजनीति बढी प्रतिक्रियाले नै निर्धारण गर्छ । इतिहास यस्तै प्रमाणित गर्छ, कहिले राजाको क्रियाको प्रतिक्रियामा, कहिले भारतप्रतिको प्रतिक्रियामा र कहिले आन्तरिक सत्ताको प्रतिक्रियामा । अहिलेको सत्ता स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रतिक्रियाको राजनीतिमा नै आफ्नो औचित्यता साबित गरिरहेको छ ।

यसरी प्रतिक्रियामा मात्र आफ्नो औचित्य साबित गर्ने संस्कृतिभन्दा केही मानेमा अलग जस्तो देखिए पनि भट्टराईको नयाँ शक्ति यसबाट खासै मुक्त भने देखिएन । यद्यपि, प्रतिक्रियामा आधारित राजनीतिको लामो शृंखलामा एउटा नयाँँ राजनीतिक शक्तिले आफ्नो औचित्य प्रतिक्रियामा नै स्थापित गर्ने हो कि आफूलाई क्रियाकर्ताका रूपमा लिई जाने हो, अहिले नै भन्न सकिने अवस्था छैन ।

नयाँ पक्ष : भट्टराईको एकल ‘स्टार’ प्रदर्शन रहेको नयाँ शक्तिमा कम्युनिस्ट भावभूमिमा लामो राजनीतिक जीवन बिताएका नेताहरूको इतिहास पर्गेल्दा थोरै अलग धार वा नयाँ धारमा चाहिँ पक्कै छ, यो । नेपाली कम्युनिस्ट आन्दोलनको एउटा कटु राजनीतिक इतिहास हो, जनवादी केन्द्रीयताको स्वैरकल्पना देखाएर संगठन निर्माण गर्ने र एउटा तहमा शक्ति आर्जन गरेपछि बहुदलीय प्रजातन्त्रमा अवतरण गर्ने । त्यसपछि यही निहुँ पारेर जनवादी केन्द्रीयताको नारामा पार्टी फुट्ने अनि अर्काे पार्टी गठन हुने । अर्थात्, कम्युनिस्ट पार्टी उदार प्रजातन्त्रमा अवतरण गर्नासाथ परम्परावादी कम्युनिस्ट फुटेर जाने । अर्को रोगले पनि कम्युनिस्ट नेतृत्व पीडित थियो, कम्युनिस्ट आन्दोलनबाट बिरक्तिएर/पलायन भएर या त कांग्रेसतर्फ लाग्ने या त दरबार नै पस्ने/फस्ने ।

नयाँ शक्तिचाहिँ यसमा अपवाद देखिएको छ अर्थात् नयाँ बाटोमा नै छ । एउटा छापामार पृष्ठभूमिबाट आएको कम्युनिस्ट पार्टी बहुदलीय प्रजातन्त्रमा अवतरण गरेपछि पार्टीको एक शीर्ष नेताले पार्टीलाई ‘अर्थोडक्स’ कम्युनिस्ट भावभूमितिर नलगी उदार प्रजातान्त्रीकरणको पथमा मात्र लगेनन्, आफूलाई गैरकम्युनिस्ट शक्तिकै रूपमा स्थापित गरे । उनी पलायन भएर कांग्रेस वा अन्य कुनै दलतर्फ वा राजातिर पनि गएनन् । यो, नेपालको कम्युनिस्ट आन्दोलनको पृष्ठभूमिबाट आएको नेतृत्वमा आजसम्म नभएको सन्दर्भ हो । यस मानेमा नयाँ शक्तिको नेतृत्वको नयाँ पक्ष हो, यो । खुनी र आततायी पृष्ठभूमिबाट आएको एउटा नेतामा भएको यो उत्परिवर्तन (म्युटेसन) प्रशंसनीय छ ।

सैद्धान्तिक धरातल के ? : एउटा राजनीतिक शक्ति स्थापनाका लागि पहिलो सर्त हो, राजनीतिक सिद्धान्त । यो क्रम आजको होइन र पछि पनि सिद्धान्तविहीन राजनीतिक शक्ति दीर्घकालीन हुन सक्दैन । आफ्नो मूल मुद्दा आर्थिक विकास हुने भट्टराईको कथन छ । यसको अर्थ आफ्नो राजनीतिक सिद्धान्तप्रति उनी गोलमटोल हुन पाउँछन् भन्ने होइन । यो प्रश्न किन पनि महत्त्वपूर्ण छ भने गैरकम्युनिस्ट नाम भए पनि उनको पहिरन शैली, प्रस्तुति र संगठनका बहुमत मानिसहरू कम्युनिस्ट पृष्ठभूमिकै छन् । त्यसमाथि आफ्नो खुनी अतीतप्रति उनले आजसम्म पश्चात्ताप गर्नुको सट्टा त्यसको औचित्यता साबित गर्नमै समय खर्चेका छन् । यो कुरा सोचनीय मात्र होइन, खतरनाक पनि छ । यसकारण आफ्नो सैद्धान्तिक धरातल उनले स्पष्ट पार्नुपर्छ कि, आजका बाबुराम भट्टराई ठीक कि हिजोका ? दुवै ठीक हुनै सक्दैन । यदि दुवै ठीक भनिन्छ भने यो राजनीतिमा ठूलो कपटपूर्ण चाल हो ।

हामीकहाँ लामो समयदेखि वामपन्थी धारमा एउटा शक्ति मूल प्रवाह रहने र खुद्रे विवादले त्यही सैद्धान्तिक धरातलमा खुद्रे पार्टीहरू खोलेर सत्ताको चास्नी चाख्ने परम्परा छ । अर्काेपट्टि प्रजातान्त्रिक धारको मूल प्रवाह रहेको नेपाली कांग्रेसकै मूलधारमा सानातिना सैद्धान्तिक पार्थक्य देखाएर दल खोलेर सत्ता सुखमा पहुँच बनाउने परम्परा पनि पुरानै हो । हाम्रो राजनीतिमा खाली रहेको सैद्धान्तिक धरातल हो, ‘मोडरेट कन्जरभेटिभ’को । खास गरी कमल थापाको सैद्धान्तिक र राजनीतिक पतनपछि यो धरातल झनै उर्वर देखिएको छ । छिमेकी मित्रराष्ट्र भारतमा बढ्दै गएको मोडरेट कन्जरभेटिभको वर्चस्वले पनि यो धरातललाई मलजल नै गर्नेछ । तर, भट्टराईका दस्तावेज र प्रस्तुति हेर्दा त्यो विन्दुमा पुग्ने देखिन्न । सैद्धान्तिक धरातल भएको स्थानमा ठाउँ नभर्ने हो भने उनको दलले या त एमाले–माओवादी भावभूमिमा थप भीड निर्माण गर्ने हो या कांग्रेसी भावभूमिमा । यी दुवै स्थानमा उनको हैसियत मूल प्रवाहको हुने छैन । अर्थात् कुनै न कुनै बहानामा सत्ताको चोइटो चाख्ने थप एउटा दल मात्र हुनेछ, नयाँ शक्ति ।

राजनीतिमा नयाँ शक्ति नाम दिए पनि आर्थिक विकासको नारामा नयाँपन छैन । समाजवाद, उदारवाद र साम्यवादको कक्टेलमा रनभुल्लमा परेको नेपाली आर्थिक–सामाजिक नीति निर्माणलाई दिशा निर्दिष्ट गर्ने सोच र सैद्धान्तिक आधार नयाँ शक्तिमा छैन ।

पहिचानको मुद्दा र भट्टराई : नयाँ शक्तिको एउटा अडान छ, जातीय र क्षेत्रीय पहिचानलाई स्वीकार गर्ने, पहिचानको लडाइँलाई समर्थन गर्ने । यसको स्पष्ट आधार हो, नेपालको सांस्कृतिक राष्ट्रियताको विविधतालाई स्वीकार गर्नु । तर, नेपालको सांस्कृतिक विविधता उन्मूलन नै गर्ने किसिमले बढिरहेको सांस्कृतिक अतिक्रमणप्रति उनको कुनै विरोध हुँदै नहुनु रहस्यको विषय हो । सांस्कृतिक पहिचानको पक्षपातीले नेपालका सांस्कृतिक समूहको निजत्वमाथि भएको अतिक्रमणको विरोध गर्नैपर्छ । यो नगरेर उनले दोहोरो चरित्र देखाइरहेका छन् । एकातर्फ पहिचानवादीको तुष्टीकरण र अर्कापट्टि पेसा र शक्ति राष्ट्रहरूको रणनीतिक दबाबमा सांस्कृतिक अतिक्रमण गर्ने मिसनहरूसँगको सहकार्य ।

यसको अर्को पनि स्पष्ट प्रमाण छ, व्यक्तिगत पहिचानलाई समर्थन गर्ने र बहुसंख्यक पहिचानको योजक सांस्कृतिक पहिचान हिन्दु राष्ट्रियतालाई अस्वीकार गर्ने यो अत्यन्त खतरनाक कुरा हो । र, यो विखण्डनवादको बीजारोपण हो । पार्थक्यका कारणहरूलाई स्वीकार गर्ने र एकताको आधारलाई अस्वीकार गर्ने भट्टराई कटु आलोचनाका पात्र हुन्, सन्देहास्पद व्यक्ति हुन् ।

विदेशी आका, स्वदेशी भाका : पहिले विदेशी आकामा भारत र पश्चिम मात्र गनिन्थे भने अब चीन पनि त्यो बद्ख्याइँ पाउनेमा पुगिसकेको छ । इतिहास र वर्तमानलाई नियाल्दा पनि राजनीतिक दलहरू मात्र नभएर नागरिक समाज र सञ्चार जगत् पनि त्यो मानकमा अछुतो देखिन्न । गैरसरकारी संस्थाको त झन् कुरै अलग । विदेशी आकाको इसारामा स्वदेशी भाका बोलिरहेका राजनीतिक शक्ति र व्यक्तिको पंक्तिमा नयाँ शक्ति र यसका नेता पनि अछुतो छैनन् ।

नेपाली कांग्रेसभित्र अहिलेका किचलोका प्रमुख विषय संघीयता, धर्मनिरपेक्षतालगायतविरुद्ध जनमत निर्माण भइरहँदा प्रजातान्त्रिक धारमा तिनै मुद्दाको हिमायती भनेर नयाँ शक्ति आएको छ । यी मुद्दा अहिलेका विवादास्प्द संविधानका आत्मा ठहर्‍याइएको छ । र, यो संविधानको स्वामित्व १२ बुँदेका सूत्रधार शक्तिले लिएका छन् । अर्थात्, भारतको प्रतिपक्ष र पश्चिमाहरूलाई यो संविधानको बचाव गर्ने र संविधानमा निहित ती विषयलाई संशोधन नै गर्न नदिने एउटा प्रजातान्त्रिक आवरणको शक्तिको जरुरत थियो । त्यही बाह्य रणनीतिको जरुरत पूर्ति गर्ने कार्य अनुसार नयाँ शक्ति निर्माण भएको त होइन ?

अस्पष्ट विदेश नीति : नेपालजस्तो रणनीतिक महत्त्वको राष्ट्रमा विदेश नीतिको खास महत्त्व हुन्छ, यसैको प्रयोग राष्ट्रिय स्वार्थका लागि हुन नसकेर मुलुकले दुर्गति बेहोर्नुपरेको छ । बीपी कोइराला प्रधानमन्त्री भएपछि नेपाललाई लागेको यो गम्भीर रोगको निदान गर्ने सिद्धान्तसहितको परिवर्तित सोच आजसम्म कसैमा आएन । यो अलमलका कारण मुलुकले ठूलो घाटा बेहोरिसकेको छ, बेहोरिरहेको छ । यो शास्त्रीय अलमलको कसीमा नयाँ शक्ति पनि उही ड्याङमा देखिन्छ । परराष्ट्र नीतिलाई आन्तरिक राजनीतिको औजार बनाउने परिपाटी र आन्तरिक राजनीतिलाई आफ्नो रणनीतिक स्वा्र्थका लागि प्रयोग गर्ने शक्ति राष्ट्रहरूको चलखेलबीच अस्थिर र गन्तव्यहीन नेपालको परराष्ट्र नीतिमाथि नयाँ शक्तिको नयाँ सोच पटक्कै छैन ।

नाम र नेता : देशलाई युग युगसम्म नेतृत्व गर्ने आकांक्षाले खडा हुने गर्छन्, राजनीतिक दलहरू । यसैले तिनको नाम जुन युगमा पनि शाश्वत खालका हुन्छन् । तत्कालको आवश्यकता अनुसार वा तत्कालीन जनप्रिय/कर्णप्रिय नारालाई मात्र प्रतिनिधित्व गर्ने नामका राजनीतिक शक्ति दीर्घजीवी हुन्नन् । कुरा शास्त्रीय हो तर सत्य । यस आधारमा ५० वर्षपछि पनि भट्टराईको दलको नाम नयाँ शक्ति नै हुने हो ? यो सानो लाग्ने जिज्ञासा भए पनि मननीय छ ।

अनि, कुनै जमानामा कुनै नेताको नेतृत्वमा ऐतिहासिक आन्दोलनमा सहभागी भएका तर सत्ता सिकारको निसाना लगाउन असफल भएका शरणार्थी राजनीतिज्ञहरूको भीड पनि नयाँ शक्तिमा राम्रै 

छ । यस्ता शरणार्थीलाई नै सारथि बनाएर के कस्ता लक्ष्य प्राप्ति गर्ला नयाँ शक्तिले ?

झिल्के क्रिया र प्रतिक्रिया

नयाँ शक्ति स्थापनाका क्रममा एउटा गम्भीर राजनीतिक शक्तिको छवि दिनुको सट्टा नयाँ शक्ति वा यसका एकल स्टार बाबुराम भट्टराई सामाजिक सञ्जालको उत्ताउलो प्रभावमा परेर पार्टीको प्रचार गर्न झिल्के क्रियाकलापमै केन्द्रित रहे । यो पंक्तिकार स्वयं नै व्यापारिक र औद्योगिक क्षेत्रको लामो अनुभव सँगालेको व्यक्ति हो । नेपाल अहिले जस्तो आर्थिक अवस्थाबाट गुज्रिएको छ, मुलुकका करदाता र चन्दादाता जुन अवस्थामा छन्, त्यस अवस्थामा नयाँ पार्टीको यस्तो प्रचार शैली ? आफूलाई आर्थिक विकासका लागि प्रतिबद्धता जनाउने व्यक्तिका यस किसिमका झिल्के शैली धेरैलाई अपाच्य भएको प्रतिक्रिया आइसकेका छन् । यस्तै झिल्के शैली पार्टी घोषणा कार्यक्रम सञ्चालनमा पनि अपनाइयो । सिने अभिनेतृ करिश्मा मानन्धरप्रति कुनै आग्रह नराखी भन्नुपर्दा उनले पनि आफ्नो क्षमता भित्र र बाहिर के छ भनेर बुझ्नु पथ्र्याे । आफ्नो केन्द्रीय सदस्यलाई ‘ग्ल्यामर’का लागि भट्टराईले प्रयोग पनि गर्नु हुन्नथ्यो । यस्तो झिल्के कामबाट उनको ओज बढेन र बढ्दैन पनि ।

नयाँ शक्तिबाट अर्को झिल्के उद्घोष पनि आएको छ कि स्नातक नगरेकालाई चुनावमा टिकट नदिने । यो कुरा झिल्के मात्र होइन, हास्यास्पद पनि छ । अहिले भट्टराईसमक्ष इतिहासवेत्ता एवं विद्वान् दिनेशराज पन्तलाई टिकट दिनु पर्‍यो भने दिने कि नदिने ? उनीसँग त एसएलसीको प्रमाणपत्र पनि छैन । बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजर मेट्रिक्युलेटेड मात्र थिए । यस्तो झिल्के, हास्यास् पद र वाहियात कुरा भट्टराई किन गरिरहेछन् ? यसले उनमा रहेको गाम्भीर्यमाथि ठूलो प्रश्न खडा गर्छ ।

प्रकाशित: असार ६, २०७३