अभिव्यक्ति आइकन

- राजकुमार बानियाँ

साहित्यिक सेरोफेरोमा अभिव्यक्ति भनेकै नगेन्द्रराज शर्मा हुन् र नगेन्द्रराज शर्मा भनेकै अभिव्यक्ति । उनको अभिव्यक्ति–यात्रा ४६ वर्षे अधबैँसे भइसक्यो । उनले उमेरको ३३ वर्षमा थालेको काम ८० वर्ष पुग्न लाग्दा पनि आफैँ सम्हालिरहेका छन् । 

उनी अभिव्यक्तिको परिचय दिन्छन्, दुई महिने सामान्य साहित्यिक पत्रिका । यसका १८२ अंक छापिइसकेका छन् । यसलाई व्यक्तिगत प्रयासमा निकालिएको पहिलो साहित्यिक पत्रिका भने हुन्छ । त्यसअघिका शारदादेखि रूपरेखासम्मका पत्रिका सरकारी खर्च या सामूहिक लगानीमा थिए ।

अभिव्यक्तिको अर्को विशेषता के भने नियमित छ । आकार र प्रकारमा घटबढ छैन । पत्रिकाका खाली ठाउँमा नेपाली लेखककै महावाणी छापिरहेको छ । लेखकहरूबीच हुने रोचक/घोचक ख्यालठट्टा रहेको स्तम्भ ‘जमघटबाट’ लोकप्रिय छ ।

पञ्चायतकालमा सजिलै पत्रिका दर्ता हुँदैनथ्यो । दर्ता नभए सरकारी विज्ञापन पाइँदैनथ्यो । पुलिस रिपोर्टको झमेला छँदै थियो । वाग्मतीका प्रमुख अञ्चलाधीश सरदार विष्णुमणि आचार्य दीक्षितका छोरा धनमणि उनका साथी थिए । उनैको भनसुनपछि विष्णुमणिले भने, ‘तिमीलाई कांग्रेसले उचाल्यो कि के हो ?’

०२७ सालमा प्रवेश अंक निकाल्दा अपरिचित लेखकले खुसी भएर रचना दिए तर परिचित लेखकले सघाएनन् । कवि मोहन कोइरालाले सोधेछन्, ‘पारिश्रमिकको के छ ?’ उनले भनेछन्, ‘दोस्रो अंकबाट मागेका रचनालाई दिन्छु ।’ मोहन उम्किहाले, ‘उसो भए मेरो दोस्रो अंकमै छापौँ ।’ पछि गएर कसैसँग रचना माग्नै परेन ।

पहिलो अंकमा केदारमान व्यथित, भीमनिधि तिवारी, पारिजात, शंकर लामिछाने, भूपी शेरचन, सिर्जना शर्मा, जगदीश घिमिरेलगायतका रचना छन् । पत्रिका निकाल्ने क्रममा थुप्रै लेखकको संगत भयो उनको । ताहाचलको बंगलामा जाँदा श्याम वर्णका लेखक शंकर लामिछाने टाई–सुटमा अत्तरको मगमग बासनासहित चिपिचल्लै भएर निस्किए । उनले दराजबाट टाइप गरिएका रचनाको फाइल निकाले र सोफामा उपरखुट्टी लगाएर रेट तोके, ६०, ३०, २० रुपियाँ । ‘यो रेट सरकारी पत्रिकाका लागि हो,’ उनले भने, ‘तपाईंले यसको चौथाइ दिए पनि हुन्छ । तर, सित्तैँमा दिन्नँ ।’ शर्माले सस्तामस्ता दुई–तीनवटा रचना लिए । त्यसपछि शंकर आफैँ परमधाम भइगए ।

हरिभक्त कटुवाल त एक समय अभिव्यक्तिका सम्पादक नै भए । तलबी होइन, विज्ञापन खोजेर खाने सम्पादक । खासमा कटुवाल प्राज्ञ बन्न चाहन्थे । तर, केदारमान व्यथितले ‘क्लर्क’ बनाइदिए । कटुवालका आँखा रक्सी नपिउँदा पनि मात्तिएका जस्ता देखिन्थे । “वास्तवमा कटुवाल मैले जति पनि रक्सी खान्थेन, उसलाई एकै गिलासले लाग्थ्यो,” उनी भन्छन्, “खाएभन्दा बढी सो गर्दा डाक्टरसमेत झुक्किए ।” एक दिन पिउँदापिउँदै कोमामा गएका हरिभक्तलाई बोक्न ट्याक्सीवालाले मानेन ।

‘पोखिएर घामको झुल्का...’ लेख्ने यिनै हुन् भनेपछि बिनापैसा लगिदिएको उनी सुनाउँछन् ।

त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा अनुसन्धान प्रशासन (सेडा)मा काम गर्दा उनी नित्य पारिजातकहाँ पुग्थे आधा बोतल सोमरस बोकेर । साँझपख सितन बनाएर पर्खिरहन्थिन् पारिजात । उनले पारिजातका डायरी पनि छापे पत्रिकामा । “व्यवहारमा पारिजात जतिसुकै राम्रो भए पनि लेखकका रूपमा ओभर रेटेड हुन्,” उनी भन्छन्, “अपांगता, दार्जीलिङे, मतवाली र कामरेड हुनुको लाभ उनलाई भयो ।”

बासु शशी उनका अर्का मित्र हुन् । जसको पनि तारिफ गरिदिने, गजब छ भनिदिने । खानपिनका सोखिन । दारु अड्डामा टन्न पिए पनि अन्त्यमा लोकल रक्सी नै चाहिने । “ढकिचा (जयवागेश्वरीको भट्टीसाहू)कहाँ अत्यन्त निम्नकोटिको रक्सी पाइन्थ्यो, एकदमै नमिठो,” उनी भन्छन्, “उसलाई त्यही नभई नहुने ।” 

भवानी घिमिरे उनका अर्का मित्र थिए । उनका आहारका किस्सा प्रशस्त छन् । एक दिन उनको घरमा ४५ घोगा मकै, दुई किलो प्याज, एक दर्जन अन्डा, एक अँजुली खुर्सानी र एक बोत्तल रक्सी बुत्याएको अभिव्यक्तिमै छापिएको छ । जगदीश घिमिरे उनका साहिँला भाइ हुन् तर उनी साथी–भाइ भन्छन् । “हामी त मीठो लागेको मात्र खान्थ्यौँ, नमीठो खाँदै नखाने,” उनी भन्छन्, “स्वास्थ्यको ख्याल गर्ने उही चाँडो गयो ।”

तामाकोसी किनारमा रहेको रामेछापको सदरमुकाम मन्थलीमा जन्मेका शर्माका पिता अपिलका हाकिम सुब्बा (पुनरावेदन अदालतको न्यायाधीश) रहेछन् । उनी चार दाजुभाइमध्ये माहिला हुन् ।

जेठा दिनेश शर्मा सरकारी जागिरे थिए, साहिँला जगदीश घिमिरे मदन पुरस्कार विजेता लेखक भइगए । कान्छा समीर घिमिरे पूर्वराष्ट्रपति डा रामवरण यादवलाई कांग्रेसको सदस्यता दिने नेता मानिन्छन् । 

०१३ सालमा एसएलसी गरेका हुन् उनले । वनारस हिन्दु विश्वविद्यालयमा बीए पढ्दापढ्दै टिम्बर कर्पोरेसनको थापाथली डिपोको इन्जार्च भए । उनको कामबाट खुसी भएर अमेरिकनहरूले हेटौँडा सरुवा गरिदिए । तर, औलो लाग्छ भनेर परिवारले जानै दिएन ।

फाल्तु बसेका बेला उनले चारवटा उपन्यास लेखे । पहिलो उपन्यास महापुरुष (०२८) रत्न पुस्तक भण्डारले ‘उचित पारिश्रमिक’सहित छापिदियो । रत्नका विज्ञ माधवलाल कर्माचार्यले भने, ‘उपन्यास राम्रो छ । तर, प्रमुख पात्रको यही नाम भनेर छाप्यो भने जेल पर्छौ ।’ 

श्याम शाह नामको दरबारिया पात्र कस्तो भने रक्सी खाने, स्वास्नी बटुल्ने, घरको गरगहनादेखि फर्निचरसमेत बेचेर खाने । अब त्यस्तो झन्झट कहाँ बेसाउने ? समाधान पनि माधवलालले नै दिए, ‘तिमीलाई मन्जुर छ भने म श्यामविक्रम बनाइदिन्छु ।’ 

अर्को वर्ष फेरि रत्नबाटै नयाँ उपन्यास आयो, दिवास्वप्न । दुवै उपन्यास उनले ‘कालो कुकुरलाई समर्पण’ गरेका छन् । खासमा त्यो मातापिता, छोराछोरी, श्रीमतीलाई पुस्तक समर्पण गर्ने लेखकहरूप्रति व्यंग्य थियो । सबैले उनको आख्यानकारिताको तारिफ गरे । बरू उनैलाई राम्रो लाग्न छाड्यो । पछि उनका दुई कथासंग्रह छापिए, पीपलको बोटमुनि (०३९) र एकान्तका आफन्तहरू (०५५) । 

खासमा शर्मालाई साहित्यिक बनाउने आफ्नै घरेलु परिवेश हो । उनका दुई काका नामी कवि थिए, भरतराज मन्थलीय र हृदयराज शर्मा । घरमा साम्वदेवभक्त सुवेदी, सोमप्रसाद घिमिरे ‘व्यास’, कुलचन्द्र कोइराला, हरिहरनाथ रेग्मीको बाक्लो आउजाउ हुन्थ्यो ।

मैतीदेवीमा थियो उनको घर । छिमेकी थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा । देवकोटा बाजेलाई चुरोट लाने काम पनि गरे उनले । त्यो जमानामा पनि देवकोटा साइकल चढ्थे । एक दिन त्यो साइकल हरायो । तर, हराएको चार दिनमै फेरि नयाँ साइकल किने । “त्यतिबेला साइकल किन्नु भनेको कार किन्नुजस्तै थियो,” उनी सम्झिन्छन्, “देवकोटाको जीवनशैली नवावको जस्तो थियो, गरिबीका कुनै लक्षण थिएनन् ।” 

०२७ देखि ०४२ सम्म सेडामा सहायक प्राध्यापकका रूपमा काम गरे उनले । त्यसपछि छुट्टी लिएर ओकुरा एन्ड कम्पनीको जागिरे भएर कोलकाता गए । ओकुराले त्रिवि शिक्षण अस्पताल बनाउँदै थियो । उनको काम जापानबाट डिस्प्याच भएको सामान बुझेर काठमाडौँ पठाउने हुन्थ्यो । ओकुराले उनलाई भुटान पनि पठायो । 

नेपाल आएपछि उनी सेडा फर्किएनन् । उनले प्रेस चलाए । साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानका पुस्तक छापे । तर, उनले प्रेसको दुनियाँमा मुड चेन्ज भइसकेको पत्तै पाएनन् । “रिको अफसेट प्रिन्टिङ मेसिन आइसकेको थियो तर मैले लेटरप्रेस किनेँ,” उनी भन्छन्, “चार लाख रुपियाँमा किनेको मेसिन कवाडीलाई बेच्नुपर्‍यो ।”

साँच्चै भन्ने हो भने यी मित्रहरूका पनि मित्र अलि एक्लिएका छन् । कोही बितिसके, कोही रोगाएका छन् । पछिल्लो छिमलका साथीलाई नाम दिएका छन्, जोनीवाकर पौडेल, बियरबहादुर बुढाथोकी, ह्विस्कीबहादुर सिंह । उनको कतै दारु खाने गुठी छ, कतै खीर खाने गुठी । 

मदिरा उनको प्रिय पेय हो । रमा सिंह र भास्करराज राजकर्णिकारको टीभी सो ‘जिरो आवर’मा मदिराको पक्षमा बोल्दा एक भट्टीसाहूले कम्प्लिमेन्ट दिएछन् उनलाई । “रक्सीलाई म पनि असल भन्दिनँ तर खराबैचाहिँ होइन,” उनी भन्छन्, “यो देशमा रक्सी खानेले भन्दा नखानेले नै गर्न नहुने काम गरेका छन् ।” 

इतिहासकार सूर्यविक्रम ज्ञवालीकी छोरी कमलासँग उनको भागी विवाह भयो । वनारस पढ्दाको चिनजान काठमाडौँ आएपछि प्रेममा बदलियो । बा र ससुरालाई बोधार्थ दिएर एकाध वर्ष लखनउतिर बिताए । छोरी जन्मेपछि घर फर्किए । तर, छोरीको अल्पायुमै निधन भयो । जेठा छोरा प्रणय राष्ट्रसंघीय फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनमा काम गर्छन्, कान्छा छोरा ओपल आफ्नो कामका अतिरिक्त अभिव्यक्तिको आवरण बनाउँछन् ।

परिवार, पत्रिका र जागिर नै उनका लागि भारी भयो । उनले अरूतिर सोच्दै सोचेनन् । उनको सन्तुष्टि केमा छ भने लेखक भए आफैँ मात्र बन्थे, पत्रिकाका कारण धेरै लेखक जन्माएका छन् । “म मामुली मानिस हुँ, मजस्ता कति आए, कति गए,” उनको आत्मसमीक्षा छ, “सबभन्दा ठूलो कुरा मलाई अभिव्यक्तिले इष्टमित्र दिएको छ । मेरा ईश्वर तिनै हुन् ।”

साहित्यिक पत्रिकाको भविष्य सकियो भन्ने कुरा उनी मान्दै मान्दैनन् । “संगीतको जतिसुकै विकास भए पनि रागरागिनीको महत्त्व घटेको छैन, कस्ता कस्ता नाचगान आउँदा पनि कत्थक र भरतनाट्यम चलिरहेकै छ,” उनी भन्छन्, “प्यास लाग्दा बियर खाएर हुँदैन, पानी नै चाहिन्छ । साहित्यिक पत्रिका पनि त्यस्तै हो ।”

प्रकाशित: असार ६, २०७३