‘हामी वैकल्पिक धारका अगुवा हौँ’

- माधव बस्नेत

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पार्टी स्थापनाको औपचारिक घोषणा सभा र दुई दिने छलफल सत्रको चटारो सके पनि हतारोमै थिए । त्यही मौका पारेर नेपालका माधव बस्नेतले भट्टराईसँग कुराकानी गरे, त्यसैको सम्पादित अंश :

नयाँ शक्ति र अरू दलबीचको भिन्नता के हो ?

संविधानसभाबाट संविधान जारी भइसकेपछि ८० वर्षदेखिको लोकतान्त्रीकरणको चरण मूलत: पूरा भएको छ । अब हामी आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौँ । त्यसैले एउटा नयाँ सोँच, शैली र संगठनात्मक ढाँचासहितको शक्ति चाहिन्छ भनेर हामीले नयाँ शक्ति स्थापना गरेका हौँ । यस हिसाबले हामी वैकल्पिक राजनीतिक धारका अगुवा हौँ ।

सिंगो एमाओवादी पार्टी तपाईंकै एजेन्डामा हिँडिरहेकै थियो । फेरि नयाँ शक्ति किन चाहियो त ?

अब विकास र समृद्धिको योजना पूरा गर्न पुराना पार्टीहरू मात्र पर्याप्त छैनन् । तीभन्दा माथि उठेको नयाँ विचार र नयाँ सोँचसहितको पार्टी चाहिन्छ । त्यो भनेको नयाँ शक्ति नै हो ।

३८ वर्षसम्म कम्युनिस्ट आन्दोलनमा रहँदा कार्यान्वयन गर्न नसकेको कुरा तपाईं ६२ वर्ष पुगेर नयाँ पार्टी गठन गर्दैमा कसरी पूरा होला ?

अहिलेसम्मको यात्रामा परिवर्तनको ठूलो एजेन्डा कार्यान्वयन गरियो । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक लोकतन्त्र कसका कारण आयो ? माओवादी आन्दोलनकै कारण आएको होइन र ? म त्यही आन्दोलनको अगुवा थिएँ । अब त्यो कार्यभार पूरा भयो । नयाँ कार्यभारका निम्ति नयाँ विचारसहितको नयाँ शक्ति चाहिएको हो ।

नयाँ शक्तिको भविष्य के हिसाबले सफल र फरक हुन सक्छ ?

कुनै पनि पार्टी लहडले बन्ने होइनन् । हामीले पनि कोहीबाट फरक हुन इच्छा जागेर बनाएको होइन । हामीले निर्माण गरेको पार्टीले इतिहासको आवश्यकता पूरा गर्छ । सात वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य गर्ने, १५ वर्षभित्र मध्यमस्तरको विकासमा पुर्‍याउने र २५ वर्षभित्र संसारको सबभन्दा समुन्नत देश बनाउने सोच र योजना छ हामीसँग । नयाँ शक्तिको यो परिकल्पना अरू पार्टीभन्दा फरक छ र सफल हुन्छ ।

चुनौती के के देख्नुभएको छ ?

संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा जान सकिएन भने स्थिरता आउँदैन, स्थिरता नभई विकास र समृद्धि सम्भव हुँदैन । पहिलो चुनौती यही हो ।

दोस्रो चुनौती हो, जातीय समुदायबीचमा एकता कायम गर्नु । विविध जातीय विशेषता भएको मुलुकमा जातीय समुदायबीच एकता कायम गर्न सकिएन भने द्वन्द्व सिर्जना हुन सक्छ । द्वन्द्वले विकास र समृद्धिलाई असर पार्छ ।

तेस्रो चुनौतीचाहिँ भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्र भएका देशबीच सन्तुलन कायम राख्नु हो । यी दुई मुलुकबीच सन्तुलन कायम गर्न सकियो भने मात्र दुई ठूला बजारको फाइदा लिएर विकास र समृद्धिको योजना लागू गर्न सक्छौँ । तर, सकिएन भने उनीहरूको रणनीतिक स्वार्थ जुधेर हाम्रो देश अस्थिरतातिर जान्छ । हामीले मुख्य गरी यी तीनवटा चुनौती सामना गर्नुपर्ने हुन्छ ।

नयाँ शक्तिको वैचारिक लाइनचाहिँ के हो ?

यसबारेमा व्यापक छलफल गरी आउँदो ८/१० महिनाभित्र महाधिवेशनबाट टुंगो लगाउँछौँ ।त्यतिन्जेलको छलफलका लागि हामीले उन्नत लोकतन्त्रउन्मुख वाम लोकतन्त्र भनेका छौँ ।

वाम लोकतन्त्र भन्ने आफैँमा अस्पष्ट विचार होइन र ?

यो बिलकुल स्पष्ट विचार हो । वाम भनेको यथास्थितिभन्दा अघि बढेको प्रगतिकामी शक्ति हो । लोकतन्त्र भनेको जनताको प्रत्यक्ष सहभागिता रहने प्रणाली हो । हिजोको राज्यकेन्द्रित समाजवादी व्यवस्थामा जनताको लोकतान्त्रिक अभ्यास ठीक ढंगले हुन सकेन । र, उदारवाद एवं नवउदारवादमा जनताका प्रगतिशील आकांक्षा पूरा हुन सकेनन् । त्यसैले दुवैका सीमा बुझेर हामीले त्यसभन्दा माथि उठेको वाम लोकतन्त्रको परिकल्पना गरेका हौँ ।

नयाँ शक्तिका नाममा बाबुराम भट्टराईलाई नयाँ ढंगले प्रस्तुत गरिएको होइन ?

यो गलत कुरा हो । हामी २१औँ शताब्दीका पछिल्ला ज्ञान र विज्ञानले सुसज्जित नयाँ विचार, नयाँ संस्कार र शैलीमा आधारित नयाँ शक्ति निर्माण गर्न चाहन्छौँ । अहिलेको सुरुआत प्रारम्भिक मात्र हो । आगामी दिनमा व्यापक छलफल गरेर हाम्रो विधान, कार्यदिशा, विचारलाई अन्तिम रूप दिन्छौँ ।

पार्टीको नेतृत्व प्रणाली एकल हो कि सामूहिक ?

हाम्रो नेतृत्व प्रणाली सामूहिक हुनेछ । सामूहिक मात्र होइन, यो सहभागितामूलक पनि हुन्छ । सामूहिक र बहुपदीय प्रणालीमा जान्छौँ ।

सामूहिक हो भने तपाईंपछिको नेता को ? देवेन्द्र पौडेल, रामचन्द्र झा, रामेश्वर खनाल वा अरू कोही ?

एउटा लोकतान्त्रिक पार्टीमा व्यक्तिलाई टीको लगाएर प्रस्तुत गरिँदैन । निर्वाचन प्रणालीमा गएपछि कार्यकर्ताले जसलाई रुचाउँछन्, त्यही नै नेता बन्छ ।

तर, हिजो प्रचण्ड प्राधिकार भए भन्दै विरोध गर्ने तपाईंले आज नयाँ शक्तिका नाममा आफैँ प्राधिकार किन लिनुभएको ?

म संयोजक मात्र छु । कसरी प्राधिकार भएँ ? पार्टीको अन्तरिम विधान अनुसार मैले संयोजनकारी भूमिका मात्र खेल्छु । म कुनै निजी, व्यक्ति प्राधिकार स्थापित गर्न चाहन्नँ । र, हामीले विधानमा स्पष्ट लेखेका छौँ, एक व्यक्ति एक पद र एक पद अधिकतम दुई कार्यकाल । नयाँ शक्तिमा कोही पनि दुई कार्यकालभन्दा बढी पदमा बस्न पाउँदैन । हिजो २०–३० वर्षसम्म मान्छेहरू जसरी पदमा बस्थे, त्यो नयाँ शक्तिमा लागू हुन सक्तैन ।

तपाईंले एकातिर आफ्नै जीवनकालमा २५ वर्षभित्र विश्वकै समुन्नत देश बनाउँछु भन्नुभएको छ, अर्कातिर ७० वर्षको उमेरपछि सक्रिय राजनीति गर्दिनँ पनि भन्दै हुनुहुन्छ । यो परस्परविरोधी भएन ?

मैले आफ्नो जीवनकालमा नेपाल विश्वकै समुन्नत देश देख्न चाहन्छु भनेको छु । तर, म आफू ७० वर्षभन्दा बढी कार्यकारी पदमा बस्दिनँ । अहिले ६२ वर्षको भएँ । मर्न त भोलि पनि सकिन्छ । तर, सम्भावनाको कुरा गर्दा अझै २५ वर्ष बाँच्न सकिन्छ भनेको हो । ६२ वर्षको मान्छे २५ वर्ष बाँच्दा ८७ वर्षको भइन्छ । त्यस बेलासम्म मैले नेपाललाई समृद्ध भएको देख्न चाहेको हो । त्यसका निम्ति आफैँ कार्यकारी पदमा बस्ने भनेको होइन ।

आगामी निर्वाचनबाटै पहिलो शक्ति बन्ने दाबी गर्दै हुनुहुन्छ, त्यसको आधार के हो ?

नेपाली जनता छिट्टोभन्दा छिट्टो गरिबी, बेरोजगारीबाट मुक्ति चाहन्छन् । हामीले विकास र समृद्धिको त्यही एजेन्डा उठाएका छौँ । दोस्रो, हिमाल, पहाड, तराईका विभिन्न जाति, क्षेत्रका बीचका जनता एकता–सद्भाव चाहन्छन् । त्यसैले समावेशी, समानुपातिक लोकतन्त्र व्यवहारमा कार्यान्वयन गर्नुुपर्छ भनेका छौँ । त्यसको प्रयोग सुरु पनि गरिसकेका छौँ । तेस्रो र मुख्यचाहिँ भ्रष्टाचारको दलदलमा देश फसेको छ, जनता भ्रष्टाचारबाट मुक्त भई सुशासन हेर्न चाहन्छन् । भ्रष्टाचार अन्त्य र सुशासन स्थापना हामीले मुख्य एजेन्डा बनाएका छौँ । यिनै तीन मुख्य एजेन्डाका कारण हामी मुख्य शक्ति बन्नेछौँ ।

तर, तपाईंकै श्रीमती हिसिला यमी भ्रष्टाचारका प्रसंगमा विवादित हुनुभएको छ नि ?

हिसिलाजीका बारेमा सचेत ढंगबाट केही वृत्तबाट दुष्प्रचार गरियो । त्यसविरुद्ध उहाँले अदालतमा चरित्रहत्याको मुद्दा दायर गर्नुभयो । अदालतले हिसिलाजीको पक्षमा फैसला गर्‍यो । त्यसपछि ज–जसले चरित्र हत्याको आरोप लगाएका थिए, अदालतमा उहाँले जित्नुभएको प्रचार गरिएको छैन । हिसिला आफैँ एक सक्षम महिला, आर्किटेक्ट हुनुहुन्छ, समृद्ध घरानाको हुनुहुन्छ तर अहिले दु:ख गरेर डेराको घरमा बसिरहनुभएको छ । रहनसहन लवाइखवाइ हेर्ने हो भने पनि सामान्य महिलाका रूपमा देखिनु हुन्छ । अब उहाँले किन भ्रष्टाचार गर्नुपर्‍यो ? केका लागि भ्रष्टाचार गर्नुपर्‍यो ? 

प्रसंग बदलौँ, संविधान संशोधन गर्नुपर्छ भनिरहनुभएको छ । त्यसको सूत्र के हुन सक्छ ?

संविधानसभाबाट संविधान बन्नु सकारात्मक कुरा हो । तर, त्यसमा केही त्रुटि छन् । सबभन्दा ठूलो त्रुटि भनेको प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान नसक्नु हो । प्रत्यक्ष निर्वाचित प्रणालीमा नजाने हो भने अहिलेको मिश्रित र संसदीय शासकीय प्रणालीले अस्थिरता मात्रै ल्याउँछ । त्यसले देशलाई निकास र समृद्धितिर लाँदैन । यसलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्छ ।

दोस्रो थारू, मधेसी, जनजाति बाहुल्य क्षेत्रमा प्रदेशको सीमांकन मिलेका छैनन्, त्यसलाई मिलाउन संशोधन गर्नुपर्छ । त्यसको आधारचाहिँ संविधानसभाको राज्य पुन:संरचना समिति र राज्य पुन:संरचना आयोगका प्रतिवेदनमा आधारित भएर सहमतिको आधारमा संशोधन गर्नुपर्छ । तेस्रो, महिलालाई आफ्ना सन्तानलाई नागरिकता दिन पाउने जुन अकुण्ठित अधिकार हुनुपर्ने हो, त्यो अहिलेको संविधानले दिएको छैन । त्यसमा संशोधन गरिनुपर्छ ।

प्रकाशित: असार ५, २०७३