उत्कृष्ट प्लस टू-२०७३

- रामबहादुर रावल

गत वर्ष कक्षा ११ र १२ का विद्यार्थीले भूकम्पको त्रस्त मनोविज्ञानका बीच परीक्षा दिए । त्यही कारण धेरै विद्यालयको नतिजा अनपेक्षित तवरले खस्कियो । खास गरी उपत्यकाबाहिरका विद्यार्थीको चाप हुने विद्यालयहरूले त्यसको मार खेपे । यति हुँदाहुँदै पनि पुरानो नतिजालाई कायम राख्न सफल उच्च माविहरूको सूची नै भन्नुपर्छ, यसलाई । 

विगत नौ वर्षदेखि लगातार प्रथम स्थानमा रहेको ललितपुरको प्रसादी एकेडेमीले यसपल्ट पनि त्यो स्थान सुरक्षित गर्‍यो । यद्यपि, गत वर्ष (९८.७३)को तुलनामा यसपल्ट उसको नतिजा केही खस्किएको (९८.३५) छ । झीनो अन्तर (०.२७) ले दोस्रो स्थानमा रहेको काठमाडौँको सेन्ट जेभियर्स कलेजले प्रसादीलाई चुनौती दिएको छ, ९८.०७ ल्याएर । र, सेन्ट जेभियर्स कलेजले अघिल्लो वर्ष (९६.३१)को आफ्नै नतिजामा पनि उल्लेख्य अंक (१.७६)ले बढाएको छ । टप टेनको सूचीमा विज्ञान समूह मात्र पढाउने एक्लो प्लस टू पनि हो यो ।

तेस्रो स्थानमा गत वर्षकै सेन्ट मेरिज उच्च मावि, ललितपुरले निरन्तरता पायो, ९६.१८ अंकका साथ । उसले अघिल्लो वर्षको प्राप्तांकमा यसपल्ट ०.६४ अंक जोडेको छ । यसपटक दोस्रो स्थानमा रहेको सेन्ट जेभियर्सबाट भने सेन्ट मेरिज उल्लेख्य दूरी (१.९०)मा छ । टप टेन उच्च माविको सूचीमा छात्रा मात्र अध्ययन गर्ने एक मात्र उच्च मावि पनि हो यो ।

अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष केही पछाडि धकेलिएको काठमाडौँ मोडल उच्च माविले यसपल्ट चौथो स्थान हासिल गरेको छ । छैटौँ स्थानबाट चौथोमा पुग्न उसले ०.५८ अंक थप्दै ९५.३६ ल्याउनुपर्‍यो । काठमाडौँकै ग्लोबल कलेज अफ म्यानेजमेन्टले गत वर्षकै पाँचौँ स्थान ओगटेर व्यवस्थापन मात्र अध्यापन गर्ने संस्थाहरूमा सर्वोत्कृष्ट प्लस टूका रूपमा आफ्नो नाम दर्ता गरेको छ । गत वर्ष (९४.९०)को तुलनामा यसपालि उसले उत्तीर्ण दर पनि ०.४३ ले बढाएर ९५.३३ प्रतिशत पुर्‍याएको छ । भक्तपुरको सैनिक आवासीय महाविद्यालयको भने गत वर्षको स्थान (चौथो) र उत्तीर्ण दर (९५.२३) दुवैमा गिरावट आएको छ । यसपालि यो संस्था ९३.६३ अंक ल्याएर छैटौँ स्थानमा पुगेको छ, जुन पाँचौँ स्थानको ग्लोबल कलेजबाट पनि पर्याप्त दूरी (१.१७)मा छ ।

गत वर्ष ११औँ नम्बरमा रहेको कास्कीको सगरमाथा उच्च मावि यसपालि चार स्थान माथि उक्लिएको छ । र, टप टेनको सूचीमा पर्ने उपत्यकाबाहिरको एक्लो प्लस टू पनि बनेको छ यो । ललितपुरको लिटिल एन्जल्स आठौँ उत्कृष्ट उच्च मावि बनेको छ, जुन गत वर्ष दसौँ स्थानमा थियो ।

काठमाडौँको एनसीसीएस र भक्तपुरको मोडर्न बोर्डिङले भने गत वर्षको क्रमश: आठौँ र नवौँ स्थान गुमाएर एक–एक स्थान पछाडि धकेलिएका छन् । व्यवस्थापनमा मात्र भर्ना लिने यी दुवै उच्च माविको उत्तीर्ण दरमा पनि उल्लेख्य गिरावट आएको छ । पछिल्ला चार वर्षको औसत उत्तीर्ण दर ९१.१० रहेको मोडर्न बोर्डिङले नै यसपालि टप टेनको सीमारेखा कोरेको छ ।

अघिल्लो वर्षको टप टेनको सूचीबाट लाजिम्पाट, काठमाडौँको जेभियर एकेडेमी बाहिरिएको छ भने कास्कीको सगरमाथा भित्रिएको छ । सगरमाथाले नै टप टेन सूचीमा उपत्यकाबाहिरको उपस्थितिलाई शून्य हुन दिएन । जबकि, गत वर्ष उपत्यकाबाहिरको एउटा पनि उच्च मावि टप टेन सूचीमा थिएन । यसपालि टप टेन सूचीमा एउटा विज्ञान मात्र पढाउने, तीनवटा व्यवस्थापन मात्र पढाउने प्लस टू परेका छन् । टप टेनमा उपत्यकाकै उच्च माविहरूको वर्चस्व यसपालि पनि कायम रह्यो ।

टप टेनको दौडमा
टप टेनमा नपरेका तर निकटतम प्रतिस्पर्धामा देखिएका १५ उच्च माविहरूको सूचीमा ललितपुरको सेन्ट जेभियर, काठमाडौँका क्यापिटल र न्यु समिट उच्च माविले पहिलोपल्ट प्रवेश पाए भने काठमाडौँकै प्राइम उच्च माविको पाँच वर्षपछि उत्कृष्ट २५ को सूचीमा पुनरोदय भएको छ । गत वर्ष उत्कृष्ट २५ भित्र रहेका दाङको गोरखा इन्टरनेसनल पब्लिक, ललितपुरको मुनलाइट बोर्डिङ, काठमाडौँका काठमाडौँ बर्नहार्ट, सेन्ट लरेन्स र एस तथा भक्तपुरको ख्व:प उच्च मावि यसपटक बाहिरिए । मोरङको अरनिको उच्च माविले उत्कृष्ट २५ उच्च माविको सीमारेखा कोर्‍यो । २५ उत्कृष्ट उच्च माविको सूचीमा यसपालि उपत्यकाबाहिरका चारवटा उच्च मावि परे ।

गत वर्षको उत्कृष्ट २५ को सूचीमा परेका कास्कीको मदरल्यान्ड, ललितपुरको युनाइटेड एकेडेमी, काठमाडौँका जेभियर इन्टरनेसनल, नोबेल एकेडेमी, रिलायन्स इन्टरनेसनल, भीएस निकेतन, सगरमाथा मल्टिपल, नेसनल स्कुल अफ साइन्सेस र मोरङको मेरिल्यान्ड उच्च मावि यसपालि पनि दोहोरिए । 

पूर्व क्षेत्रबाट विराटनगर र पश्चिममा पोखराबाहेक अन्य सहरले टप टेन मात्र होइन, टप २५ मा समेत उपस्थिति देखाउन सकेनन् । र, यिनै दुई सहर पूर्व र पश्चिमका अन्तिम सीमासमेत बन्न पुगे । अर्थात्, उत्कृष्ट उच्च माविहरूको दायरा यसभन्दा फराकिलो बन्न सकेन ।

सामुदायिक उच्च माविको स्थिति
उत्कृष्ट २५ को सूचीमा नपरे पनि पोखरा, कास्कीको अमरसिंह उच्च मावि सामुदायिक उच्च माविमध्ये सर्वोत्कृष्ट मान्न सकिन्छ । जसको पछिल्ला चार वर्षको समग्र उत्तीर्ण दर ७८.४५ रहेको छ । अन्य सामुदायिक उच्च माविको उत्तीर्ण दर भने निकै पछाडि छ । छानीछानी राम्रा विद्यार्थी भर्ना लिने कारणले पनि निजी र सहरी क्षेत्रका संस्थागत विद्यालयहरूको उत्तीर्ण दर उच्च देखिएको हो । 
निजीमा भर्ना नपाउने र आर्थिक–सामाजिक रूपमा पछाडि परेका विद्यार्थीको रोजाइ बन्ने सामुदायिक विद्यालयहरू स्रोत साधनको सीमितताका कारण उम्दा प्रदर्शन गर्न सकिरहेका छैनन् । अर्कोतर्फ व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीबीच हुने राजनीतिक गतिविधिका कारण पनि सामुदायिक उच्च माविहरूको शैक्षिक गुणस्तर प्रभावित भइरहेको छ । केही समुदाय र स्थानीय निकायका तर्फबाट भइरहेका सुधारात्मक प्रयासका बाबजुद पनि असीमित संख्यामा विद्यार्थी भर्ना लिनुपर्ने कारणले नतिजामा स्थिरता कायम हुन सकेको देखिँदैन ।

छनोट विधि
एक दशकदेखि निरन्तर रूपमा उत्कृष्ट उच्च मावि छनोट गर्दै आएको नेपालले यसपटक पनि एसएलसीको नतिजा सार्वजनिक भएसँगै मुलुकका उम्दा उच्च माविको सूची प्रस्तुत गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को शैक्षिक सत्रको अन्त्यमा लिने परीक्षाको नियमिततर्फको नतिजा विश्लेषणका आधारमा यी उत्कृष्ट उच्च मावि छानिएका हुन् ।

छनोटका क्रममा विगतको मापदण्डमा कुनै हेरफेर गरिएको छैन । यसपटक पनि न्यूनतम १ सय १९ विद्यार्थीलाई परीक्षामा सहभागी गराउने उच्च माविलाई छनोटको प्रारम्भिक सूचीमा राखिएको थियो । त्यसै गरी ०६९ देखि ०७२ सम्मका चार शैक्षिक सत्रका ११ र १२ कक्षा गरी आठवटा परीक्षाको उत्तीर्ण प्रतिशतको औसत अंकका आधारमा प्राप्तांक दिइएको छ । र, उत्कृष्टताको क्रम पनि त्यही अंकका आधारमा निर्धारण गरिएको छ । यसले नतिजामा स्थिरता र उच्च माविको स्थायित्वलाई प्रस्तुत गर्छ ।

कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि नभएका होइनन् । तर, औसत विद्यार्थी संख्या नभएका विद्यालयलाई प्रतिस्पर्धामा सामेल गरिएन । त्यसै गरी न्यूनतम मापदण्डभित्र परेर पनि नतिजामा स्थिरता कायम गर्न नसक्ने उच्च माविहरू समग्र मूल्यांकनमा स्वत: कमजोर देखिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र उच्च माध्यमिक शिक्षा परिषद्को जाँचबुझका क्रममा परीक्षामा अमर्यादित गतिविधि गर्ने, परीक्षा केन्द्र आफू अनुकूल बनाउने, उत्तरपुस्तिका जाँच्ने क्रममा अनियमितता गर्नेजस्ता विकृतिमा संलग्न भएको प्रमाणित भएका उच्च माविहरूलाई भने यस प्रक्रियामा समावेश गरिएको छैन ।
 

उत्कृष्ट १० उमाविको सूची

 

 

प्रकाशित: असार ५, २०७३