नियात्रा - बाघलाई पर्खंदा

- रोशन शेरचन

“चहकिलो गाढा रंगको कपडा नलगाउनूस्, त्यसले बाघलाई आकर्षित गर्छ । बरू, क्यामोफ्लज हुने खैरो, फुस्रो रंगको कपडा भए राम्रो,” गाइड राजु थापा उर्दी लगाउँछन् हाम्रो समूहलाई । उनले खाकीको पाइन्ट र सर्ट लगाएका छन् । ह्याट लगाएको अनि घाँटीमा दूरबिन पनि झुन्ड् याएकाले म प्रभावित हुन्छु । ठाकुरद्वारास्थित बर्दिया टाइगर रिसोर्टमा जम्मा भएको छ हाम्रो समूह । यात्रामा के गर्नु हुन्छ ? के गर्नु हुन्न ? कहाँ कहाँ जान्छौ ? आदि इत्यादि बिफ्रिङ सुनिरहेका छौँ । १५ मे २०१६ ।

काउन्टरनजिकै भित्तामा अड्याइराखेको लौरोमा मेरो दृष्टि जान्छ । खैरो रंगले पोतिएको बांगो त्यो लौरो । कस्तो खालको लौरो रहेछ ? मनमा प्रश्न उब्जिन्छ । भित्तामा टाँस्सिएको कागजमा केही लेखिएको रहेछ । उत्सुकतापूर्वक नजिक गएर पढ्छु । केही महिनाअगाडि डच पर्यटक गेरार्डलाई बाघले आक्रमण गरेको थियो । गेरार्ड रूखमा चढेर ज्यान बचाउन सफल भए । त्यही रूखमुन्तिर झन्डै दुई घन्टा कुरेर बसेको बाघले उनका गाइड कृष्णलाई घाइते नै बनायो । त्यही लौरोका भरमा गाइडले गेरार्डलाई बाघको पन्जाबाट सफलतापूर्वक मुक्त गर्न सकेका रहेछन् । त्यही लौरोको महत्त्व दर्शाउँदै काउन्टरको छेउ राखिएको रहेछ । लेखोट पढेपछि छाती ढक्क फुल्छ । कारण केही बेरमै हामी जंगलमा बाघ हेर्न जाँदै छौँ ।

लिभिङ विथ टाइगर परियोजनाका अधिकृत मनसुन खतिवडाले निकुञ्ज कार्यालयबाट प्रवेशाज्ञाको आवश्यक व्यवस्था मिलाइसकेका छन् । पिकअपमा वनतिर हुइँकिन्छौँ । दिउँसोको ११ बजिसकेको छ । पछाडि खुला भएकाले वाहन जंगल सफारीका निम्ति सुहाउँदो छ । टोली सानो छ । चालक र गाइडसहित भेलेरी, के फार्मर, मनसुन, प्रदीप चौधरी, रामकृष्ण चौधरी अनि म । फोटो खिच्न सजिलो भएकाले भेलरी र के वाहनको पछाडि नै उभिन्छन् । म भित्र बस्छु । गाइडलाई सोध्छु, “बाघ देखिने सम्भावना कति प्रतिशत छ ?” बाघ देख्न निकै कठिन हुने थाहा पाएकाले मैले प्रतिशतमै सोधेको हुँ । उनी जवाफ फर्काउँछन्, “९० प्रतिशत ।” त्यो सुन्न चाहेकै प्रतिशत हो । ७० वा ८० भनेको भए त्यो पनि मनपर्ने प्रतिशत नै हुन्थ्यो । लाग्छ, पक्कै बाघ देखिने भयो ।

गेरार्डसँग बाघको जम्काभेट, निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षणविद्हरूसँगको कुराकानीबाट बाघको साइटिङ बढ्दै गएको सुनेर म बाघ देखिनेमा ढुक्क छु । तर, केही भन्न सकिँदैन । बाघलाई जंगलमै देख्न पाउनु दुर्लभ अवसर हो, उत्ति नै दुर्लभ यो वन्यजन्तु छ । सन् २०१३ को रिपोर्ट अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा प्रतिवर्ग एक सय किमिमा बाघको घनत्व सरदर ३.३ भएकाले साइटिङ सजिलो थिएन । एकताका आफैँ डब्लूडब्लूएफ नेपालको कर्मचारी हुँदा, तराईमै काम गर्ने केही साथीबाट अझैसम्म बाघ देख्न नपाएको सुन्दा, बाघ देख्न लेखेरै आउनुपर्ने रहेछ कि भनेर भाग्यवादी ठट्टा गथ्र्यौं । आज पुर्पुरो बलियो छ कि ? आजको दिनले आफ्नो पोल्टामा कहिल्यै नबिर्सिने उपहार पोको पारेको छ कि ? मन टन्नै आशावादी छ ।

घना वनमाझ कच्ची सडकमा पिकअप कुदिरहेको हुन्छ । वनमा भर्खर लागेको डढेलो पूर्णरूपले निभिसकेको छैन । सुकेका काला पोथ्रापोथ्री विरक्तलाग्दा देखिन्छन् । कहीँ कतै धूवाँ उडिरहेको छ । कसैले ठट्टा गर्छ, ठाकुरद्वारा मन्दिरको अखण्ड धूनी त यहाँ पो बलेको रहेछ । हाँसो गुन्जन्छ । चित्तलको बुट्टे बथान देखिन्छ । घाँसेमैदानमा चर्दै गरेको ।

मचान आइपुग्छ । मचानको काठे भर्‍याङ चढेर हेर्दा टाढा टाढासम्म घाँसेमैदान फैलिएको देखिन्छ । पारि जंगल धमिलो देखिन्छ । ससाना बुट्यान र झाडीमाझ जलाशयहरू छन् । यस्तै जलाशयमा जनावरहरू पानी खान वा आहाल बस्न आउँछन् । गेरुवा खोला, कर्णालीको एउटा भंगालो घाँसे मैदानको बीच हुँदै बगेको छ । गाइडले दूरबिन आँखामा जोड्दै घाँसे मैदानतिर घुमाउँछन् । हामी कुराकानी गर्न थाल्छौँ । गाइड चुप लाग्न इसारा गर्छन् । कपडाको सर्‍याकसुरुक आवाज मात्र आउँछ । पदचापको आवाज निस्कन्छ । बाघ देखिई पो हाल्छ कि † आफ्नै सुरमा खोज्न तल्लीन हुन्छौँ । चराहरूको थरीथरीको आवाज सुनिन्छ ।

“एउटा जंगली हात्ती देखियो, पारि जंगलमा,” गाइडको आवाज सुस्तरी आउँछ । पालैपालो दूरबिनको मद्दतले हामी हात्ती हेर्छौं । टाढा भए तापनि हात्ती अजंगको देखिन्थ्यो । मानव पाइला नपरेको अनुभूत हुने घाँसे मैदान र जंगल सयौँ हेक्टरमा फैलिएको थियो । खोला र बगर पनि सुनसान थियो । झन्डै एक घन्टा मचानमा बिताउँदा पनि बाघको कुनै लक्षण नदेखेपछि गाइडले हामीलाई टेन्टेड क्याम्पतिर लगे । “टेन्टेड क्याम्प ?” मैले जिज्ञासा राखेँ । गाइडले भने, “पहिले त्यस स्थानमा टाइगर टप्सको टेन्टेड क्याम्प थियो ।” गाडीमा त्यतैतिर लाग्यौँ ।

“एकछिन, एकछिन... हात्तीजस्तो छ,” एक्कासि गाइड कराउँछ । म आफ्नै सुरमा हराएको थिएँ । चालकले अकस्मात् ब्रेक लगाउँछ । गाडी झ्याप्प रोकिन्छ । तर, केही देख्दिनँ । गाइडले ‘ऊ क्या त, ऊ क्या त....’ भनेपछि इसारा गरेको दिशातिर हेर्छु । झाडीपछाडि फुस्रो रंगमा हात्तीहरू चलमलाएका देखिन्छन् । ओहो... हात्तीको बथानै रहेछ । माउ हात्ती बाटोमा रोकिन्छ । छावा र अन्य हात्ती बाटो पार गर्दै जंगल प्रवेश गर्छन् । माउ एक, दुई कदम अघि बढ्छ । म डराउँछु । चालकलाई गाडी रोक्न भन्छु । कतै माउ बिच्किएर गाडीतिर हान्निए जोखिमपूर्ण हुन्छ । हात्तीलाई गाडी पल्टाउन कुनै आइतबार छैन । त्यसको कल्पना मात्र पनि भयानक हुन्छ । गाडी रोकिएपछि माउ पनि अडिन्छ ।

ढक ढक.......! पछाडि आवाज सुनियो । भेलरी र के अत्तालिएको देख्छु । विदेशीहरूलाई केही अनर्थ भयो भने ? मनमा चिसो पस्छ । हातको इसाराले केही हुँदैन भन्छु । तर, आफैँ डराइरहेको छु । अब अगाडि नजाऊँ भन्ने लाग्छ । डराउँदै गाडीमै केही समय जाम भयौँ । सबै हात्ती जंगल पसेपछि अन्तमा माउ पनि दृष्टिबाट विलुप्त हुन्छ । ‘अब लागौँ होला,’ कसैले भन्यो । ‘एकछिन पर्खौं,’ मैले भनेँ ।

हात्तीहरू अलि परै पुगून्, मनमा लाग्यो । हात्ती भागिसकेको थियो तर हात्तीको डर भागिसकेको थिएन ।

एकाध घन्टाको यात्रापछि टेन्टेड क्याम्प पुग्छौँ । सुन्दर लोकेसन । जंगलछेउ, गेरुवाको किनारमा । तर, अहिले टेन्टेड क्याम्पको अवशेष मात्र छ । डढेको खाँबो र खाँबो गाडिएका भ्वाङहरू । वन्यजन्तुको वासस्थानलाई चाहिने सबै तत्त्व जलाशय, घाँसे मैदान, वन र प्राकृतिक आहारा । ह्याबिट्याट मोज्याइक । चखेवा जोडी खोलामा खेलिरहेको छ । चित्तल, लगुनाको बथान पनि देखिन्छ । करिब एक घन्टा उत्सुकताले पर्खन्छौँ । तर, बाघ त के, बाघको गन्ध पनि सुँघ्न पाइएन । त्यसपछि गाइड भन्छन्, “तीनकुनेतिर जाऔँ ।” हामी जिपतिर लम्क्यौँ । केही समयको यात्रापछि उत्तरतिर सानो खोला पार गरी गाडी वनको बीचमा रोकियो । त्यसपछि सात/आठ मिनेट हिँड्यौँ र खोला किनारको तीनकुने आइपुग्यौँ ।

खोला सानो छ, सुस्तरी बगेको । खोलापारि घना जंगल छ अँध्यारो । वारि भने घाँसे मैदान छ काँसले छपक्कै ढाकेको । खोलाछेउ रूखको छेल पारी उभियौँ । त्यस आसपास पहिल्यैदेखि चार–पाँच जना पर्यटक दूरबिन सोझ्याएर बाघलाई पर्खिरहेका रहेछन् । झसंग हुन्छन् । निकै पछि पो थाहा भयो, उनीहरू चुप लागेकाले हामीले थाहा नपाएका रहेछौँ । उनीहरूको गाइडले हाम्रो गाइडसँग खासखुस गरे, खै आज बाघ निस्किएकै छैन, बिहानैदेखि पर्खिरहेछौँ !

हामी व्यग्रताका साथ बाघ पर्खन थाल्यौँ । वातावरणमा अचम्मको चुप्पी थियो । सुस्त बगेको खोलाको प्रवाहको ध्वनि मधूरो छ । साँझ गहिरिँदै छ । गहिरिँदै गएको साँझलाई बोक्न कठिन भई खोला पनि क्लान्त बगिरहेझैँ लाग्छ । सूर्यको तेर्सो किरण खोलाको पानीमा चिप्लँदै काँसको घारीमा असहाय अल्झेको छ । यो हाम्रो अन्तिम थलो हो, यहाँ पनि बाघ नदेखे रिसोर्ट फर्कने पक्का छ ।

भेल्लरको रूखमुन्तिर बसेर म कल्पना गर्छु, काँसको झाडीबाट लमकलमक पाटे बाघ खोलातिर आउनेछ र खोलाको सिरान वा पुछारतिर एउटा दृष्टि फ्याँक्दै, खोलामा बिस्तारै पस्नेछ । बाघको लयात्मक चालमा म विमुग्ध हुनेछु । पानीमा डुबेकाले बाघको टाउको, आँखा र जुँगा मात्र देखिनेछ । दोस्रो कल्पना पनि गर्छु, बाघ तोडले वनबाट चित्तललाई लखेट्दै बाहिर आउनेछ । मृग ज्यान जोगाउन खोलामा हाम फाल्नेछ र हाम्रो आँखैअगाडि बाघले चित्तललाई घाँटीमा अँठ्याई सिध्याउनेछ । हामी सास रोकेर हेर्नेछौँ । रोमाञ्चित हुनेछौँ । मुटु उफ्रिनेछ । सहकर्मीहरू क्यामरा वा मोबाइलबाट फोटो खिच्नेछन् । तर, म अहँ...बाघलाई नांगो आँखाले नै धीत नमरुन्जेल हेर्नेछु । धीत मरेपछि मात्र म मोबाइल निकाल्नेछु । खस्याकखुसुक आवाज आउँछ । गाइडले अब फर्कौं भनेको सुन्छु । गह्राँै पाइला चाल्दै गाडीतिर लम्कन्छौँ ।

गाडी बेतोडले कुद्छ । बाघ देख्न असफल भएकामा म खिन्न हुन्छु । साँच्चै बाघ देख्न कठिन रहेछ । अर्को मनले भन्छ, बाघ देख्न सजिलो भए, बाघ देख्नुको अनुभव त्यति अमूल्य कहाँ हुन्थ्यो ? बाघलाई दुर्लभ वन्यजन्तु त्यसै कहाँ भनिन्थ्यो ? पत्याउनै गाह्रो हुने गरी ९० प्रतिशतलाई १० प्रतिशतले फेल खुवाइदिएको थियो । मनको नरमाइलो रोक्न नसकेपछि मैले सहकर्मीहरूलाई सुनाउँछु, हात्ती, चित्तल, लगुना, बाह्रसिंगा, जंगली बँदेल र ठूलो धनेष चरा, सबै देखियो । तर, बाघ नदेखिएकैले त्यत्रो जनावर देखिएको हर्षभन्दा विस्मात्ले बढी छोप्दो रहेछ । 

मध्यवनमा अँध्यारोले पनि हामीलाई क्रमश: छोप्दै लग्छ ।

प्रकाशित: जेष्ठ ३२, २०७३