डायस्पोरातिर डनहरू

- मनबहादुर बस्नेत

महानगरीय प्रहरी अपराध महाशाखामा करिब तीन महिनाअघि एउटा फोटो आयो । घ्यू रङको पाइन्ट र कालो पार्टी–सुज लगाएका खाइलाग्दो ज्यानका एक व्यक्ति भद्र शैलीमा बीचमा उभिएको देखिन्छ, तस्बिरमा । कुनै व्यापारीझैँ लाग्ने यी मानिस अरू कोही नभएर प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका दावा लामा हुन् । काभ्रेली समूहको दोस्रो तहका यी अहिले श्रीलंकामा आश्रय लिइरहेका छन् । उनी झन्डै एक वर्षदेखि श्रीलंकामै बस्छन् । ०७० मा काभ्रेको धुलिखेलबाट २५ किलो सुन लुटपाट भएको घटनाका फरार उनी श्रीलंकामै क्यासिनोमा टेबुल सञ्चालन गर्ने प्रक्रियामा छन् । उनी सुन लुटपाटमा संलग्न भएर फरार सूचीमा रहेका काभ्रेली समूहकै अशोक लामासँगै छन्, त्यहाँ ।

विदेशमा आश्रय लिइरहेका गुन्डा नाइकेहरूको सूचीमा दावा एक्ला होइनन् । गुन्डा समूहका नाइकेद्वय दिनेश अधिकारी ‘ चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ एक वर्षको अवधिमा लगालग प्रहरी ‘इन्काउन्टर’मा मारिएपछि गुन्डागर्दीको संसारमा रमाउनेहरू विदेशको शरणमा पुगेका हुन् ।

साउन ०७१ मा चरी र त्यसको १३ महिनापछि भदौ ०७२ मा अर्का गुन्डा नाइके घैँटे मारिए । आचरण सुध्रिसकेकाहरूलाई प्रहरीले इन्काउन्टरको आवरणमा हत्या गरेको भन्दै दुवै घटनाको राजनीतिक तहबाट विरोध भयो । चरी काण्डमा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले विरोधको नेतृत्व गरेका थिए भने घैँटे काण्डमा नेपाली कांग्रेसका सांसद जगदीशनरसिंह केसी अग्रपंक्तिमा थिए । तर, सरकार र प्रहरीले दुवै घटना इन्काउन्टर नभई मुठभेड भएको भनेर प्रस्टीकरण दिएपछि विरोधको स्वर सामसुम भएको थियो । त्यसपछि नै गुन्डागर्दीमा संलग्न र तिनका नातेदारहरू लाखापाखा लागेका हुन् ।

केही समय लुकिछिपी बसेकाहरू प्राय: विदेशिएर आफूलाई सेटल गराउने मोडमा पुगेका छन् । प्रहरीका अनुसार उपत्यकामा आधा दर्जन गुन्डा समूह अस्तित्वमा रहेकामा अहिले त्यसका अधिकांश मुखियाहरू विदेश पुगिसकेका छन् । कतिपयले भने इन्काउन्टरको त्रासमा आत्मसमर्पणसमेत गरे ।

अपराध गरेपछि प्राय:को छिटो र सजिलो लुक्ने थलो थियो, भारत पहिलेदेखि नै । खुला सिमानाका कारणसमेत भारतलाई उनीहरूले सहजै सुरक्षित आश्रयस्थल बनाउँदै आएका हुन् । तर, तीन वर्षदेखि प्रहरीले गुन्डाहरूको गतिविधिमाथि लगातार कडाइ र नियन्त्रण गर्न थालेपछि उनीहरू विदेशलाई ‘सेल्टर’ बनाउन बाध्य भए । चरी र घैँटे काण्डअघि चाहिँ प्रहरीले कडाइ गर्दा केही समय भूमिगत शैलीमा बसेर पुन: आफ्नो धन्दा सुचारु गर्थे ।

यतिबेला भने खाडी मुलुकदेखि युरोपेली राष्ट्रसम्म तितरवितर भएका छन्, उनीहरू । श्रीलंका, माल्दिभ्स, सिंगापुरजस्ता दक्षिण र पूर्वी एसियाली मुलुकलाई समेत उनीहरूले सुरक्षित गन्तव्य बनाउन थालेका छन् । जस्तो : सबैभन्दा ठूलो आपराधिक सञ्जाल बनाएको गणेश लामा नेतृत्वको काभ्रेली समूहका विष्णु लामा भारतको गोवामा आश्रय लिइरहेका छन् । उनी बेलाबखत नेपाल आउँछन् । पछिल्लो समय क्यासिनोका जुवाडेहरूलाई मिटर ब्याजमा लगानी गरेका थिए उनले । उनी गोवामै पनि नेपालबाट क्यासिनो खेल्न जानेहरूलाई लगानी गर्छन् ।

काभ्रेली समूहकै अर्का सुजन तामाङ पाँच महिनादेखि माल्दिभ्समा छन् । ललितपुर ढोलाहिटीका व्यापारी राजन श्रेष्ठमाथि भदौ ०७० मा खुकुरी प्रहार गरेको घटनामा संलग्न भएको अभियोग लागेका उनी फरार अभियुक्त हुन् । स्रोतका भनाइमा उनी माल्दिभ्सको होटलमा काम गर्छन् ।

प्रहरीका अनुसार घैँटेको समूहमा आबद्ध समिरमानसिंह बस्नेत भारतमा लुकेका छन् । उनी काठमाडौँको बाफल क्षेत्रमा गुन्डागर्दी गर्थे र घैँटे मारिएलगत्तै भारत भागेका थिए । चक्रे मिलनको समूहमा आबद्ध विशाल गुरुङ ‘छोटा’, सशांक लामा, देव गुरुङ र मनबहादुर गुरुङ हङकङ पुगेका छन् । उनीहरू तीनै जना लागूऔषधको मुद्दामा जेल बसेर निस्किएका हुन् । 

हङकङ यस्तो ठाउँ हो, जहाँबाट नेपालमा समेत गुन्डागर्दीको सञ्जाल विस्तार भएको छ । पोखरा घर भएका चेतन गुरुङ ‘छोटा’ र विशाल गुरुङले हङकङमै बसेर नेपालस्थित चक्रे मिलनको समूहसँग मिलेर यस्तो सञ्जाल चलाउँछन् । नेपालबाट मकाओ, लाओसमा कामदार पठाउँदा यी दुवै समूहलाई नजराना दिनुपर्छ । “उनीहरूलाई छलेर कामै गर्न सकिँदैन,” एक जना वैदेशिक रोजगार व्यवसायी अनुभव सुनाउँछन् । चक्रे मिलनको समूहकै दीपक हमाल ‘तालु’ पाँच महिनाअघि दुबई पुगेका छन् ।

युरोपमा चाहिँ ‘भिजिट भिसा’मा सहजै जान सकिने भएकाले पोर्चुगल धेरैका लागि शरणस्थल भएको छ । स्थायी बसोवास (पीआर) पाउन सहज हुने भएकाले समेत उनीहरूको नजर पोर्चुगलतर्फ घुमेको हो । शैक्षिक परामर्श संस्था ( कन्सल्टेन्सी)मार्फत गुन्डागर्दीमा संलग्नहरूसमेत पोर्चुगल पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जस अनुसार १२ देखि २० लाख रुपियाँसम्ममा पोर्चुगल पुगिन्छ । प्रहरीको अभिलेख अनुसार गुन्डागर्दीमा संलग्न दुई जना पोर्चुगल पुगिसकेका छन्, प्रवेशमान श्रेष्ठ र माइला लामा ।

चरी मारिएलगत्तै प्रवेशमान पोर्चुगल छिरेका हुन् । काठमाडौँ क्षेत्रपाटीका प्रवेशमान घैँटेका प्रमुख लडाकू थिए । पटकपटक पक्राउ पर्दै छुट्दै आएका उनी दुई वर्षदेखि पोर्चुगलमै छन् । बाघबहादुर लामा (बाघे)को समूहका माइला लामासमेत पोर्चुगल छिरेका छन् । “अन्य केही समेत गुपचुप रूपमा पोर्चुगल जाने प्रक्रियामा रहेको सूचना आएको छ,” महाशाखाका एक प्रहरी अधिकारी भन्छन् ।

घैँटेकै समूहमा काम गरेका जुदा लामा तीन महिनादेखि फ्रान्समा छन् । जुदाविरुद्ध क्यासिनोमा चर्को ब्याजदरमा पैसा लगानी गरेको, घरजग्गा जबर्जस्ती कब्जा गरेको जस्ता उजुरी छन्, प्रहरीमा ।

गुन्डागर्दीमा संलग्नहरू धमाधम देश छोड्न थालेको जानकारी प्रहरीलाई छ । त्यति मात्र होइन, कतिपय त स्थायी रूपमै उतै भासिने गरी थातथलो छोडिरहेका छन् । देश छाडेकाहरूमध्ये हत्या, अपहरणजस्ता गम्भीर प्रकृतिका आरोपीहरूसमेत छन् । अब उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने उपाय के होला त ? महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सहकूल थापाका अनुसार अपराधको प्रकृति हेरेर इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेर पक्राउ गर्न सकिन्छ । भन्छन्, “तर, गुन्डागर्दीमा मात्रै संलग्न भएकाहरूलाई यो प्रक्रियाबाट ल्याउन अप्ठ्यारो हुन सक्छ ।”

नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) नवराज ढकालका भनाइमा गुन्डागर्दीको माध्यमबाट जघन्य प्रकृतिका अपराधहरू जन्मिएका छन् भने इन्टरपोल अथवा द्विपक्षीय सम्बन्धको बाटोबाट समाधान खोजिने विश्वव्यापी प्रचलन हो । उनी थप्छन्,  “गम्भीर अभियोग लागेकाहरूलाई संसारको जुनसुकै कुनाबाट पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । अझ मुख्य कुरा त गुन्डागर्दीमा संलग्नलाई प्रहरी संयन्त्रले चाहने हो भने स्वदेशमै तह लगाउन सक्छ ।”

प्रकाशित: जेष्ठ ३१, २०७३