अजर अम्बर

- रमण घिमिरे

ग्रान्डी इन्टरनेसनल अस्पतालमा २५ जेठको बिहान संगीतज्ञ अम्बर गुरुङ, ७९, को देहावसानको खबर पाएर पाटनस्थित घरमै झोक्राइरहेका थिए, संस्कृतिविद् सत्यमोहन जोशी । उनी सम्झिरहेका थिए, आफ्ना प्रिय मित्रलाई । गर्व गरिरहेका थिए, उनको गहकिलो सांगीतिक जीवनका प्रति ।

अम्बरलाई ‘ट्यालेन्टेड’ मात्र भन्दा कन्जुस्याइँ हुने ठान्छन् सत्यमोहन । बरू, त्यसभन्दा माथिल्लो स्तरको विशेषण छान्छन्, ‘जिनियस’ । कुनै समय महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि ठ्याक्कै यही शब्द प्रयोग गरिएको थियो ।

पूर्वीय र पाश्चात्य संगीतका गहिरो अध्येता अनि नेपाली लोक तथा परम्परागत संगीतका ज्ञाता थिए अम्बर । “नेपाली परम्परागत लोक शैलीलाई पाश्चात्य संगीतमा सम्मिश्रण गरेर अम्बरले बडा सुन्दर संगीत सिर्जना गरेका छन्,” उनी सम्झिन्छन्, “उनको सिंगो जीवन संगीतमै बित्यो । कुनै पनि मोडमा संगीतबाहिर मन डुलाएनन् ।”

अम्बर गुरुङले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा संगीत निर्देशकको जिम्मेवारी सम्हाल्दा त्यहीँ सदस्य–सचिव थिए, सत्यमोहन । “अम्बरलाई राजा महेन्द्रले जुन इज्जत र सम्मानका साथ प्रज्ञा–प्रतिष्ठानमा भित्र्याएका थिए,” उनी थकथकी मान्छन्, “त्यहाँकै केही प्राज्ञले उनलाई आफ्नो क्षमता अनुसारको काम गर्न दिएनन् ।”

‘एक जुगमा एक दिन एकचोटि’ जन्मिने यस्ता संगीत साधकलाई प्रज्ञा–प्रतिष्ठानले २८ वर्ष सिर्फ जागिर दियो तर उनको सिर्जनशील प्रतिभालाई पुष्पित र पल्लवित हुने परिवेश दिन सकेन । उनको प्रतिभा रातो जिल्दा भएको पहेँला पन्नाको बायाँ कुनामा गीतका बोल र दायाँ कुनामा स्वरलिपि लेखिएको बहीखाताभित्रै बन्द हुन पुग्यो ।

यति हुँदाहुँदै पनि अम्बरले संगीतमा विशिष्ट काम गरेर देखाए । नेपालमा दिव्य ४७ वर्ष बिताउँदा नेपाली आधुनिक संगीतका शिखर–पुरुषका रूपमा चिनिए, जानिए । प्रवासबाट उनीअघि र पछि आएका प्रत्येक व्यक्तिले राजधानीमा घर मात्र ठड्याएनन्, सहज रूपले जीवन चलाए र बारम्बार अनुकूल अवसर र आर्थिक सम्पन्नताको स्वाद चाखे । तर, अम्बरको ७९ वर्ष लामो जीवन–यात्रा डेरामै सकियो ।

नौनाडी गलिसकेपछि उनलाई नेपाल संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपति बनाएर थन्काइयो । तर, त्यस अवस्थासम्म आइपुग्दा विभिन्न रोग र उमेरका कारण उनले नेपाली संगीतमा खासै योगदान पुर्‍याउन सकेनन् । उनको पाँचवर्षे कार्यकाल खासै स्मरणीय रहेन ।

आफ्नो पहिलो सिर्जना ‘नौ लाख तारा उदाए...’मै उनले नेपाली संगीतमाथि विलक्षण प्रयोग गरेर आफ्नो सिद्धहस्त प्रतिभा देखाए । त्यो, संगीतका लागि गरिएको नितान्त संगीत थियो ।

लगत्तै रेकर्ड भएका हुन्, ‘म अम्बर हुँ तिमी धर्ती...’, ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न...’, ‘घाम, जून पञ्च राखी बाचा मार...’ लगायत चारवटा गीत । ‘नौ लाख तारा....’को प्रचण्ड लोकप्रियताका कारण त्यो गीत रेकर्डिङ गर्ने कम्पनी एचएमभीले अम्बरलाई आफ्नै लगानीमा चारवटा गीत रेकर्ड गरिदिने प्रस्ताव राख्यो ।

सफल संगीतज्ञ/प्रयोक्ता

अम्बर संगीतका सफल प्रयोक्ता थिए । उनको संगीत टोलीका गितारवादक पिटर जे कार्थक यसको उदाहरणमा अम्बरले आफ्नै रचना संगीत र स्वरमा रेकर्ड गरेको दोस्रो गीत ‘म अम्बर हुँ तिमी धर्ती...’लाई अघि सार्छन् । करिब ५५ वर्षअघि कोलकातामा रेकर्ड भएको थियो यो गीत । अम्बरले गीतमा जसरी आकाश, धर्ती र क्षितिजको प्रसंग उठाएका छन्, वाद्य–संयोजनका माध्यमले पनि यसको प्रस्ट अनुभूत गराएका छन् । पिटर भन्छन्, “यस गीतमा दार्जीलिङको छुकछुके रेलमा यात्रा गर्दा झ्यालबाट देखिने दृश्यावलीको परिकल्पना गर्नुभएको हो अम्बर सरले ।” हुन पनि गीतले आकाश देखाउँछ, पहाड, हिमाल, तराई अनि परको क्षितिज देखाउँछ । अनि, गीतले भन्छ, ‘न त छ त्यहाँ क्षितिज, न त छ मधुमय संगम, म अम्बर हुँ तिमी धर्ती, लाखौँ चाहे पनि हाम्रो– मिलन कहिल्यै नहोला । पिटर थप्छन्, “यसको धुन र अर्केस्ट्रा जति सुमधुर सुनिन्छ, त्यति नै यो ‘क्लासिक’ पनि छ ।”

अम्बर साह्रै सरल र निष्कपट थिए । गायक दीप श्रेष्ठ उनीसँगको एउटा प्रसंग सुनाउँछन् । केही दशकअघि, अम्बर गुरुङ, दीप श्रेष्ठ, हेमन्त श्रेष्ठ र नेपाल प्रज्ञा–प्रतिष्ठानका ध्वनि निर्देशक यादव खरेल एउटा गाडी रिजर्भ गरेर मनकामना दर्शनका लागि निस्केछन् । त्यतिबेलासम्म केबुल कार आइसकेको थिएन । आँबुखैरेनी पुगेपछि दुई दिनका लागि मनकामनामा पूजाआजा नहुने भन्ने थाहा पाएछन् । अब के गर्ने ? आई त हालियो, पोखरा पुगेर फर्किंदा मनकामना जाऊँ भन्ने सल्लाह गरेछन् ।

दुखद के भने त्यसै दिन फर्किने भनेर काठमाडौँबाट सीमित खर्चपर्च बोकेर निस्केका थिए । पोखरा पुग्दा जिपमा पेट्रोल पनि निथ्रियो, गोजीको पैसा पनि सकियो । अनि, दीपले त्यहीँका एक परिचित रेस्टुराँवालालाई भनेर बाटो खर्च उठाउन एउटा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरे । “मलाई त मेरा गीत कण्ठै थिए तर अम्बर दाइलाई आफ्नो कुनै पनि गीत कण्ठ हुँदैन रहेछ,” दीप सम्झिन्छन्, “अनि, मैले महेन्द्रपुल छान मारेर बल्लतल्ल तीन–चारवटा गीतका पुस्तकमा अम्बर दाइका आठवटा गीत पाएँ र कार्यक्रम गर्‍यौँ ।”

दीपका अनुसार अम्बर गुरुङ जति सरल र रमाइला मानिस थिए, उनको संगीत त्यति नै कठिन हुन्थ्यो । दोभान एल्बममा गीत गाउँदा उनले यो कुरा थाहा पाए । “सुन्दा सजिलोजस्तो लाग्थ्यो तर गाउने अभ्यास गर्न थालेपछि मलाई निकै गाह्रो भयो ।” गोपाल योञ्जन, शान्ति ठटाल, नातिकाजीहरूका गीतमा सजिलै गाइसकेका दीपले त्यसबेला थाहा पाए, अम्बर संगीतको विलक्षण विशेषता ।

सुन गुञ्जेको गीत

सुन खोलाको गीत सुन

माथि आकाश गाउँछ

तल धर्ती गाउँछ

यो कसको हो गीत भन !

कुनै रात ब्यूँझेर सुन

कुनै रात उठेर सुन

अन्जान नबन

यो तिम्रै हो, गीत सुन !

उनको शब्द र संगीतमा रहेको यो गीत रेकर्ड भएको छैन । तर, अम्बरलाई चिनाउन यो गीत पर्याप्त छ । यस्तो लाग्छ, उनी आफ्नो सिर्जनाबाट आफूलाई फुल्याउन सक्ने प्रतिभा हुन् ।

संगीतका महाविद्यालय

अम्बर गुरुङ आफैँमा एक सशक्त संगीतकार, गीतकार र गायक थिए । यसबाहेक संगीतका एक महाविद्यालय नै थिए । उनले सिकाएका दार्जीलिङका कर्म योञ्जन, गोपाल योञ्जन, शरद प्रधान, रन्जित गजमेरदेखि पिटर जे कार्थकसम्म आफ्नो साधनामा लोकप्रिय र प्रतिष्ठित भए । सुगम संगीतका क्षेत्रमा अम्बरका जति ‘टिचिङ’ र शिष्य सम्भवत: अरू कुनै सर्जकका पनि छैनन् । 

उनले यहाँ आएपछि प्रशिक्षण दिएका दीपक जंगम, शक्तिवल्लभ, राजकुमार श्रेष्ठ, आभास, शिशिर योगीजस्ता दर्जनौँ प्रतिभाले यसै क्षेत्रमा पृथक् स्थान बनाइसकेका छन् । उनले लामो समय नेपाल संगीत विद्यालय, पिंगलास्थानको संगीत प्रिन्सिपल भई काम गर्दा पनि दर्जनौँ गायक–गायिका र संगीतकारहरू जन्मेका छन् ।

‘मालती–मंगले’ गीतिनाटकको उत्कृष्ट संगीत अम्बर गुरुङको जीवनमा सधैँ गाँसिएर आउने एउटा सांगीतिक मोड हो । उनले पहिलोपटक ‘कोयार’जस्तो नेपालमा कहिल्यै प्रयोग नभएको सांगीतिक शैलीको रसास्वादन गराए । संयोग पञ्चायती शासनसत्तासँग गाँसिएर आएका यी प्रतिभाले दोस्रो जनआन्दोलनपछि आएको लोकतान्त्रिक नेपालको राष्ट्रगानको संगीत गर्ने अवसरसमेत पाए ।

सर्जकको सिर्जनाबाहेक अर्को कुनै वाद हुँदैन । हो, उनलाई राजा महेन्द्रले नेपाल ल्याएका थिए । उनले राजा महेन्द्रका गीत पनि गाए, एउटा सर्जकका नाताले अर्को सर्जकका सिर्जना ठानेर । साथै, लोकतन्त्रको राष्ट्रगानमा पनि संगीत भरे, सिर्जना नै मानेर ।

अधुरो अर्केस्ट्रा

दार्जीलिङमा हुँदा होस् या नेपाल आएपछि, अम्बर गुरुङको मुख्य ध्येय थियो नेपाली संगीतलाई सुसम्पन्न अर्केस्ट्रायुक्त शैलीमा डोर्‍याउने । दार्जीलिङमा जन्मे–हुर्केका उनलाई त्यहाँँका चर्चमा गुन्जिने अर्केस्ट्राहरूले सानैदेखि आकर्षित गरिरहे । उनले चर्चबाटै सिके पाश्चात्य संगीत ।

“उहाँले ब्रिटिसकालीन चर्चको प्रभावले नेपालमा चलेका भन्दा भिन्न पाश्चात्य हार्मोनाइजको शैली आफ्नो संगीतमा भित्र्याउनुभयो, प्रयोग गर्नुभयो,” आभास भन्छन्, “यो नेपाली संगीतमा नितान्त नौलो प्रयोग थियो ।” तर, त्यो शैली दार्जीलिङमा पहिल्यै लोकप्रिय थियो । मञ्चीय कार्यक्रम र रेडियो नेपालमा घन्किन थालेपछि त्यसको प्रभाव नेपाली संगीतमा अकासिँदै गयो ।

अम्बर गुरुङको अर्केस्ट्रामोह अद्भुत थियो । उनी नेपाली संगीतलाई अर्केस्ट्रा–सम्पन्न सांगीतिक धारमा हिँडाउन चाहन्थे । उनका अर्का शिष्य राजकुमार श्रेष्ठ भन्छन्, “उहाँको यही मोहका कारण पछि नारायणगोपाल संगीत कोषले बाल मन्दिरसँगको सहकार्यमा स–साना नानीहरूलाई भ्वाइलिन सिकाउन थालेको हो ।”

बाल मन्दिरकै बालबालिकालाई अर्केस्ट्रा निर्माणका लागि छान्नुको पनि कारण छ । श्रेष्ठ भन्छन्, “हुनेखाने परिवारका बालबालिकालाई संगीत सिकायो भने तिनीहरूले निरन्तरता दिँदैनन् तर पराश्रित बालबालिकालाई यसमा रत्याउन सकियो भने तिनीहरूले जीवनभरि नै यसलाई निरन्तरता दिन्छन् भन्ने सोचाइ थियो ।”

अम्बर आफू सानो हुँदा दार्जीलिङे चर्चका पादरीहरूले बालबालिकालाई अग्र्यान बजाउन कसरी आकर्षित गर्थे भन्ने कथा सुनाइरहन्थे । त्यसबेला दार्जीलिङमा नियमित संगीत सिक्न आउने नानीहरू पाउन हम्मेहम्मे भएपछि पादरीहरूले एउटा जुक्ति झिके । उनीहरूले आह्वान गरे, ‘ज–जसले पूरा समय संगीत सिक्छ, त्यसले राती डिनर खान पाउँछ ।’

त्यसैको पुनरावृत्ति स्वरूप अम्बरले भ्वाइलिन सिकाउनका लागि बाल मन्दिरका विद्यार्थीलाई छाने । उनी भन्थे, ‘तिनीहरूसँग जीविकाको अर्को माध्यम हुँदैन । त्यसैले जीवनभरि यसैलाई उनीहरूले माध्यम बनाउँछन् । र, आजीवन संगीतलाई छोड्दैनन् ।’

अम्बरको अर्केस्ट्रा–मोहको एउटा चाखलाग्दो प्रसंग छ । उनको रूपरेखा पत्रिकाका सम्पादक उत्तम कुँवर र शंकर लामिछानेसँग बाक्लै भेटघाट हुन्थ्यो । एक दिन अम्बरले राजा महेन्द्रसँग भेटको अवसर पाएको उत्तमलाई सुनाएछन् । उत्तमले सुझाएछन्, ‘तपाईंलाई राजाले के चाहियो भनेर अवश्य सोध्लान्, त्यसबेला सरकार एक टुक्रा जग्गा निगाह भए सानो बासको व्यवस्था गर्नसक्ने थिएँ भनेर माग्नुहोला, राजाले व्यवस्था गरिदिन्छन् ।’

नभन्दै राजाले उनलाई त्यही सोधेछन् । तर, उनले उत्तमले सिकाएको कुरा भनेनन् । बरू, अनुरोध गरे, ‘सरकार एउटा राम्रो अर्केस्ट्रा बनाउने इच्छा छ, निगाह भए म आभारी हुने थिएँ ।’ उनको जीवनकालमा अर्केस्ट्रा त तयार भएन भएन, एउटा सानो बासको जोहो पनि हुन सकेन ।

उनको जीवन सकस सकसमै बित्यो । ‘मैले संगीत गरेर बेस्मारी सम्पत्ति कमाएको भए, त्यसले पैसाका लागि संगीतको दोकान थाप्यो भन्ने आरोप लाग्थ्यो होला,’ उनले भनेका थिए, ‘पैसा कमाउनु नै थियो भने म व्यापार गर्थें होला । संगीतमा किन लाग्थेँ र ? यो मैले रोजेको पेसा हो । जस्तै प्रतिकूलतामा पनि म यससँगै यात्रा गरिरहन्छु ।’

उनलाई थाहा थियो, आफ्नो संगीतको मूल्य माग्ने हो भने आज पनि ५० हजार रुपियाँ फाल्ने थुप्रै मान्छे भेटिन्छन् । तर, त्यो उनको पेसा र साधनालाई पराजय गराउने कुरा थियो । अम्बरले १० वर्षअघि पंक्तिकारसँग भनेका थिए, “मैले के बुझेँ भने सम्पत्ति भए पनि त्यसले मलाई अजम्बरी राख्न सक्तैन । जति नै उपचार गरे पनि मृत्युको ओखती त हुँदैन, एक दिन यहाँबाट जानैपर्छ ।”

नभन्दै उनी नेपाली गीत संगीतलाई अजर अमर राख्ने आफ्ना सिर्जना छाडेर गइदिए, २५ जेठमा । तर, सिद्धहस्त संगीतज्ञ, नामुद गीतकार, गायक, नेपाली आधुनिक संगीतका मूर्धन्य व्यक्तित्व अम्बर गुरुङ सदा–सर्वदा अमर छन्, उनको गीतजस्तै :

म दूर भएर के भो

अभिशाप छाएर के भो

यति रोएँ जिन्दगीमा

कि फेरि रोएर के भो....!

पियानो छुन पाएको क्षण

(पत्रकार देवेन्द्र भट्टराईको प्रकाशोन्मुख कृति अम्बर जीवनबाट लिइएको अंश ।)

अम्बर गुरुङ दार्जीलिङका अधिकांश सांगीतिक कन्सर्टमा रमिते बनेर पुगिरहेका हुन्थे । जिमखाना क्लबको पश्चिमेली संगीत होस् वा नृपतनारायण हिन्दु पब्लिक हलमा घन्कने बंगाली समुदायको संगीत । ती कन्सर्टबाट फिरेपछि उनी मध्यरातसम्म पनि ती बाजागाजा, गायन र बादनलाई मनैमनमा केलाइरहेका हुन्थे । एक साँझ त्यही क्लबमा पियानोवादन भइरहेको थियो । अम्बर पनि एउटा कुनामा उभिएर पियानो धुन सुनिरहेका थिए । त्यहाँ को वादक थिए, कुन सुर थियो– उनलाई केही पत्तो थिएन । तर, त्यो बाजा एकपटक छुन मात्रै पाए पनि कस्तो हुन्थ्यो होला भन्ने मनभित्र छँदै थियो । त्यही सोचाइ मनमा कुदिरहेका बेला एक ‘एंग्लो–इन्डियन’ अधवैँशे महिला कराउँदै आइपुगिन् ।

उनी ठूलठूलो स्वरमा भन्दै थिइन्, ‘यो हल अब कसले स्वीप गर्छ ?’ 

त्यो गर्जन अम्बरका लागि भने एक अवसरझैँ बनेको थियो । त्यही भएर उनले जवाफ दिए, ‘म बढारिदिन्छु ।’ 

ती महिला यो जवाफबाट छक्कै परिन् ।

‘तिमी त विद्यार्थीजस्तो छौ, घर कहाँ हो ?’

आफनो वृत्तान्त सुनाउँदै अम्बर हल बढारिरहेका थिए । उनको त्यो अभीष्टमा अरू कुनै स्वार्थ थिएन बरू पियानो एकपटक छुन पाइन्थ्यो कि भन्ने थियो । त्यही घडी ती महिला भने पियानो ढक्कन पुछ्दै बजाइरहेकी थिइन् । अम्बर पनि बाजाको धुन सुन्दै, ती महिलाका औँलाका चाल हेर्न नजिकै पुगेका थिए । केही छिन बजाएर ती महिलाले सोधिन्, ‘कस्तो छ मैले बजाएको ? तिमीलाई राम्रो लाग्यो कि लागेन ?’

अम्बरले पनि उत्साहित बन्दै सुनाए, ‘एकदम मीठो लाग्यो ।’ एकाएक ‘तिमीलाई आउँछ भने ल बजाऊ त’ भन्दै तिनले अम्बरलाई पियानो छुन दिएपछि उनी हर्षले झन्डै बौलाएका थिए । त्यसपछि उनले डराउँदै सुरुमा ‘सा–रे–ग–म–प–ध–नि–सा...’ बजाए । त्यसपछि त्यसको अवरोह र अरू अलंकारहरू पनि बजाए । प्रसन्न बन्दै ती महिलाले थपिन्, ‘अब देब्रे हातले बजाऊ त †’ 

‘अहँ, बजाउन जान्दिनँ,’ उनले जवाफ दिए ।

‘साइट रिडिङ गर्न सक्छौ ? अथवा नोटेसन पढ्न सक्छौ ?’

‘अहँ, सक्दिनँ ।’

‘नोटेसन नपढी तिमी कसरी म्युजिसियन बन्न सक्छौ ?’

त्यसपछि पनि ती महिलाले केही प्रश्न गरिन्, केही सुझाव दिइन् । तर, ती सबै इतिवृत्तिको अम्बरलाई सम्झना छैन । जीवनमा पहिलोपटक एउटा मुख्य बाजा छुन पाएको क्षण नै काफी थियो । त्योसँगै नोटेसन पढ्न जान्न हुनुपर्ने र देब्रे हातले बजाउन जान्नुपर्ने जस्ता सुझाव पनि उनका मनमा पछिसम्मै गढेर रहे ।

संगीतमा धेरै कुरा सिक्ने हुटहुटी मनमा थियो । तर, दार्जीलिङमा संगीत सिकाउने न संस्था थिए, न कुनै गुरु । तैपनि, आफैँ अनेक उपाय खोजी हिँड्थे अम्बर । संगीतसम्बन्धी अनेक किताब र पत्रिका किन्थे । ती किताब कि त अंग्रेजीमा कि हिन्दीमा हुन्थे । भाषा त बुझिन्थ्यो तर प्राविधिक शब्दावली भने मरिगए दिमागमा छिर्दैनथ्यो । आफूले स्कुले शिक्षामा पढेविपरीत संगीतमा ‘दुई र दुई जोडे तीन पनि हुन्छ’ भन्ने असम्भव लाग्थ्यो ।

त्योबेला गोर्खा दु:ख निवारक सम्मेलनको हल नै नेपालीहरूको संगीत, नाटक र सांस्कृतिक सभ्यता–अस्तित्वको मूल केन्द्र थियो । सम्मेलनमा हुने कन्सर्टहरूमा निरन्तर भाग लिएका कारण अम्बर दार्जीलिङभर निकै लोकप्रिय थिए । अग्रज कलाकारहरूले दिएको सुझाव उनी खुरुखुरु ग्रहण गर्थे । त्यही हलमा खुट्टाले पम्प गर्नुपर्ने एउटा ओर्गन थियो, जसको स्वर असाध्यै मीठो थियो । त्यो बाजा बजाउन अम्बर जहिल्यै लालायित भइरहेका हुन्थे । तर, त्यसको बिर्कोमा जहिल्यै ताल्चा मारिएको हुन्थ्यो । त्यो कहिले स्टेजको दायाँ त कहिले बायाँ फर्किएको हुन्थ्यो । 

एक दिन स्कुल बिदा भएपछि अम्बर सोझै त्यो ओर्गन राखिएको ठाउँमा हान्निएर पुगे । उनले बिर्कोको ताल्चा तानेका मात्रै के थिए, त्यो खुलिहाल्यो । त्यसपछि उनी यति मस्त भएर बाजा बजाउन लागे कि समय बितेको समेत चाल पाएनन् । एक सुरमा बजाइरहेका बेला एक जना अधवैँशेले उनलाई कोट्याएर बोलाउँदै भने, ‘तिमीलाई उहाँ सरले बोलाउनुभएको छ ।’

अम्बरले झस्किँदै पछि हेरे । त्यहाँ मेचमा आसीन एउटा व्यक्ति दौरा, सुरुवाल र टोपीमा थियो । झट्ट हेर्दा भद्रजन लाग्ने ती नौला व्यक्तिले चपाइरहेको पानबाट सुगन्धित जर्दाको बास चलिरहेको थियो । अम्बर ‘नमस्कार’को अभिवादन गर्दै तिनीछेउ पुगे । ‘तिमीले बजाएको म अघिदेखि सुनिरहेको छु, निकै राम्रो बजाउँदा रहेछौ । कहाँ सिकेको ?’

‘म आफैँ सिकेको,’ अम्बरले धकाउँदै जवाफ फर्काए । 

‘होइन होला । के तिम्रो गुरुले नाम नबताउनु भनेको छ ?’ 

‘होइन सर, आफैँले सिकेको ।’

‘तिम्रो नाम के हो ?’

‘अम्बर ।’

‘पूरा नाम भन न...!’

‘अम्बर गुरुङ ।’

‘घर कहाँ हो ? 

‘लालढिकी ।’ 

‘कहाँ पढ्छौ ?’

‘टर्नबुल हाइस्कुल ।’ 

‘कुन क्लासमा ?’

‘८ एमा...।’

‘तिम्रो घरमा यस्तो बाजा छ ?’

‘छैन ।’

यति वार्तालापपछि ती व्यक्तिले आफूपछाडिको कसैलाई बोलाएर आदेश दिए, ‘यो केटालाई यो ओर्गन बाजा जहिले पनि बजाउन दिनू ।’ त्यसपछि ती सज्जनले अम्बरलाई धाप मार्दै भने, ‘राम्रो गरी प्राक्टिस गर्नू तर बाजा बजाएर मात्र हुँदैन, पढ्न पनि त्यत्तिकै ध्यान दिनू † यो झ्याउरे टाइपका गीतभन्दा माथिल्लो तहका गीतहरू हामीले यहाँ बनाउनैपर्छ । तब मात्रै हामीलाई अरूले हेप्न सक्दैनन् ।’

ओहो कस्तो क्षण † अम्बरले अझै भुलेका छैनन् ती सज्जनको अनुहार र अमृतवचनजस्तो उपदेश । पछि थाहा भयो, ती सज्जन त गोर्खा दु:ख निवारक सम्मेलनका संस्थापक सदस्य, समाज सुधारक र आफैँ नाटककार–अभिनेतासमेत पो रहेछन् । उनी थिए, प्रात:स्मरणीय एचडी लामा । 

त्यो समयमा गीत रेकर्ड हुने वा प्रचार हुने मिडियाको अभाव थियो नै । रेकर्ड नभए पनि केही गीत भने निकै प्रसिद्ध थिए । यद्यपि, यी गीतका रचनाकार/संगीतकारबारे अम्बरलाई पनि पत्तो छैन । जस्तो कि :

(क) बोले आँखाको चालमा

मन फँस्यो प्रेमजालमा

(ख) बितेको दिनको यादले गर्दा

तनमन छिया भयो

(ग) भग्न हृदयको करुण कहानी आदि आदि । 

लोकप्रियताका आधारमा र सुनेकै भरमा अम्बर पनि यी गीत गाउँथे । तर, सबै गीत सधैँ अधुरै रहन्थे । अहिलेजस्तो क्यासेट/सीडीको त्यसबेला कल्पना पनि थिएन । अम्बरका अनुमानमा दार्जीलिङमा नेपाली आधुनिक संगीतको सुरुआत त्यसबेला भइसकेको थियो । उनलाई के पनि सम्झना हुन्छ भने आधुनिक गीतका प्रणेताहरूमध्ये प्रमुख स्व दलसिंह गहतराज थिए । 

दलसिंह टर्नबुल स्कुलमा शिक्षक थिए । विद्यार्थीहरू उनलाई डीएस सर भन्थे । अम्बर ७ कक्षामा पढ्दा उनी अंग्रेजी र इतिहास पढाउँथे । स्कुले कार्यक्रममा उनी असाध्यै मीठा गीत रच्थे । अम्बरसहितका विद्यार्थी स्वरमा स्वर मिलाएर गाइरहेका हुन्थे । दलसिंह जीवित रहुन्जेल अम्बरको नित्य सम्पर्क र असल सम्बन्ध रह्यो । तिनलाई आफ्नो जीवनमा प्रेरणाका अजश्र स्रोत ठान्छन् अम्बर र कृतज्ञतापूर्वक श्रद्धासुमन चढाउँछन्, प्रातस्मरणीय गुरुलाई ।

अम्बरसँगै दार्जीलिङमा देखिएका अत्यन्त प्रतिभाशाली संगीतज्ञ र कम्पोजर कपिलराज सुब्बाको नाम यहाँ उल्लेख्य मात्रै होइन, अनिवार्य पनि छ । उनमा स्वर माधुर्यका साथै सुन्दर ढंगले भायोलिन बजाउन सक्ने क्षमता थियो । अर्का गीत, संगीत र स्वरका धनी गगन गुरुङलाई पनि अम्बर सम्झन चाहन्छन् । त्यसपछिका प्रतिभामा शरण प्रधान, गोपाल योञ्जन, रन्जीत गजमेर र कर्म योञ्जनहरू थिए । गायिकामध्ये शान्ति ठटाल स्तरीय कम्पोजरसमेत थिइन् । अरूणा लामा र दिलमाया खाती दार्जीलिङका मात्र नभएर नेपाली गायन आकाशका पनि उज्ज्वल नक्षत्र हुन् । 

दार्जीलिङका आधुनिक गीतहरूमा एमएम गुरुङ अर्थात् मार्टिन माइकल गुरुङ थिए । उनका गीतमा बढी जसो डीएस गहतराजले संगीत भर्थे । मार्टिनको रचना र गहतराजको संगीत रहेको ‘सलल गर्दै बग्छ खोला...’ बोलको गीत अम्बरले स्कुले प्रतियोगितामा गाएर वाहवाही बटुलेका थिए । अगमसिंह गिरी दार्जीलिङका प्रसिद्ध कवि मात्र नभएर उत्तिकै मार्मिक गीतकार पनि थिए । उनले नेपालबाहिर छरिएर बसेका नेपालीका लागि सन्देशमूलक गीतहरू मात्र लेखेनन्, नेपाल राष्ट्रलाई सम्बोधन गरेर अनुपम गीतहरूसमेत रचे । आफू अगमसँग मित्रवत् नातामा मात्र होइन, सांगीतिक अर्थमा पनि उत्तिकै जोडिएकाले अम्बर ‘गिरी दाइ’लाई कुनै क्षण भुल्न सक्दैनन् । उनले लेखेका र अम्बरले गाएकामा ‘नौ लाख तारा उदाए...’ त रेकर्डसमेत भयो । 

(क) सुगौली सन्धि हामीले बिर्सेका छैनौँ भनिदेऊ

     किल्ला काँगडा हामीले बिर्सेका छैनौ भनिदेऊ

(ख) सुन है सुन नेपाली हामीलाई डाक्छ नेपाली

    आँशुको बिन्ती पोखेर रगतको माया सँगाली

(ग) नौ लाख तारा उदाए धर्तीको आँगन हाँसेछ ।

 

प्रकाशित: जेष्ठ ३०, २०७३