यस्तो हुनुपर्थ्यो बजेट

- रामेश्वर खनाल

नेपालको बजेट निर्माण गर्दा तीनवटा जोखिम ख्याल गरेर तर्जुमा गर्नुपर्छ । पहिलो नेपाल भूपरिवेष्ठित मुलुक भएकाले कुनै पनि बेला नाकाबन्दीमा पर्न सक्छौँ । त्यसका लागि कुशन राख्नै पर्ने हुन्छ । भूपरिवेष्ठित मुलुक भएकाले अन्तर्राष्ट्रिय व्यापारमा कुनै पनि बेला संकट आउनसक्छ । आयात नभएपछि कच्चा पदार्थ आउँदैन । त्यतिबेला उत्पादन पूरै ठप्प हुनसक्छ । भूराजनीतिक जोखिमको सामना गर्न पनि वित्तीय अवस्था सुदृढ हुनुपर्छ । 

भारतले त्यतिका समयमा नाकाबन्दी लगाउँदासमेत जुधेर बस्नसकेको त्यही क्षमता भएरै हो । दोस्रो नेपाल संसारकै सबैभन्दा उच्च प्राकृतिक जोखिम भएको मुलुकमा पर्छ । कुनै पनि बेला लाखौँ मानिस संकटमा पर्ने गरी बाढी, पहिरो र भूकम्प जानसक्छ र सुख्खा हुनसक्छ । त्यस्तो बेला सरकारसँग पैसा नभएर अन्तर्राष्ट्रिय समुदायका सामु हात फैलाउनु पर्‍यो भने के अवस्था हुन्छ । अहिले त कतिपय काम दातृ निकायहरूको मुखै नहेरे पनि खर्च गर्न सक्ने हैसियत छ । गत वर्ष त्यत्रो भूकम्प आउँदासमेत तत्कालको राहतका लागि विदेशीसामु हात फैलाउनु परेन । भूकम्पका बेला सरकारलाई जतिसुकै गाली गरे पनि ती जोखिम झेलेकै हो । बाहिरबाट एकसुको सहयोग नआए पनि सरकारसँग केही गर्न सक्ने क्षमता त थियो । पाल त किनेकै हो । भलै त्यसमा भ्रष्टाचार भयो होला । हेलिकप्टर उडाउने क्षमता राख्यो । पैसा भएपछि न चेक काट्ने हो । पोहोरसम्म त अर्थतन्त्रले त्यो जोखिम बहन गर्ने क्षमता विकास भएको थियो । तेस्रो, अन्तर्राष्ट्रिय क्षेत्रमा आइपर्ने विभिन्न आर्थिक र वित्तीय संकटलाई थेग्न सक्ने हुनुपर्छ । जस्तै, २००८ को विश्वव्यापी वित्तीय संकट, ९० को दशकको दक्षिण पूर्वी एसियाको आर्थिक संकट । हामी अहिलेसम्म त्यस्ता संकटको मारमा परेका छैनौँ । जुनसुुकै बेला परिस्थिति बदलिन सक्छ । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ पूरै ओरालो लाग्यो । गल्फ मुलुकको आम्दानी घटेको घट्यै छ । कामदारहरू कुनै पनि बेला फर्किन सक्छन् । त्यो संकटसमेत झेल्न सक्ने क्षमता थियो । यत्तिका जोखिम हुँदाहुँदा कुशन राख्ने कि कसरी ढुकुटी रित्याउन ध्याउन्न राख्ने ? जथाभावी ढंगले कर्मचारीको तलब बढाउने, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने भनेको दिवालियापन बाहेक केही होइन । यी तलब र भत्ता एक पटक बढाएपछि घटाउन सकिँदैन । त्यसैले, यो बजेटले मुलुकलाई नै आर्थिक संकटतिर धकेलेको छ ।

पूर्व अर्थसचिव रामेश्वर खनालसँगको कुराकानीमा आधारित

प्रकाशित: जेष्ठ २३, २०७३