मूल धारमा मधेसी पात्र

- गोकर्ण गौतम

संविधान निर्माणको मुखमै समान अधिकारको माग राखेर तराईमा विरोध र आन्दोलनका आगोका लप्का देखिन थालेका थिए । बन्द, चक्काजामको शृंखला सुरु भएकाले मधेसी जनताको दैनिकी कष्टकर बन्दै थियो तर त्यतिबेलासम्म काठमाडौँमा मधेसको त्यो आहत आइपुगेको थिएन । तैपनि, कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षत्रीको मन भतभती पोल्न थाल्यो, आखिर उनी जन्मी–हुर्किएको वीरगन्जमै त हो । त्यसैले मधेसमाथिको विभेद भेउ नहुने कुरै भएन । तर, चिन्ता आन्दोलनले जीवनशैली कष्टपूर्ण बनाउला भन्दा पनि पहाडी र मधेसी नागरिकबीचको दूरी बढ्ला अनि आत्मीयता घट्ला भन्ने बढी थियो ।

मिठाइलालको मिठास

कान्तिपुर टेलिभिजनमा कमेडी सो ह्वाट द फ्लप सञ्चालन गरिरहेका सन्दीपलाई एउटा यस्तो मधेसी पात्र जन्माउने हुटहुटी पलायो, जसले तराईको प्रतिनिधित्व गरेर पहाड र हिमालसँग मितेरी लगाओस् । केही दिन रन्थनिए, आफ्ना बाल्यकाल र युवावय सँगै बिताएका मधेसी साथी र छरछिमेकीलाई सम्झिए । र, ठ्याक्कै त्यही बेला क्लिक भयो, मिठाइलाल यादव । यो पात्रमा आफूलाई ढाले र सोमार्फत प्रस्तुत गरे । लोकप्रियता उनले सोचेभन्दा व्यापक र फराकिलो भइदियो । “मिठाइलाल कुनै एक मधेसीबाट प्रभावित पात्र होइन, सम्पूर्णताको प्रतिनिधित्व हो,” सन्दीप सुनाउँछन्, “समय सान्दर्भिक पात्र भएर होला, यसको हुलिया, बोलीचाली र मनोविज्ञान दर्शकमाझ प्रिय बनिरहेको छ ।” उनले पात्रमार्फत पूरा मधेसको आवेगलाई रमाइलो र ठट्यौली शैलीमा पोखेका छन् । त्यसैले त कान्तिपुर टीभीमा बिहीबार ९ बजे यसको प्रतीक्षा गरिन थालिएको छ । यही पात्रका रूपमा आफूलाई प्रस्तुत गरेर उनी हालै अमेरिकाबाट स्वदेश फर्किएका हुन् । त्यसअगाडि अस्ट्रेलिया, युरोप र हङकङमा पनि मिठाइलाल पुगिसकेको छ । कलर्स मोबाइलले उनलाई ब्रान्ड एम्बेस्डर बनाउनुको एउटा कारण यही पात्र पनि हो । सामाजिक सञ्जालदेखि नेपालको कमेडीवृत्तसम्म चर्चा हेर्दा लाग्छ, मधेसको मिठाइलाल पहाड र हिमालमा मात्र होइन, विदेशमा बस्ने नेपालीको पनि ‘हटकेक’ बनिरहेको छ ।

यतिबेला मिठाइलालले जुन माया पाएको छ, दुई दशकअघि रेडियो पात्र रामविलास र धनियाँले कमाएको लोकप्रियता त्यसभन्दा कम लोभलाग्दो थिएन । मधेसी लबज र मनोभावमा बोल्ने यस पात्रका जबर्जस्त फ्यान अहिले पनि भेटिन्छन् । यही पात्रपश्चात् दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी बाँधियो । त्यसयता उनीहरूले ‘तीतो–सत्य’ टेलिसिरियल, वडा नम्बर ६ र ६ एकान ६ जस्तो हिट फिल्ममा काम गरे तर अचम्म † रामविलास र धनियाँको छाप कहिल्यै ‘रिप्लेस’ भएन । दीपक सुनाउँछन्, “यो पात्रले हाम्रो जोडी कस्यो, नाम र दाम दिलायो, त्यसैले हाम्रा लागि प्रिय हुने भइहाल्यो तर श्रोताको यसप्रतिको प्रेम अझ गहिरो छ । जहाँ जाऔँ, रामविलास र धनियाँ नबनी सुखै पाइन्न ।” अघिल्लो वर्ष भूकम्पपीडितको सहयोगार्थ हककङ जाँदा उनीहरूले रामविलास र धनियाँ नबनी धरै पाएनन् । जबकि, यो कार्यक्रम रेडियो नेपालबाट प्रसारण हुन छाडेको डेढ दशक बितिसक्यो । यो पात्र दर्शक/श्रोतामाझ कति हिट छ, अनुमान लगाउन यही तथ्य काफी छ ।

दुई दशक अन्तरालका मिठाइलाल अनि रामविलास र धनियाँ मधेसलाई प्रतिनिधित्व गरेर सर्वत्र प्रशंसा कमाएका विरलै पात्रमा पर्छन् । जो मधेसको संस्कृति, लबज, आनीबानी र मनोविज्ञानलाई पहाड र तराईसम्म पुर्‍याएर एकता र सम्बन्धको सेतु बने/बनिरहेका छन् । राष्ट्रिय राजनीति र समाजका अन्य आयामहरूमा जस्तै कलाको दुनियाँमा पनि मधेसको प्रतिनिधित्व कमजोर छ । मूलधारका रेडियो, टेलिभिजन र फिल्ममा मधेसी पात्रको उपस्थिति न्यून देखिन्छ । तर, मिठाइलालहरू त्यो अभाव पूर्ति गर्न उम्दा देखिएका छन् । मधेसका सवाल, संस्कृति र जीवनशैलीलाई राष्ट्रिय रूप दिएका यी पात्र कुनै विशेष क्षेत्र, जाति र समुदायममा मात्र होइन, सर्वत्र प्रिय बनिरहेका छन् । संयोग त के हो भने मिठाइलाल र रामविलास–धनियाँजस्तै मधेसलाई प्रतिनिधित्व गर्ने अन्य पात्र वा कलाकार हास्यव्यंग्य विधामा बढी जमिरहेका छन् ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘जोगिन्दर बोले प्रणाम जी’का जोगिन्दर अर्थात् शिवशंकर रिजाल अर्का उदाहरण हुन् । सुवास गजुरेलले त मधेसी पात्रको ‘ट्रेडमार्क’ नै बनाइसकेका छन् । सुवास जति मधेसी चरित्र निर्वाह गरेका कलाकार सायदै अरू कोही होलान् । दर्जनौँ फिल्म र टेलिफिल्ममा उनले भिन्न–भिन्न मधेसी भूमिकामा आफूलाई उतारिसकेका छन् । ‘तीतो–सत्य’मा मारवाडीका रूपमा देखा परेका रवि शर्मा र सोही टेलिफिल्ममा महिला सभासद् बनेकी संगीता यादवले धेरथोर चर्चा कमाए । कुनै बेला सन्तोष पन्त, नारद खतिवडाजस्ता कलाकारले तराईबासी बनेर वाहवाही बटुलेका थिए । हरिवंश आचार्यले पनि धेरै मधेसी चरित्रमा आफूलाई पस्किसकेका छन् । दीपक सुनाउँछन्, “मधेसी लबज र ठेट बोली बोल्ने पात्र हिमाल र पहाडमा पनि उत्तिकै मन पराउनुले हामीबीचको सांस्कृतिक प्रेम दर्शाउँछ ।”

तर, मधेसी पात्र जन्माउन र त्यसलाई निर्वाह गर्न यी  कलाकारले गरेको मिहिनेत कम्ता रोचक छैन किनभने यी सबै कलाकार आफैँमा मधेसी होइनन्, सिर्फ मधेसमा हुर्किएका वा मधेसलाई नजिकबाट नियालेका मात्र छन् । तैपनि, मधेसी पात्रलाई जीवन्तता दिएर प्रशंसा र प्रेम कमाइरहेका छन् ।

त्यसभन्दा महत्त्वपूर्णचाहिँ यस्ता पात्र पहाड र मधेसी भावनालाई एक ठाउँमा ल्याएर एकअर्काको अस्तित्व स्वीकार्न प्रोत्साहन दिन सफल भएको सन्दीपको बुझाइ छ । जस्तो : मिठाइलालकै कुरा गरौँ न ! सन्दीपको घर मधेसमा छ, पहाडमा मावली । भिन्न भाषा र रहनसहन भएका साथीहरूमाझ हुर्किए उनी तर कहिल्यै सानो वा ठूलो भन्ने महसुस भएन । जब कलाकारिता सुरु गरे, त्यस्ता मधेसी पात्रको उपस्थिति कमै भेटे । त्यसैले सुरुआतबाटै मधेसी बन्ने रहर नपलाएको होइन तर संयोग जुरेको थिएन । मिठाइलालले उनको त्यो चाह पूरा मात्र गरेन, उनलाई ख्याति दिलाउन सहायक सिद्ध पनि भयो । वीरगन्जमा हुर्किएको नाताले उनलाई मैथिली बोल्न समस्या छैन । भन्छन्, “मैले मधेसी जीवन नियालेको मात्र होइन, बाँचेकै छु । त्यही अनुभव मिठाइलालमा पोखेँ, त्यसैले पात्रले जीवन्तता पाएको छ ।” 

अनुहारमा कालो पोतिएको मेकअप, छिर्केमिर्के लुंगी, धर्के कमिज अनि टाउकोमा बाँधिएको गम्छा, ठ्याक्कै टिपिकल हुलिया छ मिठाइलालको । उसले बोल्ने शैली स्थानीय बोलीचालीबाट टपक्कै टिपिएको छ । हुलिया र बोली मात्र होइन, एउटा सामान्य मधेसीलाई प्रतिविम्बित गर्ने मधेसीको मनोविज्ञान यस पात्रको सशक्त पक्ष हो, जसले हरेकपटक ‘पहिचानको कुरा’ दोहोर्‍याइरहन्छ । “अहिले मधेसले खोजेकै पहिचान हो, मिठाइलालले त्यसलाई नै प्रधान मानेको छ,” स्ट्यान्डअप कमेडीमा उत्तिकै लोकप्रिय मानिने यी कलाकार भन्छन्, “त्यसैले हरेक मधेसीले मिठाइलालमा कहीँ न कहीँ आफूलाई पाउँछ । त्यसलाई पहाडीले पनि रुचाएका छन् ।” सायद पात्रको यही महत्त्व र लोकप्रियताका कारण हुनुपर्छ, ‘ह्वाट द फ्लप’ सोको प्रमुख पात्रकै स्थान दिइरहेका छन् सन्दीपले ।

सर्वत्र प्रिय

रामविलास र धनियाँको कहानी त अझ चमकदार छ । लामो संघर्षपछि दीपकराजले रेडियो नेपालमा आधा घन्टाको कार्यक्रम चलाउन पाए, जतिबेला उनको भर्खरै हास्यव्यंग्यकारिता सुरु हुँदै थियो । त्यो कार्यक्रम फरक स्वादको बनाउन पाए, आफू जमिन्छ भन्ने हेक्का थियो उनलाई । तर, के गर्ने ! मेसो पाइरहेका थिएनन् । त्यसभन्दा अगाडि जागिरको सिलसिलामा दुई वर्ष वीरगन्जमा बिताएका थिए, त्यहाँका स्थानीयले नेपाली बोल्दा साह्रै मीठो र नौलो सुनिन्थ्यो । “त्यही बोली र लबज रेडियोमार्फत सुनाउँदा मलाई जस्तै अरूलाई पक्का मन पर्ला भन्ने विश्वास पलायो,” दीपक हाँस्दै भन्छन्, “तर, मेरो अनुमान फेल खायो किनभने श्रोताले त्यो शैलीको बोली मेरो भन्दा ज्यादै रुचाए ।”

सुरुआती केही भागमा रामविलास मात्र फतरफतर बोल्थे अनि श्रोताका रोजाइ अनुसारका गीत बजाउँथे । त्यही बेलै धनियाँ भन्ने पात्र थिइन् तर काल्पनिक मात्र । मतलब रामविलास ‘गाउँमा मेरी प्रेमिका धनियाँ छे...’ भनेर रमाइलो कुरा गर्थे । बिस्तारै धनियाँ पनि ल्याउनु भनेर श्रोताले चिट्ठीमा औधि आग्रह गर्न थाले । त्यही बेला उनको दीपाश्रीसँग भेट भयो । उनलाई मधेसी समुदायको लबज पनि सिकाए । दीपक भन्छन्, “जब धनियाँ बनेर कार्यक्रममा दीपाको इन्ट्री भयो, कार्यक्रमको लोकप्रियताले आकाशै छोयो । हप्तामा हजारौँ चिट्ठी आउँथे त्यतिबेला । हाम्रो सहकार्यले यहीँबाट आधिकारिकता पायो, जुन अझसम्म टुटेको छैन ।” कार्यक्रम हिट भइरहेकै थियो तर ०५५ सालतिर रामविलास नामका नेता उपसभामुख भएपछि कार्यक्रम बन्द गर्‍यो रेडियो नेपालले । दुई वर्षपछि पुन: सुुचारु भयो तर एक वर्ष टिक्न पाए । दीपकले ‘२०५ कीरा’ भनेर सांसद्लाई व्यंग्य गरेपछि उनको जागिर पनि गयो, कार्यक्रम पनि बन्द भयो तर भनिहालियो, दीपक र दीपालाई गाउँदेखि विदेशसम्म अहिले पनि रामविलास र धनियाँ भनेरै चिन्छन् । दीपा एक्लैले सोही बोली र लबजमा रेडियो/अडियोमा ‘धनियाँकी दुनियाँ’ भन्ने कार्यक्रम चलाइरहेकी छन् सात वर्षयता । जहाँ प्रत्येक शुक्रबार साँझ ८ बजे पाहुना निम्त्याएर धनियाँ ठट्यौली प्रश्न सोधेर श्रोतालाई मनोरञ्जन दिन्छिन् । दीपा भन्छिन्, “अब त धनियाँ कुनै पात्र मात्र होइन, आफैँजस्तै लाग्छ ।”

दीपा जसरी धनियाँमा रमाइरहेकी छन्, ठ्याक्कै त्यसरी मधेसी चरित्र गर्न मस्त छन् सुवास गजुरेल । कतिसम्म भने उनलाई वास्तविक जीवनमै मधेसी ठान्ने दर्शकको संख्या ठूलो छ । आखिर काम पनि त उनले त्यस्तै गरेका छन्, दर्जन ज्यादा फिल्म र टेलिफिल्ममा मधेसी बन्नु चानचुने कुरा हो र ! ०४९ सालमा नेपाल टेलिभिजनले एउटा सिरियल बनाएको थियो, ‘राप’ । त्यसमै पहिलोपटक सुवास तराईबासी पात्र रामजी मास्टरको भूमिकामा देखिएका थिए । उनका अनुसार मैथिलीभाषीले आफूहरूको प्रतिनिधित्व भएको भन्दै खुसी पोखे, कति त मैथिलीमै बोल्थे । यसरी त्यो सिरियल र पात्र त हिट भयो नै, सँगै उनलाई मधेसी पात्रले कहिल्यै छोडेन । फिल्म वा टेलिफिल्म, जहाँ मधेसी चरित्र चाहिन्छ, सुवास निर्विकल्प बने । धनुषाको लालगढमा हुर्किएकाले पनि उनलाई मधेसी पात्रलाई पर्दामा जीवन्त बनाउन थप सहज भयो । स्थानीय बोली, लबज र हुलिया प्रिय भइदियो । उनको कालो वर्णले सुनमा सुगन्ध बनिदियो पात्रका लागि । त्यसलगत्तै अलिखित र भावनामा टेलिफिल्ममा मधेसी बने । सानो पर्दामा हिट भएपछि, सम्पत्ति, पुकार, कुरुक्षेत्र, ज्वालाजस्ता ठूला पर्दामा उनले आफूलाई तराईबासी पात्रमा प्रस्तुत गरे । ‘तीतो–सत्य’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘हर्के हबल्दार’, ‘भद्रगोल’लगायतका पछिल्लो दशकका यस्ता लोकप्रिय हास्य सिरियल बाँकी छैनन्, जसमा सुवासले मधेसको प्रतिनिधित्व नगरेका हुुन् । उनको मधेसप्रेम कति गहिरो छ भने तीनवटा मैथिली भाषाका टेलिफिल्म नै बनाए । चार फिचर फिल्म निर्देशन गरिसकेका सुवास भन्छन्, “कलाकार भएपछि सबै भूमिका उत्तिकै प्रिय हुन्छ तर म मधेसी र तराईबासीसँग औधि लोभिन्छु । सम्मान पनि गर्छु ।”

देहातको झझल्को

टेलिभिजनमा मधेसी पात्रका रूपमा देखिएर उल्लेखनीय ख्याति कमाउने अर्का कलाकार हुन्, शिवशंकर रिजाल । उसो त उनलाई यो नामले सायदै कसैले चिन्ला । तर, हिमालय टेलिभिजनमा बिहीबार राती ८ बजे आउने ‘जोगिन्दर बोले प्रणाम जी’का जोगिन्दरलाई नचिन्ने भेट्न मुस्किल हुन्छ । सर्लाही, सुन्दरपुरका सामान्य ठिटोलाई हास्यव्यंग्यको दुनियाँमा ‘ब्रान्ड’ बनाएको र विश्वका २९ देश घुमाएको यही पात्रले न हो । त्यसो त जोगिन्दर पात्र उनले ०६१ मा आफैँले निर्देशन गरेको टेलिफिल्म एक्स्क्युज मिमा खेलेका थिए, पात्रले लोकप्रियता बटुल्दै थियो तर टेलिफिल्म नै बन्द भयो । पछि जब यही पात्रमा निखार ल्याएर पान पसलेका रूपमा टक सो चलाए, चर्चाको घेरा ह्वात्तै फैलियो । पात्रका हिसाबले मात्र होइन, प्रस्तुति र ढाँचामा पनि यो फरक खालको टेलिभिजन कार्यक्रम हो । यसमा टिलिक्क टल्किएको र चमकधमकपूर्ण सेट छैन, न त प्रस्तोताले सुट–टाई नै लगाउँछन् । एउटा पान पसल छ, लुंगी बेरेका र गम्छा बाँधेका पसले मैथिली लबजमा पाहुनालाई गहन सवाल हल्का शैलीमा सोध्छन्, त्यो पनि पान बनाउँदै । मधेसको कुनै गाउँको झल्को दिन्छ । टेलिभिजनमा अक्सर नदेखिने प्रस्तोता र माहोल भएर हुन सक्छ, दर्शकले औधि मन पराएका छन् । तराईको यस पात्रलाई शिवशंकरले पहाड र हिमालमा पनि पुर्‍याएका छन् । उनी स्टेज सो गर्न जहाँ पुग्छन्, जोगिन्दरको ठूलो माग हुन्छ । भन्छन्, “पान पसले मधेसको पनि एउटा सामान्य पात्र हो तर यही नै दर्शकले मन पराए । यसको मतलब, मधेसी पात्रलाई मूलधारमा ल्याउने हो भने अझ लोकप्रिय हुन्छ । विविधतामा एकताको सन्देश पनि दिन्छ ।”

शिवशंकरको भनाइमा सहमत हुने आधार धेरै छन् किनभने कुनै पात्र वा कलाकार मनोरञ्जनको माध्यम मात्र हुन सक्दैन, त्यो समुदाय र क्षेत्रको प्रतिनिधित्व पनि हो । अनि, फरक समुदायका दर्शकले त्यसलाई मन पराउनु भनेको पात्रको पहिचान वा संस्कृति स्वीकार र सम्मान गर्नु हो । त्यसैले माथि उल्लेखित पात्र र कलाकारले कहीँ न कहीँ मधेस र तराई–पहाडलाई जोड्न भूमिका खेलेकै छन् । कम्तीमा मधेसको जीवनशैली, बोलीचाली र रहनसहनलाई अन्य जाति वा समुदायसम्म पुर्‍याएका छन् । यतिबेला विभिन्न राजनीतिक विवादका कारण मधेससँगको दूरी बढेको र हाम्रो अनकेताबीचको एकता धरमराएको आभास हुँदैछ । त्यसैले आममानिससम्म पहुँच राख्ने सञ्चार माध्यममा मधेसको प्रतिनिधित्व अझ खट्किएको छ । मधेसको सम्मानजनक उपस्थितिलाई अझ व्यापक बनाउँदा फरक समुदायको संस्कृतिलाई आत्मसात् गर्ने संस्कार बस्छ नै ।

फिल्ममा हस्तक्षेप

नेपाली फिल्ममा मधेसी पात्रको उपस्थिति जति कमजोर छ, त्यसभन्दा दयनीय अवस्था छ खाँटी मधेसी कलाकारको । फिल्म निर्माणको आधा शताब्दी बितिसक्दा पनि मधेसका कथा, पात्र र कलाकार कहिल्यै मूलधारमा अटाउन सकेनन् । एकाध फिल्ममा मधेसले सबप्लट र सहायक चरित्र त पायो तर त्यो न प्रभावकारी थियो, न त्यसले निरन्तरता नै पायो । जनकपुरका सुनील मिश्रले सिमाना र अवतारमा खलनायकको भूमिका निर्वाह गरेका थिए तर पछि पलायन भए । राजेश हमाल हातमा लाग्यो शून्यमा मधेसी बने पहिलोपटक तर नामजस्तै फिल्मको उपलब्धि करिब शून्य रह्यो । बल्ल आएर केही मधेसी कलाकारले मूलधारमा दरिलो हस्तक्षेप गर्न थालेका छन् । उमाका प्रमोद अग्रहरि, होस्टल रिटन्र्सका नाजिर हुसेन, रेशम फिलिलीका कामेश्वर चौरसिया र अलबिदाका हसन खान उदाहरण हुन् । पर्दामा पनि उनीहरू मधेसी पात्र नै बने ।

उमामा विनीत यादवका रूपमा प्रमोदले जति वाहवाही कमाए, कामेश्वरले हरिनारायण मण्डल र नाजिरले रामेश्वर यादव बनेर त्यस्तै प्रशंसा कमाए । मधेसी लबज, रहनसहन, जीवनशैली र मनोविज्ञानलाई जीवन्त शैलीमा पर्दामा पस्केका यी अभिनेताले ‘हिरो’को परम्परागत मानकलाई नै भत्काए । त्यसैले त उनीहरूको लोकप्रियता र व्यस्तता चुलिइरहेको छ । कालो वर्ण र मैथिली वा भोजपुरी लबज मिसिएको बोली उनीहरूको सफलताको बाधक बनेन । कामेश्वर पलाँस नामक सिनेमामा रेखा थापासँग स्क्रिन सेयर गर्दैछन् भने जंगेको चर्चा सेलाउन नपाउँदै नाजिर अभिनीत गाँठो र वीरविक्रम रिलिज हुँदैछन् । भर्सटायल एक्टरको छवि बनाएका प्रमोदका संरक्षण र झुम्की प्रदर्शनको क्रममा छ । हसन नयाँ फिल्मको निर्माणमा जुटेका छन् ।

प्रकाशित: जेष्ठ १६, २०७३