सदाबहार सत्याग्रही

- राजकुमार बानियाँ

“इन्दिरा गान्धीको हज्बेन्डको नाउँ थाहा छ ?” व्यक्तिचित्रका लागि प्रस्ताव गर्दा फोनमै यस्तो प्रश्न सोधेर असमञ्जसमा पारिदिए । के फिरोज जहाँगिर गान्धीको निजी परिचय छैन ? इन्दिराजति हाई–प्रोफाइलका नहोलान् तर स्वतन्त्रता सेनानी, लखनउका द नेसनल हेराल्ड, नवजीवनजस्ता अखबारका प्रकाशक, राय बरेलीका विधायक उनै होइनन् ?

“म कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्कीको पतिका रूपमा चिनिन चाहन्नँ । उनको आफ्नो परिचय छ, मेरो आफ्नै,” उनले फर्माइहाले, “उनलाई मेरो परिचय चाहिन्न, मलाई पनि उनको परिचय चाहिन्न ।”

प्रधानन्यायाधीशको सरकारी आवासमा बसे पनि कुनै सुविधा लिँदैनन्, दुर्गा सुवेदी, ७० । कतिसम्म भने पत्नीले कर गर्दा पनि अमेरिका भ्रमणमा गएनन् । प्रधानन्यायाधीशका पतिका रूपमा भन्दा पहिल्यै उनी किंवदन्ती भइसकेका छन् नेपाली राजनीतिमा । खास गरी २९ जेठ ०३० को विमान अपहरणका अगुवाका रूपमा । 

हो, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल र दुर्गाको टोलीले विराटनगरबाट काठमाडौँका लागि उडेको ९ ए–एबीबी ट्वीनअटर विमान अपहरण गरी नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अन्तर्राष्ट्रिय उचाइ दिएको थियो । तर, नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको मास्टरप्लानमा भएको त्यो अपहरणको खास तात्पर्य भने विमानभित्र रहेको ३० लाख भारतीय रुपियाँ थियो । 

कोसी ब्यारेजमाथिको आकाशमा लामो ज्याकेट लगाएका यिनै दुर्गाले एउटा हातले पाइलट वैद्यको घाँटी लपेटेर अर्को हातले कन्चटमा पेस्तोल राखेर घोषणा गरेछन्, ‘प्लेन इज हाइज्याक्ड ।’ “१९ यात्रु बोकेको विमान नियन्त्रणमा आइसक्दा पनि फारबिसगन्ज कता छ अत्तोपत्तो थिएन,” दुर्गा भन्छन्, “पछि गिरिजाबाबुले बाटो भुले कोसी नहरैनहर फारबिसगन्ज आइपुगिन्छ भनेको सम्झेँ ।”

त्यसअघि काठमाडौँमा जेल बस्दा रिडर्स डाइजेस्टमा जापानको रेड आर्मीले विमान अपहरण गरी फिरौती मागेको समाचार मात्र पढेका थिए दुर्गाले । दुई वर्षपछि छुटेर विराटनगरमा गिरिजाबाबुको खुफिया–खोपडीमा विमान अपहरणको समाचार हालिदिएका थिए ।

“अपहरण गर्न जाने तीन जना, टिकट दुइटा मात्रै थिए,” उनी सम्झिन्छन्, “त्यही विमानमा माला सिन्हा र सीपी लोहनी जाँदै रहेछन् । सीपीसित टीबीको उपचारको बहाना गरेर टिकट फुत्काएँ ।”

पञ्चायतकालमा विमान अपहरण गरेर हिरोगिरी देखाएका दुर्गा सुवेदी धनकुटा, जितपुरको सामान्य किसान परिवारमा जन्मेका हुन् । १३ वर्षको उमेरमा उनी धरान झरे । निद्रा लाग्छ भनेर टुप्पी बाँधेर पढ्नुपर्ने पिण्डेश्वरी संस्कृत पाठशालाको कठोर अनुशासनमा टिक्न सकेनन् । 

पढाइ हापेर विराटनगर पुगे । जनता हाईस्कुलमा भर्ना भएर ७ कक्षामा प्रथम भए । विराटनगर नगरपालिकाद्वारा आयोजित निबन्ध प्रतियोगितामा पनि प्रथम भएर एक सय रुपियाँ भारु पुरस्कार पाए । नगरपालिकाका मेयर केशव कोइरालाले छात्रवृत्ति दिलाए, मासिक २५ रुपियाँ । 

त्यसै क्रममा बीपी कोइरालाका मेयर भाइसँग उनको हिमचिम बढ्यो । १ पुस ०१७ को केही दिनपछि विद्यालयमा सरस्वती बन्दना चलिरहेका बेला सेनाको टुकडी आयो र राजाको स्तुति गर्न लगायो, ‘श्रीमान गम्भीर... ।’ उनलाई उदेक लागेर आयो । 

बदलिँदो परिस्थितिका कारण मेयर भागेपछि उनको दानापानी पनि हरियो । एक दिन कक्षाकोठाबाटै दुर्गा, केशव भट्टराईलगायतलाई सुरक्षाकर्मीले थानामा लगे । रातभरि भोकभोकै थुनेर भोलिपल्ट छाडिदिए । त्यसपछि कतै पर्चा भेटियो, कतै बम पड्कियो भने उनीहरूकै खोजी हुन्थ्यो । यसरी सरकारले नै उनलाई पञ्चायतविरोधीका रूपमा उभ्याइदियो । उनी जानेर वा नजानेर कांग्रेस भए । 

०२० सालमा एसएलसी गरेपछि उनले मोरङ कलेजमा नाम लेखाए । छात्र संघको चुनावमा नेपाली कांग्रेस समर्थक प्यानलबाट सह–महामन्त्री चुनिए । त्यतिबेलाका सहपाठी (प्राध्यापक) कृष्ण पोखरेलले कम्युनिस्टको प्यानलबाट सदस्य जितेका थिए । कम्युनिस्टवालाले हानेको छडको छाप अहिले पनि उनको तालुमा सुरक्षित छ । उनी जनता हाईस्कुलमै पढाउँथे । विद्यार्थी आन्दोलन चर्किएपछि त्यहाँबाट निकालिए र राजनीतिमै धकेलिए ।

कांग्रेस पार्टी प्रतिबन्धित थियो । जेलबाट निस्केका गिरिजाबाबुले देवकोटा पुस्तकालय, जिम्न्यास्टिक, तरुण क्लबमार्फत राजनीतिक गतिविधि बढाए । वंशविश्वासका आधारमा थुप्रै खानदानी युवा संगठित भए त्यसमा । उनी मात्र यस्ता व्यक्ति थिए, जसको बाबु जेल परेको छैन, दाजु प्रवासिएको छैन । 

गिरिजाबाबुले १८ युवालाई फर्म भराएर भूमिगत मुक्तिसेना बनाए । दुर्गाले जोगवनीपारि फारबिसगन्जको ‘नेपाली बासा’मा डाइनामाइट, रिभल्बर चलाउने, तारो हान्ने आदि तालिम लिए । उनले नै हरि सापकोटा, विजय गच्छदार, उमेश गिरी आदिलाई मुक्तिसेनामा ल्याए । 

भारतमा वामपन्थीहरूले नक्सलवादी आन्दोलन चलाएकाले त्यसलाई टक्कर दिन कांग्रेस त्यसभन्दा चर्को क्रान्तिकारी कदम उठाउन चाहन्थ्यो । तर, रसदपानी र गोलीगट्ठाका लागि पैसा थिएन । त्यसकै लागि सोचिएको थियो, विमान अपहरण । 

अपहरणपछि गिरिजाबाबु एक बाक्सा लिएर दार्जीलिङतिर हान्निए, बीपी दुई बाक्सा लिएर सिक्किमतिर । दुर्गाका नाममा भने पञ्चायती सरकारले ‘सुटआउट वारेन्ट’ जारी गरिदियो । समाजवादी नेता जयप्रकाश नारायणको विहार, सीतादेहरास्थित कामतमा केही दिन लुके । लुक्दालुक्दै तीन वर्ष बित्यो । 

१ पुस ०३१ को टिम्बुरबोटे काण्डमा रामलक्ष्मण दाहालसहितका होनहार युवा सहिद भएपछि दुर्गाको मन भरंग भयो । उनी बीपी कोइरालासँग झोक्किए, ‘गरिबका छोराछोरी लड्््ने, तपाईंका छोराछोरी पढ्ने ?’ तिनताका शेखर, शशांक, सुजाताहरू सुविधासम्पन्न ठाउँमा पढ्दै थिए । त्यसपछि रेलवे स्टेसनमा उनीमाथि निर्घात कुटपिट भयो । सम्झिन्छन्, “गिरिजाबाबुले उमेश गिरीलाई रिभल्वर दिएरै मार्न पठाएका रहेछन् ।”

त्यसपछि दुर्गाले कांग्रेस छाडिदिए । भारतमै पक्राउ परेर २ वर्ष ३ महिना भागलपुर जेलमा बसे । इन्दिरा गान्धीको इमर्जेन्सीका बेला त्यही जेलमा थिए, लालु यादव । “त्यसपछि लगातार १० वर्षसम्म तारिख धाएँ,” उनी सम्झिन्छन्, “भारत छाड्न नपाउने भए पनि जनमतसंग्रहका बेला लुकिछिपी नेपाल आएको थिएँ ।” त्यो मुद्दा कृष्णप्रसाद भट्टराईको सरकारले ढिसमिस गरिदियो ।

०४७ पछि किसुनजीले उनलाई पार्टीमा फर्काए । कलबलगुडी महाधिवेशनताका केन्द्रीय प्रतिनिधिका रूपमा खटाए । गिरिजाबाबुको असहमतिका कारण उनले ०४८ को आमनिर्वाचनमा टिकट पाएनन् । ०५१ को मध्यावधि चुनावमा उनले मोरङ–१ मा गिरिजाबाबुविरुद्ध बागी उम्मेदवारी नै दिए । करिब तीन हजार मत ल्याए । कांग्रेससँग फेरि ‘डिभोर्स’ भइहाल्यो ।

तत्कालीन माओवादी नेता बाबुराम भट्टराईसँग दिल्ली बस्दाको व्यक्तिगत सम्बन्धका कारण उनले माओवादी–सरकार वार्ताको सम्पर्क सूत्रको काम गरे । किसुनजी नेतृत्वको सरकारलाई युद्धविरामको चिट्ठी उनैले दिएका हुन् । “यसको सूचना थाहा पाएरै गिरिजाबाबुले सरकार ढालिदिए,” उनी विश्वस्त छन्, “त्यतिबेला किसुनजीको सरकार नढलेको भए माओवादी यहाँसम्म आइपुग्ने थिएन ।”

शेरबहादुर देउवाका पालामा पनि उनले त्यही सूत्रको काम गरे । त्यही निहुँमा उनी राजा ज्ञानेन्द्रको ‘कू’ पछि विराटनगरस्थित घरबाटै पक्राउ परे, इटहरी ब्यारेकमा एक रात केरकार खाए ।

शान्ति प्रक्रियामा आएपछि माओवादीले मुफ्तमा पाएको अन्तरिम संसद्मा उनलाई लैजान चाहेको थियो । तर, गिरिजाबाबुको विरोधका कारण माओवादी हच्कियो । बाबुरामले नयाँ शक्तिमा ‘अफर’ गर्दा भनिदिएछन्, ‘म फ्रन्टलाइनमा लड्ने मान्छे । जनता र प्रजातन्त्रबाहेक अरूमा लड्न आउँदिनँ ।’ 

आजीवन पार्टी र प्रजातन्त्रका निम्ति लडेका दुर्गा न पार्टीमा छन्, न कुनै पदमा बसे । पञ्चायतकालमा उनको सर्वस्वहरण भयो । प्रजातन्त्र आएपछि अरूले फिर्ता लिए, उनले लिएनन् । भन्छन्, “म पार्टीका लागि लडेको हुँ भने पार्टीले मेरा निम्ति लडिदिनुपर्ने होइन ?” दक्षिण एसियाकै विद्रोहीका रोलमोडल बनेका दुर्गाको जीवन सादगीपूर्ण लाग्छ । युवाकालमा दिनमान, नवभारत टाइम्समा लेखेर गुजारा चलाएका उनी आक्कलझुक्कल लेखिरहन्छन् ।

भारतमा छँदा कति वीर, महान् र पहलमान छ भनेर दुर्गालाई हेर्न आउँथे । उनलाई भेट्न जेलसमेत पुग्थिन्, वनारस हिन्दु विश्वविद्यालयकी छात्रा सुशीला कार्की । धरान ल कलेजमा पढाउँदा खर्चबर्चसमेत पठाउँथिन् । 

धनकुटाकै कर्नेल–लप्टन कर्णवीर कार्की परिवारकी चेली सुशीलासँग उनले ०४६ पछि ४३ वर्षको उमेरमा घरजम गरे । “बाहुनसँग क्षेत्रीको मागीविवाह हुने कुरै भएन, हामीबीच एक खालको प्रेम थियो,” उनी भन्छन्, “सुखसयल या समृद्धिका लागि त उनले पक्कै मसित विवाह गरेकी होइनन् ।”

दुर्गा मात्र नभएर सुशीलामा पनि महात्मा गान्धीको प्रभाव छ । त्यही सादगीले उनीहरूलाई ‘सोलमेट’ बनाएको हो । दुर्गा–सुशीलाका एक्ला सन्तान छन्, २० वर्षे प्रशान्त । सेन्ट जेभियर कलेज टप गरेर काठमाडौँ विश्वविद्यालयमा कम्प्युटर साइन्स पढिरहेका उनी छात्रवृत्तिको आधा रकम ल्याएर पितालाई दिन्छन् । हालै मात्र उनले आत्मवृत्तान्त तयार गरेर प्रकाशकलाई बुझाएका छन् । 

क्रान्तिकारीहरू यताउता सम्झौता गरेर भए पनि लक्ष्यमा पुग्छन् । दुर्गा सुवेदीचाहिँ विद्रोही हुन् । सत्य र इमानदारीका निम्ति ढिपी कसिरहन्छन् । यस्ता सत्याग्रही थोरै हुन्छन् तर समाजमा बेग्लै सन्देश दिन्छन् ।

प्रकाशित: जेष्ठ ११, २०७३