शशीको पहिलो श्रोता

- कालीप्रसाद रिजाल

बाल्यकालमा आमाको मुखबाट सुनेका अग्रज कविहरूका कविताले नै मलाई साहित्यतिर आकर्षित गरायो । तिनै अग्रज साहित्यकारहरूसित साक्षात्कार गर्ने धोको बोकेर ०१३ सालमा एसएलसी पास गरेपछि म काठमाडौँ उत्रिएँ । हातमा अभ्यास कापी बोकेर लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु सबैकहाँ पुगेँ । आफ्ना गीत/कविता सस्वर गाएर सुनाएँ । सबैबाट प्रशंसा पाएर उत्साहित भएँ । काठमाडौँ मेरो साहित्यिक धाम थियो । म त्यसबेला काठमाडौँमा हुने कुनै गोष्ठी छुटाउँदिनथेँ । भर्खर १४ वर्ष पूरा गरेको ठिटोलाई काठमाडौँमा कसैले चिन्दैनथे । गोष्ठीको एउटा कुनामा बसेर कविता सुन्थेँ, थपडी बजाउँथेँ र सुनेका कविताबारे सोच्दै एक्लै फर्कन्थेँ ।

यसैबीच त्रिचन्द्र कलेजबाट प्रकाशित हुने ज्योति पत्रिकाले विसं ०१४ मा एउटा बृहत् अन्तरकलेज साहित्यिक प्रतियोगिताको आयोजना गर्‍यो । सम, बालचन्द्र शर्मा र नेपाली विभागका प्रमुखसमेतको निर्णायक समितिले मेरो ‘मायाका प्रदेश’ शीर्षकको कवितालाई पुरस्कृत गर्ने निर्णय गर्‍यो । राजा महेन्द्रको हातबाट तक्मा र प्रमाणपत्र पाएँ । मेरो पहिलो कवितासंग्रह ज्वारभाटामा त्यो कविता प्रकाशित भएको छ । त्यही कविताले मलाई काठमाडौँको साहित्यिक समाजमा एकाएक चर्चित गरायो । रूपरेखाजस्ता पत्रिकामा मेरा कविता प्रकाशित हुन थाले । साहित्यिक गोष्ठीहरूमा मलाई पनि बोलाउन थालियो ।

यस्तै गोष्ठी र साहित्यिक जमघटमा मेरो भेट वासु शशीसित भएको थियो । विजयबहादुर मल्ल, भूपी शेरचन, वासु शशी, भीमदर्शन रोकाहरू त्यसबेला मलाई मन पर्ने कवि थिए । गोपालप्रसाद रिमाल पनि थिए । तर, उनी कविता सुनाउँदैनथे । एक्लै आफैँसित कुरा गरेर आफ्नै सुरमा हिँडिरहेका हुन्थे । वासु शशी राम्रो कवि मात्र होइन, एक सहृदयी व्यक्ति पनि थिए । काठमाडौँको साहित्यिक समाजमा मलाई परिचित गराउने काममा उनको विशेष योगदान रह्यो । तर, वाणिज्यशास्त्रमा स्नातक परीक्षा पास गरेपछि म एकाएक बिरामी परेँ । एमएको पढाइ बीचमै छाडेर म विराटनगर फर्किएँ । अर्को वर्ष उच्च अध्ययनका लागि बनारस पुगेँ । त्यसबेला म विश्वविद्यालयको होस्टेलमा बस्थेँ । 

काठमाडौँको साहित्यिक वातावरणबाट विमुख भएर बनारसमा एक्लै बस्नुपर्दा मलाई उकुसमुकुस हुनु स्वाभाविकै थियो । त्यही न्यास्रोपना मेटाउनका लागि प्रत्येक छुट्टीमा म दूधविनायक र मंगलागौरीका गल्लीहरूमा पुग्थेँ । त्यहाँ नेपालीको बाक्लो बस्ती थियो । बेलाबेलामा साहित्यिक गोष्ठी पनि हुने गथ्र्यो । यसरी मैले धेरै महिना बिताएँ । साताका अरू दिन मैले भारतीय मित्रहरूसित बिताउनुपथ्र्यो । नेपाली गीत, कविता उनीहरू बुझ्दैनथे । त्यसैले मैले हिन्दी साहित्यको अध्ययन सुरु गरेँ । हिन्दीमा गीत, कविता पनि लेख्न थालेँ । यसबाट मलाई दोहोरो फाइदा भयो । एक त हिन्दी साहित्यबारे मेरो ज्ञान बढ्यो । अर्को हिन्दीमा गीत, कविता लेखेर सुनाउन थालेपछि होस्टेलमा म निक्कै लोकप्रिय हुन पुगेँ । धेरै साथीहरू बनाएँ । उनीहरूको अग्रसरतामा हिन्दी साहित्यका प्रतिष्ठित कवि–लेखकहरूसित साक्षातकार गर्ने अवसर प्राप्त भयो ।

मलाई लाग्छ, वासु शशीको पनि करिबकरिब यस्तै हाल थियो । वासु शशी प्रज्ञा–प्रतिष्ठानको शब्दकोश छपाउने सिलसिलामा बनारसमा भएको कुरा धेरैलाई थाहा रहेनछ । ऊ पनि एक्लै डेरामा छटपटाएर बसिरहेको थियो । विश्व साहित्यका नाम चलेका पुस्तक पढेर दिन बिताइरहेको थियो । मैले पहिलोपल्ट उसलाई भेट्दा ओछ्यानवरिपरि अंग्रेजी किताबको चाङ देखेको थिएँ । त्यसबेलाको विश्व साहित्यको अध्ययनले वासु शशीको लेखनमा थप व्यापकता र गहिराइ ल्याइदिएको देखिन्छ । त्यही प्रवासकालमा लेखिएका वासु शशीका कविताहरू नै सर्वाधिक चर्चित भएका छन् । ती सबै कविताहरूको पहिलो श्रोता म नै बन्न पुगेको थिएँ ।

दूधविनायक, मंगलागौरीका गल्लीहरूमा जाने मेरो क्रम जारी थियो । यस्तै एउटा गोष्ठीमा कसैले मलाई वासु शशी बनारसमै भएको सूचना दियो । मैले वासु शशीको सम्मानमा गोष्ठी आयोजना गर्ने परिबन्द मिलाएँ । वासु शशीलाई भेट्ने कौतूहल र उत्सुकताका साथ हामीहरू पर्खिरहेका थियौँ । नभन्दै कृष्णप्रसाद पराजुलीका साथ वासु शशी उपस्थित भयो । वासु शशीको उपस्थिति र कवितापाठले गोष्ठीमा रौनक थपिदियो । मैले पनि कविता सुनाएँ । गोष्ठीको समापनपछि शशीले मलाई तानेर गहिरोसित अंकमाल गर्‍यो । आफ्नो डेराको ठेगाना लेखेर दियो । त्यस दिनदेखि छुट्टीका दिनहरूको मेरो गन्तव्य गायघाटस्थित शशीको डेरामा हुन पुग्यो । हामी दुवैलाई ढुंगा खोज्दा देउता पाएजस्तो भयो । हामीहरू दिनभरि आफूले लेखेका नयाँ कविता सुनाउँथ्यौँ । साहित्यिक चर्चा गथ्र्यांै । उसले पढेका अंग्रेजी साहित्यका राम्रा प्रसंगहरू मलाई सुनाउँथ्यो । हिन्दी साहित्यका उत्कृष्ट रचनाहरू म पढेर सुनाउँथेँ । त्यसकै आधारमा हामी साहित्यिक चर्चा गथ्र्यौं । म धेरै मानसिक खुराकहरू लिएर फर्कन्थेँ ।

वासु शशीसितको मेरो सामान्य चिनजान बनारस प्रवासकालमा निकै झांगियो । हामी अन्तरंग मित्र हुन पुग्यौँ । मैले त्यस अवधिमा धेरै कविता लेखेँ । उसकै आग्रहमा मेरो पहिलो कवितासंग्रह ज्वारभाटा ०१९ सालमा बनारसबाट प्रकाशित भयो । प्रुफ हेर्नेदेखि लिएर प्रेसको सम्पूर्ण काम वासु शशी र कृष्णप्रसाद पराजुलीबाट भयो । ज्वारभाटामा प्रकाशित वासु शशीको भूमिकाबाट पनि विश्व साहित्यको गहन अध्ययनको झलक मिल्छ । वासु शशी राम्रो कविता लेख्ने मात्र होइन, अर्काले लेखेको राम्रो कविताको खुलेर प्रशंसा पनि गथ्र्यो । अत्यन्त संवेदनशील मनको धनी वासु शशी कविता सुन्दासुन्दै आल्हादित हुन्थ्यो, भावविभोर हुन्थ्यो र तत्काल प्रतिक्रिया जनाइहाल्थ्यो । कहिलेकाहीँ उसको संवेदनशील स्वभावले सामान्य व्यावहारिकताको सीमा पनि नाघ्न खोज्थ्यो ।

यस्तै कविता सुनाउने क्रममा एक दिन मैले आफ्नो नयाँ कविता ‘मान्छेहरू भन्छन्’ सुनाएँ । कविता सुन्दासुन्दै ऊ भावविह्वल भयो । मलाई जुरुक्क उचालेर भन्यो, ‘यो कविता एउटा लघु उपन्यास हो’ । भावावेशमा आएर उसले कविताको ‘सेलिब्रेट’ गर्ने प्रस्ताव राख्यो । ऊ भन्दै थियो, काठमाडौँमा भए ग्लास नै जुधाउनु पथ्र्यो । बनारस भएकाले चिया खाएर सेलिब्रेट गर्ने । मैले सहज रूपमा भनेँ, “ठीक छ, अगाडिको बूढो बाबाको मसालेदार चिया र समोसा खाएर सेलिब्रेट गरौँ न त †” भन्नु के थियो ऊ कड्किहाल्यो, “रिजाल कविताको इज्जत गर्न सिक् । आखिर उसको प्रस्ताव अनुसार हामी भर्खरै खुलेको गदौलियाको क्वालिटी रेस्टुराँमा पस्यौँ । त्यसको चहकमहक देखेर म आत्तिएँ । मसित एक रुपियाँ र थोरै चानचुन मात्र थियो । फेरि फर्केर विश्वविद्यालय जाने रिक्सा भाडा पनि चाहिन्थ्यो । मेरो आकृति देखेर उसले भनिहाल्यो, ‘चिन्ता नगर्, उस्तै परे घडी बन्दकी राखौँला ।’

हामीले एउटा स्मलपट चिया मगाएर खायौँ । मनस्थिति यस्तो थियो कि, मैले चियाको स्वादै थाहा पाइनँ । बनारसमा सबै माटाको कुल्हडमा पाइने दस नयाँ पैसाको चिया खान्थे । अदुवा, सुकुमेल हालेको । रेस्टुराँमा पसेर बनारसमा चिया खाएको त्यो मेरो पहिलो अनुभव थियो । यसैबीच बेहराले बिल ल्याएर राखिदियो । बिलमा १२ आना मात्र लेखेको देखेपछि मैले लामो सास फेरेँ । मेरो ओठमा मुस्कानको पुन:बहाली भयो । प्रसन्न मनले शशीसित बिदा भएर म विश्वविद्यालयतिर लागेँ । हुन त १२ आनाको चिया त्यसबेला बनारसका लागि महँगै भन्नुपर्छ ।

पहिलोपल्ट कुमारबहादुर जोशीको घरमा रेडियोबाट मेरो ‘आँखा छोपी’ बोलको गीत सुनेपछि उति नै खेर वासु शशीले रिजाललाई यहीँ बोलाऔँ भनेर फोन गर्न तम्सिएको घटना पनि म सम्झिरहेको थिएँ । परिवारसित बसेको मान्छेलाई राती १० बजे बोलाउन हुन्न भनेर जोशीजीले रोक्नुपरेको थियो । यस्ता धेरै प्रसंग मेरो स्मृतिमा आइरहेका थिए र म आफैँ पनि भावविह्वल भइरहेको थिएँ ।

म बरोबर जयबागेश्वरीस्थित वासु शशीको घरमा गइरहन्थेँ । हामीबीच दु:खसुख, समसामयिक घटना, साहित्य, राजनीति सबै विषयमा कुरा हुन्थे । पारिवारिक सम्बन्ध थियो । एक दिन उसले आफूलाई भूमिका लेख्न दिइएको कृष्ण जोशीजीको पुस्तकको पाण्डुलिपि मेरो हातमा राखेर भूमिका लेखिदिन भन्यो । यो असामान्य घटना थियो । म अलमलमा परेँ । तर, उसले त लेखक कृष्ण जोशीजीलाई नै भनिसकेको रहेछ । अहिले मलाई लाग्छ, त्यसबेला उसको स्वास्थ्यले साथ दिइरहेको थिएन । कसैलाई नभने पनि ऊ भित्रभित्रै शिथिल भइरहेको थियो । त्यसको केही समयपछि ऊ गम्भीर रूपले बिरामी भयो । उसलाई क्यान्सर भइसकेको रहेछ । रोग लुकाउँदालुकाउँदै फैलिसकेको रहेछ । पछिल्ला दिनमा ऊ बोल्न सक्दैनथ्यो । लेखेर संवाद गर्नुपथ्र्यो । अत्यन्त पीडामा बाँचिरहेको थियो । म बरोबर गइरहन्थँे । हामी मौनतामा संवाद गथ्र्यौं । उसका आँखाले धेरै कुरा भनिरहेका हुन्थे । यस्तो अवस्थामा पनि मलाई नियास्रो नलागोस् भनेर क्यासेट खोलेर गीत–गजल बजाइदिन्थ्यो ।

उपचारका लागि दिल्ली जानुभन्दा पहिले उसले कागजमा ‘म दिल्ली जाँदैछु, फर्केपछि भेटौँला’ भनेर लेख्यो । मैले ‘अब तिमी छिट्टै ठीक भएर फर्कनेछौ’ भनेर प्रतिक्रिया जनाएँ । भित्रको पीडालाई दबाएर ऊ मुस्कुराउने प्रयास गरिरहेको थियो । जाने अघिल्लो दिन उसले मेरो हात बलियोसित समायो । छाड्नै मानेन । अब फर्केपछि भेटौँला भनेर मैले हात फुस्काएँ । विधिको विडम्बना ! ऊ फर्किन त फर्कियो तर काठको बाकसभित्र दिवंगत शरीर भएर ।

प्रकाशित: जेष्ठ ४, २०७३