अध्यक्षमा मारामार

- सञ्जय मिश्रा/गौर

२५ वैशाखमा कटहरिया उच्च माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तीन जना प्रत्याशी देखिए । चुनावी प्रचारप्रसारको चार दिनका बीचमा तीनै उम्मेदवारले १० लाख रुपियाँभन्दा बढी खर्च गरे । त्यसका लागि झन्डै डेढ दर्जन चारपांग्रे सवारीसाधन प्रयोग भए । अभिभावकलाई घरबाट ल्याउने र मतदानपश्चात् घरसम्म पुर्‍याउने व्यवस्था उम्मेदवारहरूले नै मिलाए । यति मात्र होइन, बिहान ९ बजेदेखि नै अभिभावकलाई खानानास्ता, चिसो पेयका साथै मदिरापान तथा क्षमता अनुसार १० देखि ३० हजारसम्म नगद राशि सहयोग भएको उम्मेदवारहरूकै भनाइ छ ।

अध्यक्ष पदमा चन्दन कुशवाह तीन गुनाभन्दा बढी मत ल्याएर विजयी भए । उनले कुल ७ सय ७१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नसरुद्दिन अन्सारीले २ सय ५७ र रामआधार यादवले २ सय ११ मत बटुल्न सकेका थिए । निकटतम प्रतिद्वन्द्वीमा चित्त बुझाएका अन्सारीले आफ्नातर्फ १ लाख ३५ हजार रुपियाँ मात्र खर्च भएको सार्वजनिक गरेका छन् ।

शिक्षा क्षेत्रमा मुलुककै पुछारमा अर्थात् ७५औँ स्थानमा छ, रौतहट । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष ०७३/७४ मा व्यवस्थापन समिति गठन हुन बाँकी रहेका विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि कुनै पनि आर्थिक लगानी नगर्ने उर्दी जारी गरेका कारण जिल्लामा यस्ता दृश्य सामान्य भइसकेका छन् । ४० उच्च मावि, ४६ मावि, ६६ निमावि र २ सय ६ प्राविमध्ये अधिकांशमा समिति गठन हुन बाँकी रहेको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ ।

विद्यालयको निजी स्रोत तथा स्थायी सम्पत्तिबाट व्यक्तिगत फाइदा लिँदै आएका राजनीतिक दलका नेता, कार्यकर्ता, टाठाबाठा, व्यापारी सबैका लागि कमाइ खाने भाँडो बनेका छन् सामुदायिक विद्यालय । उनीहरूको एक मात्र ध्याउन्न साम, दाम, दण्ड, भेदको प्रयोग गरी विद्यालय कब्जा गर्नु हुन्छ ।
सदरमुकाम गौरस्थित जुद्ध माविको व्यवस्थापन समितिको निर्वाचनमा त झन् संसदीय निर्वाचनमा भन्दा बढी खर्च भएको थियो । लाखौँको खर्चपश्चात् शम्भु साह अध्यक्ष पदमा विजयी भएका थिए । विजयपुर उच्च माविमा गठन प्रक्रियाका लागि भएको अभिभावक भेलामा दोहोरो झडप हुँदा एक दर्जन मानिस घाइते पनि भए ।

व्यवस्थापन समितिका अध्यक्षहरूले विद्यालयलाई रोजगारी र राजनीति दुवै प्रयोजनका लागि प्रयोग गर्छन् । उनीहरू आफ्ना छोरा, भतिजा, कार्यकर्तालाई विद्यालयमा शिक्षक, लेखापालजस्ता पदमा जागिर ख्वाउन पछि पर्दैनन् । उमावि कटहरियामा रामआधार यादव अध्यक्ष हुँदा आफ्नी छोरी निलम कुमारीलाई निजी स्रोतमा शिक्षक बनाए । त्यहीँ जादोलाल महतो अध्यक्ष हुँदा भतिजा रामदयाल महतो र कार्यकर्ता अचल शाहीलाई शिक्षक बनाए । बिर्ती निमावि प्रस्टोकामा राजवीर साह अध्यक्ष हुँदा भतिजा रामआधार साहलाई निजी स्रोतको शिक्षक बनाए । सोनरनिया माविमा पर्शुराम यादव अध्यक्ष हुँदा छोरा नन्दन यादवलाई लेखापाल बनाए । संस्कृत उमावि मत्सरीमा भुटकुन झा अध्यक्ष हुँदा ज्वाइँलाई राहत कोटामा शिक्षक बनाए । गंगापिपरा उमाविमा राजेश साह अध्यक्ष हुँदा बहिनीज्वाइँलाई शिक्षक बनाए । यस्तै मेवा निमाविमा मुकेश साहले अध्यक्ष हुँदा बुहारीलाई शिक्षक बनाए । शिक्षक युनियनका अध्यक्ष रहेका योगेन्द्र यादव राजनीतिक शक्ति र पहुँचका आधारमा दुई भाइ, तीन भतिजा, छोरी, ज्वाइँलगायत एक दर्जन आफन्तलाई शिक्षकमा जागिर ख्वाउन सफल भएका छन् ।

कुनै कुनै विद्यालयमा एकैपटक दुई जना शिक्षक भर्ना गर्नुपर्दा एक जना अध्यक्ष र एक जना प्रधानाध्यापकको हकमा भागबन्डा हुने गर्छ । “रौतहटमा प्राय: मानिस शिक्षक भर्नाको उद्देश्यले मात्र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गर्छन्,” स्रोतव्यक्ति पुरुषोत्तम मिश्र भन्छन्, “पछिलो दुई दशकको इतिहास केलायो भने जिल्लाभरिका कुल ४ सय ३८ विद्यालयमध्ये अध्यक्ष अथवा प्रधानाध्यापकका छोरा, छोरी, भतिजा, भतिजी, बुहारी अथवा नजिकका मानिस शिक्षक नभएको विद्यालय नै भेटिँदैन ।”

कतिपय विद्यालयमा त झन् लाइसेन्सको परीक्षा पास गर्न नसकेकाहरूलाई अध्यक्ष र प्रधानाध्यापकले नक्कली लाइसेन्सको भरमा छोराछोरी र आफन्तलाई शिक्षक बनाएको देखिएको छ । यसअघि जिल्ला शिक्षा कार्यालयले विद्यालयमा कार्यरत शिक्षकहरूको सक्कल लाइसेन्सको छानबिन थाल्दा जिल्लाका दर्जनभन्दा बढी शिक्षकले स्वैच्छिक राजीनामा दिएका थिए । २३ जना शिक्षकको लाइसेन्स छानबिन हुँदा आठ जनाको नक्कली र बाँकीले आगामी दुई वर्षभित्र लिनुपर्ने विभागले निर्देशन दिएको छ ।

जिल्ला शिक्षा अधिकारी हरि वस्ती भने सहमतिमै विद्यालय व्यवस्थापन समिति गठनका लागि सबै अभिभावकलाई आग्रह गरेको बताउँछन् । “समितिबिना सामाजिक–आर्थिक लेखापरीक्षण सम्भव नभएकाले समिति गठन गर्ने अभियानमा लागिरहेका छौँ,” वस्ती भन्छन्, “शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिको गठन अथवा छनोट शब्द मात्र उल्लेख छ । कतै पनि निर्वाचन अथवा चुनाव शब्द छैन । ” जिल्लामा शिक्षक नेता तथा अध्यक्षहरूको अनुकूल काम नगर्ने शिक्षा अधिकारी महिना दिन नबित्दै सरुवा हुने गरेका छन् ।

प्रकाशित: जेष्ठ ३, २०७३