धेरै माछाहरू

- भीष्म उप्रेती

जाजरकोटको रिम्ना पुगेपछि गाडी लैजान मिलेन । सानी भेरी नदीको झोलुंगे पुल तरेर हिँड्न थाल्यौँ सानो ब्याकप्याक बोकेर । खोतारे पुगेपछि जीप पाइयो । जिपले हामीलाई चिसापानी बजारसम्म लगिदियो । त्यसभन्दा अगाडि जान हिँड्नुपर्ने रहेछ । नदीको किनारै किनारको बाटो । नदीको बहाव, ढुंगाहरूमा पानी ठोक्किएको आवाज र त्यसले निकालेको सेतो फिँज, रूखहरूको हरियो–मन भुवा जसरी हलुकिएर उड्न पर्याप्त थियो । नदी होस् वा समुद्र र यसको किनार, यिनले मलाई बडो अनौठो किसिमले आकर्षित गर्दछन् ।

नयाँ ठाउँको भ्रमणले भूगोलको बारेमा मात्र जानकारी गराउँदैन, स्थानीय तहको सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेश समेत बताउँछ । मलाई यसरी सिकेको कुरा दिगो हुन्छ भन्ने लाग्छ । म समय मिल्नासाथ भ्रमणमा निस्कन्छु ।

चिसापानी बजारबाट हिँड्दै अगाडि गयौँ । हिउँद सुरु हुन लागेको बेला थियो । आकाश सफा नीलो देखिन्थ्यो । ठाउँठाउँमा सेता बादल विभिन्न आकार बनाएर बसेका थिए । तैपनि, अलिअलि उकालो बाटो हिँड्दा पसिना आइहाल्ने । घाम चर्को र पोल्ने हुँदै गएको अनुभूति भइहाल्ने ।

हामी कालीमाटी नजिकै पुग्यौँ । बीचमा नलसिंहगाड खोलाले कालीमाटी र दल्लीबजारलाई बीचैबाट चिरेर छुट्याएको रहेछ । पारि दल्लीबजारमा चहलपहल थियो । यता कालीमाटी भने वादीहरूको बस्ती भए तापनि सुनसान र चकमन्न थियो ।

गाउँभन्दा केही तल नदी किनारमा कल्याङमल्याङ आवाज सुनेँ । नदी फैलिएर बगेकोले बगर पनि ठूलै थियो । रमेशजीलाई ‘एकैछिन बस्दै गर्नुस् है’ भनेर नदी किनारतिर झरेँ । केही मानिसहरू कल्याङमल्याङ गर्दै थिए । तिनमा अधबैँसे, किशोर र बालबालिका सबै थिए । महिला र पुरुष दुवै थिए । मलाई उनीहरूसँग कुरा गर्न मन लाग्यो । म त्यतै गएँ ।

“तिम्रो नाम के हो ?,” पुरानो हाफ प्यान्ट र अलिअलि मैलो पुरानो टिसर्ट लगाएर माछा मार्न सघाइरहेको एउटा १० वर्ष जतिको केटालाई सोधेँ ।

“रामबहादुर,” उसले भन्यो ।

“स्कूल जान मन लाग्दैन ?,” रामबहादुरलाई सोधेँ ।

“मन त लाग्छ ।” उसले भन्यो ।

“किन नगा’को त ?,” सोधेँ ।

“नाम त लेखा’को छ, जान भ्याउँदैन,” रामबहादुरले भन्यो ।

“कसरी पढ्छौ त ?,” फेरि सोधेँ ।

“सरले पास गराइदिन्छ,” उसले भन्यो ।

ऊ फेरि आफ्नै सुरमा लाग्यो । उसलाई हेर्दै सोचेँ– पास हुनु भनेको यिनीहरूका लागि सीप सिक्नु वा ज्ञान हासिल गर्नु होइन । नाम लेखाएपछि पास भइहालिने शिक्षा भएपछि यिनले भोलि कहाँ गएर कोसँग प्रतिस्पर्धा गर्लान् र सफल होलान् ? व्यावहारिक ज्ञानकै कुरा गर्दा पनि त्यो उपयोगी हुनलाई त्यसको सिकाइ सिलसिलाबद्ध एवं क्रमागत हुनु पर्दछ । यहाँ त त्यो पनि देखिएन ।

मैले रामबहादुरकै छेउमा उभिएर हाम्रो कुरा सुनिरहेको केटोलाई सोधेँ, “तिम्रो स्कूल कहाँ छ ?,”

खोलापारि दल्ली बजारतिर देखाउँदै भन्यो, “ऊ माथि, बजारमा ।”

मलाई ती बालबालिका पढ्ने विद्यालयका शिक्षकलाई पनि भेट्ने रहर लाग्यो । बाटोमा अनुकूल पर्‍यो भने भेट्नुपर्ला भन्ने सोचेँ । हाम्रो कुरालाई एक जना पुरुषले नजिकैबाट ध्यान दिएर सुने । मैले उनलाई हेरेँ । फाटेको मैलो हाफ सर्ट र सुरुवाल लगाएका थिए । सुरुवाल घुँडासम्म तानेका थिए । उनको हातमा माछा मार्ने जाल थियो । उनी फिस्स हाँसे । उनको हाँसोमा सम्मोहनको शक्ति वा आकर्षण केही थिएन । तैपनि, मैले उनीतिर ध्यान दिएँ ।

“माछा कत्तिको पर्छ जालमा ?,” सोधेँ ।

“के पर्छ भन्नु हजुर । कहिले अलि धेरै पर्छ, कहिले त दु:खै मात्र हो,” उनले भने ।

“माछा मारेर मात्रै गुजारा चल्छ त ?,” फेरि सोधेँ ।

“यहाँ पेट पाल्न अरू काम पनि त पाइँदैन । सीप पनि छैन, पैसा पनि छैन । अन्न फलाउने खेतबारी पनि छैन । अनि के गर्नु हजुर नचलेर ।” उनको विवशता अँध्यारो आकाशजस्तो अनन्त तर निरुपाय थियो ।

“यी साना नानीहरूलाई चाहिँ स्कूल पठाउनु नि । उनीहरूले दुईचार अक्षर चिन्थे र तिनबाट उज्यालाका केही झिल्का निकाल्थे । उनीहरूलाई भविष्य हेर्न काम लाग्ने उज्यालो हो त्यो,” भनेँ ।

“हो हुन त । तर, हाम्रो भाग्यमा लेख्नेपढ्ने कहाँ लेखेको हुन्छ र ? परिवारका सबै सदस्यले माछा नमारे त न खान पाइन्छ, न जीउ ढाक्न नै,” उनले भने ।

मैले पत्रिकामा त्यतातिर चिउरी धेरै फल्छ, महको उत्पादन पनि राम्रोसँग हुन्छ भन्ने पढेको थिएँ । मैले उनलाई भनेँ, “मौरी पाले पनि त आम्दानी हुन्छ नि । चिउरीको मह पनि राम्रो हुन्छ ।”

“मौरी र घार किन्ने पैसा छैन हजुर । कहाँ पाइन्छ, कसरी पाल्ने केही जानेको छैन । पुर्खाहरू कसैले नगरेको काम कसरी गर्नु,” उनले भने ।

अचेतना र अशिक्षाले मान्छेको जीवन दिउँसै अँध्यारो हुन्छ । यी माझीहरूबाट मैले सिकेँ ।

मसँग तत्काल उनलाई भन्ने ठोस कुरा थिएन, आश्वासन पनि थिएन । शब्द र ध्वनि भएन भने मान्छे लाटो बन्छ । म एकाएक लाटो बनेँ । मैले ती पुरुषलाई, उनी पर्तिर अर्को जालमा माछा पार्न प्रयास गरिरहेकी उनकी आइमाईलाई र यी भान्टाङभुन्टुङ केटाकेटीहरूलाई हेरेँ । ती बालबालिकाको भोलि अँध्यारो देखेर मलाई डर लाग्यो । यिनीहरूको भोलि अँध्यारो हुनु भनेको यिनीहरूको मात्र भोलि अँध्यारो हुनु होइन ।

नयाँ ठाँउ हेर्ने, नयाँ मान्छे भेट्ने र केही नयाँ सिक्ने सोचेर उत्साहित हुँदै हिँडेको म । दिउँसै खग्रास ग्रहण लागेजस्तो झ्याप्प अँध्यारो अनुभूत गर्न पुगेँ । आँखामा काला टाटाहरू नाचेजस्तो । एकछिन त गोडाहरू पनि चलेनन् । हेरिरहेँ ती सबै अभागीहरूलाई ।

आँखा चिम्लेर कामना गरेँ – उनीहरूको जालमा धेरै माछाहरू परून्, सधैँ एकदमै धेरै माछाहरू परून् ।

म फर्केर रमेशजी भएको ठाउँमा आएँ । हामी पारिको दल्ली बजारतिर गयौँ ।

दल्ली बजार । बाटाका दुईतिर लहरै केही घरहरू थिए । ती सबै घरहरूमा पसलहरू थिए । कुनै किराना पसल, कुनै होटल, कुनै चिया दोकान र कुनै चाहिँ रक्सीभट्टी । आलु, तरकारीको पसल पनि थियो । स्वास्थ्य चौकी र प्रहरी चौकी पनि रहेछ । यसबाहेक केही नयाँ घरहरू पनि बन्ने क्रममा थिए ।

हामी एउटा चिया पसलभित्र पस्यौँ । चिया पसलमा तीन जना अधबैंशे मान्छे गफिँदै थिए बसेर । उनीहरू बसेको कुर्सी अगाडिको टेबुलमा चिया रित्तिएका तीनवटा गिलास थिए । उनीहरूले चिया भर्खरै पिइसकेका थिए भन्ने बुझ्यौँ ।

कुरैकुरामा परिचय भयो हाम्रो । ती तीन जनामध्ये एक जना उही अघि रामबहादुरले नाम लेखाएको विद्यालयका शिक्षक रहेछन् । उनको नाम अशोक न्यौपाने रहेछ । अशोक सरलाई भेटेर मलाई खुसी लाग्यो । तर, आफ्नो खुसीलाई आफैँभित्र राखेँ । मैले बाटोमा भेटेका माछा मार्ने मानिसहरूको कुरा झिकेँ । रामबहादुरले भनेको कुरा पनि सुनाएँ । अशोक सर मुस्कुराए हल्कासँग ।

“उनीहरू वादी परिवारका हुन् । यहाँ नलसिंहगाडपारि कालीमाटी बजारमा १६ घर वादीहरू छन् । उनीहरूको जग्गाजमिन त्यति छैन । गरीब छन् । पढेका छैनन् । अफिसमा जागिर पाउँदैनन् । त्यसैले बनिबुतो गर्छन् । माछा मारेर जीविका चलाउँछन् । माछा मार्नु उनीहरूको प्रमुख पेसा हो ।”

“स्कुलै नगइर्कन कसरी पास गराइदिनु हुन्छ तपाईंहरू केटाकेटीहरूलाई ?,” मैले सोधेँ ।

“के गर्नु सर, फेल गराइदियो भने झनै पढ्न आउँदैनन् । बरू, कहिलेकाहीँ भए पनि पढ्न आए भने त केही न केही त सिक्लान् नि भन्ने लाग्छ, उनले भने ।

कठै ! यी शिक्षकहरूको सदाशयता कति ठूलो छ । तर, यसले कालान्तरमा यी अबोध बालबालिकालाई झनै ठूलो अँध्यारोमा धकेल्नेछ ।

गरिबीले मान्छेलाई सपना देख्नबाट कसरी रोक्छ, मान्छेको भविष्यलाई कसरी निलिदिन्छ भन्ने एउटा सानो उदाहरण यो वादी बस्ती हो । यस्ता उदाहरणहरू प्रशस्त छन् नेपालमा । सामाजिक मूल्य, मान्यता र व्यवहारले संरचनात्मक रूपले गरिबीलाई मलजल गर्छन् । स्रोत–साधनमाथिको असमान अवसर तथा विभेदले पनि परम्परागत रूपले गरिबी बढाइरहेका छन् ।

देशमा कत्राकत्रा परिवर्तन भए, भएका छन् । तर, कुनैले पनि जमिनमै टाँसिएको वर्गको मानिसको जीवनलाई छुन सकेको देखिएन । राजतन्त्र होस् वा गणतन्त्र, यिनको जीवनको काम जहिले पनि बिहान भरे बेलुकाको लागि, र बेलुका भोलि बिहानको लागि सोच्ने हो । त्यसभन्दा पर यिनीहरूले न जीवन देख्दछन् र त्यस्तो कुनै सपना छ जो रंगीन प्वाँख हालेर उडेर जान सक्छ माथि माथि र झन् माथि ।

म मौन भए क्यार निकै बेर । मसँगै आएका रमेशजीले भने, “केमा हराउनुभयो सर ?,” म झल्याँस्स भएँ । भनेँ, “हामी एक, दुई जना वादी बालबालिकालाई पढ्ने व्यवस्था गर्न त सक्छौँ नि है ?,”

“हो सक्छौँ । तर, यो दीगो समाधान होइन । अघि खोलामा १०, १२ जना केटाकेटी थिए । कसलाई पढाउने र कसलाई खोलामै छोड्ने ?,” रमेशजीले भने ।

“हामी घरै बनाउन नसके पनि केही इँटा थप्न त सक्छौँ,” मैले मनमनै सोचेँ ।

मैले अशोक न्यौपाने सरको मोबाइल नम्बर मागेँ । हामीले चिया पिइसक्यौँ । “अब जाने होइन ?,” रमेशजीले भने ।

हामी उठ्यौँ । यहाँभन्दा अघि जान मन लागेन । मानसभरि तिनै वादी केटाकेटीहरू आइरहे । अपराह्न भइसकेको थियो । घाम ढल्कँदै थियो पश्चिमतिर ।

हामी फक्र्यौं अघि आएकै बाटो कहिले हिँड्दै, कहिले जिपमा चढेर ।

रिम्नामा जिप पर्खिरहेको थियो हामीलाई ।

पहाडको सानो र बांगोटिंगो बाटो धूलोले समेत भरिएको थियो । गाडी अगाडि जाँदै गर्दा पनि मैले झ्यालबाट पछाडि फर्केर हेरेँ । तर, गाडीले उडाएको धूलोले छोपेकाले हामीले छोडेको बाटो, बाटोका दुवैतिरका रूखबिरुवा र बाटोमा फाट्टफुट्ट हिँड्ने मान्छेहरू केही पनि देखिएनन् ।

प्रकाशित: वैशाख २९, २०७३