इतिहासका सेवक

- राजकुमार बानियाँ

घरबाहिर निस्कन छाडेको केही वर्ष भइसक्यो । ढुक्कले पुस्तकालयमा बस्छन् । कहिले पढ्छन्, कहिले लेख्छन् । मुड चल्यो भने स्टुडियोभित्र पसेर पेन्टिङ गर्छन् । मदन पुरस्कार विजेता इतिहासकार राजेश गौतम, ६६, लाई अब भीडभाडमा जाने जरुरत पनि छैन । उनको पुस्तकालय कति विशाल छ भने इतिहासका खानाखजानाका लागि कतै धाउनु पर्दैन ।

भीमसेनगोला, चन्द्रागिरि मार्गस्थित अन्तिम घरको भूमिगतजस्तो लाग्ने उनको निजी पुस्तकालयमा ११ हजार थान पुस्तक अटाएका छन् । यी पुस्तक ३५ वर्षका संकलन हुन् । “एमए पढ्दा मसँग सयजति पुस्तक थिए होलान्,” उनी सम्झन्छन्, “पुस्तक बजारमा आउनासाथ किनिहाल्छु, मलाई काम लाग्ने चार हरफ मात्रै किन नहोस् ।”

इतिहासकार राजेश गौतमको चार पुस्ता शिक्षण पेसामै रम्यो । जिजुबाजे पण्डित नित्यानन्द, बाजे झम्कनाथ, बा बद्रीनाथ र उनी स्वयंले शिक्षक परिवारको चिनारी बनाएका छन् । उनका मावली बाजेहरू प्रोफेसर हरिनाथ खनाल, सरदार यदुनाथ खनाल पनि शिक्षणबाटै चम्किएका हुन् । पाँचौँ पुस्ताका उनका जेठा छोराले पनि शिक्षक हुने छनक दिइसकेका छन् ।

धादिङको जीवनपुर हो, गौतमको पुख्र्यौली । जिजुबाजेले धादिङ–काठमाडौँ ओहोरदोहोर गरे । बाजेले बांगेमुढामा थातबास बसाए । परिवारका एक्ला छोरा भएकाले उनले लाडप्यार पाए । तर, नपढ्ने, झगडालु भए । शान्ति विद्यागृह हुँदै जुद्धोदय हाइस्कुलमा पढे । एसएलसीमै दुईचोटि गुल्टिए । “२०२४ सालमा जाँच दिन थालेको हुँ, ०२६ मा पास भएँ,” उनी सुनाउँछन्, “विज्ञान मलाई मनै नपर्ने विषय थियो, अंकगणितले धुरुक्कै रुवायो ।”

उनी दिउँसो खानेपानी विभागमा काम गर्थे, बेलुकी नेसनल कलेज ( हाल: शंकरदेव)मा पढ्थे । उनले राजनीतिशास्त्र र इतिहास मूल विषय लिएर पढेका हुन् कलेजमा । खासमा इतिहासको डिग्री लिने रहर थिएन उनको । राजनीतिशास्त्रमा नाम ननिस्केपछि इतिहास नपढी सुखै पाएनन् ।

इतिहासमा चाख बसेको भने स्कुले जीवनमै हो । विजयानन्द जोशी कक्षामै नाटक गराएर इतिहास पढाउँथे । “एउटालाई पृथ्वीनारायण शाह बनाउनुहुन्थ्यो, अर्कोलाई जयप्रकाश मल्ल, अनि संवाद गराएर पढाउनुहुन्थ्यो,” उनी सम्झन्छन्, “राम्रो अभिनय गर्नेलाई तत्काल चकलेट दिनुहुन्थ्यो ।”

पाटन कलेजमा बीए पढ्दापढ्दै गौतम जेल परे । तर, त्यो पहिलो जेल बसाइ थिएन उनको । त्यसअघि दुईपटक थुनिइसकेका रहेछन् । पहिलोपटक ०२२/२३ सालमा ललिता निवास (हाल : नेपाल राष्ट्र बैंक) तीन दिन थुनिएछन् स्कुले साथीहरूसँग । जीवनमा उनी साढे तीन वर्ष जेल बसेका छन् । त्यसो त उनी कुनै दल या संगठनमा थिएनन्, छैनन् । “प्रजातन्त्रप्रतिको आस्था र विश्वासका कारण जेल मेरा लागि पानीपँधेरोजस्तो भइदियो,” उनी भन्छन्, “पछिल्लोपटक शेरबहादुर देउवाको कार्यकालमा तिब्बत मामिलालाई लिएर तीन–चार दिन थुनिएँ ।”

०३७ सालमा त्रिभुवन विश्वविद्यालयको सेवामा जानुअघि उनले थुपै्र ठाउँमा पढाए । बालाजुको तरुण मावि, लैनचौरको कन्या स्कुल अनि नेपाल राष्ट्रिय विद्यालय नेपालटारमा । विश्वविद्यालयको पहिलो पदस्थापन भने चितवनको वीरेन्द्र कलेजमा भयो ।

कलेजमा ००७ देखि ०१७ सम्मको समसामयिक नेपाली इतिहास पढाउनुपथ्र्यो । तर, सन्दर्भसामग्री थिएनन् । पाटन कलेजका गुरु कृष्णबहादुर उदय (राजभण्डारी)ले सल्लाह दिए, इतिहास लेख्ने । त्यही उत्प्रेरणाले जन्मिएको हो, क्रान्तिपछिको दश वर्ष (विसं ०३७) ।

काठमाडौँ आएपछि उनले सूचना विभागको मुखपत्र नेपालका लागि एउटा लेख लेखे, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा राजा त्रिभुवनको भूमिका ।’ सूचना विभागका अधिकृत हरिराम जोशीले भनेछन्, ‘अलि लामो बनाउनूस् न †’ लेख्दालेख्दै २० पृष्ठभन्दा लामो भयो । तिनै जोशीले  फेरि ‘अफर’ गरे, ‘५० पानाजतिको बनाउनूस्, म पुस्तक छापिदिन्छु ।’ पुस्तक आयो पनि ।

लेख लम्ब्याउने क्रममा मुलुककै पहिलो राजनीतिक संस्था नेपाल प्रजापरिषद्का संस्थापक नेताहरूलाई भेटेर अन्तर्वार्ता गरे उनले । त्यसले बृहत् रूप लिँदै गयो । ०४४ मा त्यसमै विद्यावारिधि गरे । अर्को वर्ष पुस्तक छापियो, नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजापरिषद्को भूमिका । ०४६ मा त्यसले मदन पुरस्कार नै पायो । ३९ वर्षको उमेरमा उनले पाएको त्यो पुरस्कारको राशि थियो, ५० हजार रुपियाँ ।

त्यसरी अहिलेसम्म उनका इतिहाससम्बन्धी ४३ अनुसन्धानात्मक पुस्तक प्रकाशित छन् । त्यसमा आधा दर्जन अंग्रेजी भाषाका पनि छन् । प्राय: पुस्तक उनी आफैँले छापेका छन् । “व्यावसायिक प्रकाशक भनेर पुस्तक छाप्न दियो, लेखकस्व दिँदा माग्नेलाई जस्तो व्यवहार गर्छन्,” उनको गुनासो छ, “बरू दुई, तीन, पाँच सय थान नै होस्, साथीभाइ या परिवारको नाम राखेर आफैँ छापेको छु ।”

यस क्रममा प्रजातान्त्रिक आन्दोलनका महत्त्वपूर्ण तर चर्चामा आउन नसकेका इतिहासका थुप्रै नायकलाई उनले आफ्नो लेखनीमार्फत उजागर गरिदिएका छन् । गोपी च्यामे (पोडे), ठाकुर चन्दन सिंह, खड्गबहादुर विष्ट, खण्डमान, मैनाबहादुर आदि इतिहासमा छुटेका पात्रहरूलाई यथास्थानमा राखेर उनले सम्मान दिएका छन् । “इतिहास लेखनमा अकाट्य दाबी गर्न सकिँदैन,” इतिहासकार बाबुराम आचार्यका यी ‘फलोअर’ भन्छन्, “अहिले लेखिएका कुरालाई काट्ने बलिया प्रमाण भोलि आउन सक्छन् ।”

इतिहास कुनै उपन्यासजस्तो कल्पनालोक होइन । उनी त अझ तथ्य र प्रमाणका आधारमा मात्र विश्वको इतिहास खोतल्ने लेखक हुन् । “नेपालमा हजार थान पुस्तक बिक्री हुनै पाँच/सात वर्ष लाग्छ,” उनको अनुभव छ, “इतिहासको सही अध्ययन गरी ज्ञान लिने परिपाटी नभएकाले नै राष्ट्रियता कमजोर हुँदै गएको हो ।”

प्रजातान्त्रिक आन्दोलन त राजेशको ब्रान्ड नै भइहाल्यो । नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसका पाँचवटा ठेली छापिसकेका छन् भने तीनवटा प्रकाशनको सँघारमा छन् । पाँच वर्षभित्र ११ भाग लेखिसक्ने उनको आत्मविश्वास छ । संस्थापक नेता कृष्णप्रसाद भट्टराईको पार्टी परित्यागमा गएर यसले विश्राम पाउने छ ।

किसुनजीमै किन त ? “गणतन्त्र स्वीकारसँगै नेपाली कांग्रेसले आफ्नो सिद्धान्त छाड्यो,” उनी भन्छन्, “व्यक्तिगत उदयका लागि पार्टी सिद्धान्त परित्याग गरेपछि के लेख्ने ?” गणेशमान सिंहको विरोध हुँदाहुँदै ‘कांग्रेस’ शब्दमा भारतीय रुझान देखेर पार्टीको नाम त्यस्तो रहेको नयाँ तथ्य पनि उनले बाहिर ल्याएका छन् ।

कांग्रेसको इतिहासमा यति धेरै सम्मोहित गौतम कम्युनिस्टप्रति भने एकदमै विकर्षित रहेछन् । “माक्र्स र समाजवादलाई म इज्जत गर्छु,” उनी भन्छन्, “तर, कम्युनिस्टहरूले त्यो महान् सिद्धान्त र आदर्शलाई धुजाधुजा पारिसकेका छन् ।”

प्रेसर, सुगरले गाल्दागाल्दै पनि गौतम कांग्रेसपछि राममनोहर लोहिया, रोजा लक्जमबर्ग आदि समाजवादी नेताहरूका साहित्य र जीवनीको अनुवादमा लाग्न चाहन्छन् । यसमा उनलाई हौस्याउने प्रिय मित्र हुन्, नेपाली कांग्रेसका नेता प्रदीप गिरी । गिरीसँग ०३४ देखि दोस्ती छ उनको । एमए पढ्दा एनडीएस (राष्ट्रिय विकास सेवा) पनि गिरीकै गाउँ सिरहाको बस्तीपुरमा गरेका रहेछन् उनले ।

एनडीएसकै बेला चिनजान भएकी बस्तीपुरकी चेली इला चालिसेसँग ०३७ सालमा मागी विवाह गरे उनले । इला राष्ट्रिय वाणिज्य बैंककी अवकाशप्राप्त कर्मचारी हुन् । जेठा छोरा शोभेन्द्र र बुहारी सम्पदा आचार्य अमेरिकामा डाक्टर छन् । कान्छा छोरा निस्सीम र बुहारी इम्मा भट्टराई पनि डाक्टर नै हुन् । “घरमा डाक्टर नजोडिएकी इला मात्र हुन्,” उनी हाँस्दै भन्छन्, “उनलाई पनि हामीले मानार्थ डाक्टर उपाधि 

दिइसकेका छौँ ।”

त्यसो त इतिहासकार गौतम मानव अधिकार क्षेत्रमा पनि जोडिएका छन् । ०४४ सालमा हृषीकेश शाहको नेतृत्वमा गठित नेपाल मानव अधिकार संगठनका संस्थापक नै हुन् । एमनेस्टी इन्टरनेसनलदेखि इन्सेक वर्षपुस्तकमा उनको लामो संलग्नता रह्यो । तर, मानव अधिकारका नाममा खन्चुवा प्रवृत्ति हावी भएको भन्दै त्यसलाई चटक्कै छाडिदिए ।

त्यो चोट बिर्सन उनी पेन्टिङतिर लहसिए । सिर्जना कलेज अफ फाइन आट्र्समा पढे । शशिविक्रम शाह, श्याम श्रेष्ठ हुँदै उत्तम नेपालीको स्कुलिङमा पुगे । ०५७ सालमा पहिलो एकल प्रदर्शनी गरे, ‘मी एन्ड स्काई ।’ त्यसपछि ‘मेलोडी अफ द क्लाउड’ र ‘म्युजिक इन द स्काई’ गरेका उनी चौथो प्रदर्शनी गर्दैछन् । पानी, तैलचित्रसँगै इनामेलसँग खेल्ने उनी हरियो, नीलो र सेतो रङका पारखी हुन् ।

कलेजकालमै चित्र बनाउने उनी पेन्टिङलाई ‘प्रोफेसन’ भन्दा पनि ‘हबी’ मान्छन् । पुस्तकालयकै छेउमा रहेको स्टुडियो छिरेर घन्टौँ बिताइदिन्छन् । पेन्टिङ मात्र किन ? पीएचडीपछि आरआर क्याम्पस भर्ना भएर पत्रकारितामा पनि स्नातकोपाधि लिएछन् उनले । तर, स्वतन्त्र पत्रकारको बिल्ला नवीकरण नगरेको वर्षौं भइसक्यो ।

प्रकाशित: वैशाख २६, २०७३